Tag: नेपाल प्रहरी

  • प्रहरीमा थपिएका तीन दर्जाका २० हजार दरबन्दीमध्ये ३३८३ बढुवा सिफारिस

    प्रहरीमा थपिएका तीन दर्जाका २० हजार दरबन्दीमध्ये ३३८३ बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा थपिएका तीन दर्जाका करिब २० हजार दरबन्दीमध्ये ३ हजार ३ सय ८३ जनाको बढुवा सिफारिस भएको छ।

    प्रहरी प्रधान कार्यालयले शुक्रबार बिहान वरिष्ठ नायव निरीक्षक (सई), वरिष्ठ हवल्दार र सहायक हवल्दारका लागि उक्त सिफारिस गरेको हो। वरिष्ठ सईमा एक सय ९१ जना, वरिष्ठ हवल्दारमा एक हजार एक सय ७३ र सहायक हवल्दारमा एक हजार ७ सय ५२ जनालाई बढुवा सिफारिस गरिएको हो।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुबहादुर केसीले वरिष्ठताका आधारमा विभिन्न चरणमा रिक्त दरबन्दी पूर्ती गरिने बताए। ‘एकैपटक बढुवा गर्दा सिनियरहरुलाई मार पर्ने भएकाले विभिन्न चरणमा हामीले बढुवा सिफारिस निकाल्दै छौँ। यसले गर्दा वरिष्ठता पनि कायम होस् भन्ने हो’, उनले भने।

    प्रहरी प्रधान कार्यालयले वरिष्ठतालाई मात्र आधार मानेर यी तीन दर्जाका दरबन्दी पूर्ती गर्दैछ।

  • एआईजी सिफारिसमा असन्तुष्ट डीआईजीहरू अदालत जाने मुडमा

    एआईजी सिफारिसमा असन्तुष्ट डीआईजीहरू अदालत जाने मुडमा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीका) लागि भएको सिफारिसमा असन्तुष्ट नायब महानिरीक्षक (डीआईजी) हरूले अदालत जाने तयारी गरेका छन् ।

    वरीयता मिचेर सिफारिस गरेको भन्दै आफूहरू दाबेदार भएको उनीहरूको निष्कर्ष छ। बढुवा समितिले थपिएका तीन एआईजी दरबन्दीमा चैत १ गते डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको सिफारिस गरेको थियो ।

    समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । कसैले उजुरी नगरे उनीहरू एआईजीमा बढुवा हुने छन् ।

    वरीयतामा अगाडि रहेका डीआईजी घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्ट जनाइरहेका छन् । यी तीनैजना वर्तमान आईजिपी शैलेश थापाका ब्याचीहरू हुन् । उनीहरूले वैशाख १८ बाट अवकाश पाउँदैछन् ।

    सिफारिसमा परेका पन्त पनि आईजीपी थापाका ब्याची हुन् । अन्य दुईजना सिंह र धानुक एआईजी भए उनीहरू दुवै भावी आईजीपीका लागि प्रतिस्पर्धी मानिनेछन् ।

    सामाजिक सञ्जालमा सक्रिय देखिने ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्टि जनाउँदै अदालत जाने संकेत गरेका छन् ।

    ‘अन्तिम आशा त न्यायालयकै रह्यो । हेरौँ जाम कि नजाम’ भन्दै ट्वीटरमा भोटिङ पोल बनाएका कार्कीले जाम भन्ने पक्षमा ८४ प्रतिशतभन्दा बढी मत आएपछि आइतबार लेखेका छन्, ‘फाइनल्ली ! डेमोक्रेसीमा बहुमतको कदर त गर्नैपरो । ‘ओखली में सिर दिया तो मूसल का क्या डर ।’

  • १० डीएसपीको काज सरुवा, तीन जिल्ला र दुई वृत्तका प्रमुख फेरिए

    १० डीएसपीको काज सरुवा, तीन जिल्ला र दुई वृत्तका प्रमुख फेरिए

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक-डीएसपीको काज सरुवा गरेको छ। आइतबार साँझ गरिएको काज सरुवाअनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

    रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुख बन्ने भएका छन् । सातदोबाटो प्रहरी वृत्तमा मदन केसी र चापागाउँ प्रहरी वृत्त प्रमुख भएर द्धारिका घिमिरे पुगेका छन् ।

  • ६ जना एसपीको काज सरुवा, तीन जिल्लाका प्रमुख फेरिए

    ६ जना एसपीको काज सरुवा, तीन जिल्लाका प्रमुख फेरिए

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

    तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा विरेन्द्र शाही पुगेका छन्।

    चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ ।

  • नेपाल प्रहरीको प्रवक्ता फेरिए, लामो समयपछि प्रवक्ताको जिम्मेवारी डीआईजीपीलाई

    नेपाल प्रहरीको प्रवक्ता फेरिए, लामो समयपछि प्रवक्ताको जिम्मेवारी डीआईजीपीलाई

    काठमाडौं । नेपाल प्रहरीको प्रवक्ता फेरिएका छन् । यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुखमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मुकुन्दराज आचार्यलाई दिइएको हो ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजीपी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रहरी महानिरीक्षको सचिवालयमा आउनु अघि आचार्य लुम्बिनी प्रदेशको प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजीपीले पाउने व्यवस्था भए पनि लामो समयदेखि एसएसपीले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    तत्कालिन प्रहरी प्रवक्ता कुँवर भन्दा अघि भने अहिलेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाही डीआईजीपी हुदाँ प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि भने एसएसपी कुँवरले नै प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

  • अपराध आँकडाः बैंकिङ कसूरका घटनामा सतप्रतिशत वृद्धि, आत्महत्याको बढ्दो दरमा ब्रेक

    अपराध आँकडाः बैंकिङ कसूरका घटनामा सतप्रतिशत वृद्धि, आत्महत्याको बढ्दो दरमा ब्रेक

    काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यस वर्ष अपराधिक घटनाहरू उल्लेख्य बढेका छन् । प्रहरीको तथ्यांकअनुसार आवको पहिलो पाँच महिनाको तुलनानात्मक अध्ययन गर्दा १७ दशमलव २१ प्रतिशतले अपराधका घटना बढेको देखिन्छ ।

    यस वर्ष लागुऔषध, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, चोरी, ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बन्धी कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ । प्रहरीका अनुसार कर्तव्य ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हातहतियार खरखजानाजस्ता कसूरजस्ता अपराध भने घटेका छन् ।

    यस अवधिमा आत्महत्याको बढ्दो दरमा पनि ब्रेक लागेको छ । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले यस वर्ष ११ दशमलव १६ प्रतिशतले आत्महत्यामा कमी आएको जानकारी दिए । कुँवरका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २ हजार ६ सय २८ जनाले आत्महत्या गरेका छन् । उनीहरूमध्ये २ हजार एक सय ९० जनाले झुण्डिएर ज्यान गुमाएका हुन् ।

    यस्तै तीन सय ९२ जनाले विष सेवन गरेर, १७ जनाले हाम फालेर, १८ जनाले पानीमा डुबेर, ६ जनाले हातहतियार औजारबाट र ५ जनाले आगो लगाएर आत्महत्या गरेका छन् ।

    बढेका अपराध

    गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी बैकिङ कसुरका घटना १०५ प्रतिशतले बढेका छन् । नेपाल प्रहरीको पाँच महिनाको कार्य प्रगति विवरण अनुसार विभिन्न १४ वटा मुख्य अपराधका घटनामध्ये सबैभन्दा बढी बैंकिङ कसुर अपराधका घटना बढेको पाइएको हो । गत आर्थिक वर्ष २०७७/०७८ को समीक्षा अवधिमा ८ सय ८० वटा बैंकिङ कसुरका अपराध भएकोमा यस वर्ष एक हजार आठ सय ७ वटा पुगेका छन् ।

    दोस्रोमा मानव बेचविखन तथा ओसारपसारका घटना पनि ९० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ४० वटा मानव बेखविखनका अपराधिक घटना भएकोमा चालु आर्थिक वर्ष सोही अवधिमा ७६ वटा घटना भएका छन् ।

    बैंकिङ कसुर र मानव बेचबिखनका घटना बढ्नुको कारणबारे प्रश्न गर्दा प्रहरी प्रवक्ता कुँवरले अपराध बढेको नभइ प्रहरीको सक्रियता बढेको दाबी गरे । अपराध भएलगत्तै उजुरी गर्ने र प्रहरीलाई जानकारी गराउने प्रवृत्तिको पनि विकास हुदैँ गएको प्रहरी प्रवक्ताको भनाइ छ ।

    उनले भने, ‘पछिल्लो वर्ष मानव बेचबिखन रोक्नका लागि प्रहरीले नै मानव बेचविखन अनुसन्धान व्यूरो स्थापना गरेर यसैमा केन्द्रित भइ काम गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो पनि सक्रिय छ । प्रहरीका सबै युनिट सक्रिय भएपछि र नागरिक पनि सचेत हुन थालेपछि घटना धेरै बाहिर आउनु स्वभाविक हो ।’

    लागुऔषधको अपराधका घटना पनि अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा १ हजार १५ वटा लागुऔषधका अपराध भएकोमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा एक हजार ५ सय ७८ वटा घटना भएका छन् ।

    सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरका अपराध पनि करिब ४५ प्रतिशतले नै वृद्धि भएको छ । अघिल्लो वर्षको पाँच महिनामा दुई हजार पाँच सय १७ वटा अपराध भएकोमा यस वर्ष भने बढेर ३ हजार ६ सय ४२ वटा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरका अपराध भएका छन् । यस्तै अघिल्लो वर्षको पाँच महिनाको तुलनामा यस वर्षको पाँच महिनामा चोरी ३५ प्रतिशतले, अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर २७ प्रतिशतले वृद्धि भएको छ ।

    घटेका अपराध

    हातहतियार खरखजानाका घटना अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै २१ प्रतिशतले घटेको छ । प्रहरीको तथ्यांकअनुसार अघिल्लो वर्षको पाँच महिनाको अवधिमा १ सय १३ वटा भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ८९ वटा मात्रै भएका छन् । दोस्रोमा कर्तव्य ज्यान अपराधका घटना पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पाँच महिनाको अवधिमा दुई सय ९० वटा कर्तव्य ज्यान अपराधका घटना भएकोमा चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा दुई सय ४६ वटा घटना भएका छन् ।

    यस्तै आत्महत्याका घटना बढिरहेका समाचार आइरहदा प्रहरीको तथ्यांकले भने अघिल्लो वर्षको तुलनामा आत्महत्याका घटना ११ प्रतिशतले घटेको देखाउँछ । अघिल्लो वर्ष पाँच महिनाको अवधिमा २ हजार ९ सय ९५ जनाले आत्महत्या गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा दुई हजार ६ सय २८ जनाले आत्महत्या गरेका छन् ।

    यस्तै जबरजस्ती करणीका घटना पनि अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पाँच महिनाको अवधिमा मात्र १ हजार ९७ जनामाथी जवरजस्ती करणी भएकोमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ९ सय ९३ जबरजस्ती करणीका घटना भएका छन् ।

    महिला बालबालिकासम्बन्धी अपराध ६ प्रतिशतले घटेको छ । नेपाल प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयको तथ्यांक अनुसार समिक्षा अवधिमा यस्तो अपराध ६ दशमलव ७८ प्रतिशतले घटेको हो । जसअनुसार अघिल्लो आर्थिक वर्षमा २ हजार ५० विभिन्न ८ प्रकारका घटना भएकोमा चालू आर्थिक वर्षमा १ हजार ९ सय ११ वटा भएका छन् ।

    घरेलु हिंसाका घटना जोडेर हेर्दा भने महिला बालबालिकासम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा करिव १८ प्रतिशतले बढेको छ । घरेलु हिंसाका मात्र घटना २६ दशमलव ६७ प्रतिशतले बढेको छ ।

    अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ५ हजार ७ सय ८६ घरेलु हिंसाका घटना भएकोमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ हजार ३ सय २९ घटना भएका छन् । समग्रमा गत वर्ष ७ हजार ८ सय ३६ वटा घटना भएकोमा यस वर्ष ९ हजार २ सय ४० वटा घटना भएका छन् ।

    अभियुक्त पक्राउमा तीव्रता

    चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १८ हजार ६ सय ८० वटा मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन् । जसमा कर्तव्य ज्यानका एक दशमलव ३२ प्रतिशत अर्थात दुई सय ४६ वटा मुद्दा दर्ता भएका छन् ।

    प्रहरीको तथ्यांकअनुसार अभियुक्त पक्राउमा करिव २० प्रतिशतले वृद्धि भएको छ भने अभियुक्त फरार हुने क्रम करिव २१ प्रतिशतले घटेको छ ।

    रेडकर्नर नोटिसका तीन पक्राउ

    पाँच महिनाको अवधिमा रेड नोटिस जारी भएका तीनजना पनि विभिन्न देशबाट पक्राउ परेका छन् । प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन ३० गते सरकारी कागजात किर्ते गरेको अभियोगमा कूटनीतिक माध्यमबाट सफलतापूर्वक सुपुर्दगी गरेर पोर्चुगतलबाट केदार ढुंगानालाई फक्राउ गरिएको छ ।

    यस्तै, ३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाल पनि त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालयबाट मंसिर १९ गते पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा मुछिएका अशोक गुरुङ मंसिर २९ गते कूटनीतिक माध्यमबाट सुपुर्दगी प्रक्रियाबाट बहराइनबाट पक्राउ परेका छन् ।

    बाल विवाहका घटनामा कमी

    चालु आर्थिक वर्षमा बाल विवाहका घटना भने ५३ प्रतिशतले घटेको पाइएको छ । प्रहरीको तथ्यांकअनुसार अघिल्लो वर्षको पाँच महिनाको अवधिमा ४१ वटा भएकोमा यस वर्ष भने ५३ दशमलव ६५ प्रतिशतले घटेर १९ वटामा झरेको हो ।

