Tag: नेकपा विभाजन

  • सांसद जस्तो सजिलो छैन स्थानीय जनप्रतिनिधि हटाउन- आयोगबाट पदमुक्त, अदालतबाट फिर्ता (सूचीसहित)

    सांसद जस्तो सजिलो छैन स्थानीय जनप्रतिनिधि हटाउन- आयोगबाट पदमुक्त, अदालतबाट फिर्ता (सूचीसहित)

    काठमाडौं । फागुन २३, २०७७ को सर्वोच्च अदालतको फैसलाबाट नेकपा खारेज भए लगत्तै तत्कालीन माओवादी पार्टीबाट चुनाव जितेका तीनै तहका जनप्रतिनिधिहरुले नेकपा एमाले रोजे । विशेष गरी पुस ५ पछि विभाजित तत्कालीन नेकपाको केपी ओली पक्षलाई साथ दिएका जनप्रतिनिधिले सर्वोच्चबाट माओवादी पुनःस्थापना भएपछि पनि ओली छाड्न चाहेनन् ।

    ओलीसँगै पुनःस्थापित एमालेतिर लागेका सांसददेखि वडाध्यक्षसम्मलाई माओवादी केन्द्रले कारवाहीको प्रक्रिया पूरा गरेर पदमुक्त गराउन लागेको छ । माओवादीबाट पदमुक्तिका लागि कारवाही गरिएकामा राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभाका सांसदहरु भन्दा धेरै स्थानीय तहका जनप्रतिनिधि छन् ।

    राजनीतिक घटनाक्रममा ५ पुस २०७७ पछि आएको उतारचढावले माओवादीका ६ जना संघीय र ८ जना प्रदेश सांसदले पद गुमाउनुपर्‍यो । माओवादी केन्द्रका ६ संघीय सांसद एमालेमा प्रवेश गरेका कारण कारवाहीमा परे ।

    त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ का एकजना, प्रदेश २ का चार जना, लुम्बिनीका २ जना,कर्णालीका एक जना र सुदूरपश्चिमका एकजना गरी ९ जनाले पद गुमाए ।

    एमालेका चार सांसदले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेको र लुम्बिनीमा दलको नीति विपरीत गरेको भन्दै चार प्रदेश सांसदलाई जनता समाजवादी पार्टीले कारवाही गर्‍यो । उनीहरुलाई कारवाही गर्न राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी दफामा टेकेर गरिएको थियो ।

    संविधानमै ‘चाहेको बखत सदस्यता खारेजका गरिदिन’ कुनै बाधा नगरेकाले उनीहरुको पद खोसिएको हो । तर, स्थानीय जनप्रतिधि हटाउन भने त्यत्ति सहज छैन । पहिल्यै दल फेरबदल गरिसकेका धेरै जनप्रतिनिधिहरु अझैं पनि दलले कारवाही गर्न चाहँदाचाहँदै र निर्वाचन आयोगले पद खारेज गर्दा पनि ‘वैधानिक जनप्रतिनिधि’कै हैसियतमा काम गरिरहेका छन् ।

    संविधानमा अस्पष्ट, ऐनमा स्पष्ट

    संघीय र प्रदेश सांसदका हकमा संविधानमा ‘जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा’ संघीय र प्रदेश सभा सदस्य खारेज हुने प्रष्ट व्यवस्था छ । संघीय सांसदका हकमा धारा ८९ को (ङ) र प्रदेश सांसदका हकमा १८० को (ङ) मा यस सम्बन्धी प्रष्ट उल्लेख गरिएको छ ।

    तर, यही संविधानमा स्थानीय जनप्रतिनिधिका हकमा भने स्पष्ट व्यवस्था छैन् । स्थानीय जनप्रतिनिधिका हकमा संविधानको धारा २१६ मा व्यवस्था गरिएको छ । प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुख समक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा र निजको मृत्यु भएमा मात्रै स्थानीय जनप्रतिनिधिको सदस्यता रिक्त हुने भनिएको छ । दल त्याग गरे के गर्ने ? भन्नेबारे संविधानमा उल्लेख छैन ।

    यसबारे राजनीतिक दल सम्बन्धी ऐन भने स्पष्ट छ । राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ मा संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले दल त्याग गर्न नहुने र गरिहाले ‘निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने’ उल्लेख छ ।

    आयोग कारवाही गर्ने, अदालत रोक्ने

    दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष महादेवसिंह डडाल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । तर, उनी १० असार २०७५ मा नेकपामा प्रवेश गरे ।

    नेपाली कांग्रेसले डडालले दल त्याग गरेको भन्दै निर्वाचन आयोगलाई वडा अध्यक्ष खारेजीका लागि निर्वाचन आयोगमा सूचना दियो । आयोगले पनि उनको वडाध्यक्ष पद नरहेको भन्दै गोरखापत्रमा सूचना निकाल्यो । तर, डडाल निर्वाचन अयोगलाई समेत विपक्षी बनाइ सर्वोच्च अदालत गए । अदालतबाट गोरखा पत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु भन्ने अन्तिरिम आदेश आयो ।

    १५ दिन भित्र निर्वाचन आयोगलाई महान्याधिवक्ताको कार्यालयमार्फत र अन्यलाई आफैं उपस्थित भएर उनलाई हटाउनु पर्नाका कारणसहित जवाफ दिन भनिएको १५ माघ २०७६ मा हो । तर, अहिलेसम्म उक्त मुद्दाको किनारा लागेको छैन । डडाल अदालतको त्यही अन्तरिम आदेशका भरमा दल परिर्वतन गरेपश्चात पनि वडाअध्यक्षकै रुपमा काम गरिरहेका छन् ।

    राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बाग्लुङको ढोरपाटन नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष तिलक पुन र सोही वडाका सदस्य तिलबहादुर फगामीले दल त्याग गरे भन्ने आरोपमा कारवाही गरिए पनि वास्तवमा जनमोर्चाभित्रकै गुटको विवाद थियो ।

    उनीहरु कांग्रेस प्रवेश गरेको आरोप लगाएर पदमुक्त गर्न खोजियो । जबकी कांग्रेसल विज्ञप्ति नै निकालेर ती व्यक्ति कांग्रेस नभएको बताएको थियो । जनमोर्चाले केन्द्रीय समितिबाट निर्णय गरि  निर्वाचन अयोगमा लेखि पठायो । अयाोगले पनि त्यही अनुसार गोरखापत्रमा सूचना निकाल्यो । यद्यपि १६ माघ २०७७ मा सर्वोच्चले ‘अन्तरिम आदेश’ अनुसार रोकिदियो । आयोगले पदमुक्त भएको सूचना निकाल्ने र अदालतले अन्तरिम आदेश दिएर रोक्ने सिलसिला हालसम्म जारी छ ।

    निर्वाचन आयोगका अनुसार ९ फागुन २०७७ सम्म आईपुग्दा यस्ता ७ वटा विषयमा अदालतले अन्तरिम आदेश दिएको छ । सबैमा आयोगले लिखित जवाफ पठाएको छ । तर, कुनै पनि मुद्दाको निरुपण सर्वोच्च अदालतले गरेको छैन ।

    दल त्याग्नेलाई राहत

    सर्वोच्च अदालतले लामो समयदेखि विचाराधीन विषयको निरुपण नगर्दा स्थानीय जनप्रतिनिधिहरु पनि भटाभट दल त्याग गर्नबाट हच्किएका छ्रैनन् ।

    छोडेको दलले कारवाही गर्ने र निर्वाचन आयोगले पद रिक्त भएको सूचना निकाले पनि सर्वोच्च अदाललतले अन्तरिम आदेशमार्फत रोकिदिने भएका कारण धेरै जनप्रतिनिधिलाई यसबाट राहत मिलेको छ । केन्द्रमा माओवादी केन्द्रका नेता प्रभू साह एमाले प्रवेश गरेपछि जिल्ल्लाका अधिकांश स्थानीय जनप्रतिनिधि पनि एमालेतिर लागेका छन् ।

    रौतहट जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमालेमा समाहित भएका छन् । अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको छ ।

    त्यस्तै धनुषाका चार जनप्रतिनिधि एमालेमा गएपछि माओवादी केन्द्रले कारवाही प्रक्रिया अघि बढाएको छ । त्यहाँको विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र शहीदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापरलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । दल त्याग्ने क्रम माओवादी केन्द्रमा मात्रै होइन, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीमा पनि उत्तिकै छ ।

    निर्वाचन आयोगले हालसालै १५ स्थानीय जनप्रतिनिधिले दल परित्याग गरेको भन्दै सूचना प्रकाशन गरिदिन अनुरोधसहितको निवदेन विभिन्न दलबाट प्राप्त गरेको छ । उनीहरुको पद रिक्त भएको सूचना चाँडै निकाल्ले आयोगको तयारी छ । सर्वोच्च अदालतले यो विषयलाई चाँडै निरुपण नगर्दा संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा देखिएको विरोधाभास कायम छ ।

    यस्तो अवस्था लामै समय रहेमा दलीय प्रणालीमा विकृति आउने राजनीतिक दलहरुको चिन्ता छ । नेपालले अवलम्बन गरेको निर्वाचन प्रणाली दलीय आधारमा निर्वाचन हुने, केन्द्रदेखि गाउँपालिकाको वडा सदस्य समेत दलको आधिकारिक उम्मेदवार हुने खाले भएको त्यसलाई नमान्दा राजनीतिक सिद्धान्तबाट विचलन हुने प्रवृत्ति बढ्ने दलहरुको ठम्याइ छ ।

  • माधव पक्षको समेत हस्ताक्षर लिएर पुनरावलोकनमा जाने प्रचण्डको तयारी !

