Tag: नेकपा

  • प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु

    प्रचण्ड-माधवका डोल्पा जिल्ला अध्यक्षले भने- म ओलीतिर छु

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताएका छन् ।

    उनले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको समाचार आएपछिमात्र थाहा पाएको भन्दै आपत्ति जनाएका हुन् । रोकायाले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको भन्दै अर्को पक्षमा नलागेको प्रष्ट पारेका छन् ।

    उनले विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति जनाएका हुन् । रोकाया साविक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । पार्टी एकीकरणपछि पनि उनी सोही पदमा छन् ।

  • प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व (सूचीसहित)

    प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको भागबन्डा टुंग्यायो, पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व (सूचीसहित)

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो।

    पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ।

    हिजो मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो । अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ।

    जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ।

     

  • संगठनभित्र बराबरी भाग लगाउने प्रचण्ड र माधव नेपालबीच सहमति

    संगठनभित्र बराबरी भाग लगाउने प्रचण्ड र माधव नेपालबीच सहमति

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीमा संगठनभित्र बराबरी भाग लगाउने सहमति बनेको छ ।

    २० पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यदल बनाएको थियो । नेताहरुको व्यस्तता कारण देखाउँदै कार्यदल तोकिएको समयभन्दा केही ढिला सहमतिमा पुगेको हो ।

    स्थायी कमिटी सदस्य एवम् कार्यदल सदस्य गिरिराजमणि पोखरेलले पार्टी एकीकरणका काम टुंग्याउन ९ बुँदे मापदण्डमा सहमति बनेको जानकारी दिए ।

    उक्त मापदण्ड अनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा ५०-५० प्रतिशत भाग लगाउने सहमति बनेको हो । साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गरिने छ ।

    ‘सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ,’ मापदण्डमा भनिएको छ।

    २० पुसको स्थायी कमिटी बैठकले ओली पक्षतिर लागेका प्रदेश इन्चार्जहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई हटाएको थियो । उनीहरुलाई हटाएर लुम्बिनी प्रदेश इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेश इन्चार्जमा देवेन्द्र पौडेललाई नियुक्त गरेको थियो ।

    उपयुक्त मापदण्ड र आधारमा अब यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गरिने छ। यसअघि पूर्वएमाले र माओवादीबीच ६० /४० प्रतिशतको अनुपातमा भागबन्डा भएको थियो।

    प्रचण्ड-माधव पक्षले विभिन्न प्रदेश कमिटीमा ९ पदाधिकारी नियुक्त गर्न बाँकी छ। प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेकाले त्यहाँ सबै पदाधिकारी नियुक्ति गर्न बाँकी छ।

    सग्लो नेकपाको जस्तै पदाधिकारी संरचनामा गए पनि उपाध्यक्ष र महासचिव नियुक्त हुन बाँकी छ । महासचिवमा धेरै आकांक्षी भएका कारण विशेष गरी महासचिव नियुक्ति प्रचण्ड-माधव पक्षलाई कठिनाइ भएको छ ।

    महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत आकांक्षी छन् । पार्टीमा धेरै भाग नपाएका वरिष्ठ नेता झलनाथ खनालको सिफारिसअनुसार सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी भए पनि आकांक्षीहरुको विरोधका कारण कुनै निर्णय भएको छैन् ।

  • माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती: प्रभु साह

    माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती: प्रभु साह

    गौर। शहरी विकास मन्त्री एवम् ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाएर प्रचण्डले ठूलो गल्ती गरेको बताएका छन् ।

    परोहा नगरपालिकाको तेजापाकडमा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले पटक-पटक धोका दिंदै आएका माधव नेपाललाई विश्वास गर्ने प्रचण्डको भुल भएको टिप्पणी गरे ।

    पराजित भएर पनि सोही पदको लालसाले जे पनि गर्न पछि नपर्नेले भविष्यमा केही गर्दैन भनेर विश्वास गर्ने आधार नभएकोले माधव नेपालजस्ता अनैतिक व्यक्तिलाई पुनः मौका दिनु प्रचण्ड मात्रको लागि नभई समग्र कम्युनिष्ट आन्दोलनका लागि घातक भएको मन्त्री साहले बताए ।

    यसअघि माधव नेपाललाई सांसद बनाउँदा प्रचण्डलाई नै अपदस्त गरी प्रधानमन्त्री बनेको स्मरण गराउँदै मन्त्री साहले विभिन्न षड्यन्त्र गरेर पार्टीमा भाँडभैलो मच्चाउनेलाई अध्यक्ष बनाएर ठूल्ठूला क्रान्तिका कुरा गर्नु हास्यास्पद रहेको मन्त्री साहको टिप्पणी छ ।

    ‘तपाईंहरू साक्षी हुनुहुन्छ, दुई-दुई स्थानबाट पराजित भएको व्यक्तिलाई प्रचण्डजीले सांसद बनाउनुभयो, अनि प्रधानमन्त्री पदबाट अपदस्त हुनुपर्‍यो । प्रधानमन्त्री बन्न ती व्यक्तिले प्रचण्डजीलाई पदबाट मात्र हटाएनन्, तथानाम आरोप लगाएर गाली समेत गरे’, मन्त्री साहले भने, ‘पराजित भएर पनि पुनः त्यही पदको लालसामा जे पनि गर्ने मान्छेले भविष्यमा केही गर्दैन भने विश्वास गर्ने कुन आधारमा गर्ने ? त्यस्ता व्यक्तिमा कुनै किसिमको नैतिकता हुँदैन ।’

    “त्यस्ता अनैतिक व्यक्तिलाई प्रचण्डजीले पुनः अध्यक्ष बनाउनुभएको हो । त्यो प्रचण्डको लागि मात्र होइन सिंगो कम्युनिष्ट आन्दोलनका लागि घातक सावित हुनेछ” मन्त्री साहले भने, “षड्यन्त्र र जालझेल गर्ने मान्छे जहाँ भए उसले गर्ने भनेको त्यति नै हो । आज पदलोलुपताका लागि आफ्नै पार्टी र पार्टीको सरकारको विरुद्ध विभिन्न षडयन्त्र गरेवापत प्रचण्डजीले अध्यक्ष पदले जुन प्रकारले पुरस्कृत गर्नुभएको छ, त्यही अनुपातमा तिरस्कृत हुनुपर्ला सचेत रहनुहोला ।”

