Tag: नेपाली क्रिकेट टिम

  • ज्ञानेन्द्र र सन्दीप दुवैका प्रिय दासानायके यसरी बने क्यानका अस्त्र

    ज्ञानेन्द्र र सन्दीप दुवैका प्रिय दासानायके यसरी बने क्यानका अस्त्र

    काठमाडौं । सन् २०१५ मा पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा निरन्तरता पाउने नपाउने निश्चित थिएन । नेपाल क्रिकेट संघ-क्यान निलम्बनको अवस्थामा थियो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीबाट आउने नियमित ‘फन्ड’ पनि रोकिएको थियो ।

    टी-ट्वान्टी विश्वकपमा ऐतिहासिक सहभागितासहित नेपाली क्रिकेटलाई लगातार सफलता दिलाइरहेका पुबुदुलाई नै राख्नुपर्छ भन्दै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललगायत खेलाडीहरू लविङमा उत्रिएका थिए । ‘आफूले भनेकै प्रशिक्षक नभइ हुन्न’ भन्ने अडान राखेको भन्दै पारस, ज्ञानेन्द्रहरूको आलोचनासमेत भयो । खेलाडीको कुरा सुन्दै अन्तत: सरकार आफैंले तलब व्यहोर्ने गरी पुबुदुलाई निरन्तरता दिने निर्णयमा पुग्यो । नेपाली क्रिकेटमा सरकार आफैले तलब दिने गरी प्रशिक्षक भित्र्याएको यो पहिलो घटना थियो ।

    त्यसको केही समयपछि नयाँ खेलाडीको खोजी गर्ने क्रममा पारससहित पुबुदुले सन्दीप लामिछानेलाई चितवनमा भेटेर काठमाडौं ल्याएका थिए । उनै सन्दीपले केही समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा छलाङ मारे । हङकङमा आयोजित एक व्यवसायीक क्रिकेट प्रतियोगितामा सन्दीपले अवसर पाउनुमा पुबुदुको भूमिका महत्वपूर्ण रहेको थियो ।

    त्यही अवसरमा माइकल क्लार्कसँग भएको परिचयपछि सन्दीपले अष्ट्रेलियाको यात्रा तय गरेका थिए । अष्ट्रेलियाकै यात्रामा तत्कालीन दिल्ली डेयर डेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङसँग भएको चिनजानले उनलाई इण्डियन प्रिमियर लिग-आईपीएलमा अवसर पाउन सजिलो भएको बताइन्छ ।

    खेलाडीमाथि कारबाहीपछि उत्पन्न विवादका कारण क्यान आफैं अप्ठेरो अवस्थामा फसेको थियो । सत्तारुढ दल माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्रीसम्मले निर्णय फिर्ता लिन क्यानलाई दबाब दिइरहेका थिए । यो अवस्थामा आफ्नो निर्णयको बचाऊ गर्न पुबुदुलाई अघि सार्नुभन्दा राम्रो विकल्प क्यानको लागि अर्को भएन । त्यसमा क्यान सफल पनि भएको छ । पुबुदुको काँधमा राखेर क्यानले बन्दुक चलाएको एक खेलाडी बताउँछन् ।

    सन् २०१६ मा पुबुदुले प्रशिक्षकबाट राजीनामा दिएर नेपालबाट फर्किए । यसबीचमा नेपाली क्रिकेटमा धेरै परिवर्तन भए । सबैभन्दा ठूलो उपलब्धीका रूपमा सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पायो, इतिहासमा पहिलोपटक । त्यही उपलब्धीलाई जोगाउन नेपाल यतिबे‍ला संघर्षरत छ, आईसीसी विश्वकप लिग-२ मार्फत ।

    यही अवस्थामा पुबुदु फेरि नेपाली टोलीको प्रशिक्षक बनेर फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दुई साताअघि पुबुदुलाई प्रमुखप्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसप्रति खुसी व्यक्त गर्दै पुबुदुले आफुसँग नयाँ चुनौती रहेको आशय व्यक्त गरेका थिए । फेब्रुअरीमा हुने टी-ट्वान्टी विश्वकपको विश्वस्तरको छनोट र विश्वकप लिग-२ का खेलअघि पुबुदुको नियुक्तिलाई लिएर स्वाभाविक विश्लेषणहरू हुन थालेका थिए । तर, नेपाली क्रिकेटमा अवस्था एकाएक असामान्य बन्यो ।

