Tag: नेपाल-चीन सम्वन्ध

  • वीपी-चीन आत्मीयताका चार किस्सा

    वीपी-चीन आत्मीयताका चार किस्सा

    आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली महान साहित्यकार वीपी कोइरालाको ३९ औं स्मृति दिवश । २०३९ सावन ६ गते ६७ बर्षको उमेरमा क्यान्सरले वीपी कोइरालाको ज्यान गएको थियो ।

    वीपी कोइराला र उनको पार्टी नेपाली कांग्रेसलाइ मुलतः ‘प्रो–इन्डिया’ अर्थात भारतपरस्त र चीन विरोधीको आरोप लाग्छ । वीपीको भारत बास, भारतमै जन्मिएको नेपाली कांग्रेस, भारतको निकटता र भारतका विभिन्न समन्वयलाइ देखाएर यस्ता आरोप आउने गर्छन् । नेपालमा कम्युनिस्टले मात्रै हैन विभिन्न स्थापित विदेशी मिडियाहरुका सोलोडोलो धारणा पनि यहि छ । चिनियाँदेखि अमेरिकी मिडियासम्म यही धारणामा छन् ।

    सोमबार (साउन ४ गते) चिनियाँ अखबार ग्लोबल टाइम्सले समेत देउवालाइ ‘भारतपरस्त’ भनेको छ । फुदान विश्वविद्यालयको अमेरिकी अध्ययन केन्द्रका प्राध्यापक झाङ दियाजोङले एक लेख लेख्दै यस्तो आरोप लगाएका हुन् । भारतको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाले सहभागिता जनाएको र कांग्रेसको स्थापना भारतमै भएको भन्दै उनले यस्तो कुतर्क गरेका छनन् ।

    आजभन्दा ६२ वर्ष अगाडि अमेरिकी परराष्ट्र मामिलाको म्यागाजिन फरेन अफेयर्सले त नेपाली कांग्रेसलाइ ‘भारतीय कांग्रेसको सन्तान’सम्म भनेको छ । तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रङले ‘ह्वेर इन्डिया फेसेस चाइना’ अर्थात जहाँ भारतले चीनको सामना गर्छ शीर्षकको आलेख सन् १९५९ को जुलाई महिनामा प्रकाशित भएको थियो । त्यसमै यसबारे चर्चा छ ।

    फरेन अफेसर्यले ६२ बर्ष अगाडि लेखेकोदेखि ग्लोबल टाइम्सले ६२ घण्टा अगाडि भनेकै कुरा अहिलेसम्म थुप्रैले मान्दै आएका छन् । यही आरोपमा वीपीसमेत जोडिन्छन् । चीन र वीपीको सम्बन्ध भारत फ्याक्टरले गर्दा राम्रो नभएको धेरैको तर्क सुनिन्छ । जुन सर्वथा गलत हो । वीपी र चीनको सम्बन्ध राम्रो थियो । जसमध्येका चार किस्साको चर्चा गरिन्छः

    १. भारतले बिरोध गरेको नेपाल–चीन कूटनीतिक सम्बन्धको समर्थन

    सुन्दा अचम्म लाग्छ तर नेपालमा प्रजातन्त्र स्थापना भएको आधा दशकपछि मात्रै सन् १९५५ को अगस्ट १ (विसं २०१२ साउन १७)मा नेपाल–चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

    यसलाई वीपीले स्वागत गरेका थिए । उक्त दिनको डायरीमा वीपीले लेखेका छन, ‘आज चीनसँग नेपालले सम्झौतामा हस्ताक्षर ग¥यो । यो चीनसँग दौत्य सम्बन्धको सुरुवात र नेपाली राजनीतिमा नयाँ पक्षको प्रवेश हो ।’

    राजा महेन्द्रले मात्रिका प्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै कमान्डमा सत्ता लिएको समयमा वीपीको यो धारणा आएको हो ।

    सम्झौताको तयारीका लागि चिनियाँ प्रतिनिधिमन्डल नेपाल आउने क्रममै भारत रुष्ट थियो । वीपी भने खुशी थिए । उनले २०१२ साउन १२ को डायरीमा लेखेका छन, ‘कूटनैनीतिक सम्बन्धको सुरुवातका लागि एउटा चिनियाँ प्रतिनिधिमन्डल राजधानी आइपुगेको थियो । वार्ताहरु अत्यन्तै गोप्य रुपमा सम्पन्न भए । यसबारे सल्लाह नगरेको भन्दै भारतिय पक्ष रुष्ट थियो । तर, मैले यी वार्ताहरुको स्वागत गरेको थिएँ ।’

    विसं २००८ वैशाख २५ देखि २०१३ कात्र्तिक २७ सम्मका वीपीको डायरी काठमाडौंको शिखा बुक्सले गत बर्ष अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर प्रकाशनमा ल्याएको हो ।

    २. उत्तरी सीमानाबाट भारतीय चेकपोस्ट हटाउन माग, भारतीय पत्रकारको केरकार

    कुनै समयमा नेपालको चीनसँगको उत्तरी सीमानामा भारतीय सैन्य चोकपोस्ट थिए । भारतसँग धेरै झुक्ने राजा त्रिभुवनको ‘ग्रिन सिग्नल’ पाएर भारतीय सैन्य पोस्टहरु नेपालको उत्तरी सीमा नाकामा स्थापना भएका थिए ।

    ‘फरेन पोलिसी अफ नेपाल’ पुस्तकका लेखक एसडी मुनिका अनुसार सन १९५२ को फेबु्रअरी (विसं २०१२ को फागुन)ताका भारतीय सैनिकको टिम २० अफिसरसहित नेपाल आयो । मुनिले पछि त्यो बढेर १ सय ९७ अधिकारीसम्म पुगेको उल्लेख गरेका छन् ।