    मन्त्री साहले थपे, “निर्वाचन आयोगले अमान्य भनिसकेको अवस्थामा समेत आफूलाई अध्यक्ष भन्न पछि नपर्ने कुन हदसम्म पदको स्वार्थमा डुबेको होला अनुमान लगाउन सक्नुहुन्छ ।”

    कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख एवम् नेकपा प्रदेश कमिटी सदस्य रीनाकुमारी साह, नेकपाका प्रदेश सदस्यहरु त्रिभुवन साह एवम् मनोज यादव, नेता किरण साह, चन्देश्वर बैठालगायतको सहभागिता रहेको थियो ।

  • पेरिसडाँडामा प्रचण्डको ‘ब्रिफिङ’-जति बेला जे पनि हुन सक्छ, तम्तयार हुनुस्

    पेरिसडाँडामा प्रचण्डको ‘ब्रिफिङ’-जति बेला जे पनि हुन सक्छ, तम्तयार हुनुस्

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थिति तरल भएको भन्दै जतिबेला जे पनि हुन सक्ने विश्लेषण सुनाएका छन्।

    शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा प्रचण्डले संक्षिप्त ‘ब्रफिङ’गर्दै प्रचण्डले जस्तो सुकै परिस्थितिका लागि पनि तयार रहन निर्देशन दिएका हुन् ।

    ‘साथीहरुलाई ‘रिजिड’नहुनका लागि अनुरोध गर्नुभयो,’ केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले नेपाल प्रेससँग भने, ‘जति बेला जस्तो सुकै परिस्थिति आउँदा पनि खेरी पनि तम्तयार रहन निर्देशन दिनुभयो ।’

    परिस्थिति अनुकूल संघर्ष समितिले तय गर्ने संघर्षका कार्यक्रम पनि फेरिएको भन्दै प्रचण्डले बदलिने परिस्थिति अनुसारै अगाडि बढ्नुपरेको प्रचण्डको भनाइ थियो ।

    ‘संघर्ष समितिले बनाएका संघर्षका कार्यक्रम बेला-बेला फेरबदल हुनुको कारण पस्थितिमा आएको फेरबदलले हो,’ केन्द्रीय सदस्यको जिज्ञासमा मेटाउने क्रममा प्रचण्डले बैठकमा भनेका थिए, ‘यो तरलताको अवस्थामा पूर्वनिर्धारित योजना अनुसार नै कसरी जान्छ भन्ने हुँदैन । परिस्थिति बदलिए अनुसार हामी पनि बदलिए अगाडि बढ्नुपर्ने हुन्छ ।’

    अहिलेको राजनीतिक परिस्थितिबारे भने अर्का अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गरेका थिए । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता र सूर्य चिन्ह नपाए थप आन्दोलनमा उत्रिने भन्दै केन्द्रीय सदस्यहरुलाई तयार रहन नेपालले आग्रह गरेका छन् ।

    बैठकलाई शुरूमै सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगको संकेत राम्रो नदेखिएको सुनाएका थिए । दुई तिहाई सदस्य आफूहरुसँग हुँदा पनि निर्वाचन आयोगगले आधिकारिकता नदिए चुप नलाग्ने उनको भनाइ थियो।

    नेपालले केपी ओलीले अनेक भ्रम फैलाउने खोजिरहेको र पूर्वएमालेहरू आफ्नो नेतृत्वमा लैजान खोजिरहेको भन्दै भ्रम चिर्नुपर्ने उनको भनाइ थियो ।

    ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर जनता कार्यकर्तालाई भ्रमित पार्न खोजिरहेकाले भ्रम चिर्न आवश्यक रहेको उनले बताए।

    बैठकमा सातै प्रदेशका इन्चार्जहरूले पार्टीको अवस्था र भावी रणनीतिको रिपोर्टिङ गरेका थिए ।

  • प्रचण्ड-माधव पक्षको विश्‍वास- विधि र नियम हेरेर निर्वाचन आयोगले पार्टी आधिकारिकता टुंग्याउँनेछ

    प्रचण्ड-माधव पक्षको विश्‍वास- विधि र नियम हेरेर निर्वाचन आयोगले पार्टी आधिकारिकता टुंग्याउँनेछ

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले पार्टी आधिकारकिताबारे निर्वाचन आयोगले छिट्टै निर्णय लिने विश्वास जनाएको छ ।

    शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले गरेका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘विधि र नियम हेरेर हाम्रो पार्टीको आधिकारिकताबारे छिट्टै निर्णय लिनेछ भन्ने विश्वास हामीले गरेका छौं ।’

    बैठकले संविधान र लोकतन्त्रको रक्षा गर्ने गरी अदालतले निर्णय लिने विश्वास व्यक्त गरेको उनले जानकारी दिए ।

    श्रेष्ठले आज केन्द्रीय कमिटीका सदस्यको नागरिकता संकलनमात्रै गरिएको र हस्ताक्षर आवश्यक परेका बेला पनि संकलन गर्न सकिने बताए ।

    पार्टिको प्रदेश, जिल्ला कमिटीलगायतका संरचनामा पदाधिकारी पनि चाँडै नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले अहिलेसम्म जारी आन्दोलन सफल भएको निष्कर्ष निकाल्दै चौथो चरणको सडक संघर्षका कार्यक्रम प्रभावकारी बनाउन तल्लो तहलाई निर्देशन दिएकोसमेत श्रेष्ठले बताए ।

  • मानव साङ्लोले टुँडिखेल घेराउ गर्दै प्रचण्ड-माधव पक्ष

    मानव साङ्लोले टुँडिखेल घेराउ गर्दै प्रचण्ड-माधव पक्ष

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव पक्षीय नेकपाले मानव साङ्लोसहित काठमाडौंको टुँडिखेल घेराउ गर्दैछ ।

    बुधबारदेखि शुरू भएको चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत आज अपरान्ह एक घण्टा टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिंदैछ ।

    साढे ३ बजे भेला भएर अपरान्ह ४ देखि ५ बजेसम्म मानव साङ्लोले टुँडिखेल घेर्ने केन्द्रीय संघर्ष समितिका सचिवालय सदस्य प्रकाश विकल्पले जानकारी दिए ।

    नयाँ चरणको आन्दोलनअन्तर्गत फागुन २ गते नेकपा प्रचण्ड-माधव पक्षले ५ देखि २१ फागुनसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

  • प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन आजदेखि शुरु हुँदै

    प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन आजदेखि शुरु हुँदै

    काठमाडाैं। प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)को चौथो चरणको आन्दोलनको कार्यक्रम आजदेखि शुरु हुँदैछ।

    २ फागुनमा नेकपाले चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो। जस अनुसार ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रमु हुनेछन् ।

