Tag: नेदरल्यान्ड्स

  • रोबिनले लिए फुटबलबाट सन्यास

    रोबिनले लिए फुटबलबाट सन्यास

    काठमाडौं । बार्यन म्युनिख तथा चेल्सीका पूर्व–स्टार आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन् । नेदरल्यान्ड्सका रोबिनले ३७ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् ।

    ‘प्रिय फुटबलप्रेमीहरू, मैले मेरो सक्रिय खेल जीवन यहीँ रोक्ने निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘यो एकदमै कठिन निर्णय थियो । हार्दिक समर्थनका लागि सबैलाई धन्यवाद् दिन चाहन्छु ।’

  • युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा

    युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा

    काठमाडौं । नेदरल्यान्ड्सलाई २-० गोलको नतिजामा पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

    आइतबार अन्तिम १६ अन्तर्गत हंगेरीको बुडापेस्टमा भएको खेलमा १० जना खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्‍वार्टरफाइनल यात्रा तय गरेको हो ।

    पहिलो हाफदेखि नै नेदरल्यान्ड्समाथि निरन्तर दबाब बनाएको चेक टोलीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

    नेदरल्यान्ड्सका भरपर्दा डिफेन्डर म्याथिस डी लाइटले चेक टोलीको गोल गर्ने मौकामा जानेरै हातले बल तानेपछि भिडियो असिस्टेन्ट रेफ्रीले रातो कार्डका लागि पहल गरेका थिए ।

    भिडियो असिस्टेन्ट रेफ्रीको सुझावसँगै साइड स्क्रिनमा रिप्ले हेरेका रुसी रेफ्री सर्जेइ कारासेभले डी लाइटलाई रातो कार्ड देखाएका थिए ।

    डी लाइटले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेपछि डच टोली १० जनामा सीमित भएको थियो ।

    दश जनामा सीमित भएको नेदरल्यान्ड्समाथि प्रभुत्व जमाएको चेक गणतन्त्रले मिडफिल्डर थोमस होलेसले ६८औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको थियो ।

    एक जना खेलाडीको घाटा बेहोरेको डच रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको चेक टोलीका लागि उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले दोस्रो गोल गरे । शिकले ८०औं मिनेटमा गरेको गोलसँगै २-० ले पछि परेको नेदरल्यान्ड्सले खेलमा पुनरागमन गर्न नसक्दा घर फर्कनु परेको हो ।

    सन् २०१४ को विश्वकपपछि पहिलो पटक ठूला प्रतियोगितामा स्थान बनाएको डच टोलीले समूह चरणका तीनै खेलमा जित हासिल गरेको थियो ।

    चेक टोलीले क्‍वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्क शनिबार भएको प्रि-क्‍वार्टरफाइनलमा वेल्सलाई ४-० को नतिजामा पराजित गर्दै अन्तिम ८ मा पुगिसकेको छ ।

  • ‘डार्क हर्स’देखि बज्रपातसम्म- टर्कीको निराशाजनक युरो २०२०

    ‘डार्क हर्स’देखि बज्रपातसम्म- टर्कीको निराशाजनक युरो २०२०

    ‘मेरालागि प्रतियोगिताको हट केक टर्की हो । धेरै मान्छेले टर्कीले राम्रो खेल्छ भन्ने अपेक्षा गरेका छैनन्। तर, उनीहरूको टोली राम्रो छ,’ बिबिसीका फुटबल पन्डित एस्ली विलियम्सले युरो २०२० सुरु हुनुअघि यस्तो अनुमान गरेका थिए ।

    वेल्सका पूर्व डिफेन्डर विलियम्सले मात्रै सेनोल गुनेसको नेतृत्वको टर्की प्रतियोगितामा ‘डार्क हर्स’ बन्ने अनुमान गरेका थिएनन् । अन्य धेरैले ठूला टोलीका लागि टाउको दुखाईको कारण टर्की बन्ने अनुमान गरेका थिए ।

    तर, प्रतियोगिताको पहिलो चरणबाटै अंकविहीन रहँदै बाहिरिएपछि टर्की ती सबै अनुमानका बाबजुद टर्किस साइड पुग्ने भनेको घर मात्रै भएको छ ।

