Tag: नेत्रविक्रम चन्द

  • प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक

    प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक शुरू भएको छ । शुक्रबार बिहानदेखि तनहुँको बन्दीपुरमा जारी बैठक प्रतिबन्ध फुकुवापछिको पहिलो केन्द्रीय बैठक हो ।

    पाँच दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपाल प्रेसलाई जानकारी दिए । फेरिएको परिस्थितिमा बैठकले नयाँ राजनीतिक लाइन तय गर्ने पनि उनले बताए ।

    विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति ६८ सदस्यीय छ ।

  • विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

    विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

    काठमाडौं । राजनीतिक भेटघाटलाई पछिल्लो समय तीव्र पारिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राप्रपा अध्यक्ष कमल थापासँग भेट गरेका छन् ।

    विप्लव आफ्ना केही नेता लिएर थापालाई भेट्न गएका थिए । भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको बताइएको छ ।

    सोक्रममा राप्रपा अध्यक्ष थापाले केपी ओलीसरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट्याएका छन् ।

    विप्लवले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराईलगायतसँग भेट गरिसकेका छन् ।

  • २५ हजार धरौटी बुझाएर छुटे विप्लवका दाजु वीरजंग

    २५ हजार धरौटी बुझाएर छुटे विप्लवका दाजु वीरजंग

    रुपन्देही । लामो समयदेखि कारागारमा रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द (वीरजंग) पश्चिम नवलपरासी जिल्ला अदालतबाट आज धरौटीमा छुटेका छन् ।

    उनी २५ हजार धरौटी बुझाएर रिहा भएका हु्न् । विगतमा पटक–पटक अदालतबाट छुटे पनि प्रहरीले पक्राउ गर्दै आएको थियो । तर, आज भने प्रहरीले कुनै धरपकड गरेन ।

    चन्द पहिलोपटक २०७६ असोज ३० मा विप्लवका २१ जना नेता तथा कार्यकर्तासहित दाङबाट पक्राउ परेका थिए । त्यसबेला उनी विप्लव समूहको मध्यपश्चिम कमाण्डका इन्चार्ज थिए । नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

    कपिलवस्तु शिवराज नगरपालिका–९ शिवपुरगढी घर भएका चन्द्रबहादुर विप्लवका जेठा दाजु हुन् । आफूलाई अहिलेसम्म विभिन्न ८ जिल्लामा अड्डा सार गर्दै कारागार पठाइएको चन्द्रबहादुरले बताए । २०७७ असोज २१ गते उनलाई रुपन्देहीबाट नवलपरासी ल्याइएको थियो ।

    त्यतिबेला अदालतले उनलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि चन्द्रबहादुरलाई असोज २८ गते चितवन अस्पताल पठाइयो । उनी त्यहीँको कारागारमा थिए ।

    चितवनबाट शुक्रबार नवलपरासी ल्याइएका उनले २५ हजार धरौटी बुझाएपछि अदालतले छाडेको हो । रिहा भएपछि पत्रकारहरुसँग प्रतिकृया दिँदै चन्द्रबहादुरले पार्टीसँग भएको ३ बुँदे सहमति सरकारले कार्यान्वन नगरेको गुनासो गरे ।

    सहमति कार्यान्वयन नभए देश फेरि अनपेक्षित ढंगले अघि बढ्नसक्ने उनको भनाइ थियो । वीरजंगले भने, ‘सहमति राजनीति निकासका लागि आवश्यक थियो तर अहिलेसम्म पनि मुद्दा फिर्ता र कार्यकर्ताहरुलाई नछाडेकाले अपेक्षाकृत काम भएको छैन ।’

  • रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

    रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले राजनीतिक निकासको लागि पहल गर्ने सबैप्रति आभार जनाएका छन् ।

    शुक्रवार काभ्रेबाट रिहा भएका बास्तोलाले राजनीतिक समस्यालाई राजनीतिक ढंगबाटै हल गर्ने कुरा आफ्‍नो पार्टीले पहिलेदेखि नै गर्दै आएको प्रतिक्रिया दिए ।

    सरकारले पनि राजनीतिक तरिकाले नै समस्या समाधान गरौं भनेर अघि बढे भन्दै बास्तोलाले रिहाइ तथा वार्ता सफल पार्न सहयोगी भूमिका निभाउने सबैलाई धन्यवाद दिएका छन् ।

    ‘यो देशको समस्या समाधान गर्न हामी अघि बढ्छौं र सफल पनि हुनेछौं’, उनले भने ।

  • विप्लवका एजेण्डा- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म, कति लचक बन्ला सरकार ?

