Tag: नेपाल पत्रकार महासंघ

  • पत्रकार महासंघले भन्याे : संवेदनशील स्थानमा जबरजस्ती पस्नु पत्रकारिताकाे मर्यादाविपरित

    पत्रकार महासंघले भन्याे : संवेदनशील स्थानमा जबरजस्ती पस्नु पत्रकारिताकाे मर्यादाविपरित

    काठमाडौं । भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार ऋषी धमालाले प्रत्यक्ष प्रसारण गर्दै गर्दा हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले मंगलबार उक्त घटनाबारे एक विज्ञप्ती जारी गर्दै महासंघ पत्रकार समाचार संकलनका लागि स्वतन्त्र हुनपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा रहेको जनाएको हाे ।

    त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पु¥याउन सम्भव हुने तर, यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयम् सचेत र स्पष्ट हुनुपर्नेमा महासघंका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    ‘सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, स्वास्थ्य तथा सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेष रुपमा हेक्का राख्ने कुरामा ख्याल राखिएन भने समाचार संकलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक छ । हवाइजहाजको ककपिट जस्तो संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नुले अप्रत्यासित घटना पनि निम्त्याउन सक्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    सूचना संकलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भएता पनि यस्तो सूचना संकलन गर्दा पत्रकारिताको मार्यादालाई ख्याल गर्नुपर्ने महासंघले सुझाएको छ । सूचना संकलनका नाममा सुरक्षा संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादा विपरित भएको महासंघको ठहर छ । पत्रकार महासंघले यस्ता खालका कुनै पनि संवेदनशील स्थानमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनुपर्ने मापदण्डलाई पालना गर्न पनि विज्ञप्तीमार्फत नै अपिल गरेको छ ।

  • विवादित मिडिया अवार्डबारे छानबिन गर्न समिति गठन, सुरेश आचार्य संयोजक

    विवादित मिडिया अवार्डबारे छानबिन गर्न समिति गठन, सुरेश आचार्य संयोजक

    काठमाडौं । नेपाल पत्रकार महासंघले विवादित मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति बनाएको छ। कपिलवस्तुमा बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले महांसंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा पूर्वअध्यक्षहरु धर्मेन्द्र झा र शिव गाँउले रहेको समिति गठन गर्ने निर्णय गरेको हो।

    केन्द्रीय सदस्य रामकृष्ण अधिकारीका अनुसार कार्यसमितिले विताइसकेको नौमहिने अवधिमा भए गरेका काम कारबाहीबारे पनि छानबिन समितिले प्रतिवेदन बुझाउनेछ।

    त्यस्तै बैठकले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी वा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने भन्ने विधानको व्यवस्था कार्यान्वयनका लागि प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

    महासंघले संसद अवरुद्ध अन्त्य हुनुपर्ने र न्यायालयको विवाद पनि छिटो समाधान गर्नुपर्नेमा जोड दिएको छ।

  • मिडिया अवार्डका नाममा कमाउधन्दा ! पत्रकार महासंघ नै संलग्न

    मिडिया अवार्डका नाममा कमाउधन्दा ! पत्रकार महासंघ नै संलग्न

    काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको ‘मिडिया अवार्ड’ विवादित बनेको छ । अवार्डका लागि मनोनयनमा परेका पत्रकारहरुले नै विधि र प्रक्रियामाथि विभिन्न प्रश्न उठाउँदै धमाधम बहिष्कार घोषणा गरिरहेका छन् ।

    ‘ड्रिम हाइ नेपाल’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले भाेलि साेल्टी हाेटल अवार्ड कार्यक्रम गर्न लागेको हो । यस अवार्डमा नेपालका पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले पनि हातेमालाे गरेकाे छ। आयोजकका अनुसार महासंघले तीन लाख रुपैयाँ पाउने गरी  आयाेजकसँग ‘सहकार्य’ गरेकाे हो ।

    कम्पनीले गत मंसिर १ गते सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको घोषणा गरेको थियो । ऋषि धमलाको ‘विशेष उपस्थिति’मा आयोजना गरिएको उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघको पनि सहभागिता थियो । त्यसबेला सबैजसो सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । तर, दुई दिनअघि मनोनयन सूची सार्वजनिक भएपछि चाहिँ विवाद उत्पन्न भएको हो ।

    पत्रकारिता क्षेत्रमा अनगिन्ती सम्मान तथा पुरस्कारहरु दिने गरिएको भए पनि ‘अवार्ड’ भनेर दिन लागिएको यो सम्भवत पहिलोपटक हो । तर पत्रकारहरूले नै विश्वास नगर्दा यो अवार्ड सन्देहमा परेको छ । आयोजकसँग पैसा लिएर अवार्डमा सहकार्य गरेको पत्रकार महासंघभित्र समेत असन्तुष्टि देखिएको छ ।

    अवार्ड वितरण कार्यक्रमका प्रमुख अतिथिलाई लिएरसमेत प्रश्न उठेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाललाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ । पोष्टरमा पनि उनको फोटो प्रयोग गरिएको छ । कुनै सरकारी ओहाेदामा रहेका एउटा दलका प्रमुखको हातबाट अवार्ड लिन कतिपय पत्रकार हिच्किचाइरहेका छन् ।

    बहिष्कारको होड

    अवार्डका लागि १९ विधामा ५-५ जनाको मनोनयन सूची बुधबार सार्वजनिक गरिएको थियो । मनोनयनमा परेका केही पत्रकारहरुले तत्काल सामाजिक सञ्जालमा असन्तुष्टि जनाउन सुरु गरेका थिए । उनीहरुले यस अवार्डको पारदर्शीतामा प्रश्न उठाएका छन् । आयोजक संस्था नै ‘संदिघ्ध’ रहेको, मनोनयनको स्पष्ट मापदण्ड नदेखिएको तथा आफूहरुको जानकारीबिना नै सूचीमा राखिएको बहिष्कारवादीको आरोप छ ।

    कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकका पत्रकारहरुले संगठितरुपमै अवार्ड बहिष्कार गरेका छन् । मनोनयनमा परेका कान्तिपुरका नौजना पत्रकारले हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै कुन-कुन समाचार, कस्तो निर्णायक समिति र के मापदण्डका आधारमा नोमिनेसन गरिएको हो भन्ने स्पष्ट नभएकाले आफूहरुको नाम हटाउन आग्रह गरेका छन् ।

    ‘यस्तो अपारदर्शी इभेन्टमा हाम्रो नाम समावेश भए सहमति नरहने स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्ति जारी गर्नेमा मणि दाहाल, जनकराज सापकोटा, कृष्ण आचार्य, अर्जुन पौडेल, अविन श्रेष्ठ, प्रकाशचन्द्र तिमल्सिना, अंगद ढकाल, रिना मुक्तान र सुरज राजथला छन् ।

    नयाँ पत्रिकाका चारजनाले पनि सामूहिक बहिष्कार गरेका छन् । जनार्दन बराल, शिल्पा कर्ण, यम वम र रवि मिश्रले विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको नाम समेत जोडिएको अवार्ड आयोजना गर्दा छनोट मापदण्डबारे अग्रिम जानकारी नगराइएको गुनासो गरिएको छ ।

    फुटकररुपमा अरु पनि केही पत्रकारले सामाजिक सञ्जालमार्फत अवार्डमा भाग नलिने बताएका छन् । यसरी बहिष्कार गर्नेमा कृष्ण ज्ञवाली, सागर बुढाथोकी, शोभा शर्मा, श्वेच्छा राउतलगायत छन् । बहिष्कार घोषणा गरेका सागर बुढाथोकीले पुरस्कार दिने संस्था विवादित देखिएको र विश्वसनीय पनि नलागेको बताए ।

    ड्रिम हाइको पृष्ठभूमि

    ड्रिम हाइ नेपालले फेसबुक पेजमा आफूलाई एडभरटाइजिङ/मार्केटिङ कम्पनीका रुपमा चिनाएको छ । यो कम्पनीले खासगरी मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएको थियो । हालसम्म दुई सयभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्थापन गरिसकेको कम्पनीको दाबी छ ।

    तीन वर्षअघि स्थापना भएको यो कम्पनीले नेपथ्यको लाइभ कन्सर्ट सफल बनाएर आफूलाई चिनाएको थियो । त्यसपछि सुपरस्टार अनमोल केसीको कन्सर्ट तथा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको नेफ्टा अवार्डको म्यानेजमेन्ट यसले गर्यो । गएको दसै‌मा नेहा कक्कडलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने तयारी पनि यस कम्पनीले गरेको थियो । तर कोरोनाका कारण भनेर कार्यक्रम स्थगित गरियो ।

    कक्करको कन्सर्टलगत्तै एक अमेरिकी डिजेलाई ल्याएर डीजेइङ कन्सर्ट आयोजना गर्ने कम्पनीले घोषणा गरेको थियो । त्यो पनि कम्पनीले गर्न सकेन । यस्तै, कम्पनीले घोषणा गरेको लोकदोहोरी अवार्ड पनि हुन सकेको छैन ।

    ड्रिम हाइले केही समयअघि ‘वृन्दावन’ नामक चलचित्रसमेत निर्माण गरेकाे थियाे । सो चलचित्र फ्लप भयो । अब आउँदो तीन वर्षभित्र अर्को चलचित्र निर्माण गर्ने कम्पनीका प्रबन्ध निर्देशक जिसीले बताएका छन् ।

    को–को छन् मनोनयनमा ?

    फिल्म र संगीत क्षेत्रमा वितरण गरिने अवार्डको सिको गरेर मिडिया अवार्ड आयोजना गरिएको हो । आयोजकले अवार्ड वितरणका लागि १९ विधामा ५–५ जनाका मनोनयन सूची बनाएको छ ।

    कतिपयले यो सूचीमा पर्नेहरुलाई नै पुरस्कृतका रुपमा बुझेका छन् । तर, उनीहरु पुरस्कारका दाबेदार मात्र हुन् । प्रत्येक विधामा परेका ५ जनामध्ये १ जनाले अवार्ड पाउने छन् । बाँकी ४ जना खाली हात फर्किनुपर्छ । बहिष्कारको एउटा कारण मनोनयनमा परे पनि पुरस्कार पाउने अनिश्चितता पनि हो ।

    अवार्ड विजेताहरुले नगद पुरस्कार पाउँदैनन् । लाइफ टाइम अचिभमेन्ट विधामा भने ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार राखिएको छ । यो अवार्ड नीर शाह, किशोर नेपाल र भैरव रिसालले पाउँदैछन् ।

    मनोनयनमा विशुद्ध पत्रकार मात्र छैनन् । केही कलाकार, समाचारवाचकदेखि युट्यूबरसम्म समेटिएका छन् । हाइ प्रोफाइलका व्यक्तिहरुले अहिलेसम्म अवार्डबारे केही बोलेका छैनन् ।

    हेर्नुस् मनोनयनमा परेकाहरूको सूची : 

    प्रायोजकको ताँती

    नेपाली सञ्चार क्षेत्रको प्रवर्द्धनको उद्देश्य भनिए आयोजकको मुख्य उद्देश्य आर्थिक मुनाफा हो भन्नेमा दुईमत छैन । आयोजक संस्था ड्रिम हाइ नेपालले अवार्ड कार्यक्रमको व्यवसाय गर्दै आएको छ ।

    कम्पनीले यसै वर्ष नेपाली चलचित्रको चर्चित नेफ्टा अवार्ड आयोजना गरेको थियो । उक्त अवार्डको खास आयोजक चलचित्र प्राविधिक संघ भए पनि संघले निश्चित रकम लिएर कम्पनीलाई अधिकार प्रत्यायोजन गरेको थियो । कम्पनीले स्पोन्सरहरु जुटाएर अवार्ड आयोजना गरेको हो । तर, नेफ्टामा ड्रिम हाई नेपाल घाटामा गयो ।

    मिडिया अवार्डमा भने कम्पनीले टन्नै प्रायोजकहरु भेला पारेको छ । अवार्डको पोष्टरमा नै दुई दर्जनजति प्रायोजकहरुको लोगो देखिन्छ । अवार्ड प्रायोजकमा सरकारीदेखि निजी कम्पनी छन् । अवार्डको मुख्य प्रायोजकमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल लिमिटेड र सहप्रायोजकमा दुबइ बेस्ड ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी रहेको छ । नेपाल टेलिकम, नेपाल वायूसेवा निगमजस्ता सरकारी कम्पनीहरु प्रायोजकको सूचीमा छन् ।

    आयोजकले अवार्ड कार्यक्रमा ५० देखि ५५ लाख रूपैयाँ खर्च हुने अनुमान गरेको छ । अहिलेसम्म खर्च र आम्दानी बराबर रहेको तर विवादका कारण प्रायोजकहरू ब्याक हुनसक्ने चिन्ता रहेको ड्रिम हाई नेपालका प्रबन्ध निर्देशक कमल जीसीले बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले केही संस्थाहरुलाई अवार्डमा सहयोग गर्न फोन गरेर कन्भिन्स गर्ने प्रयास गरिरहेको बुझिएको छ ।

    कसरी गरियो मनोनयन ?