    युरोपियन च्याम्पियनसिपमा पाँचौ खराब प्रदर्शन

    आइतबार समूह एको अन्तिम चरणअन्तर्गत अजरबैजानको बाकुमा स्वीट्जरल्यान्डसँग ३-१ को पराजय भोगेसँगै टर्कीको भाग्य निर्धारण गर्‍यो । त्यो पछिल्ला तीन खेलमा बेहोरेको तेस्रो हार थियो । प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग ३-० गोलको नतिजामा हारेको टर्कीमाथि दोस्रो खेलमा वेल्सले २-० को जित निकालेको थियो ।

    त्यो टर्किस टोलीका लागि श्रृंखलाबद्ध हार मात्रै होइन ‘ह्युमिलेसन’ थियो ।

    प्रतियोगितामा टर्किस टोलीका लागि सम्झनलायक एक मात्र क्षण- इफ्रान क्यान खभेचीकोले गरेको गोल रह्यो । उनले लामो दूरीबाट उत्कृष्ट गोल गरेका थिए ।

    युरोपियन च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म पाँच टोली अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् । र, टर्कीको यो पटकको युरो यात्रा इतिहासकै पाँचौं खराब यात्रा रह्यो ।

    ‘यो प्रतियोगितामा स्वीकार्य नहुने प्रदर्शन’

    टर्कीले प्रतियोगितामा गरेको प्रदर्शनको सम्पूर्ण जिम्मेवारी प्रशिक्षक गुनेसले लिएका छन् । र, उनले अन्य कुराहरूले पनि त्यसमा रोल खेलेको प्रतिक्रिया दिए ।

    ‘म यसका लागि जिम्मेवार छु,’ उनले भने, ‘खेलाडी र व्यक्तिगत रूपमा भएका गल्ती पनि यसका कारण बने । प्रतियोगिता अगाडि हामी फाइनल पुग्ने आंकलन भएको थियो । तर, अहिले कठोर आलोचना हुँदैछ ।’

    ‘म अहिले राजीनामा दिने सोचमा छैन । असफलताको बिल त तिरिनुपर्छ । तर, मिडिया, मेनेजमेन्ट र प्रशिक्षण टोली पनि यो असफलताका लागि जिम्मेवार हुनुपर्छ ।’

    ‘यो युवा टोली टर्किस फुटबलमा १० वर्ष जम्ने छ, तर यो लेभलको प्रतियोगितामा यस्तो प्रदर्शन स्वीकार्य हुँदैन ।’

    यस्तो हुने अनुमान थिएन

    प्रभावशाली छनोट चरणपछि टर्कीले प्रतियोगितामा सम्भावित ‘डार्क हर्स’को उपमा कमाएको थियो । यसअघिको भन्दा क्षमतावान् र युवा टोली भएकाले प्रतियोगितामा टर्कीले लामो यात्रा तय गर्ने अनुमान धेरै भएका थिए । र, अजरबैजानमा भएका दुई खेलमा समर्थकको उपस्थिति पनि अन्य टोलीका लागि भारी पर्न सक्थ्यो ।

    यद्यपि, कोरोना भाइरसका कारण एक वर्ष ढिलो भएको युरो २०२० टर्कीका लागि एकदमै बिर्सनलायक रह्यो ।

    प्रतियोगिताको छनोटमा टर्कीले मात्रै तीन गोल खाएको थियो । ती कुनै पनि गोल ओपेन प्लेबाट खाएको थिएन । तर, त्यो फर्ममा रहेर युरो २०२० मा छनोट भएको टर्किस टोली एक वर्ष ढिलो भएको प्रतियोगिताका प्राय सबै खेलमा त्यति गोल खायो ।

    पछिल्लो समय टर्कीले युरो खेल्दा प्राय खेलाडी राष्ट्रिय स्तरमै खेलिरहेका थिए । तर, यो वर्ष युरोपेली फुटबलका प्रतिष्ठित लिगमा खेलिरहेका खेलाडीको बाहुल्यता थियो । त्यसमा पनि टर्किस टोलीका तीन खेलाडी यसै वर्ष लिलेबाट फ्रेन्च लिगवान् च्याम्पियन बनेका थिए । लिलेले यसै वर्ष लिग जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका स्ट्राइकर बुराक यिलमाज, विङ्गर युसुफ याजिसी र राइट-ब्याक जेकी सिलिक टर्किस टोली थिए ।

