Tag: नेपाली

  • तालीवानीले काबुल कब्जा गरेको देखेर फर्किएका नेपाली

    तालीवानीले काबुल कब्जा गरेको देखेर फर्किएका नेपाली

    काठमाडौं । ‘अब बाँचियो’ सात वर्षदेखि अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डमा कार्यरत धरानका विशाल राईले मंगलबार नेपाल उत्रनेबित्तिकै लामो स्वास लिँदै भने, ‘अफगानमा मर्ने–बाँच्ने ठेगान थिएन, अब चाहिँ बाँच्ने आश पलाएको छ ।’

    अफगानिस्तान तालीवानी लडाकुले कब्जा गरेपछि अमेरिकाले उद्दार गरी नेपाल ल्याइएका ११८ नेपालीको मुहारमा विशालको जस्तै भाव झल्कन्थ्यो– धन्न बाँचियो !

    अफगानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले नै मंगलबार बिहान नेपाल ल्याएको हो ।

    उनीहरु सञ्चारकर्मीसँग बोल्न पनि खासै मन गरिरहेका थिएनन् । तर उनीहरुको मलिनताबीच उनीहरुको अनुहारमा थोरै आश र खुसी मिसिएको देखिन्थ्यो ।

    द्वन्द्वग्रस्त अफगानिस्तानबाट मंगलबार बिहान १० बजे नेपाल ल्याइएका नेपालीलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको थियो । दृश्य देख्दा लाग्थ्यो, मानौं नेपाली सुरक्षाकर्मीले नै अफगानिस्तानमा कार्यरत नेपालीको उद्दार गरेको हो ।

    सुरक्षामा तैनाथ एक सेनाका अधिकारी भन्दै थिए– एक जना पनि ‘मिसप्लेस’ होला नि ! ठूलो इस्यू बन्छ ।

    विमानस्थलमा उत्रनेबित्तिकै नेपाली सेनाले उनीहरुलाई धमाधम गाडीमा राख्यो । र प्रतीक्षारत सञ्चारकर्मीलाई भन्यो– केही सोध्न पर्ने भए सामाखुसीस्थित राधास्वामी कोभिड आइशोलेसनमा आउनू ।

    सामाखुसीस्थित राधेराधे आइशोलसन, जहाँ सेनाले कोरोना परीक्षण र खोप लगाउने काम गर्दै आएको छ ।

    सामाखुसीस्थित राधेराधे आइशोलेसनमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको भीड थियो । भीड पन्छाउँदै अफगानिस्तानबाट ल्याइएका नेपालीलाई आइशोलेसनभित्र छिराइयो ।

    त्यहींबीचमा थोरै कुरा गर्दै राइले भने, ‘काबुल बाहिरका प्रान्तमा पनि नेपाली छन् भन्ने सुनिएको छ । उनीहरुको अवस्था हामीलाई थाहा छैन । हामी अमेरिकाको संरक्षणमा भएकाले खासै अफ्ठेरो भएन ।’

    उनको भनाइअनुसार अन्य देशका मानिसलाई तालिबानले कुनै अफ्ठेरो पारेको थिएन् । ‘आ–आफ्नो देश जाऊ भनिरहेका थिए तालिबानले’, उनी भन्छन्, ‘काबुल अवस्था उस्तै छ, तर त्यहाँका मानिस निकै डराएका छन् ।’

    अफगानिस्तानबाट उद्दरा गरिएका अर्का नेपाली थिए, सुरेश राना । उनी पाँच वर्षदेखि अफगानिस्तानमा कार्यरत थिए । अहिले नेपाल आइपुग्दा उनको अनुहारमा पनि खुसी छाएको छ ।

    काबुलमा नेपालीको अवस्था नराम्रो नभए पनि देशको अवस्था भने डरलाग्दो भएको उनको भनाइ थियो । ‘काबुलमा जताततै हतियारधारी तालिवान देखिन्थे तर, भीडन्त भने गरेका थिएनन्’, उनी भन्छन् ।