    माधव पक्षको समेत हस्ताक्षर लिएर पुनरावलोकनमा जाने प्रचण्डको तयारी !

    काठमाडौं। पेरिसडाँडामा नेकपाको नाममा अन्तिम बैठक बसेर प्रचण्ड-माधव विदाइ हुँदा २३ फागुनको सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरालोकनमा जाने समझदारी भएको थियो ।

    त्यस लगत्तै डाकिएका माओवादी केन्द्रका स्थायी कमिटी र दुई दिनसम्म चलेर २ चैतमा सकिएको केन्द्रीय कमिटीका बैठकले पनि नेकपाको एकीकरण खारेज गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरालोकनमा जाने निर्णय भएको थियो ।

    १० चैतमा माओवादी स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा पनि चाँडै पुनारालोकनमा गइहाल्ने निचोड निकालिएको थियो ।

    यसका बाबजुत पनि सर्वोच्चको निर्णयविरुद्ध पुनरालोकनमा जाने जिम्मेवारी पाएको नेकपा माओवादी केन्द्र र अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ एक्सनमा जान सकेका छैनन् ।

    यसअघि १३ गते पुनरालोकनमा जाने भनिएकोमा त्यसलाई सोमबार सारियो। र, सोमबार पनि त्यो निर्णय हुन सकेन ।

    पार्टीले गरेका निर्णय कार्यान्वयन नहुँदा स्वयं माओवादी केन्द्रमै पनि असन्तुष्टि बढेको छ । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘मैले त तपाईंले यी निर्णय कार्यान्वयन गर्नु भएन भने तपाईंमाथि पनि प्रश्न चिन्ह उठ्छ भनेर प्रचण्ड जीलाई भन्दिएको छु । गर्न सकिने काममा त यस्तो अलमल नहुनु पर्ने हो ।’

    ढिलाई किन ?

    माओवादी केन्द्रबाट सांसद बनेका अधिवक्ता रामनारायण बिडारी निवेदनको काम आफूहरुले रिट पहिल्यै तयार पारेको भए पनि नेताहरुले ढिला गरेको बताउँछन् । ‘यो कुरा शीर्ष नेताहरुको हातमा छ, उहाँहरुले किन लानु भएन ?’ बिडारी प्रतिप्रश्न गर्छन्, ‘हामीले दिएको सर्वोच्चको फैसला हुने बित्तिकै पुनरालोकनको निवदेन दिनुपर्छ भनेका थियौं । २६ गते नै पुनरालोकनको खाका बनाएर दिएका थियौं । त्यसलाई अलिकति परिमार्जन गर्ने भन्ने भएर फेरि एक/दुई दिन ढिला भयो । उहाँहरुले के गरिरहनु भएको छ थाहा भएन ।’

    सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । पुनरालोकनमा जान नेकपामा सँगै रहेको माधव समूहको पनि साथ लिनुपर्छ । माधव समूह एमाले भित्रै ‘केपी प्रवृति’विरुद्ध संघर्ष गर्ने भनेर फर्किएपछि त्यसमा अलिकित जटिलता थपिएको नेताहरु बताउँछन्।

    माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङ पनि त्यसतर्फ संकेत गर्दै सबैको सहमति लिएर जाँदा केही ढिला भएको बताउँछन्। ‘सबैको सहमति, आपसी समझदारी चाहिएकाले केही ढिला भएको हो,’ गुरुङ भन्छन्, ‘हिजो भएन आज जाने सम्भावना छ ।’

    पुनरालोकनमा जान साविक नेकपामा रहेका माधव पक्षका सबै केन्द्रीय सदस्यहरुको हस्ताक्षर आवश्यक हुन्छ । त्यसका लागि प्रचण्ड र माधव नेपालबीच तारान्तर छलफल समेत भइरहेको स्रोत बताउँछ ।

    पछिल्लो पटक कोटेश्वरस्थित व्यापारीको घरमा भइरहेको भेटघाटमा पनि यो विषयमा कुरा छलफल भएको बताइएको छ । सोमबार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको थियो ।

    छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। यसअघि चैत १३ मा पनि प्रचण्ड-माधवले त्यही घरमा छलफल गरेका थिए । १२ चैतमा उनीहरूले कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए ।

    एमाले भित्रै २८ फागुनका निर्णय फिर्ता गराउन संघर्षरत माधव पक्षको अनिर्णयका कारण पनि पुनरालोकनमा जान ढिलाई भएको स्रोत बताउँछ । माधव पक्ष २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय बैधानिक नभएको भन्दै त्यसविरुद्ध अदालतमा जाने मनस्थितिमा छ । यसबारे नेपाल पक्षले निर्वाचन आयोगमा समेत निवेदन दिइसकेको छ ।

    एकातिर नेकपाको नाममा पुनरालोकनमा जानुपर्ने र अर्कोतिर एमाले भित्रकै निर्णयलाई लिएर अदालत जानुपर्ने बाध्यताले माधव समूह बिखलबन्दमा परेको स्रोत बताउँछ ।

    पुनरालोकनका लागि कानून व्यवसायीका सुझाव

    माओवादी केन्द्रका राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुले १० चैतमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विभिन्न कानुन व्यवसायीसँग छलफल गरेका थिए । छलफलमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमन श्रेष्ठ, मुक्ति प्रधान लगायत सहभागि थिए । उनीहरुले पुनरालोकनमा जान माओवादी केन्द्रलाई सुझाव दिएका थिए।

    कानून व्यवसायीका सुझाव 

    –४४१ नेकपाका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले अनुमोदन गरेको थियो, ती ४ सय ४१ जना सर्वोच्च अदालतले पनि खारेज गरेको छैन् ।

    –सर्वोच्चले दुईटा पार्टीबीच एकताका लागि भएको सम्झौता बदर गरेको छैन् । पार्टीको विधान पनि छ, दस्तावेजहरु पनि पेश भएको छ । त्यसको नाममा मात्रै प्रश्न उठेकाले ४ सय ४१ को बहुमत आफ्नो पक्षमा लिएर प्रचण्डले पुनरालोकनको मुद्दा हाले हुन्छ ।

    –सर्वोच्चले फैसलापछि पनि नेकपाका ती कमिटी कायम भएको हुनाले ती कमिटीको बहुमतको निर्णय अनुसार फैसला सच्याउन निवेदन दिने

  • ओलीलाई प्रधानमन्त्रीबाट हटाउन यस्ता छन् संवैधानिक जटिलता

    ओलीलाई प्रधानमन्त्रीबाट हटाउन यस्ता छन् संवैधानिक जटिलता

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने कदममा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विपक्षीहरूको बुझाइ थियो । सर्वोच्चको आदेशलगत्तै ओलीको विरुद्धमा उभिएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले त तत्काल राजीनामा दिन माग नै गरेका थिए । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने मात्रै होइन सबै परिस्थितिको डटेर सामना गर्ने बताउँदै आएका छन् ।

    ‘प्रधानमन्त्रीबाट राजीनामा नदिने बरु संसद फेस गर्ने’ बताएका प्रधानमन्त्री ओली विपक्षीभन्दा राजनीतिक रूपमा निश्चिन्त देखिन्छन् । प्रधानमन्त्रीको यस्तो ‘कन्फिडेन्ट’ पछाडिको कारण के होला ?

    नेकपा संसदीय दलमा बहुमत पुर्‍याउने प्रधानमन्त्रीको प्रयास जारी नै छ । तर आफूविरुद्धका सबै परिस्थितिको सामना गर्ने ‘कन्फिडेन्ट’ का पछाडि संवैधानिक प्रावधानहरू नै मुख्य सहयोगी रहेको बुझ्न कठिन छैन ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले ‘संसदीय मूल्यमान्यता र हाम्रो आफ्नै अनुभव’ लाई आधार मानेका थिए । तर नेपालकै संसदीय अभ्यासमा संसद विघटन सिफारिश गर्ने प्रधानमन्त्रीले सँगै राजीनामा बुझाउने प्रचलन ओलीले मानेनन् । बरु मनमोहन अधिकारीको उदाहरण दिए ।

    प्रतिनिधिसभा विघटनको सिफारिससँगै राजीनामा नबुझाउने प्रधानमन्त्री ओलीको निर्णय सुझबुझपूर्ण थियो भन्ने अहिले प्रमाणित हुँदै गएको छ । किनकि राजीनामा दिंदा बाहेक सरल ढंगले सत्ता छाड्नुपर्ने अवस्था बनिसकेको छैन ।

    प्रधानमन्त्री पदमुक्त हुने संवैधानिक बाटो

    नेपालको संविधानको धारा ७७ मा प्रधानमन्त्री पदमुक्त हुने सम्बन्धी प्रावधान रहेका छन् । धारा ७७ अनुसार राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, प्रतिनिधिसभाको सदस्य नरहेमा वा मृत्यु भएमा प्रधानमन्त्री पद रिक्त रहनेछ ।

    त्यस्तै धारा १०० बमोजिमको विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री पद रिक्त रहनेछ । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न चाहेको छ । संवैधानिक दृष्टिले त्यसका लागि संविधानको धारा १०० को भर पर्नुपर्ने हुन्छ ।

    धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था छ । सो धाराको व्यवस्था अनुसार प्रधानमन्त्रीले आफूलाई उपयुक्त लागेको समयमा संसदमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्न सक्नेछन् ।

    त्यस्तै प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएको वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित नभएमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था धारा १०० को दफा ३ मा उल्लेख छ ।

    दफा ४ मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्नसक्ने उल्लेख छ । त्यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री पदमुक्त हुनेछन् ।

    ओली हटाउन किन अप्ठ्यारो ?