    तर, युरो २०२० को सुरुआती-११ मा परेका चार खेलाडीले गत मे महिनामा मात्र राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । छनोट चरणका सर्वाधिक गोलकर्ता सेन्क टोसुन चोटका कारण टोलीमा अनुपस्थित रहनु टर्कीका लागि ठूलो घाटा सावित भयो ।

    ‘यो टर्कीस टोलीका लागि ठूलो परीक्षा थियो । तर, कहिले कहीँ असफलताले त्यस्तो पाठ पढाउँछ, जुन पाठ सफलताले पढाउन सक्दैन,’ प्रशिक्षक गुनेस भन्छन् ।

    ‘जब अपेक्षा धेरै हुन्छ, तब निराशा पनि धेरै हुन्छ,’ युभेन्टस तथा टर्कीस डिफेन्डरले मेरिये डेमिरलले भने, ‘हामी भविष्यमा अन्य प्रतियोगितामा उपस्थित भएर हामी के गर्न सक्छौं भन्ने देखाउने छौं ।’

    ‘हामी युवा टोली छौं, हामीसँग प्रगति गर्न मौका छ । म मेरो देशसँग माफी माग्छु । म मेरा साथीहरूलाई विश्वास गर्छु, हामीले यो अनुभवबाट धेरै सिकेका छौं ।’

  • नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

    नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

    काठमाडौं । एक खेल अगावै नक आउटमा स्थान बनाएको नेदरल्यान्ड्सले सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ मेसिडोनियालाई ३-० ले पराजित गर्दै युरो २०२० को पहिलो चरणमा सतप्रतिशत नतिजा निकालेको छ ।

    आम्सटरड्याममा भएको खेलको २४औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले अगाडि रहेको डच टोलीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । नेदरल्यान्ड्सका लागि ५१औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका विनाल्डमले ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

    उनको दोस्रो गोलसँगै बनाएको ३-० को अग्रताको बचाऊ गर्दै नेदरल्यान्ड्सले सहज जित दर्ता गर्‍यो । जितसँगै पहिलो चरणबाट नेदरल्यान्ड्स समूह विजेता बन्दै नक आउटमा पुगेको छ ।

  • नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    काठमाडौं । नर्थ मेसिडोनियाका भेटेरान कप्तान गोरान पान्डेभले युरो २०२० पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पहिलो पटक युरो २०२० मा छनोट भएको नर्थ मेसिडोनियाले युरो २०२० को अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

    ‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल हुनेछ । मलाई लाग्छ- गुडबाइ भन्नका लागि यो उचित समय हो,’ ३७ वर्षीय पान्डेभले नेदरल्यान्ड्सविरुद्धको खेलको अघिल्लो रात भनेका छन् ।

    ‘यो पुस्ता विश्वकपका लागि छनोट हुनेमा म विश्वस्त छु,’ उनले भने, ‘उनीहरूले नर्थ मेसिडोनियाली नागरिकका मुहारमा धेरै खुशी ल्याएका छन् । र, उनीहरू राम्रा क्लबहरूमा खेलिरहेका सक्षम खेलाडी छन् । र, मलाई लाग्छ उनीहरू विश्वकप फुटलब खेल्न हकदार छन् ।’

    इटालियन फुटबलमा आफ्नो करियरको सबैभन्दा धेरै समय बिताएका पान्डेभले २००१ मा नर्थ मेसिडोनियाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । दुई दशक अन्तर्राष्ट्रिय फुटबलमा नर्थ मेसिडोनियाको प्रतिनिधित्व गरेका उनले आफ्नै नेतृत्वमा पहिलो पटक देशलाई ठूला प्रतियोगितामा छनोट गराएका हुन् ।