    विप्लवका एजेण्डा- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म, कति लचक बन्ला सरकार ?

    काठमाडौं । प्रतिबन्ध लगाएको दुई वर्षपछि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ दुवै पक्षले आज वार्ता टोली सार्वजनिक गरेका छन् ।

    औपचारिकरूपमा वार्ता टोली सार्वजनिक भएसँगै सशस्त्र संघर्ष गरिरहेको चन्द नेतृत्वको नेकपा खुला राजनीतिसँगै शान्तिपूर्ण प्रक्रियामा आउने वातावरण देखिएको छ ।

    सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् । विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा संयोजक रहने गरी केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’सदस्य रहेको दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको छ ।

    विप्लवले फागुन ८ गते विज्ञप्तिमार्फत सहज वातावरण बने वार्ताको लागि तयार रहेको सार्वजनिक गरेसँगै सरकार र चन्द समूहबीच वार्ताको गृहकार्यले सघनरूप लिएको थियो । तर, मन्त्री र सो समूहका नेतृत्वबीच केही महिनादेखि अनौपचारिक छलफल भइरहेको थियो ।

    माघ २० गते खानेपानीमन्त्री मणि थापा र नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीको भेटघाट वार्ताको वातावरण बनाउनेतर्फ केन्द्रित थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई चाँडै मूलधारमा ल्याइने बताइरहेका थिए । सँगै प्रधानमन्त्रीले विप्लवसँग वार्ता गरेर सरप्राइज दिन लागेको उच्चस्तरीय केही बैठकमा खुलाएका थिए ।

    तीन महिनाअघि मंसिर २०-२८ मा बसेको केन्द्रीय कमिटी बैठकबाटै राजनीतिक दलहरूसँग छलफल र आवश्यक परे सरकारसँगै संवाद अघि बढाउन विप्लव समूहले प्रकाण्डको नेतृत्वमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र उपत्यका ब्यूरो इन्चार्ज चिरन पुन रहेको एक उच्चस्तरीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर भएको हो ।

    तर, बास्तोला पक्राउ परेपछि वार्ता प्रक्रिया केही ‘ब्रेक’लागेको सगरमाथा ब्यूरोका एक नेता बताउँछ । वार्तामा सरकार कत्तिको गम्भीर हुन्छ त्यसैले यो वार्ता सफल हुने/नहुने भर पर्ने उनले नेपाल प्रेससँग भने ।

    ‘दोस्रो तहकै नेता ‘डाइलग’ मा बस्न लाग्नुभएको छ । वार्ताप्रति हाम्रो गाम्भीर्य कति छ भन्ने यसले नै पुष्टि गर्छ । अब बल सरकारको कोर्टमा छ’, उनले भने ।

    विप्लवको माग- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म

    विप्लव समूहले पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, जेल र हिरासतमा रहेका नेता/कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने । उनीहरूमाथिको मुद्दा फिर्ता लिइनुपर्नेलगायतका सर्त अघि सारेको छ ।

    अग्रगामी राजनीतिक निकासको लागि अग्रगमन चाहने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकार सो समूहको प्रमुख राजनीतिक एजेण्डा छ । जनयुद्ध दिवसको दिन गत फागुन १ मा विप्लवले जारी गरेको वक्तव्यमा संसदीय व्यवस्था असफल भएकोले पुन: त्यही दिशामा लैजाने ‘जनअपेक्षित निकास’ हुन सक्दैन भनेका छन् ।

    विज्ञप्तिमा विप्लवले ‘सार्वभौमसम्पन्‍न जनताको जनमतबाट वैज्ञानिक समाजवाद र पूँजीवादको फैसला गर्ने नेतृत्व दिनसक्ने वैकल्पिक सरकारको आवश्यकता’ औंल्याएका छन् ।

    तीनै मुद्दालाई सशक्तरूपमा उठाउन भनी मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्टसँग विप्लव नेतृत्वको नेकपाले संयुक्त रणनीतिक मोर्चा निर्माण गरेको थियो ।

    ‘वार्ताकै माध्यमबाट समाधान खोज्न हामी तयार छौं । तर, यसका लागि सहज वातावरण बनाउने काम सरकारको हो । सबैभन्दा पहिले हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ । पक्राउ परेका कार्यकर्ताको रिहा र लगाइएको मुद्दा खारेज हुनुपर्छ, ब्यूरो स्रोतले भन्यो ।’

    मागबारे के भन्छ सरकार ?