    प्रतिनिधिसभा विघटन घोषणा भएकै दिन नेकपा प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ओलीलाई पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर दलको नेताबाट हटाउने विकल्प छाडेर प्रचण्ड-माधव पक्षले रोजेको यो बाटो अहिले उनीहरूकै लागि ‘गलपासो’ बनेको छ ।

    किनकि संसदको रेकर्डमा प्रधानमन्त्री ओली अझै नेकपा संसदीय दलको नेता रहेका छन् । संसदीय दलको नेताकै हैसियतमा ओलीले फागुन १४ गते नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

    प्रचण्ड-माधव पक्षले गत पुस ८ गते संसदीय दलको बैठकबाट संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता बनाइएको घोषणा गरेको थियो । यद्यपि संसदको रेकर्डमा प्रधानमन्त्री ओली नै हालसम्म नेकपा संसदीय दलको नेता छन् ।

    प्रतिनिधिसभामा संसदीय दलको नेताका रूपमा ओलीले ह्वीप जारी गर्न सक्छन् । ह्वीप उल्लंघन गर्ने सांसदलाई निलम्बन गर्न पनि सक्छन् । यस्तो अवस्थामा संसदीय दलको नेताबाट ओलीलाई हटाएको वैधानिकता पुष्टि नगरेसम्म संसदमा अविश्वास प्रस्ताव अगाडि बढाउन प्रचण्ड-माधव पक्षलाई समस्या पर्ने देखिन्छ ।

    वरिष्ठ अधिवक्ता सुनील पोखरेलका अुनसार संसदीय दलको नेताबाट ओलीलाई हटायौं भनेर पुग्दैन । संसदको रेकर्डमा ओली नेकपा संसदीय दलको नेता नरहेको प्रमाणित गरेपछि मात्रै ह्वीप वा निलम्बनको समस्या टर्छ । संवैधानिक दृष्टिले पहिले ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएर मात्रै अश्विास प्रस्तावको चरणमा पुग्नुपर्ने हुन्छ ।

    पोखरेलका अनुसार संसदीय दलको नेता नरहे पनि ओली प्रधानमन्त्रीबाट पदमुक्त हुँदैनन् । ‘प्रधानमन्त्री बन्न दलको नेता हुनुपर्नेछ तर प्रधानमन्त्री भइसकेको व्यक्ति दलको नेता नरहे पदमुक्त हुने व्यवस्था संविधानमा छैन । त्यसैले ओलीलाई पदमुक्त गर्न चाहनेले पहिले संसदीय दलमै बहुमत पुर्‍याउनु संवैधानिक दृष्टिले सहज देखिन्छ’, पोखरेलले नेपाल प्रेससँग भने ।

    नेकपा संसदीय दलमा दुवै पक्षले बहुमत रहेको दाबी गर्दै आएका छन् ।

    प्रधानमन्त्री हटाउन अप्ठ्यारो छैन- श्रेष्ठ

    अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भने प्रधानमन्त्रीलाई पदमुक्त गराउन संवैधानिक जटिलता नरहेको बताउँछन् । संसदबाट अविश्वासको प्रस्तावका पक्षमा बहुमत जुटाउने बाहेक कुनै जटिलता नरहेको श्रेष्ठको भनाइ छ ।

    ‘धारा १०० अनुसार अविश्वास प्रस्तावको पक्षमा बहुमत जुटाउनुपर्‍यो । त्यस्तो बहुमत नेकपा वा कांग्रेसले पार्टीगत रूपमा जुटाउने होइन संसदले जुटाउने हो । प्रतिनिधिसभाका सदस्यहरूले जुटाउने हो’, श्रेष्ठले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्रीलाई पदमुक्त गराउन गाह्रो छ भन्नु गलत हुने भन्दै श्रेष्ठले संविधानले सबै कुराको विकल्प दिएको बताए । अविश्वास प्रस्ताव यो वा त्यो पार्टीको नहुने भन्दै श्रेष्ठले २५ प्रतिशत सांसदहरूले ल्याउन सक्ने प्रस्ताव भएकोले संविधानले प्रधानमन्त्री हटाउनेबारे स्पष्ट व्यवस्था गरेको बताए ।

    ‘संविधानमा व्यवस्था स्पष्ट छ तर कुन व्यवस्था प्रयोग गर्ने भन्ने राजनीतिक दल वा नेताको छनोटको विषय हो’, श्रेष्ठले भने ।

    नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अझ फरक ढंगले बहस अघि बढाएका छन् । उनका अनुसार यदि प्रचण्ड–माधव पक्षले पुस ५ मा दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लियो भने अब एक वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनै पाइँदैन ।

    संसद सचिवालयमा दर्ता भइसकेको प्रस्ताव प्रचण्ड-माधव पक्षले फिर्ता लियौं भन्दैमा फिर्ता नहुने र त्यो संसदीय प्रक्रियामा जाने जिकिर पोखरेलको छ । संसदको पूर्ण बैठकमा सभामुखले पेश गरेपछि मात्र फिर्ता लिने वा मतदानमा जाने विकल्प आउने पोखरेलको दाबी छ ।

    पोखरेलले भने, ‘प्रतिनिधिसभा विघटनपछि दर्ता भएको भनिए पनि सचिवालयमा दर्ता भइसकेको प्रस्ताव रितपूर्वक फुल हाउसमै गएर फिर्ता लिनुपर्छ । प्रस्तावकले फिर्ता लिए भने अहिलेको संविधान बमोजिम एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । त्यसैले यो प्रक्रिया अझ जटिल बन्दै जानेछ ।’

    नेकपाको कानूनी विभाजन चाँडो टुंगो लगाउने वा ओलीलाई संसदीय दलको नेताबाट प्रक्रियासम्मत ढंगले हटाउने बाहेक अन्य विकल्पमा जाँदा प्रचण्ड-माधव पक्षलाई जोखिम हुने तर्क संविधानविद्हरूको छ ।

  • जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं

    जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं

    काठमाडौं । नेकपाको कानूनी विभाजन जटिल बन्दै गएको । शीर्षस्थ नेताहरुले कुनै केपी ओलीसँग नमिल्ने भनिरहेका बेला प्रचण्ड-माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गरेका छन् ।

    शर्माले बुधवार फेसबुकमार्फत आफ्नो धारणा अघि सार्दै पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुमा अपील गरेका छन् । उनले यस्तो छलफल कुनै प क्ष वा नेतृत्वको पक्ष विपक्षमा नहुने समेत प्रष्ट पारेका छन् ।

    शर्माले भनेका छन्, ‘सचिवालय सदस्यहरु बाहकका सांसदहरुले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महरि स्वतन्त्र रुपमा छलफलग र्न माननीयहरुमा हार्दिक अपील गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिनेछ ।’

    शर्माले नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक एबम् नेतृत्वको प्रश्न तथा पदय झगडाका रुपमा आ आफ्नो ढंगले बुझाइ रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना भइसकेको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको बताएका छन् ।

    शर्माले पार्टी विभाजनअघि देखिनै नेकपाको सचिवालय नै पार्टी बिग्रिने कारण भएको भन्दै सचिवालय भंगको माग गर्दै आएका थिए । उनले ९ सदस्यीय सचिवालय बाहेकका सांसदहरुको छलफलको प्रस्ताव गरेका हुन् ।

  • प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

    प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि पनि पार्टी विभाजनको कानूनी मान्यतामा ढिलाईले सरकार गठनमा अन्यौल भइरहेको बेला भावी रणनीति तय गर्न बैैठक बोलाइएको हो ।

    अपरान्ह केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठक बस्नुअघि सचिवालय र स्थायी कमिटी बैठक पनि बस्न लागेको केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । ती बैठकले कार्यसूचि तय गर्नेछन् ।

    प्रचण्ड-माधव पक्षले केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्र सहित हस्ताक्षर संकलन गरिसकेको छ । छुटेकाहरुलाई आज नागकितासहित बैठकमा आउन सूचित गरिएको छ ।

    निर्वाचन आयोगलाई दबाब दिन नागरिकता र परिचयपत्रसहित केन्द्रीय सदस्यहरुलाई लिएर आयोग जाने तयारी प्रचण्ड माधव पक्षको छ ।

  • ह्वीप उल्लंघन गर्ने नेकपा सांसदलाई कारबाहीबारे के भन्छ विधान ?