    २१ फागुनसम्मका लागि घोषणा गरिएको कार्यक्रममा भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।

  • बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका

    बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंगलादेशको मोडलमा चुनाव गराउने खेल भइरहेको आशंका जनाएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना भएन भने त्यसपछि हुने चुनाव असंवैधानिक,अवैधानिक र अलोकतान्त्रिक हुने बताएका छन् ।

    चितवनमा मंगलवार विहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘अदालतको फैसला अन्यथा आयो र चुनाव हुने भयो भने पनि त्यो असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक हुनेछ । कसैले त बंगलादेशको मोडलमा अवैधानिक ढंगले गर्न लागिएको चुनाव पनि भन्न थालेका छन् ।’

    गृहजिल्ला पुगेका प्रचण्डले यदि प्रतिनिधिसभा पुनःस्थापना भएन र चुनावतिर मुलुक गयो भने आफ्नो नेतृत्वको पार्टीले भाग नलिने संकेत गरे ।

    उनले  भने, ‘चुनावतिर मुलुक गयो भने मेरो नेतृत्वको पार्टीले के गर्छ भन्‍ने कुरा मेरो भनाइबाटै तपाईंहरूले बुझिसक्नुभयो । तर, त्यसपछि दक्षिणपन्थी र वामपन्थी अतिवादले अराजकताको भूमरी सिर्जना गर्छ । म त शान्तिपूर्ण राजनीतिमा रहन्छु तर मुलुक अराजकतामा जान्छ ।’

    प्रचण्डले संयुक्त आन्दोलनमा जानका लागि आफूले कांग्रेस सभापति शेरवहादुर देउवासँग पनि सोमवार कुरा गरेको बताए । जसपासँग पनि कुरा भइरहेको र मिलेर आन्दोलन गर्दा एक सातामा छिनोफानो हुने उनले बताए ।

  • चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

    चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

    पोखरा । उपप्रधान तथा ओलीपक्षीय नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड-माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए । ‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन पाइँदैन भन्दै थर्काउनुहुन्छ’, पोखरामा आइतबार आयोजित ओलीपक्षीय प्रेस संगठनको प्रदेश भेलामा पोखरेलले भने ।

    जनताको ताजा जनादेशका लागि जाने कुरा कुनै पनि हालतमा असैंवधानिक र अलोकतान्त्रिक नहुने उनको तर्क छ । माधव-प्रचण्डको सत्ता तृष्णाको मनोरोगका कारण संसद विघटन गर्नुपरेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ ।

    उपप्रधान पोखरेलले तत्कालीन माओवादीको राजनीति सकिएकोबेला एमालेको शरणमा आएको दाबी गरे । उनले भने, ‘माओवादीको पोलिटिक्स सकिएकोथ्यो । उहाँहरू पावरबाट बाहिर हुनुहुन्थ्यो । मानवताविरोधी कार्यका लागि टाउकोमा तरवार थियो । त्योबाट छुटकारा पाउन पार्टी एकता गर्नु भयो ।’उनले माधव नेपाल पनि प्रचण्डको मुंग्रो समाएर केपी विरोधी काम गरेको आरोप लगाए ।

    ‘टू इन वान भएर ओल्टेकोल्टे हुन पाइँदैन’

    पोखरेलले पार्टीनिकट पत्रकारलाई पार्टी र पेशा दुवैमा कटिबद्ध भएर लाग्न सुझाव दिए ।

    ‘पत्रकारले आफ्नो पेशागत दक्षता भने प्रदर्शन गर्नैपर्छ । दक्षता भएन भने अघि बढ्न सकिँदैन । विचारको पनि स्पष्टता हुन जरुरी छ,’ पोखरेलले भने, ‘पेशागत दक्षता नभएर पार्टीमा लाग्छु भन्ने सोच्नु हुँदैन ।’

    पोखरेलले कार्य दक्षता भएर पनि विचारमा स्पष्टता भएन भने अन्तिममा ‘नागरिक समाजको अगुवा’ भइने आरोप लगाए । ‘धेरैलाई देखेको छु । कार्य दक्षता भएर अग्रज भएका छन् । तर, अन्तिममा विचार खुइलिँदै गएर उनीहरु नागरिक समाजमा परिणत भएका छन्,’ उनले भने, ‘विचार र दक्षतासहित अघि बढिसकेपछि ओल्टेकोल्टे हुनै पाइँदैन ।’

  • घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    बुटवल । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रभावशाली नेता घनश्याम भुसालका मुख्य सहयोगी मानिने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे केपी ओली पक्षमा लागेका छन् ।

    अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलसँगको पटक-पटकको छलफलपछि उनले आइतवारबाट घनश्याम भुसालको साथ छाडेका हुन् । भुसालको गृहनगर तिलोत्तमाका मेयर घिमिरे र उपमेयर जागेश्वरी चौधरी दुवैजना पार्टी विभाजनपछि प्रचण्ड-माधव पक्षमा थिए ।

    शनिवारको बुटवलको जनसभामा भाग लिन पुगेका महासचिव पौडेलले आइतवार अपरान्ह मेयर घिमिरे र उपमेयर चौधरीको बीचमा बसेर ‘हामी सँगै थियौं र सँगै हुनेछौं’ भन्ने स्टाटससहितको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि दुवै नेकपा पंक्तिमा खैलाबैला मच्चिएको थियो ।

    घिमिरेनिकट स्रोतका अनुसार उनी र उपमेयरसहित नगरपालिकाका अधिकांश वडाध्यक्ष र सदस्यहरूले सल्लाह गरेर प्रचण्ड-माधव पक्ष परित्याग गर्ने निर्णय भएको हो । सो नगरपालिकामा तत्कालीन एमालेले जितेको थियो ।

    पार्टी विभाजनपछि रुपन्देहीमा प्रचण्ड-माधव पक्षको अधिकांश बैठक र छलफलहरू घिमिरे नेतृत्व र उनकै होटलमा हुने गरेका थिए । त्यस्तै उपमेयर चौधरीलाई अ‍ोली पक्षले केन्द्रीय सदस्य मनोनीत गरे पनि अश्वीकार गरेकी थिइन् ।

    आइतवार महासचिव बिष्णु पौडेललाई विदाइ गर्न मेयर उपमेयरसहित भैरहवा विमानस्थलमा पुगेका थिए ।