    १९५२ फेब्रअरीमा आएको भारतीय चेकपोस्ट १८ बर्ष नेपालमा रहेर सन १९७० को अगस्टमा फिर्ता भएको थियो । ल्याउन त्रिभुवनले सत्तामा हुँदा सहयोग गरे । फिर्ता गर्न महेन्द्र कालमा प्रधानमन्त्री किर्तिनिधि बिस्टले नेतृत्व गरेका थिए । भारतीय पोस्ट नेपालमा ल्याउन दिइएको विषयमा वीपी बिरोधी थिए । उनले भारतीय चेकपोस्टको बिरोध गरेकैले उनी भारतका पत्रकार र अवबारको निशानामा परेका थिए । जसको बारेमा वीपीले आफ्नो डायरीले लेखेका छन ।

    विसं २००८ चैत ५ गतेको डायरीमा वीपी लेख्छन, ‘भारतबाट सैन्य मिसन नेपाल आएको विषयलाई लिएर नेपाली सेनाभित्र ठूलो रुष्टता थियो । नेपाली सेना निकै संवेदनशील बनेको थियो,’ विसं २००९ चैत्र १७ को डायरीमा वीरगञ्जबाट वीपी लेख्छन, ‘गेराशल जाँदा र फर्कदा ठाँउठाँउमा मैले कांग्रेस कार्यकर्ता भेटेँ र उनीहरुलाई भारतीय जनसेवा अधिकारी तथा भारतीय सैन्य मिसन फिर्ता पठाउनुपर्नेबारे कार्यसमितिको निर्णय सुनाए ।’

    विसं २०१० साउन २६ मा बिहारको राजधानी पटना पुगेका बेला भारतीय सैन्य पोस्टहरु हटाउने पक्षमा बोल्दा भारतीय पत्रकारहरुले वीपीलाई केरकार गरे । त्यहि दिनको डायरीमा वीपी लेख्छन, ‘पटनामा मैले केहि आक्रोशित पत्रकारहरुको पनि सामाना गर्नुपर्‍यो ।’

    ३. माओसँग हाकाहाकी सगरमाथा संवाद

    सगरमाथा बारेमा रोचक कुरा के छ भने सन् १९५३ को मे २९ तारिकमा सगरमाथाको सफल आरोहण भएको थियो । नेपाल तर्फबाट गएको बेलायती आरोहण दलले सफलता पाएको दुई वर्षपछि मात्रै नेपाल र चीनको दौत्य सम्बन्ध स्थापना भएको हो ।

    दौत्य सम्बन्ध स्थापनाको आधा दशकपछि मात्रै सन् १९६० को मार्च २१ मा सीमा समझदारी भयो । समझदारी गर्ने नेतृत्व लिएका थिए नेपालका प्रधानमन्त्री वीपी कोइरालाले । सीमा समझदारी हुने छलफलमा चीनका प्रधानमन्त्री चाओ एन्लाइले सबै सगरमाथा चीनतर्फ पर्छ भने । त्यसमा असहमत हुँदै माओसँग वीपीले आफ्ना कुरा राखे ।

    माओ जेदुङको सन् १९९८ मा प्रकाशित पुस्तक ‘अन डिप्लोमेसी’मा वीपी र माओका संवाद राखिएको छ । जसमा सगरमाथा बारेमा गरिएको छलफल समेत राखिएको छ । वीपी र माओबीच सन् १९६९ मार्च १८ (विसं २०१६ चैत्र ५)को चीनमा भएको ‘सगरमाथा संवाद’ यस्तो छः

    वीपीः त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाई सगरमाथा भन्छौं । तपाईंहरु झोमोलोङ्मा भन्नुहुन्छ । पश्चिमाहरु माउन्ट एभरेष्ट भन्छन् । यो क्षेत्र सधैं नेपालको भुभाग भित्र पर्छ । तर प्रधानमन्त्री चाउ एनलाइले यो चीनभित्र पर्छ भन्नु भयो ।

    माओः यसमा तपाँइले असहज मान्नु हुँदैन ।

    वीपीः यो भावनात्मक प्रश्न हो ।

    माओः यसलाइ आधा आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणी भाग तपाँइको । उत्तरी भाग हाम्रो ।

    वीपीः अनि चुचुरो चै के गर्नु?

    माओः त्यो पनि आधा आधा । यसो गरे कसो हुन्छ? यदि यो समाधान गर्न सकिँदैन भने पछिको लागि सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सीमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाईंलाई दिए भावनात्मक रुपमा हामीलाई दुःख हुन्छ । यदि सबै हामीलाई दिए भावनात्मक रुपमा तपाईंहरुलाई दुःख हुन्छ । हामीले सीमा रेखा चुचुरोमा राख्न सक्छौं । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेस्ट त पश्चिमाहरुले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौँ । चोमोलोङ्मा पनि नभनौँ । यसलाई नेपाल चीन मैत्री हिमाल भनौं ।

    वीपीः ठीकै छ ।

    अन्नतः वीपी र माओकै संवादको लाइनमा नेपाल–चीन सीमामा सगरमाथाको टुंगो लाग्यो । सन् १९६१ अक्टोबर ५ (विसं २०१८ असोज १९) मा महेन्द्रको चीन भ्रमणका क्रममा नेपाल–चीन सीमा सन्धीमा हस्ताक्षर भयो । सन्धीको धारा १ को उपधारा ११ मा सगरमाथाको चुचुरो हुँदै दक्षिणी भाग नेपालको र उत्तरी भाग चीनको भन्ने लेखिएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले सन १९६५ मे ३० मा गरेको ‘नेपाल–चीन सीमा अध्ययन प्रतितिवेदन’मा पनि यहि कुरा उल्लेख छ ।