    गत नोभेम्बरमा जर्जियाविरुद्ध पान्डेभले गरेको गोलले नै नर्थ मेसिडोनियालाई युरो २०२० मा छनोट गराएको थियो । र, यो नै नर्थ मेसिडोनियाले खेलेको पहिलो प्रतियोगिता हो ।

    इटालियन साइड गेनोआका फरवार्ड पान्डेभले विश्वकप छनोटअन्तर्गत जर्मनीविरुद्धको अप्रत्याशित २-१ को जितमा पनि गोल गरेका थिए ।

    पान्डेभले युरो २०२० को पहिलो खेलमा अस्ट्रियाविरुद्ध ३-१ को पराजय बेहोर्दा नर्थ मेसिडोनियाका लागि ठूला प्रतियोगितामा पहिलो गोल गर्ने खेलाडी पनि बनेका थिए । उनी युरोपियन च्याम्पियनसिपको इतिहासमै गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरको खेलाडी पनि बने ।

    युरो २०२० को दोस्रो खेलमा युक्रेनसँग २-१ गोलको नतिजामा पराजित भएसँगै नर्थ मेसिडोनियाले समूह सी पार गरेर नकआउटमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । सोमबार राति नेपाली समयअनुसार ९:४५ बजे सुरु हुने नेदरल्यान्ड्सविरुद्धको खेल पान्डेभका लागि अन्तिम खेल हुनेछ ।

  • नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

    नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

    काठमाडौं । युरो २०२० को समूह सीअन्तर्गत सोमबार हुने नर्थ मेसिडोनियाविरुद्धको खेलमा रायन ग्राभेनबर्चले नेदरल्यान्ड्सको सुरुआती-११ मा स्थान बनाउने सम्भावना देखिएको छ । गत सिजन आयाक्सबाट एर्डिभिजीमा २३ खेल खेलेका सेन्ट्रल मिडफिल्डर रायनले तीन गोल र पाँच असिस्ट गरेका थिए ।

    उदीयमान खेलाडीको रूपमा हेरिएका रायनले युरो २०२० मा नेदरल्यान्ड्सले खेलेका सुरआती दुई खेलमा मौका पाएका छैनन । डच सिनियर टोलीमा पहिलो पटक गत मार्चमा बोलाइएका १९ वर्षीय रायनले युरो २०२० को टोलीमा पनि स्थान सुरक्षित गरेका थिए ।

    यद्यपि, युरो २०२० समूह चरणको पहिलो खेलमा युक्रेनविरुद्ध बेन्चमै सीमित भएका रायनले अस्ट्रियाविरुद्धको दोस्रो खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा १६ मिनेट मौका पाए ।

    सुरुआती दुई खेलमा जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गरिसकेको डच टोलीबाट आजको खेलमा उनले मौका पाउने लगभग निश्चित छ । एनओएसको रिपोर्टअनुसार रायनले आजको खेलमा मौका पाउने छन् ।

    आजको खेलमा मौका पाएर प्रशिक्षकको अपेक्षाअनुसार प्रदर्शन गर्नसके उनले प्रि-क्वार्टरफाइनलमा पनि स्थान बनाउन सक्नेछन् । नेदरल्यान्ड्सले अन्तिम-१६ मा समूह डी, ई वा एफमध्ये एक समूहको तेस्रो हुने टोलीसँग खेल्नेछ ।

    नेदरल्यान्ड्सले मेसिडोनियासँग सोमबार राति ९:४५ बजे खेल्दै छ ।

  • डिपे बार्सिलोना जाने निश्चित

    डिपे बार्सिलोना जाने निश्चित

    काठमाडौं । डच फरवार्ड मेम्फिस डिपे स्पेनिस हेभिवेट बार्सिलोना जाने निश्चित भएको छ । सन् २०१७ मा म्यानचेस्टर युनाइटेडबाट फ्रेन्च साइड लियोन पुगेका डिपे अहिले युरो २०२० मा नेदरल्यान्ड्सको प्रतिनिधित्व गरिरहेका छन् ।

    फ्रान्समा ४ वर्ष बिताएका डिपेको लियोनसँगको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । लियोनसँगको सम्झौता सकिएसँगै उनले बार्सिलोनासँग सम्झौता गर्नेछन् ।