  • गृहमन्त्री बादलको विश्लेषण-समाजवाद लागू गर्न खोज्दा सशस्त्र द्वन्द्व हुनसक्छ

    गृहमन्त्री बादलको विश्लेषण-समाजवाद लागू गर्न खोज्दा सशस्त्र द्वन्द्व हुनसक्छ

    काठमाडौं । गृहमन्त्री रामवहावदुर थापा बादलले नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न खोज्दा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध गर्न सक्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताएका छन् ।

    माओवादी जनयुद्धको २६औं वर्षगाँठका अवसरमा पूर्व माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बादलले समाजवादी क्रान्तिविरुद्ध सशस्त्र प्रतिरोध भए सरकारले दमन गर्नुपर्ने बताए ।

    उनले भने- आज जनताले नेकपालाई देशको नेतृत्व सुम्पेका छन् र समाजवादी क्रान्ति गर्ने जिम्मा पनि दिएका छन् । यसो गर्दा हामीले सशस्त्र स्वरुपको अभ्यास गर्न आवश्यक छैन । तर प्रतिक्रियावादीले सशस्त्र प्रतिरोध गरे भने हामीसँग सेना छ, प्रहरी छ । त्यो अवस्थामा सशस्त्र दमन गर्नुपर्ने पनि हुन्छ ।

    नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति शान्तिपूर्ण रुपमा अघि बढ्ने भन्दै उनले प्रतिक्रियावादीहरुबाट हुन सक्ने सशस्त्र द्वन्द्वप्रति सचेत हुनुपर्ने  बताएका छन् ।

    गृहमन्त्रीले भने- एउटा चरणमा गएर सशस्त्र द्वन्द्व हुने स्थिति आउन सक्छ,हामीले आफूलाई तयार पार्नुपर्छ, सजग रूपमा राख्नुपर्छ ।

  • अन्तिम धक्काको लागि तयार रहन प्रचण्ड-माधवको आह्वान

    अन्तिम धक्काको लागि तयार रहन प्रचण्ड-माधवको आह्वान

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेको छ ।

    सोनाम ल्होसार पर्वको अवसरमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त शुभकामना वक्तव्य निकाल्दै जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको’ उल्लेख गरेका छन् ।

    ‘समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो’ शुभकामना वक्तव्यमा भनिएको छ, ‘पछिल्लो घटनाका रूपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरू भएको छ । प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।’

  • बादलप्रति प्रचण्डको कटाक्ष- लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा हाल्छु भन्ने ? (भिडियो)

    बादलप्रति प्रचण्डको कटाक्ष- लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा हाल्छु भन्ने ? (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रा दिमाग भएका सबै संविधानको पक्षमा रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना पूर्वसहकर्मी रामबहादुर थापा ‘बादल’प्रति पनि कटाक्ष गरे ।

    लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा हाल्ने धम्की बादलले दिएको भन्दै उनीप्रति प्रचण्डले कटाक्ष पनि गरे।

    प्रचण्डले भने, ‘संविधानका पक्षमा आवाज उठाउने ‘बेष्ट ब्रेन’। मैले भन्ने गरेको छु, बेस्ट ब्रेन । नेपालका सबै राम्रो दिमाग भएकाहरू हाम्रो साथमा छन् । नराम्रा दिमागहरू, म एक/दुईजनाको नाम पनि लिन चाहन्थें अहिले लिन्न । कति नराम्रा दिमाग । लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा हाल्ने भन्ने दिमागहरू । बुझ्नुभयो नि ।’

  • देउवालाई प्रचण्डको आग्रह-गिरिजाबाबु र सुशील कोइरालालाई नबिर्सिनुस् (भिडियो)

    देउवालाई प्रचण्डको आग्रह-गिरिजाबाबु र सुशील कोइरालालाई नबिर्सिनुस् (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदान नबिर्सन नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

    काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले शान्ति, संविधान र लोकतन्त्रको अगुवाइ गरेको कांग्रेसले संविधानमाथि घात हुँदा संयुक्त आन्दोलनका लागि तयार हुनैपर्ने भन्दै आफूहरू हातेमालो गर्न तयार रहेको पनि प्रष्ट्याए ।

    ‘अहिले गिरिजाबाबु र सुशील कोइराला त हुनुहुन्न तर शेरबहादुरजी हुनुहुन्छ । शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेता देउवाजी पनि हो । संविधान र लोकतन्त्रमा घात हुँदा संयुक्त आन्दोलनमार्फत यो देशमा लोकतन्त्र अब चै खतरामा छैन भनेर पुष्टि गर्ने अवसर कांग्रेसलाई पनि छ’, उनले भने ।

    दाहालले कांग्रेससँग हातेमालो गरेर अगाडि बढ्न आफू तयार रहेको बताए । कांग्रेस र जनता समाजवादी पार्टी दुवैले संसद विघटनलाई असंवैधानिक भनिसकेकोले संयुक्त आन्दोलनमा होमिन ढिलो गर्न नहुने प्रचण्डको भनाइ थियो ।

  • प्रचण्डले भने- निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन है

    प्रचण्डले भने- निर्वाचन आयोगले लक्षण राम्रो देखाएको छैन है

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपा विवादलाई लिएर ‘लक्षण राम्रो नदेखाएको’ टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आयोगलाई धम्क्याएको आरोप पनि लगाए ।

    ‘मैले धेरै कुरा के भन्नु, झन् कुरा बिग्रिएला’ राजधानीमा आयोजित जनसभामा प्रचण्डले भने, ‘तर, आयोगले राम्रो लक्षण देखाएको छैन है ! केपीले अदालतलाई धम्क्याएका छन् । आयोग उनको काइते कुराको पछि नलाग, धम्कीसँग खुट्टा नकमाउ ।’

    उनले धेरैलाई कुर्सीकै लागि आफूहरुले आन्दोलन गरेको भान परेको भन्दै त्यो गलत भएको स्पष्टीकरण दिए ।

    ‘हामीलाई चाहिएको छैन कुर्सी’ उनले भने, ‘तपाईंहरू भ्रममा नपर्नुस् ।’

  • प्रचण्ड-माधव पक्षको विरोधसभाका वक्ताः रामकुमारी झाँक्रीदेखि प्रचण्डसम्म

    प्रचण्ड-माधव पक्षको विरोधसभाका वक्ताः रामकुमारी झाँक्रीदेखि प्रचण्डसम्म

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आज फेरि काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ । प्रदर्शनीमार्गमा हुने सभाका लागि काठमाडौंका विभिन्न स्थानमा जुलुसहरू निस्किरहेका छन् ।