    ह्वीप उल्लंघन गर्ने नेकपा सांसदलाई कारबाहीबारे के भन्छ विधान ?

    काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसँगै सडकमा पोखिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद अब संसदतिर मुखरित भएको छ।

    सर्वोच्च अदालतको आदेश बमोजिम सरकारले संसदको हिउँदे अधिवेशन २३ फागुनका लागि बोलाइसकेको अवस्थामा नेकपाका दुवै पक्षले त्यहाँ गर्ने विवादको स्वरुप कस्तो होला भन्नेमा धेरैको चासो छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको र पहिलेको फिर्ता गरेर फेरि पनि हुनसक्ने अवस्थामा संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदको संख्याको निकै अर्थ हुन्छ ।

    संसदीय प्रक्रिया अंकगणीतय खेल मह्वपूर्ण हुने भएकाले त्यसलाई आफ्नो पक्षमा पार्न दलले आफ्ना सदस्यका लागि ह्वीप जारी गर्ने गर्छन् । ह्वीप उल्लघंन गर्नेलाई दलका नेताले कारबाही गर्न सक्छन्।

    यस्तोमा राजनीतिक रूपमा विभाजित भइसके पनि कानूनी रुपमा एउटै रहेको नेकपा संसदमा कसरी प्रस्तुत होला भन्ने चासो झन् छ । नेकपा भित्रकै एउटा पक्षबाट प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दायर भएको अवस्थामा दुवै पक्ष टकरावमा उत्रिने सम्भावना छ ।

    नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली छन् । दलको नेता मात्रै होइन, उपनेता, प्रमुख सचेतक र सचेतक समेत ओली पक्षकै छन् । प्रचण्ड-माधव पक्ष संसदीय दलबाट ओलीलाई हटाउने प्रक्रियामा जान चाहेको छैन । त्यसैले नेकपाको लडाइ अब संसदमा प्रवेश गर्दैछ ।

    यस्तोमा आफूविरुद्ध खडा हुनेलाई ओली पक्षले कारबाहीको डन्डा चलाउन सक्छ । त्यसको संकेत हालै मात्रै देब गुरुङलाई विस्थापित गरेर दलको प्रमुख सचेतक बनेका विशाल भट्टराईले गरिसकेका छन् । उनले दलको ह्वीप नमान्नेलाई कारबाही गरिने चेतावनी दिएका छन्।

    त्यसको प्रतिवाद प्रचण्ड-माधव पक्षीय नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले गरे। आइतबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताए।

    संसदीय दलको नेताको हैसियतमा ओलीले लगाएको ह्वीप मान्न नपर्ने बताउँदै उनले त्यसरी निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उनको दावी छ ।

    ह्वीप जारी गर्न सकिने अवस्था

    नेकपा संसदीय दलको विधान अुनसार दलका नेताबाट आफैं वा मुख्य/प्रमुख सचेतक मार्फत ह्वीप जारी गर्न सकिन्छ । त्यसलाई पालना गर्नु सबै सदस्यहरूको कर्तव्य हुन्छ । संघीय संसदसँग सम्बन्धित कुनैपनि विषयमा ह्वीप जारी हुन सक्छ ।

    दलको नेता, प्रमुख सचेतक वा सचेतकद्वारा भेलामा सूचित गरेर, लिखित निर्देशन दिएर वा अन्य कुनै विद्युतीय माध्यम प्रयोग गरेर पनि ह्वीप जारी गर्न सकिन्छ ।

    विधान हेर्ने हो भने नेता रावलले भने जस्तो दलका नेताले जारी गरेको ह्वीप मान्नु नै पर्दैन भन्ने भनाइ चाहीं सही देखिदैन । ह्वीपको अटेरी गर्नेलाई कारबाही पनि गर्न सकिन्छ ।

    कस्तो हुन्छ कारबाही ?

    त्यस्तो ह्वीप उल्लघंन गर्नेलाई कसरी र कस्तो कारबाही गर्न सकिन्छ भन्ने व्यवस्था नेकपा संसदीय दलको विधानको दफा ३० मा व्यवस्था गरिएको छ।

    अनुशासनको कारवाही र सजाय बारे उल्लेख गरिएको उक्त दफामा निर्देशन उलङ्घन गर्नेलाई दलका नेताले वा नेताको निर्देशनमा मुख्य/प्रमुख सचेतकले स्पष्टीकरण सोध्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ। स्पष्टीकरण बोर्ड बैठकमा पेश गरिनेछ र बोर्डले आवश्यक कारवाही अगाडि बढाउने पनि उल्लेख छ।

    तर प्रचण्ड माधव पक्षले बोर्ड नै गठन नभएको विषय पनि उठाएको छ । विधान अनुसार त्यस्तो अनुशासनको कारवाही गर्नुभन्दा अगाडि सम्बन्धित सदस्यलाई सफाई पेश गर्ने मनासिव र प्रर्याप्त मौका भने दिनुपर्छ।

    विधान अनुसार अनुशासन उलंघनको प्रकृति हेरी नसिहत दिने, सदनको क्रियाकलापमा भाग लिनबाट निश्चित समयको लागि वञ्चित गर्ने, दलको सदस्यता निश्चित अवधीको लागि निलम्बन गर्ने र दलको सदस्यता समाप्त गर्नेसम्मको कारबाही हुन सक्छ ।

    ओलीले दलको नेताको हैसियतले ती उल्लेखति सबै कारबाही गर्न सक्छन्। यद्यपि नेता रावले भनेको एउटा कुरा भने यहाँनिर मेल खान जान्छ । उनले ‘कुनै पनि सांसदलाई सधैका लागि निस्काशन गर्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने’ भनेर गरेको र्तक भने सही छ।

    दलका नेताले नै सदनको क्रियाकलापमा भाग लिनबाट निश्चित समयको लागि वञ्चित गर्ने र दलको सदस्यता निश्चित अवधिको लागि निलम्बन गर्न सक्ने भए पनि दलको सदस्यता समाप्त भने केन्द्रीय कमिटीबाट मात्रै हुन सक्ने व्यवस्था नेकपा संसदीय दलको विधानमा छ। । त्यसका लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिश गर्नुपर्छ।

    कसरी गर्छ केन्द्रीय कमिटीले कारबाही ?

    नेकपाको अन्तरिम विधान २०७५ मा पाटीेको सदस्यता समाप्त अवस्थाबारे व्यवस्था गरिएको छ। धारा ११ अनुसार स्वेच्छाले सदस्यता वा सङ्गठित सदस्यता परित्याग गरेमा, सङ्गठित सदस्य अनुमतिबिना लगातार एक वर्षभन्दा बढी पार्टी काममा संलग्न नरहेमा, पार्टीले अनुशासनको कारबाही गरी सदस्य वा सङ्गठित सदस्यबाट निष्काशन गरेमा वा तोकिएको समयमा सदस्यता वा संगठित सदस्यता नवीकरण नगरेमा दलको सदस्यता समाप्त हुने व्यवस्था गरिएको छ ।

    विधान अनुसार केन्द्रीय कमिटी पार्टीको सर्वोच्च संस्था हो । केन्द्रीय कमिटीले अनुशासनको कारबाहीमा परेका व्यक्ति तथा कमिटीको उजुरीमाथि आवश्यक छानविन गरी निर्णय दिने व्यवस्था विधानमा गरिएको छ।

    पार्टीको एकता, हित र सुरक्षामा खलल पार्ने मातहतका कुनै पनि कमिटीका निर्णयलाई बदर गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालना नगर्ने कमिटीलाई विघटन गर्ने र सङ्गठित सदस्य तथा सदस्यलाई आवश्यक कारवाही गर्ने अधिकार केन्द्रीय कमिटीलाई हुन्छ । यस्तो निर्णय केन्द्रीय कमिटीको बुहमतले गरेमा मात्रै मान्य हुन्छ ।

    तर पुस ५ गतेपछि नेकपाको केन्द्रीय कमिटी नै विभाजित भएको छ । निर्वाचन आयोगले दुवै पक्षका केन्द्रीय कमिटीले पुस ५ पछि गरेका निर्णयलाई मान्यता नदिएको अवस्थामा विधानको व्यवस्था समेत प्रभावित हुने देखिन्छ ।

     

  • यसरी जोगाउन सकिन्छ नेकपा एकता र सरकार

    यसरी जोगाउन सकिन्छ नेकपा एकता र सरकार

    नेपालमा विकसित पछिल्लो घटनाक्रमले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नयाँ तरंग उत्पन्न गरेको छ । नेपालको राष्ट्रिय राजनीति र त्यसमा भू–राजनीतिले पारेको प्रभावबारे विभिन्न कोण–प्रतिकोणबाट बहसको सिर्जना भइरहेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक पार्टी जीवन र त्यसले नेपालको कम्युनिष्ट आन्दोलनमा पारेको असरबारे अनगिन्ती टीकाटिप्पणी भइरहेका छन् । प्रतिनिधिसभाको विघटन र त्यसको पुनःस्थापनासँगै देखा परेको परिस्थितिले कस्तो मोड लिन्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

    भनिन्छ; कारक, कर्ता र त्यसबाट सिर्जित हुने परिघटनाको ऐतिहासिक सम्बन्ध हुन्छ । कुनै पनि घटनाको कारण हुन्छ र त्यसको पहिचान गरेर निवारण नगर्दासम्म सोही घटनाको पुनरावृत्ति भइरहने गर्दछ ।

    प्रतिनिधिसभा पुनःस्थापना हुनु आफैंमा एउटा महत्वपूर्ण परिघटना त होला तर विघटनको परिस्थिति किन सिर्जना भयो र प्रधानमन्त्रीले बाध्यात्मक कदमको रूपमा प्रतिनिधिसभा किन विघटन गर्नुप¥यो भन्ने यक्ष प्रश्नको जवाफ खोजेर त्यसको समाधान नगर्ने हो भने कुनै पनि सरकार पाँच वर्षसम्म नटिक्ने र त्यसले बारम्बार मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने कुरा निश्चितप्रायः छ ।

    त्यसैले संसद विघटनको मूलकारण के थियो भन्ने विषयको पहिचान गर्दा नै आजको राष्ट्रिय राजनीति र त्यसबाट उत्पन्न परिस्थितिलाई सूक्ष्म र मिहिन ढंगले बुझ्न सकिनेछ भने संसदको पुनःस्थापना भएपछि अब राष्ट्रिय राजनीति कसरी अगाडि बढ्नुपर्दछ भन्ने सवालमा पनि प्रष्टता आउनेछ ।

    यसका लागि सबैभन्दा पहिला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण प्रक्रियाका बारेमा बुझ्नु आवश्यक छ । अझ स्पष्ट भाषामा भन्नुपर्दा नेकपाको निर्माण कसरी भयो, आज यसले जुन हैसियत आर्जन गरेकोे छ, त्यो कसरी प्राप्त भयो र यसका पछाडि कुन नेतृत्वको कस्तो भूमिका रह्यो भन्ने विषयलाई तथ्यपरक रूपमा बिश्लेषण गर्न अपरिहार्य छ ।

    यस सन्दर्भमा केही ऐतिहासिक घटनाक्रमहरूको संक्षिप्त रूपमै भए पनि परिचर्चा गर्न उपयुक्त हुनेछ । खास गरेर २०६२-६३ को जनआन्दोलनको जगमा बनेको संविधानसभालाई संविधान बनाउनै नदिई अवसान गराइएपछि दोस्रोपटक संविधानसभा बनेको हो । दोस्रो संविधानसभामा केपी ओलीको नेतृत्वदायी भूमिकाकै कारण संविधान जारी हुनसकेको कुरा प्रष्टै छ ।

    नेपालको नयाँ संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गर्‍यो । राजनीतिक हकअधिकार प्राप्तिको लामो लडाइँ पूरा भयो र मुलुक आर्थिक समृद्धिको यात्रा तय गर्ने नयाँ चरणमा प्रवेश गर्‍यो । यो यात्रा अगाडि बढाउनका लागि एकातिर सोही अनुरूपको विचार र संगठन भएको राजनीतिक दल र नेतृत्वको आवश्यकता देखियो भने अर्कोतर्फ राजनीतिक स्थिरता पनि अनिवार्य शर्त हो भन्ने आत्मबोध भयो ।

    यस्तो परिस्थितिमा विगत लामो समयदेखि टुटफुट र मेलमिलापको श्रृंखलाबाट अगाडि बढिरहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरी एउटा बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने कामको पहलकदमी शुरू भयो । देशमा राजनीतिक स्थिरता कायम गरेर समृद्धिको यात्रालाई अगाडि बढाउने गरी केपी ओलीको नेतृत्वमा नेपालका दुई प्रमुख कम्युनिष्ट घटकहरूका बीचमा एकता भयो र त्यसको परिणामस्वरुप निर्वाचनको माध्यमबाट करिब दुई तिहाइ जनमत प्राप्त गर्दै केपी ओलीको नेतृत्वमा सरकार गठन भयो ।

    यो उपलब्धि कुनै सहज तरिकाले प्राप्त भएको थिएन । यो लाखौं नेता तथा कार्यकर्ताको त्याग, बलिदान र संघर्षको उपज थियो र यसको अगुवाई आमरूपमा केपी ओलीले गर्नुभएको थियो । २०६४ को चुनाव पछाडि अत्यन्त कमजोर र रक्षात्मक बनेको तात्कालीन नेकपा एमालेलाई देशकै सबैभन्दा लोकप्रिय पार्टीको रूपमा स्थापित गर्ने काम उहाँकै नेतृत्वमा भएको थियो । स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनका बाबजुद देशका अधिकांश ठाउँमा नेकपा एमालेका प्रतिनिधिहरूको विजय केपी ओली नेतृत्वको एमालेले राष्ट्रिय राजनीति, देश र जनताका पक्षमा खेलेको भूमिकाले गर्दा भएको थियो ।

    यति मात्रै नभएर एमाले र माओवादीको गठबन्धनमा भएको निर्वाचनमा नेकपा एमालेले जितेको सिटसंख्या र समानुपातिकमा उसले प्राप्त गरेको मतले पनि उसको लोकप्रियतालाई मापन गरेको थियो । नेकपा एमाले र त्यसको उत्तराधिकारीको रूपमा रहेको आजको नेकपा आम नेपाली जनताको प्रिय पार्टी हुनुका पछाडि केपी ओलीले निर्वाह गरेको नेतृत्वदायी भूमिका निर्णायक थियो ।
    विशेषतः ती ऐतिहासिक भूमिकाहरू के थिए त भन्ने बारेमा पनि यहाँ चर्चा गर्नु प्रासंगिक हुनेछ ।

    उग्रवाद, अहंकार, अराजकता र अलोकतान्त्रिक कदमको प्रतिवाद

    जब विस्तृत शान्ति सम्झौता (२०६३ मंसिर ५) पश्चात् भएको निर्वाचनबाट तात्कालीन नेकपा माओवादी पहिलो शक्तिका रूपमा अगाडि आयोे र नेकपा एमालेको लज्जास्पद हार भयो, त्यसले राजनीतिक शक्ति सन्तुलनमा नयाँ फेरबदल ल्यायो । यस प्रकारको परिणामले एकातिर माओवादी नेतृत्वमा चरम दम्भ र अहंकार बढ्न थाल्योे भने एमालेमा नैराश्यता उत्पन्न गरायो ।

    नेकपा एमालेका हजारौं नेता–कार्यकर्ता वाईसिएलका नामबाट अपहेलित हुन, आक्रमणमा पर्न थाले र उनीहरू माथि ठाउँठाउँमा भौतिक आक्रमण भए । उनीहरूलाई गाउँघरबाट निष्कासित गर्न थालियो । माओवादीले निर्वाचनबाट प्राप्त जनमतलाई सत्ताकब्जामार्फत सर्वसत्तावाद लागू गर्ने अवसरका रूपमा प्रयोग गर्ने नीति अख्तियार गर्न थाल्यो ।

    बहालवाला प्रधानसेनापतिलाई हटाएर आफू अनुकूलको प्रधानसेनापति ल्याउने निर्णय त्यसकै उपज थियो । तर तात्कालीन नेकपा एमालेको मूल नेतृत्व आफ्नो पार्टी र देशप्रति मडारिएको कालो बादललाई हटाउन कुनै ठोस कदम चाल्न असमर्थ देखियो । आफ्नै कार्यकर्तामाथि भइरहेका यातनाका घटनामा पार्टीको नेतृत्व मूकदर्शक जस्तै बनेको थियो । यस्तो परिस्थितिमा नेकपा एमालेलाई उग्रवादको आक्रमणबाट रक्षा गर्न केपी ओलीको परिकल्पनामा न्यायप्रेमी देशभक्त तथा जुझारु युवाहरूलाई गोलबन्द गरी युथ फोर्स गठन गरियो ।

    अर्कोतर्फ बहालवाला प्रधानसेनापतिलाई अपदस्त गरी सत्ताकब्जा गर्ने षडयन्त्रलाई केपी ओलीकै नेतृत्वमा विफल बनाइयो । यसले राज्यलाई ठूलो दुर्घटनाबाट बचाउने काम गर्‍यो । युथ फोर्सको देशव्यापी अभियानले आम कार्यकर्ताको आत्मबल उँचो बनाउने र उनीहरूलाई एमालेको झण्डामुनि आफू सुरिक्षत हुन्छु भन्ने अनुभूति गरायो भने प्रधानसेनापतिको विषयमा लिएको पहलकदमीले लोकतन्त्रको रक्षा गर्ने काम भयो ।

    स्पष्ट विचारसहितको पार्टी बनाउने कामको नेतृत्व

    सोही अवधिमा नेकपा एमालेलाई कतिपयले ‘न पोथी न भालेः नेकपा एमाले’ भन्दै आलोचना गर्थे । हुन पनि पार्टीको नेतृत्वले राष्ट्रिय मुद्दाहरूमा स्पष्ट अडान र राजनीतिक परिदृश्यमा आएका विषयहरूमा आफ्नो ठोस नीति प्रकट गर्न नसकेका कारण एमालेलाई लिङ्ग नछुट्टिएको, अस्थिर र ढुलमुले नीति भएको पार्टीका रूपमा चित्रण गरिएको थियो ।