    आयोजक संस्थाले जनाएअनुसार नाम छनोटका लागि एउटा प्रि सेलेक्सन कमिटी र अर्को मुख्य जुरी बनाइएको थियो । पत्रकारितामा सक्रिय सञ्चारकर्मी आवद्ध ९ सदस्यीय प्रि सेलेक्सन कमिटीले झण्डै एक महिना लगाएर अनुसन्धान गरी तयार गरेको नोमिनेसनलाई मुख्य जुरीले अन्तिम रुप दिएको हाइ ड्रिम नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    केही पत्रकारलाई मनोनयनबारे जानकारी गराउन नसक्नुमा आयोजकले कमजोरी स्वीकार गरिएको छ । विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रमुख अतिथि बनाउन प्रयास गरिएको भए पनि भारत भ्रमणका कारण नभ्याउने जवाफ पाएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने निर्णय गरिएको प्रष्ट पारिएको छ ।

    महासंघ अध्यक्ष भन्छन्ः गलत केही छैन

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडिया अवार्डमा कुनै समस्या नरहेको बताएका छन् । पोख्रेलले भने, ‘अवार्ड लिन्न भन्न पनि पाइन्छ । राष्ट्रपति र प्रधानमन्त्रीले दिएको अवार्ड त म लिन्न भन्न मिल्छ । यो व्यक्तिगत स्वतन्त्रता हो ।’

    उत्कृष्ट काम गरेका पत्रकारहरुलाई अवार्ड दिनु नराम्रो कुरा नभएको उनले बताए । ‘राम्रो काम गर्ने पत्रकारलाई पनि सम्मान गरौं भनेर अवार्ड आयोजना गरिएको रहेछ । पत्रकारले आफ्नो सीमाभित्र बसेर अवार्ड लिन्छन् भनेर आयोजकलाई जानकारी गराएका छौं,’ उनले नेपाल प्रेससँग भने ।

    महासंघका महाचिव रोशन पुरीले भने यस अवार्डका विषयमा व्यक्तिगत असहमति जनाएका छन् ।

    नेपाल प्रेससँग उनले भने, ‘म एक महिनादेखि बिरामी भएर घरमै आराम गरिरहेको छु । तर, योबीचमा मेरो हस्ताक्षरको दुरुपयोग गरेर विज्ञप्ति जारी गरिएको रहेछ । त्यसमा मेरो सहमति छैन ।’

    दुई–चार पैसा हुन्छ कि भनेको, विवादित बनाइयोः कमल जिसी

    अवार्डको विवाद र पत्रकारहरुले लगाएका आरोपबारे आयोजक संस्थाका प्रमुख कमल जिसी नेपाल प्रेससँग यसो भन्छन्ः

    हामीले खासमा सञ्चारक्षेत्रमा दुख गरिराख्नु भएका मिडियाकर्मीलको काम, कार्यक्षेत्र, नाम र पब्लिसिटीलाई हेरेर अवार्ड दिन खोजेको हो । तर उहाँहरुबाटै ‘कन्ट्रोभर्सी’ कुरा पनि आइराखेको छ ।

    अवार्ड लिन्न भन्न पाउने उहाँहरुको अधिकारको कुरा हो । कस्ता–कस्ता अवार्डहरु त यहाँ अस्वीकार हुन्छन् । हामी त एउटा प्राइभेट कम्पनी हौं । धेरै कम्पनीहरुलाई हात जोडेर, मागेर अवार्ड गर्न लागेका छौं । दुई चार पैसा हामीलाई पनि कमाइ होला, पत्रकारिता क्षेत्रमा दुख गरेकोहरुले पनि केही राहत पाउलान् भनेर हो ।

    त्यत्रो सोल्टी होटलमा भव्य तरिकाले कार्यक्रम आयोजना गर्दैछौं । पत्रकारिता क्षेत्रमा मित्रकारिता पनि बढाउँ भनेर गर्न खोजेको तर यसलाई फरक रुपमा ल्याइयो । जुरीका ३ जनाको मुख्य र ९ जनाको कोर टिमले एक महिना लगाएर सूची बनाउनुभएको थियो । तर त्यो सदर भएन, बदर भयो । सबैजनाले त बदर गर्नुभएको छैन, दुई–चार जनाले हो । त्यसमा हाम्रो खासै आपत्ति छैन ।

    यो देशको संविधानमा अवार्ड–सम्मान गर्न पाइँदैन भनेर त लेखेको छैन । पहिलोचोटि सञ्चारजगतमा काम गर्न खोजेका छौं, तर धेरैले यसलाई कन्ट्रोभर्सी बनाउनुभएको छ । नोमिनेसनमा परेकाहरुले घरी के स्टाटस लेख्नुभएको छ, घरी के । मेरो नाम नसोधी किन हाल्नुभयो ? भनेर प्रश्न गर्नुभएको छ । ए बाबा, संसारको कुनै पनि अवार्डमा सोधेर मनोनयन गरिँदैन । यस्तो सामान्य कुरा हाम्रो सञ्चार जगतले बुझनुभएन वा हामीले बुझाउन सकिएन । जे होस् हाम्रो नि कमजोरी होलान् । आयोजकको नि कमजोरी हुन्छन् ।

    हामीले मनोनयन गर्ने आधार भनेको त हाम्रो जुरी टिमलाई उहाँहरु बेस्ट लाग्यो । आधार त व्यक्तिको काम गराइ, लेखाइ, इत्यादिलाई बनाउनुभएको होला । धेरै कुरा त कार्यक्रममा जुरीको मान्छे बोल्नुहोला । जो–जोले नाम झिक्नुस् भन्नुभएको छ, उहाँहरुको झिक्छौं । टिमको निर्णयअनुसार अगाडि बढ्छौं । जोजोले स्वीकार गर्नुभएको छ उहाँहरुलाई बोलाउँदै अवार्ड दिन्छौं ।

    मैले २ सयभन्दा बढी कार्यक्रम गरिसकेँ नेपालमा । मैले अवार्डका लागि फर्मसमेत खुलाइनँ । यहाँ फर्म नभरी अवार्ड दिइँदैन । मिडिया सेक्टरलाई दिने अवार्ड भनेको अलिक भिन्दै हो ।

    अहिले त मेरो स्पोन्सरलाई फोन गरेर भड्काएका कुराहरु पनि आइराखेका छन् । मसँग प्रमाण छ । हामीले नेपाल पत्रकार महासंघ सहकार्य गरेका हौं । महासंघलाई तीन लाख दिने सम्झौता छ । १ लाख रुपैयाँ उहाँहरुको खातामा हालिसकेका छौं । दुई लाख कार्यक्रम सकेको एक हप्ताभित्र दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छु । म कानूनीरुपमा बलियो छु । भोलि अवार्ड हुन्छ, भव्य हुन्छ ।

     

  • क्षमता विकासका कार्यक्रम ल्याउन दलित समुदायका पत्रकारको माग

    क्षमता विकासका कार्यक्रम ल्याउन दलित समुदायका पत्रकारको माग

    काठमाडौं । दलित समुदायका पत्रकारले आफूहरूको क्षमता विकासका कार्यक्रम ल्याउन नेपाल पत्रकार महासंघसँग माग गरेका छन् । नेपाल पत्रकार महासंघको दलित विभागले काठमाडौंमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासंघको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारले अब आमसञ्चार माध्यमले ४ हजार वर्षदेखि उत्पीडनमा रहेको दलित समुदायका कथाव्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

    उनीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथाव्यथा सञ्चार माध्यमसम्म पुर्याउनै नसकिने भन्दै त्यस्तो माग गरेका हुन् । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारलाई आग्रह गरे ।

    ‘दलित समुदाय चार हजार वर्षदेखि उत्पीडनमा छ, यसको मुक्ति यति सहजै सम्भव छैन,’ उनले भने, ‘यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । हरेक दलितसँग अलग–अलग कथा छन्, त्यस्ता कथाव्यथा बाहिर ल्याइनुपर्छ । तपाईहरूको कलमले दलितका त्यस्ता कथाव्यथालाई सार्वजनिक गर्नुपर्छ ।’

    अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानूनले जातीय विभेद र छुवाछुतलाई निषेध गरे पनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गरे । ‘समाजका बुज्रुक नै यो एकैपटक परिवर्तन हुदैन, क्रमश हुन्छ भन्ने गर्छन् । तर, त्यो विस्तार भनेको कहिले हो ? यो मानसिकतालाई हामीले कसरी फेर्ने ? यसबारे आमसञ्चार माध्यमले धारणा बनाउनुपर्छ,’ अध्यक्ष विश्वकर्माले भने । उनले पछिल्ला वर्षमा दलित समुदायले विभिन्न अधिकार पाए पनि दलितमाथि हुने हिंसा भने बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम नेकपा माओवादी केन्द्रकी नेता अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकार एकजुट भएर अघि बढ्न आग्रह गरिन् । उनले पछिल्लो समय राजनीतिक दल, संसद, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भए पनि दलित समुदायको मुक्तिको मुद्धा भने त्यसरी उठ्न नसकेको बताइन् ।

     

    ‘दलित सहभागिता बढ्दो छ । तर, मुद्धामा एकता छैन,’ उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा पनि त्यस्तै समस्या देखिन्छ । तपाईहरूको एकता र निरन्तरता आवश्यक छ ।’ उनले दक्ष पत्रकारको संख्या कम रहेकोमा दुःख व्यक्त गर्दै दलित समुदायका पत्रकारको क्षमता विकासमा जोड दिन सुझाइन् ।

    नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासंघ प्रतिवद्ध भएको बताए । उनले महासंघले पत्रकार र सञ्चार माध्यममा समावेशिता र सहभागिताको कुरा मात्रै नउठाउने भन्दै समाजमा जकडिएर रहेको जातीय विभेद र छुवाछुतको अन्त्यकै लागि विशेष लिन सक्ने बताए । उनले महासंघले आफ्नो संगठनमा दलित सहभागितालाई ध्यान दिएको भन्दै पत्रकारको क्षमता विकासका लागि काम गर्ने बताए ।

     

    महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासँगको अन्तरक्रियामार्फत अघि बढ्ने बताए ।

     

    महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझै पनि सञ्चारगृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताए । ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उनले भने, ‘मुलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन् । त्यो समुदायको मुद्धालाई कति लेख्छन् ? हामीले देखेकै छौँ ।’

     

    परियारले दलित समुदायका पत्रकारले एकैसाथ गरिबी, काठमाडौंको साँघुरो मानसिकता र जात व्यवस्थासँग लडेर पत्रकारिता गर्नुपर्ने बाध्यता रहेको बताए । ‘पत्रकार दलित हुदैन भनिन्छ । तर, यथार्थ अलग छ । दलित समुदायका पत्रकारले गरिबी झेल्नुपर्छ । काठमाडौंमा कोठा समेत पाउँदैनन्, जातीय हिंसाको शिकार हुनुपरेको छ,’ उनले भने, ‘यत्तिका अवरोधका बीच पनि दलित समुदायका पत्रकारको संख्या बढ्दो छ, अब उनीहरूको क्षमता विकासमा जोड दिनु जरुरी छ ।’

    कार्यक्रममा पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङ्गी रहेको बताए । उनले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रुपमा नलिने गरेको भन्दै सञ्चार माध्यमको चरित्र पनि त्यस्तै रहेको बताए ।

    ‘अहिले पनि हामी जातीय हिंसा सहिरहेका छौँ । त्यो पत्रकारले होस्, वा नेताले होस् । आमरुपमा हाम्रो भोगाई उही छ,’ उनले भने, ‘मिडिया पनि त्यो समाजभन्दा अलग छैनन् । मिडियामा त्यस्तै हालत छ ।’ उनले सञ्चार माध्यममा अप्रत्यक्षरुपमा दलित पत्रकारमाथि विभेद हुने गरेको बताए ।