    क्यानले अनुशासन उल्लंघनको आरोपमा राष्ट्रिय टोलीका महत्वपूर्ण चारजना खेलाडीलाई कारबाही गर्‍यो । ज्ञानेन्द्र मल्ल कप्तानबाट र दीपेन्द्रसिंह ऐरी उपकप्तानबाट हटाइए । क्यानले त्यति मात्र निर्णय गरेन, नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेको नाम घोषणा पनि गर्‍यो । आफूलाई जिम्मेवारी दिएकोमा सन्दीपले खुसी व्यक्त गर्दै आफू कप्तानीका लागि पहिल्येदेखि तयारी गरिरहेको प्रतिक्रिया संचारमाध्यमहरूसँग दिए ।

    क्यानसँग खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टका लागि भएको ग्रेडिङमा असन्तुष्टी जनाउँदै ज्ञानेन्द्रसहित चार खेलाडीले सञ्चार माध्यमसँग बोलेको विषयमा छानबिन गर्दै क्यानले गरेको उक्त कारबाही प्रकरण असहज अवस्थामा पुगेको छ ।

    क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको नाम विहीबार सार्वजनिक गर्‍यो । त्यसमा कारबाहीमा परेका चारजना खेलाडी पनि समावेश छन् । शनिबारसम्म जम्मा हुन खेलाडीलाई निर्देशन दिइएको छ । तर, कारबाहीमा परेका खेलाडीहरू त्यसमा सहभागी हुने/नहुने निश्चित छैन । कारबाहीमा परेका एक खेलाडीका अनुसार शुक्रबारसम्म आपसमा सल्लाह गरेर कारबाहीलगायत विषयमा क्यानको आधिकारिक धारणा माग गरिनेछ र त्यसपछि अन्य निर्णय हुनेछ ।

    पुनर्विचारको मागदेखि पुबुदुको पत्रकार सम्मेलनसम्म

    आफूहरूलाई कारबाही गरेपछि ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीले संयुक्त पत्रकार सम्मेलन गर्दै खेलाडीको अधिकारका विषयमा आवाज उठाउँदा कारबाही भएको भन्दै त्यसबारे पुनर्विचार गर्न र आफूहरूले राखेका माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा बोल्दै ज्ञानेन्द्रले ‘यदी गल्ती नै गरेको भएपनि कप्तानबाटै हटाउनु पर्ने खालको कमजोरी हो त ?’ भन्दै प्रश्न गरेका थिए ।

    त्यसयता क्यानले खेलाडीसँग अनौपचारिकरूपमा सम्वाद गरिरहे पनि अन्य शर्तहरूबारे सोच्न सकिने तर कप्तानबाट हटाउने निर्णय पुनर्विचार नहुने अडान राख्दै आएको थियो । डिसेम्बर २१ देखि सुरू हुने भनिएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण प्रशिक्षक पुबुदु नआइपुगेको भन्दै क्यानले सुरू गर्न सकेको थिएन ।

    दुई दिनअघि नेपाल आइपुग‍ेका पुबुदुले विहीबार पत्रकार सम्मेलन गरे, पत्रकारसँग अन्तरक्रिया भन्दै । तर, पुबुदुको पत्रकार सम्मेलन हेर्दा स्पष्ट बुझ्न सकिन्थ्यो- खेलाडीहरूबाट व्यक्त असन्तुष्टिहरूका विषयमा क्यानले प्रशिक्षकमार्फत आफ्नो धारणा राख्दै थियो ।

    खेलाडीमाथि कारबाहीपछि उत्पन्न विवादका कारण क्यान आफैं अप्ठेरो अवस्थामा फसेको थियो । सत्तारुढ दल माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्रीसम्मले निर्णय फिर्ता लिन क्यानलाई दबाब दिइरहेका थिए । यो अवस्थामा आफ्नो निर्णयको बचाऊ गर्न पुबुदुलाई अघि सार्नुभन्दा राम्रो विकल्प क्यानको लागि अर्को भएन । त्यसमा क्यान सफल पनि भएको छ । पुबुदुको काँधमा राखेर क्यानले बन्दुक चलाएको एक खेलाडी बताउँछन् ।