    देशमा घटिरहेका परिघटनाहरूमा आफ्नो पार्टीको अभिमत जाहेर गर्न नसक्ने, यदि जाहेर गरिहाले पनि आफ्नो विचार र नीतिमा अस्थिर रहने त्यतिबेलाको नेतृत्व थियो । जसको कारणले एमाले झन्झन् अलोकप्रिय हुने परिस्थितिको सिर्जना भइरहेको थियो । तर जब केपी ओली एमाले पार्टीको प्रमुख नेताको रूपमा अगाडि आउनुभयो त्यसपछि उहाँको अगुवाईमा सशक्त वैचारिक तथा सांगठनिक अभियान सञ्चालन भयो ।

    नेकपा एमाले संविधानका अन्तरवस्तु, संघीयता र राष्ट्रिय मुद्दाहरूमा स्पष्ट वैचारिक तथा सैद्धान्तिक दृष्टिकोण भएको पार्टीका रूपमा स्थापित भयो । केपी ओलीको नेतृत्वमा एमालेले लिएको सटिक र स्पष्ट विचार तथा चट्टानी अडानका कारणले पार्टीप्रति आम नेपाली जनसमुदायको आकर्षण बढ्दै जान थाल्यो ।

    जातीय राजनीतिको घनचक्करबाट मुलुकलाई बचाउने कामको नेतृत्व

    संविधान निर्माणको क्रममा संघीयता सर्वाधिक पेचिलो विषय बन्न पुगेको थियो । नेपाल राज्य र राष्ट्रको परिभाषा र त्यसको अन्तरसम्बन्धका विषयमा नानाथरीका विवाद सिर्जना भइरहेका थिए । राज्यको पुनर्संरचना गर्दा त्यसको आधार पहिचान मात्रै हुने कि सामथ्र्य र पहिचान दुवैको संयोजन हुनुपर्ने भन्ने विषय विवादको केन्द्रविन्दु बनेको थियो ।

    नेपाललाई जातीय राज्यका आधारमा विभाजन गर्नुपर्दछ, जातजातिको छुट्टै राज्य निर्माण गर्नुपर्दछ र यदि कोही अलग राज्य बनाएर छुट्टिन चाहेमा आत्मनिर्णय गर्नसक्ने अधिकारसहितको प्रदेशहरू निर्माण गर्न पाउनुपर्दछ भन्ने विखण्डनवादी चिन्तनले जरा गाड्दै गइरहेको थियो ।

    सदिऔंदेखि एकआपसमा भाइचारा, सामाजिक एकता, सद्भाव, मेलमिलाप, शान्ति र सहिष्णुताको माध्यमबाट अगाडि बढेकोे नेपाली समाजमा जातीय विद्वेष, कलह र झैझगडा सिर्जना गर्ने दुष्प्रयास भइरहेको थियो । विभिन्न जातजाति र भाषाभाषीहरूको साझा फूलबारीको रूपमा रहेको मुलुकभित्र जात, भाषा, वर्ण, लिङ्ग र क्षेत्रको नाममा साम्प्रदायिक दंगा भड्काएर नेपाली-नेपालीका बीचमा संघर्ष कायम गराउने दुष्प्रयत्नहरू भइरहेका थिए ।

    टीकापुर, चन्द्रौटा, गौरलगायत स्थानहरूमा भएका घटना यसका उपज थिए । यस्तो परिस्थितिमा नेपालमा हिजोदेखि कायम रहेको विभेद र असमानताको कारण जात नभई वर्ग हो भन्ने विषयलाई पुनः पुष्टि गर्नुपर्ने आवश्यकता थियो । विद्यमान भेदभावहरूको जड पितृसत्तात्मक, सामन्ती र दलाल पूँजीपतिहरूको पक्षपोषण गर्ने राज्यसत्ता हो भन्ने विषय आमजनतालाई बुझाउनुपर्ने थियो ।

    यस्तो असामान्य अवस्थामा केपी ओलीले सबै प्रकारका थिचोमिचो र विभेदहरू अन्त्य गर्न जातको होइन वर्गको राज्य स्थापित गर्नुपर्दछ भन्ने मान्यतालाई अगाडि सार्नुभयो । कोही मानिस जन्मिंदैमा धनी वा गरिब भएर जन्मिंदैन, सानो वा ठूलो भएर जन्मिंदैन, उँचो र नीचो जातको भएर जन्मिंदैन, यो तात्कालिक राजनीतिक, आर्थिक र सामाजिक परिवेशले निर्धारण गरेको हुन्छ भन्ने धारणा अगाडि सार्नुभयो ।

    आफूमाथि लागेका अनेक प्रकारका लाञ्छनाहरूको बेवास्ता गर्दै केपी ओलीले जातीयताको घनचक्करबाट मुलुकलाई बाहिर निकाल्ने कामको अगुवाई गर्नुभयो । यसरी मुलुकलाई रुवाण्डा र सोमालिया बनाई आफ्नो स्वार्थ परिपूर्ति गर्न खोज्ने देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट मुलुकको रक्षा गर्ने काम कुनै चानचुने र सामान्य महत्वको विषय थिएन ।

    यसका अतिरिक्त तराईलाई छुट्टै देश बनाउने पृथकतावादी आन्दोलनको नेतृत्व गरेका डा. सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउने, हिन्दीभाषालाई राष्ट्रिय भाषा बन्न नदिने, अंगीकृत नागरिकतालगायत अन्य दर्जनौं विषयमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो ।

    संविधान निर्माण गर्ने कामको नेतृत्व

    संविधानसभाबाट संविधान निर्माण गर्ने सात दशक लामो नेपाली जनताको चाहना पहिलो संविधानसभाबाट पूरा हुन सकेन । दोस्रो संविधानसभाबाट पनि संविधान जारी हुन सक्दैन कि भन्ने आशंका र निराशा नेपाली जनमानसमा थियो । संविधान बन्न नदिने, बने पनि आफ्नो स्वार्थ परिपूर्ति हुने गरी मात्र बन्न दिने गरी आन्तरिक र बाह्य चलखेलहरू भइरहेका थिए । यहीबेला चारतिर मुख फर्काएर विपरीत दिशामा बसिरहेका राजनीतिक दलहरूका बीचमा साझा सहमति कायम गर्न केपी ओलीले पहलकदमी लिनुभयो ।

    संविधानका अन्तरवस्तु र राज्य पुनर्संरचनाको विषयमा मुख्य राजनीतिक शक्तिहरूका बीचमा सहमति कायम गर्ने कामको अगुवाई गर्नुभयो । संविधान जारी गर्न नदिन भएका बाहिरी चलखेलहरूलाई परास्त गर्नुभयो । भरतीय प्रधानमन्त्री मोदीको विशेषदूतका रूपमा नेपाल आएका तात्कालीन भारतीय विदेश सचिव हुन् वा पश्चिमा शक्तिहरूका हस्तक्षेपलाई ठाडो अस्वीकार गर्ने साहसिक नेताका रूपमा आफूलाई उभ्याएर आफ्नो नेतृत्वमा संविधान जारी गरी मुलुकलाई नयाँ दिशातर्फ उन्मुख गराउने ऐतिहासिक भूमिकामा देखा पर्नुभयो ।

    राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताका पहरेदार

    भनिन्छ, नेपाल आफ्नो इतिहासमा कहिल्यै पनि कसैको अधीनमा रहेन, कसैको उपनिवेश भएन । तर, नेपाल फौजीकरणको माध्यमबाट कसैको अधीनस्थ नभए पनि लामो समयदेखि वैदेशिक हस्तक्षेपको शिकार हुँदै आएको थियो । भौगोलिक रूपमा कसैको अधीनस्थ नभए पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले कहिल्यै पनि स्वाधीन हुन सकेन ।

    नेपालका स–साना आन्तरिक विषयहरू हुन् वा अन्तर्राष्ट्रिय विषय, यी हरेक विषयमा विदेशीको चलखेल र हस्तक्षेप हुने गरेका अनेकौं दृष्टान्त हाम्रो अगाडि छर्लङ्ग छन् । नेपालको सार्वभौमसत्ता निहित रहने मन्त्रिपरिषद् बैठकमै भारतीय राजदूत वा कुनै दूतको सहभागिता रहने गरेका समाचारहरू हाम्रो लागि कुनै नौलो विषय थिएनन् ।

    नेपालमा रहेका विभिन्न जातजाति बीचमा विद्वेष फैलाउने, संविधान बन्न नदिने, संविधान बनाएबापत एउटा सार्वभौम मुलुक माथि नाकाबन्दी गर्ने, नेपालका सयौं स्थानमा भूमि अतिक्रमण गर्ने, योजनाबद्ध ढंगले सडक निर्माणका नाममा बाँध बाँध्ने र बाढीको माध्यमबाट हजारौं बिघा खेतीयोग्य जमिनलाई बाँझो बनाइदिने, हजारौं लाखौं हाम्रा नेपालीको घरबार विस्थापित गराइदिने, सीमाका नागरिकहरूलाई अनेक यातना दिनेलगायत अनेकौं साम्राज्यवादी तथा विस्तारवादी क्रियाकलापहरूबाट मुलुक आक्रान्त बनिरहेको थियो । अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो धारणा राख्न समेत छिमेकी मुलुक अथवा प्रभुत्व मुलुकहरूको अनुमति लिनुपर्ने विडम्बना समेत भोग्नु परेको थियो ।