    बार्सिलोनाले एक वक्तव्य जारी गर्दै ‘बार्सिलोना र डिपेबीच सम्झौता भएको छ । र, उनले लियोनसँगको सम्झौता सकिएसँगै बार्सिलोनासँग जोडिने छन् । उनले २०२२/२३ को सिजन समाप्तिसम्मका लागि सम्झौतामा हस्ताक्षर गर्ने निर्णय भएको,’ बताएको छ ।

    डिपे बार्सिलोनाले पछिल्लो समय पैसा खर्च नगरी भित्र्याएका तेस्रो खेलाडी हुन् । स्पेनिस हेभिवेटले यसअघि नै म्यानचेस्टर सिटीबाट दुई खेलाडी- सर्जियो अग्वेरो र एरिक गर्सियालाई क्लबमा भित्र्याइसकेको छ ।

  • नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

    नेदरल्याण्ड्स १२ वर्षपछि युरोको नकआउट चरणमा

    एजेन्सी । लगातार जितपछि नेदरल्याण्ड्सले युरो २०२० को समूह सी बाट नकआउट चरणमा प्रवेश पाएको छ । समूहको दोस्रो खेलमा आम्स्टर्डमस्थित याहान क्रुएफ एरिनामा डच टोलीले अस्ट्रियालाई २–० गोलले हरायो ।

    फ्र्याक डी बोर प्रशिक्षित नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो । अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार समर्थकलाई रंगशाला प्रवेश दिइएको थियो ।

    खेलको सुरुआती समयमै पेनाल्टी गोलमार्फत नेदरल्याण्ड्सले अग्रता बनाएको थियो । अस्ट्रियाका डेभिड अलावाले डच विङगर डेन्जल डम्पफ्राइजलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा मेम्फिस डिपेले सहजै गोल गरे ।

    दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनलाई निरन्तर राख्दै डम्पफ्राइजले नै नेदरल्याण्ड्सका लागि दोस्रो गोल गर्न सफल रहे ।

    पछिल्लो दुई संस्करणमा नकआउट चरण पुग्न नसकेको नेदरल्याण्ड्स सन् २००८ सिन पहिलोपल्ट अन्तिम १६ मा छनोट भएको छ ।

    यता अस्ट्रियाले नर्थ मासेडोनियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । नकआउट चरणमा प्रदेश निश्चितताका लागि उसले अन्तिम खेलमा युक्रेनलाई हराउने लक्ष्य राख्नेछ ।

  • युक्रेनविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित

    युक्रेनविरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित

    काठमाडौं । डेन्जेल डम्फ्रिजको निर्णायक गोलप्रेरित नेदरल्यान्ड्सले युरो २०२० को समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा युक्रेनविरुद्ध ३-२ को रोमाञ्चक जित हासिल गरेको छ ।

    नेदरल्यान्ड्सकै आम्सटरड्याममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर, दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सफल भए ।

    कप्तान जर्जिनियो विनाल्डमले ५२औं मिनेटमा गरेको गोलसँगै डच टोलीले अग्रता लिएको थियो । त्यसको ८ मिनेट नबित्दै वाउट वेघोर्स्टले गोल गरेर नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेका थिए ।

    खेलमा फर्किन निरन्तर प्रयासरत युक्रेनका लागि एन्ड्री यार्मोलेन्कोले ७५औं मिनेटमा पहिलो गोल फर्काएका थिए । त्यसको ४ मिनेट नबित्दै रोमन यारेमचुको युक्रेनका लागि बराबरी गोल फर्काएका थिए ।

    तर, अन्तिम समयमा सम्हालिन नसक्दा युक्रेनले पुन: गोल खाँदै पराजित हुनुपर्‍यो ।  निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा डम्फ्रिजले हेडरमार्फत गरेको गोल नेदरल्यान्ड्सलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

    जितसँगै प्रतियोगिताको सुरुआत गरेको डच टोलीले शुक्रबार अस्ट्रियासँग खेल्ने छ यस्तै युक्रेनले बिहीबार नर्थ मेसिडोनियासँग खेल्ने छ ।

  • युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    काठमाडौं । युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ ६:४५ बजे हुने खेलमा इङ्ल्यान्डले विश्वकप २०१८ को उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

    त्यस्तै, राति ९:४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत अस्ट्रिया र नर्थ मेसिडोनिया भिड्दैछन् । नर्थ मेसिडोनिया पहिलो पटक युरोमा छनोट भएको हो । यसअघि १९६० देखि १९९२ सम्म मेसिडोनिया युगोस्लाभियामै गाभिएको थियो । तर, स्वतन्त्र भइसकेपछि भने पहिलो पटक ठूलो प्रतियोगितामा छनोट भएको हो ।

    राति १२:४५ बजे हुने समूह ‘सी’ कै दोस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेन भिड्दैछन् । १९८८ मा च्याम्पियन बनेको नेदरल्यान्ड्सले त्यसपछि सेमिफाइनल पार गर्न सकेको छैन । २०१६ मा फ्रान्समा भएको पछिल्लो संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन ।

    गत संस्करणको समूह चरणबाटै बाहिरिएको युक्रेन आजको यसपटक नेदरल्यान्ड्सविरुद्ध सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिँदैछ ।

  • यी हुन् युरो इतिहासका ४ फराकिला नतिजा

    यी हुन् युरो इतिहासका ४ फराकिला नतिजा

    काठमाडौं । नेपाली समयअनुसार १२:४५ बजे रोममा इटाली र टर्की खेल्दै युरो २०२० को सुरुआत गर्नेछन् । मिनी विश्वकपको नामले समेत परिचित युरोको इतिहासमा सर्वाधिक फराकिलो नतिजा भनेको ५  गोलको छ ।

    युरोको कीर्तिमानी ५ गोल फरकको नतिजामा फ्रान्स, नेदरल्यान्ड्स, डेनमार्क र स्वीडेनको नाम छ । हुनत! युरोमा ६-१ को स्कोरलाइन पनि निस्किएको थियो । तर, फरक भने पाँच गोलको मात्रै छ । यी नतिजामध्ये दुई खेल एकै दिनमा भएका थिए ।

    ५ गोल फरकको नतिजा निस्किएका खेलहरू

    १. १९८४ समूह चरण: फ्रान्स ५-० बेल्जियम

    २. १९८४ समूह चरण: डेनमार्क ५-० युगोस्लाभिया

    ३. २००० क्वार्टरफाइनल: नेदरल्यान्ड्स ६-१ युगोस्लाभिया

    ४. २००४ समूह चरण: स्वीडेन ५-० बुल्गेरिया

  • त्रीदेशीय कपमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, किर्तिपुर रंगशालामा दर्शक नराखिने

    त्रीदेशीय कपमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, किर्तिपुर रंगशालामा दर्शक नराखिने

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा भइरहेको तीन देशीय ट्वान्टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    यो खेल जितेको अवस्थामा नेपालले लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । नेपाल, नेदरल्याण्ड्स र मलेसियाले डवल राउण्ड रोविनका आधारमा खेल्दा शीर्ष दुई टोलीले फाइनल खेल्ने नियम छ ।

    नेपालले यसअघि शनिबार नेदरल्याण्ड्सलाई र सोमबार मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो । शनिबार भएको उद्घाटन खेलमा नेदरल्याण्डले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमै पूरा गरेको थियो ।

    ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले यस प्रतियोगितामा अद्वितीय प्रदर्शन गरिरहेका छन् । डेब्यू प्रतियोगिता खेलिरहेका दुवैमध्ये कुशलले लगातार दुई अर्धशतक प्रहार गरेका छन् । आसिफले पहिलो खेलमा अर्धशतक र दोस्रो खेलमा सोमबार मलेसियासँग ४२ रन जोडेका थिए । यिनीहरुले दुवै खेलमा शतकीय साझेदारी गरे ।

    कोरोना महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्र निर्धारण गरी सरकारले भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ । त्यसैले त्रिवि क्रिकेट मैदानमा आज दिउँसो सवा १ बजेदेखि सुरु हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा दर्शकको उपस्थिति हुने छैन ।