    पुबुदुले पत्रकार सम्मेलनमा खेलाडी र क्यान दुवै पक्षसँग कुराकानी भएको र कप्तान फेर्ने निर्णय परिवर्तन नहुने बताए ।

    ‘क्यानले अन्य विषय हेर्न सकिने बताए पनि कप्तान परिवर्तनको निर्णय नफेरिने बताएको छ । मैले क्यानको निर्णयलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘आज वा भोलि बिहानसम्ममा बन्द प्रशिक्षणमा रहने ३० जना खेलाडीको नाम सार्वजनिक गरिने छ । खेलाडीहरू जम्मा भएपछि म अझ कुरा गर्ने छु । मलाई लाग्छ- कुनै समस्या आउने छैन ।’ सँगै उनले सन्दीप कप्तानका रूपमा पनि सफल हुने विश्वास व्यक्त गरेका छन् ।

    प्रशिक्षक नियुक्त गरिसकेको तर नेपाल नआइपुगिसकेको अवस्थामा कारबाही गरेर तत्काल अर्कोलाई कप्तान नियुक्त गरिनुले क्यानको नियतमा शंका गर्नुपर्ने अवस्था रहेको खेलाडीहरूको गुनासो थियो ।

    स्रोतका अनुसार, ज्ञानेन्द्रले आफूलाई अपमानजनक तरिकाले कप्तानबाट हटाएको भन्दै प्रशिक्षक पुबुदुसँग गुनासो गरेका थिए ।

    ‘जुन विषयमा हामीले संचारमाध्यमलाई प्रतिक्रिया दिएका थियौँ, त्यही विषयमा क्यान सच्याउन तयार हुने तर कप्तानबाट हटाउने निर्णय सच्याउन चाहीँ किन तयार नहुने ?’ज्ञानेन्द्रले पुबुदुलाई भनेका थिए ।

    उनले सुनियोजितरूपमा आफूहरूलाई हटाइएको र आफूबारे दुष्प्रचार गरेर आत्मसम्मानमा चोट पुर्‍याएको बताएका थिए । ‘मलाई मात्र होइन दीपेन्द्रलाई पनि हटाइएको छ । मलाई मात्र हटाइएको थियो भने दीपेन्द्र स्वत: कप्तान नियुक्त गर्नुपर्ने अवस्था थियो । यो त तेस्रो व्यक्तिलाई नेतृत्वमा जबर्जस्ती ल्याउन गरिएको कारबाही हो’, ज्ञानेन्द्रले गुनासो गरेका थिए ।

    प्रशिक्षक नियुक्त गरिसकेको तर नेपाल नआइपुगिसकेको अवस्थामा कारबाही गरेर तत्काल अर्कोलाई कप्तान नियुक्त गरिनुले क्यानको नियतमा शंका गर्नुपर्ने अवस्था रहेको खेलाडीहरूको गुनासो थियो ।

    स्रोतका अनुसार, कारबाहीमा परेका खेलाडीहरूले क्यानले पनि आफ्ना गल्तीहरूको महसुस गर्नुपर्ने शर्त राखेका छन् । यदी त्यसो भए के हुन्छ भन्नेबारे उनीहरूले केही बताएका छैनन् । यस्तो अवस्थामा प्रशिक्षक पुबुदुले पटकपटक दोहोर्‍याइरहेका छन्- म सबैलाई मिलाएर लैजान्छु । खेलाडीहरूले नेपाली राष्ट्रिय टोलीका रूपमा प्रदर्शन गर्नेछन् ।

  • क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान

    क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीहरूमाथि गरेको कारबाहीका कारण उत्पन्न विवादले अझै निकास पाएको छैन । खेलाडीहरूले निर्णयमा पुनर्विचारका लागि आग्रह गरिरहेको बेला क्यानमाथि राजनीतिक दबाब पनि बढेको छ ।

    क्यानले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीहरूलाई आचारसंहिता उल्लंघनको आरोपमा कारबाही गर्ने निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त भइसकेका छन् । यस्तै, चार खेलाडीहरूलाई कारबाही स्वरूप सेन्ट्रल कन्ट्राक्टबाट ६ महिना बाहिर राख्ने क्यानको निर्णय छ ।