    यस्तो समयमा नेपाल भूगोलमा अरूभन्दा सानो होला, जनसंख्याका हिसाबले अरूभन्दा सानो होला, विकासका दृष्टिकोणले अरूभन्दा पछाडि होला तर एक सार्वभौमसत्ता सम्पन्न मुलुकका हिसाबले नेपालको स्थान अरू मुलुकको भन्दा कम वा बढी होइन बराबर नै हो भन्ने मान्यता अगाडि सार्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उँचाइमा स्थापित गर्नुभयो । नेपालमाथि हुने गरेका अनेकौं प्रकारका थिचोमिचो र अनावश्यक हस्तक्षेपहरूलाई ठाडै अस्वीकार गर्ने साहसिक नेता तथा राष्ट्रियताको पहरेदारका रूपमा आफूलाई प्रस्तुत गर्नुभयो ।

    नाकाबन्दी, चीनसँगको पारवहन सन्धि, लिपुलेक र लिम्पियाधुरालगायत विषयमा लिएको दृष्टिकोण र खेलेको भूमिकाले गर्दा यसलाई राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको विषयमा नेपाली जनतामा पुनर्जागरण ल्याउने कालखण्डका रूपमा नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखाउन सफल हुनुभयो ।

    ‘सुखी नेपाली समृद्ध नेपाल’ का परिकल्पनाकार तथा योजनाकार

    हाम्रो मुलुक लामो समयदेखि रोग, भोक, गरिबी, अशिक्षा र पछौटेपनबाट ग्रस्त छ । हाम्रा छिमेकी मुलुकहरूले तीव्र विकासको फड्को मार्दा समेत हामी अझै अविकसित मुलुकका रूपमा परिचित छौं । श्रम गर्न सक्ने उमेरका लाखौं युवाहरू जोखिमपूर्ण काममा विदेशिन बाध्य भएका छन् । गाउँघर साना बालबालिका र वृद्धवृद्धाहरूले मात्र भरिएका छन् । आयातमुखी अर्थतन्त्र र परनिर्भरताको लामो विरासतले गर्दा मुलुक दयनीय अवस्थामा रुमल्लिरहेको छ ।

    यस्तो परिवेशमा केपी ओली नै त्यस्तो व्यक्ति हुन् जसले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारामार्फत मूर्छित नेपाली जनतामा विकासको नयाँ आशा सञ्चार गर्नुभयो । अब हाम्रो देश कहिल्यै पनि विकसित हुँदैन कि क्या हो भनेर सोच्न बाध्य पारिएका नेपाली जनतामा हाम्रो देशमा पनि विकास हुन सक्छ, हामी पनि विकसित र सम्पन्नशाली देश बन्न सक्छौं भन्ने सपना र भावना जागृत गर्नुभयो । नेपालको इतिहासमा पहिलो पटक नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने महाअभियानको परिकल्पनाकार र नेतृत्वकर्ताको भूमिकामा देखा पर्नुभयो ।

    किन गर्नुपरेको थियो प्रतिनिधिसभा विघटन

    यसरी केपी ओलीले संविधान निर्माण, राष्ट्रिय स्वाधीनताको लडाइँ र नेपाललाई समृद्धिको यात्रामा अगाडि बढाउन खेलेका ऐतिहासिक भूमिकाहरूको आलोकमा आजको यो विशाल पार्टीको निर्माण र निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त भएको थियो । तर दुर्भाग्य, सरकार बनेको तीन वर्ष पुग्दा नपुग्दै नेकपाको आन्तरिक कलहको उपजस्वरुप संसद विघटन हुनपुग्यो । आफ्नै पार्टीको अध्यक्ष विरुद्ध फौजदारी अभियोगका लाञ्छनाहरू समेटिएका भ्रामक आरोपलाई अनधिकृत रूपमा पार्टीको लोगो र लेटरप्याड प्रयोग गरी छापेर बाँड्ने र आफ्नै प्रधानमन्त्रीविरुद्ध चोर बाटोबाट अविश्वासको प्रस्ताव ल्याउने षड्यन्त्र नेकपाभित्रबाटै गरियो ।

    पाँच वर्षसम्म यही सरकारलाई काम गर्न सहयोग गर्ने र त्यसका आधारमा निर्वाचनबाट अझ बढी मत प्राप्त गरेर अरू नेताको नेतृत्वमा सरकार निर्माण गर्ने मूल बाटोलाई छोडेर जसरी भए पनि अहिले नै केपी ओलीलाई सत्ताच्युत गर्ने अभीष्टका कारणले गर्दा आन्तरिक कलहले उग्ररुप लिंदै गयो । सरकार निर्माण भएको समयदेखि नै सरकारलाई असफल बनाउने, आफ्नै सरकारले ल्याएका महत्वपूर्ण दर्जनौं विधेयकहरू संसदीय समितिमा अलपत्र पारिदिने, जनताका सामु सरकार अलोकप्रिय भएको देखाउन खोज्ने र त्यसको आधारमा आफू सत्तामा पुग्ने महत्वाकांक्षा हावी बन्यो ।

    पद र शक्तिको आसक्तिले गर्दा जनतासामु गरिएका बाचाहरू बिर्सिए । राजनीतिक स्थिरता र आर्थिक समृद्धिको अभियानलाई अतृप्त आकांक्षा र कुण्ठाको साटो फेर्ने माध्यम बनाइयो जसले गर्दा प्रधानमन्त्रीले बाध्यात्मक कदमको रूपमा प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्था सिर्जना भयो ।

    अहिलेको परिदृश्य

    आजको दिनमा मुलुक एउटा ऐतिहासिक मोडमा आएर उभिएको छ । संसद विघटनको निर्णय खारेज भई पुनःस्थापनाको आदेश भएको छ । अब केही दिनमै संसद अधिवेशन आह्वान हुनेछ । आरोप र प्रत्यारोपको, विश्वास र अविश्वासको, संसदीय चलखेल र दाउपेचको, सांसद खरीद र बिक्रीको अनि शक्ति राष्ट्रहरूको दौडधुपको श्रृंखला चलिरहनेछ । सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँमा नतिजा आफ्नो पक्षमा पार्ने होडबाजी शुरू हुनेछ । तर तत्कालका लागि धेरै विषय नेकपाको विवाद कहाँ पुगेर टुङ्गिन्छ भन्नेमा निर्भर रहेको छ । निर्वाचन आयोगमा पुगेको नेकपाको आधिकारिकता र चुनाव चिन्ह सम्बन्धी विवाद अनि सर्वोच्च अदालतमा फैसला हुन बाँकी रहेको ऋषि कट्टेलको नेकपा नामको विवादका विषयमा कस्तो निर्णय आउँछ भन्ने कुराले पनि नेकपाको भविष्यलाई दिशाबोध गर्नेछ ।

    नेकपा फेरि एकीकृत भएर अगाडि बढ्छ कि औपचारिक रूपमा विभाजित हुन्छ भन्ने विषयले अबको राजनीति र सत्ता समीकरण कस्तो हुनेछ भन्ने निर्क्याेल गर्नेछ । यदि केपी ओलीले सरकारको नेतृत्व छोड्ने गरी नेकपा एकीकृत भएर अगाडि बढ्यो भने प्रचण्ड, माधव र वामदेवमध्ये कोही एकजना प्रधानमन्त्री बन्ने छन् । औपचारिक रूपमा नेकपा फुटको दिशामा गयो भने प्रचण्ड माधवको सहयोगमा देउवा प्रधानमन्त्री, केपी ओलीको सहयोगमा देउवा प्रधानमन्त्री, कांग्रेसको सहयोगमा केपी ओलीकै निरन्तरता, कांग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री वा कांग्रेस र प्रचण्ड माधवको सहयोगमा बाबुराम प्रधानमन्त्री बन्ने विकल्पहरू अगाडि आउनेछन् । यी बाहेक अरू कुनै विकल्पहरू देखिएछन् भने पनि त्यसलाई आश्चर्य मान्नुपर्ने छैन ।

    तर जे भए पनि यी सबै गठबन्धनहरूले तत्कालको गतिरोधलाई अन्त्य त गरिदेला तर मुलुकलाई निकास भने दिनेछैन । न त यसले अहिलेको समस्याको दीर्घकालीन समाधान नै दिनेछ, न त राजनीतिक स्थिरताको सुनिश्चितता नै गर्नेछ ।

    अबको मूल बाटो

    अहिले विद्यमान यस्तो जटिल परिस्थितिमा पनि मुलुकका अगाडि केही ऐतिहासिक अभिभाराहरू रहेका छन् । एकातिर राष्ट्रिय हित र स्वार्थलाई केन्द्रभागमा राख्दै राष्ट्रिय स्वाधीनताको लडाइँलाई रचनात्मक र सिर्जनात्मक तरिकाले गन्तव्यमा पुर्‍याउने प्रमुख दायित्व हाम्रो सामु रहेको छ । अर्कोतर्फ वर्गीय हितको पक्षपोषण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पूरा गर्ने र समाजवादमा संक्रमणको लागि आधारशिला खडा गर्ने सर्वाधिक महत्वको कार्यभार पनि हाम्रो काँधमा रहेको छ ।

