Tag: नेपाल-अंग्रेज युद्ध

  • वीर भक्ति थापालाई २ सय वर्षपछि ‘न्याय’

    वीर भक्ति थापालाई २ सय वर्षपछि ‘न्याय’

    इटहरी । नेपाल सरकारले बुधबार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्‍यो । नेपाल-अंग्रेज युद्धमा वीरता देखाएका उनलाई राष्ट्रिय विभूतिमा समावेश गर्न केही इतिहासकारहरूले विगतदेखि माग गर्दै आएका थिए ।

    कुनै बेला भक्ति थापा प्रतिष्ठान बनाएर विभूति अभियान नै चलाएका इतिहासकार हुन् रमेश ढुंगेल । थापालाई विभूति बनाउन माग गर्दै आयोजित थुप्रै कार्यक्रममा उनले प्रवचन दिएका छन् । नेपाल प्रेसले प्रतिक्रियाका लागि सम्पर्क गर्दा मन्त्रिपरिषद्ले बुधबार गरेको निर्णयबारे उनी अनभिज्ञ रहेछन् । खबर थाहा पाएर उनी सुखद आश्चर्यमा परे । नेपालको विभूतिमा अटाउनैपर्ने तर छुटेका व्यक्ति समेटिएकोमा ढुंगेलले खुशी व्यक्त गरे ।

    उनले भने, ‘भक्ति थापालाई विभूति बनाउन प्रतिष्ठान नै खोलेर उपाध्यक्ष भएँ । नेपाल सरकारलाई विभूति बनाउने लिखित प्रस्ताव पनि दिएँ । तर, घोषणा भएको तपाईंबाट मात्रै थाहा भयो । कत्रो बल गर्दा पनि विभूति नबनाइएका भक्ति थापालाई अहिले आएर बनाएकोमा सरकारलाई धन्यवाद छ ।’

    नेपाली सेनाको इतिहासका विभिन्न पुस्तकहरू लेखेका र भक्ति थापाको बारेमा अत्यधिक खोज गरेका अवकाशप्राप्त नेपाली सेनाका सहायक रथी हुन् प्रेमसिंह बस्न्यात । सरकारको घोषणाबाट उनी पनि उत्तिकै खुशी छन् ।

    भक्ति थापाजस्तो इमानदार, बहादुर र देशभक्त सैनिक अधिकृत कमै मात्र इतिहासमा भएको बस्न्यात बताउँछन् । ७३ वर्षको उमेरमा युद्धकै दौरान ज्यान आहुति गर्ने एक्ला नेपाली सैनिक अधिकृत भक्ति थापा नै भएको उनको कथन छ ।

    भक्ति थापालाई तत्कालीन समयमा दिएको सैन्य पदवीमा खुशी छैनन् बस्न्यात । उनी भन्छन्, ‘त्यत्रो महान कमान्डरलाई सरदार मात्रै पद दिइएको छ । सरदार भनेको अहिलेको समयको कप्तान जस्तो मात्र हो ।’

    भक्ति थापाको योगदान अनुसारको ओहदा तत्कालीन समयमा नभएको र विभूति बनाउन पनि कन्जुस्याइँ भएको उनी बताउँछन् ।

    बस्न्यात भन्छन्, ‘राजा महेन्द्रले इतिहास लेखाउन तयार पारेका सदस्यहरूको पारिवारिक र व्यक्तिगत पूर्वाग्रहका कारणले भक्ति थापालाई छुटाइएको थियो । अब न्याय भएको छ ।’

    नेपाली सेनामा हुँदा इमान्दारी र कर्तव्यपरायणता प्रस्तुत गरेको भन्दै थापालाई सुरूमा सुवाङ्गी र पछि सन् १७९४ मा सरदार पद दिइएको उनको बारेमा खोज गरेका प्रेमसिंह बस्न्यात बताउँछन् ।

    भक्ति थापाको युद्धस्थलमै पुगेर अवलोकन गर्दै पुस्तक लेखेका बस्न्यात ढिलै भए पनि उनालाई न्याय मिलेको बताउँछन । नेपाली सेनाको इतिहासमा आफ्नो सबैभन्दा ठूलो सम्मान भक्ति थापाप्रति नै रहेको उनले सुनाए ।

    त्रिभुवन विश्वविद्यालयमा इतिहासको प्राध्यापन गरेर अवकाश पाएका प्राध्यापक डा. सुरेन्द्र केसीको मत भने अलि फरक छ । राज्यले भक्ति थापालाई विभूति घोषणा गर्नु सकारात्मक भए पनि घोषणाकै लागि हुने घोषणाको अर्थ नभएको उनी बताउँछन् ।

    उनी भन्छन्, ‘विभूतिहरूको यथोचित मान-सम्मान र इज्जत नभएको देशमा घोषणाले मात्रै म खुशी छैन । देखिने प्रगतिहरू हुनुपर्छ ।’

    को हुन् भक्ति थापा ?