    संसद विघटनको विरोधमा आन्दोलनरत उक्त पक्षले आजको प्रदर्शनका लागि विभिन्न जिल्लाबाट मानिसहरू ओसारेको छ । आमसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    आज प्रचण्ड-माधव पक्षको आमसभामा बोल्ने वक्ताहरुको सूची लामो छ । तीन शीर्ष नेताहरू प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सभालाई सम्बोधन गर्नेछन् । यसैगरी अन्य वक्ताहरुमा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठलगायत छन् । कार्यक्रमको अध्यक्षता हितबहादुर तामाङले गर्नेछन् भने सञ्चालन लिलामणी पोखरेलले गर्ने भएका छन् ।

  • दल विशेषको रूपमा मात्रै नबुझी विरोध सभामा सहभागी भइदिन प्रचण्ड-माधव पक्षको आह्वान

    दल विशेषको रूपमा मात्रै नबुझी विरोध सभामा सहभागी भइदिन प्रचण्ड-माधव पक्षको आह्वान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले बुधबार (भोलि) गर्न लागेको विरोधसभामा कुनै दलको कार्यक्रमका रूपमा मात्रै नबुझी सहभागी हुन आह्वान गरेको छ ।

    बुधबार हुन लागेको विरोधसभाबारे फेसबुक लाइभमार्फत ‘ब्रिफिङ’गर्दै नेकपा स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई यस्तो आह्वान गरेका हुन्।

    ‘भोलिको विरोध प्रदर्शन कुनै राजनीतिक दलको मात्रै विरोध प्रदर्शन होइन,’ भट्टराइले भने, ‘अवश्य पनि यो नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने विरोध प्रदर्शन हो । यो विरोध प्रदर्शन प्रतिगमनको विरुद्धमा हो, असंवैधानिक कदमको विरुद्धमा हो, लोकतन्त्रको पक्षमा हो । अहिले भइरहेका बलात्कार, हत्या, हिंसाको विरुद्धमा हो । मुलुकमा समाजिक, आर्थिक क्षेत्रमा बढीरहेको बेतिथिविरुद्ध पनि भएको हुनाले यो कुनै दलको रूपमा मात्रै नबुझिकन आम जनसमुदायलाई भोलिको विरोध प्रदर्शनमा उल्लासमय ढंगले सहभागि बनिदिनुहुनका निम्ति म नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट हार्दिक आह्वान गर्न चाहान्छु ।’

    खुलामञ्चलाई बसपार्क बनाएकाले बाध्यतावस पुनः सडकमै सभा गर्नुपर्ने भएको भन्दै त्यसबाट हुने असुविधाप्रति उनले माफी मागे । उनले भने, ‘आज दुर्भाग्यवस टुँडिखेल छैन । पहिलेको खुलामञ्‍चलाई बञ्‍च बनाएको छ । फेरि पनि सडकमै विरोधसमा गर्नुपर्ने बाध्यता आइलागेको छ ।’

    ‘ट्राफिक डाइभर्ट’गरिहने हुँदा आम सर्वसाधरणमा केही कष्ट हुने भन्दै उनले भने, ‘विभिन्न ठाउँबाट ट्राफिक डाइभर्ट हुने कुरा ट्राफिकले व्यवस्थापन गर्नु भएको छ। समयमै गन्त्वयमा पुग्न नसकिने अथवा भनेको बाटोबाट जान नपाउने जस्ता केही कष्ट आम सर्वसाधारणलाई हुनेछन् । त्यसका लागि हाम्रो पार्टी दुःख व्यक्त गर्छ, हामी क्षमा चाहान्छौं ।’

    ‘यो एउटा बाध्यता छ,’ भट्टराईले भने, ‘यदि केपी ओलीले संविधानमाथि आक्रमण नगरेको भए, मुलुकलाई प्रतिगमनको दिसामा नलगेको भए सायद यो अवस्था हुने थिएन नै । त्यसैले यो बाध्यकर अवस्था हो भन्ने आम जनसमुदायले बुझिदिनु हुनेछ भन्ने आशा मैले लिएको छु ।’

    आफूहरूले सडकमा कमभन्दा कम असर परोस् भन्ने कुरामा ध्यान दिएको र सभा पनि संक्षिप्त हुने उनको भनाइ छ।

  • विरोधसभाको अघिल्लो दिन प्रचण्ड-माधव पक्षको मार्चपास

    विरोधसभाको अघिल्लो दिन प्रचण्ड-माधव पक्षको मार्चपास

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बुधबार (भोलि) गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड-माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ । त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ ।

    सभालाई प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • निर्वाचन आयोगमा प्रधानमन्त्री, चुनावबारे छलफल हुँदै (तस्बिरहरू)

    निर्वाचन आयोगमा प्रधानमन्त्री, चुनावबारे छलफल हुँदै (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वैशाखमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न आफैं निर्वाचन आयोगमा पुगेका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग पुगेका ओलीले मन्त्रिपरिषदको हिजोको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा समेत छलफल गर्दैछन् ।

    ओलीपक्षीय नेकपाको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारी पाएका नेता नेम्वाङले प्रधानमन्त्री नेकपा विवादको बारेमा छलफल गर्न नभई निर्वाचन आयोगको तयारीका बारेमा छलफल गरिरहेको बताए ।

    उनले भने, ‘कतिपयले नेकपाको आधिकारिकताबारे छलफल गर्ने भनेर बुझेका होलान् तर उहाँ वैशाख १७ र २७ गतेको निर्वाचनको तयारी के छ र सरकारको तर्फबाट के सरसहयोग आवश्यक पर्छ भनेर छलफलका लागि हामीसहित आउनुभएको हो ।’

    नेम्वाङले नेकपाको विवादबारे एकचरण निर्वाचन आयोगले टुंगो लगाइसकेको र अध्यक्ष केपी ओलीले आधिकारिकता मागेर जाने कुरा नहुने बताए । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षलाई निर्वाचन तयारीबारे छलफल गर्न बोलाएको थियो ।

    त्यसबेला ओलीको तर्फबाट महासचिवव पौडेल र नेम्वाङसहित ७ जना नेता छलफलमा भाग लिन गएका थिए भने प्रचण्डको पक्षबाट गएका राजेन्द्र पाण्डे, लीलामणि पोखरेललगायतका नेताले पत्र बुझाएर फर्किएका थिए ।

    त्यसको केही दिनपछि प्रचण्ड र माधवकुमार नेपाल नेकपाको आधिकारिकता आफूहरुले पाउनुपर्ने लिखित माग लिएर आयोगमा गएका थिए । आयोगले त्यसको सुनुवाइ गरिरहेको छ ।

