Tag: नेपाल प्रेस

  • चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

    चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

    सिरहा । सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

    चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको हो ।

    अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अवैध उत्खननले वातावरणीय तथा भौतिक जोखिम बढाउने भएकाले कानुनी प्रक्रियाअनुसार मात्र उत्खनन गराइने बताए । उनले गलत कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको उल्लेख गरे ।

    उनले भने, “बारम्बार गुनासो आउन थालेपछि वास्तविक अवस्था के छ भनेर बुझ्न हामीले अनुगमन गरेका हौँ । यसक्रममा जथाभावी खोला उत्खनन गरेको, निजी जग्गासम्म खोस्री मापदण्डविपरीत ढुङ्गा, गिट्टी, बालुवा निकालिएको पाइएको छ । कतिपय स्थानमा करिब २० फिट गहिरोसम्म खाल्डा पारिएकाले ती क्षेत्रहरू जोखिमपूर्ण बनेका छन् ।”

    सहायक प्रमुख जिल्ला अधिकारी बरालले अवैध उत्खननलाई तत्काल रोक्न निर्देशन दिँदै भने, “देखिएका कमजोरीबारे ठेकेदारलाई सचेत गराएका छौँ । अबदेखि मापदण्डअनुसार कानुनले तोकेको प्रक्रिया पालन गर्नुपर्छ । अवैध उत्खनन कानुनविपरीत हुनुका साथै यसले वातावरणीय जोखिम पनि निम्त्याइरहेको हुन्छ, यसलाई रोक्न जरुरी छ ।”

    अनुगमनका क्रममा गोलबजार–१ मुक्सार बलडाँडाका स्थानीयले घरनजिकै ठेकेदारले गिट्टी, बालुवा उत्खनन गरी ठूलाठूला खाल्डा पारेकाले जोखिम बढेको गुनासो गरे । धनगढीमाई–८ स्थित परोपकार गिट्टी–बालुवा उद्योग तथा पुष्पदीप क्रसर उद्योगलाई दुई दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बरालले जानकारी दिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनाल, आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भीम काफ्ले, सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका प्रमुख हस्मत अन्सारी, गोलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र महतो, इञ्जिनियर जयगणेश सिंह, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

    यसअघि सोही टोलीले लहान नगरपालिकामा पर्ने खुट्टीखोला क्षेत्रको पनि अनुगमन गरिसकेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख खनालले जिल्लाका विभिन्न नदी तथा खोलामा हुने अवैध उत्खनन रोक्न नियमित अनुगमन जारी रहेको बताए ।

  • ६ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

    ६ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

    घोराही । जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ । पछिल्लो छ दिनमा जिल्ला प्रहरी कार्यालयले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

    यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका १२ जनाबाट ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी छ भने रु २३ हजार ५२ जरिवाना असुलउपर गर्नुपर्ने छ । सोही कारणले निजहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट अवैध नदीजन्य वस्तु उत्खनन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने तथा जरिवाना तिराउने कार्यक्रमलाई पनि तीव्रता दिएको छ ।

    मङ्सिर १ देखि मङ्सिर १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता शाहले जानकारी दिए ।

    उनका अनुसार १३ वटा ट्याक्टर कारबाहीमा पर्दा रु दुई लाख २० हजार, तीनवटा टिपटरबाट रु एक लाख २७ हजार ५४०, दुईवटा जेसिबीबाट रु ९० हजार जरिवाना सङ्कलन गरिएको छ ।

    कारबाहीमा परेका १८ सवारीसाधनका धनीबाट जरिवाना लिएपश्चात् सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

    कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

    काठमाडौं । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।

    कँडेलको हत्या आरोपमा चितवनको साविक बछौली गाविस (हाल रत्ननगर नगरपालिका-६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । उनले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको बताए ।

    यसरी भएको थियो घटना

    सिआइबीले सार्वजनिक गरेको घटना विवरणमा विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरूले प्रहरीमा सूचना गरेका थिए ।

    सोही सूचनाका आधारमा त्यस घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला पर्‍यो । प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको बताए ।

    ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्छन्, ‘उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साविक बछौली गाविस (हाल रत्ननगर-६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो ।’

    उनका अनुसार अपराध अभिलेख हेर्दै जाँदा दराइ विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । त्यसबेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराइले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसाला भएको थियो ।

    सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे । त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताए । त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन् ।

    उनका अनुसार पछि दराइ कारागारबाट छुटे । उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका थिए ।

    दराइलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानका क्रममा यस ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक १ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताए ।

  • २० लाख ३४ हजार रुपैयाँ बराबरको मटर बरामद, पसल सञ्चालक पक्राउ

    २० लाख ३४ हजार रुपैयाँ बराबरको मटर बरामद, पसल सञ्चालक पक्राउ

    दाङ । बाँके प्रहरीले भन्सारछली गरी ल्याइएको करिब ३४ हजार किलो केराउ (मटर) नेपालगन्ज बाट बरामद गरेको छ ।

    गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

    उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा बुझाएको छ ।

  • बीपी राजमार्गको पुनर्निर्माण धमाधम, बर्खा लाग्नुअघि नै काम सक्न कुलमानको निर्देशन

    बीपी राजमार्गको पुनर्निर्माण धमाधम, बर्खा लाग्नुअघि नै काम सक्न कुलमानको निर्देशन

    काठमाडौं । २ वर्षको लगातार बाढीपहिरोले क्षति पुर्‍याएको बीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।

    क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

    बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् ।

    सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि त्यहाँ पुगेका थिए । घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका छन् ।

    हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरू भएसँगै काम नगर्ने भएकाले मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम अगाडि नै आवश्यक संरचना बनाउन भनेका छन् । जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न उनले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