    तत्कालीन सैन्य कमाण्डर भक्ति थापा नेपाल-अंग्रेज युद्ध लडेका एक महान योद्धा हुन् । हाल लमजुङको मर्स्याङ्दी गाँउपालिका-३ ढंगैबेसीमा पुँवर थापाको कुलमा उनको जन्म भएको थियो । वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रका अनुसार थापाको जन्म वि.सं १७९९ मा भएको हो ।

    भक्ति थापा पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार थिए । उनले लमजुङको सेनाबाट धेरैपटक युद्ध लडे । तत्कालीन गोर्खा राज्यसँगको अन्तिम युद्धमा घाइते भएर युद्धवन्दीका रूपमा काठमाडौं ल्याइएको करिब एक वर्षपछि उनी गोर्खा फौजका सरदारको रूपमा नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए ।

    नेपाली सेनामा हुँदा इमान्दारी र कर्तव्यपरायणता प्रस्तुत गरेको भन्दै थापालाई सुरूमा सुवाङ्गी र पछि सन् १७९४ मा सरदार पद दिइएको उनको बारेमा खोज गरेका प्रेमसिंह बस्न्यात बताउँछन् । बस्न्यातका अनुसार सन् १७८९ मा गोर्खा (नेपाल) बिरुद्ध जुम्लाले गरेको विद्रोह दबाएपछि थापाको बढुवा भएको थियो । तत्कालीन समयमा गोर्खाभन्दा बलियो मानिएको जुम्लाले तिब्बतको आडमा विद्रोह गरेको थियो ।

    सन् १८१४ को नोभेम्बर १ मा नेपालसँग तत्कालीन दक्षिण एसिया (हालका भारत, पाकिस्तान, बंगलादेशदेखि म्यानमारसम्म) कब्जा गरेको अंग्रेजले युद्ध घोषणा गर्‍यो । सन् १८१६ को मार्च ४ मा सुगौली सन्धिमा हस्ताक्षर हुनु अगाडिसम्म युद्ध भएको थियो । युद्धकै चरणमा महाकाली पारीको क्षेत्रमा भक्ति थापा खटिएका थिए ।

    देउथलको युद्धमा अत्याधुनिक हतियारले सजिएका र गोर्खाली फौजलाई चारैतिर घेरेका अंग्रेजसँग भक्ति थापाले नाङ्गो खुकुरीको भरमा  भिडेका थिए । त्यसबेला उनको उमेर ७३ वर्षको थियो । यही युद्धका दौरान छातीमा गोली लागेर उनले ज्यान गुमाए ।

    भक्ति थापाको साहसलाई अंग्रेजले पनि कदर गरेका थिए । उनको शवलाई दोसल्ला ओढाएर सैनिक सम्मानका साथ फर्काइएको थियो भने अंग्रेजले उनको सम्मानमा स्मारक पनि बनाए । सो स्मारक हाल भारतको उत्तराखण्ड राज्यमा पर्छ ।

    बस्न्यातका अनुसार भक्ति थापा युद्धमा व्यस्त हुँदा र मारिदा उनीभन्दा कम उमेरका अमरसिंह थापा र उनका छोराहरूले मैदानमा साथ दिएनन् । भक्तिको युद्ध र मृत्युको घटनामा उनीहरू दर्शकमात्रै देखिनु अचम्मको रहस्य भएको उनी बताउँछन् ।

    नेपाली सेनादेखि विभिन्न क्षेत्रमा १८ पुस्तक लेखिसकेका उनी भन्छन्, ‘नेपाल एकीकरणमा धेरै महत्वपूर्ण योगदान गरे पनि अमरसिंह थापाको नेपाल-अंग्रेज युद्ध मैदानमा भने धेरै योगदान देखिँदैन । भक्ति थापाको मृत्युपछि गौर्खाली योद्धाहरू अमरसिंह थापासँग रिसाएका थिए ।’

    भक्ति थापाको सन् १८१५ अप्रिल १६ मा मृत्यु भयो । हाल भारतको हिमाञ्चल प्रदेशको विलाशपुर र राजगण क्षेत्रमा पर्ने मलाउ गढीमा उनको मृत्यु भएको थियो । धेरैले देउथल भन्ने गरे पनि देउथल मलाउबाट धेरै पर भएको बस्न्यात बताउँछन् ।