    ‘दलित समुदायको पत्रकार लेखुञ्जेल रिपोर्टरका रुपमा ठीक छ, तर ऊ क्षमता भएर पनि ब्युरो प्रमुख बन्न सक्दैन, सम्पादक बन्दैन । राजनीतिमा होस् वा अन्य क्षेत्रमा अवस्था यही हो,’ उनले भने, ‘दलित समुदायको सहभागिता अवश्य बढेको छ, तर निर्णायक भूमिकामा दलित सहभागिता छैन ।’

    उनले दलित समुदायको मुद्धालाई आमसञ्चार माध्यमले सार्वजनिक बहसको मुद्धा बनाउन नचाहने गरेको बताए । ‘समाज एउटा यति गहिरो जातीय हिंसा छ, अपराध छ, त्यसलाई जरैदेखि उखेल्न मिडियाले जस्तो भूमिका खेल्न सक्छ, त्यो भूमिका खेल्न अझैपनि तयार छैन,’ उनले भने, ‘नलेख्दा अफ्ठ्यारै पर्छ कि भनेरमात्रै लेख्ने चलन छ ।’

    लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेका बताए । ‘मिडियामा दलितमाथिको संरचनागत विभेदको कायम छ । दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ,’ उनले भने । उनले दलित महिला पत्रकारको अवस्था झन् दुःखलाग्दो भएको बताए । अध्येता विश्वकर्माले दलित समुदायका पत्रकारको सहभागितालाई मात्रै बढाउने भन्दा पनि गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिए ।

    महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासंघले दलित समुदायका पत्रकारको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताए । उनले अहिले विभिन्न चरणका छलफलबाट समुदायका पत्रकारका समस्याको पहिचान गरी तिनको समाधानका लागि महासंघमार्फत् पहल गर्ने समेत बताए ।

    कार्यक्रममा क्रियाशील दलित पत्रकार संघका अध्यक्ष पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्र समेत पत्रकारले जातीय विभेद सहनुपर्ने बाध्यता रहेको बताइन् । ‘समाज जस्तो छ, त्यसको चित्र मिडियामा छ, मिडिया समाजभन्दा अलग्गै छैन,’ उनले भनिन्, ‘हिंसा र विभेदको स्वरुप फरक हुनसक्छ । पत्रकार आफैँ विभेद खेपेर कसरी समुदायको मुक्तिको विषय उठाउन सक्छ ?’

     

    राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरुको महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए । ‘पत्रकारिताको इतिहासमा कटुवाल प्रथाको योगदान छ । गन्धर्वहरूले गरेको मिसन पत्रकारितालाई पनि हाम्रो इतिहासले न्याय गर्न सक्नुपर्छ,’ उनले भने । महासचिव दर्नालले दलित समुदायका पत्रकारहरूको संख्या कम रहेको भन्दै उनीहरूलाई पत्रकारितामा आकर्षण गर्ने र क्षमता अभिवृद्धि गर्ने कार्यमा ध्यान दिनुपर्नेमा जोड दिए ।

     

    जागरण मिडिया सेण्टरका महासचिव भीम घिमिरेले दलित समुदायको मुद्धालाई सञ्चार माध्यमले साझा मुद्धाका रुपमा अघि बढाउन नसकेका बताए । ‘दलितका विषयमा दलितले मात्रै लेखेर पुग्दैन । यो आम सवाल बन्नुपर्छ । सार्वजनिक सवाल बन्नुपर्छ । तबमात्रै दलित समुदायमाथिको अन्यायको अन्त्य हुनसक्छ भन्ने लाग्छ,’ उनले भने ।

     

    महासंघको केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका विभिन्न संरचनामा एक सयभन्दा धेरै दलित समुदायका पत्रकार सम्बद्ध छन् भने महासंघका सदस्यमध्ये दलित समुदायका पत्रकारको संख्या एक हजारभन्दा धेरै रहेको छ । कार्यक्रममा दलित समुदायका पत्रकारको अधिकारको क्षेत्रमा कार्यरत संघसस्थाका प्रमुख तथा प्रतिनिधि र दलित समुदायका सक्रिय पत्रकारको सहभागिता थियो ।

  • पत्रकार महासंघ वागमती प्रदेश सम्मेलन: चितवनमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको माग

    पत्रकार महासंघ वागमती प्रदेश सम्मेलन: चितवनमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको माग

    चितवन । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको प्रथम प्रदेशिक सम्मेलन ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । महासंघ वागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गर्दै ११ बुँदे घोषणापत्र जारी गरिएको बताए ।

    सरकारको नीति तथा कार्यक्रममा परेको प्रतिष्ठान चितवनमा बनाउन यसअघिनै महासंघ, केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।
    सम्मेलनले काभ्रेमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्ने, महासंघको प्रदेश कार्यालय रहेको हेटौंडा ११ स्थित जग्गामा प्रादेशिक संचारग्राम स्थापनाका लागि प्रकृया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको देवकोटाले बताए ।

    कोभिड महामारीको कारण देखाउँदै पत्रकारहरूलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा महासंघले ध्यानाकर्षण गराउँदै बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन माग गरिएको छ । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

    सञ्चारमाध्यमको पुनरउत्थानका लागि आर्थिक प्याकेज ल्याउन र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

    प्रदेश समितिले यो आर्थिक वर्षलाई तालिम वर्षको रूपमा अघि बढाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्डअनुसार महासंघलाई क्रियाशील पत्रकारहरूको संस्था बनाउनका लागि सदस्यता शुद्धीकरण अभियानमा सहयोग गर्न सबै जिल्ला शाखाहरुलाई आग्रह गरिएको छ ।

    सौराहामा २ दिन चलेको सम्मेलनमा वागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रदेश कार्यसमितिको सहभागिता रहेको थियो ।

  • पत्रकारहरुको बक्यौता दसैंअघि नै भुक्तानी गर्न संचारगृहलाई महासंघको आग्रह

    पत्रकारहरुको बक्यौता दसैंअघि नै भुक्तानी गर्न संचारगृहलाई महासंघको आग्रह

    काठमाडौं । नेपाल पत्रकार महासंघले असोज १७ गतेपछि संघर्षका थप कार्यक्रम अघि बढाइने निर्णय गरेको छ । पीडित पत्रकारले अघि बढाएका मागको हालसम्म पनि सञ्चार गृहबाट सुनुवाई हुन नसकेकोमा दुख व्यक्त गर्दै महासंघले समयमै ती समस्याको सुनुवाई नभए महासंघको निर्णय र समन्वयमा संघर्षका थप कार्यक्रम अघि बढाइने महासंघले बिहीबार एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

    कोरोना संक्रमणको बहाना बनाई विभिन्न सञ्चार गृहमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध नेपाल पत्रकार महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदै आएको महासंघले जनाएको छ ।

    यति गर्दा समेत त्यसलाई बेवास्ता गर्दै महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृह समस्या समाधानप्रति गम्भीर नबन्दा ती सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    ‘नेपालीको महान पर्व दशैंसम्मुख आइपुग्दासम्म श्रमजीवी पत्रकार एकातिर कोरोनाको कहर र अर्कोतिर तलवविहीन बन्नु पर्दाको पीडाले आक्रान्त छन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन । सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ । महासंघ आउँदो दशैं अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग महासंघ आग्रह गर्दछ ‘, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखामार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको हो ।

    महासंघले सबै शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन पनि आग्रह गरेको छ ।

    विभिन्न सञ्चार गृहका पीडित पत्रकारले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रतिले महासंघले समर्थन र ऐक्यवद्धता जनाउदैँ श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा महासंघको सहभागिता रहने स्पष्ट पारेको छ ।

  • पत्रकार महासंघले भन्यो- संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने विज्ञप्ति तत्काल सच्याऊ

    पत्रकार महासंघले भन्यो- संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने विज्ञप्ति तत्काल सच्याऊ

    काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्रालयले हालै जारी गरेका दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।

    ‘गृह मन्त्रालयद्वारा २०७८ भाद्र १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ ।’

    मित्र राष्ट्रसँगको सम्बन्धको वहानामा संविधानप्रदत्त अधिकारलाई कुण्ठित पार्न खोजेको महासंघको ठहर छ। ‘मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ,‘ मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ ।’

    नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन महासंघ माग गर्दछ ।’

  • प्रदेशसभामा पेश भएको मिडिया विधेयकमाथि पत्रकार महासंघको आपत्ति

    प्रदेशसभामा पेश भएको मिडिया विधेयकमाथि पत्रकार महासंघको आपत्ति

    रुपन्देही । लुम्बिनी प्रदेशसभामा पेश भएको सञ्चार विधेयकमाथि पत्रकारहरुले आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन् ।

    प्रदेश सरकारले अगाडि बढाएको यो विधेयकमा गठन गर्न लागिएको मिडिया काउन्सिलको अध्यक्षमा मन्त्री रहने व्यवस्था गरिएपछि उनीहरुले असन्तुष्ट बनेका उनीहरुले सच्याउन माग गरेका हुन् ।

    पत्रकार महासंघ लुम्बिनी प्रदेशले शनिबार आयोजना गरेको भर्चुअल बैठकमा बोल्ने पत्रकारहरुले संविधानको भावना विपरीत आएको विधेयक संसदबाट पास नगर्न सरकारलाई आग्रह गरेका छन् ।

    स्वतन्त्र पे्रस विरोधीको रुपमा आएको विधेयक सरोकारवाला निकायहरुसँग छलफल गरी पुनःलेखन नभए प्रदेश सरकारकाविरुद्व उभिनुको विकल्प नभएको पत्रकारहरुको भनाइ छ ।

    पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विद्येयक प्रेस स्वतन्त्रता बिरोधी भएको बताए । उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने खालको विधेयक खारेज गरी लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने प्रेसमैत्री विधेयक ल्याउन लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरे । उनले एकीकृत कानून निर्माण गर्नुको विकल्प नभएको बताउँदै सञ्चारमैत्री विधेयक ल्याउनका लागि पत्रकार महासंघले सरकारलाई सहयोग गर्ने बताए ।

    लुम्बिनी प्रदेश सांसद दामाकुमारी शर्माले विधेयकमाथि छलफल गरेर पास गर्न सकिने बताइन् । उनले नमिलेका विषयमा अध्ययन गरेर अघि बढ्ने आश्वासन दिइन् । महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक गम्भीर त्रुटिपूर्ण रहेको बताए । विधेयकलाई फिर्ता गरेर सच्चाएर मात्रमा संसदमा लैजान सरकारलाई आग्रह गरे ।

    लुम्बिनी प्रदेशले ल्याएको सञ्चार विद्येयक पञ्चायती प्रणालीको भएको उल्लेख गर्दै सञ्चार क्षेत्रलाई अंकुश लगाउनु संविधान र लोकतन्त्रको भावना विपरीत विधेयक आएको उनले तर्क गरे ।

    महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता विरोधी विद्येयक खारेज गरी एकीकृत सञ्चार कानून ल्याउनुपर्ने माग गरे । पत्रकार महासंघका महासचिव रोशन पुरी, केन्द्रीय सदस्य सुशील पोखरेल, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, पत्रकार दिनेश पाण्डे, शोभाखर पन्थीलगायतले विधेयक फिर्ता लैजान सरकारसँग माग गरेको महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीले बताए । महासंघका प्रदेश महासचिव विक्रम खड्काले संसदमा पुगेको विधेयकका विषयमा सबैले अध्ययन गर्नुपर्ने भएकाले छलफलमा ल्याएको बताए ।

    संघीय सरकारले ल्याएको आमसञ्चार विधेयक केन्द्रमा पनि पास हुन सकेको छैन ।

    मिडिया विधेयकमा यस्तो छ व्यवस्था

    लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको नियमनका लागि भन्दै सञ्चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरेको छ ।
    मस्यौदामा पत्रकारलाई दण्ड जरिवानाको व्यवस्था मात्रै गरिएको छैन, मन्त्रीलाई नै मिडिया काउन्सिलको अध्यक्ष प्रस्ताव गरिएको छ ।