    तस्बिरहरू : विजय गजमेर ।

  • वैशाखमा चुनाव भयो भने अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ-प्रचण्ड

    वैशाखमा चुनाव भयो भने अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ-प्रचण्ड

    काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वैशाख १७ र २७ गते सरकारले तोकेको निर्वाचन नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास आफूहरूलाई रहेको उनको भनाइ छ ।

    नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘हामी विश्वस्त छौं कि चुनाव हुँदैन, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ । यदि केपी ओलीले घोषणा गरेको चुनाव हुने भयो भने त्यो अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ ।’

    प्रचण्डले ओली र आफूहरूबीचको विवादलाई कुर्सीको लडाइँका रूपमा नबुभिदिनसमेत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । माधव नेपाल र आफूबीच ४० वर्षदेखि सहकार्य रहेकाले ओलीसँग जस्तो विभाजन नआउने विश्वास समेत उनले व्यक्त गरे । उनले केपी ओली र आफूहरुलाई एकै रूपमा तुलना नगर्नसमेत आग्रह गरेका छन् ।

  • प्रदर्शनको ‘कमान्डिङ’ गर्न प्रचण्ड-माधव पक्षका सबै केन्द्रीय नेता सडकमा ओर्लने (सूचीसहित)

    प्रदर्शनको ‘कमान्डिङ’ गर्न प्रचण्ड-माधव पक्षका सबै केन्द्रीय नेता सडकमा ओर्लने (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले बुधबार (२८ गते) गर्न लागेको विरोधसभाको नेतृत्व गर्न केन्द्रीय तहका सबै नेता सडकमा पुग्ने भएका छन्।

    केन्द्रीय संघर्ष समितिका अनुसार ५ ठाँउबाट निस्कने जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताहरूले गर्ने छन्।

    सबै सहायक जुलुस ११ बजे शुरू हुने छन् भने मूल जुलुस १२ बजे शुरू हुने संघर्ष समितिले जनाएको छ ।

    मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार- पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्ने छ।

    हेर्नुस्  जुलुस शुरू हुने ठाँउ र नेतृत्वकर्ताको सूची :

  • प्रचण्डले भने- सुरक्षाकै मान्छेले गन्दा पनि ओलीको सभामा ३० हजारभन्दा देखिएनन्

    प्रचण्डले भने- सुरक्षाकै मान्छेले गन्दा पनि ओलीको सभामा ३० हजारभन्दा देखिएनन्

    काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष प्रचण्डले ओली अहिले रक्षात्मक अवस्थामा पुगिसकेको दाबी गरेका छन् ।

    सोमबार एकिकृत अखिल नेपाल शिक्ष संगठनको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली अब रक्षात्मक हुने गतिमा गइसके । अस्तिसम्म त धाकधक्कु लगाउँथे । अस्तिको कार्यक्रममा सुरक्षा संगठनका मान्छेले गन्दा पनि तीस हजारभन्दा बढी देखिएनन् । अहिले उनीहरूनै धेरै मान्छे किन ल्याउन सकिएन भनेर एकअर्कामा गाली गर्दै हिँडेका छन्।’

    प्रचण्डले प्रधानमन्त्री ओली शिक्षक र बुद्धिजिविसँग तर्सिने गरेको आरोपसमेत लगाए । ओली शिक्षक राजनीतिमा लाग्नुहुन्न भन्ने कुराको प्रवक्ता भए पनि त्यो ढाँट कुरा भएको उनको टिप्पणी थियो ।

    ‘बौद्धिक र क्रान्तिकारी मान्छे आफ्नो पक्षमा लाग्दैनन् भनेर उहाँ शिक्षक र बुद्धिजिविसँग तर्सिनुहुन्छ,’ प्रचण्डको भनाइ छ, ‘उहाँलाई हनुमान, दास, अन्धभक्त चाहिने, शिक्षकहरू त्यस्तो हुँदैनन् । उनीहरू विवेकशील हुन्छन्, क्रान्तिकारी हुन्छन् । यही कुरा बुझेर केपी ओलीले शिक्षकहरूलाई राजनीति बाहिर राख्न खोज्दा रहेछन् ।’

    प्रचण्डले थपे, ‘शिक्षकलाई राजनीतिमा लगाउनु हुँदैन । पार्टीका कुनै पनि पदमा राख्नु हुँदैन भन्ने कुराको प्रवक्ता केपी ओली नै हो । त्यो ढाँट कुरा हो ।’

  • केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै बाँकी छन् : माधव नेपाल (भिडियो)

    केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै बाँकी छन् : माधव नेपाल (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली पक्षसँग असल मानिस नरहेको बताएका छन् ।

    सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्को पहिलो बैठकलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीसँग ‘बा’ भन्न रुचाउने मान्छे मात्रै रहेको टिप्पणी गरेका छन् ।

    ‘केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै छन्,’ नेपालले भने, ‘त्यहाँ क्रान्तिकारी, सहयोद्धा छैनन् । हामीसँग असल मानिस छन् ।’ उनले ओलीसँग नाटक गर्न सिपालु मान्छे मात्रै रहेको आरोप समेत लगाए । नेपालले भने, ‘ केपी ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न मात्रै सिपालु छन् । उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै हो ।’

    सूर्य चिन्ह आफूहरुले मात्रै पाउने दाबी गर्दै उनले भने, ‘ओली बा पार्टी खोल्दिए सबै भन्दा राम्रो । त्यो मन पराउने सबै उतै जान्छन्।’

    नेपालले अहिलेको लडाइँ केपी ओलीविरुद्ध नभई केपी ओली प्रवृत्तिविरुद्धको भएको बताए ।

  • नेकपा विभाजनको असर राष्ट्रसेवकसम्म, ओली पक्षले गर्‍यो पेशागत महासंघ पुनर्गठन (सूचीसहित)

    नेकपा विभाजनको असर राष्ट्रसेवकसम्म, ओली पक्षले गर्‍यो पेशागत महासंघ पुनर्गठन (सूचीसहित)

    काठमाडौं । नेकपा विभाजनको असर राष्ट्रसेवक कर्मचारी र पेशागत संगठनहरुमा पनि फैलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाको पेशागत महासंघ नेपालको राष्ट्रिय भेलाले विश्वनाथ प्याकुरेललाई अध्यक्षबाट हटाई बाबुराम थापालाई संयोजकको जिम्मेवारी दिएको छ ।