    देउथलको लडाइँ

    बस्न्यातले आफ्नो पुस्तकमा देउथल युद्धमा भक्ति थापाले देखाएको वीरताको वर्णन गरेका छन् । उक्त पुस्तकबाट देउथल युद्धसम्वन्धी सानो अंश :-

    मलाउ किल्लाको फेदीमा पर्ने भम्भर किनारमा अक्टरलोनी (ब्रिटिश सेनाका कमाण्डर) को छाउनी रहेको थयो । त्यो सेनाले तारागढी र चम्बीगढी कब्जामा पारिसकेकको थियो । अंग्रेज सेनाको लक्ष्य सूर्यगढी पनि हात पार्ने थियो । त्यहाँ पुग्न तोप लैजाने बाटो तयार भएपछि अंग्रेज सेनाले त्यहाँ घेराउ गर्‍यो ।

    सोही किल्लाभित्र कप्तान भक्ति थापा ९०० नेपाली सेनासहित तैनाथ थिए । उनलाई शत्रुले बाहिर निकाल्न जोरजुलुम गर्दा पनि भित्रै अडिइरहे । सूर्यगढी र राजगढको दूरी ५ माइल जति थियो । रेलातर्फ सूर्यगढको घेरा छाडी मेजर हेनेज र कप्तान हेमिल्टन अगाडि बढेका थिए । एकाएक रातमा शत्रु हटेको देखेर भक्ति थापा राजगढको रक्षार्थ बढे ।

    देउथलमा रहेका २५ जना गोर्खाली टोलीलाई हटाइसकेपछि टामस पुगे र त्यहाँ दख्खल गरे । टामसका पछि-पछि लाग्दै अक्टरलोनी पनि देउथलतिर लागे । राजगढमा अमरसिंह थापालाई अल्मल्याइराख्न रत्नगढबाट कप्तान हावर्स र काली गाउँबाट बोयर पनि अगाडि बढेका थिए । अक्टरलोनी बिनाबाधा देउथल पुगे ।

    देउथलको टिप्पामा नेपाली सेनाको मुटु परेको थियो, किनभने त्यहाँबाट छुटेको तोपको गोला सरासर राजगढमा गिर्दथ्यो । त्यहाँबाट शत्रुलाई हटाउन ज्यादै आवश्यक भएकाले दिनभरिको युद्धपछि रातमा अमरसिंह थापाले सबै अधिकृतहरू जम्मा पारी छलफल गरे । एकछिन पनि ढिलो गर्नु उपयुक्त नहुने देखेर रातमा नै नेपाली सेनाले देउथलमा आक्रमण गर्‍यो । ३०० शत्रु सेना रहेको सो किल्लामा त्यति नै नेपाली सेना पठाइए । नेपाली सेनाको अगुवाइ भक्ति थापाले गरे ।

    राजगढबाट तल झरी देउथलमाथि चढ्नुपर्थ्यो । भक्ति थापा ७३ वर्षका भएर पनि त्यो लडाइँमा अगाडि बढेका थिए । त्यही बेला किल्लाबाट शत्रुको गोला बर्सन थाल्यो । नेपालीहरूले हानेका गोली खेर गएनन् । तीनवटा अंग्रेज तोप्चीलाई निशान बनाएपछि अग्रेजहरूले तोप पड्काउन छोडेको बेलामा नेपाली सेनामा किल्लानेर पुगी भिड्ने साहस आयो । केहीले भित्र पसी खुकुरी चलाउन थाले, तर ती सबै मारिए ।

    आडैमा पुगी आफ्नो सेनालाई उत्साहित तुल्याउँदै गरेका भक्ति थापालाई अचानक छातीमा गोली लाग्दा उनी जमिनमा ढले । सरदार भक्ति थापा ढलेपछि नेपाली सेनामा नेतृत्वको अभाव रहन गयो । त्यसपछि नेपाली सेनामा भागाभाग मच्चिन गयो । भक्ति थापाको त्यस मृत्युले नेपाली सेनाको अपुरणीय क्षति भयो र अमरसिंह थापा बडो चिन्तित भए ।

    सरदार भक्ति थापाले वीरगति प्राप्त गरेपछि नेपाली सेनामा एउटा अभाव खट्किरह्यो । चारैतिर अंग्रेजको विजय भएको हुँदा अमरसिंह थापाले नेपाली सेना मलाउको किल्लामा जम्मा गर्ने आदेश दिए । अंग्रेजहरूले रैलीको टाकुरामा आफ्नो सेना राखी मलाउलाई आफ्नो लक्ष्य बनाए । त्यो बेला सुरजगढ ज्यादै असुरक्षित हुन गयो ।