    विधेयकलाई अघि बढाउन प्रदेश सभामा पठाइएको छ । विधेयकमा सरकारले भनेका सूचना निःशुल्क प्रसारण गर्नुपर्ने, संचार माध्यम दर्ता नगरी समाचार प्रकाशन–प्रशारण गर्नेलाई कैद तथा नगद जरिवाना गर्ने जस्ता व्यवस्था राखिएको छ । यसले सञ्चार क्षेत्रलाई संकुचन गर्नु सरकारको उद्देश्यका साथै नियन्त्रणमुखी भएको बताउँदै यसमा संशोधन आवश्यक रहेको पत्रकारहरुको माग छ ।

    यस्तै, विधेयकमा सञ्चारमाध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रसारण गरेमा संचारमाध्यम बन्द गर्न सकिने उल्लेख छ । प्रदेशमा संचार माध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, संचालन, नवीकरण र नियमन गर्न तथा प्रदेश सञ्चार परिषद्को स्थापनाका लागि आवश्यक व्यवस्था गर्न भन्दै संचार माध्यम ऐन, २०७८ लागू गर्न खोजिएको हो ।

    प्रस्तावित विधेयकमा मिडिया काउन्सिलले सञ्चार माध्यमको दर्ता नवीकरण बन्द गर्ने, ६ महिनादेखि १ वर्षसम्म कदै गर्न सक्ने दण्ड जरिवानाका प्रावधानहरु छन् । सरकारको आदेश र निर्देशन पालना नगर्ने तथा झुटो विवरण प्रकाशन गरेको लागेमा सजायको प्रस्ताव विधेयकमा गरिएको छ ।

    मुख्यतया सञ्चार माध्यमको दर्ता, अनुमति, प्रकाशन, प्रसारण, सञ्चालन, नवीकरण र नियमनका विषय छन् । यस्तै प्रदेश सञ्चार परिषद्को स्थापनाको नियतमाथि प्रश्न गरिएको छ । मिडिया काउिन्सलको अध्यक्षका रुपमा मन्त्रीलाई राखिएको छ । सदस्यहरु पनि अधिकांश मन्त्रालयका सचिवहरुलाई राखिएको छ । समान्यतः काउन्सिलमा मिडिया क्षेत्रकैलाई प्राथमिकता राखिन्छ । तर लुम्बिनी सरकार भने मिडियालाई नियन्त्रणमुखी बनाउन खोजेको छ ।

    विधेयकमा समावेश भएका प्रावधानका विषयममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्यले भने मन्त्रिपरिषद्बाट पास भइसकेको तर केही बुँदाहरु आफूलाई पनि मन नपरेको बताएका छन् ।

    उनी यो जिम्मेवारीमा नआउँदै यस विधेयक अगाडि बढेकाले अहिलेका विभागीय मन्त्री आचार्य अनविज्ञ हुनु स्वभाविक भए पनि सत्तारुढ दलको प्रदेश सांसद भएकाले यसको जवाफ उनले पनि दिनुपर्ने हुन्छ ।

    यसअघि ३ वर्ष ३ महिना यो मन्त्रालयको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा यो विधेयक अगाडि बढाइएको थियो ।

    विद्येयकका विषयमा सरोकारवालासँग धेरै पटक छलफल गरिएको भए पनि ती सुझाव नसमेटिएको सहभागीहरुको गुनासो छ । विधेयकमा आफूहरुले हटाउन तथा थप्न दिएका सुझाव नसमेटिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरे बताउँछन् ।

  • पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दाङमा दुर्घटना

    पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको कार दाङमा दुर्घटना

    रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहेका छन् ।

    अध्यक्ष पोखरेलको प्रदेश ३-०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा. १ च ९५५ नम्बरको स्कारपियोले ठक्कर दिएको हो ।

  • महामारीको बहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

    महामारीको बहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो ।

    नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए ।

    उनले भने,‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुर्ननियुक्ति गरी समस्या समाधान गरेको दोस्रो लहर शुरु भइसकेपछि । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमुलक कामपनि पत्रकार महासंघले गरिरहेको छ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरुलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

    महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औल्याए । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

    महासचिव पुरीले भने, ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाईकर्मीहरुलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

    महासंघका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।

  • नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह

    नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट नागरिकको जीवन बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई आग्रह गरेको छ। मंगलबार भर्चुअलमार्फत बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकले आम नागरिक र पत्रकार लक्षित विभिन्न ८ निर्णय गरेको हो ।

    ‘कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई यो बैठक आग्रह गर्दछ,’ महासंघले बैठकपछि जारी गरेको विज्ञप्तीमा भनिएको छ। परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

    निर्णयमा भनिएको छ, ‘स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराउँदछ ।’

    त्यस्तै स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मुल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसंग रकम लिइरहेको भन्ने गुनासो आएको भन्दै नियमनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइँका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न पनि माग गरेको छ ।

    आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरक- फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न पनि महासंघले सरकारसंग माग गरेको  महासचिव राेशन पुरीले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ ।

  • आज विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोनाले पत्रकारहरुको पेशागत असुरक्षा बढ्दो

    आज विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोनाले पत्रकारहरुको पेशागत असुरक्षा बढ्दो

    काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ पुगेको छ ।

    नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन एकाइको तथ्यांक हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ ।

    यो अवस्थालाई दृष्टिगत गर्दै महासंघले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवा सुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए ।

    विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गरे ।

    महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् । यस्तै ५८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेखअनुसार यस वर्ष छ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५१७ पत्रकार विस्थापनमा परेका छन् ।

    सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात् मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो ।

    दिवसका अवसरमा अध्यक्ष पोख्रेलले नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति योगदान पु¥याउने सबैप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    नेपालमा पनि पत्रकार महासंघको आयोजनामा युनेस्कोसँगको सहकार्यमा मे ३ अर्थात् आज भर्चुअलरूपमा अन्तरक्रिया गरिँदै छ । कोरोना सङ्क्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकाले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

    कार्यक्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ । यसैगरी नेपालका विभन्न तहमा बन्न थालेका नौ कानूनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिँदैछ ।

    दिवसका सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने अध्यक्ष पोख्रेलले विश्वास लिएका छन् ।

    प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र होइन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन । प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाइमा पु¥याउन पत्रकार महासङ्घ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी रहेको उनले बताएका छन् ।

  • केही समस्या भए सम्पर्क गर्न पत्रकार महासंघका अध्यक्षको अनुरोध (भिडियो)

    केही समस्या भए सम्पर्क गर्न पत्रकार महासंघका अध्यक्षको अनुरोध (भिडियो)

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका बेला आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरूसँग अनुरोध गरेका छन् ।

    उनले महामारीको बेला कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन भनेका छन् । कोरोनाको कारण देखाएर कुनै पनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिकलगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

    ‘फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दछु’, पोखरेलले भने, ‘संक्रमित पत्रकारका लागि उपचार गराउन निश्चित अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

    जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहोरिन नदिन महासंघले काम गरिरहेको उनको भनाइ छ । समस्यामा परेका पत्रकारहरूको लागि तत्काल गर्नुपर्ने काम र दीगो व्यवस्थापनको क्षेत्रमा समिति नै बनाएर काम थालेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

  • संसदले कसैको दबाबमा काम गर्दैन : सभामुख सापकोटा

    संसदले कसैको दबाबमा काम गर्दैन : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास असफल पारिछाड्ने दावी गरेका छन् ।

    नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा बोल्दै सभामुख सापकोटाले जनताको पक्षमा काम गर्दा परेको व्यहोर्न आफू तयार रहेको बताए ।

    ‘कुनै कुराको त्याग गर्न र कुनै कुराको जोखिम लिन मलाई कठिनाइ हुने छैन । देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन’, सापकोटाले भने ।

    शनिबार सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सभामुख सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास भएको बताए ।

    ‘जब संसदलाई जनमुखी र गतिशील बनाउने क्रम शुरू भयो । राष्ट्रिय हितको सवालमा जब संसदले काम गर्‍यो । त्यहीँबाट संसदविरुद्ध घेराबन्दी शुरू भयो’, सापकोटाले भने ।

    संसदलाई कसैको दबाब स्वीकार्य नहुने भन्दै सभामुख सापकोटाले जनताको थलो भएकाले संसदले जनताको हितमै निर्णय गर्ने बताए ।

    समारोहमा पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नवनिर्वाचित अध्यक्ष विपुल पोखरेललाई पदभार हस्तान्तरण गरेका थिए ।

  • महासंघकाे उपत्यका प्रदेश अध्यक्षमा झा र महासचिवमा रोका निर्वाचित

    महासंघकाे उपत्यका प्रदेश अध्यक्षमा झा र महासचिवमा रोका निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झा र महासचिवमा टेकबहादुर रोका (टेनिस) निर्वाचित भएका छन् । गत २५ चैतमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार झाले १ हजार १ सय ६५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रामचन्द्र खड्काले ५ सय ७ मत प्राप्त गरे ।

    उपत्यका समितिको खुला उपाध्यक्षमा विरबहादुर लामाले ९ सय १५ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी विनोद प्रसाद चौलागाईले ६ सय ४४ मत प्राप्त गरे । महिला उपाध्यक्ष रोजिना थापा भने निर्विरोध निर्वाचित बनिन् । महासचिव पदमा १ हजार ५ मत प्राप्त गर्दै टेकबहादुर रोका (टेनिस) निर्वाचित भए भने उनका प्रतिस्पर्धी सविन शर्माले ५ सय ६९ मत प्राप्त गरे ।

    खुल्ला सचिवमा रोशनराज पाण्डेले ८ सय ६९ मत ल्याएर विजयी बन्दा उनका निकटम प्रतिस्पर्धी केदार भट्टराईले ४ सय ५४ मत र कालिका बहादुर महतले २ सय २३ मत प्राप्त गरे । यसैगरी, समावेशी सचिवमा अमर भुजुले ९ सय ४७ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी रञ्जित तामाङले ६ सय ४ मत प्राप्त गरे ।

    कोषाध्यक्षमा भने १ हजार ८९ मत ल्याएर अर्जुन पन्त विजयी बने भने जयराम बास्तोलाले ४ सय ४२ मत प्राप्त गरे । कार्यसमिति सदस्यमा प्रविण श्रेष्ठ, घनश्याम अधिकारी (बैरागी जेठा), माधव प्रसाद घिमिरे, विष्णु कुमार गिरी (विष्णु निश्चल), विधुर ढकाल, रमा कुमारी न्यौपाने, नेत्र प्रसाद न्यौपाने, दिया चन्द, लक्ष्मी गारु, सुशिल दर्नाल, अर्जुन बहादुर तामाङ, रत्नकृष्ण श्रेष्ठ, विनयकुमार महतो, अनिलकुमार गुप्ता निर्वाचित भए ।

  • पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित)

    पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार ९ सय १६ मतले अग्रता लिएका छन् । पोखरेलको ४ हजार ४ सय ४६ मत आउँदा प्रतिस्पर्धी निर्मला शर्माले २ हजार ५ सय ३० मत प्राप्त गरेकी छन् ।

    अध्यक्षका अन्य प्रत्यासी गजेन्द्रसिंह बुढाथोकीले २ सय ८७ मत ल्याउँदा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका रामप्रसाद दाहालको ७२ मत आएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायम छ ।

    जारी मतगणनामा केन्द्रीय समितिको पदाधिकारी र खुलातर्फका सबै पदमा पोखरेल नेतृत्वको प्यानलका उम्मेदवारले अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम हेर्नुहोस् ।

     

  • पत्रकार महासंघ प्रदेश-२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन विजयी

    पत्रकार महासंघ प्रदेश-२ मा चौतारी र प्रेस मञ्चको गठबन्धन विजयी

    जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेश कुमार कर्ण विजयी भएका छन् ।

    प्रदेश २ मा जनता समाजबादी पार्टी समर्थित प्रेस मञ्च र एमाले सम्बद्ध प्रेस चौतारीको गठबन्धन बनेको थियो । कर्णले कांग्रेस सम्बद्ध प्रेस युनियन र नेकपा माओबादी केन्द्र सम्बद्ध प्रेस संगठनका संयुक्त उम्मेदवार नवलकिशोर यादव (बाबा)लाई चार मतान्तरले पराजित गरे । कर्णले ३ सय ४६ मत ल्याए ।

    उपाध्यक्षमा प्रेस चौतारीका रामानन्द गुप्ता विजय भए । उनले प्रेस संगठनका उम्मेदवार राजु विश्वकर्मालाई पराजित गरेका हुन् ।