    काठमाडौंलाई पूर्वी क्षेत्रसँग जोड्ने लाइफलाइन सडक बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको यो सडक गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिँदैछ ।

  • जनप्रतिनिधि र कर्मचारीको जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर

    जनप्रतिनिधि र कर्मचारीको जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण थालेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही १६ गतेबाट उक्त कार्यक्रम सुरु गरेको हो ।

    २६ गतेसम्म सञ्चालन हुने सर्वेक्षणमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय छुट्याइएको छ । छुटेका सबैलाई २६ गते सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

    सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिसमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’, ‘टोटल बडी वाटर’ को प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।

    सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय, कार्यस्थलको वातावरणसम्बन्धी विवरण सङ्कलन हुनेछ ।

    मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरू धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

    कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना रहेको छ ।

    -रासस

  • आज स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस

    आज स्वरसम्राट् नारायणगोपालको ३५औँ स्मृति दिवस

    काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५औँ स्मृति दिवस मनाइँदैछ ।

    जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उनको स्वर र संगीतका गीत कालजयी छन् ।

    मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनको निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

  • एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।

  • शिक्षामन्त्री पुनको टिप्पणी : फेसबुक-युट्युबले पनि पत्याएनन्, चार महिनासम्म ३०० भन्दा बढी झरेन

    शिक्षामन्त्री पुनको टिप्पणी : फेसबुक-युट्युबले पनि पत्याएनन्, चार महिनासम्म ३०० भन्दा बढी झरेन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालबाट कमाउन खोज्दा ‘दुई–तीन सय रुपैयाँसम्म नआएको’ भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘जागिर खाइएन र व्यापार गरिएन । फेसबुक-युट्युबले पनि पत्याएन । म त छक्कै परेँ नि।’

    उनले सामाजिक सञ्जालबाट आम्दानी गर्ने उद्देश्यले केही व्यक्तिको सहयोगमा फेसबुक र युट्युब दुवैबाट कमाइ सुरु गर्ने व्यवस्था मिलाए पनि अपेक्षित रकम नआएको उल्लेख गरेका छन् । पुनका अनुसार, चार महिना बितिसक्दा पनि ‘दुई-तीन सय रुपैयाँ झर्न नसकेको’ अनुभव उल्लेख गरेका छन् ।

    मन्त्री पुनले हल्का व्यङ्ग्य मिसाएर लेखेका छन्, सामाजिक सञ्जालबाट नुन, तेल, साबुन, मसला किन्ने र केही पकेट खर्च चलाउने पैसा आउने आशा गरे पनि ‘पटक्कै ढङ्ग नआएको’ हो । उनले थप लेखेका छन्, ‘यस्तो ढङ्ग नहुने व्यक्तिले खोइ कसरी जिन्दगी बिताउला भनेर म आफैँ छक्क परेको छु ।’

  • अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

    अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

    काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।

    महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउछन्।

    “निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्”, उनी भन्छन् ।

    अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।

    काठमाडौँ महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।

    रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु २०, सर्वसाधारणलाई रु ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु १०० लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु १००, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु ५००, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार ५०० र सांस्कृतिक पोशाक झल्काउन जानेले रु १०० शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक रु ५० लाखदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ ।

    शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् ।

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा रु १८ लाख १४ हजार ४१० राजश्व सङ्कलन गरेको छ ।

    महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क रु दुई हजार ६००, व्यवसायिक रिलवापत रु एक हजार ५००, सर्वसाधारण प्रवेश शुल्क रु १४ लाख ६० हजार ६१०, विद्यार्थी प्रवेश शुल्क रु दुई लाख ५७ हजार, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत रु सात हजार, पर्यटक प्रवेश शुल्कवापत रु ७१ हजार ५००, ड्राइफुड पिकनिकवापत रु चार हजार २००, चलचित्र सुटिङवापत रु १० हजार आम्दानी गरेको छ ।

    रत्नपार्कमा हाल दैनिक ५०० देखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन्  ।

    रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ ।

    उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउनुहुन्छ । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । रासस

  • लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

    लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ ।

    अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

    लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै थामेर यात्रु चढाउने–ओराल्ने कार्य बढाएको पाइएकाले यसले विशेषगरी ‘पिक आवर’मा सडकमा गम्भीर जाम सिर्जना हुँदै आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने, “राजधानीका सडकमा अत्यधिक भिडभाड तीव्र गतिमा बढिरहेका छन्, लामो दुरीका गाडीहरूले नियमविपरीत सडक रोकेर यात्रु उठाउने–झार्ने कार्यले जामलाई अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।”

    यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताए । “ट्राफिक जामका कारण नागरिकको दैनिकीमा सिधा असर पर्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला निकायको समन्वय अपरिहार्य रहेको छ”, उनले भने ।

    ट्राफिक प्रहरीले सडक अनुशासन मजबुत बनाउन विभिन्न कडाइ पनि अघि सार्दै आएको छ । रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको कार्यालयले जनाएको छ । चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाइएको जनाइएको छ ।

    यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनः इन्स्टल गर्नुपर्ने प्रवक्ता सुवेदीले बताए ।

    उनका अनुसार नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ । नयाँ व्यवस्था कार्यान्वयन भएपछि उपत्यकामा देखिँदै आएको अव्यवस्थित पार्किङ, अनावश्यक रोकावट तथा यात्रु व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको प्रवक्ता सुवेदीको भनाइ छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन र नागरिकलाई सहज आवागमन उपलब्ध गराउन ट्राफिक प्रहरी निरन्तर सक्रिय रहेको जनाइएको छ । रासस

  • मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

    मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

    विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

    दुर्घटनामा प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो विराटनगरको बरगाछी चोक नजिक कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    दुर्घटना लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते भएका खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो ।