    शिक्षक संगठनका पूर्व अध्यक्ष थापा संयोजक र निजामति कर्मचारीतर्फका दयाराम बस्याल सहसंयोजक रहने गरि २८५ सदस्यीय पेशागत महासंघ नेपाल केन्द्रीय समिति पुनर्गठन गरेको छ ।

    शनिवार काठमाडौंमा सम्पन्न भेलाले ६१ सदस्यीय स्थायी समिति पनि चयन गरेको छ । भेलामा ७७ जिल्लाका करीव २२ सय राष्ट्रसेवक कर्मचारी र पेशाकर्मीहरुको उपस्थिति रहेको निजामति कर्मचारी संगठनका राष्ट्रिय अध्यक्ष केदार देवकोटाले बताए ।

    पेशागत महासंघ नेपालमा विभिन्न २७ वटा राष्ट्रिय घटकहरु सदस्य छन् । ती घटकका अध्यक्ष स्थायी कमिटीका पदेन सदस्य रहने देवकोटाले जानकारी दिए । भेलामा ७५ प्रतिशत घटक संगठनका मुख्य नेतृत्व सहभागी रहेको उनले बताए ।

    भेलालाई सम्बोधन गर्दै नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले राष्ट्रसेवक पेशाकर्मीहरुलाई दिन मिल्ने र दिन सकिने जति सबै सेवाा सुविधाहरु उपलब्ध गराइने आश्वासन दिएका थिए ।

    भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले समेत सम्बोधन गरेका थिए ।

    पेशागत महासंघका पुनगर्ठित नेतृत्व यस्तो छ :

  • ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

    ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए ।

    ‘तपाईंहरुले सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ ओलीले सोधे । (भीडबाट चुनाव-चुनाव आवाज आउँछ ।)
    त्यसपछि ओली आफैं नारा लगाउन थाले ।

    ‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ।’

    नारा लगाइसकेर भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ ’, ओलीले अगाडि थपे, ‘निर्वाचन हुँदा देश संकटमा पर्छ रे, जनताले आफ्नो फैसला दिँदा देश संकटमा पर्छ ? केही मान्छेहरूले कुनामा बसेर षडयन्त्र गरेर अरुका लागि काम गर्दा देश संकटमा पर्ने हो ।’

    प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधानिक नभएको दाबी गरे । अन्य देशका दृष्टान्त पनि उनले पेस गरे । ‘बेलायतमा लिखित संविधान छैन, त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने भनेर कतै लेखेको छैन । तर, प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभो । यसरी काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । ताजा जनादेश लिन्छ । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने प्रवृत्तिको जवाफ चुनावबाट खोज्नुपर्छ ।’

  • बुढी आमाले बोकेर ल्याएको तरकारी फ्याँकेर क्रान्ति गर्न खोजियो : प्रधानमन्त्री

    बुढी आमाले बोकेर ल्याएको तरकारी फ्याँकेर क्रान्ति गर्न खोजियो : प्रधानमन्त्री

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको नेपाल बन्दमा गरिएका गतिविधिहरुको तीब्र आलोचना गरे ।

    आज आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई उपस्थिति हुन नदिन हिजो तथाकथित नेपाल बन्द गरियो । बन्द गर्दा के गरियो ? गरिब सर्वहारा श्रमजिविका लागि काम गर्ने भन्ने, तर बुढी आमाले डोकामा बोकेर ल्याएर बेच्न राखेको टमाटर, तरकारी बाटाभरी छरेर क्रान्ति गर्न खोजियो । त्यही हो उहाँहरुको क्रान्ति । किसानका मूला फ्याँकिए, त्यही हो उहाँहरुको क्रान्ति ? एउटा गरिब ट्याक्सीवालालाई आगो लगाउनेहरु सर्वहारावादी पार्टी । ट्याक्सीभित्रै गरिब ड्राइभर जलाउन खोज्ने सर्वहारावादी पार्टी । घोषणै गरेर अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । तर, नरभक्षी आन्दोलनका दिन गए । नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे पनि हुन्छ ।’

    उनले हिजो बन्दका क्रममा गरीब जनताले भोगेको क्षतिको सरकारले क्षतिपूर्ति गर्ने बताए ।

    ओलीले भने, ‘सागसब्जी फ्याकिएको छ, त्यो नोक्सानको सरकारले क्षतिपूर्ति दिन्छ । हामी उहाँहरूलाई क्षतिपूर्ति हामी दिन्छौं । ट्याक्सी इन्स्योरेन्स गरेको होला । क्षतिपूर्ति दिन लगाउँछौं । भएन भने गरिबलाई हेर्ने सरकार छ । जनतालाई माया गर्ने सरकार छ । शान्तिलाई मन पराउने सरकार छ ।’

    बन्द गराउने पार्टीले कतिपय ठाउँमा बम राखेर ‘बिप्लव’ लेख्ने काम गरेको ओलीले आरोप लगाए ।

  • ओलीले भने-मूल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो (भिडियो)

    ओलीले भने-मूल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले कुन पार्टी मूल पार्टी भन्ने आजबाट टुंगो लागेको दाबी गरेका छन् । उनले आज इतिहासकै ठूलो जनसभा काठमाडौंमा भइरहेको बताए ।

    आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले भने, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी । हामी कम्युनिष्टको मात्रै होइन, देशकै मूल पार्टी हौं ।’

    काठमाडौंमा कुनै पनि स्थान आफ्नो पार्टीको जनसभाका लागि सानो भएको ओलीले बताए ।

    ‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन । अरुलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं । तर, यहाँ पनि मान्छे अटेका छैनन् । फेरि, मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर । कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनु परेन ? मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं । यो सबैभन्दा ठूलो पार्टी हो । यो पार्टी देशको स्वाधिनताको रक्षा गर्ने र ठीक ढंगले प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । आजबाट कुन पार्टी मूल र सक्कली भन्ने कुराको टुंगो लाग्यो, फैसला भयो अब ।’

  • एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो)

    एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो)

    काठमाडौं । आम हड्तालका क्रममा कार्यकर्ताले एमसीसी खारेज गर भन्ने नारा लगाएपछि विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

    पुल्चोकमा नाराबाजीका क्रममा एमसीसी खारेज गर भनिएपछि प्रचण्डले सँगै रहेकी सो मोर्चाकी कमाण्डर पम्फा भुसाललाई ‘यो रोक्न लाउनुस’ भनेको भिडियोमा सुनिन्छ ।