    वार्ता टोली सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री पार्वत गुरुङले विप्लव समूहले उठाएका सबै माग वार्ताकै क्रममा टुंगो लाग्ने बताएका छन् । ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ’ उनको भनाइ छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस् । उहाँको हतियारको कुरा होस् । यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’

    वार्ता टोलीका सदस्य राजन भट्टराई पनि विप्लवको माग वार्ताकै टेबलबाट सम्बोधन गर्ने बताउँछन् । ‘हामीले उहाँहरूको पत्र पाइसकेका छौं । उहाँहरूको एजेण्डाबारे अन्दाजको भरमा अहिले टिप्पणी गर्नु हतारो हुन्छ । वार्तामा बसिसकेपछि के एजेण्डा आउँछ छलफल त्यही अनुसार अगाडि बढ्छ’, भट्टराईले नेपाल प्रेससँग भने ।

    श्याम श्रेष्ठको टिप्पणी- स्वार्थपूर्ण वार्ता !

    वाम विश्लेषक श्याम श्रेष्ठले भने दुवै पक्षले वार्तालाई आ-आफ्नो स्वार्थको रूपमा लिएको टिप्पणी गरेका छन् ।

    ‘वार्ता के निष्कर्षमा टुंगिन्छ भन्ने केही भन्न सक्ने अवस्था छैन विप्लवले आफूलाई वैधता प्राप्त गर्न वार्ता गर्न लागेको देखिन्छ । ओलीले पनि सबैतिरबाट अवैध भएर एक्लिएको बेला वार्ता गरेर जस लिन खोजेको देखिन्छ’, श्रेष्ठले भने ‘प्रतिक्रान्तिको नायक भनेर सबैतिरबाट आलोचित भइसकेका ओलीसँग क्रान्तिकारी विप्लवको वार्ता के र कसरी ? यो प्रश्न चाहीँ उठ्छ । मिडिया, नागरिक समाज, बाैद्धिक समुदाय र सबै पार्टीबाट एक्लिएको छ सरकार । यो बेला उद्देश्य अर्कै राखेर वार्ता गर्न खोजेको देखिन्छ ।’

    दुई वर्षमा दुई हजार बढी पक्राउ, १४४ जना अझै थुनामा

    श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजनीपछि सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित अवस्थामा सो समूहले निकै क्षति व्यहोरेको छ । प्रतिबन्ध लगाउनु १८ दिनअघि फागुन १० यता हिजोसम्म सो समूहका २ हजार ९८ नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

    प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार यो अवधिमा सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ३७६ जनालाई पक्राउ गरिएको छ । त्यस्तै २ हजार ७ वटा मुद्दा दर्ता गरिएको छ । १ हजार ८६४ जना मुद्दाको किनारा लागेर छुटिसकेका छन् । प्रहरीको तथ्यांक अनुसार १२६ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । अहिले १८ नेता तथा कार्यकर्ता विभिन्न जिल्लाका प्रहरी हिरासतमा छन् ।

    यही बीचमा १६ जना नेता तथा कार्यकर्ताहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा बढी विस्फोटबाट ७ जना छन् । प्रहरी कारवाहीमा ४ जना मारिएका छन् ।

  • सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लवको वार्ता टोली गठन

    सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लवको वार्ता टोली गठन

    काठमाडौं । सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ ।

    वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

    सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो ।

    ‘विप्लव’ नेतृत्वकाे नेकपाले सरकारसँग वार्ताको लागि प्रकाण्डको नेतृत्वमा धर्मेन्द्र बास्तोला र चिरन पुन सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर भएको हो ।

    ‘विप्लव’ नेतृत्वकाे नेकपाले वार्ताको लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ हुनुपर्नेलगायतका माग अघि सार्दै आएको छ ।