    उपचारकै क्रमम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • धोबीखोलामा पुरुष मृत भेटिए

    धोबीखोलामा पुरुष मृत भेटिए

    काठमाडौँ । काठमाडौँको मदन भण्डारी कलेज नजिक मदन भण्डारी कलेज नजिक खोलामा एकजना मृत फेला परेका छन् ।

    खोला किनारामा मृत व्यक्ति साइकलसहित देखिएका छन् । मृतकको पहिचान खुल्न बाँकी छ ।

  • आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस

    आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस

    काठमाडौँ । आज अन्तरराष्ट्रिय बैंक दिवस हो । एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

    एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यसै वर्षदेखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले यसै वर्षको जुनमा यो दिवस विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको चार्टरअनुसार नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउन र मुलुकहरूबीच सहकार्य र एकताका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यका सात मनाउने घोषणा गरेको हो ।

    यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।

    तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ

  • झमक घिमिरे भन्छिन्- जीवनलाई फूल भनेर लेखेँ, तर म स्वयंले काँडा भोग्दै छु

    झमक घिमिरे भन्छिन्- जीवनलाई फूल भनेर लेखेँ, तर म स्वयंले काँडा भोग्दै छु

    काठमाडौं । साहित्यकार झमक घिमिरे नेपाली साहित्य चर्चित नाम हो । उनको सर्वाधिक चर्चित किताब ‘जीवन काँडा कि फूल ?’ ले मदन पुरस्कार समेत प्राप्त गर्‍यो । खुट्टाले लेखेको उनको किताबले लाखौँ पाठकलाई उत्प्रेरित गर्‍यो ।

    तर, उनै घिमिरेले आफूले काँडाजस्तो जीवन भोगिरहेको बताएकी छन् । उनले सञ्जालमा लेखेकी छन्, ‘म आफैँले लेखेँ, जीवन काँडा होइन फूल हो । तर, म स्वयंले काँडा भोगिरहेछु ।’

    आफूले काँडा जस्तो जीवन भोगे पनि जीवनलाई फूलकै रूपमा परिभाषित गर्न पछि नपर्ने बताएकी छन् । नेपाल सरकारले काठमाडौंमा घर बनाइदिए पनि उनी धेरै समय बस्न सकिनन् । धनकुटाको कचिडेमा रहेको पुर्खौली घरमै सरिन् । अहिले कचिडेमै बसिरहेकी छन् ।

  • हेटौँडा सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने

    हेटौँडा सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने

    बागमती । हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने बताएका छन् ।

    सडक डिभिजिन कार्यालय हेटौँडाले गर्न लागेको सडक विस्तार अभियानमा बाधा नपुर्‍याउन आग्रह गर्दै प्रजिअ अधिकारीले सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गतेअगावै आफ्ना पसल अन्यत्र सार्ने र समान ‘सेल’ लगायतका अफर राखेर बिक्रीवितरण गरी सहयोग गरिरहेको उल्लेख गरे ।

    केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्‍याउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ ।

    सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न/नगराउन अनुरोध गरेका छन् ।

    -रासस

  • लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

    लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण

    रुपन्देही। लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठले बुधवार लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा हाजिरी गरेर पदभार ग्रहण गरेका छन् ।

    श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले गरेकी हुन् ।

    केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

    अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादन लागि पुरस्कृत गरेको थियो। पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।

    पदभार ग्रहणपछि नेपाल प्रेससँग कुरा गर्दै उनले आफू काम गरेर देखाउनका लागि लुम्बिनी आएको जनाए । ‘मैले काम गरेर देखाउनु छ, सबैको सल्लाहमा काम गरेर लुम्बिनीलाई नयाँ उचाइमा पुराउनुपर्ने छ’ उनले भने–‘यति लामो समय काम गरेको क्षेत्र छाडेर लुम्बिनीलाई बनाउनेगरी आएको हुँ ।

  • बूढानीलकण्ठ नगरपालिकाले मनायो स्थापना दिवस

    बूढानीलकण्ठ नगरपालिकाले मनायो स्थापना दिवस

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवस मनाइएको छ । मंगलबार हात्तीगाँडास्थित शुभकामना आदान प्रदान कार्यक्रममा मेयर मिठाराम अधिकारी, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति थियो ।

    कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, पूर्व नगर प्रमुख उद्धव खरेल, पूर्व माननीय नुच्छे नारायण, पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरू पनि कार्यक्रममा सहभागी थिए ।

    नगर प्रवक्ता नवराज भट्टराईका अनुसार उपमेयर लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका क्षेत्रमा पुर्‍याएको प्रगतिबारे प्रकाश पारेकी थिइन् ।

    जुगल नवगुरुकुलका विद्यार्थीहरूले स्वस्तिवाचन तथा बालउद्धार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिए। विभिन्न विद्यालय, कलाकार तथा स्थानीय समूहहरूले नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति दिँदा वातावरण उत्साहपूर्ण बनेको थियो ।

    मन्त्री जयराम थापाले बुढानीलकण्ठ नगरपालिका विकासको तीव्र गतिमा अघि बढिरहेको भन्दै खानेपानी समस्याको समाधान स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा छिट्टै लागू हुने प्रतिवद्धता जनाए ।

    मेयर अधिकारीले नगरबासीका आवश्यकता, माग र आवाजलाई प्राथमिकतामा राख्दै सुव्यवस्थित, समृद्ध र नागरिकमैत्री नगरपालिका बनाउन निरन्तर काम भइरहेको बताए । उनले स्थानीय तहका सेवाहरूमाथि जनआस्थालाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा विभिन्न क्षेत्रका सक्रिय व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

  • पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

    पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

    लेखनाथ (कास्की) । बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् ।

    सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारीले बताए। विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको सङ्ख्या घट्दै गएको जनाउँदै उनले कोरोनाका साथै विभिन्न घटनाक्रम र सडकका कारण त्यो सङ्ख्या बढ्न नसकेको धारणा राखे ।

    वर्षौँदेखि थला परेको डुङ्गा व्यवसायमा पछिल्ला केही वर्षयता सुधार हुने आशा गरिए पनि मुग्लिङ–पोखरा, तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या घटेको बेगनास तालका डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गरे ।

    बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले विकल्पका रूपमा अन्य पेसा रोजेका बताए । “बाँकी रहेका व्यवसायी पनि व्यवसायसँगै अन्य काममा समेत संलग्न हुने गरेका छन्”, उनले भने ।

    पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान पुग्ने गर्छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौँदेखि प्रसिद्ध मानिँदै आएको छ । “यतिबेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलोपालो गरी चलाउने गरिएको छ”, डुङ्गा व्यवसायी कँडेलले भने ।

    पोखराको दोस्रो ठूलो बेगनास ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ २८० वटा डुङ्गा सञ्चालनमा छन् भने करिब २०० जना डुङ्गा व्यवसायी छन् । “व्यवासयीले डुङ्गाको पालो कुर्न एक साता पर्खनुपर्छ । महिनाको रु तीन हजारले परिवार कसरी चल्न सक्छ”, पूर्वअध्यक्ष कँडेलले प्रश्न गरे ।

    बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु ७०० र पाइडलबोटको रु एक हजार ५०० लिने गरेका बेगसान डुङ्गा व्यवसाय समतिका अध्यक्ष रविराज कँडेलले जानकारी दिए। “तालमा तीनवटा मोटरबोट भए पनि ती मोटरबोट बराह मन्दिरमा जानआउनका लागि मात्र प्रयोग हुन्छन्”, उनले भने ।

    डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आइएको हो ।

    विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँका डुङ्गा व्यवसायका साथै सवारीसाधनका रूपमा प्रयोग हुन्थ्यो । कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोका रूपमा यो ताल प्रयोग गर्दै आएका अध्यक्ष कँडेल जानकारी दिए।

    बेगनास तालका होटल व्यवसायी सोमबहादुर लालचनका अनुसार पर्यटकको सङ्ख्या दश वर्षदेखि घट्दै भएको छ । “सोही कारणले यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले धानिएको छ । एक–दुई जना इजरायली पर्यटक मात्र आउँछन्, उनीहरूले पनि धेरै पैसा खर्च गर्दैनन्”, उनले भने ।

    पोखराको फेवातालमा आउने २५ प्रतिशत पर्यटक मात्र बेगनास तालमा पुग्ने गरेमा यहाँको पर्यटन व्यवसाय चलायमान हुने उनले विश्वास व्यक्त गरे । “पर्यटकको पर्खाइमा कतिञ्जेल बस्ने हो”, लालचनले भने, “होटलका लागि पर्यटक खोज्दै बेगनास ताल आसपास आएर बस्नुपर्ने अवस्था छ ।” रासस

  • ब्राउनसुगरसहित चार जना पक्राउ

    ब्राउनसुगरसहित चार जना पक्राउ

    हेटौँडा । मकवानपुरको मनहरिस्थित इलाका प्रहरी कार्यालयले मनहरिको रजैया पुलमा ब्राउन सुगर किनबेचमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

    सूचना पाएर घटनास्थल पुगेको टोलीले बा ८९प ६२९३ नम्बरको मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक थापाले बताए ।

    प्रहरीले बारा, जीतपुरसिमरा-१६ घर भई मकवानपुर, हेटौँडा-१९ सान्नानीटार बस्ने २६ वर्षीय अनिल सिन्तान, मकवानपुरकै मनहरि-५ वसन्तपुरका २३ वर्षीय संजित आले, बसन्तपुर घर भई मनहरि-३, लामिटार बस्ने ३३ वर्षीय बिनोद बहादुर बल र मनहरि-५ का ३० वर्षीय सुरेश स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट २९३ मिलिग्राम लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको छ ।

  • नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

    नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

    दाङ । रौतहटमा नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली रूपैयाँका साथ नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्दा नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल छन् ।

    प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट फेला परेको छ ।

  • पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

    पत्नीको चक्कु प्रहारबाट नगर प्रहरी पति घाइते

    रूपन्देही । बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट श्रीमान गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, नहरपुरका ३० वर्षीय सुरज गुरुङलाई ३८ वर्षीया श्रीमती पवित्रा गुरुङले मध्यराति चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

    वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीका अनुसार राति करिब २ बजेतिर भएको घटनापछि गम्भीर घाइते सुरजलाई स्थानीयले तुरुन्तै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
    चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको निरीक्षक गिरीले बताए ।

    छिमेकीसमेत रहेका वडा सदस्य नकुल शाही ठकुरीका अनुसार घाइते सुरज बुटवल नगर प्रहरीमा कार्यरत जवान हुन् । उनका अनुसार पवित्रा विगत तीन–चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी छिन् । श्रीमान–श्रीमतीबीच प्रायः झगडा हुने गरेको र पवित्राले परिवारका अन्य सदस्यसँग पनि विवाद गर्ने गरेको स्थानीय बताउँछन् ।

    यही कारण सुरज राति अलग्गै कोठामा सुत्ने गर्थे । मङ्गलबार राति पनि उनी अलग कोठामा सुतेका बेला पवित्राले ढोका फोरेर एक्कासी चक्कु प्रहार गरेको शाहीले बताए ।