    यस्तै महिला उपाध्यक्षमा प्रेस संगठनकी ज्योती झा विजयी भइन् । महिला उपाध्यक्षमा प्रेस संगठनबाटै माला कर्णले पनि उम्मेदवारी दिएकी थिइन् । जसका कारण संगठनमा कसलाई आधिकारिक मान्नेमा विवाद भएको थियो । पछि झालाई आधिकारिकता दिएपछि उनलाई जित्न सजिलो भएको हो ।

    महासचिवमा गठबन्धनबाट प्रेस चौतारीका श्याम प्रसाद बञ्जारा, सचिवमा प्रेस युनियनका अजित कुमार सिंह, सचिव समावेशीमा प्रेस मञ्चका भोला पासवान, कोषाध्यक्षमा प्रेस मञ्चकै विश्वनाथ ठाकुर विजयी भए ।

    प्रदेश सदस्यमा प्रेस मञ्चकै अधिकांश उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनले प्रदेश २ का जिल्लाहरुमा मञ्च पनि सशक्त संगठन बनेको प्रमाणित गरिदिएको छ ।

  • पत्रकार महासंघ प्रदेश–१ को नेतृत्वमा लिलाबल्लभ घिमिरे प्यानलसहित विजयी

    पत्रकार महासंघ प्रदेश–१ को नेतृत्वमा लिलाबल्लभ घिमिरे प्यानलसहित विजयी

    विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा लीलावल्लभ घिमिरे विजयी भएका छन् । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत बिभिन्न संगठनको गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा होमिएका घिमिरे प्यानलसहित विजयी भएका हुन् ।

    प्रेस चौतारी नेपालबाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भए। घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन्

    त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भए । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरेका थिए ।

    महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ निर्वाचित भइन् । उनले ८३६ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् ।

    महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरे । सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्ठले ५१३ मत प्राप्त गरे ।

    समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे । कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे ।

    त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

    त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने । मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, ब्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए । अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

  • पत्रकार चुनावः सुदूरपश्चिम प्रदेशमा ओलीलाई हराउँदै रावल विजयी, कैलालीमा जोशीको जित

    पत्रकार चुनावः सुदूरपश्चिम प्रदेशमा ओलीलाई हराउँदै रावल विजयी, कैलालीमा जोशीको जित

    कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्। प्रेस युनियनसहितका विभिन्न ११ सङ्गठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका प्रदेश संयोजक कृष्णबहादुर ओलीलाई पराजित गरे ।

    रावल यस अघि पत्रकार महासंघ प्रदेशको महा-सचिव थिए। यस्तै प्रदेश समितिको उपाध्यक्षमा योगेन्द्रबहादुर बलायर, महासचिवमा रामसिंह ठगुन्ना विजयी भएका छन्।

    सचिवमा हरि जोशी, समावेशी सचिवमा प्रेम चुनारा, कोषाध्यक्षमा राम बहादुर धामी विजयी भएका छन् । सदस्यहरूमा पनि प्यानलै विजयी भएका छन् ।

    कैलालीको अध्यक्षमा जोशी

    कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। उनी प्रेस युनियनका हुन् । प्रेस युनियनकै कैलाली अध्यक्ष श्रवण देउवा र प्रेस चौतारीका सुशील ढुङ्गानालाई पराजित गर्दै जोशी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उपाध्यक्षमा हरिस विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा, सचिवमा प्रेम चौधरी ,सह सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैसी निर्वाचित भएका छन्।

    कैलाश जोशी, दीपकप्रसाद उपाध्याय, रतनलाल चौधरी, नेत्रप्रसाद जैसी, सुनिल आउजी, नवराज पनेरु, अंकुशबहादुर कुँवर शङ्कर बोहरा र कृष्णप्रसाद ओझा सदस्य पदमा निर्वाचित भएका हुन् ।

    यस अघि नै समावेशी सहसचिवमा दिनेश दहित, महिला सदस्यमा भावना जोशी र अन्य समावेशी सदस्यमा गगन कठायत निर्विरोध भइसकेका थिए ।

  • पत्रकार महासंघको चुनाव- विपुल प्यानलको अग्रता, कसले कति मत पाए ?

    पत्रकार महासंघको चुनाव- विपुल प्यानलको अग्रता, कसले कति मत पाए ?

    काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ ।

    अधिकांश जिल्लाहरुमा मतगणना जारी छ । केही जिल्लाको गणना सकिँदा कांग्रेस-माओवादी-माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता लिएको हो ।

    एमाले निकट प्रेस चौतारीको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अग्रता लिइरहेको छ । अध्यक्षका अर्का प्रत्याशी गजेन्द्र बुढाथोकीले न्यून मत प्राप्त गरेका छन् ।

    दलीय गठबन्धनको प्रभाव हरेक जिल्लामा देखिएको छ । प्यानलभन्दा बाहिर कमैमात्र मत खसेको मतगणनामा सहभागी पत्रकार नेताहरुले बताएका छन् ।

    ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । लुम्विनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ ।

    भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ । गण्डकीका जिल्लाहरुमा प्रतिस्पर्धा छ । विभिन्न जिल्लाहरुमा अलग अलग मतगणना भइरहेकाले एकीकृत मतसंख्या आउन बाँकी रहेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

    प्रदेश १

    धनकुटामा मतगणना सकिदा विपुल पोखरेलले ८३ मत पाएका छन् भने निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत पाएका छन् ।

    बरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत पाएका छन् । महासचिवमा रोशन पुरीले ७६ र बाकलकृष्ण बस्नेतले ३३ मत पाएका छन् भने सुबोध गौतमले ६ मत पाएका छन् । धनकुटाबाट पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि छन् ।

    उदयपुरमा पनि मतगणना सकिएको छ । अध्यषमा विपुल पोखरेलले ४४ मत पाउँदा निर्मला शर्माको ३८ र गजेन्द्र बुढाथोकीको १० मत रहेको छ । बरिष्ठ उपाध्यक्षमा रमेश विष्टको ५६ र माधव नेपालको २२ मत छ भने महासचिवमा रोशन पुरीले ४८ मत पाउँदा बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन् ।

    सोलुखम्बुको मतगणना सकिदा विपुल पोखरेलले ३२ मत पाएका छन् भने निर्मला शर्माको २५ मत छ । ओखलढुंगामा पोखरेलले १८ र शर्माले २५ मत पाएकी छन् । भोजुपुरमा पोखरेलको १९ र शर्माको २० मत छ ।

    लुम्बिनी

    लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्र्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

    गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ ।

    पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ ।

    रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

    सुदूरपश्चिम

    सुदूरपश्चिम प्रदेशमा विपुल पोखरेल प्यानलले अग्रता लिएको छ । ४ जिल्लाको मत गणना सकिएको छ । उक्त जिल्लाहरूमा पोखरेलले अग्रता लिएका हुन् । बझाङ, डोटी र डडेल्धुरा पोख्रेलको बढी मत छ ।

    दार्चुलामा निर्मला शर्माले बढी मत पाएकी छन् । प्रदेशका ४ जिल्लामा पोखरेलले २०६ मत पाएका छन् भने शर्माले ११८ मत पाएकी छन् । बैतडी, बाजुरा, अछामको अन्तिम मत परिणाम आउन बाँकी छ । कैलाली कञ्चनपुर मत गणना सुरु हुँदै छ ।

    यस्तो छ ४ जिल्लाको मत परिणाम

    दार्चुला
    दार्चुलामा पोखरेलले २४ मत पाउँदा शर्माले ६६ मत ल्याएकी छन् । अन्य पदाधिकारीमा पनि शर्मा प्यानल नै अगाडि छ ।

    दार्चुलामा भने अन्य पदाधिकारीमा शर्मा प्यानल अघि छ । दार्चुलामा वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई ६६, महिला उपाध्यक्षमा दाना केसीलाई ६७, महासचिवमा बालकृष्ण बस्नेतलाई ६५ मत छ ।

    महासचिव पोखरेल प्यानलका वरिष्ठ उपाध्यक्षमा रमेश विष्टलाई २४, महिला उपाध्यक्षमा बलाअधिकारीलाई २४ , महासचिवमा रोशन पुरीलाई २५ मत परेको छ ।

    डोटी
    डोटीमा अध्यक्षमा विपुल पोखरेललाई ६७, वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६२ ,महिला उपाध्यक्षमा बलाअधिकारीलाई ४६ , महासचिवमा रोशन पुरीलाई ६४ मत परेको छ ।

    डोटीमा निर्मला शर्माले १६ , वरिष्ठ उपाध्यक्षमा माधव नेपालले १० महिला उपाध्यक्षमा दाना केसीले ६ र महासचिवमा बालकृष्ण बस्नेतले १३ मत पाएका छन् ।

    बझाङ
    अध्यक्षमा विपुल पोखरेललाई ५१, वरिष्ठ उपाध्यक्षमा रमेश विष्टलाई ५४, महिला उपाध्यक्षमा बला अधिकारीलाई ५४ र महासचिवमा रोशन पुरीलाई ५१ मत परेको छ ।

    निर्मला शर्माले १३ , वरिष्ठ उपाध्यक्षमा माधव नेपालले ९ महिला उपाध्यक्षमा दाना केसीले १० महासचिवमा बालकृष्ण बस्नेतले ११ मत पाएका छन् ।

    डडेल्धुरा
    अध्यक्षमा विपुल पोखरेलले ६४ , वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६१ ,महिला उपाध्यक्षमा बला अधिकारीले ६५ र महासचिवमा रोशन पुरीले ५५ मत पाएका छन् ।

    शर्मा प्यानलतर्फ अध्यक्षमा निर्मला शर्मालाई २३ , वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई २२ महिला उपाध्यक्षमा दाना केसीलाई २२ महासचिवमा बालकृष्ण बस्नेतलाई २७ मत परको छ ।

  • लुम्बिनीका अधिकांश जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता

    लुम्बिनीका अधिकांश जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता

    रुपन्देही । नेपाल पत्रकार महासंघको निर्वाचनमा लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ ।

    प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्र्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

    लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ । गुल्मी जिल्लामा माधव नेपाल निकट प्रेस चौतारीका टोललाल अर्याल विजयी भएका छन् ।

    गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

    पाल्पामा भने माओवादी निकट प्रेस सेन्टरका रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् । पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ ।

    अर्घाखाँचीमा पनि प्रेस सेन्टरका अशोक खनाल विजयी भएका छन् ।

    रोल्पामा पनि पे्रेस सेन्टरको अध्यक्षतामा जिल्ला नेतृत्व आएको छ । रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

    प्युठान र कपिलवस्तुमा प्रेस युनियनको नेतृत्वमा जिल्लाको नेतृत्व आएको छ । कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् । कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ ।

  • पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजाः युनियन ३ र चौतारी २ जिल्लामा विजयी

    पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजाः युनियन ३ र चौतारी २ जिल्लामा विजयी

    कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा मत गणना सकिएको छ । गणना सकिएकमध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ३ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित निकालेको छ ।

    कैलाली र कञ्चनपुरको अहिले बिहान ८ बजे देखि मतगणना गर्ने तयारी भइरहेको छ ।

    यस्तो छ सुदूरपश्चिम प्रदेशको ५ जिल्लाको अवस्था

    दार्चुला

    नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ ।

    अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन् ।

    खुला सदस्यहरूमा क्रमशः मान सिंह कुवर ,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन् ।

    अछाम

    पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो । उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

    यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।

    सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

    डँडेल्धुरा

    महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन् । युनियनका बरुण पनेरुलाई हराउँदै सिंह बिजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन् ।

    सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए ।

    डोटी

    डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन् । उनी युनियनका हुन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन् ।

    एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।

    बझाङ

    बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन् । उनी पनि युनियनका हुन् । उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत सह–सचिव जोरेन्द्र खड्का, करुणा जोशी विजयी भएका छन् ।

    सदस्यहरूमा अशोक खड्का, विष्णु खड्का, उत्तम थापा, दीर्घ बोहरा, तीर्थ बोहरा, झलक सिंह बिजयी भए ।

  • एशोसियट केन्द्रीय सदस्यमा विकाश र कृति विजयी, प्रदेश अध्यक्षमा बैकुण्ठ निर्वाचित

    एशोसियट केन्द्रीय सदस्यमा विकाश र कृति विजयी, प्रदेश अध्यक्षमा बैकुण्ठ निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासंघको एशोसियट केन्द्रीय सदस्यमा पीजे क्लबका विकास कार्की र एभरेष्ट प्रेस क्लबकी कृति भट्टराईले जितेका छन् । एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

