Tag: नेपाल पुलिस

  • विराट गोल्डकपः विभागीय डर्बीमा एपीएफको जित

    विराट गोल्डकपः विभागीय डर्बीमा एपीएफको जित

    विराटनगर । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई २–० गोलअन्तरले पराजित गरी एपीएफ छैटौं विराट गोल्टकपको सेमिफाइनलमा पुगेको छ ।

    विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई हराउन मणि लामा र सुमन लामाले गोल गरेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको थियो । मणिले दोस्रो हाफको सुरुमा र सुमनले अन्तिम मिनेटमा गोल गरेका थिए ।

    जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो खेलमा भारतको सिक्किम युनाइटेड र क्वाटरफाइनलमा भारतकै वेष्ट बंगाललाई हराएर सेमिफाइनलमा पुगेको हो ।

    २०७४ सालको विजेता नेपाल पुलिस भने पहिलो खेलमै हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरियो । खेल प्रतिस्पर्धात्मक रहे पनि प्रहरीको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले जित हासिल गरेको हो । मणिले रिबाउण्ड बलमा गोल गरेका थिए भने सुमनले पुलिसका गोलरक्षक रामेशन खड्काको कमजोरी उपयोग गरी वान भर्सेस वान प्रहारमा गोल गरेका थिए ।

    खेलको म्यान अफ द म्याच चुनिएका एपीएफका मणि लामाले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

    एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठलेराम्रो तयारी र खेलाडीहरुको मिहिनेतका कारणले जित हासिल भएको प्रतिक्रिया दिए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले रक्षात्मक कमजोरी स्वीकारे ।

    मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

    एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

    काठमाडाैं । नेपाल प्रहरीले अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।

    पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

    प्रहरी प्रवक्ता कुँवरका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्नेछ ।

    एक सदस्यका अनुसार समितिले हाल मौजुदा जनशक्ति, साधन स्रोतको मूल्याङ्कन, व्यवस्थापन र परिचालनका काम गर्नुका साथै थप आवश्यकता पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने छ ।

    यस्तै निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ । अपुग साधन स्रोतको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराउने छ । प्रहरीका निर्वाचनसम्बन्धीका हरेक गतिविधि यही समितिमार्फत हुने प्रहरीले जनाएको छ ।

    यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । सोहीअनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो ।

    रासस