    ज्यान जोगाउन भाग्ने क्रममा बाहिर पनि उनको टाउको र घाँटीमा पुनः प्रहार भएको घाइते सुरजको बयान उदृत गर्दै शाहीले जानकारी दिए।

    राति हो–हल्ला र रुवाबासीको आवाज आएपछि छिमेकीको ध्यान गएको थियो । बाहिर रगताम्य अवस्थामा पल्टिएका सुरजलाई देखेपछि स्थानीयले तत्काल अस्पताल पुर्‍याएका थिए । पवित्रालाई भने पक्राउ गरी प्रहरीको जिम्मा लागेको वडा सदस्य शाहीले बताए । उनीहरूको सात वर्षका छोरा छन् ।

  • सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

    सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ । मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएको अनुगमन टोलीले जनाएको छ ।

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा महेन्द्र बानियाँसहितको टोलीले मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।

    “मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काउन पूर्वाधार विकास कार्यालयका प्राविधिकले दिएको निर्देशन मजदुरले नमानेपछि म आफैँ भत्काउन सुरु गर्नुपरेको थियो”, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र ‘फिनिसिङ’ राम्रो बनाउन निर्देशन दिएका छौँ ।”

    बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम ९पछै० र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत ३०० मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख डा बानियाँले बताए ।

    टोलीले बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ को किराखोरदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नति योजनाको पनि अनुगमन गरेको छ । किराखोर–नेप्टेचौर खण्डमा भइरहेको प्रिमिक्स कालोपत्र गर्ने कामको अनुगमन गरेको टोलीले उक्त योजनामा सन्तोषजनक काम भएको जनाएको छ ।

    आगामी असार महिनासम्म ठेक्काको म्याद रहेको उक्त योजनाको ६९ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए । निर्धारित समयभित्रनै योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरेको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए ।

  • चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल

    चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल

    काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ ।

    समितिको आज सिंहदरबारमा बसेको बैठकमा सरकार, सांसदहरू र सरोकारवालाहरूको छलफलपछि विधेयक चलचित्र क्षेत्रको आवश्यक बुँदाहरू थपेर संशोधनसहित अघि बढ्ने सहमति जुटेको हो ।

    बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयकलाई संशोधनसहित अघि बढाइने बताए । उनले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

    सञ्चारमन्त्री खरेलले भने, “सरकारले विधेयक फिर्ता लिन चाहेको छैन । विधेयक प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ, सरकार, समिति र चलचित्र क्षेत्रका सरोकारवालाको सुझावका आधारमा विधेयकमा व्यापक परिमार्जन गरेर अगाडि बढ्नुपर्छ ।”

    उनले विधेयकको दफावार छलफलको क्रममा संशोधन गर्न सकिने धारणा राखे । सरकारको तर्फबाट धारणा सुनिसकेपछि चलचित्रकर्मी, निर्माता सङ्घ र अन्य सरोकारवालाहरू पनि विधेयक संशोधनको पक्षमा देखिएका हुन् ।

    बैठकमा सुझाव दिन पुग्नुभएका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका महासचिव खगेन्द्र लामिछाने तथा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामीलगायतले चलचित्र विधेयक चलचित्र क्षेत्रको विधि आयामलाई समेट्ने गरी संशोधन गर्नु आवश्यक भएको बताए ।

    बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले विधेयकमा विभिन्न चरणमा सरोकारवाला, विज्ञ र सांसदहरूसँग छलफल गरी दफावार छलफलमा अघि बढ्न समिति तयार रहेको बताइन् । समितिले संशोधनका लागि सरोकारवालाहरूसँग लिखित सुझाव पनि मागेको उनले जानकारी दिइन् ।

  • स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रियकरण गर्ने सुदूरपश्चिम महोत्सव

    स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रियकरण गर्ने सुदूरपश्चिम महोत्सव

    कैलाली । २०६३ सालमा कैलाली महोत्सव आयोजना हुँदा देशभरि औलामा गणना हुने महोत्सवहरू आयोजना भएका थिए ।

    कैलाली महोत्सव अहिले सुदूरपश्चिम महोत्सव भएको छ । देशभरि सयौँ महोत्सव आयोजना भइरहेका छन् । तर, कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने गरेको सुदूरपश्चिम महोत्सव अहिले पनि पर्वझैँ लाग्छ ।

    महोत्सवको १९ औँ संस्करण आगामी २२ गतेबाट सुरु हुँदै छ । महोत्सवको तीव्र तयारी भइरहेको छ । यस वर्ष पनि अघिल्ला वर्षजस्तै उत्सवको रूपमा महोत्सव आयोजना गर्ने तयारी भइरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

    उनले यस पटक अघिल्लो वर्ष भन्दा अझै भव्य र आकर्षक हुने बताए । स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई राष्ट्रिय स्तरमा पुराउन महोत्सवले ठुलो भूमिका खेल्ने उनको भनाइ थियो।

    ‘हामी महोत्सवको अन्तिम तयारीमा छौँ । यस पटक स्थानीय उत्पादन र प्रदेशको संस्कृतिलाई बढी महत्त्व दिएका छौँ ’ उनले भने ‘यो महोत्सव सुदूरपश्चिमको पर्व हो । हामी वार्षिक उत्सव र पर्वझैँ मनाउने तयारीमा छौँ ।’

    महोत्सवमा ५५० बढी स्टलहरू रहने छन् । ती मध्ये अधिकांश स्थानीय उत्पादन र घरेलु उद्योगलाई प्राथमिकता दिइएको महासचिव समेत रहेका महोत्सव प्रवक्ता दिनेश लम्सालले जानकारी दिए ।

    सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहने उनको भनाई छ । साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने उनले बताए।