    यस्तै बोक्सीको आरोपका घटना पनि ३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३७ वटा घटना भएकोमा यस वर्ष ३२ दशमलव ४३ प्रतिशतले घटेर २५ जनामाथी बोक्सीको आरोपका घटना भएका छन् । अप्राकृतिक मैथुनका घटना पनि २० प्रतिशतले घटेर अघिल्लो वर्ष १५ वटा भएकोमा यस वर्ष १२ वटा भएका छन् ।

    यस्तै जबरजस्ती करणी ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ हजार ९७ वटा जबरजस्ती करणीका घटना भएकामा यस वर्ष ९ दशमलव ४८ प्रतिशतले घटेर ९ सय ९३ वटा भएका छन् । बहुविवाहका घटना पनि आठ प्रतिशतले घटेका छन् । अघिल्लो वर्ष ३ सय ८४ वटा बहुविवाहका घटना भएकोमा यस वर्ष ८ दशमलव ५९ प्रतिशतले घटेर ३ सय ५१ वटा घटना भएका छन् ।

    समग्रमा चालू आर्थिक वर्षमा घरेलु हिंसा बाहेक एक हजार ९ सय ११ वटा महिला बालबालिकासम्बन्धी मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षभन्दा ६ दशमलव ७८ प्रतिशतले मुद्धा दर्ता संख्या घटेको छ । चालू आर्थिक वर्षमा बहुविवाह, बालविवाह, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अप्राकृतिक मैथुन, बोक्सीको आरोप लगायतका मुद्धा गत वर्षभन्दा कम दर्ता भएका छन् । मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचारसम्बन्धी मुद्दा बढी दर्ता भएका छन् ।

    समग्रमा महिला तथा बालबालिकासम्बन्धी अपराधमा घरेलु हिंसा पहिलो स्थानमा रहेको प्रहरीको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत वर्षभन्दा यस वर्ष घरेलु हिंसा २६ दशमलव ६७ प्रतिशतले बढेको छ ।

    चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म अर्थात पाँच महिनामा जम्मा १८ हजार ६ सय ८० वटा मुद्दा दर्ता भएका छन्, जसमा महिला तथा बालबालिकासम्बन्धी घटना १ हजार ९ सय ११ रहेका छन् । महिला तथा बालबालिकासम्बन्धी अपराधाका घटनाले जम्मा अपराधको औसत भार १० दशमलव २३ प्रतिशत छ । चालु आर्थिक वर्षमा जबरजस्ती करणी मुद्धामा मात्र १ हजार एक सय चारजना प्रतिवादी र ९ सय ९८ जना पीडित बालबालिका तथा महिला रहेका नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले जनाएको छ ।

  • प्रहरीका दुई प्राविधिक एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

    प्रहरीका दुई प्राविधिक एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूहतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहका एसएसपी डा‍.सञ्जयविक्रम श्रेष्ठ र डा.गोपेशकुमार ठाकुरलाई डिआइजीपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    डा‍.श्रेष्ठ र डा‍.ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) विश्वराज पोखरेलले जानकारी गराएका हुन् ।

     

  • प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप

    प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप

    काठमाडौं । नेपाल प्रहरीमा तीन पद थप भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो ।

    ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि उक्त पद थप भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त संशोधन प्रस्ताव मन्त्रीपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेका थिए ।

    मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । तल्लो दर्जामा काम गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउन नयाँ पद सिर्जना गरिएको गृह मन्त्रालयले जनाएको छ । तीन दर्जा थपिएसँगै यस अघि प्रहरीमा रहेको ११ दर्जाबाट बढेर प्रहरी जवानदेखि प्रहरी महानिरीक्षकसम्म १४ पुगेको छ ।

  • नेपाल प्रहरीका आठ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका आठ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहिबार बसेको बैठकले आठ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

    बढुवा सिफारिस हुनेमा डिएसपी जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

    जसमा शाही प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, कार्की दुइ नम्बर प्रदेश प्रहरी कार्यालय डीआइजीपीको सचिवालय, जोशी महानगरी सशस्त्र प्रहरी गण मुख्यालय, तिमिल्सैना प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखा, पाण्डे राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, अधिकारी एक नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण, पण्डित महानगरीय आश्रित सशस्त्र प्रहरी गण गुल्म र रानाभाट प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा टङाफिक निर्देशनालयमा कार्यरत छन् ।

    अब उनीहरु सबैको नयाँ कार्यालयमा पदस्थापन हुने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

  • पदीय जिम्मेवारी पूरा गर्न नसकेपछि धनुषा र सर्लाहीका एसपीको सरुवा

    पदीय जिम्मेवारी पूरा गर्न नसकेपछि धनुषा र सर्लाहीका एसपीको सरुवा

    जनकपुरधाम । प्रदेश २ का दुई जिल्लाका प्रहरी प्रमुखको काज सरुवा गरिएको गरिएको छ । धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौर सरुवा भएका छन् ।

    प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले प्रहरी प्रधान कार्यालयले एसपीद्वय रानाभाट र राठोरको काज सरुवा गरिएको जानकारी दिए । काज सरुवा किन गरिएको विषयमा उनले केहि बोलेका छैन् ।

    एसपी कृष्ण प्रसाईलाई सर्लाही र एसपी बसन्त रजौरेलाई जिप्रका धनुषाको प्रमुख बनाएर पठाइएको छ । प्रसाई यसअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

    जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए पनि प्रहरी केहि गर्न नसकेकोले धनुषाका एसपी रानाभाटको काज सरुवा गरिएको स्रोतले जनायो ।

    यस्तै सर्लाहीमा गैरकानूनी काम बढेको र नियन्त्रण गर्न नसकेको आरोप एसपी राठोरमाथि छ । उनले तास खेलेको भिडियो पनि सार्वजनिक भएकाले सरुवामा परेका हुन् ।

  • तस्बिरमा ६६औं प्रहरी दिवस

    तस्बिरमा ६६औं प्रहरी दिवस

    काठमाडौं । आज ६६औं प्रहरी दिवस मनाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा विशेष समारोहबीच दिवस आयोजना गरिएको छ ।

    प्रहरी दिवसको विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलगायत उपस्थित थिए । प्रमुख अतिथि प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे ।

    सो अवसरमा प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरियो ।

    प्रहरीका देशभरका युनिटहरूमा कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । प्रहरी दिवसमा नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धान एवम् विपद् र महामारीमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ ।

  • भदौ महिनामा मात्रै करिव ४ हजार अपराधका घटना प्रहरीमा दर्ता (विवरणसहित)

    भदौ महिनामा मात्रै करिव ४ हजार अपराधका घटना प्रहरीमा दर्ता (विवरणसहित)

    काठमाडौं । भदौ महिनामा मात्र नेपाल प्रहरीका सबै निकायमा गरेर करिव ४ हजार अपराधका घटना दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८-०७९ को भदौ महिनाको मासिक कार्य प्रगति विवरण अनुसार एक महिनाको अवधिमा मात्र ३ हजार ९ सय ८ वटा अपराधका घटना दर्ता भएका हुन् ।

    विवरण अनुसार भदौ महिनामा दैनिक रुपमा एक सय २६ वटा मुद्दा दर्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तुलनामा भन्दा मुद्दा दर्ता संख्या भने यस महिना शुन्य दशमलव २० घटेको छ । उनका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को भदौ महिनामा २ हजार ८ सय ३७ वटा अपराधा घटना दर्ता भएका थिए । चालू आर्थिक वर्षको भदौ महिनामा गत आर्थिक वर्षको तुलनामा भदौ महिनामा भन्दा २७ प्रतिशतले मुद्दा दर्ता संख्या बढेका छन् ।

    काठमाडौं उपत्यकामा मात्रै ९ सय ६६ वटा अपराधका घटना दर्ता
    महिनाभरि दर्ता भएको घटनाको तथ्यांक अनुसार सबैभन्दा धेरै घटना काठमाडौं उपत्यकामा ९ सय ६६ वटा अपराधका घटना दर्ता भएका छन् । जसमा केन्द्रीय अनुसन्धान व्यूरोमा दर्ता भएका २ वटा घटना पनि जोडिएका छन् । तर सबैभन्दा कम भने कर्णाली प्रदेशमा १ सय ३३ वटा घटना मात्रै दर्ता भएका छन् । काठमाडौं उपत्यकामा मात्र मुलुकभरका भइरहेका कुल अपराधको २४ दशमलव ७१ घटना दर्ता भएका छन् ।

    करिव १५ सय जना अदालतबाट सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
    भदौ महिनामा एक हजार ४ सय ४४ जना अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश १ बाट सबैभन्दा धेरै ४ सय ५९ जना पक्राउ परेका छन् । साउन महिनामा भन्दा भदौ महिनामा अदालती फैसला कार्यान्वयन २९ प्रतिशतले बढेको छ । भदौ महिना भरी पक्राउ परेका एक हजार ४ सय ४४ जना अभियुक्तलाई जम्मा गरेर ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ भने जरिवाना बापत ६ करोड ७१ लाख ३५ हजार ६ सय ९७ रुपैयाँ विगो रकम असुल गरिएको छ ।

    विभिन्न शिर्षकमार्फत ३४ करोड भन्दा बढी राजस्व संकलन
    यस्तै विभिन्न शीर्षक मार्फत जम्मा एक महिनाकै अवधिमा ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजस्व पनि प्रहरीले संकलन गरेको छ । साउन महिनामा संकलन भएको ३६ करोड ४७ लाख ६५ हजार ३ सय ३१ भन्दा यो महिनामा ६ प्रतिशतले कमी हो ।

    एक महिनामा सवारी दुर्घटनामा परी एक सय ७० जनाको मृत्यु
    भदौ महिनामा भएका एक हजार ७ सय ९८ वटा सवारी दुर्घटनामा परी एक सय ७० जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर ५ सय १५ जना गम्भीर घाइते समेत भएका छन् । भदौ महिनामा सबैभन्दा धेरै उपत्यकामा मात्र ८ सय ४६ वटा दुर्घटना भएको र सबैभन्दा धेरै प्रदेश एकमा र प्रदेश २ मा बराबर ३७-३७ जनाको मृत्यु भएको छ । साउन महिनाको तुलनामा भदौ महिनामा दुर्घटना संख्या एक प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या ६ प्रतिशतले कमी आएको छ । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना भएका छन् ।

    ३०४ लागू औषध अपराध सम्बन्धी मुद्दामा संलग्न ४७५ जना पक्राउ
    प्रहरी प्रधान कार्यालयका अनुसार भदौ महिनामा जम्मा ३ सय ४ वटा लागू औषध अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् । ति अपराधमा संलग्न ४ सय ७५ जना मानिस पक्राउ परेका छन् । लागू औषधको मुद्दा दर्ता संख्या साउन महिनाको तुलनामा भदौमा प्रतिशतले घटेको र मानिस पक्राउ पनि १४ प्रतिशतेल घटेको छ ।

    भदौ महिनामा प्रति दिन सरदर ९ वटा लागू औषधका मुद्दा दर्ता हुने गरेकोमा औसत १५ जना मानिस दैनिक रूपमा पक्राउ परेका छन् । भदौ महिनामा नै लागू औषध गाँजा ७ सय ९० किलो, चरेश ३ हजार ६ सय २ किलो, हेरोइन ७ सय ५४ ग्राम, अफिम २ किलो र कोकिन २ दशमलव ९६ किलो बरामद भएको छ । भदौ महिनामा नै ४८ नाल हातहतियार र विभिन्न हतियारमा लाग्ने २० राउण्ड गोली र ३ थान म्यागजिन पनि बरामद भएको छ । यसमा संलग्न २६ जना पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार कर्तव्य ज्यानका ३८ वटा घटना भएका छन् । जम्मा घटना शुन्य दशमलव ९७ प्रतिशत रहेको छ । हातहतियार तथा खरखजाना सम्बन्धी २४ वटा, बाल यौन दुराचार २४ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी ११ वटा र मानव बेचबिखन तथा ओसारपसार १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ४ सय ८१ वटा घटनामध्ये झुन्डिएर ३ सय ७८, विष खाएर ९४, पानीमा डुबेर ६, हाम फालेर एक, हातहतियार औजारबाट एक र आगो लगाएर एक जनाले ज्यान गुमाएका छन् ।

    ७६ प्रतिशत अभियुक्त पक्राउ, २४ प्रतिशतको खोजी कार्य जारी
    भदौ महिनामा दर्ता भएका कुल ३ हजार ९ सय ८ वटा अपराधमा ४ हजार ८ सय २६ अभियुक्त पक्राउ परेका छन् । जसमा ४ हजार ४ सय ९१ पुरुष रहेका छन् भने ३ सय ३५ जना महिला रहेका छन् । ति मध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् । साउन महिनामा ४ हजार नौ सय २ जना अभियुक्तमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् । समग्रमा ७६ प्रतिशत अभियुक्त पक्राउ परेका र बाँकी २४ प्रतिशतको खोजी भइरहेको जनाइएकाे छ ।

    भदौ महिनाभरी ६ सय २४ विपद्का घटनाबाट ६५ जनाले ज्यान गुमाएका छन् भने एक सय ९ जना घाइते भएका छन् । पहिरोबाट ४०, बाढीबाट १२, चट्याङबाट ६, जनावरको आक्रमणबाट ३ र अविरल वर्षाबाट एक जनाको मृत्यु भएको छ । विपद्का घटनाको प्रतिकार्यमा ३ हजार ९ सय ८१ जना प्रहरी कर्मचारी परिचालन थिए ।

    नेपाल प्रहरी अस्पतालमा कोभिड–१९ बिरुद्दको खोप लगाउने कार्यक्रममा भेरोसिल लगाउनेको संख्या ५ हजार ८ सय ४८ जना, कोभिसिल्ड लगाउने १ हजार ५ सय ९६ जना र जोनसोन एण्ड जोनसोन लगाउने ८ हजार १९ जना गरी जम्मा १५ हजार ४ सय ६३ जनाले खोप लगाएका छन् ।

     

  • नेपाल प्रहरीमा प्राविधिक तर्फ असईदेखि डीएसपीसम्म २२१ जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

    काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ २ सय २१ जनाका लागि भर्ना खुलेको छ ।

    प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) सम्मका लागि दरखास्त माग गरिएको हो ।

    प्राविधकि समूह, स्वास्थ्य उपसमूह तर्फ नेपाल प्रहरी अस्पताल अन्तरगतका पद, इन्जिनियरिङ उपसमूहतर्फ सञ्चार निर्देशनालय अन्तरगर्तका पद, इन्जिनियरिङ उपसमूहतर्फ सूचना प्रविधि निर्देशनालय अन्तरगतका पद, इन्जिनियरिङ उपसमूहतर्फ भौतिक पूर्वाधार निर्देशनालय अन्तरगतका पद, केनाईन उपसमूहतर्फ केनाईन महाशाखा अन्तरगतका पद, हातहतियार (आरमर) उपसमूहतर्फ हातहतियार मर्मत शाखा अन्तरगतका पदका र विधि विज्ञान उपसमूहतर्फ केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोशाला अन्तरगतका पदका लागि भर्ना खुला गरिएको हो ।

    सूचना अनुसार भर्नाका लागि सार्वजनिक विदाको दिन बाहेक भदौ २८ गते बिहान १० बजेदेखि कात्तीक ७ गते साँझ ५ बजेसम्म ७ वटै प्रदेश प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

  • चार एआईजीको सरुवापत्र हेडक्वार्टर पुग्यो, गृहमन्त्रीका ‘साथी’ मेट्रोमै यथावत

    चार एआईजीको सरुवापत्र हेडक्वार्टर पुग्यो, गृहमन्त्रीका ‘साथी’ मेट्रोमै यथावत

    काठमाडौं । सरकारले नेपाल प्रहरीका ५ जना एआईजीपी सरुवा गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ । केपी ओली नेतृत्वको सरकारले एआईजीको सरुवा तथा पदस्थापन गरेलगत्तै बनेको नयाँ सरकारले सो निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएको थियो ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पाँच जना एआइजीको सरुवा तथा पदस्थापन गर्दा महानगरीय प्रहरी आयुक्त हरिहरिबहादुर पाल भने यथावत रहेका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका ‘खानपिन’ गर्ने साथीका रूपमा चिनिन्छन् ।

    पछिल्लोपटक बढुवा भएका सहकुलबहादुर थापाको सरुवा तथा पदस्थापन कार्य विभागमा भएको छ । यसअघिको सरकारले बढुवासँगै उनलाई मानवश्रोत तथा प्रशासन विभागमामा पदस्थापन गरेको थियो ।

    एआईजी प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान महाशाखा र निरजबहादुर शाहीलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै विश्वराज पोखरेल अपराध अनुसन्धानबाट मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएका छन् ।

    चार एआइजीको सरुवा र एकजनाको पदस्थापनसम्बन्धी पत्र प्राप्त भएको प्रहरी प्रवक्ता वसन्त कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

    ओली नेतृत्वको सरकारले गरेको सरुवा २ महिना थमौती गरेर अर्को सरुवा

    गत असार २४ गते बसेको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)को एक पद सृजना गरेर प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) बाट प्रहरी एआईजीपीमा सहकुलबहादुर थापालाई बढुवा गरेर मानवश्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको थियो । उक्त बैठकले अन्य ४ एआईजीपीको पनि सरुवा गरेको थियो ।

    जसमा मानवश्रोत तथा प्रशासन विभागमा कार्यरत निरजबहादुर शाहीको कार्य अपराध अनुसन्धान विभागमा, कार्य अपराध अनुसन्धान विभागमा कार्यरत विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, प्रतिष्ठानमा कार्यरत प्रधुम्नकुमार कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पाललाई कार्य विभागमा सरुवा गरेको थियो ।

    यस्तै विश्वराज पोखरेललाई डीआईजीपीबाट एआईजीपीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएपछि ९ महिना अघि पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो । सामान्यतया १ बर्षमा प्रहरी अधिकृतको सरुवा हुने भए पनि एआईजीपीमा नयाँ दरबन्दी सृजना भएपछि पालको सरुवा ७ महिनामा भए पनि त्यसलाई वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले भने सरुवा थमौती गरेर रोकेको छ । ७ महिनामा नै आफ्नो सरुवा गर्ने सरकारले निर्णय गरेपछि एआईजीपी पाल असन्तुष्ट थिए ।

  • प्रश्न–पत्र ‘लिक’ भएका कारण नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द

    प्रश्न–पत्र ‘लिक’ भएका कारण नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द

    काठमाडौं । नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको हो ।

    संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आफु मातहतका कार्यालयलाई विशेष कारणले’ परीक्षा रद्द भएको भन्दै परिपत्र गरेर जानकारी गराएको हो । परिपत्रमा परीक्षाको मिति तय भएपछि जानकारी गराइने र सहभागी हुनेलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ ।

    प्रहरी प्रधान कार्यालय,प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) वसन्त लामा नेतृत्वको छानविन समितिले प्रश्न–पत्र बाहिरिएको पुष्टि गरेपछि तीन प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरे लगत्तै परीक्षा पनि रद्द गरिएको जनाइएको छ । यूएन शाखाले साउन १५ र १६ गते लिएको प्रि–स्याट परीक्षाको प्रश्न–पत्र युएन शाखाबाटै चोरिएको थियो ।

    प्रहरी परिचर सुरेश बमले प्रश्न–पत्र चोरी गरेर साइबर ब्युरोका हवल्दार कुमार शाहलाई पठाएका अनुसन्धानबाट खुलेको थियो । शाहमार्फत सई जनकबहादुर थापासम्म प्रश्न पत्र पुगेको थियो । थापाले अन्य व्यक्तिलाई फोटोकपी गरेर प्रश्न–पत्र बाँडेका थिए । तीनै जनालाई बर्खास्त गर्न छानविन समितिको सिफारिस गरिसकेको छ ।

  • बढुवा भएका ६१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरहरू)

    बढुवा भएका ६१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरहरू)

    काठमाडौं । नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृतसहित ६१ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह पाएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरे ।

    सुशोभित हुनेहरुमा २०७८ साउन १४ को क्याबिनेट निर्णयअनुसार पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरूङ र सचिवस्तरको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ प्रहरी अधिकृत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन ऊर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् ।

  • प्रहरीको कार्यसम्पादन मूल्यांकन : एआईजीपीमा पाल पहिलो

    प्रहरीको कार्यसम्पादन मूल्यांकन : एआईजीपीमा पाल पहिलो

    काठमाडौं । एक वर्षअघि २०७७ असार २३ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) वरीयतामा पहिलो नम्बरमा रहेका शैलेस थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्‍यो ।

    थापालाई प्रहरी संगठनको प्रमुखमा सरकारले नियुक्त गर्दा दोस्रो वरीयतामा रहेका एआईजीपी हरिबहादुर पाल आईजीपीको फुली लगाउने लाइनबाट सधैँका लागि बाहिरिए । तर, प्रहरी संगठनको दोस्रो बरियतामा भने उनी अहिले पनि कायमै छन् ।

    थापा प्रहरी महानिरीक्षक बनेको ठीक एक वर्षपछि प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकृतको कार्यसम्पादन मुल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार एआईजीपी पाल पाँच जना एआईजीपीमध्ये उत्कृष्ठ हुन सफल भएका छन् ।

    बुधबार प्रहरी प्रधान कार्यालयले प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै आईजीपीदेखि एआईजीपी र डीआईजीपीसम्मका प्रहरी अधिकारीको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको हो । मूल्यांकनमा पाल एक नम्बरमा पर्न सफल भएका छन् ।

    भर्खरै एआईजीपीमा बढुवा भएका सहकुलबहादुर थापालाई छोडेर त्यतिबेला नेपाल प्रहरीका पाँचजना एआईजीपी र प्रहरी संगठन प्रमुख आईजीपी थापाको कार्यसम्पादन मूल्यांकन सम्झौताको सार्वजनिक भएको नतिजामा पाल उत्कृष्ट नम्बर ल्याउन सफल भएका हुन् ।

    सात महिनादेखि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालिरहेका पालले नेतृत्व गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी ९५ दशमलव ८९ प्रतिशत ल्याएर उत्कृष्ठ हुन सफल भएको हो । पाँचजना एआईजीपी तथा सातै प्रदेशका डीआईजीपीले प्रहरी महानिरीक्षक थापासँग एक वर्षअघि गत साउनमा कार्यसम्पादन सम्झौता गरेका थिए ।

    गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका प्रहरी महानिरीक्षक थापाले कार्यसम्पादनको मूल्यांकनमा ९०.५ प्रतिशत अंक ल्याएका छन् । उनले एक सय पूर्णाङ्कमा ९०.५ नम्बर ल्याएका हुन् ।

    एआईजीपीको कार्यसम्पादन मुल्यांकन नेपाल प्रहरी अस्पतालका निर्देशक एवम् एआईजीपी डा. आशा सिंह ७९ दशमलव १७ नम्बर ल्याएर उत्कृष्टको दोस्रो नम्बरमा पर्न सफल भएकी छन् । यस्तै ६७ दशमलव ११ अंक ल्याएर तेस्रो नम्बरमा मानव स्रोत तथा प्रशासन विभागका एआईजी निरजबहादुर शाही, चौथो नम्बरमा ६६ दशमलव ५२ अंक ल्याएर कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेल, ६६ दशमलव ७९ प्रतिशत अंक ल्याएर पाँचौ  तथा एआईजीपीको अन्तिम नम्बरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजीपी प्रद्युम्न कार्की पर्न सफल भएका छन् ।

    डीआईजीपीमा लामा उत्कृष्ट

    सात प्रदेशमध्ये वागती प्रदेशका डीआईजी उत्कृष्ट भएका छन् । अहिले प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका वागमती प्रदेशका तत्कालीन डीआईजीपी वसन्त लामा ९७ दशमलव तीन नम्बर ल्याएर उत्कृष्ट हुन सफल भएका हुन् ।

    त्यस्तै तत्कालीन लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजीपी रविन्द्रबहादुर धानुक ९६ दशमलव ५६ अंक ल्याएर दोस्रो हुन सफल भएका छन् । उनी लुम्बिनी प्रदेशबाट सरुवा भएर अहिले प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागको कार्य निर्देशनालयमा कार्यरत छन् ।

    यस्तै ९६ दशमलव ०३ अंक प्राप्त गरेर तत्कालीन गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीपी घनश्याम अर्याल तेस्रो नम्बरमा पर्न सफल भएका छन् । उनी त्यहाँबाट सरुवा भएर अहिले प्रहरी प्रधान कार्यालय विशेष व्यूरोमा कार्यरत छन् ।

    चौथोमा भने तत्कालीन प्रदेश नम्बर १ का प्रहरी प्रमुख ईश्वरबाबु कार्की ९५ दशमलव ९० अंक ल्याउन सफल भएका छन् । कार्की अहिले प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन् ।

    पाँचौमा तत्कालीन प्रदेश २ का प्रहरी प्रमुख डीआईजीपी धिरज प्रताव सिंह ९५ दशमलव ७४ प्रतिशत ल्याउन सफल भएका छन् । सिंह अहिले केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा कार्यरत छन् ।

    सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख छँदा चर्चा कमाएका उत्तमराज सुवेदी भने ९५ दशमलव २१ अंक प्राप्त गरेर छैठौंमा परेका छन् । उनी अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । ९४ दशमलव ९६ अंक ल्याएर सबैभन्दा पछि अर्थात सातौ नम्बरमा कर्णाली प्रदेशका प्रमुख डीआईजीपी वसन्तकुमार पन्त परेका छन् । उनी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत रहेका छन् ।

    नेपाल प्रहरीको समग्र कार्यसम्पादन सम्झौताको कार्यान्वयन अवस्था ८७ दशमलव ४६ प्रतिशत रहेको छ । प्रहरी प्रधान कार्यालय आफैंले गरेको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी ८७ दशमलव ४६ अंक ल्याउन सफल भएको जनाइएको हो ।

    प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरका अनुसार आफैंले यति काम गर्छु भनेर जनाएको प्रतिवद्धता र त्यसमा हासिल सफलताको अवस्थालाई कार्यसम्पादन मूल्यांकनले देखाउँछ । यसले प्रहरी अधिकारीको वृत्तिविकासमा भने खासै फरक नपार्ने उनको भनाइ छ ।

    उनले भने, ‘यसले छुट्टै त्यस्तो कुनै अर्थ त राख्दैन । त्यो कार्यालय प्रमुख र कार्यालयले आफूले यो-यो गर्छु भनेर गरेको प्रतिबद्धतामा कति सफल भयो भन्ने मात्र हो ।’

  • संगठनभित्र देखिएका कमजोरीलाई सुधार गर्दै जाने प्रहरी प्रवक्ता कुवँरको प्रतिवद्धता

    संगठनभित्र देखिएका कमजोरीलाई सुधार गर्दै जाने प्रहरी प्रवक्ता कुवँरको प्रतिवद्धता

    काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाएका छन् । बुधबार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी कुँवरले प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावलाई ग्रहण गरेर सुधार गर्दै जाने प्रतिवद्धता जनाएका हुन् ।

    एसएसपी कुँवरले भने, ‘कतिपय हाम्रा काम जानी नजानी गलत पनि भएका छन् । त्यस सन्दर्भमा भएका सूचना वा कुनै क्षेत्र जुन हामीले गर्नुपर्ने थियो तर संगठनले ध्यान पुर्‍याउन सकिरहेको छैन । त्यस्ता क्रियाकलापमा प्राप्त हुने सुझाव हामीले सधै प्राप्त होस् भनेर लागिरहेका छौँ । तपाईहरुबाट प्राप्त हुने सबै आलोचनात्मक सुझावलाई हामी स्वागत गर्छौं । संगठनको तर्फबाट त्यस्ता समस्या, गुनासा, क्रियाकलाप छन् भने त्यसलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