  • सरकार-विप्लव सघन संवादमा, मन्त्री भन्छन्-भरे भोलि परिणाम देखिन्छ

    सरकार-विप्लव सघन संवादमा, मन्त्री भन्छन्-भरे भोलि परिणाम देखिन्छ

    काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच अनौपचारिक वार्ता जारी रहेको छ । स्रोतका अनुसार विप्लवको वार्ता टोलीका सदस्य र सरकारका प्रतिनिधिबीच केही दिनयता भइरहेको वार्तापछि विप्लवले शनिबार वार्तामा बस्न सकारात्मक रहेको वक्तव्य जारी गरेका हुन् ।

    वार्ता प्रगतिमा रहे पनि ठोस परिणाम देखिएपछि मात्रै सार्वजनिक गर्ने तयारी दुवै पक्षको छ । ‘अहिले वार्ता चलिरहेको छ, अलि राम्रो सन्देश दिनेगरी निष्कर्षमा पुगेपछि मात्रै बाहिर बोल्ने कुरा भएको छ’ एक प्रभावशाली मन्त्रीले नेपाल प्रेससँग भने ।

    उनका अनुसार विप्लवसँग पनि सम्पर्क भइरहेको छ । विशेषगरी प्रचण्ड पक्षले वातावरण बिगार्नका लागि चलखेल गर्न सक्ने भएकाले देखिने र जनतालाई बुझाउने खालको वातावरण बनेपछि मात्र आधिकारिक कुरा बाहिर ल्याउन चाहेको ती मन्त्रीले बताए ।

    यसको संकेत प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरेका छन् । आइतवार दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विप्लवलाई प्रयोग गरेर अस्थिरता र हिंसा मच्चाउन खोज्नेहरू वार्तामा आउने कुराले डराएको टिप्पणी गरे ।

    विप्लव पक्षसँग सावधानीपूर्वक संवाद चलिरहेको र हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा समाहित हुने सहमति भएमा प्रतिबन्ध फुकुवा गरेर वार्ता हुने ती मन्त्रीले बताए । त्यसका लागि सरकारले पनि वार्ता टोली गठन गर्नेछ ।

    विप्लव समूहले यसअघि नै खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ । आज भोलिमै अनौपचारिक सहमति भएपछि हाल प्रहरी हिरासतमा रहेका विप्लवपछिको दोस्रो नेता धर्मेन्द्र बास्तोलालाई प्रक्रिया पूरा गरेर रिहा गरिने भएको छ ।

    विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले केपी ओली जतिको शक्तिशाली प्रधानमन्त्रीकै पालामा आफ्ना माग पूरा गराउन सकिने नत्र अरुले नसक्ने निष्कर्षमा सो पार्टी छ ।

    प्रचण्ड र विप्लवबीच वार्ता गराउने प्रयास पनि यसबीचमा भएको तर उनले सरकारसँगै वार्ता गरेर प्रतिबन्ध फुकुवा गराउन चाहेको ती नेताले बताए । ओली पनि विप्लवलाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याएर सिके राउतदेखि विप्लवसम्मको सेफ ल्याण्डिङको जस लिएर चुनावमा जाने दाउमा छन् ।

    सरकारले विप्लव समूहलाई वार्तामा आउन सहज वातावरण बनाइदिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल प्रेसलाई बताए । विप्लव समूहले प्रतिबन्ध फुकुवा तथा जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइलाई शर्त बनाएको छ ।

  • सर्वोच्चले छाड्न आदेश दिए लगत्तै बाँस्तोला पक्राउ

    सर्वोच्चले छाड्न आदेश दिए लगत्तै बाँस्तोला पक्राउ

    काठमाडौं । पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कन्चन’लाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

    बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बिहीबार अलाई छाड्न आदेश दिए पनि उनलाई प्रहरीले लगत्तै पक्राउ गर्‍यो। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी ओशक सिंहले बाँस्तोलालाई पुनः पक्राउ गरेको पुष्टि गरे। उनलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीमा राखिएको छ।

    बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले अदालतका रजिष्टार र नेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको थियो। प्रहरीले २९ पुसमा बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट पक्राउ गरेको थियो।

    बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो ।