Tag: नेपाल क्लियरिङ हाउस

  • रिटेल पेमेन्ट स्वीच सञ्चालन गर्न एनसीएचएललाई राष्ट्र बैंकको अनुमति

    रिटेल पेमेन्ट स्वीच सञ्चालन गर्न एनसीएचएललाई राष्ट्र बैंकको अनुमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागि नेपाल क्लियरिङ हाउसलाई स्वीकृति प्रदान गरेको छ ।

    नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपश्चात उक्त स्विकृति प्रदान गरिएको हो । हाल उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउने एनसीएचएलले जनाएको छ ।

    विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआरलगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गर्ने कार्य अघि बढाउन अघिल्लो आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउसलाई स्विकृति प्रदान गरिएको हो ।

    नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ भने दोश्रो चरणमा कार्डको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको कम्पनीले जनाएको छ ।

    नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएपश्चात नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने बताएको छ । जसअन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्यूआर लागू हुने छ भने नेपालभित्र रहेका क्यूआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ ।

    सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ । वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ ।

    त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टू–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउनेछन् । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएलमार्फत गर्न सकिनेछ ।

    नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा सोको लागि तयारी गर्न बैंक/वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ । पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक/वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सिधै उक्त रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ ।

    यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबारसम्बन्धी डाटा नेपाल भित्रै राख्न र ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने बताइएको छ।

  • नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर बाँड्ने

    नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर बाँड्ने

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    भर्चुअल रूपमा गरिएको साधारणसभाले कम्पनीको चुक्तापूँजी २९ करोड ८० लाख ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड १० लाख पुर्‍याउने साथै बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीको खुद नाफा २२.२५ ले घटेको कम्पनीले जनाएको छ । कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम हो ।

    धेरैजसो भुक्तानी प्रणाली कारोबार शुल्क घटाइएको, पहिलो लकडाउनमा कारोबार शुल्क पूर्ण मिनाहा गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण नाफामा कमी आएको कम्पनीले जनाएको छ ।

    बैठकले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने तीन जना नयाँ संञ्चालकको चयन गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने संञ्चालकको कार्यकाल सकिएकाले ती पदमा हिमालयन बैंकका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका आईटी प्रमुख सृजन मल्ल चयन भएका छन् ।