    यो पनि पढ्नुहोस् : कान्छा कप्तान सन्दीप: ‘युथ आइकन’ को काँधमा नेपाली क्रिकेट

    क्यानको निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । लगत्तै सत्तारुढ दल माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस विषयमा ‘चासो’ राखेका थिए । देउवाले पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग चासो राखेका छन् । अर्कोतर्फ खेलकुदमन्त्रीको चासो छँदैछ । यसरी राजनीतिक तहबाट चासोमाथि चासोको घानमा परेको कान निर्णयमा पुनर्विचार गर्न बाध्य बन्ने देखिएको छ ।

    क्यानका अध्यक्ष चन्द सत्तारुढ दल नेपाली कांग्रेसका बैतडी जिल्ला सभापतिसमेत हुन् । उनी गत महिना भएको जिल्ला अधिवेशनमा शेखर कोइराला नेतृत्वको गैरसंस्थापन खेमाबाट सभापति निर्वाचित भएका थिए । यस हिसाबले उनलाई पार्टीभित्रैको पनि दबाब छ ।

    नेपाल प्रेससँग कुरा गर्दै क्यानका अध्यक्ष चन्दले खेलाडीहरूसँग आफू संवादमा रहेको बताए ।

    उनले भने, ‘अनौपचारिक कुराकानी भइरहेको छ । चाँडै निकास निस्किन्छ ।’ चन्दले थप प्रतिक्रिया दिन चाहेनन् ।

    क्यान सुरूमा कारबाहीको निर्णयमा अडिग थियो । कुनै पनि हालतमा निर्णयमा पुनर्विचार नगर्ने भने पनि राजनीतिक दबाबकै कारण खेलाडीसँग संवादका लागि चन्द तयार भएका हुन् । कारबाहीमा परेका चार खेलाडीले दुई दिनअघि पत्रकार सम्मेलन गर्दै निर्णयमा पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका थिए ।

    खेलकुदमन्त्रीको मध्यस्थता प्रयास

    खेलकुदमन्त्री महेश्वरजंग गहतराजले क्यान र खेलाडीबीचको विवाद समाधानका लागि पहल अगाडि बढाएका छन् । उनले अस्ति क्यानका पदाधिकारीसँग र हिजो खेलाडीहरूसँग भेटेर कुराकानी गरेका थिए ।

    मन्त्री गहतराज दुवै पक्षबीच समझदारीका लागि आफूले मध्यस्थ भूमिका निभाइरहेको बताउँछन् । यसलाई राजनीतिक हस्तक्षेप भन्न नमिल्ने उनको तर्क छ ।

    उनले नेपाल प्रेससँग भने, ‘देशका लागि समर्पित भएर खेल्ने खेलाडीहरूमाथि यसरी कारबाही गर्नु ठीक भएन भनेर मैले भनेको छु । क्यानका अध्यक्षले सकारात्मक जवाफ दिनुभएको छ । सम्भवतः चाँडै निकास निस्कने छ ।’

    विभागीय मन्त्रीको हिसाबले क्रिकेट विवादलाई समाधानतर्फ लैजानु आफ्नो दायित्व भएको उनले बताए ।

    यो पनि पढ्नुहोस् : क्यानको कारबाहीले क्रिकेट टिममा हलचल, सन्दीपसँग खेलाडीहरुको ‘कोल्ड वार’

    मन्त्री गहतराजले भने, ‘अरुको विषयमा मलाई थाहा भएन । तर, मैले दवावका रुपमा भन्दा पनि सुझावका रूपमा भनेको हुँ । खेलाडीहरूमाथि गरिएको कारबाहीलाई जनस्तरमा पनि राम्रो मानिएको छैन । यसर्थ कारबाहीमा पुनर्विचार गर्नुपर्छ भन्ने नै हो ।’

    खेलाडीहरूले पनि आफ्नो अनुशासनमा बस्नुपर्ने र धेरै मिडियावाजीमा उत्रिन नहुने गहतराज बताउँछन् ।

    ‘यो कुरा मैले उहाँहरूलाई भेटेर सम्झाएको छु । सबैले मिलेर विवाद समाधान गरौं भन्ने प्रयास हो,’ उनले भने । खेलाडीहरूबाट अनुशासन उल्लंघनको गम्भीर विषय आफूले नपाएको गहतराजले बताए ।

    बीचको बाटो खोजी

    यतिबेला विवाद समाधानका लागि सर्प पनि मर्ने र लाठी पनि नभाँचिने बीचको बाटो आवश्यक देखिएको छ । खेलाडीहरूको आत्मसम्मानमा चोट नपुग्ने र क्यानको प्रतिष्ठामा पनि आँच नआउने गरी ‘विन-विन’ को समाधान के हुन सक्छ ?