    ‘अहिले सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूलाई पहिलो प्राथमिकता दिएका छौँ । स्थानीय स्टलका लागि छुट दिएका छौँ । घरेलु तथा कृषि उत्पादनको ५० स्टलहरू निःशुल्क छन् । स्थानीय परिकार र जाति विशेषको परिकारको लागि पनि निःशुल्क व्यवस्था गरेका छौँ’ मूल आयोजक समितिका सहसंयोजक समेत रहेका उनले भने, ‘यस पटकको महोत्सव स्थानीय उत्पादनको प्रदर्शन र व्यापार दुवै ढङ्गले महत्त्वपूर्ण रहेको छ ।’

    प्रदेशको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।

    अघिल्ला प्रत्येक वर्षहरूमा सरकार प्रमुख वा राष्ट्र प्रमुखबाट महोत्सवको उद्घाटन हुने गरेको थियो । अहिले उद्योगी व्यवसायीहरूलाई प्राथमिकतामा राखेर अर्थमन्त्री वा गभर्नरबाट उद्घाटनको तयारी भइरहेको छ ।

    महोत्सवमा १५ करोड बढीको कारोबार हुने सचिव प्रकाश चन्दले बताए । ७ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

    ‘अघिल्लो वर्ष एकै दिन १ लाखले महोत्सव हेरेका छन् । यस पटक त्यो भन्दा अझै भव्य छ ’ कलाकार तथा युवा परिचालन समितिका संयोजक चन्द भन्छन् ‘अहिले सुदूरपश्चिमका अधिकांश कलाकारहरूको प्रस्तुति रहने छ ।’

    वृद्ध तथा शारीरिक अशक्तता भएकाहरूलाई महोत्सवमा निःशुल्क अवलोकनको व्यवस्था गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घसँग आबद्ध भएका व्यापारीले पनि निःशुल्क अवलोकन गर्न पाउने छन् भने विद्यार्थी ,खेलाडीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकटबाट केही रकम छुट्टाएर सामाजिक काममा पनि खर्च गरिने सचिव चन्दले बताए ।

    शालीन आन्दोलनको माध्यम बनेको महोत्सव

    राष्ट्रप्रमुख तथा नेतृत्वलाई महोत्सव उद्घाटनमा बोलाएर आफ्ना मागका बुँदा अनुसार फूलमाला बोकाउने सुदूरपश्चिमीलीको आन्दोलनले १८ वर्ष पार गरेको छ ।

    महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै साङ्केतिक माला बोकाउने आन्दोलन सुरु भएको थियो ।

    अहिलेसम्म पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड , शेरबहादुर देउवा, बाबुराम भट्टराई, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेता भीम रावल, नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतलाई उद्योग वाणिज्य सङ्घले सुदूरपश्चिमको विकास र संवृद्धिका लागि माग राखिसकेको छ ।

    ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको पहिलो संस्करणमा २१ बुँदे माग राख्दै तत्कालीन प्रधानमन्त्री देउवालाई २१ किलोग्रामको माला बोकाइएको थियो ।

    ती २१ मागमध्ये सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रङ्गशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाइ भइसकेको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रदेशसभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्रे तथा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउने बुँदाहरू आंशिकरुपमा सरकारले सुनुवाइ गरेको र अहिले केही मात्रामा भए पनि अन्य माग पनि सम्बोधनका चरणमा रहेकाले यसपालि पनि उद्योग वाणिज्य सङ्घले माग सम्बोधनको लागि आग्रह गर्ने जनाएको छ ।

    अहिले गौरिफण्टा नाकाको स्तरोन्नति गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, शीतगृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बह्मदेव सडक, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रसारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रहालयलगायतका मागहरू पुरा गर्न सरकारसँग उद्योग वाणिज्य सङ्घले सरकारसँग आग्रह गर्ने छ ।

    पहिले सुदूरपश्चिमको विकासका लागि केन्द्रलाई ताक्नुपर्ने बाध्यता थियो अब भने सुदूरपश्चिम प्रदेश सरकारसँगै ८८ वटा स्थानीय सरकार छन् । सबैसँग समन्वय गरेर तीनै तहको सरकारले प्रदेशको विकासमा भूमिका खेल्न उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज ओझाले आग्रह गरेका छन् ।

    ‘हामी सुदूरपश्चिमलाई सुन्दर पश्चिम भएको हेर्न चाहन्छौ यहाँ प्रचुर सम्भावना छ तर, विकास हुन सकिरहेको छैन’ उनले भने ‘तीनै तहको सरकार सुदूरपश्चिमको विकास र संवृद्धिमा एकताबद्ध भएर हाम्रो माग सम्बोधन गरिदिन आग्रह गर्दछौँ । ’

  • लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन

    लुम्बिनी विकास कोषको सदस्य-सचिवमा नियुक्त दीपक श्रेष्ठ, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य-सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ।

    मन्त्रिपरिषद्ले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन् ।

    उनले भनिन्, ‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला। त्यो (लुम्बिनी) धार्मिक संस्था हो। धर्मको हेक्का राखेर काम गर्नुहोला। तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकुन्। गौरव गर्न सकुन्।’

    श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिने गरी इमानदारीसाथ काम गर्ने वचन व्यक्त गरेका छन् ।  गोरखाको सहिद लखन गाउँपालिका वडा नं ६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन् ।

    मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन् ।

    केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए ।

    संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका थिए ।

    अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए।

    इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार नै दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको उनले बताए ।

    अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किए । पछिल्लो समय उहाँले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।

    उनको भनाइ छ, ‘हामी केवल जागिर मात्र खाने होइन। जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ।’

