Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

  • चुनावमा सहभागिताबारे विवादका बीच प्रभावशाली नेताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश

    चुनावमा सहभागिताबारे विवादका बीच प्रभावशाली नेताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा एक कार्यक्रमका बीच विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका नेता, पूर्व जनमुक्ति सेना नेपालका बटालियन, कम्पनी कमाण्डर तथा प्लाटुन कमाण्डर लगायत गरेर दर्जनौ नेता तथा कार्यकर्ताले विप्लवको साथ छोडेका हुन् ।

    पार्टी प्रवेश गर्नेमा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’, मुक्ति, रामप्रसाद तिमिल्सेना ‘राप्ती’, पूर्व जिल्ला इन्चार्ज तथा ब्यूरो सदस्य पुकार, घाइते अपांग योद्धा संघका अध्यक्ष पर्वत, पूर्व ब्यूरो सदस्य तथा संविधानसभा सदस्य आवश्यकता, पूर्व ब्यूरो सदस्य क्षितिज, पूर्व बटालियन कमाण्डर बिहानी, पूर्व कम्पनी कमाण्डर करण, सोपान, रविन, मोहित, वकिल, जनक सिंह, पूर्व ब्यूरो सदस्य दोभान रहेका छन् ।

    त्यसैगरी दलित मोर्चाका पूर्व अध्यक्ष कृष्ण विक, शिक्षक संगठनका रणबहादुर भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, पूर्व कम्पनी भिसी तुफान, संगम, राजकुमार, जिल्ला सदस्य भक्त वयक, पूर्व प्लाटुन कमाण्डर विष्णु तिमिल्सिना, सर्वजित रावल, ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्य इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राजबहादुर बुढा, धादिङका पूर्व जिल्ला सदस्य बुद्ध गुरुङ, रसुवा पूर्व जिल्ला सदस्य चेरोङ तामाङ, विशेष फोर्स सदस्य देवा लामा, नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटब्युरो सदस्य ज्ञानु बम र केन्द्रीय सदस्य हरी नेपाली रहेका छन् ।

    पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सुदूरपरिश्चममा माओवादीको कोर टिम एक ठाउँमा आइपुगेको बताए । आफूले पनि विगतमा केही गल्ती गरेको स्वीकार्दै महाधिवेशनको दस्तावेजमार्फत त्यसलाई आत्मबोध गर्दै सुधारको बाटोमा अघि बढेको प्रचण्डले बताए । जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

    माओवादीबाट अलग्गिएर गएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’तिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’ प्रचण्ड हुने सपना बोकेर जानेलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।

    कार्यक्रममा नवप्रवेशी विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्धकै उपलब्धि खोस्ने शक्तिलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताए ।

  • बहुमत नजुटेपछि विप्लव निर्वाचनमा जाने प्रस्ताबाट पछि हटे, पार्टी विभाजन हुनबाट जोगियो

    बहुमत नजुटेपछि विप्लव निर्वाचनमा जाने प्रस्ताबाट पछि हटे, पार्टी विभाजन हुनबाट जोगियो

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उक्त प्रस्तावबाट पछि हटेका छन् । पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
    कपिलबस्तुमा नौ दिनदेखि जारी बैठकमा निर्वाचनमा सहभागी हुने प्रस्तावमा बहुमत जुटाउन महासचिव विप्लवले दुई दिनसम्म केन्द्रीय सदस्यसँग वान टू वान छलफल गरेका थिए । तर, निर्वाचनमा सहभागी हुने प्रस्तावमा पक्षमा बहुमत जुटाउन नसकेपछि विप्लवपछि हट्दै मध्यमार्गी बाटो अपनाएका छन् ।

    आइबार दिउँसो बसेको बैठकमा विप्लवले जवाफ दिँदै पार्टी चुनावमा नजाने, जनमत संग्रहको नारालाई लिएर जनतामा जाने तर स्थानीय स्तरमा नेता कार्यकर्तालाई स्वातन्त्र उम्मेदवारी दिन भने नरोक्ने जवाफ दिएका थिए । ‘महासचिव कमरेडले बैठकमा बहुमतको कदर गर्दै मध्यमार्गी प्रस्ताव ल्याउनुभयो । हामीले अब पार्टी चुनावमा सहभागी नहुने भएको छ । चुनाव उपयोग गर्ने बुँदालाई हटाएर राजनीतिक प्रस्ताव पारित गरेका छौं ।’ एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

    पार्टी विभाजनलाई रोक्न यो उपाय सही भएपनि न बहिस्कार न उपयोगको नीतिले झन अन्यौलता ल्याउने उनले बताए । ‘शसक्त बहिस्कार पनि नगर्ने र उपयोग पनि नगर्ने तर उम्मेदवारी दिनेलाई स्वतन्त्रता दिनाले पार्टीमा अन्यौलता र अराजकता ल्याउन सक्छ तर पार्टी विभाजन हुनबाट जोगिएको छ ।’ नेपाल प्रेससँग कुरा गर्दै ती केन्द्रीय सदस्यले भने ।

    चुनाव बहिस्कारको योजना महासचिव विप्लव र प्रवक्ता प्रकाण्डकै कारण आउन नसकेको अर्का एक केन्द्रीय सदस्यले बताए । उनले सचिवलय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले चुनाव बहिस्कार गरेर जाउँ भन्दा पनि महासचिव र प्रवक्ता तयार नभएपछि मध्यमार्गी बाटो अपनाइएको बताए ।

    पार्टीलाई विभाजनबाट बचाउन भन्दै सचिवालय सदस्य बास्तोलाले यो मध्यमार्गी प्रस्ताव अगाडि सारेको एक नेताले जानकारी दिए । अब नेकपाका केही नेता चुनावको बेला जनमत संग्रहको पक्षमा सामना परिवारसहित सांस्कृतिक कार्यक्रम गर्ने र केही नेता भने उम्मेदवार बन्नेछन् ।