    यदि क्यानले ज्ञानेन्द्रलाई कप्तानबाट हटाउने मात्रै निर्णय लिएर नयाँ कप्तान नतोकेको भए उसलाई निर्णयबाट ब्याक हुन खासै समस्या हुने थिएन । तर, सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेर यसको जानकारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्म पुगिसकेको छ । त्यसैले अब सन्दीपलाई दिएको कप्तानी खोसेर फेरि ज्ञानेन्द्रलाई सुम्पिन जटिलता छ । यसले अस्थिरता निम्त्याउने मात्रै होइन, आईसीसीबाट क्यानमाथि नै कारबाहीको खतरा समेत उत्पन्न हुन सक्छ ।

    यसअघि क्यानले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेपकै कारण लामो समय निलम्बनमा राखेको थियो । यदि अहिले पनि राजनीतिक दवावमा निर्णय फिर्ता लिन बाध्य पारिएको खण्डमा आईसीसीले झन् कडा कदम चाल्न सक्ने क्यानका पदाधिकारी बताइरहेका छन् ।

    क्यान अहिले कप्तान परिवर्तनको निर्णय यथावत राखेर चार खेलाडीहरूलाई ‘सेन्ट्रल कन्ट्राक्ट’ बाट बाहिर राख्ने निर्णय फिर्ता लिन सकारात्मक रहेको स्रोतले दाबी गरेको छ । यसैलाई ‘विन विन’ को समाधानका रुपमा व्याख्या गरिएको हो । सेन्ट्रल कन्ट्राक्टमा पुनः समेटिएपछि खेलाडीहरूले राष्ट्रिय टिमबाट आत्मसम्मानपूर्वक खेल्न सक्नेछन् ।

    बन्द प्रशिक्षण रोकियो

    क्यान र खेलाडीहरूबीचको विवादका कारण आजबाट सुरू हुने भनिएको खेलाडीहरूको बन्द प्रशिक्षण रोकिएको छ । पोखरामा गर्ने भनिएको बन्दसत्र कहिलेबाट सुरु हुन्छ भन्ने औपचारिक जानकारी क्यानले दिएको छैन ।

    नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेके नआइपुगेकाले बन्द प्रशिक्षण हुन नसकेको क्यानको दावी छ । यद्यपि, प्रशिक्षक नहुँदैमा बन्द प्रशिक्षण सामान्यतया रोकिँदैन । नेपालले आगामी फेब्रुअरीमा टी-२० विश्वकपछि र विश्व क्रिकेट लिग-२ खेल्नुपर्ने भएकाले बन्द प्रशिक्षण सुरू गर्न ढिला भइसकेको छ ।

  • उपकप्तान सीताको अर्धशतकमा नेपालद्वारा कतारलाई १६५ रनको लक्ष्य

    उपकप्तान सीताको अर्धशतकमा नेपालद्वारा कतारलाई १६५ रनको लक्ष्य

    काठमाडौं । उपकप्तान सीता रानामगरको अर्धशतक प्रेरित टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तगर्त कतारविरुद्धको अन्तिम खेलमा नेपालले कतारलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले ३ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार पारेको हो ।

    नेपालका लागि ओपनिङमा आएकी सीताले ७२ बलमा अविजित ८२ रन जोडिन् । टस जितेर ब्याटिङ रोजेको नेपालका लागि काजल श्रेष्ठ ७ तथा ज्योति पाण्डे २४ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै, डोली भट्टले १२ तथा सरिता मगरले अविजित १७ रन जोडिन् ।

    कतारका लागि एन्जेलिन मेर र साची डडुवाल र आयसाले १/१ विकेट लिएका छन् । यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

    आईसीसी विश्वपको एसियाली छनोटको तयारीका लागि मिडिल इस्ट भ्रमणमा रहेको नेपाल भोलि उतैबाट युएई जानेछ ।

  • नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेटको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेस गरेको नेपालले शनिबार नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको थियो ।

    आइतबार बिहान ट्वीटमार्फट प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् ।

    ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’, ओलीले लेखेका छन् ।