    वीपी चीनको गुडबुकमै भएर माओको कितावमा उनको संवाद आयो । चीनविरोधी भएको भन्ने धारणा चीनको थियो भने सायद वीपी माओको महत्वपूर्ण दस्ताबेजहरु भएको पुस्तकमा अटाइँदैन थिए । माओको ‘अन डिप्लोमेसी’मा महेन्द्र र वीपी दुवै अटाएका छन् । अरु कुनै नेपाली राजा, प्रधानमन्त्री र नेताहरुको माओको पुस्तकमा उल्लेख छैन ।

    ४. चीनलाई संयुक्त रास्ट्रसंघ सदस्य बनाउन अन्तर्राष्ट्रिय पहल

    विसं २०१६ जेठ १३ देखि विसं २०१७ पुष १ सम्म १८ महिना नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भए वीपी । उनको प्रधानमन्त्री कालमा भएका विभिन्न कुटनीतिक पहलहरुमध्ये चीनलाई संयुक्त रास्ट्रसंघको स्थायी सदस्य दिलाउन गरेको पहल पनि पनि एक हो ।

    एकपटक मात्रै संयुक्त रास्ट्रसंघमा सम्वोधन गर्न पुगेका वीपीले चीनको उपस्थितिको माग गरेका थिए । सन् १९६० को नोभेम्बर १९ मा भएको १५ औं महासभामा बोल्दै वीपीले भनेका थिए, ‘संयुक्त रास्ट्रसंघमा जनवादी गणतन्त्र चीनलाइ उचित स्थान नदिएसम्म यो संस्था न विश्वव्यापी बन्न सक्छ न यसले विश्वभरको राजनीतिक वास्तबिकताहरुको प्रतिविम्बित गर्नसक्छ ।’

    वीपी लगायतका विश्व नेताहरुले चीनको पक्षमा लबिङ गरेको ११ वर्षपछि सन् १९७१ अक्टोबर २५ मा जनवादी गणतन्त्र चीन संयुक्त रास्ट्रसंघको स्थायी सदस्य बन्ने औपचारिक बाटो खुल्यो ।

  • ‘एमसीसी चीनको विकासविरुद्ध छ, नेपालले विचार गरेर निर्णय लेओस्’

    ‘एमसीसी चीनको विकासविरुद्ध छ, नेपालले विचार गरेर निर्णय लेओस्’

    नेपाल र चीन सम्बन्धमा नागरिक तथा प्राज्ञिक स्तरमा चिनिएको नाम हो, डाक्टर गाओ लियाङ । डाक्टर गाओले व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । हाल उनी चीनको एक प्रसिद्ध सिचुवान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थानमा पोस्ट–डक्ट्रोलको जिम्मेवारीमा छन् ।

    डाक्टर गाओले सन् २०१९ जुनदेखि २०२०को फेब्रुअरीसम्म काठमाडाैंमा रहेको इसिमोडमा भिजिटिङ स्कलरको रुपमा समेत काम गरे । उनले नेपालका अंग्रेजी भाषाका अखबारमा नेपाल-चीन सम्बन्धबारे फुटकर आलेख समेत लेखेका छन् । ‘परिवर्तित विश्वमा नेपाल र यसका छिमेकीहरू’ शीर्षकमा डाक्टर गाओले प्राज्ञिक कामहरू समेत गरेका छन् । उनै डाक्टर गाओसँग नेपाल प्रेसकर्मी विराट अनुपमले नेपाल-चीन, चीन- एसियाली सम्बन्ध, चीनको सार्क र बिमस्टेक हेर्ने नजरदेखि बीआरआईहुँदै एमसिसीसम्मका विषयमा कुराकानी गरेका छन् । 

    दक्षिण एसिया र नेपालबारे चीनका प्राज्ञिक तथा सर्वसाधारणको धारणा कस्तो छ ?

    दक्षिण एसियाली देशहरू चीनका निकटस्थ छिमेकी हुन् । अझ नेपाल त झनै नजिकको छिमेकी हो । नेपालका नागरिक चीनसँग मित्रवत् छन् भने चीनका प्राज्ञिकदेखि सर्वसाधारणमा एकमत पाइन्छ । नेपालका बहुसंख्यक नागरिकको पनि यही धारणा छ ।

    नेपाली नेताहरूले कयौंपटक चीनको भ्रमण गर्नुभएको छ । सन् २०१९मा चिनियाँ राष्ट्रपति सि नेपाल भ्रमणमा आउनुभयो । पछिल्ला दिनमा राजनीतिक तथा नागरिक स्तरको भ्रमण आदानप्रदानहरुको मात्र बढेको छ ।

    नेपाल–चीनको बिआरआइको एक अभिन्न साझेदार हो । नेपाल चीन र दक्षिण एसियाली देशहरूका पुलमात्रै हैन, पश्चिम चीनको प्रवेशद्वार समेत हो । चीनको विकासको गतिबाट नेपालले पनि लाभ लिन सकोस् । त्यसबाट दुई देश मात्रै हैन सम्पूर्ण दक्षिण एसियालाई पनि प्रगति होस् भन्ने चीनको चाहना हो ।

    नेपाल र चीन सम्बन्धका ‘कनेक्टर’ र ‘डिभाइडर’हरू के के हुन् जस्तो लाग्छ ?

    चीन र नेपाल दुवै विकासशील मुलुक हुन् । इतिहास र संस्कृति पृथक भए पनि दुवै देशका नागरिकको राम्रो जीवन र विकासको उच्च तहको चाहना भने परस्पर मिल्ने खालका छन् । यही कुरा दुवै देशको द्विपक्षीय सम्बन्धलाई अझ गहिराइसम्म पुर्‍याउने प्रमुख शक्ति हो । सहकार्य नै दुई देशबीचको अकाट्य छनोट हो, जसले तथाकथिक डिभाइडरलाई सँगै जित्न सक्छ ।

    किन दक्षिण एसियामा सार्कभन्दा बिमस्टेक ज्यादै सक्रिय भएको हो ?

    बिमस्टेकले आर्थिक क्षेत्रमा सहकार्य गर्न जोड दिन्छ । सबै सदस्य राष्ट्रहरू यसैलाई जोडबल गरेर प्रवद्र्धन गर्नमा बढि लालायित छन् । यसमा सदस्य राष्ट्रहरूको मतभिन्नता सानो छ । यसको ठीकविपरीत सार्कको लामो इतिहास छ ।

    राजनीतिक मतभिन्नतानै सदस्य राष्ट्रबीचको सामूहिक कदमका लागि प्रमुख समस्याको रुपमा छ । म व्यक्तिगत रुपमा बिमस्टेकलाई सार्कको प्रभावकारी परिपुरकको रुपमा हेर्न चाहन्छु, परस्पर विरोधीको रुपमा हैन ।

    सार्क र बिमस्टेकबारे चीनको राजनीतिक तथा रणनीतिक दृष्टिकोण कस्तो छ ?

    भूमण्डलीकरण तथा क्षेत्रीय साझेदारीको एक प्रमुख वकालतकर्ता भएकाले चीन दुवै पहलकदमीलाई दक्षिण एसियाको क्षेत्रीय साझेदारी प्रबद्र्धकको रुपमा सकरात्मक कोणमा लिन्छ । चीन यही प्रणालीमा उचित भूमिकासहित सामेल हुन चाहन्छ ।

    कतिपय टिप्पणीकारले नेपाल कम्युनिस्ट पार्टीको फुट चीनलाई भएको धक्काको रुपमा व्याख्या गरेका छन् । यसमा तपाईंको धारणा के छ ?

    अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नुनै चीनको कूटनैतिक सिद्धान्त हो । नेपालको आन्तरिक राजनीतिक मामिलाको आफ्नै तौरतरिका छन् । नेपालको आन्तरिक मामिलामा चीनले कुनै विशेष भूमिका निभाउँदैन । यद्यपि, एक असल छिमेकीको रुपमा चीन नेपालको आन्तरिक राजनीतिक अवस्था स्थिर भएको देख्न चाहन्छ । मलाई विश्वास छ, यो चाहना बहुसंख्यक नेपालीको पनि हो ।

    तपाईंको दृष्टिकोणमा नेपालमा चीनका प्रमुख चासोहरू के के हुन् ?

    चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न इच्छुक छैन । चीन र नेपालको बढ्दो सम्बन्धको कारण चीनका कूटनीतिज्ञले नेपालका सबै क्षेत्रका मानिससँग कुराकानी गर्नु सामान्य हो । खासगरी पश्चिम चीनको विकास र समृद्धिको लाागि शान्तिपूर्ण र स्थिर बाह्य वातावरणको अपरिहार्यता छ । त्यसका लागि स्थिर र समृद्ध नेपाल आवश्यक छ । जुन चीनको सबैभन्दा धेरै महत्वपूर्ण चासो हो ।

    कोभिड-१९ भ्याक्सिनको लागि तड्पिरहेको नेपालले भारतबाट १० लाख डोज र चीनबाट आठ लाख जोड भ्याक्सिन पायो । विशाल अर्थतन्त्र भएको चीनले आफूभन्दा कमजोर अर्थतन्त्र भएको भारतभन्दा थोरै भ्याक्सिन नेपाललाई दिनुको कूटनीतिक अन्तर्य छ कि ?

    यहाँ भ्याक्सिनको मात्राको तुलना गर्नुपर्ने कुनै कारण छैन । चीन र भारतको तुलना गर्नु पनि अर्थ छैन । चीनले सधैँभरि महामारी र भ्याक्सिनको राजनीतिकरणलाई विरोध गरेको छ । मानव जातिकै एक प्रमुख चुनौती भएकाले कोरोनासँग लड्न सहकार्यलाई अझ बढवा दिनुपर्छ । मैले जानेअनुसार कोभिड–१९ महामारीको उत्पत्तिबाटै चीनले नेपालको मेडिकल सहायताका क्षेत्रमा पूर्णरुपमा सहयोग गरेको छ । र अझै गर्दै जानेछ ।

    नेपालका मूलधारका मुख्य दलहरू अमेरिकि सहयोग परियोजना एमसीसी पारित गर्नमा एकमत छन् । कसैले यसलाई चीन विरोधी र बीआरआइलाई काउन्टर दिने अमेरिकी परियोजना समेत भनेका छन् । यसलाई चिनियाँ दृष्टिकोणमा तपाईं कसरी हेर्नुहुन्छ ?

    मिडियाका रिपोर्टहरू अनुसार नेपालमा एमसीसी परियोजना अमेरिकाको हिन्दप्रशान्त रणनीतिको एक अंग हो । जसको प्रमुख उद्देश्य भनेकै चीनको विकास रोक्नु हो । नेपालमा एमसीसीको प्रकृतिको बारेमा विभिन्न खालका धारणा र बुझाइ छन् । मलाइ लाग्छ, नेपालले अझ बढी छलफलका साथ आफ्नै चाहनाअनुसार यसमा निर्णय गर्नेछ ।

    नेपाल र चीनले पर्यटन प्रबर्द्धनमा कसरी साझेदारी गर्न सक्छ ?

    नेपालको पर्यटन क्षेत्रको विकास हुँदैछ । यसको बृहत् सम्भावना छ । वास्तवमा पछिल्ला केही वर्षमा नेपाल आउने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै वृद्धिदर चिनियाँ पर्यटकहरूको देखिन्छ । यद्यपि, कोभिड–१९ महामारीको कारणले पर्यटन आगमनको संख्यालाई पुरानै अवस्थामा पु¥याउन केही समय लाग्न सक्छ । खुलेर भन्दा नेपालतर्फका चीन जोड्ने जमिन मार्गको पहुँच विस्तार र कनेक्टिभिटी क्षेत्रका कामलाई व्यापकता दिन आवश्यक छ । प्रस्तावित चीन–नेपाल रेलमार्ग एक राम्रो विकल्प बन्न सक्छ । यसका अतिरिक्त, नेपालमा पर्यटनजन्य पूर्वाधारको निर्माणमा सुधार गर्नुपर्ने कुराहरू धेरै छन् ।

  • ‘चीनले आफ्नो विकास अनुभव सबै मित्रहरुलाई सुनाउन चाहन्छ, थोपर्न होइन’

    ‘चीनले आफ्नो विकास अनुभव सबै मित्रहरुलाई सुनाउन चाहन्छ, थोपर्न होइन’

    चीनको सिचुवान प्रान्तसहित लसान सहरमा अवस्थित लसान नर्मल विश्वविद्यालयकी अर्थशास्त्र विषयकी प्राध्यापक तङ चियानले चिनियाँ एवं विश्व अर्थतन्त्रवारे गहन अध्यन गरेकी छिन्। उनी उक्त विश्वविद्यालयको अर्थशास्त्र विभागकी डीन समेत हुन् । नेपालसहित दक्षिण एसियाली मुलुकहरुको आर्थिक विकास र पद्धतीवारे राम्रो जानकारी राख्ने उनी चीन र दक्षिण एसियाबीच जति धेरै सहकार्य हुन सक्यो त्यति नै आर्थिक–सामाजिक प्रगतीकालागि सहज हुने धारणा राख्छिन् । नेपालको विकास प्रक्रिया एवं आर्थिक गतिविधिलाईसमेत नजिकबाट नियालिरहेकी प्राध्यापक तङसँग  लसान नर्मल विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक डा. बुद्धिप्रसाद शर्माले गरेकाे नेपाल टक ।

    नेपाल-चीनबीचको सम्वन्धलाई ऐतिहासिक एवं वर्तमान सन्दर्भमा हेर्नुपर्दा कसरी विश्लेषण गर्नुहुन्छ?

    नेपाल र चीन विश्वकै पुराना मलुकहरु हुन् । इतिहासदेखि नै दुई मुलुकबीच अत्यन्त सौर्हादपूर्ण सम्वन्ध रहँदै आएको छ । ज्ञान, संस्कृति, व्यापार लगायत आदानप्रदानको इतिहास निकै पुरानो छ । यसले गर्दा नै दुई मुलुकका जनताहरुबीच आपसी विश्वास र सहकार्य बलियोसँग कायम हुँदै आएको छ । दुवै मुलुकले एक अर्काका अप्ठ्याराहरुमा साथ–सहयोग पनि गर्दै आएका छन् । अध्यक्ष माओत्सेतुङको नेतृत्वमा सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएयताको इतिहास हेर्दा पनि सम्वन्धमा थप सुमधुरता, गहन सहकार्य, आदानप्रदान र विश्वास उल्लेख्यरुपमा बढेको छ ।

    भगवान बुद्धको जन्मस्थल भएका कारण नेपाल करौडौं चिनियाँ बौद्ध धर्मावलम्वीहरुको लागि अति महत्वपूर्ण मुलुक हो । चीनको सिचुवान प्रान्तमा पनि लाखौं बौद्ध धर्मावलम्वीहरु छन् । नेपाल र चीन अत्यन्त पुराना मित्रहरु हुन् । यो सम्वन्ध दुई मुलुकका जनताहरुबीचको अत्यन्त घनिष्ठताले थप मजवुत बनएको छ, र यो स्थिति वर्तमान अवस्थामा थप गहन हुँदै गएको प्रष्ट देख्न सकिन्छ ।

    आर्थिक खुलापनको नीति सुरुवात गरेको छोटो समयमै चीनले चामत्कारिक विकास हासिल गरेको छ । यो प्रगतीको विश्वभरिबाट नै चीनको प्रशंसा हुने गरेको छ । नेपालजस्ता मुलुकहरुले चीनको समृद्धि यात्राको अनुभवबाट के सिक्न सक्छन् ?

    नेता तङ सियोओफीङको अग्रसरतामा चीनले सन् १९७८ मा सुधार एवं खुलापन अगाडि बढाउने वैज्ञानिक नीति लियो । धेरैले यसलाई आर्थिक सुधारको रुपमा मात्र बुझ्ने गरेको भए पनि यो वास्तवमा समग्र चिनियाँ विकासलाई अगाडि बढाउनका लागि गरिएको राजनीतिक, आर्थिक, प्रशासनिक, प्राविधिक, अन्र्तराष्ट्रिय सम्वन्ध लगायतमा चीनलाई परिस्कृत गर्दै लैजाने वृहत अठोट थियो । वैज्ञानिक दृष्टिकोण, मेहनत, समग्र पहल एवं निरन्तरताका कारण चीनले छोटो समयमै प्रगती गर्दै चिनियाँ विशेषतासहितको समाजवादलाई कार्यान्वयन गरेको छ ।

    नेपालजस्ता गहन मित्रहरुले चीनको अनुभवबाट धेरै कुरा सिक्दै आफ्नो धरातलीय यर्थाथता, आर्थिक अवस्था, आर्थिक–सामाजिक परिवेशका आधारमा विकासको मोडल तयार गर्नुपर्छ र कार्यान्वयन अत्यन्त सक्रियता प्रर्दशन गर्नुपर्छ । चीनले आफ्नो अनुभव सवै मित्र राष्ट्रहरुसँग सुनाउन चाहन्छ, तर, थोपर्न चाहदैँन ।

    सन् २०२० को अन्त्यबाट चीनले गरिवीलाई पूर्णरुपमा उन्मुलन गरेको छ । एक अर्थशास्त्रीको नाताले चिनियाँ विकासको अनुभव भन्नुपर्दा, पहिलो त हामीले चीनको धरातलीय यर्थाथका लागि कस्ता किसिमका योजनाहरु आवश्यक छन् त्यो निर्माण गरेर कार्यान्वयन गर्‍यौं । दोस्रो, हामीले हाम्रा सवल र दुर्वल पक्षहरु स्पष्टरुपमा पहिचान गरेर त्यस अनुसार वैज्ञानिक ढंगबाट कार्यान्वयन गर्‍यौं । तेस्रोे, समस्यालाई व्यापक परिवर्तनको थालनी गर्ने अवसरको रुपमा लिएर अगाडी बढ्यौं । चौथौं, समग्र चीनको विकासको चिनियाँ नेतृत्वको अठोटलाई साकार पार्न केन्द्रदेखि तल्लो तहसम्मका सवै निकायहरु उत्तिकै जीम्मेवार भएर अगाडि लागे । र पाचौं, चीनले आफ्नो प्रगतीसँगैं त्यसअनुसार अन्तर्राष्ट्रिय सम्वन्ध, सहकार्य र साझेदारीलाई पनि उत्तिकै गहनरुपमा अगाडि बढाउँदै लग्यो, जसले गर्दा चीनले आफ्नो क्षमता अनुसार लाभ लिनेदेखि विश्वमा योगदान गर्ने प्रक्रिया पनि प्रभावकारी ढंगले अगाडि बढ्यो ।

    त्यसकारण, नेपाल जस्ता गहन मित्रहरुले चीनको अनुभवबाट धेरै कुरा सिक्दै आफ्नो धरातलीय यर्थाथता, आर्थिक अवस्था, आर्थिक–सामाजिक परिवेशका आधारमा विकासको मोडल तयार गर्नुपर्छ र कार्यान्वयन पक्षमा अत्यन्त सक्रियता प्रर्दशन गर्न सक्नुपर्छ । चीनले आफ्नो अनुभव सवै मित्र राष्ट्रहरुसगँ सुनाउन चाहन्छ, तर आफ्नो मोडल कहिल्यै पनि अरु मुलुकमाथि थोपर्न चाहदैँन । किनकि प्रत्येक मुलुकले आफ्नो धरातलीय यर्थाथता अनुसार विकास एवं सुधारका मोडल तथा नीतिहरु तयार गर्नुपर्छ।

    चीनले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ले मुख्यगरी विकासशील विश्वबाट सकरात्मक प्रतिक्रिया हासिल गरेको पाइन्छ । नेपाल जस्ता मुलुकहरुले बीआरआईबाट के र कसरी लाभ लिन सक्छन् ?

    चीन वास्तवमा आफूले हासिल गरेको उपलव्धिलाई विश्वभरका मित्र राष्ट्रहरुससँग साझेदारी गरेर विश्वको साझा सपना पूरा गर्न लागिपरेको छ । त्यही योजनाअनुसार राष्ट्रपति सी जिनफिङबाट बीआरआईको सुरुवात भएको हो । चीनले अगाडि बढाएको भए पनि यो विश्वका सवै मुलुकहरुले आफ्नो आवश्यकता र चाहना अनुसार साझेदारी र योगदान गर्ने गरी संरचना तयार गरिएको हो, त्यसैले यो सारा विश्वकै अभियान हो भन्ने चीनको मान्यता रहेको छ ।

    बीआरआईले आर्थिक, प्राविधिक, पूर्वाधार, सांस्कृतिक हुँदैं विविध क्षेत्रका गहन साझेदारीको सिद्धान्तलाई आत्मसाथ गरेको छ । छोटो समयमै बीआरआई अन्र्तगत अगाडि बढेका सहकार्यहरु र साझेदारी हेर्दा पनि अन्र्तराष्ट्रिय समुदायले यसलाई आत्मसाथ गरेको र वृहत सञ्जालमार्फत गहन साझेदारी गरेर अगाडि बढ्दा नै विश्वको हित छ भन्ने स्वीकार गरेको बुझ्न सकिन्छ ।