    देउथलको टाकुरीमा पनि अंग्रेज सेना बसेको हुनाले नेपाली सेना र अंग्रेज सेनाको अन्तर करिब १ किमि मात्र रहन गयो । त्यस्तो घडीमा आत्मसमर्पण गर्नु वा युद्धमा मर्नु नै विकल्प थियो । फलतः भक्ति थापाले अर्को बाटो रोजे । अनि उनले वीरगति पाएका थिए । उनको वीरता अतुलनीय थियो ।

    नेपाली सेनानायक भक्ति थापाको मृत्युपछि नेपालले यमुना नदिदेखि पश्चिमतर्फको भू-भागबाट पूरै हात धुनुपर्‍यो । करिब ७०० नेपालीको ज्यान गयो । एकजना बाहेक अंग्रेजका सबै तोपचीहरू मारिए । सरदार भक्ति थापाको मृत्युपछि नेपाली सेनाको पराजय मात्र सहनु परेकाले सुरक्षात्मक युद्धमात्र लड्नुपर्‍यो । आक्रामक युद्ध सफल हुन पनि सकेन ।

  • जितगढीमा विजय उत्सव, २ सय वर्षअघि अंग्रेजलाई हराएको सम्झना

    जितगढीमा विजय उत्सव, २ सय वर्षअघि अंग्रेजलाई हराएको सम्झना

    रुपन्देही । आज बैशाख ७ गते । इतिहासमा यो दिनको छुट्टै महत्व छ । नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहनुमा विक्रम सम्वत् १८७२ बैशाख ७ गते जितगढी किल्लामा हासिल गरेको विजयले ठूलो सहयोग गरेको छ । हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ मा पर्ने जितगढीमा नेपाली सेनाले तत्कालीन अंग्रेज फौजमाथि धावा बोलेको थियो ।

    अंग्रेज (इष्ट इण्डिया कम्पनी) सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको हो ।

    जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसँग अंग्रेज शाशक झस्कियो र युद्धको सट्टा सम्झौतातर्फ अग्रसर भयो ।
    सुरुङको उत्खनन् शुरु

    जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको उनको भनाइ छ ।

    बुटवल उपमहानगरले ऐतिहासिक किल्लालाई संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको र गुरुयोजना अनुरुपका काम अहिले धमाधम भइरहेका उपप्रमुख गोमादेवी आचार्यले बताइन् । जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरिएको छ ।

    जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरी गुरुयोजना बनाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

    नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) शुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरु तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगेपनि विवाद समाधान हुन सकेन । सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो ।

    अमरसिंह थापा (साना) का नाती २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो र जित्यो । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई वि.सं १८७२ वैशाख ७ मा विजय हासिल गरी विजय पताका फहराएको सम्झनामा बुटवल उपमहानगरले विजय उत्सव दिवस मनाउँदै आएको छ ।

    सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलकहरु र भारदारहरुले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । विग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो ।

    उजीरसिंहका सहकर्मीहरु

    सरदार सूर्य थापा, लप्टन अम्बर अधिकारी, कुम्भेदान वुशसूर थापा, जमदार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हवल्दार रणसूर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरघर नकुल बानियाँ, जुठे बस्नेतलगायतका वीर नेपालीहरु घरेलु हतियार लिएर तत्कालीन अंग्रेज सेनासँग जाइलागेका थिए ।

    उपमहानगरको योजना

    जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर लागेको बताउँदै प्रमुख सुवेदीले जितगढी नै यसक्षेत्रको पर्यटनको र इतिहासको आधार क्षेत्र बनाउने बताए । ‘सारा संसारलाई जित्दै आएको अंग्रेजले नेपालमा भने हार्नुपर्‍यो, कस्तो ठाउँ रहेछ त त्यो भन्दै अंग्रेजका कोही न कोही सन्तानहरु खोज्दै यहाँसम्म आउनेछन्’ प्रमुख सुवेदीले भने, ‘समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई सोही अनुरुप विकास गर्नुपर्ने छ ।’

    जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइएको छ भने अरु संरचना क्रमशः हटाइने छ ।

    नेपाली सेनासँगको सहकार्य

    बुटवल उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिकहरु निर्माण भइरहेको छ । किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको र सेनासँगको सहकार्य निरन्तर अगाडि बढेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् । जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माणकार्य चलिरहेको र गुरुयोजना अनुरुपकै अर्को पाटो रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

    तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य रहेको छ ।

    जितगढी नजिकैदेखि नुवाकोट गढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ भने तिनाउमा जलपर्यटनको योजना बनिरहेको छ ।

    किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, पुरानो बुटवललाई सांस्कृति सहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना रहेको छ ।