    प्रवक्ता कुँवरले प्रहरीले गत आर्थिक वर्ष २०७७-०७८ मा गलत क्रियाकलापमा संलग्न करिव दुई हजार प्रहरी कर्मचारीमाथी कारवाही भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनका अनुसार गत वर्ष एक हजार नौ सय ८२ प्रहरी कर्मचारीलाई कारवाही गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा एक हजार नौ सय ७४ प्रहरी कर्मचारीमाथी कारवाही भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा थप आठ जनामाथी कारवाही गरिएको हो ।

    एसएसपी कुवँरले भने, ‘कारवाहीको तुलनामा पुरस्कृत हुने प्रहरीको संख्या धेरै रहेको छ । गत आर्थिक वर्ष चार हजार चार सय ३० जना पुरस्कृत भएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा चार हजार नौ सय ५१ जना पुरस्कत भएका छन् ।’

    प्रहरी प्रधान कार्यालयले गत आर्थिक वर्ष २०७७-०७८ मा १५ हजार २४ जनालाई घुम्ति अनुशिक्षण गरेको छ भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा १४ हजार दुई सय २२ जना र त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा २५ हजार एक सय आठ जनालाई घुम्ति अनुशिक्षण दिएको छ ।

    यस्तै गत आर्थिक वर्ष २०७७÷०७८ मा १८ हजार सात सय ४७ जनाले वृति विकासको तालिम लिएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा १४ हजार सात सय ९४ जना र त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा २१ हजार एक सय ५८ जनालाई वति विकासको तालिम लिएका छन् ।

    नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माणको काम पनि सम्पन्न गरेको प्रवक्ता एसएसपी कुवँरले जानकारी गराएका छन् ।

  • जवरजस्ती करणी, कर्तव्य ज्यान र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतले बढे

    जवरजस्ती करणी, कर्तव्य ज्यान र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतले बढे

    काठमाडौं । नेपालमा पछिल्ला वर्षमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतसम्मले बृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको पछिल्लो चार वर्षको तथ्यांकले यस्तो देखाएको हो ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो चार वर्षको अवधिमा कर्तव्य ज्यानका मुद्धा २५ प्रतिशतले बृद्धि भएका छन् । आर्थिक वर्ष ०७४-०७५ मा ६ सय २८ वटा कर्तव्य ज्यानका मुद्धा दर्ता भएकोमा ०७५÷०७६ मा बढेर ६ सय ५९ पुगेको छ । यस्तै ०७६-०७७ मा घटेर पाँच सय ५५ पुगे पनि ०७७-०७८ मा भने बढेर ६ सय ९७ पुगेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुवँरले जानकारी दिए ।

    ज्यान मार्ने उद्योगका घटना पनि २० प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४-०७५ मा सात सय २८, ०७५-०७६ मा नौ सय २७, ०७६-०७७ मा आठ सय ६९ र २०७७-०७८ मा एक हजार ५१ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् ।

    जवरजस्ती करणीका घटना १८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४-०७५ मा एक हजार चार सय ८० वटा घटना भएकोमा ०७५-०७६ मा अघिल्लो वर्षको तुलनामा एकै वर्षमा ५० प्रतिशतले अर्थात सात सय ५० वटा घटना बृद्धि भएर दुई हजार दुई सय ३० वटा घटना भएका छन् । त्यस्तै ०७६-०७७ मा दुई हजार एक सय ४४ वटा जवरजस्ती करणीका घटना भएकोमा ०७७-०७८ मा दुई हजार पाँच सय ३४ वटा घटना भएका छन् ।

    आत्महत्याका घटना पनि १४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष ०७४-०७५ मा पाँच हजार तीन सय १७ वटा घटना भएकोमा ०७५-०७६ मा पाँच हजार सात सय ५४, ०७६-०७७ मा ६ हजार दुई सय ४१ र ०७७-०७८ मा सात हजार एक सय १७ वटा घटना भएका छन् । गत वर्ष दैनिक औसत १९ जनाले आत्महत्या गरेका पाइएको छ ।

    गत वर्ष आत्महत्याका सात हजार एक सय १७ वटा घटनामध्ये सबैभन्दा बढी झुन्डिएर पाँच हजार सात सय २० जनाले आत्महत्या गरेका छन् भने दोस्रोमा विष खाएर एक हजार दुई सय ७६ जनाले हाम फालेर ४६ जनाले, पानीमा हाम फालेर ३६ जनाले, आगो लगाएर १९ जनाले, हातहतियार औजारबाट १८ जनाले र करेण्ट लगाएर दुई जनाले ज्यान गुमाएका छन् ।

    जवरजस्ती करणी उद्योगका घटना पनि छ प्रतिशतले बृद्धि भएका छन् । आर्थिक वर्ष ०७४-०७५ मा सात सय २७, ०७५-०७६ मा सात सय ८६, ०७६-०७७ मा छ सय ८७ र ०७७-०७८ मा सात सय ३५ वटा घटना भएका छन् । लागु औषध पनि चार प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष ०७४-०७५ मा तीन हजार ८८, ०७५-०७६ मा तीन हजार सात सय दुई, ०७६-०७७ मा दुई हजार आठ सय ८५ र ०७७-०७८ मा तीन हजार १३ वटा घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार जबरजस्ती करणीका प्रतिदिन औसतमा सात वटा घटना दर्ता भएका छन् ।

    संगठित अपराध, बैंकिङ कसुर र मानव बेचविखन २५ देखि ४६ प्रतिशतले घट्दै

    सबैभन्दा बढी संगठित अपराध ४६ प्रतिशतले घटेको छ । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४-०७५ मा १७ वटा संगठित अपराधका घटना भएकोमा ०७५-०७६ मा १२ वटा, ०७६-०७७ मा २६ वटा र ०७७-०७८ मा १४ वटा घटना भएका छन् । दोस्रोमा बैंकिङ कसुरका घटना पनि २८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा सात सय ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा ०७५-०७६ मा तीन हजार एक सय ६७, ०७६-०७७ मा तीन हजार तीन सय नौ र ०७७-०७८ मा दुई हजार तीन सय ७३ वटा घटना भएका छन् ।

    तेस्रोमा मानव बेचविखन तथा ओसारपसारका घटना २५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ तीन सय आठ, ०७५-०७६ मा दुई सय ४७, ०७६-०७७ मा एक सय ६४ र ०७७-०७८ मा एक सय २२ घटना भएका छन् । चोरी पनि दुई प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा एक हजार छ सय २८, ०७५-०७६ मा दुई हजार आठ सय ७३, ०७६-०७७ मा दुई हजार चार सय ५१ र ०७७-०७८ मा दुई हजार तीन सय ८२ वटा चोरीका घटना भएका छन् ।

    साईबर अपराध पनि ११ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा साईबर अपराधका एक सय घटना भएकोमा ०७५-०७६ मा एक सय ६७, ०७६-०७७ मा एक सय १७ र ०७७-०७८ मा एक सय चार वटा घटना भएका छन् ।

    वार्षिक अपराध दर्ताको संख्या चार प्रतिशते घट्दै

    पछिल्ला चार वर्षको अवधिमा वार्षिक अपराध दर्ताको संख्या चार प्रतिशतले घटेको छ । पहिलो वर्षको तुलनामा दोस्रो वर्षमा बढे पनि त्यसपछि क्रमश तीन वर्षमा घटेको छ । आर्थिक वर्ष ०७४-०७५ मा ३९ हजार तीन सय १५ वटा अपराधका घटना दर्ता भएकोमा ०७५-०७६ मा बढेर ४३ हजार ५१ घटना दर्ता भएका छन् ।

    तर पछिल्लो वर्ष ०७६-०७७ मा भने घटेर ४१ हजार आठ सय ९८ र ०७७-०७८ मा ४० हजार एक सय २० वटा अपराधका घटना दर्ता भएका छन् । तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७७-०७८ मा अनुपातमा प्रति दिन एक सय १० वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

  • प्रहरीको तथ्यांक भन्छ- बलात्कारका अधिकांश घटना परिवार र छिमेकीबाट

    प्रहरीको तथ्यांक भन्छ- बलात्कारका अधिकांश घटना परिवार र छिमेकीबाट

    काठमाडौं । देशमा ८२ प्रतिशत बलात्कारका घटना परिवार र छिमेकीबाट हुने गरेको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ ।

    गत वर्षका दुई हजार पाँच सय ३४ वटा बलात्कारका मुद्दामा दुई हजार आठ सय १५ जना बलात्कार आरोपितमध्ये ८२ दशमलव २० प्रतिशत अर्थात दुई हजार तीन सय १३ जना हाडनाता सम्बन्ध भएका तथा नजिक चिनजानका व्यक्ति भएको पाइएको हो ।

    उनीहरूमध्ये ९ दशमलव ८८ प्रतिशत अर्थात दुई सय ७८ जनाले हाडनाता करणी गरेको र ३० दशमलव ८३ प्रतिशत अर्थात आठ सय ६८ जना छिमेकीबाट बलात्कृत भएको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए । जबरजस्ती करणीका घटना प्रायसजो नजिककै चिनजानका व्यक्तिबाट भएको देखिएको उनले बताए ।

    जबरजस्ती करणीका दुई हजार पाँच सय ५४ जना पीडितमध्ये १० वर्ष मुनि उमेर समूहका ११ दशमलव ९८ प्रतिशत, ११ देखि १८ वर्ष उमेर समूहका ५३ दशमलव २४ प्रतिशत, ६० वर्षदेखि माथिका एक दशमलव ४८ प्रतिशत रहेका छन् ।

    आर्थिक वर्ष २०७६/७७ मा घरेलु हिंसातर्फ ११ हजार सात सय ३८ आर्थिक वर्ष २०७७/०७८ मा १४ हजार दुई सय ३२ मा २१ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

    बोक्सीको आरोपका घटना तीव्र वृद्धि

    पछिल्लो वर्ष बोक्सीको आरोपका घटना ७९ प्रतिशतले वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४६ वटा घटना भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा ३४ वटा भएका थिए । तर, गत आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा घटना भएका छन् ।

    अप्राकृतिक मैथुनका घटना पनि ३३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २४ वटा घटना भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा २७ वटा अप्राकृति मैथुनका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७७/०७८ मा ३६ वटा भएका छन् ।

    यस्तै बाल विवाहका घटना पनि ३१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ८६ वटा घटना भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा ६४ वटा भएका छन् भने गत आर्थिक वर्ष २०७७/०७८ मा ८४ वटा वाल विवाहका घटना भएका छन् ।

    घरेलु हिंसा तीन वर्षमा २१ प्रतिशतले, बालयौन दुराचार २० प्रतिशतले, जबरजस्ती करणी १८ प्रतिशतले, बहुविवाह १६ प्रतिशतले र जबरजस्ती करणी उद्योग छ प्रतिशतले वृद्धि भएको छ ।

  • नेपाल प्रहरीका ९८ जना सईको इन्सपेक्टरमा बढुवा (सूचीसहित)

    नेपाल प्रहरीका ९८ जना सईको इन्सपेक्टरमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) को निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको बढुवा सिफारिस सार्वजनिक गरेको हो।

    २०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु यो पटक बढुवा सिफारिस सूचीमा समावेश छन् ।

    हेर्नुहाेस सूची-

  • बाढी, पहिरो र डुबानमा परी ५९ जनाको मृत्यु, २७ बेपत्ता, ७३ घाइते

    बाढी, पहिरो र डुबानमा परी ५९ जनाको मृत्यु, २७ बेपत्ता, ७३ घाइते

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी एक महिनाको अवधिमा ५९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिकाको मृत्यु भएको हो ।

    तीमध्ये सिन्धुपाल्चोक र तनहुँमा ५-५ जना, डोटी, पाल्पा र गोरखामा ४-४ जना, रोल्पा, दाङ, दार्चुलामा ३-३ जना, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानमा २-२ जना, ललितपुर, सर्लाही, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १-१ जना रहेका छन् ।

    यसै अवधिमा बाढीपहिरो र डुबानमा परी ७३ जना घाइते भएका छन् । तीमध्ये ३७ जना पुरुष, १९ जना महिला, १२ जना बालक र ५ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पा र धादिङमा ६-६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५-५ जना, धनुषा र सर्लाहीमा ४-४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३-३ जना, चितवन, वाग्लुङ, गोरखा, दाङ, जुम्ला, दार्चुलामा २-२ जना, पाँचथर, संखुवासभा, रौतहट, दोलखा, स्याङ्जा, हुम्ला, सल्यान, अछाम, बाजुरामा १-१ जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

    एक महिनाको अवधिमा नै बाढी र पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वतमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

    बाढीपहिरोमा परेका एक हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी पूर्व १८ जना, लमजुङ र सल्यानबाट ८-८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४-४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

    बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरीको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण अछाम, मुस्ताङ र चितवन लगायतका स्थानमा सोमबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

    बाढीको कारण एक हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । पाँच सय ८३ वटा घर, एक सय सात वटा गोठ, ४३ वटा पुल, तीन् वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ६९ वटा पशु चौपायको मृत्यु भएको छ । यसै अवधिमा छ सय विपद्‍का घटनाबाट एक हजार एक सय ७६ घर परिवारका पाँच हजार चार सय ९५ जना विस्थापित भएका छन् ।

    घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

  • एआईजीपी सहकुल थापाको पदस्थापनसहित चार एआईजीपीको सरुवा (कसको कहाँ ?)

    एआईजीपी सहकुल थापाको पदस्थापनसहित चार एआईजीपीको सरुवा (कसको कहाँ ?)

    काठमाडौं । नेपाल प्रहरीको प्रशासन तर्फ भर्खरै प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) बाट प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) मा बढुवा भएका सहकुलबहादुर थापाको मानवश्रोत तथा प्रशासन विभागमा पदस्थापन भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले थापाको पदस्थापनसँगै अन्य चार एआईजीपीको पनि सरुवा गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

    मानवश्रोत तथा प्रशासन विभागमा कार्यरत निरज बहादुर शाहीको कार्य अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । कार्य अपराध अनुसन्धान विभागमा कार्यरत विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

    प्रतिष्ठानमा कार्यरत प्रधुम्न कुमार कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पाललाई कार्य विभागमा सरुवा गरिएको छ ।

    विश्वराज पोखरेललाई डीआईजीपीबाट एआईजीपीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएपछि ७ महिना अघि पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो । सामान्यतया १ बर्षमा प्रहरी अधिकृतको सरुवा हुने भए पनि एआईजीपीमा नयाँ दरबन्दी सृजना भएपछि पालको सरुवा भएको ७ महिनामा नै पुनः सरुवा भएको हो ।

  • बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ४४ जनाको मृत्यु, ६० जना घाइते र २७ जना बेपत्ता

    बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ४४ जनाको मृत्यु, ६० जना घाइते र २७ जना बेपत्ता

    काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका नेपाल प्रहरीले जनाएको हो ।

    मृत्यु ह्नेमा सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा तीन–तीन जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा दुई–दुई जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक–एक जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षका गजिन रोका र उनकै श्रीमती १९ वर्षका बिना रोकाको मृत्यु भएको छ ।

    जेठ ३० गतेदेखि बुधबारसम्म नै बाढीपहिरो र डुबानमा परी ६० जना घाइते भएका छन् । तीमध्ये ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र चार जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, धादिङमा छ जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच–पाँच जना, धनुषा र सर्लाहीमा चार–चार जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा तीन–तीन जना, जुम्ला, चितवन र गोरखामा दुइ–दुइ जना, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा एक–एक जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार जारी छ ।

    बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, तीन जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना, पर्वतमा दुई जना तथा बाजुरा र बाग्लुङमा एक–एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    बाढीपहिरोमा परेका एक हजार दुई सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुई जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट आठ–आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार–चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

    बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्की लगायतका स्थानमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

    बाढीको कारण एक हजार चार सय २८ वटा घर डुबानमा परेका छन् । पाँच सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ३६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा चार सय ९६ वटा विपद्‍का घटनाबाट एक हजार एक सय ५४ वटा घर परिवारका पाँच हजार तीन सय ८५ जना मानिस विस्थापित भएका छन् ।

    उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

  • क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने पक्राउ

    क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने पक्राउ

    काठमाडौं । पछिल्लो समय चर्तित सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको नाम, लोगो र प्रहरी अधिकारीहरूको दर्ज्यानी चिह्नसहित तस्वीर दुरुपयोग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    ‘नेपाल प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गर्नुका साथै अहोरात्र नागरिकको सेवामा समर्पित सिङ्गो प्रहरी संगठनको छवि लमिल्याउने र सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने’ कसुरमा भक्तपुरको चागुनारायण नगरपालिकाको वडा नं. ६ खरिबोट बस्ने इशान लामिछानेलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतको अनुमतिले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • ६ हप्ताको अवधिमा अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

    ६ हप्ताको अवधिमा अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

    काठमाडौं । गत ६ हप्ताको अवधिमा स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कोभिड–१९ का कारण सृजना भएको विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेलाई यस अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको जनाएको हो । उनीहरुमाथी अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको जनाइएकाे छ ।

    पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन् । यस्तै १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने रहेका छन् । प्रहरीका अनुसार ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने पनि रहेका छन् ।

    उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर बरामद भएको छ । यस्तै १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर रसायन, विभिन्न स्टिकर, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको हो ।

    यस अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लामा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनलाई पनि कारबाही गरिएको छ । साथै बाँके नेपालगंज उपमहानगरपालिका–८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरी सहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको थियो ।

    देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवं विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार यसै क्रममा जन स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक साम्रगीको कालोबजारी गर्ने काम हुँदै नहोस् भनेर स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निगरानी तथा अनुगमन टोली बनाई परिचालन गरिएको छ । जोसुकैले कालोबजारी गरेको भेटिए पनि प्रत्येक जिल्लामा रहेका संयन्त्रमार्फत प्रचलित कानुन बमोजिम कडाइकासाथ अनुगमन र कारबाही गरिएको प्रवक्ता कुँवरले बताए ।

    परिस्थितिको फाइदा उठाउँदै गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादन गरी विक्री गर्ने, तोकिएको मूल्य भन्दा बढी मूल्यमा विक्री गर्ने, अर्कै कम्पनीको लेबुल टाँस गरी नक्कली सामग्री उत्पादन गर्ने, मापदण्ड विपरीत हानिकारक पदार्थ मिसावट गरी उत्पादन तथा विक्री गर्नेहरुमाथि प्रहरीको निगरानी निरन्तर कायम राखेको प्रहरीले जनाएको छ । साथै कोही कसैबाट अनियमितता वा कालोबजारी भइरहेको थाहा हुन आएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सूचना गर्न सम्पूर्ण सरोकारवाला निकाय र आमनागरिकमा प्रहरी प्रधान कार्यालय अनुरोध पनि गरेको छ ।

  • ‘निषेधाज्ञामा प्रहरी १८ घन्टासम्म खटिएका छन्, भत्ता अहिले इस्यू होइन’

    ‘निषेधाज्ञामा प्रहरी १८ घन्टासम्म खटिएका छन्, भत्ता अहिले इस्यू होइन’

    काठमाडौं । कोरोना नियन्त्रणका लागि यतिबेला देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू भइरहेको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म मुलुकका ७७ जिल्लामध्ये ७२ जिल्ला पूर्ण र ३ जिल्ला आंशिक निषेधाज्ञामा छन् ।

    निषेधाज्ञा लागू गर्नका लागि आदेश तथा निर्देशन सरकारले दिने गरे पनि कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी सुरक्षा निकाय, त्यसमा पनि नेपाल प्रहरीको हो । नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले सातवटै प्रदेश, ७७ जिल्ला र ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडासम्म ७० हजार १३ जना प्रहरी खटिएका छन् ।

    कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा खटिदा प्रहरीहरु पनि ठूलो संख्यामा संक्रमित बनेका  पनिछन् । अहिलेसम्म ८ हजारभन्दा बढी प्रहरी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । उनीहरुमध्ये ५ सयभन्दा बढी अहिले पनि कोरोनासँग लडिरहेका छन् । १० जनाभन्दा बढी प्रहरी अधिकारीले संक्रमण कोरोनाबाट ज्यान गुमाएका छन् ।

    प्रहरी प्रवक्ता  प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर जति सतर्कता अपनाउँदा पनि संक्रमणबाट प्रहरी जनशक्ति बच्न सक्ने अवस्था नरहेको बताउँछन् । सरकारबाट जारी निषेधाज्ञाको कार्यान्वयनमा प्रहरीले आफ्नो सम्पूर्ण ताकत लगाएको उनको भनाइ छ ।

    अहिलेको जस्तो ‘सशर्त’ निषेधाज्ञाले कोरोना नियन्त्रणमा आउन नसक्ने धारणा उनले राखे । ‘कोरोनालाई नियन्त्रणमा ल्याउनका लागि पूर्ण लकडाउनकै जानुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ कुँवरले भने । प्रहरी जनशक्ति निषेधाज्ञाका बेला १८ घन्टासम्म खटिए पनि सेवा-सुविधालाई शर्त नबनाएको उनी बताउँछन् । प्रस्तुत छ कुँवरसँग नेपाल प्रेसले गरेको कुराकानीः  

    महामारीको चुनौतिपूर्ण समयमा प्रहरी संगठन कसरी परिचालन भइरहेको छ ?

    १३ महिनादेखि अर्थात पहिलो चरणको कोरोना महामारीको संक्रमणदेखि नै प्रहरी खटिएको छ । पहिलो दोस्रो चरणको महामारीले बढी प्रभाव पारेको छ । अहिले बिशेष गरी काठमाडौं उपत्यकामा बढी र अन्य ठाउँमा सामान्य रुपमा प्रहरी परिचालित छन् ।

    अहिले काठमाडौं उपत्यकामा ५ हजारभन्दा बढी प्रहरी कोरोना, रोकथाम, नियन्त्रण र व्यवस्थापनसँगै निषेधाज्ञा कार्यान्वयन गर्नमा खटिएका छन् । सम्रगमा देशव्यापी रुपमा ४८ हजार प्रहरी परिचालन भएका छन् ।

    तपाईहरुको आफ्नै मूल्यांकनमा निषेधाज्ञा कार्यान्वयनमा प्रहरी कति सफल छ ?

    सरकारले जारी गरेको आदेश, निर्देशन र जनस्वास्थ्यका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी परिचालित छ । पहिलो लकडाउनभन्दा अहिले एकदमै प्रभावकारी रुपमा निषेधाज्ञा कार्यान्वयनमा आएको हामीले पाएका छौ ।

    हुन त पहिले पूर्णरुपमा देशब्यापी लकडाउन भएको थियो । अहिले जिल्ला-जिल्लामा शर्तसहितको निषेधाज्ञा भएको हुनाले सरकारी कर्मचारी, अत्यावश्यक सेवा, मिडियाकर्मी, स्वास्थ्यकर्मी लगायत अन्य विभिन्न सेवा सञ्चालनमै छन् । त्यसैले प्रहरीलाई निषेधाज्ञा कार्यान्वयन गराउन एकदमै चुनौती छ ।

    तर प्रहरीले अहिलेसम्म सरकारले जारी गरेका आदेश, निर्देशन तथा जनसस्वास्थ्यका सबै मापदण्ड अक्षरस कार्यान्वयन गराउन आफ्नो जनशक्ति, साधन स्रोतलाई उपयोग गर्दै आएको छ । जनस्वास्थ्यका मापदण्डलाई आफैले पनि पूर्ण कार्यान्वयन गर्ने र प्रहरीको मनोबल उच्च गराउँदै अन्य सरोकारवाला पक्षसँग समन्वय गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छौ ।

    अघिपछिको तुलनामा अहिले प्रहरी संगठन कति फरक तरिकाले खटिएकाे छ ?

    निषेधाज्ञा लागू गर्ने सवालमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले आफ्नो विशेष खालको सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेका छन् । जिल्लागत रुपमा प्रहरी परिचालन र व्यवस्थापन फरक–फरक हिसावले भइरहेको छ । उनीहरुले कसरी सहज र प्रभावकारी हुन्छ, त्यसरी नै काम गरिरहेका छन् ।

    समग्ररुपमा भन्दा रोटेसन पद्धतीमा प्रहरी परिचालन भइरहेको छ । दैनिक अन्य नियमित काम पनि गर्नुपर्ने र निषेधाज्ञा पूर्णरुपमा लागू गर्नुपर्ने भएकाले माथिल्लो निकायसँग समन्वय गरेर प्राप्त जनशक्तिको आधारमा व्यवस्थापन गरिएको छ । कार्यक्षेत्रमा खटिने प्रत्येक प्रहरी कर्मचारी जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर दैनिक १८ घण्टासम्म खटिएका छन् ।

    प्रहरी परिचालन गर्दा पनि सबैलाई समान व्यवहार नभइरहेको गुनासो छ नि ?

    निरन्तर खटिनुपर्ने विशेष टिमले खट्नैपर्छ । कार्यक्षेत्रमा खटिने जनशक्ति र कार्यालयमा खटिने जनशक्तिमा फरक त हुने नै भयो । समग्रमा सहीरुपमा परिचालन तथा व्यवस्थापन गरेर गुनासो नआउने गरी समानुपातिक रुपमा ड्युटीको विभाजन गरिएको हुन्छ ।

    यदि कसैलाई ड्युटी विभाजन न्यायसंगत तरिकाले भएन भन्ने लागेको छ भने प्रत्येक प्रहरी इकाइमा गुनासो सुन्ने अधिकारी नै तोकिएका छन् । चित्त बुझेन भने सम्बन्धित निकायमा गुनासो गर्नुपर्‍याे, बाहिर गुनासो गरेर सम्बोधन हुने होइन । यदि गुनासो गर्ने अधिकारीबाट सुनुवाई भएन भने त्योभन्दा माथिल्लो निकायमा भन्नुपर्यो । त्यहाँ पनि भएन भने प्रहरी प्रधान कार्यालयको गुनासो समन्वय इकाईमा सम्पर्क गर्नुपर्‍याे । त्यसलाई हामीले जसरी पनि सम्बोधन गर्छौ ।

    ड्यूटीमा खटिएका प्रहरीलाई अत्यावश्यक सामग्रीको उपलब्धता अहिले कस्तो छ ?

    जुनसुकै चिज पनि पर्याप्त त कहिले पनि हुन सक्दैन । अत्यावश्यक सामग्री उपलब्ध गराउने पक्षमा स्वयम् आफै पनि परिचालित हुनुपर्छ । कम्तिमा स्वास्थ्य सामग्री र जनस्वास्थ्यका मापदण्ड अपनाउने कुरा सबै प्रहरी कार्यालय र प्रहरी कर्मचारीले गरिरहेका छन् र त्यस सम्बन्धमा सम्वन्धित कार्यालयबाट अनुगमन पनि भइरहेको अवस्था छ ।

    प्रहरी प्रधान कार्यालयलले प्राप्त गरेका स्वास्थ्य सामग्री समानुपातिक हिसावले प्रदेशस्तरमा वितरण भइरहेको छ । सम्बन्धित प्रदेश प्रहरी कार्यालय र सम्बन्धित इकाई कार्यालयले आफुलाई निकासा भएको बजेटबाट त्यो शिर्षक अन्तरगतको सामग्री किनेर वितरण गर्ने गरेका छन् ।

    निषेधाज्ञा उल्लंघन गर्नेमाथि कसरी कारवाही भइरहेको छ ?

    सरकारले लागू गरेको निषेधाज्ञा, दिएका आदेश तथा निर्देशन पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि प्रहरीले आफ्नो ठाउँबाट कुनै पनि कसर बाँकी राखेको छैन । प्रहरीले २ वटा काम गरेको छ । एउटा चेतनामुलक र अर्को कानूनको पूर्ण कार्यान्वयन ।

    प्रहरीले काठमाडौं उपत्यका लगायत देशैभरीका प्रहरी इकाइले तपाईंको मास्क खोइ ? भन्ने एउटा कार्यक्रम सञ्चालन गरेका छन् । यो कार्यक्रम पहिलो चरणको कोरोना महामारीदेखि नै सञ्चालन भएको थियो । अहिले दोस्रो चरणमा झन् धेरै प्रभावकारी रुपमा सञ्चालन भएको छ । यसमा करिव ९ हजार वटा कार्यक्रम सञ्चालन गरेर ४ लाख ४८ हजार ४ सय २९ जनालाई निःशुल्क मास्क वितरण गरिसकेका छौं ।

    अहिले कोभिड संकट व्यवस्थापन अध्यादेश आइसकेको छ । यसभन्दा अघि विद्यमान संक्रामक रोक नियन्त्रण ऐन, २०२० कार्यान्वयनमा थियो । त्यसअनुसार करिव २४ हजार ३ सय ७७ जनालाई कारवाही गरेर २४ लाखभन्दा बढी जरिवाना वापत राजस्व संकलन भएको छ । ३ लाख २६ हजार ९ सय ५५ जनालाई होल्डिङ अर्थात रोकेर सम्झाइ बुझाइ गरेर छाडिएको छ । करिव १ लाख १३ हजार सवारी साधन नियन्त्रणमा लिइएको छ । यसमा ७६ हजार ६६ २ पाङग्रे र ३७ हजार ४ सय २९ वटा ४ पाङग्रे सवारी साधनलाई कारवाही गरिएको छ ।

    विभिन्न खालका सचेतनामुलक कार्यक्रम, जस्तै माइकिङ गर्ने, प्लेकार्ड वितरण गर्ने लगायतका १७ हजार ३७ वटा कार्यक्रम सञ्चालन गरेर करिव १४ लाख ६७ हजार ४ सय ५९ नागरिकलाई सचेत गराइएको छ । अक्सिजनको आपूर्तिलाई सहज बनाउने, देशभर सञ्चालनमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लगाउने, त्यसको निगरानी गर्ने र गैरव्यवसायिक रुपमा प्रयोग भएका अक्सिजन र सिलिण्डरलाई अस्पतालमा प्रयोजनका लागि मात्र प्रयोग गर्नका लागि अक्सिजन सिलिण्डर संकलन गर्ने अभियान पनि चलाइएको छ । यो अभियानबाट पनि करिव १४ हजार ५२ सिलिण्डर संकलन गरेर सम्बन्धित अस्पताललाई उपलब्ध गराएको छ ।

    यी सबै अभियान दैनिकरुपमा प्रहरीले निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । परिआएको खण्डमा अरु व्यवस्थापनका काम, जस्तै अलपत्र परेका व्यक्तिलाई सम्बन्धित ठाउँसम्म पु¥याउने र अन्य समस्यामा परेकालाई सहजिकरण, सहयोग र समन्वय गर्ने काम पनि गरिरहेको छ ।

    सर्वसाधारणले कारवाही भोग्नुपर्ने तर ठूलाबढाले निस्फिक्री हिँडिरहेको देखिन्छ नि किन ?

    तपाईंले सर्वोच्च अदालतमा मुद्धा दर्ता गर्न गएका सांसदसँग जोडेर यो प्रश्न गर्नुभएको होला । हामीलाई जानकारी आएअनुसार उनीहरु स्वास्थ्यका सबै मापदण्ड पालना गरेका थिए । हामीले कानून कार्यान्वयन गर्ने भनेको हाम्रो निजी स्वार्थ र सरकारका लागि होइन । सम्बन्धित व्यक्ति नै सुरक्षित रहोस र अरुलाई पनि सुरक्षित राख्न सकोस भन्ने हो । यो सम्बन्धमा प्रहरी संगठनले भनिरहनु भन्दा पनि सम्बन्धित व्यक्तिले नै बुझ्नुपर्ने कुरा हो । प्रहरीले स्वास्थ्यका सबै मापदण्ड पालना गरेर नगरी नहुने काम गर्नुस भनिरहेको छ ।

    कोभिड संकट व्यवस्थापन अध्यादेश आइसकेपछि सजायको व्यवस्था कडा भएको हुनाले अब मान्छे अलिकति सचेत हुने अवस्था आउछ भन्ने हामीले अपेक्षा गरेका छौ । यसअघिको संक्रामक रोग नियन्त्रण ऐन, २०२० मा कानूनी व्यवस्था त्यति धेरै कडा थिएन । प्रहरीले त्यसै अनुसार लागू गरेको थियो । नागरिकले पनि सजाय सामान्य भएपछि त्यसलाई अवज्ञा गर्नेतिर बढी अग्रसर भएको देखिन्थ्यो । कानून नै कडा नभएका कारणले यस्तो भएको हो कि भनेर सरकारले अध्यादेशका रुपमा कानुन कडा बनाएको छ । यस सम्बन्धमा त्यसरी नै बुझिदिन मेरो र प्रहरी संगठनको आग्रह छ ।

    जति कडा कानूनी व्यवस्था ल्याए पनि सर्वसाधारण नागरिकका लागि मात्र त हो नि ?

    यो कुरा मैले भन्नुभन्दा पनि सबैले पालना गर्नुपर्छ ।

    प्रहरीले सामान्य नागरिकलाई बाहेक ठुलाबडालाई कारवाही गरेको कि नसुनिएकाे हाे ?

    स्वभाविक रुपमा ठूला मान्छेले पनि कानून कार्यान्वयन गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ । आफैँ नमूना बन्नुपर्छ, त्यसपछि अरुले गर्छन् । यसमा कसैले केही भनिरहनु पर्दैन र हामीले पनि कारवाही गरिरहनु पर्दैन ।

    निषेधाज्ञा कहिलेसम्म जारी राख्ने भन्ने विषयमा प्रहरी संगठनको धारण के छ ?

    यसमा प्रहरी र मेरो निष्कर्षभन्दा पनि अहिले जुन शर्तसहितको निषेधाज्ञा लागू भएको छ, यसलाई निशर्त अर्थात पूर्णरुपमा लकडाउन घोषणा गरिनुपर्छ भन्ने मलाई लाग्छ । त्यस्तो गरियो भने मात्र संक्रमण रोक्न सकिन्छ । संक्रमण घटाउने प्रमुख उद्देश्य हो र कोरोना महामारीलाई सामान्य अवस्थामा ल्याउने हो भने त्यो गर्न जरुरी छ ।

    अहिले करिव ३६ देखि ३७ प्रतिशत संक्रमणदर फैलिरहेको छ । एक दशमलव ६ प्रतिशत मृत्युदर छ । यसलाई तल झार्न त स्वभाविक रुपमा आवागमनमा नै एकदमै कडा गर्न जरुरी छ । त्यसैले यो विषयमा सरकारले ध्यान दिनुपर्छ ।

    सरकारले तथा स्थानीय प्रशासनले जारी गर्ने आदेश तथा निर्देशन अक्षरस कार्यान्वयन गर्नु प्रहरीको प्रमुख दायित्व हो । तर अनुभवले के भन्छ भने शर्तसहित भन्दा पनि निशर्त लकडाउन घोषण भयो भने यसलाई ग्यारेन्टीका साथ अर्थात भरपर्दो हिसावले कार्यान्वयन गराउन सकिने हुन्छ । अनि बल्ल संक्रमणको दरलाई नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो ।

    कोरोना संक्रमणको जोखिम कम गर्न संगठनभित्र के-कस्ता तौरतरिका र मापदण्ड अपनाइएको छ ?

    जनस्वास्थ्यका मापदण्डको कुरा गर्दा अहिले त स्वभाविक रुपमा एकदमै आधारभूत भनेको सेनिटाइजर र मास्क हो । तर नागरिकसँग एकदमै नजिक भएर काम गर्ने प्रहरी अधिकारीले पीपीई, ग्लोभ, फेस सिल्डलगायतका सामग्री प्रयोग गरिहेको पनि यहाँले देख्नुभएको नै छ । त्यसैले अवस्थाअनुसार, समय र परिस्थितले मागेअनुसारका सामग्री प्रयोग गरेर प्रहरी परिचालन भइरहेको छ ।

    अहिलेसम्म प्रहरीमा कति जनशक्ति कोरोनाबाट प्रभावित बनेका छन् ?

    अग्रभागमा खटिने प्रहरी कर्मचारीको प्रत्यक्षरुपमा नागरिकसँग सम्पर्क हुने भएकाले प्रहरीमा संक्रमण हुुनु सामान्य जस्तै हो । यसमा जति सचेतना अपनाउँदा रोक्न नसकिने अवस्था छ । एकदमै जोखिमपुर्ण अवस्थामा काम गरेको कारणले संक्रमित भएको अवस्था हो ।

    स्वास्थ्य सामग्रीको अभाव भएर संक्रमण प्रहरीमा बढी भएको हो कि भनेर प्रश्न गर्नुहोला । तपाईंले प्रश्न गर्नुअघि नै म जवाफ दिन्छु । शतप्रतिशत नै सचेतना अपनाउँदा अपनाउँदै पनि र स्रोत साधनले सम्पन्न हुँदा पनि संक्रमण त हुन्छ नै । तपाईंले देख्नु नै भएको छ नि, पश्चिमा मुलुकको अवस्था कति भयावह थियो । त्यसैले स्वास्थ्य सामग्री अभाव भएको र लापरवाहीले भएको भन्ने होइन । अवस्था नै त्यस्तो छ ।

    अहिले तपाइसँग कुरा गरिरहेकै अवस्थाको तथ्यांक दिन त नसकुला । तर अहिलेसम्म समग्रमा पहिलो र दोस्रो चरणमा गरेर देशभरका ८ हजार प्रहरी कर्मचारी संक्रमित भइसकेको अवस्था छ । जसमध्ये अहिले पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

    पहिलो चरणको कोरोनामा यतो अफ्ठ्यारो अवस्था थिएन । तर अहिले एक्कासी रोगले च्यापेर बोल्दाबोल्दै मृत्युको मुखमा पुगिरहेका छन् । तर पनि अहिलेको यो भयावह अवस्थालाई चुनौतीका रुपमा लिएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउँदै प्रहरी कर्मचारी कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसँगै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि कार्यक्षेत्रमा खटिएको छ ।

    संक्रमित भएका जनशक्तिको व्यवस्थापन कसरी गर्ने गरिएको छ ?

    सम्बन्धित प्रहरी इकाइ, मुख्यत जिल्ला प्रहरी कार्यालयले आफ्नो खालको आइसोलेसन सेन्टर बनाएका छन् । उपचार गर्ने अवस्थामा अस्पतालमा पुर्‍याउने, नेपाल प्रहरी अस्पतालमा रिफर गर्ने कुरामा प्रणालीले काम गरिरहेको छ ।

    काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल कोभिड विशेष अस्पतालको रुपमा अगाडी बढाइसकिएको छ । सामान्य बिरामीका लागि काठमाडौं उपत्यकामा ३ ठाउँमा आइसोलेसन सेन्टर छन् । त्यहाँ चिकित्सक खटिएर नेपाल प्रहरी अस्पतालको निगरानीमा उपचार भइरहेको छ । करिव ४ सयभन्दा बढी बेडको व्यवस्थापन गरिएको छ । यसरी नेपाल प्रहरीले संक्रमितको उपचारमा एकदमै ध्यान दिएर व्यवस्थापन गरेको छ ।

    नेपाल प्रहरी अस्पतालको क्षमता विस्तारदेखि उपचार व्यवस्थापन कसरी भइरहेको छ ?

    नेपाल प्रहरीले प्रहरी अस्पताललाई मुख्यत १ सय ५० बेडबाट लेबल २ अस्पतालका रुपमा विकास गरिसकिएको छ । कोभिडको उपचार गर्ने सिलसिलामा १ सय ५० बेड थपेर करिव ३ सय बेडको बनाइएको छ । २ सय ६४ वटा बेड कोभिडका लागि र ३६ वटा बेड मात्र कोभिड बाहेकका बिरामीका लागि छुट्याइएको छ, जसमा इमर्जेन्सीदेखि लिएर सल्यक्रिया समेतको उपचारका काम भइरहेका छन् । अहिले ती सबै बेडमा उपचार हुने अवस्था छ ।

    समग्रमा १ सय ५४ वटा सामान्य बेड, ८० वटा एजडीयू बेड र ३० वटा आईसीयू बेड भनेर छुट्याएको अवस्था छ । आईसीयू र एचडीयू बेड दैनिक पूर्णरुपमा सञ्चालन भएको छ भने सामान्य बेड आवश्यकता अनुसार प्रयोग हुने गरेको छ ।

    नेपाल प्रहरी अस्पतालले मुख्यतया अहिलेसम्म कोभिड उपचारमा संलग्न भइसकेपछि करिव ३ हजार ५ सयलाई उपचार गरेर घर पठाइसकेको छ । जसमध्ये ९२ प्रतिशत नेपाल प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारसँग सम्बन्धित रहेका छन् भने ८ प्रतिशत सामान्य नागरिक छन् । अहिले पनि नेपाल प्रहरी अस्पतालमा १ सय ८७ जना व्यक्ति उपचाररत छन् । जसमध्ये १ सय ३३ जना नेपाल प्रहरीसँग सम्बन्धित हुन् भने ५४ जना सामान्य नागरिक छन् ।

    नेपाल प्रहरी अस्पतालमा फिबर क्लिनिक पनि स्थापना भएको छ । पहिलो चरण र दोस्रो चरण गरेर अहिलेसम्म १७ हजार ३ सय ६४ जनाको पीसीआर परिक्षण भइसकेको छ । अक्सिजन आपूर्तिको समस्या आइसकेपछि हामीले निमार्णाधिन अक्सिजन प्लान्टलाई छिटो निमार्ण गर्न लगाएर सञ्चालनमा ल्याएका छौ । अहिले दैनिक करिव १ सय ४० वटा ठुला सिलिण्डरको उत्पादन गर्ने क्षमताको प्लान्ट सञ्चालनमा छ ।

    प्रहरी अस्पतालमा सामान्य अवस्थामा ७०–७२ वटा सिलिण्डर खपत हुने गरेकोमा अवस्थामा अहिले १ सय ४० सिलिण्डर त्यहीँ उत्पादन हुन्छ र अरु १ सय ६० जति सिलिण्डर बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । दैनिक रुपमा ४ वटा गाडी लाइनमा राखेर अक्सिजन आपूर्ति गरिरहेका छौ ।

    कोरोना महामारीमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने सरकारको निर्णय कार्यान्वयनमा आउन किन ढिलाइ भयो ?

    यहाँले भनेको कुरा सही नै हो । तर सरकारले मितव्यीतताका कारणले यो अहिलेसम्म व्यवस्थापन हुन नसकिरहेको अवस्था छ । हुन त भत्ता पाउनु राम्रो कुरा हो । यसले प्रहरी कर्मचारीको मनोबल उच्च हुन्छ । तर भत्ता नपाए पनि यसमा कुनै शर्त राख्ने कुरा भएन ।

    नेपाल सरकारको अग्रभागमा खट्ने सुरक्षा निकाय जहाँ, जुनसुकै अवस्थामा पनि तत्काल खटिने जिम्मेवार निकाय हो । त्यसकारण प्राप्त सेवा सुविधामा चित्त बुझाएर त्यसैमा रमाएर उच्च मनोबलका साथ राष्ट्रलाई परेको बेला काम गर्नुपर्छ । हामी त्यही हिसावले काम गरिरहेका छौ । मातहतका प्रहरी कर्मचारीलाई पनि त्यसरी नै काम गर्न भनिरहेका छौ ।

    भनेको अहिलेसम्म एक जना प्रहरी अधिकारीले पनि भत्ता नपाएको हो ?

    कोरोना संक्रमणको बेला खटिने कुनै पनि प्रहरी कर्मचारीले अहिलेसम्म भत्ता पाएका छैनन् । नियमित सेवा–सुविधा मात्र पाइरहेको अवस्था हो ।

    सरकारले नै उपलब्ध नगराएको हो कि, प्रहरी संगठनले पाएर पनि वितरण नगरेको हो ?

    अहिलेसम्म प्रहरी प्रधान कार्यालयलाई त्यो किसिमको बजेट नै आएको छैन । सुरुमा प्रहरी कर्मचारी धेरै मात्रामा खटिएको भए पनि थोरैलाई भत्ता उपलब्ध गराउने भन्ने सुनेका थियौ । तरसरकारसँग साधन स्रोत अभाव भएको कारणले आउन नसकेको हो । प्राविधिक कुरा त अरु पनि हुन सक्ला ।

    अहिले भत्ताभन्दा पनि औषधि तथा स्वास्थ्य सामग्रीमा बजेट खर्च गर्ने कुरा पहिलो प्राथमिकतामा आउँछ । त्यसकारण भत्ताको विषयलाई हामीले त्यसरी नै बुझेका छौं ।

    ज्यान नै जोखिममा राखेर खटिने कर्मचारीलाई भत्ता उपलब्ध गराउन संगठनबाट पहल नपुगेको हो कि ?

    यसबारेमा मैले तपाईंको अघिल्लो प्रश्नमा नै भनिसके । अहिलेको विषम अवस्थामा भत्ता प्रमुख कुरा होइन । भत्ता वितरण भएको अवस्थामा समानुपातिक हिसावले र न्यायसँगत हिसाले वितरण हुनुपर्छ भन्ने हो । त्यसै अनुसार काम गर्ने र खटिने सबैले आशा गर्ने कुरा पनि हुन्छ नै । तर अरु नै कुरा प्राथमिकतामा परेको अवस्थामा अहिले भत्ता–भत्ता भनेर मनोबल गिराउनु ठीक हुन्न ।

    अग्रभागमा खटिने कर्मचारीलाई खोप अनिवार्य भनिएको थियो, सबैले लगाइसकेको अवस्था हो ?

    सबै प्रहरीले अहिलेसम्म खोप लगाइसकेको अवस्था छैन । स्वभाविक रुपमा सबैले खोप गाउने अवसर प्राप्त गर्न सकेनन् । पहिलो चरणको खोप करिव ३८ हजार प्रहरी कर्मचारीले लगाएका छन् । तर दोस्रो चरणको खोप भने त्यसको ६७ प्रतिशत अर्थात साढे २५ हजार  ५ सयले मात्र लगाएका छन् ।

    दोस्रो चरणमा पनि खोपको अपुग भएको छ । कोभिसिल्ड लगाउने व्यक्तिले अब खोप लगाउने समय भयो तर, आवश्यक खोपको मात्रा सरकारसँग छैन । पहिलो चरणमा आधा जतिले खोप लगाएका थिए । हेरौ बिस्तारै खोप आपूर्ति भयो भने दोस्रो चरणको खोप लगाउनुपर्ला ।

    संक्रमित जनशक्तिलाई संगठनमा के-कस्तो क्षतिपूर्ति र अन्य सुविधा प्राप्त हुने गरेको छ ?

    संगठनले कर्मचारीको बीमा त गरेकै अवस्था छ । त्यो कानून बमोजिम उनीहरुले पाउने नै भए । नीतिगत हिसावले संगठन प्रमुखको तहबाट हुने कुरा भइरहेको छ।  मेरो जानकारीमा आएसम्म संगठन प्रमुखवाट नीतीगत रुपमा पहल र दैनिक रुपमा सचिवालयका प्रहरी नायव महानिरीक्षकबाट फोन र पाैष्टिक आहारसहितको निशुल्क खानाको  व्यवस्था गरिएको छ ।

    प्रहरी संगठनले अन्य सुरक्षा निकायसँग कसरी समन्वय भइरहेको छ ?

    अन्य सुरक्षा निकायसँग स्वभाविक रुपमा केन्द्रदेखि तल्लो तहसम्म समन्वय भइरहेको नै छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकमा, गृह मन्त्रालयसँगको बैठकमा अथवा अन्य निकायसँगको बैठकमा संगठन प्रमुख गएर समन्वय गर्ने काम भइरहेको छ ।

    तल्लो तहसम्म पनि यसले निरन्तरता पाइरहेको छ । प्रहरीले सबै सुरक्षा निकायसँग आवश्यकता अनुसार सहकार्य गरेर काम गरिरहेको छ । प्रहरीले सुरक्षा निकायसँग मात्र होइन कि, तल्लो तहसम्म अन्य सरोकारवाला निकायसँग पनि सहकार्य र समन्वय गरेर काम गरिरहेको छ ।

    निषेधाज्ञायता अपराधिक घटनाको अवस्था के छ ?

    निषेधाज्ञाको अवस्थामा त्यस्तो खासै अपराधिक गतिविधि बढेको अवस्था छैन । तर अहिले आत्महत्याका घटना बढिरहेका छन् । अघि पछिको तुलनामा आत्महत्याका घटना केही बढेको देखिन्छ ।

    अघिल्लो लकडाउनमा पनि आत्महत्याका घटना बढेका थिए । अरु अपराधिक गतिविधि खासै बढेको अवस्था छैन । तर अहिलेको अवस्थामा अपराधिक गतिविधि घटे पनि कोभिडसँग सम्बन्धित अन्य अपराध जस्तै अत्यावश्यक चिज वस्तु तथा स्वास्थ्य सामग्रीमा कालोबजारीका गतिविधि बढिरहेका छन् । कोभिडलाई नियन्त्रण गर्नेसम्बन्धी सामग्री उपकरण, मास्क, सेनिटाइजर लगायतका बस्तुमा कालोबजारी गर्ने, स्वास्थ्यमा असर पुर्‍याउने खालको स्वास्थ्य सामग्री विक्री–वितरण गर्ने काम भइरहेका छन् । यस्ता क्रियाकलापलाई रोक्न, नियन्त्रण गरेर कारवाही गर्न प्रहरी सक्रिय रुपमा लागेको छ ।

    नियमित अपराध नियन्त्रणमा अहिले कसरी काम भइरहेको छ ?

    यो काम त स्वभाविक रुपमा हुने नै भयो । प्रत्येक ठाउँमा प्रहरी खटिएको छ । हरेक कुना काप्चा, गल्ली र कन्दारामा प्रहरी परिचालन भएको छ । सबै ठाउँमा प्रहरी परिचालन भइसकेपछि अपराधका घटना यसै पनि कम हुने नै भए ।

    अपराध गर्न पनि अपराधीले हिँडिरहनुपर्छ नि त । यताउता जान पूर्णरुपमा रोकिएको हुनाले र प्रहरी परिचालन बढी भएको हुनाले पनि अपराधिक गतिविधि घटेको हो । कहिँकतै यस्ता अपराधिक गतिविधि भएको अवस्थामा पनि नियन्त्रण तथा अनुसन्धान गर्न सजिलो भइरहेको छ ।

    महामारीका बेला प्रहरी संगठनले भोग्नुपरेका समस्या के–के छन् ?

    समस्या नै नभोगेको त कसले होला र । अहिलेको अवस्थामा यो-यो समस्या भोगिरहेका छौ भनेर भन्ने कुरा पनि भएन । आधारभूत रुपमा जेजति जनशक्ति र साधनस्रोत छ, त्यसलाई प्रयोग गरेर काम गर्ने हो ।

    जानेर वा नजानेर कुनै प्रहरीबाट गलत काम भयो भने त्यसैलाई आधार मानेर प्रहरीलाई बुझिदिने र त्यही किसिमको जनधारणा बनाइदिने प्रवृत्ति छ । त्यस्तो कतै सामाजिक सञ्जालबाट भएको छ, कतै पुर्वाग्रही मिडियाबाट नै भएको छ । अथवा कोही कसैबाट यस्ता कुरा नभइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो ।

    यदि त्यस्ता कुरा छन् भने हामीसँग सिधा सम्पर्क गर्न सकिने नम्बर छन् । आधिकारिक मान्छे छन् । सबै ठाउँमा प्रवक्ता र सूचना अधिकारी छन् । त्यहाँ कुरा राख्दा राम्रो हुन्थ्यो । सामान्य खालका गल्ति–कमजोरी त मान्छेबाट हुन्छ । एउटा व्यक्तिको कुरालाई जोडेर संगठन मुछिदिदाँखेरी समस्या हुन्छ । यो कुरा आम नागरिकलाई अनुरोध गर्न चाहन्छु ।

    निषेधाज्ञाका बेला प्रहरीले नागरिकलाई दिने नियमित सुरक्षा र सेवामा कमी आएको छ कि छैन ?

    छैन । सेवामा कुनै पनि कमि आएको छैन । अहिले पनि प्रहरीका सबै इकाई सक्रिय छन् । कार्यालयका फोन तथा टोल फ्रि नम्बर सञ्चालन भएर नागरिकका गुनासा सुन्ने तथा समस्या समाधानका काम भइरहेका छन् ।

    तथ्यांक नै भन्ने हो भने अहिले पनि निषेधाज्ञाको बेलामा दैनिक रुपमा ५ हजार कल आउने गरेका छन् । यो निषेधाज्ञाको अवधिमा करिव २२ लाख ८ हजार कल हामी प्राप्त गरेका छौ । लैंगिक हिंसादेखि लिएर अरु घरेलु हिंसाका कुरालाई सम्बोधन गर्ने सिलसिलामा नेपाल प्रहरीका महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयले पनि सूचना जारी गरेको छ । सम्पर्क गर्ने नम्बर, टोल फ्रि नम्बर सामाजिक सञ्जालमा जानकारी गराउन अनुरोध गरेको छ ।

    जुनसुकै खालका गुनासा अहिले नेपाल प्रहरीको सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत र वेवसाइटमा पनि आउने भएकाले तत्काल समाधान गरेको अवस्था छ । निषेधाज्ञाका कारण नागरिकलाई नियमित दिने सेवामा कुनै पनि कमि आएको छैन । प्रहरीको पहुँच भएन, सूचना प्राप्त भएन, सेवाग्राही र सेवा दिने अधिकारीविचमा सम्पर्क हुन सकेन भन्ने अवस्था छैन् ।

  • न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो)

    न अतिरिक्त सुविधा छ, न त यिनका दुःख बुझिदिन्छन् (भिडियो)

    काठमाडौं । सबेरैदेखि गाउँ-टोलमा प्रहरीको साइरन बज्न थाल्छ ।

    दैनिक उपभोग्य सामग्री किनबेचन गर्नेको दूरी व्यवस्थापनदेखि जम्मा हुने भीड तितरबितर पार्नेसम्मको काम उनीहरू बिहानैबाट थाल्छन् ।

    बिहान ७ देखि १० बजेभित्र अत्यावश्यक उपभोग्य सामग्री किनबेचको समय तोकिएको छ । जब यो काम सकिन्छ, त्यसपछि ती प्रहरीको भूमिका फेरिन्छ, व्यवसायिक स्थल बन्द गराउने र उपभोक्तालाई आ-आफ्ना घरतिर फर्काउने ।

    र, यसपछि तिनै प्रहरी सडक-चोकहरूमा कर्डन ड्युटी थापेर सवारी व्यवस्थापन गरिरहेका हुन्छन् ।

    यो क्रम दिनहुँ रातको १०-१२ बजेसम्म जारी रहन्छ ।

    यसरी अहिले देशभर ३४ हजार प्रहरी जनशक्ति कोभिडको दोस्रो लहरपछि जारी निषेधाज्ञा व्यवस्थापनको ड्युटीमा खटिएका छन् । खटिएकामध्ये ५ प्रतिशत प्रहरी आफैँ कोभिडबाट संक्रमित छन् । त्यसैले प्रहरी थप १२ हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको बताउँछन्, केन्द्रीय प्रहरी प्रवक्ता (एसएसपी) वसन्तबहादुर कुँवर ।

    तर, कति संख्यामा प्रहरी संक्रमित छन् ? संक्रमितमध्ये कति प्रहरीको स्वास्थ्यस्थिति कस्तो छ ? यसबारे उनले केही बताउन चाहेनन् ।

    ‘यस्तो कुराले ड्युटीमा खटिनेहरूको मनोबल घट्छ, त्यसैले यसबारे कुरै नगरौँ’, कुँवरले नेपाल प्रेससँग भने ।

    अनुमान गर्न सकिन्छ कि, बिहान सबेरैदेखि मध्यरातसम्म दुःख गर्ने यी प्रहरीले आफ्नो परिवार, स्वास्थ्य र समय नभनी काम गरेबापत पक्कै पनि सरकारबाट अतिरिक्त भत्ता वा सुविधा पाएका छन् । तर, प्रहरी प्रवक्ता कुँवर यो कुरा स्वीकार गर्दैनन् । ‘अहिलेसम्म हाम्रो जानकारीमा त्यस्तो केही छैन’, उनले बताए ।

    अर्थात्, अहिले निषेधाज्ञा व्यवस्थापनका निम्ति खटिएका ३४ हजार र स्ट्याण्डबाई राखिएका १२ हजार प्रहरी र अरु प्रहरीले पाउने सेवा, सुविधा उत्तिकै हो, फरक केही छैन ।

    बरु, निषेधाज्ञा व्यवस्थापनमा खटिएका प्रहरीको थप दुःख छ, उनीहरू निर्धक्कसाथ घर जान सक्दैनन् ।

    ‘दिनभरि सयथरिका मान्छेसँग बोलिन्छ, भेटिन्छ । त्यसक्रममा यदि आफूमा कुनै समस्या आएको छ भने आफ्नो समस्याका कारण घर-परिवार पनि समस्यामा पर्ने डर हुन्छ’, उपत्यकास्थित एक प्रहरी वृत्तका इञ्चार्जले भने, ‘घर जान मन लाग्छ, तर रोगको डर छ ।’

    हाकिमहरू को भए संक्रमित ?

    अहिले उपत्यका प्रहरीका प्रमुख (एआईजी) हरिबहादुर पालसहित चार डीएसपी कोभिडको दोस्रो लहरबाट संक्रमित भए । त्यसमध्ये उपत्यका प्रमुख पाल र लैनचौर प्रहरी वृत्तका डीएसपी दिपक खड्का होम क्वारेन्टिनमा रहेरै संक्रमणमुक्त भइसकेका छन् ।

    तर, बालाजु वृत्तका डीएसपी निर्मल बुढाथोकी, परिसरका राजकुमार केसी र नरेन्द्र चन्द संक्रमणका कारण न घर जान सकेका छन्, न त कुनै स्वास्थ्य संस्थामा उपचाररत छन् । उनीहरू कार्यालयकै एउटा कुनालाई होम क्वारिन्टिन बनाएर बसेका छन् । स्वास्थ्यस्थिति सामान्य छ ।

    यस्तै दुःख छ, ट्राफिक प्रहरीलाई । सडक भरिँदा तिनै ट्राफिक, खालि भए पनि उनैलाई भ्याइनभ्याई । यस्तो हुँदा संक्रमणको दर ट्राफिकमा बढी छ । तर, उपत्यका ट्राफिक महाशाखाले यसबारे औपचारिक रूपमा केही बताएको छैन ।

    संक्रमित हुने ट्राफिकलाई उपचारका लागि महाशाखाले रामशाहपथस्थित कार्यालयको पछिल्तिर आइसोलेसन सेन्टर बनाएको छ । त्यहाँ अहिले दुई असईसहित केही जवान र हवल्दार राखिएका छन् ।

    ‘रियल फ्रन्टलाइनर’ प्रहरी सुरक्षाकर्मी जो सडकमा बिहानदेखि रातिसम्म हजारौं व्यक्तिको सीधा सम्पर्कमा रहन्छन् उनीहरूका दुःख कसलाई सुनाउने ? फौजी अनुशासनका कारण न त उनीहरूले सार्वजनिक रूपमा अरुले जसरी आफ्ना दुःख सुनाउन सक्छन्, न त अरुले बुझिदिन्छन् ।

    संक्रमित भएका प्रहरीलाई जटिल प्रकारको स्वास्थ्य समस्या आएमा शुरूमा महाराजगञ्जस्थित प्रहरी अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा पुर्‍याइन्छ । तर, अहिलेसम्म आईसीयू र भेन्टिलेटर चाहिने स्थितिमा कोही पनि प्रहरी संक्रमित नभएको केन्द्रीय प्रवक्ता कुँवरले बताए ।

    संक्रमित प्रहरीलाई श्वासप्रश्वाससम्बन्धी समस्या नआउँदासम्मका लागि समाखुशीस्थित नम्बर २ गणमा आइसोलेसन सेन्टरमा राख्ने गरिन्छ । त्यहाँ आइतबार विभिन्न दर्जाका ५० प्रहरी राखिएका छन् । त्यसरी आइसोलेसनमा राखिएका प्रहरीमा केही इन्स्पेक्टर र बाकी जुनियर अफिसर छन् । प्रहरी आइसोलेसनको यो संख्या घट्दो छ । त्यहाँ तीनदिनअघि ८५ प्रहरी थिए । आइतबार घटेर ५० पुगेको हो ।

    अहिलेसम्म कोही पनि प्रहरी आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने स्तरमा अस्वस्थ भएका छैनन् । श्वासप्रश्वासको समस्या आएमा आइसोलेसनमै अक्सिजनको व्यवस्था गर्ने गरिएको गणका एक अधिकृतले बताए । तर, पछिल्लो समय अक्सिजन सिलिण्डरको विषयलाई लिएर प्रहरी आलोचित भएपछि श्वासप्रश्वासको समस्या आएमा नजिकको अस्पताल लैजान थालिएको छ ।

    अहिले महामारीका बेला सबैभन्दा चर्चित बनेको शब्द छ ‘कोभिडविरुद्ध लड्ने फ्रन्टलाइनर’ । स्वास्थ्यकर्मी,एम्बुलेन्स चालकदेखि स्वास्थ्य तथा औषधीसँग सम्बन्धित सबैले फ्रन्टलाइनरको रूपमा सम्मान पाएका छन् ।

    तर ‘रियल फ्रन्टलाइनर’ प्रहरी सुरक्षाकर्मी जो सडकमा बिहानदेखि रातिसम्म हजारौं व्यक्तिको सीधा सम्पर्कमा रहन्छन् उनीहरूका दुःख कसलाई सुनाउने ? फौजी अनुशासनका कारण न त उनीहरूले सार्वजनिक रूपमा अरुले जसरी आफ्ना दुःख सुनाउन सक्छन्, न त अरुले बुझिदिन्छन् ।

  • पछिल्लाे २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ हजार भन्दा बढीलाई कारवाही

    पछिल्लाे २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ हजार भन्दा बढीलाई कारवाही

    काठमाडौं । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ५ हजार भन्दा बढीलाई कारवाही गरिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ९५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको नेपाल प्रहरीले जनाएको हो ।

    यसै अवधिमा ७ सय ५ वटा गाडी र १ हजार ५ सय १४ वटा मोटरसाइकल गरी २ हजार २ सय १९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ११ जनालाई निःशुल्क मास्क पनि वितरण गरिएको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका (प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ६ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना पनि गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार ३ सय ५१ जनालाई सचेत गराईएको प्रवक्ता कुँवरले बताए ।

    निषेधाज्ञा कार्यान्वयनलाई प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • नेपाल प्रहरीकाे सक्रियतामा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर संकलन

    नेपाल प्रहरीकाे सक्रियतामा पछिल्लो २४ घण्टामा ६७३ अक्सिजन सिलिन्डर संकलन

    काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्र ६ सय ७३ अक्सिजन सिलिन्डर संकलन भएको छ । ती मध्ये ३ सय २६ वटा भरिएका र ३ सय ४७ खाली सिलिन्डर संकलन भएका हुन् ।

    संकलन गरिएका ६ सय ७३ वटा र यसअघिको जम्मा भएका ९४ वटा गरी जम्मा ७ सय ६७ वटा सिलिन्डरमध्ये शनिबार ५ सय ८५ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको नेपाल प्रहरीका प्रक्ता समेत रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बाँकी रहेका १ सय ८२ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

    आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघ संस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा जम्मा गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । अहिलेको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि जम्मा नगर्न तथा विभिन्न कम्पनी, संघ संस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न पनि नेपाल प्रहरीले अपिल गरेको छ ।

  • प्रहरीद्वारा समाजिक सञ्जालमा लगाएको आरोप खण्डन

    प्रहरीद्वारा समाजिक सञ्जालमा लगाएको आरोप खण्डन

    काठमाडौं । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको भन्ने सामाजिक सञ्जालमा लगाइएको आरोपको खण्डन गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी नेपाल प्रहरी जोडेर गरिएको कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट प्रष्ट पारेको हो ।

    बिहीबार एक चिकित्सकले प्रहरीले अक्सिजन सिलिण्डर जवरजस्ती लगेको भनेर सामाजिक सञ्जालमा लेखेपछि सञ्जालमा प्रहरी कदमको विरोध भएको थियो ।

    ‘नेपाल प्रहरी विरुद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाई र सत्यरहित सूचना सामाजिक संजालमा अनर्गल प्रचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यान आकृष्ट भएको छ ।’ प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडाको यस घडीमा १ जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनका सम्बन्धमा नै सर्वसाधारणलाई गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको छ ।’

    कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारार्थ नेपाल प्रहरी अहोरात्र खटीरहेको जनाउदै नेपाल प्रहरीले विभिन्न प्रयोजनमा रहेका ७ हजार भन्दा बढी अक्सिजन सिलिन्डरहरू नियन्त्रणमा लिएर देशभरका विभिन्न अस्पतालहरूलाई वितरण गरेको उल्लेख छ ।

    विज्ञप्तिमा २०८ भन्दा बढी कोभिड संक्रमितको उपचार गरिरहेको उल्लेख छ ।

  • महामारीमा हिंसा तत्काल सम्बोधन गर्न प्रहरीले गर्‍यो गुनासो सुन्ने व्यवस्था

    महामारीमा हिंसा तत्काल सम्बोधन गर्न प्रहरीले गर्‍यो गुनासो सुन्ने व्यवस्था

    काठमाडौं । नेपाल प्रहरीले कोभिड-१९ को महामारीको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोही विरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्ने जनाएको छ । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसालाई तत्काल सम्बोधन गर्न गुनासो सुन्ने व्यवस्था समेत गरेको जनाएको हो ।

    ‘कृपया हिंसा सहेर वा हेरेर नबसौं, बेलैमा उजुरी गरौँ । यो संकटको समयमा हामी तपाईसँगै छौँ ।’ भन्दै लैंगिक हिंसा सम्बन्धी गुनासोको लागि टोलफ्री १०० र बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गर्न सकिने निर्देशनालयले जनाएको हो ।

    विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को दोस्रो लहरले पुनः निम्त्याएको जोखिमपूर्ण परिस्थितिमा हिंसाका घटना बढ्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै सचेत रहन निर्देशनालयले सूचना जारी गर्दै सर्वसाधारणमा सचेत हुन आग्रह समेत गरेको छ ।

  • नेपाल प्रहरीको सक्रियतामा २५ सय भन्दा बढी अक्सिजन सिलिन्डर संकलन

    नेपाल प्रहरीको सक्रियतामा २५ सय भन्दा बढी अक्सिजन सिलिन्डर संकलन

    काठमाडौं । नेपाल प्रहरील देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । संकलन गरेका अक्सिजन सिलिण्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको हो ।

    ती मध्ये ९ सय वटा सिलिन्डर अस्पताललाई र १ हजार ८ सय ८१ वटा सिलिन्डर अक्सिजन उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा जम्मा गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

    विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको एसएसपी कुँवरले बताए ।

    साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि जम्मा गरेर राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ । जथावाभी तवरबाट जम्मा गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायमाथी प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुने बताइएको छ ।

    यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि जम्मा नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

  • पछिल्लाे २४ घण्टामा प्रहरीले गर्याे २३ हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण

    पछिल्लाे २४ घण्टामा प्रहरीले गर्याे २३ हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण

    काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएक बेला यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई ध्यान दिदैँ प्रहरीले यो अभियान सञ्चालन गरिरहेको छ ।

    संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि प्रहरीले देशव्यापी रप्मा ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जनालाई केही समय होल्डिङ गरेर सम्झाई बुझाई छोडेको प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रवक्ता कुवँरका अनुसार तोकिएको मापदण्ड उल्लंघन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना र यसै क्रममा देशभर संचालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना सहभागी भएका छन् । कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम गरिरहेकाे छ ।

    कार्यक्रममार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गर्दै आएको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

  • मास्क नलगाउने ४५ हजार भन्दा बढी कारवाहीमा, ८ हजार २४ जनालाई जरिवाना

    मास्क नलगाउने ४५ हजार भन्दा बढी कारवाहीमा, ८ हजार २४ जनालाई जरिवाना

    काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने ४५ हजार ७ सय ७७ जनालाई केहि सयम होल्डिङ गरेर सम्झाई बुझाई छोडेको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने ८ हजार २४ जनालाई भने संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको नेपाल प्रहरी प्रधान नक्सालले जनाएको हो ।

    यस अवधिमा नै १६ हजार ६ सय ६४ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले यस अवधिमा नै ५ सय १८ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभर गरी ६८ हजार ५ सय ६७ जना सहभागी भएका छन् ।

    नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण रोक्न नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

    कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम मार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

    कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।