    महासचिव विप्लव आफ्नो अडानबाट पछि हटेपछि तत्कालको लागि विप्लव नेकपा विभाजन हुनबाट जोगिएको छ । बैठक भने जारी छ । भोलिबाट सांगठानिक विषयमा प्रवेश गर्ने एक नेताले जानकारी दिए ।

  • विप्लव, कञ्चन र सुर्दशन कमरेड अब समय आयो ध्रुविकरणमा ढिलो नगरौ : प्रचण्ड

    विप्लव, कञ्चन र सुर्दशन कमरेड अब समय आयो ध्रुविकरणमा ढिलो नगरौ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ध्रविकरणमा सहभागि हुन आग्रह गरेका छन् । महाधिवेशनको अघिल्लो दिन प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठनविचको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

    सम्बोधन गर्दै प्रचण्डले भने, ‘कमरेड विप्लव, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ यहाँहरु तिनै जनलाई आग्रह छ । अब समय आयो । ढिलो नगरौ । चाडै एक ढिक्का भएर अघि बढौ ।’ विप्लव नेतृत्वको प्रमुख तीन नेताको नाम लिए पनि दोस्रो बरियतामा रहेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नाम भने उच्चारण गरेनन् ।

    उनले विप्लव लगायतका नेतासँग पार्टी एकताको विषयमा छलफल चलिरहेको बताउदैँ सवै माओवादी र तिनका नेतालाई मुल घरमा नै केन्द्रित भएर फेरी पार्टी आन्दोलनलाई राष्ट्र र जनतालाई नयाँ नेतृत्व गर्नुपर्ने बेला आएको बताए ।

    उनले थप्दै भने, ‘अरु माओवादी विचारधार बोकेका पार्टी र नेताहरुलाई पनि म आग्रह गर्न चाहान्छु । अहिले सबैको माग नै पार्टी एकता र ध्रुविकरण हो । प्रतिगमनविरुद्धको आन्दोलन पनि हाम्रै पार्टीको नेतृत्वमा भएकाले त्यो गर्न जरुरी देखिएको छ ।’

    माओवादी ध्रविकरणमा सबैलाई आग्रह गरेका प्रचण्डले पार्टीको महाधिवेशनबाट पार्टीका र पार्टीको नेतृत्वको पनि समिक्षा गरिने घोषणा गरे । उनले भने, ‘महाधिवेशनमा सबैभन्दा पहिले म आफैबाट आत्मसमिक्षा सुरु गर्दैछु । पार्टी भित्रका र पार्टी नेतृत्व भित्र देखिएका कमी कमजोरीको मैले नैतिक रुपमा जिम्मेवारी त लिनै पर्छ, ठोस रुपमा पनि के कहाँ कमजोरी भयो त्यो आत्मसमिक्षा मैले गर्नुपर्छ । पार्टी भित्रको आत्मसमिक्षाले सबैलाई एक ठाउँमा ल्याउन ठुलो भूमिका निर्वाह गर्ने मैले अपेक्षा गरेको छु ।’

    उनले पार्टीकै कमजोरीले पार्टीमा समस्या भएको स्विकार गर्दै अब त्यस्ता कमजोरीको समिक्षा गरेर त्यस्ता गल्ति नदोहोर्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘कहि न कहि रुपमा पार्टीले कमजोरी गरेकै कारण यस्ता समस्या आए । अरुलाई दोष दिएर के त मैले के त पार्टीले उम्किन मिल्दैन । पार्टीको महाधिवेशनमा अहिलेसम्म भए गरेका कमीकमजोरीको समिक्षा गरेर जानुपर्छ । कहाँनिर बिचारमा, कहा बिधि र कहाँ प्रक्रिायमा त्रुटी गर्यौ त्यसको आत्मसमिक्षा गर्ने र एक पटक सबैलाई एक ढिक्का बनाउने हो ।’

  • बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सोह्रखुट्टे र भद्रकालीबाट पक्राउ (तस्बिरहरु)

    बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सोह्रखुट्टे र भद्रकालीबाट पक्राउ (तस्बिरहरु)

    काठमाडौं । नेपाल बन्दको आवह्रान गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई काठमाडौंको सोह्रखुट्टे र भद्रकालीबाट प्रहरीले पक्राउ गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आव्हान गरिएको नेपाल बन्दमा सडकमा टायर बालेर सवारीसाधन संचालनमा अवरोध गरिरहेका कार्यकर्ताहरूलाई सोह्रखुट्टे र भद्रकालीबाट प्रहरीले पक्राउ गरेको हो ।

    बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । बन्दको कारण देशैभर यातायातदेखि व्यापार व्यवसाय ठप्प भएको छ । सार्वजनिक यातायात नचल्दा यात्रुले सास्ती भोगिरहेको छ ।

     

  • विप्लवका माग पूरा गर्न गृहमन्त्रीले थाले काम

    विप्लवका माग पूरा गर्न गृहमन्त्रीले थाले काम

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

    उनले आज सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन् ।

    बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । मन्त्री खाणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी दिएका थिए ।

    सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । आजको छलफलमा मुख्यगरी सहमतिको बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

    छलफलमा कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाई गर्न मिल्नेबारे जानकारी दिएका थिए ।

    कानुनसचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाईका लागि सिफारिस मन्त्रालयमा आएका अधिकांशको रिहाई भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराएका थिए ।

    फेरि सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति बनेको छ ।

    ०७७ फागुन २० गते सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादु थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

  • विप्लवले दाई वीरजंगको शवमा पार्टीको झण्डा ओडाएर दिए श्रद्धाञ्जली (भिडिओ)

    विप्लवले दाई वीरजंगको शवमा पार्टीको झण्डा ओडाएर दिए श्रद्धाञ्जली (भिडिओ)