    नेपाल क्रिकेट संघले सोमबार साँझ विज्ञप्ति जारी गरी सरकारको निर्णय पालना गर्दा समर्थकमा पर्न गएको असुविधाप्रति क्षामा मागेको छ ।

  • त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

    त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ ।

    वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

    डच टोलीले प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालको सामना गर्नेछ ।

  • नेदरल्यान्ड्सको प्रधानमन्त्रीमा रुट निर्वाचित, लिबरल पार्टीद्वारा संसदमा स्पष्ट बहुमत

    नेदरल्यान्ड्सको प्रधानमन्त्रीमा रुट निर्वाचित, लिबरल पार्टीद्वारा संसदमा स्पष्ट बहुमत

    हेग । मार्क रुट नेदरल्यान्ड्सको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । विहिबार सम्पन्न आमनिर्वाचनमा उनको दल लिबरल पार्टीले बहुमत हासिल गर्‍यो ।

    चौंथो कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका प्रधानमन्त्री रुटसामु कोरोनाभाइरस महामारीले ध्वस्त अर्थतन्त्रलाई पुनःउकास्ने चुनौति खडा भएको छ ।

    तीन दिन लामो आमनिर्वाचनको एक्जिट–पोलमा पनि रुटलाई प्रधानमन्त्री चुनिने प्रक्षेपण गरिएको थियो । संसदमा उनको दलले स्पष्ट बहुमत प्राप्त गरेको जनाइएको छ ।

    यो जितसँगै युरोपमा १० वर्ष लामो शासन गर्ने सरकार प्रमुखको रुपमा रुट सूचिकृत भएका छन् । युरोपेली युनियनसँग निकट दल इयू–डी६६ ले रुटको विदेश नीतिलाई चुनौति दिएको थियो र यो दल दोस्रो ठूलो दलको रुपमा उदाएको छ ।

    इस्लाम विरोधी नेताको छवि बनाएका गीर्ट वाइल्डर्सको दल तेस्रो स्थानमा खुम्चिएको छ । ‘अवश्य पनि अबको दश वर्ष कोरोनाबाट प्रभावित मुलुकको निर्माण हुनेछ’ रुटले विजयीपछि भने ।

  • नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

    नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु, तीन दिन मतदानको व्यवस्था

    दी हेग । नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ ।

    कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कफ्र्यु समेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा सोमबार बिहान ७ बजेदेखि मतदान स्थल खुला गरिएको छ । कोभिडको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मङ्गलबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ ।

    एएफपीका पत्रकारका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् ।

    मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कफ्र्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् ।

    तर सन् २०१० देखि सत्तामा रहनु भएका प्रधानमन्त्री रुटको गठबन्धन नै यसपटक पनि विजयी हुने अनुमान गरिएको छ । यो विजयपछि उनले युरोपेली मुलुकमध्ये सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड बनाउनेछन् ।

    पछिल्ला चुनावी मतसर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मतसर्वेक्षणले देखाएका छन् ।

    नेदरल्यान्ड्सका अधिकारीहरुले कोभिडको जोखिममा रहेका बढी उमेर समूह समेतका व्यक्तिलाई अन्तिम दिनको साटो पहिल्यै मतदान गर्न आह्वान गरेको छ ।

    गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४।३० बजेसम्म लगाइएको कफ्र्यु मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिएका छन् । सन् २०१७ को चुनावमा अति–दक्षिणपन्थी नेता गर्ट विल्डर्सले ब्रेक्जिट र ट्रम्पको लोकप्रियताबाट आफूले निकै फाइदा लिनसक्ने अनुमान गरिएको थियो, तर अहिले परिस्थिति फरक भइसकेको छ ।

    ब्रेक्जिट र ट्रम्प दुबै विषय अहिले ओझेलमा परेकाले विल्डर्सको दलले प्रधानमन्त्री रुटलाई विस्थापित गर्ने सम्भावना कमजोर भएको छ ।

    “अहिलेकै सरकार लोकप्रिय छ, र प्रधानमन्त्री रुटको लोकप्रियता घटेको छैन,” विल्डर्सले एएफपीसँगको अन्तर्वार्तामा स्वीकार गरे ।