    बीआरआईले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरमै सहकार्य गर्ने आधार तयार गरिदिने हुँदा नेपालजस्ता मुलुकहरुले आफ्नो आर्थिक सामाजिक प्रगतीका लागि व्यापक लाभ लिन सक्छन् । लगानी आकर्षण, नयाँ प्रविधि भित्र्याउने, ज्ञान–सीपको आदानप्रदान, व्यापार विस्तार, पर्यटन लगायत अनेक क्षेत्रमा अत्याधिक साझेदारी गरेर राष्ट्रिय आवश्यकता अनुसार लाभ लिन सक्छन् । अर्को महत्वपूर्ण कुरा, यी सवै योजनाहरु सम्वन्धित मुलुकहरुकै आवश्यकता, सामर्थता र चाहनाअनुसार अगाडि बढ्ने हुँदा सम्वन्धित मुलुकले दीर्घकालीन लाभ हासिल गर्न सक्छन् ।

    भूपेरिवेष्ठित मुलुक नेपालका लागि त अन्र्तराष्ट्रिय समुदायसँग थप गहन किसिमबाट सहकार्य गर्दै अगाडि बढ्न यसले पुलको नै काम गर्छ । नेपाल र चीनले सन् २०१७ मा बीआरआई अन्र्तगत साझेदारी गर्ने गरी समझदारी गरेयता कतिपय परियोजनाहरुको कार्य अगाडि बढिसकेको र थुप्रै परियोजनाहरु अगाडि बढ्ने क्रममा रहेको पाइन्छ।

    चीन आफ्नो चामत्कारिक आर्थिक विकासको उपलव्धिलाई विश्व समुदायमाझ कसरी अनुभव आदानप्रदान र साझेदारी गर्न चाहन्छ?

    चीन आफ्नो विकास समृद्धिलाई निश्चितरुपमै विश्व समुदायमाझ उदार भावले साझेदारी गर्दै विश्वका साझा समस्या एवं चुनौतीहरुको सम्वोधनका लागि योगदान दिन चाहन्छ, र गर्दै पनि आएको छ । पछिल्लो तीन दशक चीन कुुनै पनि किसिमको युद्धमा सहभागी भएको छैन् । शान्तिपूर्ण विकासको मार्गबाटै अगाडि बढेर विश्व समुदायको एक जीम्मेवार सदस्यको नाताले अधिकतम योगदान गर्न चाहन्छ ।

    चिनियाँ विद्यार्थीहरु पनि नेपालमा अध्यन गर्न जानेदेखि लिएर विविध किसिमका शैक्षिक आदानप्रदान धेरै नै बढेको छ । यो अवस्थाले पनि दुई मुलुकहरुबीच बढ्दै गएको जनस्तरको सम्वन्धलाई उजागर गर्छ । चीन चाहन्छ कि धेरै नेपाली विद्यानहरु चीनमा आएर अनुसन्धानहरुमा सक्रिय रहुन् र मित्रता थप गहन हुँदै जाओस् ।

    विश्वको साझा सपना पूरा गर्न चीन आफ्नो तर्फबाट गर्न सकिने योगदानमा लागिपरेको छ । यतिखेर विश्वको हरेक कुनामा चीन पुगेर सहकार्य अगाडि बढाएको छ । विश्वका सवैभन्दा बढी मुलुकहरुसँगको प्रमुख व्यापार साझेदारीदेखि व्यापक लगानी विस्तार हुँदै जनस्तर एवं गहन सांस्कृतिक आदानप्रदानमा चीन अगाडि बढेको छ ।

    चीनको विकासबाट कोही पनि तर्सिनु पर्दैन । शान्तिपूर्ण विकासको माध्यामबाट नै गहन साझेदारी बढाएर विश्वमा शान्ति, स्थिरता र विकासको लागि अधिकतम योगदान गर्न चीन तयार छ, र त्यहि अनुसार अगाडि बढेको छ ।

    नेपाल र चीनबीच शैक्षिक स्तरमा सहकार्य बढाउन थप के के गर्नुपर्छ जस्तो लाग्छ?

    केही वर्षयता नेपाल र चीनबीचको शैक्षिक आदानप्रदान एवं सहकार्य हेर्दा धेरै आशा गर्न सकिने देखिन्छ । अहिले हजारौं नेपाली विद्यार्थीहरु चीनका विभिन्न विश्वविद्यालयहरुमा अध्यनरत छन् । नेपाली विद्यार्थीहरु चीनमा अत्यन्त मेहनती, प्रतिभावान र अनुशासित मानिन्छन् । नेपालका विद्यानहरु चीनका धेरै विश्वविद्यालय एवं थिंकट्यांकमा कार्यरत हुनुहुन्छ ।

    चिनियाँ विद्यार्थीहरु पनि नेपालमा अध्यन गर्न जानेदेखि लिएर विविध किसिमका शैक्षिक आदानप्रदान धेरै नै बढेको छ । यो अवस्थाले पनि दुई मुलुकहरुबीच बढ्दै गएको जनस्तरको सम्वन्धलाई उजागर गर्छ । चीन चाहन्छ कि धेरै नेपाली विद्यानहरु चीनमा आएर अनुसन्धानहरुमा सक्रिय रहुन् र मित्रता थप गहन हुँदै जाओस् । भविस्यमा यस किसिमका सहकार्यहरु थप बढाउनका लागि मेरो विचारमा दुवैतर्फ गहन आदानप्रदान, विश्वविद्यालय एवं थिंकट्यांकबीच साझेदारी, अनुसन्धानमा सहकार्य, ज्ञान एवं प्रविधिको नियमित आदानप्रदान र विभिन्न तहका शैक्षिक सहकार्यहरु बढाउनुपर्छ ।

    भविश्यमा नेपाल-चीनबीचको जनस्तर एवं सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउन के-के गर्नुपर्ला ?