  • भेटाएको साढे ४ लाख रकम बुझाउने इमानदार व्यवसायी नारायण बन्जाडे अभिनन्दित

    भेटाएको साढे ४ लाख रकम बुझाउने इमानदार व्यवसायी नारायण बन्जाडे अभिनन्दित

    रुपन्देही । समाजमा नैतिक धरातल खस्किरहेको वर्तमान अवस्थामा बुटवल १३ जितगढीस्थित व्यवसायी नारायण बन्जाडेले समाजमा असलहरू पनि छन् भन्ने उदाहरण पेस गरेका छन् ।

    लालदरबार कटेजका सञ्चालक रहेका नारायण बन्जाडेले आफ्नो पसलमा साढे ४ लाख रकमसहितको झोला भेटाएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरेर सम्बन्धित व्यक्तिले प्रमाणसहित लिन आउन सामाजिक सञ्जालमा सूचना राखेका थिए ।

    उनले सूचना राखेको अर्को दिन त्यो रकम हराएर छटपटिएका आकाश चौधरी सम्पर्कमा आएपछि मङ्गलवार जनप्रतिनिधि, प्रहरी र स्थानीयको रोहबरमा बुझाएका छन् ।

    चौधरी आफ्नो आमासहित सोमबार मालपोत कार्यालयमा जग्गा पास दिन आउँदा नजिकै रहेको बन्जाडेको होटलमा खाजा खान जाँदा बिसेरै हिँडेका रहेछन् । आफूले भुलवश छोडेको चार लाख पचास हजार रुपैयाँ पाएपछि अत्यन्त इमानदारीपूर्वक पाउँदा निकै खुसी भएको चौधरीले बताए ।

    बन्जाडेले आफूले होटलमा झोला देखेपछि सम्बन्धित व्यक्तिको सूचनाका लागि सामाजिक सञ्जालमा राखेर प्रहरी तथा स्थानीयलाई खबर गरेको बताए । ‘उहाँ मेरो होटलमा आएर जानुभएको रहेछ, दिनभरमा कति धेरै ग्राहक आउनुहुन्छ संयोगले कसैले त्यो भेटाएनछ मेरो हातमा परेपछि मैले सूचना राखेँ, कसैलाई त्यो रकमले ठूलो छटपटी हुनसक्छ भनेर मैले सबैलाई सूचना गरिदिन आग्रह गरेँ, समाजमा इमान्दारी देखाउनुपर्छ भनेर नै मैले तत्काल सूचना राखेको हुँ’ उनले भने ।

    भेटाएको त्यति ठूलो रकम सम्बन्धित धनीलाई फिर्ता गरेको भन्दै स्थानीय र जनप्रतिनिधिले उनलाई सम्मान गरेका छन् । बुटवल १३ का वडाध्यक्ष नारायणप्रसाद पुनले नारायणप्रसाद बन्जाडेलाई अबिर र दोसल्लाले सम्मान गर्दै समाजमा इमान्दार व्यक्तिहरू अझै छन् भन्ने सन्देश यसले दिएको जनाए ।

    अध्यक्ष पुनले नैतिक धरातल खस्किरहेको र धार्मिक मूल्य र मान्यताहरूले काम गर्न छोडिरहेको बेलामा लोभ र मोह मद र मात्सर्यबाट टाढा रहेर इमान्दारिताका साथ त्यति ठूलो धनराशि आकाश चौधरी र उहाँको आमालाई हस्तान्तरण गरेर प्रशंसनीय काम गरेको बताए ।

    उनले समाजमा असल व्यक्तिहरू पनि छन् भन्दै अभिनन्दनीय काम गरेकोमा धन्यवाद दिँदै यस्तै सकारात्मक सन्देश दिएर समाजमा सुधार ल्याउन सकिने बताए।

    बुटवल १३ को प्रहरी चा‌ैकीका प्रमुख सई रनबहादुर बिसीले समाजमा यस्ता असल व्यक्तिबाट समाजले सिक्नुपर्ने भन्दै प्रहरीको तर्फबाट सम्मान गर्न पाएकोमा निकै खुसी भएको बताए ।

    कार्यक्रममा जनप्रतिनिधि ध्रुव थापा, मन्दिरा गौडेल, ऋषि आजाद, लालबहादुर गुरुङ, केशव पौडेल, तारा गौडेल, यमप्रसाद गैरे, सीता आचार्य, शोभाकर पौडेलले अबिर लगाएर बन्जाडेलाई धन्यवाद दिए ।

  • रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति

    रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।

    धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’

    स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०।८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ किनिसकेका छन् ।

    रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

    वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

    रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

  • एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

    एम्बुलेन्स दुर्घटना : घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

    काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

    दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए ।

    प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

  • भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुरको होम्ताङमा एम्बुलेन्स दुर्घटना : दुई गम्भीर घाइते

    भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् ।

    प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

    घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले बताए ।

    – रासस

  • पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    पूर्वमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन

    सुर्खेत। कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर बुढाक्षेत्रीको सोमबार निधन भएको छ।

    ७१ वर्षीय बुढाक्षेत्रीको मिर्गौला रोगको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । पश्चिम सुर्खेतको बराहताल–६ ब्यूरेनीका स्थायी बासिन्दा बुढाक्षेत्रीको निधनप्रति कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलगायत नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    बुढाक्षेत्रीले करिब १५ वर्ष शिक्षण पेशामा बिताए । २०२९ सालमा शिक्षक बनेका उनले २०४३ सम्म निरन्तर पढाए । त्यसपछि पोखरीडाँडा पञ्चायतका प्रधानपञ्च भएर उनले राजनीतिक यात्रा थाले ।

    २०४९ मा पोखरीकाँडा गाविस अध्यक्ष बने । २०५२ देखि २०७२ सम्म उनी कांग्रेस क्षेत्रीय सभापति रहे । २०७४ मा प्रदेशसभा सदस्य बनेका उनी २०७८ मा दुई कार्यकाल गरेर करिब १६ महिना कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री बने ।

    शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिने नेताका रुपमा बुढाक्षेत्री परिचित थिए । उनले गाउँ, गाउँमा विद्यालय तथा स्वास्थ्य संस्था विस्तारमा सक्रिय भूमिका खेलेका थिए । २०६२/६३ को जनआन्दोलन र कर्णालीलाई छुट्टै प्रदेश बनाउन गरिएको आन्दोलनमा पनि उनी अग्रमोर्चामा देखिएका थिए ।

  • वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

    वनभोज स्थलका रुपमा विकास हुँदै इटहरीको तालतलैया

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया वनभोज स्थलका रूपमा लोकप्रिय बन्दै गएको छ ।

    पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक वनभोजका लागि तालतलैया आउने गरेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले बताए ।

    एकैपटक ७० भन्दाबढी समूहले वनभोज कार्यक्रम आयोजना गर्न सक्ने तालतलैया क्षेत्रको क्षमता रहेको अध्यक्ष रायमाझी बताउँछन् । वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    जाडो छल्न तालतलैयामा पाहुना चराको चहलपहल

    पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको छ । अध्यक्ष रायमाझीका अनुसार भारतका विभिन्न सहरदेखि पर्यटक आउने गरेका छन् । नेपालका सिरहा, सप्तरी क्षेत्रबाटसमेत आन्तरिक पर्यटक आउँछन् ।

    आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको छ । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

    स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या पनि उल्लेखनीय छ ।

    इटहरी आसपासका आठ आकर्षक पर्यटकीय गन्तव्य

    तालतलैया पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझी बताउँछन् । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको छ ।

    तालतलैया २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    -रासस

  • विश्वका पाँच करोड मानिस अझै दासत्वको जोखिममा

    विश्वका पाँच करोड मानिस अझै दासत्वको जोखिममा

    काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ ।

    मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।

    संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

    राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन् । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् ।

    जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाएको छ ।

    अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।

  • जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

    जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

    काठमाडौं । विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तरराष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ ।

    युथ एड्भोकेसी नेपालले आज यहाँ आयोजना गरेको संवादमा सरोकार भएका तथा विज्ञहरूले जलवायु परिवर्तन रोकथाम, कार्बन उत्सर्जन न्यूनीकरण, दिगो भविष्य निर्माण, सीमान्तकृत समुदायका मुद्दा तथा विकसित मुलुकको कमजोर प्रतिबद्धताबारे बहस गरेका थिए ।

    कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार नरेन खतिवडाले जलवायु परिवर्तनसँग जुध्न युवाको नेतृत्व विकास आवश्यक रहेको उल्लेख गरे । उपप्राध्यापक प्रतिमा गुरुङले आदिवासी, जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अन्तरराष्ट्रिय मञ्चका प्रक्रियामा समेटिनुपर्ने सुझाव दिए ।

    ‘लाभिया क्यापासिना’ प्रतिनिधि प्रेमश अधिकारीले विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने हरितगृह ग्यासको प्रभावले गरिब मुलुकहरू बढी प्रभावित भएको उल्लेख गरे । जलवायु अभियन्ता प्रयास अधिकारीले जलवायु नीतिमा लैङ्गिक तथा सीमान्तकृत समुदायको सहभागिता अनिवार्य रहेको बताए ।

    एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले राष्ट्रिय तथ्याङ्क, युवा सहभागिता र भावी रणनीतिबारे जानकारी गराउदै नेपालजस्ता विकासशील राष्ट्रका जलवायु प्राथमिकतामा युवाको आवाज थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

  • विभेद अन्त्य आवश्यक छ : प्रदेश प्रमुख मियाँ

    विभेद अन्त्य आवश्यक छ : प्रदेश प्रमुख मियाँ

    कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विभिन्न प्रकारका विभेदहरू अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझ्दै उनले विभेद अन्त्यका लागि अझै पहल आवश्यक रहेको बताएका हुन् ।

    ‘हाम्रो समाजमा अझै पनि विभिन्न विभेदहरू हट्न सकेको छैन । जातीय विभेद, छाउपडी प्रथा जस्ता समस्याहरू कम भए पनि रोकिएको छैन ’ उनले भने ‘अब त्यस्ता कुप्रथा निर्मूल गर्नु पर्छ ।’

    नेपालमा मानव अधिकार आयोगले गरिरहेको कामप्रति सन्तोष व्यक्ति गर्दे प्रदेश प्रमुख मियाँले आयोगलाई अझै साधन स्रोत तथा प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका थिए । उनले आयोगकै कारण मानव अधिकार उल्लंघनका घटनाहरूमा कमी आएको बताए ।

    प्रदेश प्रमुख मियाँले अहिले भूमिहीनको समस्या बढिरहेको भन्दै उनीहरूको मानवअधिकार हनन हुन नदिन पहल गर्न पनि अयोगलाई सुझाव दिएका थिए ।

    आयोगको वार्षिक प्रतिवेदनमा सुदूरपश्चिममा मानव अधिकारको अवस्था, हननका घटना र आयोगका गतिविधिहरू उल्लेख गरिएको छ ।

    वार्षिक प्रतिवेदन हस्तान्तरण गर्दै मानव अधिकार आयोग प्रदेश कार्यालयका निमित्त प्रमुख झंकर रावलले आयोगले सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा गरिरहेका गतिविधि बारे जानकारी गराएका थिए ।

    सरकारले उक्त प्रतिवेद अध्ययन गरेर दिइएका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

    प्रदेश प्रमुख मियाँले प्रदेश सरकारमार्फत प्रदेश सभामा पनि प्रतिवेदनमा छलफल गरिने बताउँदै त्यसले समस्या समाधान गर्न मद्दत गर्ने बताएका थिए ।