    एमसीसी खारेज गर भन्दा अरुले ‘खारेज गर खारेज गर’ भने पनि अध्यक्ष प्रचण्ड, विदेश विभाग उपप्रमुख विष्णु रिजाल लगायतका नेता भने अप्ठेरो मानेर उभिएका थिए । केन्द्रीय सदस्य हरि दाहालले सो नारा नलाउन भने पनि केहीबेरमा फेरि सोही नारा लाग्न थालेपछि प्रचण्ड घोसे मुन्टो लाउँदै प्रदर्शनस्थलबाट बाहिरएको भिडियोमा देख्न सकिन्छ ।

    उनले कार्यकर्तालाई प्रतिगमनविरुद्ध नारा लगाउन भन्दै एमसीसीको नारा नलगाउन निर्देशन दिएका थिए ।

  • आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (तस्बिरहरू)

    आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (तस्बिरहरू)

    काठमाडौं । केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

    शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।

    युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

     

    मार्चपासअघि स्वयंसेवकलाई अभिमुखीकरण

    भोलि हुने जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण दिइएको छ । जनसभामा सहभागी हुने कार्यकर्ता र सर्वसाधारणको भीड व्यवस्थापन, रेखदेखलगायतका विषयमा नेता महेश बस्नेत, माधव ढुंगेललगायतका युवा तथा विद्यार्थी नेताले प्रशिक्षित गरेका थिए ।

          

     

     

  • जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्री झा घाइते

    जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्री झा घाइते

    जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

    जनकपुरधामस्थित शिव चोकमा खुलेको पसल बन्द गराउन खोज्ने बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेकपा नेता तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ । उनीसहित दर्जनौं घाइते भएका छन् ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस र हवाई फायर समेत गरेको छ । अहिले शिव चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यस सम्बन्धमा प्रहरी अधिकारीसँग भने सम्पर्क हुन सकेन ।

  • प्रचण्ड-माधव पक्षद्वारा आमहड्तालको घोषणा

    प्रचण्ड-माधव पक्षद्वारा आमहड्तालको घोषणा

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बिहीबार देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

    संवैधानिक निकायमा पदाधिकारीहरूलाई नियुक्त तथा शपथ गराएको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

    आकस्मिक रूपमा सार्वजनिक गरिएको संघर्षको नयाँ कार्यक्रमअनुसार बुधबार साँझ देशभर मसाल जुलुस र बिहीबार आमहड्ताल तय गरिएको छ । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहड्ताल आफूहरूको बाध्यता भएको बताए ।

    देशव्यापी आह्वान गरिने आमहड्तालमा अत्यावश्‍यक सेवामा भने कुनै रोक नलगाउने श्रेष्ठले जानकारी दिए ।

  • जसपालाई झट्का– पूर्व सांसद डा. यादव नेकपा ओली समूहमा प्रवेश

    जसपालाई झट्का– पूर्व सांसद डा. यादव नेकपा ओली समूहमा प्रवेश

    जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

    तत्कालीन फोरम नेपालका प्रमुख सचेतकसमेत रहेका डा. यादव प्रधानमन्त्री ओलीबाट मंगलवार अबेर राति नेकपामा प्रवेश गरे । महोत्तरी घर भएका नेता डा. यादवलाई प्रधानमन्त्री ओलीले खादा समेत ओढाए । उनी पार्टी प्रवेश गर्दा उप प्रधानमन्त्री इश्वर पोखरेल, नेता महेश बस्नेत पनि उपस्थित थिए ।

    प्रभावशाली नेता डा. यादव ओली समूहमा प्रवेश गरेपछि जसपालाई ठुलै झट्का लागेको छ । डा. यादव कम्युनिस्ट पृष्ठभूमिका हुन् । उनले ओलीबाटै संविधान संशोधन हुने पटक पटक बोल्दै आएका थिए ।

    पछिल्लो समय नेकपा विभाजन भएपछि ओली समूहले जसपालाई टार्गेट बनाएको छ । यस अघि जसपाका नेता तथा पूर्व सांसद बबन सिंह नेकपामा प्रवेश गरिसकेका छन् ।

  • निर्वाचन आयोग पुगेर प्रचण्डले भने- केपी ओली प्रथम अध्यक्ष होइनन्

    निर्वाचन आयोग पुगेर प्रचण्डले भने- केपी ओली प्रथम अध्यक्ष होइनन्

    काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी निर्वाचन आयोगसमक्ष गरेको छ । प्रचण्डसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।

    आयोगमा दलको आधिकारिकता दाबी गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्न आफूहरुले गरेको बताए ।

    पाण्डेले भने, ‘निर्वाचन आयोगले केपी ओलीलाई प्रथम अध्यक्ष मानेको छ । उहाँहरुले केही प्रश्न उठाउनुभएको छ । त्यसलाई हामीले भ्रम निवारण गर्ने र केपी ओली प्रथम अध्यक्ष होइन भनेका छौं । विधानमा जसले अध्यक्षता गरेको छ उही प्रथम हुने व्यवस्था गरेको कुरा बताएका छौं ।’

    आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड-माधव पक्षको छ । मंगलबार आयोगमा २७५ जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

    आयोगले माघ १२ गते नेकपाका दुवै अध्यक्षलाई पत्र लेखी पुस ५ गतेयता दुवै पक्षले गरेको निर्णय अवैध भन्दै केपी ओली पहिलो अध्यक्ष रहेको र अध्यक्षको परामर्शमा महासचिवले बोलाएको बैठकमात्रै वैधानिक हुने जनाएको थियो ।

  • नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोगमा

    नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोगमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिह्न दाबी गर्दै विभाजित नेकपाका अध्यक्ष प्रचण्ड माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

    प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो ।

    आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड-माधव पक्षको छ ।

    आयोगले पुस ५ अघिको केन्द्रीय कमिटीलाई मान्यता दिएकोले सो कमिटीको बहुमत आफ्नो पक्षमा रहेको नेता लिलामणी पोखरेलले बताए ।
    ऐनको उक्त दफामा दलको नाम, छाप, झण्डा वा चिह्न सम्बन्धी विवाद टुंगो लगाउनु त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नुपर्ने व्यवस्था छ ।

    सोही व्यवस्थामा टेकेर प्रचण्ड-माधव पक्ष आयोग समक्ष गएको हो । यद्यपी विवाद प्रारम्भ भएको भने डेढ महिना पुगिसकेको छ । यसअघि नेकपाका दुवै पक्षले आ-आफ्नो निर्णय अद्यावधिक गर्न आयोगलाई पत्र पठाएकोमा दुवैको दाबी नपुग्ने निर्णय भएको थियो ।