    त्यसमध्ये कार्कीले सर्बाधिक ३ सय १ मत पाए भने कृतिले २ सय ७४ मत पाइन् । हिजो राती अवेर सम्पन्न मतगणनाअनुसार उनीहरुका प्रतिस्पर्धी नेपाल पत्रकार मञ्चका ओमबन्धु कार्कीले २ सय ५७, चलचित्र पत्रकार संघका विष्णु सुवेदीले १ सय ६१ र समीक्षक समाजकी स्मृति ढुंगानाले १ सय ३३ मत पाइन् ।

    एशोसियटतर्फ ८ सय ८२ मतदाता रहेकोमा बुधबारको निर्वाचनमा ६ सय ९५ मत खसेको थियो । खसेको मतमध्ये ११ मत बदर भयो ।

    यसैबीच एशोसियट प्रदेशको अध्यक्षमा प्रेस युनियनका बैकुण्ठ पराजुली विजयी भएका छन् । उनले डीबी खड्कालाई भारी मतान्तरले पराजित गरे ।

    बैकुण्ठले ३ सय ९९ मत ल्याउँदा डीबीले २ सय ७५ मत पाए । दुवै चलचित्र पत्रकार संघका हुन् । एशोसियट प्रदेशमा अन्य पदमा निर्विरोध चयन भएकोले निर्वाचन भए ।

  • नेपाल पत्रकार महासंघको निर्वाचन आज, दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा

    नेपाल पत्रकार महासंघको निर्वाचन आज, दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा

    काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । महासंघको झण्डै ७ दशकको इतिहासमा पहिलोपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुन लागेको हो ।

    महासंघको केन्द्रीय नेतृत्वमात्र होइन, प्रदेश, प्रतिष्ठान, एसोसियट र जिल्ला शाखाहरुको नेतृत्वका लागि पनि आजै मतदान हुनेछ । महासंघले भ्रममा नपरी आफूले मतदान गर्न पाइनेहरुलाई मात्र मतदान गर्न आग्रह गरेको छ । मतदान आन विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । देशभरबाट १३ हजारभन्दा बढी पत्रकारले मतदान गर्न पाउनेछन् ।

    महासंघका पदाधिकारी र सदस्यलाई देशभरका सदस्यले मतदान गर्न पाउँछन् । त्यसबाहेक प्रदेशका लागि सम्बन्धित प्रदेशमा सदस्यता भएकाले मात्र पाउनेछन् । उपत्यका, एसोसियट र प्रतिष्ठानमा सदस्यता हुनेले केन्द्रका बाहेक आआफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । त्यस्तै उनीहरुले आआफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारलाई पनि मतदान गर्न पाउँछन् ।

    जिल्ला, प्रदेशका विभिन्न स्थानमा मतदान स्थल तोकिएको छ । उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एसोसियटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । महासंघको चुनाव सहज र मर्यादिन रुपमा सम्पन्न गराउन महासंघले केन्द्रीय पदाधिकारीलाई सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

    यसपल्टको निर्वाचनमा मुख्य गरी दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि अध्यक्ष पदमा तीनजना उम्मेदवार छन् ।

    नेकपा एमाले सम्बद्ध प्रेस चौतारीले निर्मला शर्मा अध्यक्ष र बालकृष्ण बस्नेत महासचिवको उम्मेदवारका रुपमा प्यानल बनाएर चुनावी मैदानमा होमिएको छ । यो समूहमा माधव नेपाल वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् ।

    नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रेस युनियन र नेकपा माओबादी केन्द्र सम्बद्ध प्रेस सेन्टरको संयुक्त गठबन्धमा विपुल पोखरेल अध्यक्ष र रोशन पुरी महासचिवको उम्मेदवार छन् । महासंघका वर्तमान महासचिव रमेश विष्ट यो समूहमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार छन् । यो समूहमा एशोसियट सचिवमा पवन आचार्य छन् ।

    अध्यक्षमा गजेन्द्र बुढाथोकी पनि चुनावी मैदानमा छन् । राजनीतिक आस्थाभन्दा बाहिर स्वतन्त्र हैसियदमा उम्मेदवारी दिएका उनीप्रति पनि स्वतन्त्र पत्रकारहरुको साहनुभूति हुन सक्छ ।

  • पत्रकार महासंघको उपत्यका प्रदेशमा ज्ञानप्रसादको उम्मेदवारी, स्वरोजगारमूलक मिडियाको संरक्षण एजेण्डा

    पत्रकार महासंघको उपत्यका प्रदेशमा ज्ञानप्रसादको उम्मेदवारी, स्वरोजगारमूलक मिडियाको संरक्षण एजेण्डा

    काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावमा साना लगानी र पत्रकार आफैंले सञ्चालन गरेका स्वरोजगारमूलक मिडियाको संरक्षणको एजेण्डाले प्रवेश पाएको छ ।

    महासंघका ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वरोजगारमूलक मिडियाको संरक्षण तथा नीतिगत र व्यवस्थापकीय पहल गर्न नेतृत्वमा पुग्नु आवश्यक रहेको भन्दै उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

    महासंघमा श्रमजिवी पत्रकारका हकहित,पारिश्रमिक र सेवा सुविधाका एजेण्डाले प्राथमिकता पाइरहेका बेला पौडेलले भने साना लगानीका मिडियाको संरक्षणलाई प्रमुख मुद्दा बनाएका छन् ।

    श्रमजिवी पत्रकारले चलाएका स्वरोजगारमूलक मिडियाको संरक्षण हुन नसके स्वतन्त्र पत्रकारिता नै संकटमा पर्ने र कर्पोरेट मिडियाले संकटका लोकतन्त्रको पक्ष नलिने भएकाले यो एजेण्डा अघि सारिएको पौडेलले बताए ।

    २० वर्षदेखि पत्रकारितामा रहेका पौडेल हाल आफैंले सन्चालन गरेको नयाँ सडक दैनिक र नयाँ सडक अनलाइनको सम्पादक छन् । जन्मभूमि साप्ताहिक,ताजाखबर दैनिक,चाणक्य मासिक र तराई टेलिभिजनमा काम गरिसकेका पौडेलले उपत्यका प्रदेशका सदस्य रहेका पत्रकारमध्ये श्रमजिवी पत्रकारको बाहुल्य रहेको र उनीहरुका समस्याको नीतिगत समाधान खोज्न महासंघबाटै पहल गर्नुपर्ने भएकाले आफू नेतृत्वमा जान चाहेको बताए ।

    उनी विपुल पोखरेल नेतृत्वको प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल पक्ष)को संयुक्त प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।

    श्रमजिवी पत्रकार ऐन कार्यन्वयन,न्युनतम पारिश्रमिकका साथै लोककल्याणकारी विज्ञापन बृद्धि र समानुपातिक विज्ञापन प्रणालीको कार्यन्वयनमा अब महासंघको जोड रहनुपर्ने उनले बताए ।

    पत्रकार महासंघले साना लगानी र पत्रकार आफैंले चलाएका मिडियाको संरक्षण,विकास र क्षमता अभिबृद्धिमा अहिलेसम्म नीतिगत तहमा सम्बोधन गराउन नसकेकाले अब हस्तक्षेपकारी भूमिका हुनुपर्ने आवाज उठिरहेको छ ।

  • नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

    नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

    काठमाडौं । नेपाल प्रेसका न्यूज डेस्क कोअर्डिनेटर श्यामकृष्ण दाहाल नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।

    दाहालले प्रदेश १ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत छन् ।

    दाहाल प्रेस युनियन-प्रेस संगठन-प्रेस चौतारीलगायतको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

    २०५६ मंसिरबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका दाहालसँग १९ वर्षको मोफसल पत्रकारिताको अनुभव छ । स्पेसटाइम दैनिकबाट पत्रकारिता थालेका उनले नेपाल टेलिभिजन, सप्तकोशी एफएम (इटहरी), उज्यालो नेटवर्क, राजधानी दैनिक, अन्नपूर्ण पोष्टलगायतका छापा तथा विद्युतीय माध्यममा काम गरिसकेका छन् ।

    अनलाइनखबर डटकमको भोजपुर संवाददाताबाट अनलाइन पत्रकारितामा शुरू गरेका दाहाल पछिल्लो समय संघीय राजधानी काठमाडौं छिरेर देखापढी हुँदै हाल नेपाल प्रेसमा न्यूज डेस्कको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

  • पत्रकारको चुनावमा माधव पक्ष कांग्रेस-माओवादी गठबन्धनमा गएपछि गोकुलले सोधे योगेशलाई यस्तो प्रश्न

    पत्रकारको चुनावमा माधव पक्ष कांग्रेस-माओवादी गठबन्धनमा गएपछि गोकुलले सोधे योगेशलाई यस्तो प्रश्न

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टीमा एकताको माग गर्ने माधव नेपाल पक्षले पत्रकार महासंघको चुनावमा विपक्षी गठबन्धनसँग सहकार्य गरेकोमा प्रश्न उठाएका छन् ।

    बास्कोटाले एमालेको तत्कालीन प्रचार विभाग प्रमुख योगेश भट्टराई र सचिव बिष्णु रिजालको नामै लिएर प्रश्न उठाएका हुन् । पत्रकार महासंघको चुनावमा माधव नेपाल पक्षका प्रेस चौतारीका नेताहरुले कांग्रेस-माओवादी गठबन्धनलाई साथ दिएका छन् ।

    बास्कोटाले भनेका छन्, ‘पार्टीमा एकताको माग गर्न साथीहरुले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसँग गरेको सहकार्य कसरी मिलाउनु हुने हो ? सोध्न र व्यवहार हेर्न मन लाग्या छ । योगेश भट्टराई र बिष्णु रिजाल के सोच्दै छन् होला ?’

    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बास्कोटा काठमाडौं जिल्ला शाखाका मतदाता समेत हुन् ।

    चैत २५ हुने पत्रकार महासंघको निर्वाचनमा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी विभाजित भएको छ । चौतारीले अध्यक्षमा निर्मला शर्मा र बरिष्ठ उपाध्यक्ष माधव नेपालसहितको प्यानल चुनावी मैदानमा पठाएको छ ।

    तर माधवकुमार नेपाल पक्षधर चौतारीले भने कांग्रेस माओवादी गठबन्धनबाट सचिव सहित केही सदस्य लिएर चुनावमा भाग लिँदैछ । एमालेमै बसेर माधव नेपाल पक्षले संघर्ष गर्ने भनिरहेका बेला देशभरका १४ हजारभन्दा बढी पत्रकारले मतदान गर्ने चुनावमा त्यस पार्टी निकट पत्रकार विभाजित भएरै चुनावमा गएका छन् ।

    कांग्रेस माओवादी गठबन्धनमा माओवादी निकट प्रेस सेन्टरले पाएको कोटाबाट माधव नेपाल पक्षलाई भागबण्डा मिलाइएको छ । यद्यपी माओवादी पक्षले आफूहरुलाई हेपेको भन्दै माधव नेपाल पक्षधर चौतारीका नेताहरुले सामाजिक सन्जालबाट सार्वजनिक रुपमै अशन्तुष्टि जनाइरहेका छन् ।

  • सदस्यता विवाद टुंग्याउन माग गर्दै पत्रकार महासंघ बाँकेमा ताला

    सदस्यता विवाद टुंग्याउन माग गर्दै पत्रकार महासंघ बाँकेमा ताला

    रुपन्देही । शाखाले सिफारिस गरेर पठाएका नयाँ सदस्यको नामावली केन्द्रीय समितिले हटाएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी गरिएको छ ।

    जिल्ला कार्यसमितिले ६३ जना नयाँ सदस्य सर्वसम्मत सिफारिस गरी प्रदेशमा पठाएको र प्रदेश सोही सिफारिस अनुसारका सदस्यहरूलाई नयाँ सदस्यका लागि अनुमोदन गर्दै केन्द्रमा पठाएपनि केन्द्रीय समितिले राजनीतिक आस्थाका आधारमा आफूखुशी हटाएर पठाएको भन्दै प्रेस चौतारीसम्वद्ध पत्रकारहरूले तालाबन्दी गरेका हुन् ।

    तालाबन्दीमा माधव नेपाल पक्षधर चौतारीका पत्रकार भने सहभागी छैनन् ।

    ‘जिल्ला समितिले सिफारिस गरेअनुसारका नामावली परिवर्तन भएर आएकाले साथीहरूले विरोधरुवरुप तालाबन्दी गर्नुभएको छ, केन्द्रीय समितिलाई जानकारी गराइसकिएको छ’, अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