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना जेठा दाई तथा सो पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द वीरजंगलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    विप्लवसँगै बीरजंगलाई श्रद्धाञ्जली दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी केन्द्रका केन्द्रीय नेता चक्रपाणी खनाल, बसन्त घर्तीमगर, एमाले नेता तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीलगायत पुगेका थिए ।

    कपिलवस्तु शिवगढीस्थित घरमा पार्टीका नेता–कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा स्थानीययले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली दिन पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा राष्ट्रलाई ठूलो क्षति भएको बताए ।

    लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका वीरजंगको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रवार मृत्यु भएको थियो ।उनको शवलाई शनिबार गृहजिल्ला कपिलवस्तुको शिवगढी ल्याई श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

    जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको पर्वत र बागलुङको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका वीरजंग विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

    केही महिनाअघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका उनी कारागारमा रहँदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । ६१ वर्षीय वीरजंगका दुई छोरा र एक श्रीमती छन् । उनको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

    यस्तो छ वीरजंग इतिहास

    २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

    १० वर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रविरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

    विप्लवले वैद्यसँग पार्टी फुटाएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेलजीवन व्यतित गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो ।

    दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको हो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।

     

  • जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    काठमाडौं । राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज विहान पूर्व सहयोद्धा तथा जसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

    अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका विप्लवले हिसिला यमीसहितको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका थिए ।

    अघिल्लाे सरकारसँग भएका तीन बूँदे सहमति कार्यान्वयनका लागि विप्लवले सत्ता साझेदार दलका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

     

  • खुमलटार पुगेर विप्लवले भेटे प्रचण्ड

    खुमलटार पुगेर विप्लवले भेटे प्रचण्ड

    काठमाडौं । सरकार परिवर्तनलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् । खुमलटारस्थित प्रचण्ड निवास पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

    विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर, सो सम्झौत बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।

  • चुरे दोहन नरोके कठोर कदम चाल्ने विप्लवको चेतावनी

    चुरे दोहन नरोके कठोर कदम चाल्ने विप्लवको चेतावनी

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुरे दोहनको विषयप्रति आफ्नो गम्भीर भएको बताएका छन् ।

    स्थानीय, प्रदेश तथा संघीय सरकारले बनाएका नीति तथा कार्यक्रम र बजेटमा यो विषय जोडिएपछि महासचिव विप्लवले पार्टी नेतृत्वलाई यो विषमा जिल्लागत, स्थानीय तहमा हुने छलफलमा विशेष चनाखो हुन सचेत गराएका छन् ।

    उनले चुरे दोहन रोक्न स्थानीय सरकार र राज्यले कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्ने चेनावनी दिँदै सबै क्षेत्रमा पार्टीको धारणा पुर्याउन उनले निर्देशन दिएका छन् ।

    जनतालाई सिंहदरबारको अधिकारको नाममा स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चासो प्रकट गदै महासचिव विप्लवले सबै सचेत नागरिक गम्भीर हुनुपर्नेमा जोड दिएको अर्घाखाँची सेक्रेटरी घर्तीले जानकारी दिए ।

    पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा दृढ रहेको भन्दै जिल्लावासीका समस्याप्रति गम्भीर रहेको बताएको घर्तीले बताए ।

    सो अवसरमा महासचिव विप्लवले स्थानीय सरकार र राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम लिने चेतावनी दिएका थिए ।

     

  • विप्लवले पनि गरे नागरिकता ऐनको विरोध, फिर्ता लिन चेतावनी

    विप्लवले पनि गरे नागरिकता ऐनको विरोध, फिर्ता लिन चेतावनी

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ ।

    सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै फिर्ता लिन पार्टीले चेतावनी दिएको छ ।

    पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हामो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन्, त्यस्ता निर्णय खोरेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

  • २१ दिनभित्र हाजिर हुन विप्लवका दाई बिरजंगलाई अदालतले बोलायो

    २१ दिनभित्र हाजिर हुन विप्लवका दाई बिरजंगलाई अदालतले बोलायो

    रुपन्देही । जिल्ला अदालतले रुपन्देहीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बीरजंगलाई बयानका लागि बोलाएको छ । जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन गोरखापत्रमा सूचना प्रकाशन गरेको हो ।

    फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई हुने आशा गरिएको थियो । सरकारले नेकपामाथी लगाइएको प्रतिबन्ध हटाउँदै उसका नेता कार्यकर्ताको रिहाइ र उनीहरुमाथी लागेका सबै मुद्दा खारेज गर्ने सहमति जनाएपछि सबै उत्साहित थिए, तर अदालतको यो सूचनाले झस्काएको छ– नेकपा निकट जन पत्रकार संगठनका पूव केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

    अदालतले सूचना जारी गरेको सूचनामा बीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन २१ दिने सूचना सार्वजनिक गरेको हो । तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार शोभाखर खरेलले जानकारी दिए ।

    कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढी घर भनिए पनि उक्त ठेगानामा उनी फेला नपरेपछि गोरखापत्रमा सूचना प्रकाशन गरिएको हो । उनी अहिले चितवन कारागारमा रहेका छन् । उनीविरुद्ध विभिन्न ११ वटा जिल्लामा मुद्दा रहेका छन् । बीरजंग महासचिव नेत्रविक्रम चन्द विप्लवका सहोदर दाई हुन् ।

     

  • आवश्यक परे राज्यसत्ता विरुद्ध बन्दुक बोकेर लड्न तयार छौंः विप्लव

    आवश्यक परे राज्यसत्ता विरुद्ध बन्दुक बोकेर लड्न तयार छौंः विप्लव

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आवश्यक परे राज्यसत्ताका विरुद्ध बन्दुक लिएर पनि हिँड्न तयार रहेको बताएका छन् । कपिलवस्तु शिवगढीमा आयोजित विप्लव नेतृत्वकै नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघको सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