    अर्का प्रेमबहादुर पुनको अवस्था पनि अरुको भन्दा भिन्न थिएन । तर, अफगानिस्तानमा नेपाली अमेरिकी राजदूताबासमा कडा सुरक्षाको घेरामा भएकाले डराउनु पर्ने अवस्था नरहेको उनले बताए । ‘अमेरिकी पनि हाम्रो भरमा र हामी पनि उनीहरुकै भरमा थियौं,’ उनले भने ।

  • साउदीमा रहेका नेपाली कामदार ट्रान्जिट हुँदै स्वदेश आउन सक्ने

    साउदीमा रहेका नेपाली कामदार ट्रान्जिट हुँदै स्वदेश आउन सक्ने

    काठमाडौं । साउदी अरबमा रहेका नेपाली कतार वा टर्कीमा ट्रान्जिटमार्फत  नेपाल आउन सक्ने रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । नेपाल सरकारले कतार र टर्कीका लागि गत बिहीबारबाट उडान भर्ने अनुमति दिएको छ ।

    साउदीमा रहेका नेपाली कामदारले नेपाल फर्किनेबारे चासो राखेको भन्दै दूतावासले साउदीबाट सोझै नेपाल जाने उडान खोल्नका लागि अझै कुनै निर्णय भइनसकेकाले कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्समार्फत ट्रान्जिट मिलाएर जान सकिने छ ।’

    साथै दूतावासले नेपाल जान चाहनेले टिकटका लागि सम्बन्धित एयरलाइन्स र ट्राभल एजेन्सीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

  • नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

    नेपालमा कोरोनासँग जुध्न बेलायतमा रहेका नेपाली एकजुट

    बेलायत । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ । एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपालीमूलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिबीच गम्भीर छलफल भएको छ ।

    उक्त छलफल खासगरी नेपालमा बेलायतबाट के-कस्तो सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको अध्यक्ष गुरुङले बताए । बेलायतमा धेरै नेपाली सङ्घसंस्था रहेको र ती संस्थाले एकमुष्ट सहयोग गर्न सके नेपालमा केही राहत हुने देखिएकाले अब छिट्टै सबै नेपाली समुदायलाई एकजुट गराई सकेको सहयोग गरिने गैरआवासीय नेपाली युकेका महासचिव फणिन्द्र भट्टराईले बताए ।

    यसका साथै बेलायतको राजनीतिमा बढ्दै गइरहेका नेपालीमूलका नेपालीको पहुँच र पहलबाट पनि नेपालमा थप केही सहयोग हुने भएकाले नेपालीमूलका स्थानीय जनप्रतिनिको समेत बैठकमा उपस्थिति रहेको गैरआवासीय नेपाली युकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरूङले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायत सरकारसँग नेपाल सरकारको प्रतिनिधिका रूपमा आफूले कोरोनाको खोपको माग गरिसकेको र उच्च तहबाट सकारात्मक प्रतिक्रिया आएको बताए । बेलायतको नेपाली समुदायबाट आइसीयू, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, टेस्ट कीटजस्ता अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन सके प्रभावकारी हुने राजदूत रेग्मीको भनाइ थियो । साथै यहाँको नेपाली समुदायले गरेको सहयोग सम्बन्धित ठाउँमा पुर्‍याउन दूतावास सदैव तयार रहेकोसमेत उनले बताए ।

    कार्यक्रममा एनआरएनए युके पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डम्मर घले, संरक्षक सूर्य गुरुङ, संरक्षक तथा आइसीसी सल्लाहकार कुल आचार्य र निर्वतमान अध्यक्ष योगकुमार फगामीले दूतावास र एनआरएन मिलेर नेपालको सहयोगमा जुटाए राम्रो हुने बताए । कार्यक्रममा बेलायतमा नवनियुक्त एवं पूर्वकाउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा. जगन्नाथ शर्मा प्रवेश केसी, नवीन सेवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष गुरुङ र नवनिर्वाचित मेयर विष्णुबहादुर गुरुङले आ-आफ्नो धारणा राखेका थिए ।