    निर्णय गरी पठाइएका नामावली हटाएर कांग्रेससम्वछ प्रेस युनियनको अगुवाइमा कार्यदल बनाइ आफ्ना पक्षका सदस्य थपेर आएपछि त्यसको विरोध भएको महासंघ लुमिबनी प्रदेशका महासचिव भेषराज बस्नेतले नेपाल प्रेसलाई बताए ।

    ‘जिल्ला समितिको सिफारिस गर्ने निर्णय तथा प्रदेश समितिको अनुमोदन गर्ने निर्णयलाई केन्द्रीय समितिले आस्थाका आधारमा कानून मिचेर आफू अनुकलका सदस्य थपेको छ । यसले सहज रुपमा निर्वाचन गराउन सम्भव छैन’, बस्नेतले भने ।

    प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका संयोजक शोभाखर पन्थीले महासंघ केन्द्रीय समितिले आस्थाका आधारमा पत्रकारमाथि गरिएको अन्यायपूर्ण विभेदलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए ।

    उनले केन्द्रीय समितिको यो कदमविरुद्ध कठोर कदम चाल्न बाध्य बनाएको बताउँदै बहुमतको दम्भका आधारमा निर्वाचन हुन नसक्ने बताए ।

  • पत्रकार महासंघमा दलीय गठबन्धन, को-को बने उम्मेद‍्वार ? (सूचीसहित)

    पत्रकार महासंघमा दलीय गठबन्धन, को-को बने उम्मेद‍्वार ? (सूचीसहित)

    काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस-माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ ।

    युनियनकै रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उम्मेदवारी दिएको बताएका छन् । गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । बुढाथोकीले दलीय सिण्डिकेटविरुद्ध एकल उम्मेदवारी दिएका हुन् ।

    कांग्रेस-माओवादी र माधव नेपाल पक्ष गठबन्धन

    कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बने पनि अधिकांश पदमा युनियनका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् ।

    वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई आधिकारिक भनेको छ भने रामजी दाहालले पनि सोही पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै माधव नेपाल पक्षधर प्रेस चौतारीका धु्रव लम्सालले पनि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा बाला अधिकारीको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उदय जीएमको उम्मेदवारी छ । तर सोही गठबन्धनबाट रेमवहादुर विश्वकर्मा र शीतल महतोले पनि समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    त्यस्तै महासचिवमा गठबन्धनबाट प्रेस सेन्टरका रोशन पुरी उम्मेदवार भएका छन् भने युनियनका राजेश मिश्रले पनि सोही पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै सुवोध गौतमको पनि उम्मेदवारी महासचिवमा परेको छ ।

    खुल्ला सचिवमा प्रेस युनियनको तर्फबाट नकुल अर्यालले सचिवमा उम्मेदवारी दिएका छन् ।

    गठबन्धनबाट भन्दै माधव नेपाल पक्षीय चौतारीका गोविन्द चौलागाईं ले उम्मेदवारी दिएका छन् । खुल्ला सचिवमा जन्मदेव जैसी, यम विरहीको पनि उम्मेद्वारी परेको छ ।

    महिला सचिवमा पोखरेल प्यानलबाट सृजना अर्यालको उम्मेदवारी वागी परेको छ भने आदिवासी जनजाति सचिवमा नारायण किलम्बुले साेही प्यानलबाट उम्मेदवारी दिएका छन् ।

    त्यस्ते मधेशी सचिवमा सो प्यानलभित्रबाट दिपेन्द्र चौहान, देवकुमार यादव र प्रविण चौधरीले उम्मेदवारी दिएका छन् ।

    दलित सचिवमा गठबन्धनले हेमकर्ण विकलाई उम्मेदवार बनाए पनि गणेश विक, गोपाल बराईली, मानसिंह विकले पनि उम्मेदवारी दिएका छन् ।

    एसोसियट सचिवबाट प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल उम्मेदवार बनेका छन् ।

    कोषाध्यक्षमा गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालले उम्मेदवारी दिएका छन् भने युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेलको पनि सोही पदमा उम्मेदवारी परेको छ ।

    निर्मलाको प्यानलका को को ?

    सञ्चारिका समूहकी अध्यक्ष्य निर्मला शर्मा नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षको इतिहास रच्ने घोषणा गर्दै प्रेस चौतारीको तर्फबाट उम्मेदवार बनेकी छन् ।

    प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील-व्यावसायिक-समावेशी-राष्ट्रवादी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल उम्मेदवार बनेका छन् । उनी प्रेस चौतारीको पनि वरिष्ठ उपाध्यक्ष हुन् ।

    त्यस्तै महिला उपाध्यक्षमा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

    हेर्नुस् सूची

  • पत्रकार महासंघको चुनावमा १० पार्टीको गठबन्धन, एमालेको माधव नेपाल समूह पनि सामेल

    पत्रकार महासंघको चुनावमा १० पार्टीको गठबन्धन, एमालेको माधव नेपाल समूह पनि सामेल

    काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसदेखि गोपाल किरातीको पार्टीसहित गरी १० वटा राजनीतिक दल आवद्ध पत्रकार संगठनहरूबीच गठबन्धन बनेको छ । १० पार्टीको गठबन्धनमा नेकपा एमालेको माधव नेपाल पक्षधर समूह समेत सहभागी भएको छ ।

    शुक्रबार भएको सहमति अनुसार आसन्न निर्वाचनमा ‘प्रतिगामी कदमविरुद्ध’ रहेका पत्रकारहरूका संगठनबीच सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्ने भनिएको छ । एमालेआवद्ध प्रेस चौतारी नेपाल भने गठबन्धनमा छैन ।

    तर चौतारीको उपाध्यक्ष विश्वमणी सुवेदीले सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा विभाजनपछि प्रचण्ड-माधव पक्षमा लागेका पत्रकारहरूको तर्फबाट उनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । चौतारीका अध्यक्ष गणेश बस्नेतले भने मतदाता नामावली नै फर्जी भएको भन्दै निर्वाचन समितिमा उजुरी दिइसकेका छन् ।

    गठबन्धनको सम्झौतामा कांग्रेसनिकट प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, मोहन वैद्यनिकट क्रान्तिकारी पत्रकार महासंघका कावा अध्यक्ष नारायण पंगेनीले हस्ताक्षर गरेका छन् ।

    त्यस्तै विप्लवनिकट जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विक, विप्लवनिकटकै विद्रोही समूह क्रान्तिकारी पत्रकार संठनका महासचिव बाबुराम भुसाल, राप्रपाको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, गोपाल किरातीको प्रेस सेन्टर नेपालका लोकराज जैशी र नेकपा मालेनिकट देशभक्त पत्रकार संघका अध्यक्ष तेजेन्द्र प्रसाईले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

  • पत्रकार महासंघको निर्वाचन चैत २५ मा

    पत्रकार महासंघको निर्वाचन चैत २५ मा

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ ।

    महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो । महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । यसपटकदेखि देशभरका साधारण सदस्यहरूले मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।

  • पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित

    पत्रकार महासंघका १२ एसोसिएट संस्थाका संस्थापक सम्मानित

    काठमाडौं- नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासँघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको छ।

    विधागत संस्था स्थापनागरि नेपाली पत्रकारीता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पु¥याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षलाई सम्मान गरेको हो।

    संस्थापक अध्यक्षहरु चलचित्र समीक्षक समाज नेपालका रमण घिमिरे, दक्षिण एसियाली खेलकुद पत्रकार संघका स्वर्गिय ईश्वरमान सिंह, पत्रकारिता अनुसन्धान तथा तालिम समाज – श्री आचार्य, एभरेष्ट प्रेस क्लबका शिवप्रसाद खड्का, नेपाल पत्रकार मञ्चका वैकुण्ठप्रसाद भण्डारी, कार्टुनिष्ट क्लब नेपालका अशोकमान सिंह, नेपाल चलचित्र पत्रकार संघका भरत शाक्य, पर्यटन पत्रकार मञ्चका विद्रोही गिरीलाई सम्मान गरिएको थियो।

    यसैगरी अनलाइन पत्रकार संघ नेपालका केपी ढुंगाना, नेपाल खेलकुद पत्रकार मञ्चका सीताराम अग्रहरी, फोटो जर्नालिष्ट क्लबका चन्द्रशेखर कार्की र पत्रकारिता विकास समाजका केदार खड्कालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका गोविन्द आचार्यले अग्रजहरुको सम्मान गर्ने परम्पराको प्रारम्भ गरेकोमा आयोजकलाई धन्यवाद दिए।

    उनले महासँघ निर्वाचन मार्फत नयाँ नेतृत्वको चयनको चरणमा प्रवेश गरिसकेको भन्दै निर्वाचनको समयमा जुन विचार समूहबाट उम्मेद्वार बने पनि नेतृत्वमा पुगेपछि उनीहरूसँगै लड्ने साहस बोक्नुपर्ने बताए।

    निर्वाचनको बेलामा वैचारिक आधारमा प्रतिष्पर्धा गरिएपनि निर्वाचित भएपछि महासंघको उदेश्यमा क्रियशिल हुनुको अर्को विकल्प नहुने भन्दै उनले भने –निर्वाचनको बेला जसको टिकट लिएर निर्वाचित भए पनि त्यसपछि प्रेस स्वतन्त्रता र श्रमजीवीको हक रक्षाका लागि तीनै टिकट दिने विरुद्ध उभिन सक्नेले मात्र महासँघको नेतृत्वमा जाने अभ्यास गर्नुहोला ।’

    महासंघका उपाध्यक्ष विपुल पोखरेलले पहिलो पटक महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको र अबको निर्वाचन हिजोको जस्तो कुनै समूह विशेषको मात्र दवदवा हुन नसक्ने बताए।

    नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघको निर्वाचनै हुन नदिने खेल भइरहेकाले सबै पत्रकार एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।

    एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानाले महासंघको निर्वाचनमा दलगत निकटताभन्दा सञ्चारकर्मीले विवेक प्रयोग गरे नेतृत्वमा आउन बालुवाटार, पेरिसडाँडा र बुढानिलकण्ठ धाउने काम भोलीका दिनमा बन्द हुने बताए।

    एसोसिएट संस्थाहरुको तर्फबाट बोल्दै समिक्षक समाजका अध्यक्ष यज्ञशले महासंघमा विधागत प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएका थिए। केवल निर्वाचनको बेलामा मात्र भेला गर्नेक्रम हटाउनुपर्नेमा उनको जोड थियो।

    सम्मानित संस्थापक अध्यक्षहरुको तर्फबाट बोल्दै रमण घिमिरेले महासंघलाई सञ्चारकर्मीहरुको साझा थलो बनाउन जोड दिएका थिए।

  • पत्रकारलाई चुनाव लाग्यो, नेकपा विभाजनको असर पत्रकार महासंघमा यसरी देखिंदैछ

    पत्रकारलाई चुनाव लाग्यो, नेकपा विभाजनको असर पत्रकार महासंघमा यसरी देखिंदैछ

    काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव नजिकिएको छ । चुनावको मिति नतोकिए पनि अबको एक महिनामा चुनाव हुने निश्चितप्रायः छ ।

    विधानतः केन्द्रीय साधारणसभा भएको एक महिनाभित्र चुनाव हुनुपर्ने भए पनि आन्तरिक किचलोका कारण निर्वाचन तालिका सार्वजनिक भएको छैन ।

    फागुन ५ गते साधारणसभा सकिएपछि चैत ५ भित्रमा चुनाव हुनुपर्ने हो । निर्वाचन गराउन पत्रकार कपिल काफ्लेको संयोजकत्वमा निर्वाचन समिति पनि बनेको छ । तर, पछिल्लो समय मनलाग्दी सदस्यता वितरण गरेको उजुरी परेपछि समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सकेको छैन ।

    यद्यपि, विवाद समाधान भएर चैतको आधाआधीतिर निर्वाचन हुने पत्रकार महासंघका नेताहरू बताउँछन् । पत्रकार महासंघको चुनावको मुखैमा वामपन्थी पत्रकारहरूको संगठन फुटेकाले त्यस खेमाका उम्मेदवारका आकांक्षीहरू खुलेर आउन सकेका छैनन् ।

