Tag: नेपालविरुद्ध माल्दिभ्स

  • अविस्मरणीय जितको हिरो- मनिष डाँगी

    अविस्मरणीय जितको हिरो- मनिष डाँगी

    काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले साविक विजेतालाई उसकै मैदानमा पराजित गर्दै ‘ड्रिम-स्टार्ट’ गरेको छ । शुक्रबार राति भएको खेलमा घरेलु समर्थकअघि माल्दिभ्सलाई उसैको मैदानमा पराजित गर्दा नेपालका लागि नायक बनेका थिए- मनिष डाँगी ।

    सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको ८६औं मिनेटमा मनिषले गोल गर्दै नेपालका लागि २२ वर्षपछि माल्दिभ्सविरुद्ध जित सुनिश्चित गरेका थिए । र, जितका नायक बनेका थिए ।

    नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि जितको हिरो मनिष भएको प्रतिक्रिया दिए ।

    ‘हामी जितको हकदार थियौं, हामीले राम्रो फुटबल खेलेका थियौं,’ उनले भने, ‘उनीहरूले केही मौका गुमाएका थिए, हामीले पनि केही मौका गुमायौं । तर, आजको जितको हिरो मनिष हो ।’

    सन् १९९९ को साग गेम्समा माल्दिभ्सलाई अन्तिम पटक पराजित गरेको नेपालले २२ वर्षपछि दक्षिण एसियाली पावर हाउसलाई पराजित गर्न सफल भएको हो ।

    खराब इतिहास बोकेको नेपाली टोलीले माल्दिभ्सविरुद्ध जित महत्त्वपूर्ण भए पनि प्रशिक्षक अब्दुल्लाहले नेपालले उपाधि नै जितिनसकेको सम्झाएका छन् ।

    ‘हामीले उपाधि नै जितिसकेका होइनौं,’ उनले भने, ‘संयमित हुनु जरुरी छ, हाम्रो ध्यान अर्को खेलमा हुनेछ । नेपालमा भएका सबै समर्थकलाई शान्द रहन आग्रह गर्छु ।’

    नेपालले सोमबार श्रीलंकाविरुद्ध प्रतियोगितामा दोस्रो खेल खेल्ने छ । पाँच टोली सहभागी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    दुई दिनअघि मात्रै आफ्ना काकालाई गुमाएका प्रशिक्षक अब्दुल्लाहले यो जित उनीप्रति समर्पितसमेत गरेका छन् ।

  • साफ च्याम्पियनसिप: मनिषको गोलमा नेपालको विजयी सुरुआत

    साफ च्याम्पियनसिप: मनिषको गोलमा नेपालको विजयी सुरुआत

    काठमाडौं । मनिष डाँगीको निर्णायक गोलप्रेरित नेपालले आजदेखि सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

    माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको ८६औं मिनेटमा नेपालका लागि सब्स्टिच्युट खेलाडी मनिषले काउन्टर अट्याकमा गोल गरेका थिए ।

    माल्दिभ्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले सुरुआतदेखि नै गोलका लागि निरन्तर प्रयास गरेका थिए । तर, निर्धारित ९० मिनेटको खेल सकिन ३ मिनेट बाँकी रहँदा नेपालका मनिषले गरेको गोल खेलको निर्णायक बन्यो ।

    जितसँगै साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुग्ने नेपालको लक्ष्यको शानदार सुरुआत भएको छ । घरेलु समर्थकले भरिएको रंगशालमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई पराजित गर्नुले नेपाली टोलीको हौसला स्वत: बढ्ने छ ।

    राउन्ड रोबिन पद्दतिमा जारी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सोमबार राति ९:४५ बजे श्रीलंकाको सामना गर्नेछ ।