    नेपाल र चीन दुवै पुराना सभ्यता भएका छिमेकी मुलुकहरु हुन् । त्यसकारण पनि दुई मुलुकहरुबीचको जनस्तर एवं सास्कृतिक आदानप्रदानको इतिहास निकै नै लामो छ । यो सम्वन्ध विश्वास, सहकार्य र मेलमिलापमा आधारित छ । सन् २०१५ मा नेपालमा विनासकारी भूकम्प जाँदा चीनले तुरुन्तै सहयोगको हात अगाडि बढाएर मित्रको अप्ठ्यारोमा हामी नजिकै छौं भन्ने सन्देश दियो । नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्वन्ध स्थापना भएयता चीनले नेपालको आर्थिक–सामाजिक विकासमा नियमित सहयोग पु¥याउँदै आएको छ ।

    देशमा केही राम्रो भइरहेको छ भन्ने आत्मविश्वास जनतामा बढ्न थाल्यो भने उनीहरुले कैयौं गुणा आफ्नो प्रयासलाई बढाउन थाल्छन् । नेपालले आवश्यक पूर्वाधारहरुको निर्माण गरी पर्यटनलाई अगाडि बढाउनु पर्छ ।  विशाल जनसंख्या भएका दुई छिमेकी मुलुकहरु चीन र भारतबाट मात्र पनि पयर्टक भित्र्याउन सक्ने हो भने पनि यथेष्ट लाभ लिन सक्छ ।

    अहिले चीन नेपालको प्रमुख लगानीकर्ता र दोस्रो ठूलो व्यापारीक साझेदारी मुलुक हो । चीन नेपालमा स्थिरता, शान्ति र विकास चाहन्छ, यसका लागि आफ्नोतर्फबाट नेपालको आवश्यकता अनुसार सवै किसिमको सहयोग पुर्‍याउन तयार छ । सम्वन्धलाई थप गहन, विश्वासमा आधारित र दीर्घकालीन बनाउन जनस्तर एवं सास्कृतिक सम्वन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्छ ।

    यसका लागि आवश्यकता अनुसार थप नयाँ समद्यदारी गरेर अगाडि बढ्नुपर्छ । सुन्दर मुलुक नेपाल चिनियाँ पर्यटकहरुको लागि अति आर्कषक गन्तव्य मुलुक भएकोले यसबाट लाभ लिन पनि थप प्रचारप्रसार एवं सक्रियता बढाउनुपर्छ जस्तो लाग्छ ।

    नेपालले समृद्ध नेपालको कार्यक्रम कार्यान्वयन गरिरहेको छ, भलै विकास प्रक्रिया निकै सुस्त भयो भन्ने गुनासो सुनिन्छ । नेपालले तीव्र आर्थिक विकास हासिल गर्नका लागि ठोसरुपमा के–के सुझाव दिन चाहनुहुन्छ ?

    नेपाल अत्यन्त सुन्दर मुलुक हो । प्राकृतिक सम्पदाको हिसावले पनि धनी छ । एक अर्थशास्त्रीको नजरबाट हेर्दा मेरो दृष्टिकोण के छ नेपालले आफ्नो वास्तविक धरातलीय यर्थाथता अनुसार विकासको मोडल तय गर्नु पर्छ । अरुका प्रगती एवं अभ्यासबाट सिक्नु पर्छ नै, तर आफ्नो मुलुकमा चाहिँ स्वदेशकै आवश्यकता र यर्थाथता अनुसार तरिका, पद्धती एवं एप्रोच तय गर्नुपर्छ । यसो भयो भने कार्यान्वयन गर्न सहज हुनुका साथै नागरिकले वास्तविक परिवर्तनको अनुभव गर्न थाल्छन् । अर्को हो, नेपालले स्वदेशी एवं बैदेशिक पुँजी आकर्षित गरी तुलनात्मक रुपमा बढी लाभ हुने क्षेत्रमा लगानी तथा विकासलाई तीव्रता दिनुपर्छ । यसका लागि आवश्यक राजनीतिक प्रतिवद्धता, प्रशासनिक चुस्तता एवं कानुनी सहजताजस्ता महत्वपूर्ण विषयहरुलाई सदा तयार गरी राख्नुपर्छ ।

    देशमा केही राम्रो भइरहेको छ भन्ने आत्मविश्वास जनतामा बढ्न थाल्यो भने उनीहरुले कैयौं गुणा आफ्नो प्रयासलाई बढाउन थाल्छन् । नेपालले आवश्यक पूर्वाधारहरुको निर्माण गरी पर्यटनलाई अगाडि बढाउनु पर्छ । नेपालका विशाल जनसंख्या भएका दुई छिमेकी मुलुकहरु चीन र भारतबाट मात्र पनि उल्लेख्य मात्रामा पयर्टन भित्राउन सक्ने हो भने पनि नेपालले यथेष्ट लाभ लिन सक्छ । यस्तै गरी नेपालले आफूलाई चीन र दक्षिण एसिया जोड्ने पुलको रुपमा अगाडि बढाउन सक्यो भने यसले नेपाललाई दीर्घकालीनरुपमा सार्मथ्यवान बनाउँछ ।

    नेपालको चाहना अनुसार विकास प्रक्रियामा सहयोग गर्न चीन हरपल तयार रहन्छ । चिनियाँ कम्पनीहरु नेपालमा लगानीका लागि अत्यन्त उत्सुक छन् । राष्ट्रपति सीको नेपाल भ्रमणताका पनि गहन सहकार्यवारे विभिन्न महत्वपूर्ण समझदारीहरु भएका छन् । मलाई आशा छ, नेपालले ठोस प्रतिवद्यता र कार्यान्वयनसहित आफ्नो विकासको लक्ष्यलाई चाँडै पुरा गर्नेछ।