    निर्वाचन नजिकिएसँगै पत्रकारहरूले पदाधिकारी र सदस्यमा उम्मेदवारी घोषणा गर्ने होड भने चलेको छ । पत्रकार महासंघमा राजनीतिक पार्टीले टिकट दिएका व्यक्तिले मात्र जित्ने परम्परा बसिसकेको छ ।

    यसपटक पनि टिकटको खटनपटन कांग्रेस र विभाजित नेकपाका दुई समूहका प्रचार विभागबाटै हुने निश्चित छ ।

    जसरी प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ सरकार गठन गर्ने सन्दर्भमा नेकपाका दुवै पक्ष विभाजित भएको बेला कांग्रेस दुवैको तानातानमा परेको छ, त्यसैगरी पत्रकार महासंघको चुनावमा पनि कांग्रेस सम्बद्ध प्रेस युनियनसँग दुवै पक्षले तालमेलको प्रयास गरिरहेका छन् ।

    पार्टीनिकट पत्रकार संगठनहरूलाई आकांक्षी धेरै भएकाले आधिकारिक उम्मेदवार घोषणा गर्न कठिन भइरहेको छ । वामपन्थी पत्रकारहरू मिलेर लड्नुपर्ने आवाज उठे पनि नेकपाका दुई गुटको नेता जस्तै प्रेस संगठनका नेताहरूबीच पनि तिक्तता बढेकाले चुनावमा मिलेर जाने सम्भावना देखिएको छैन ।

    आकांक्षीहरूले टिकटका लागि आफूनिकट नेता र संगठनमा लबिङ गरिरहेका छन् । यससँगै पत्रकार महासंघमा अध्यक्षलगायत पदाधिकारीमा को–को चुनाव लड्छन् भन्ने चासो बढ्दो छ ।

    चुनावमा कस्तो समीकरण बन्छ ? र, को शक्तिशाली दाबेदार हो ? भन्न अहिले कठिन छ । नेकपाभित्रको विवादले पत्रकारको संगठनमा पनि असर गरेको छ । नेकपा विवाद किनारा नलाग्दासम्म पत्रकार महासंघभित्रको गठबन्धन पनि यताउता हुनसक्नेछ ।

    नेपाली कांग्रेसनिकट प्रेस युनियन, केपी ओली पक्षीय प्रेस संगठन र प्रचण्ड–माधव पक्षीय प्रेस संगठनको बेग्लाबेग्लै रणनीति छन् । तर, उनीहरू एक्लाएक्लै चुनाव लड्ने वा कुन समूहसित मिलेर जाने भन्नेमा टुंगोमा पुगेका छैनन् ।

    प्रेस युनियनका आकांक्षी र रणनीति

    अघिल्लो महाधिवेशनमा प्रेस युनियन र तत्कालीन माओवादी निकट प्रेस सेन्टरको गठबन्धन भएको थियो । र, त्यही गठबन्धनले अध्यक्षसहित अधिकांश पदाधिकारी एवम् सदस्य जितेको थियो ।

    माओवादी सम्बद्ध प्रेस सेन्टरसँग मिलेर युनियनले कार्यसमितिमा ७ पदाधिकारी र बहुमत सदस्य हात पारेको थियो । त्यतिबेला उपाध्यक्ष जितेका विपुल पोखरेल र समावेशी उपाध्यक्ष दिलीप थापामगर अब अध्यक्ष हुन चाहिरहेका छन् ।

    त्यस्तै युनियनबाट अहिलेका महासचिव रमेश विष्टको पनि अध्यक्षमा दाबी छ ।

    अघिल्लो महाधिवेशनमै अध्यक्षको दाबेदार पूर्वसचिव रामजी दाहाल पनि अध्यक्षकै रेसमा छन् ।

    पोखरेललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको साथ छ भने विष्टलाई सभापति शेरबहादुर देउवा र प्रकाशशरण महतको समर्थन छ । दाहाल कांग्रेस उपसभापति विमलेन्द्र निधिनिकट हुन् । त्यस्तै हालका समावेशी उपाध्यक्ष दिलीप थापा मगरलाई आदिवासी जनजाति पत्रकारले अध्यक्ष बनाउन चाहिरहेका छन् ।

    प्रेस युनियनबाट उपाध्यक्षमा सोझो दावेदार देखिएका छैनन् । चुनावी समीकरण हुँदा अर्को संगठनलाई दिनुपर्ने सम्भावना भएका कारण उपाध्यक्षमा दाबी नदेखिएको हो ।

    त्यस्तै, महासचिवमा अहिलेका सचिव रामप्रसाद दाहाल, सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्रले आकांक्षा व्यक्त गरेका छन् । चुनावी समीकरणले प्रभावित पार्न सक्ने भएकाले उनीहरूले खुलेर दाबी व्यक्त गरिरहेका छैनन् ।

    सचिवका लागि धेरैको आकांक्षा भएको बुझिएको छ । तर ६ मध्ये खुला सचिवमा हालका केन्द्रीय सदस्य नकुल अर्याल, यम विरही, लक्ष्मण कार्की, पूर्व केन्द्रीय सदस्य माधव दुलाल लगायत दावेदार छन् ।

    एशोसिएट सचिवका लागि पवन आचार्य, राधेश्याम दाहाल र विनय देवकोटाको दाबी छ । कोषाध्यक्षमा अहिलेका लेखा समिति सदस्य भुपेन्द्र आचार्यको नाम चर्चामा छ । अहिलेका सदस्यमध्येबाटै कोषाध्यक्षको उम्मेदवार बनाइने हुनसक्ने प्रेस युनियनका नेताहरू बताउँछन् ।

    कांग्रेस प्रचार विभागले पनि पत्रकार महासंघको चुनावमा चासो देखाएको छ । कांग्रेसले महासंघ चुनावलाई सहजीकरण गर्न कार्यदल नै बनाएको छ ।

    प्रेस युनियनले अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी सम्मिलित वार्ता समिति बनाएको छ । सो समितिले अरू पत्रकार संगठनसँग वार्ता गरी गठबन्धनबारे टुंगो लगाउनेछ ।
    अहिले विभिन्न पदमा आकांक्षा गरे पनि चुनावी समीकरणले नै कसको भागमा कुन पर्छ भन्ने निर्धारण गर्नेछ ।

    प्रेस संगठनभित्र बेग्लै लफडा

    पार्टीभित्रको विभाजनको असर नेकपानिकट प्रेस संगठनमा पनि परेको छ । अहिले ओली पक्ष र प्रचण्ड–माधव पक्षका दुवै संगठन आफूतिर सदस्य तान्न व्यस्त छन् ।

    तत्कालीन एमालेको प्रेस चौतारीको बहुमत हिस्सा ओलीतिर छ । तत्कालीन प्रेस सेन्टरको अधिकांश हिस्सा प्रचण्ड–माधव पक्षमा छ । दुवै पक्षले यसबीचमा प्रादेशिक भेलाहरू गरिरहेका छन् ।

    ओली पक्षको प्रेस संगठनबाट अध्यक्षका लागि निर्मला शर्मा, उजिर मगर, सूर्यमणि गौतम र बालकृष्ण बस्नेतले दाबी गरेका छन् । मगर महासंघका पूर्व महासचिव हुन् । त्यस्तै शर्मा सञ्चारिका समूहकी पूर्वअध्यक्ष हुन् भने गौतम महासंघका पूर्वकोषाध्यक्ष हुन् । बस्नेत पूर्वकेन्द्रीय सदस्य हुन् ।

    प्रचण्ड–माधव पक्षबाट यसपटक अध्यक्षमा कसैको दाबेदारी देखिएको छैन । यद्यपि पूर्व महासचिव ओम शर्मा, प्रेस चौतारीका पूर्व अध्यक्ष गगन विष्टलगायतको नाम चर्चामा भने छ ।

    अघिल्लो महाधिवेशनमा प्रेस युनियनले गोविन्द आचार्यलाई अध्यक्षमा सहयोग गर्ने बेलामै यसपटक प्रेस संगठनले प्रेस युनियनलाई समर्थन गर्ने सहमति भएकाले गठबन्धन भएको अवस्थामा अध्यक्षमा दाबी नरहने प्रेस संगठनका नेताहरू बताउँछन् ।

    अघिल्लो समझदारी अनुसार नै प्रचण्ड–माधव पक्षले प्रेस युनियनसँग मिलेर चुनाव लड्ने र ओली पक्षलाई ‘पत्तासाफ’ गर्ने रणनीति बनाएको छ । सो समूहबाट उपाध्यक्ष वा महासचिवका लागि रोशन पुरी, गोविन्द चौलागाईं, ध्रुव लम्साल लगायतले दाबी गरेका छन् ।

    पुरी लेखा समितिका संयोजक हुन् भने चौलागाईं केन्द्रीय सदस्य । महासंघका पूर्वसचिव हुन् । साबिक प्रेस चौतारीबाट चुनाव जितेकामध्ये चौलागाईं र उत्तर विष्ट प्रचण्ड–माधव पक्षमा खुलेका छन् । त्यस्तै केन्द्रीय सदस्य लेखनाथ न्यौपाने खुला सचिवका दावेदार हुन् ।

    सटेन्द्र जगेबु, द्वारिका काफ्ले, स्वेता सिन्हा, मधु शाही, रामकृष्ण ज्ञवाली, टेकराज थामी ओली पक्षमा खुलेका छन् भने छेटु शेर्पा दुवै पक्षमा खुलेका छैनन् । त्यस्तै साविक प्रेस सेन्टरबाट जितेका केन्द्रीय सदस्य श्याम भट्ट भने ओली पक्षमा खुलेका छन् ।

    उनीहरूमध्येबाट नै खुला तथा समावेशी सचिव र कोषाध्यक्षमा उम्मेदवार बनाइनेछ । ओली पक्षबाट उपाध्यक्षमा दीपक पाण्डेले रहर गरेका छन् । पाण्डे प्रेस काउन्सिलका सदस्य समेत हुन् ।

    प्रचण्ड–माधव पक्षको प्रेस संगठनबाट कोषाध्यक्ष हुन पूर्वसेन्टरका एनके दाहालले चाहना व्यक्त गरेका छन् । पदाधिकारी बाँडफाँडमा समीकरणले प्रभाव पार्ने भएकाले दाबी गर्नेहरू कम देखिएका हुन् ।

    समीकरणको सम्भावना

    अहिले नै कस्तो चुनावी समीकरण बन्छ भनेर आकलन गर्न कठिन छ । सबैले सकेसम्म सहमतिमै अघि बढ्ने बताइरहेका छन् । तर सहमतिको सम्भावना भने न्यून छ ।

    युनियन र प्रेस संगठनका दुवै पक्ष एक्लाएक्लै चुनाव लड्ने हो भने युनियनले जित्न सक्छ । तर, त्यो बेला आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, राप्रपा, मधेशवादी दल, जसपा, जनमोर्चालगायत साना दलका पत्रकार संगठन निर्णायक हुने देखिन्छन् ।

    अहिलेसम्म तीन संगठन बेग्लाबेग्लै चुनाव लड्ने मूडमा छैनन् । प्रेस संगठनका दुवै पक्षले युनियनसित छलफल गरिरहेका छन् ।

    प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सकेसम्म सबैलाई मिलाएर अघि बढ्ने प्रयास भइरहेको बताए । वार्ता समितिका संयोजक समेत रहेका सिग्देलले भने– छलफल सबैसित भइरहेको छ । कोसँग मिल्ने भन्नेमा पुगेका छैनौं । सबैलाई सहमतिमा अघि बढ्न आह्वान गरेका छौं ।

    त्यस्तै, ओली पक्षीय प्रेस संगठनका संयोजक अध्यक्ष गणेश बस्नेतले पनि कुन संगठनसँग गठबन्धन हुन्छ भन्ने अहिले नै प्रष्ट भइनसकेको बताए ।

    प्रचण्ड–माधव पक्षीय संगठनका अध्यक्ष महेश्वर दाहालले पनि अहिले संगठन पुनर्गठनको काम भइरहेकाले महासंघको चुनावका विषयमा खासै छलफल नभएको बताए ।

    एक्लै चुनाव लड्ने वा अरुलाई मिलाएर लड्ने अवस्थामा अध्यक्ष पाए वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, पूर्वमहासचिव ओम शर्मा, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्टलगायतका नेता आफूहरुसँँग उम्मेदवार रहेको प्रचण्ड माधव पक्षीय प्रेस संगठनका सहसंयोजक विश्वमणी सुवेदीले बताए ।