    जनतालाई दुख दिने आफ्नो पार्टीको एक इन्च पनि मनाशय नभएको र आफ्ना मुद्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको विरुद्ध रहेको उनले बताए । उनले भने ‘राज्यले लगाएको प्रतिबन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दमन गर्नु गलत थियो । त्यसको हामी प्रतिकार गर्यौ र गर्छौ ।’

    उनले भने ‘हामीले भ्रष्टचार, अन्याय–अत्याचार, बलात्कार, महंगी लगायत देशका तमाम समस्याको विरुद्ध आवाज उठाउँदा राज्यले हामीलाई दमन गरी प्रतिबन्ध लगायो । हाम्रो लडाई कुनै प्रहरी, सेना, शसस्त्रसंग नभई राज्यसत्ता संगको हो ।’

    जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितीमा देखिएको र जनताको मत पाएर जनताको छातीमा टेकेर हिँड्नेले कहिल्यै जनताको समस्या समाधान नगर्ने उनको भनाइ छ । न्यायको लागि संघर्ष गर्न तयार हुने र संघर्षको सबैभन्दा ठूलो हतियार नै संघर्ष भएको उनले बताए ।

    जनयुद्धमा सहादत प्राप्त गरेका सहिदको चाहना र सपना पूरा नभएको र सहिद तथा बेपत्ता परिवारले न्याय नपाएको विप्लवले बताए । उनले वर्तमान दलाल पुंजीवादी व्यवस्था असफल भएको बताउदै जनतालाई वर्तमान दलाल पुंजीवादी व्यवस्था की वैज्ञानिक व्यवस्था ठिक भनेर एकपटक जनतालाई जनमत संग्रह गर्न दिनुपर्नेमा जोड दिए ।

    जनताको न्याय र दमनको विरुद्ध आवाज उठाउँदा मृत्यु पनि सह्य र प्रिय हुने उनले बताए । एकिकृत जनक्रान्तिको कार्यदिशा नै सबैभन्दा सुन्दर बाटो भएको समेत विप्लवले स्पट पारे । महासचिव विप्लवले राज्यले महिलालाई समान अधिकार र अवसर दिनुपर्नेमा पनि जोड दिएका छन् ।

  • सभागृहमा विप्लवको भाषणः न सन्देश न प्रभाव

    सभागृहमा विप्लवको भाषणः न सन्देश न प्रभाव

    काठमाडौं । सरकारसँग तीनबुँदे सहमतिपछि भूमिगत जीवन त्यागेर नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक भए । राष्ट्रिय सभागृहमा उनलाई ‘हेर्न’ ठूलै भीड जम्मा भएको थियो भने उनले के बोल्लान् भन्ने कौतूहल पनि उत्तिकै थियो । तर, विप्लवले कुनै प्रभाव छोड्ने खालको अभिव्यक्ति दिन सकेनन् ।

    नवलपरासीबाट आफ्नो दलबलसहित काठमाडौं आउने विप्लव क्षण–क्षणमा समाचार बनिरहेका थिए । हेलिकोप्टरमा आउन नमानेर गाडीमा आएकोदेखि लिएर बाटोमा सुस्ताएको र कलंकी काटेको सम्मका समाचार मिडियामा आए । यसले पनि विप्लवमाथि मिडियाको ठूलो कौतूहल रहेको प्रष्ट हुन्छ ।

    काठमाडौं आएर आफ्नो वार्ता टोलीका सदस्यलाई भेटेपछि विप्लव उनीहरुलाई समेत लिएर प्रधानमन्त्री निवास बालुवाटार हान्निए । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको वान–टु वान वार्ता भयो । अनि ओली र विप्लव एकसाथ राष्ट्रिय सभागृह पुगे ।

    उनीहरु पुग्दासम्म सभागृह खचाखच भइसकेको थियो । धेरै त मिडियाकर्मी नै थिए । यसैगरी, सरकार समर्थक र विप्लव समर्थकको पनि बाक्लो उपस्थिति थियो । मञ्चमा ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ लेखिएको ब्यानर टाँगिएको थियो ।

    मञ्चको केन्द्रभागमा राखिएको आकर्षक कुर्सीमा प्रधानमन्त्री केपी ओली आसीन भए । उनको दायाँतर्फ सुवास नेम्वाङ, रामबहादुर थापा र ईश्वर पोखरेल थिए । बायाँतर्फको तीन कुर्सीमा क्रमैसँग विप्लव र उनको वार्ता टोलीका दुई सदस्य बसे । कार्यक्रमको सञ्चालन सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गरेका थिए ।

    पक्कै पनि कार्यक्रमका मुख्य आकर्षण थिए विप्लव । सहमतिमा हस्ताक्षरपछि उनलाई बोल्न मञ्चमा बोलाइयो । विप्लवले आफ्नो भाषणमा हिंसात्मक आन्दोलनमा जानुको कारणदेखि अहिले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दाको सन्दर्भ र प्रक्रिया व्याख्या गर्दै भावी योजना समेत सुनाउलान् भन्ने आशा सहभागीले राखेका थिए । तर, विप्लवले निराश बनाए । उनको भाषण अमूर्त थियो । सरकारसँग गरेका तीनबुँदे सहमतिको पालनामा प्रतिवद्ध रहनेबाहेक उनीबाट ठोस भनाइ केही आएन ।

    विप्लवले न हिंसात्मक आन्दोलनमा जानुको रहस्य खोतले न, शान्तिपूर्ण राजनीतिमा अवतरणको सन्दर्भ र प्रक्रिया प्रष्ट्याए । ‘कम्युनिष्ट विद्रोही मात्रै हुँदैनन्, शान्तिदूत पनि हुन सक्छन्’ भन्ने अमूर्त अभिव्यक्ति दिएर उनले सारा सैद्धान्तिक प्रश्नलाई पन्छाइदिए । अनि यो सहमतिलाई ‘घाम र जूनको एकता’ भनेर काव्यिक विश्लेषण गरे ।

    अन्त्यमा भाषण गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने निकै उत्साही देखिए । उनले नेपाल शान्तियुगमा प्रवेश गरेको घोषणा गरे । विप्लवको कदमलाई साहसिक भन्दै प्रशंसा समेत गरे ।

  • काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

    काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

    काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेको भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदैछन् । राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।

    सरकारसँगको वार्ता सफलतापछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका विप्लवले आज राष्ट्रियसभागृहमा प्रधामन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यहाँ सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

    स्रोतका अनुसार उनी काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।

    त्यसैले बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो । विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् ।

    सरकारी वार्ता टोली र विप्लवको वार्ता टोलीबीच बालुवाटारमै वार्ता भए पनि प्रधानमन्त्रीसँग भने भेट भएको थिएन ।

  • नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं आइपुग्ने

    नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं आइपुग्ने

    काठमाडौं । सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका छन् ।

    उनी त्यहाँ शहीद परिवारलाई भेटेर काठमाडौं आउन लागेको विप्लव सम्बद्ध पत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

    विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि उनी गाडीबाट अपरान्ह १२ बजेसम्म काठमाडौं आउने तय भएको छ । आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।

  • तीन वर्षपछि सार्वजनिक समारोहमा विप्लवको ‘कमब्याक’

    तीन वर्षपछि सार्वजनिक समारोहमा विप्लवको ‘कमब्याक’

    काठमाडौं । दुई दिन लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको छ ।

    आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा गर्ने तथा सरकारले प्रतिबन्ध हटाउने सहमति बनेसँगै सो समूहका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ लामो समयपछि भोलि सार्वजनिक हुने तयारीमा छन् ।

    वार्ता सफलरूपमा टुंगिएपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयुक्त हस्ताक्षरमा जारी प्रेस नोटमा सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न भोलि दिउँसो २ बजे तय गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विप्लवले सम्बोधन गर्ने भएका छन् ।

    श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजनीपछि ‘हिंसात्मक गतिविधि’मा सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

    संयोग नै मान्नुपर्छ प्रतिबन्ध लगाउने निर्णयताका सरकारको नेतृत्वमा रहेका केपी शर्मा ओली आफैंले दुई वर्षपछि वार्ताको माध्यमबाट विप्लव समूहलाई ‘सेफल्याण्डिङ’ गराएका छन् । सँगै प्रतिबन्धपश्चात विप्लवमाथिको सुरक्षा कारबाहीमा प्रमुख सुरक्षा अंगको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादल नै सरकारी वार्ता टोलीको नेतृत्वमा बसे ।

    विप्लव समूहले घोषितरूपमा हिंसात्मक युद्ध नगरे पनि भित्रभित्रै दोस्रो ‘जनयुद्ध’ हुन लागेको टिप्पणी भइरहेको थियो । तर, उक्त समूहका गतिविधि र संगठनात्मक संरचना माओवादीको जस्तै थिए । माओवादीले झैं भयानक खालका आक्रमणहरू नगरेको भए पनि हिंसाको बीउ विप्लव माओवादीले रोपिसकेको थियो ।

    राजनीतिको मूलधारबाट बहकिएर सशस्त्र संघर्ष गरिरहेको विप्लवलाई मूलधारमा ल्याउन सरकारले रातारात गरेको पहलले पर्याप्त लचकतासहित संवादको टेबलमा बस्ने हो भने कुनै पनि समस्याको समाधान असम्भव छैन भन्ने पुनः एकपटक स्थापित भएको छ ।

    नेत्रविक्रम चन्द २०२४ साल फागुन ११ मा रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मिएका हुन् । माओवादी जनयुद्धमा भूमिगत नाम ‘विप्लव’राखेका उनी आजसम्म यही नामबाट चर्चित छन् ।

    मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दका तीन दिदी र दुई दाजु छन् । त्यस्तै, सात भाइ बाजेमध्ये ६ भाइ लाहुरे थिए । सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धमा गाँसिएका विप्लव दम्पतीका दुई छोरा र एक छोरी छन् ।

    रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङको बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू विद्यालय तहदेखि नै उनीमा राजनीतिक चेत भएको बताउँछन् ।

    २०५२ फागुन १ मा माओवादीले जनयुद्ध शुरू गर्दा उनी विद्यार्थी उपाध्यक्ष थिए । उनले त्यतिखेर बुढाहरूले छिटो युद्ध शुरू नगर्ने भए युवाहरू तयार रहेको भन्दै दबाबसमेत दिन्थे ।

    विद्यार्थी राजनीतिसँगै ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका विप्लवलाई २०५४ सालताका पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्जमा खटायो । त्यहाँबाट विप्लवको सक्रिय राजनीतिक यात्रा शुरू भयो ।

    २०५५ भदौको चौथो विस्तारित बैठकबाट उनी माओवादीको केन्द्रीय सदस्य बने । त्यसको चार वर्षपछि पोलिटब्यूरो सदस्य बनेका उनी २०६१ सालमा रुकुम-रोल्पा आधार इलाकाको ब्यूरो इन्चार्ज भए ।

    भूमिगत कालमा विप्लवसँग निकटमा रहेर काम गरेका हाल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कुलप्रसाद केसी सबै कुरा आफैंमा केन्द्रीकरण गर्न खोज्ने र आफूलाई लागेको काममा दृढ भएर लागि पर्ने स्वभावको रूपमा विप्लवलाई सम्झन्छन् ।

    जिम्मेवारी कुशलतापूर्वक निभाएको र दृढ भएर लागेको प्रशंसा हुन थालेपछि अध्यक्ष प्रचण्डले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए । तर, नेतृत्वमा भएको कमजोरी बैठक, भेलामा खरो र स्पष्टका साथ राख्न थालेपछि विप्लवमाथि प्रचण्डले दूरी बढाउँदै लगे । जनयुद्धलाई रोकेर शान्तिप्रक्रियामा आउने नेतृत्वको निर्णयप्रति अन्तरविरोधमा रहेका विप्लव प्रचण्डसँगको सम्बन्धमा अन्तत: माओवादी शान्तिप्रक्रियामा आएपछि दरार निम्तियो ।

    २०६४ साल साउन १८-२२ मा काठमाडौं बालाजुमा भएको ५औं विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले कांग्रेस नेतृत्वको (गिरिजाप्रसाद कोइराला) सरकारबाट पार्टी फिर्ता हुनुपर्ने भन्दै नेतृत्वको विरोध गरे ।

    २०६९ असार ३ गते प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष भएको महाधिवेशनले मोहन वैद्य ‘किरण’लाई अध्यक्ष र बादललाई महासचिव बनायो । विप्लव सचिव भए ।

    मूलतः विप्लवकै जोडबलका कारण किरण र बादल प्रचण्डबाट अलग हुने निर्णयमा पुगेका थिए । नेकपा-माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो । यसको मुख्य योजनाकार पनि विप्लव नै थिए ।

    किरणलाई पार्टी संरक्षक बनाएर बादललाई अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । त्यही असन्तुष्टिसँगै नेकपा-माओवादीलाई पनि फुटाएर उनले नेपाल कम्युनिष्ट पार्टी जन्माए र महासचिव बनी आफैंले नेतृत्व लिए ।

    एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक मागको लय समातेका उनी तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् ।

  • वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

    वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

    काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

    सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’  र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

    प्रेस नोटका अनुसार भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।

     

     

  • विप्लवसँग वार्ता– कांग्रेसको स्वागत, प्रचण्ड माधव पक्षको प्रश्न (भिडियो)

    विप्लवसँग वार्ता– कांग्रेसको स्वागत, प्रचण्ड माधव पक्षको प्रश्न (भिडियो)

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । सरकारले विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गर्नु सकारात्मक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    वार्ता सकारात्मक भए पनि सरकार र विप्लव  नेतृत्वकाे नेकपा दुवैले प्रचार वा शक्तिसञ्चयको विषय बनाउन नहुने शर्माको भनाइ छ । ‘शान्तिपूर्ण राजनीति नै निकास हो । त्यसका लागि सार्थक पहल भएको हो भने स्वागतयोग्य छ । तर प्रचारबाजी गर्ने र शक्तिसञ्चय गर्ने प्रयास मात्रै हो भने त्यसको परिणाम सुखद हुनेछैन’, शर्माले भने ।

    त्यस्तै नेकपा प्रचण्ड–माधव पक्षका नेता गंगालाल तुलाधरले भने सरकारले समस्या समाधान गर्न नभई रणनीतिक रुपमा वार्ताको ‘प्रपञ्च’ रचिएको बताए । संसद विघटनको कदम असफल भइसकेपछि जनताको ध्यान मोड्न प्रधानमन्त्रीले नयाँ प्रयोग गरेको तुलाधरको टिप्पणी छ ।

    ‘बृहत्तर शान्तिको पक्षमा हो भने हामी सबै खुशी हुन्छौं तर यो वार्ता एक प्रपञ्च हो जस्तो लाग्दैछ । आफ्नो असफलता छोप्न शान्तिप्रक्रियाको प्रपञ्च गरिएको हो भन्ने लाग्छ’, तुलाधरले भने ।

  • विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन

    विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन

    काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

    प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन्।

    सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।
    मन्त्री गुरुङले भने, ‘सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ। त्यही दृष्टिकोणका आधारमा आजको वार्ता टोली गठन गरिएको हो।’
    प्रतिबन्ध नहटाई वार्ता टोली किन बनाइएको हो भन्ने प्रश्नमा मन्त्री गुरुङले ती सबै वार्ताकै क्रममा टुंगो लाग्ने जानकारी दिए । ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ’ उनको भनाइ छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस्। उहाँको हतियारको कुरा होस्। यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’
  • मुस्ताङ जिल्ला इन्चार्जलाई बिना सर्त रिहा गर्न विप्लव नेतृत्वको नेकपाको माग

    मुस्ताङ जिल्ला इन्चार्जलाई बिना सर्त रिहा गर्न विप्लव नेतृत्वको नेकपाको माग

    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।

    नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले शुक्रबार वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने चेतावनीसमेत दिएका छन् ।

    वक्तव्यमा राजनले पार्टीका कार्यकर्ता फिल्टरलाई म्याग्दीको मालिका गाउँपालिका-४ रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै घोर आपत्ति जनाएका छन् ।

    ‘२०७७ फागुन १३ गते हाम्रो पार्टीका मुस्ताङ इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिका-४ रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर आपत्ति एवम् खेद प्रकट गर्दछ ।

    कम्युनिस्ट आन्दोलनमा समर्पित एक इमान्दार कमरेड फिल्टरको बिना सर्त रिहाइको माग गर्दछौं । अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने जानकारी गराउँदछौँ,’ वक्तव्यमा भनिकएको छ ।

  • विप्लव नेता धर्मेन्द्र बास्तोलाको रिटमाथि सुनुवाइ हुँदै

    विप्लव नेता धर्मेन्द्र बास्तोलाको रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ । बास्ताोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

    यसअघि अदालतले छाड्न आदेश दिएपनि पुन: पक्राउ गरिएका धर्मेन्द्र रिहा हुने वा नहुनेले वार्ताका लागि भूमिका निर्धारण गर्ने विप्लवनिकट स्रोतले जनाएको छ । प्रतिबन्ध फुकुवा साथै जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइलाई विप्लव समूहले मुख्य शर्त बनाएको छ ।

    विप्लव पक्षसँग सावधानीपूर्वक संवाद चलिरहेको र हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा समाहित हुने सहमति भएमा प्रतिबन्ध फुकुवा गरेर वार्ता हुने ती मन्त्रीले बताए । त्यसका लागि सरकारले पनि वार्ता टोली गठन गर्नेछ ।

    शनिबार विज्ञप्ति निकाल्दै विप्लवले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका थिए ।

    स्रोतका अनुसार विप्लवको वार्ता टोलीका सदस्य र सरकारका प्रतिनिधिबीच केही दिनयता भइरहेको अनौपचारिक छलफलपछि वार्ताप्रति विप्लवले धारणा सार्वजनिक गरेका हुन् ।

  • विप्लवलाई सहज वातावरण बनाइदिन सरकार सकारात्मक

    विप्लवलाई सहज वातावरण बनाइदिन सरकार सकारात्मक

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको वार्ताको लागि सकारात्मक रहेको जनाएको छ ।

    महासचिव विप्लवले वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ता अगाडि बढ्नसक्ने परिस्थिति निर्माण भएको बताएका छन् ।

    मन्त्री ज्ञवालीले नेपाल प्रेससँग भने, ‘उहाँहरू शान्तिपूर्ण ढंगले आउँन चाहँदा सरकारले सकारात्मकरूपमा लिएको छ । यसका लागि सहज वातावरण बनाउन सरकार तयार छ ।’

    वार्ता र संवादमार्फत शान्तिपूर्ण निकासको लागि विप्लव नेकपा शीर्ष नेतृत्वसँग मन्त्रीहरू यसअघि निरन्तर अनौपचारिक सम्पर्कमा थिए ।  सल्लाहमै आज विप्लवको वक्तव्य आएको स्रोतले जनाएको छ ।

    वार्ताको वातावरण बनाउन विप्लवमाथिको प्रतिबन्ध हटाउनेतर्फ सरकारले आवश्यक निर्णय लिनसक्ने बताइएको छ ।

    जनयुद्धदेखि नै प्रचण्डसँग दूरीमा रहेका विप्लवले अहिले सरकारविरुद्ध आन्दोलन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई बलियो बनाउन तिनै प्रचण्डसँग बदला लिन खोजिरहेको स्रोतले बताएको छ ।

    यो पनि पढ्नुस् : सरकारसँग वार्तामा बस्न विप्लव तयार (विज्ञप्तिसहित)

     

  • सरकारसँग वार्तामा बस्न विप्लव तयार (विज्ञप्तिसहित)

    सरकारसँग वार्तामा बस्न विप्लव तयार (विज्ञप्तिसहित)

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ ।

    महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

    विप्लवको विज्ञप्तिमा भनिएको छ–आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।

    यसबीचमा सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताइरहेका थिए । विराटनगरमा आयोजित सभामा पनि यहीअभिव्यक्ति आइरहँदा विप्लवको वक्तव्य आएको हो ।

  • जनयुद्ध दिवसमा विप्लवको आह्वान- वैकल्पिक संयुक्त सरकार बनाऔं

    जनयुद्ध दिवसमा विप्लवको आह्वान- वैकल्पिक संयुक्त सरकार बनाऔं

    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २६औं जनयुद्ध दिवसको शुभकामना दिँदै भव्यतापूर्वक दिवस मनाउन अपिल गरेका छन् । शनिबार एक जनयुद्ध दिवसको अवसरमा वक्तव्य जारी गर्दै विप्लवले असफल संसदीय व्यवस्थाबाट असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित हुन नसक्ने बताएका छन् ।

    ‘यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ,’ वक्तव्यमा भनिएको छ, ‘जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पुँजीवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ ।’

  • विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

    विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् ।

    सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले गत पुस १४ गते मोर्चाबन्दीको सहमति गरेका थिए ।

    यी चारै दलले आज दिउँसो साढे १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रणनैतिक संयुक्त मोर्चा घोषणाको कार्यक्रम राखिएको छ ।

    विदेशी शक्तिको आड र इसारामा प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै ती दलले मोर्चाबन्दीको सहमति गरेका थिए ।

  • विप्लवको वार्ता टोली सरकारको सम्पर्कमा, होला त ‘सरप्राइज’ ?

    विप्लवको वार्ता टोली सरकारको सम्पर्कमा, होला त ‘सरप्राइज’ ?

    काठमाडौं । एक साताअघि (माघ २० मा) खानेपानी मन्त्री मणि थापाले नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई भेटेको खबरले चर्चासँगै अनेक अड्कलबाजी भए ।

    प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता वलीसँग मन्त्रीको त्यो भेटघाट सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको वातावरण बनाउनेतर्फ केन्द्रित भएको बताइएको छ ।

    तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणि थापा र हेमन्तप्रकाश वलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण रूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको थियो ।

    मणि थापाले जेलभित्रको खानेपानीको अवस्था अनुगमनका क्रममा वली भेटे पनि त्यसको आधार तय भएको थियो प्रधानमन्त्री निवास बालुवाटारमा । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतजस्ता पृथकतावादीलाई समेत मूलधारमा ल्याइएको भन्दै विप्लवको नाम नलिई सबै असन्तुष्ट समूहलाई पनि सहमतिमा ल्याइने बताएका थिए ।

    प्रधानमन्त्रीले असन्तुष्ट समूहहरूलाई वार्तामार्फत मूलधारमा ल्याउने बताएलगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लव समूहसँग सम्पर्कमा जुटेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले एक उच्चस्तरीय बैठकमा विप्लवलाई मूलधारमा ल्याएर ‘सरप्राइज’ दिने खुलासा गरेका थिए ।

    वैशाखमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन कुनै अवरोध विना शान्तिपूर्ण र सफल ढंगबाट सम्पन्न गराउन वातावरणका लागि पनि विप्लवसँगको वार्तालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले अनौपचारिक रूपमा विभिन्न समूहसँग संवाद भइरहेको बताए । तर, उनले विप्लव समूहसँग आफू सम्पर्कमा नरहेकाले थप जानकारी नभएको पनि बताए । यद्यपि सरकार विप्लवलाई पनि सहमतिमा ल्याएर ‘सरप्राइज’ दिने दिशामा अघि बढेको स्रोतहरू बताउँछन् ।

    वार्ताका लागि विप्लव समूह लचक

    गत मंसिरको २० देखि २८ सम्म बसेको केन्द्रीय कमिटी बैठकबाटै राजनीतिक दलहरूसँग छलफल र आवश्यक परे सरकारसँगै संवाद अघि बढाउन उच्चस्तरीय एक कार्यदल बनाएको थियो । कार्यदलको नेतृत्व खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले गरेका छन् । सदस्यहरूमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला र उपत्यका ब्यूरो इन्चार्ज चिरन पुन छन् ।

    विप्लव नेतृत्वको नेकपाका सगरमाथा ब्यूरो उच्च स्रोतले नेपालप्रेसलाई दिएको जानकारी अनुसार कार्यदलका सदस्य र केही मन्त्रीहरूबीच अनौपचारिक छलफल चलिरहेको थियो । तर, यही बीचमा धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि ‘ब्रेक’ लाग्यो । विप्लव समूहको दोस्रो तहका नेता मानिने बाँस्तोलालाई काठमाडौं उपत्यका छिर्न लागेको सूचनाको आधारमा मकवानपुरको वागमती गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो ।

    ‘वार्ताकै माध्यमबाट समाधान खोज्न हामी तयार छौं । तर, यसका लागि सहज वातावरण बनाउने काम सरकारको हो । सबैभन्दा पहिले हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ । पक्राउ परेका कार्यकर्ताको रिहा र लगाइएको मुद्दा खारेज हुनुपर्छु, ब्यूरो स्रोतले भन्यो, ‘आवश्यक पर्दा सरकारसँग वार्ता गर्नेसम्मको म्याण्डेट दिएर बनाइएको कार्यदलमा पार्टीका दोस्रो तहका नेताहरू हुनुहुन्छ । त्यसले पनि वार्ताप्रतिको हाम्रो गाम्भीर्यतालाई देखाउँछ ।’

    अग्रगामी राजनीतिक निकासको लागि अग्रगमन चाहने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकारको एजेण्डा लिएर छलफल अघि बढाउने केन्द्रीय कमिटीले प्रस्ताव पारित गरेको छ ।

    विप्लव निकट स्रोतका अनुसार उनी प्रतिबन्ध हटेदेखि खुला राजनीति गर्न आतुर छन् । प्रतिबन्धित अवस्थामा सो समूहले निकै क्षति व्यहोरेको छ । स्रोतका अनुसार पक्राउ परेका विप्लवका वार्ता टोली सदस्य बाँस्तोलासँग पनि सरकारी संयन्त्रहरूले अनौपचारिक छलफल गरेका छन् ।

    संयुक्त मोर्चाबन्दी निर्माण

    विदेशी शक्तिको आड र इसारामा प्रधानमन्त्रीले संसद् विघटन गरेको ठम्याइसहित १४ पुसमा विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले मोर्चाबन्दी गरेका छन् । मंसिर तेस्रो साताको केन्द्रीय कमिटी बैठकको म्याण्डेट अनुसार शुरू गरिएको छलफलको नतिजास्वरूप त्यो मोर्चाबन्दी भएको स्रोतले बताएको छ ।

    मोर्चाबन्दी गरेका पार्टीहरूमा चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी छन् ।

    मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गर्दै जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केपी वली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’

    दुई वर्षमा देशभरबाट दुई हजारभन्दा बढी पक्राउ

    श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजानीपछि सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । सोही वर्षको फागुन १० देखि आइतबारसम्म दुई हजार ७३ नेता कार्यकर्तालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट ३४६ जना पक्राउ परेका छन् । १ हजार ८१७ जना मुद्दाको किनारा लागेर छुटेका छन् ।

    त्यस्तै १ हजार ९८० मुद्दा दर्ता गरिएकोमा अब अहिलेसम्म १३६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ४ जनामाथि मुद्दा चलाउन बाँकी छ । अहिले अनुसन्धानको क्रममा ३० जनालाई विभिन्न कारागारमा राखिएको छ ।

    यही बीचमा १६ जना नेता तथा कार्यकर्ताहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा बढी विस्फोटबाट ७ जना छन् । प्रहरी कारवाहीमा ४ जना मारिएका छन् ।

  • नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

    नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।

    आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले नेपालप्रेससँग पुष्टि गरे ।

    तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ ।

    प्रधानमन्त्रीले केही दिनअघि असन्तुष्ट समूहहरुलाई वार्तामार्फत मूलधारमा ल्याउने बताए लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीहरू विप्लब समूहसँग सम्पर्कमा जुटेका थिए । यसबीचमै विप्लव समूहका अर्का नेता धमेन्द्र वास्तोला पक्राउ परेका छन् । उनीसँग पनि सरकारको तर्फबाट संवाद चलिरहेको स्रोतले जनाएको छ । विप्लव पनि आफूमाथिको प्रतिबन्ध हटोस् भनेर वार्तामा लचक बनेका छन् ।

  • बास्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

    बास्तोला पक्राउको विरोधमा विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

    काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

    पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समते रहेका चक्रप्रसाद बास्तोला ‘कञ्चन’लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।

    प्रहरी उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लप समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो।

    महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार ३ गते देशव्यापी जुलुस, ५ गते देशव्यापी विरोधसभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मसाल जुलुस र १० गते नेपाल बन्द रहेको छ।