    राष्ट्रिय स्वाधीनताको लडाइँलाई नयाँ तरिकाले उठान गर्ने र नेपाली जनतामा समृद्धिको सपना जागृत गर्ने कामको शुरुआत केपी ओलीले गर्नुभएको थियो । अहिले पनि यी दुवै कामलाई अगाडि बढाउनका लागि आवश्यक पर्ने क्षमता र सामर्थ्य नेपालको समकालीन राजनीतिमा उपलब्ध पहिलो पुस्ताका अरू नेताहरूमा देखिंदैन । त्यसकारणले गर्दा पनि तत्कालका लागि यी दुवै मोर्चाको अगुवाई गर्ने काममा केपी ओलीको विकल्प देखिंदैन । यसको मतलब केपी ओलीका कमजोर पक्षहरू छँदै छैनन् भन्ने होइन । प्रत्येक मानिसका आफ्ना मानवीय कमी–कमजोरीहरू हुन्छन् ।

    केपी ओलीका पनि केही व्यक्तिगत, केही कार्यशैलीका अनि केही व्यावहारिक कमी-कमजोरी छन् । ती कमजोरीहरू सुधार गर्नुपर्ने र सकेसम्म सबैलाई मिलाएर लैजानुपर्ने आवश्यकता पनि छ । तर समग्रतामा अनि मूल दृष्टिकोणमा उहाँले लिएको पोजिशन ठीक छ भन्ने हो ।
    भनिन्छ, जसले जुन कुराको परिकल्पना गरेको हुन्छ, जसले जुन विषयको उठान गरेको हुन्छ, त्यो परिकल्पनालाई साकार पार्ने, त्यो विषयलाई टुंगोमा पुर्‍याउने कामका लागि आवश्यक योजना र इच्छाशक्ति पनि त्यही व्यक्तिमा बढी हुन्छ । त्यसैले गर्दा पनि नेपाललाई समृद्धि र विकासको बाटोमा अगाडि बढाउने महाअभियानको गोरेटो निर्माण गर्न केपी ओलीको निरन्तरता आवश्यक छ ।

    यसका लागि पार्टी एकताको नयाँ आधार खोज्दै बाँकी रहेको दुई वर्ष पनि केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनु नै अबको मूल बाटो हो । केपी ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड माधव एकताका बाँकी काम टुंग्याउँदै महाधिवेशनको काममा केन्द्र्रित हुनुपर्दछ । एकताको महाधिवेशन आयोजना गर्दै वैचारिक, सैद्धान्तिक, सांगठनिक र नेतृत्वको विषयलाई नयाँ शिराबाट हल गरेर अगाडि बढ्नुपर्दछ ।

    सम्पूर्ण पार्टी पंक्तिले केपी ओलीको सरकारलाई सफल बनाउन सहयोग गर्दै दुई वर्ष पछाडि हुने निर्वाचनबाट जनअभिमत प्राप्त गरी नेकपाकै नेतृत्वमा सरकार गठन गर्ने गरी अगाडि बढ्नुपर्दछ । यसले नै अहिलेको गतिरोधलाई ठीक तरिकाले निकास दिनेछ र मुलुकमा राजनीतिक स्थिरता अनि समृद्धिको सुनिश्चितता प्रदान गर्नेछ । यसमा नै नेपाल र नेपाली जनताको हित हुनेछ ।

    (लेखक नेकपा बुटवलका युवा नेता तथा बुटवल नगर योजना आयोगका सदस्यसचिव हुन् ।)

  • गुल्मीमा नेकपा विभाजन- प्रदीप ज्ञवाली र गोकर्ण विष्टको शक्ति परीक्षण

    गुल्मीमा नेकपा विभाजन- प्रदीप ज्ञवाली र गोकर्ण विष्टको शक्ति परीक्षण

    रुपन्देही । गुल्मीबाट केन्द्रीय नेतृत्वमा पुगेका प्रभावशाली नेताद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपाको दुई खेमामा  छन् । दुवै नेता यसअघिको वर्चश्व आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । दुवै पक्षले भेला तथा विभिन्न कार्यक्रम गरेर खुल्न नसकेका कार्यकर्तालाई आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् ।

    केपी ओली पक्षीय नेकपाका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रचण्ड-माधव पक्षीय नेता एवम् पूर्वमन्त्री विष्ट दुवैले जिल्लामा आफ्नो पक्ष बलियो भएको दावी गरिरहेका छन् ।

    प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रत्यक्षतर्फका दुवै सिट र प्रदेशसभाका ४ वटै सिट नेकपाले जितेको थियो । गुल्मी क्षेत्र नम्बर एकबाट प्रदीप ज्ञवालीले जितेका हुन् विष्टले दुई नम्बर क्षेत्रबाट चुनाव जितेका हुन् ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले २ हजार मतान्तरले कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टले १५ हजारको मतान्तरमा विपक्षी कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए ।

    प्रतिनिधिसभा सदस्य बराबरी

    गुल्मीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट हुन् । ज्ञवाली ओली पक्ष र विष्ट प्रचण्ड–नेपाल पक्षमा छन् ।

    त्यसैगरी प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी ओली पक्षमा खुलेकी छन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री प्रचण्ड-नेपाल पक्षमा खुलेर लागेकी छन् ।

    प्रदेशसभामा प्रचण्ड–माधव पक्षको एक सांसद बढी

    गुल्मीबाट लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा ४ र समानुपातिकमा १ गरी ५ जनाले प्रतिनिधित्व गरेका छन् । निर्वाचनको समयमा माधव नेपाल पक्षमा रहेका गुल्मी क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कमलराज श्रेष्ठ अहिले ओली पक्षमा लागेका छन् भने अर्का सांसद सुदर्शन बराल प्रचण्ड–नेपाल पक्षमा छन् । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री छन् ।

    जिल्लाको क्षेत्र नं २ बाट प्रदेशसभामा निर्वाचित खड्ग केसी ओली पक्ष र दिनेश पन्थी प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

    केसी पूर्वएमाले हुन् भने पन्थी पूर्वमाओवादी हुन् । प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व सांसद गीता थापा प्रचण्ड–नेपाल पक्षमा लागेकी छन् । उनी पूर्वमाओवादी खेमाकी हुन् ।

    स्थानीय तहका जनप्रतिनिधि तानातानमा

    १२ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा तत्कालीन नेकपाबाट प्रमुख उपप्रमुख विजयी भएका थिए । त्यसमध्ये धेरै स्थानीय तहका प्रमुख–उपप्रमुख प्रचण्ड–नेपाल पक्षमा लागे पनि वडास्तरमा त्यसखालको अवस्था छैन ।

    केही पालिकाका जनप्रतिनिधि दुवै पक्षका भेलामा पुगेका छन् । दुवै प्रभावशाली नेताहरु आउँदा उनीहरुलाई अफ्ठेरो परेको छ ।

    जिल्लाको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी पहिलेदेखि नै खुलेर ओली पक्षमा लागेका छन् ।

    मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीलाई प्रचण्ड-माधव पक्षले आफ्नो कित्तामा राखे पनि उनी वामदेव गौतमले गठन गरेको पार्टी एकता अभियानको केन्द्रीय सदस्य हुन् ।

    मदानेकी उपाध्यक्ष रीता खड्का, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट र उपाध्यक्ष विमला केसी, मालिका गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापा र उपाध्यक्ष देवा अर्याल, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

    रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारी शुरुमा प्रचण्ड-माधव पक्षमा लागेपनि अहिले तटस्थजस्तै बनेका छन् । उनीहरु दुवै पक्षको कार्यक्रममा गइरहेका छन् ।

    मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्वमा छन् भने उपप्रमुख कमला शर्मा ओली पक्षमा छिन् ।

    रूरू गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतम वामदेव गौतमको एकता अभियानमा केन्द्रीय सदस्यमा छन् । त्यसैगरी उपप्रमुख लक्ष्मी पन्त प्रचण्ड-माधव पक्षमा लागेकी छिन् ।

    गुल्मीका चन्द्रकोट, सत्यवती र कालीगण्डकी, गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा कांग्रेस विजयी भएको थियो भने धेरै उपप्रमुखहरु नेकपाबाटै जितेका थिए । तीमध्ये चन्द्रकोटको उपाध्यक्ष राधिका अर्याल ओली पक्षमा खुलेकी छिन् भने सत्यवतीकी उपाध्यक्ष सुवर्णा शेरचन शाही र कालीगण्डकी उपाध्यक्ष तारा थापा तटस्थ छन् । उनीहरुलाई ओली पक्षले आफूतिर रहेको भनेको छ । कालीगण्डकी उपाध्यक्ष तारा थापाले जनमोर्चा निकट भएपनि चुनावमा सूर्य चिह्न लिएर जितेकी थिइन् ।

    पार्टी कमिटीमा प्रचण्ड-माधव पक्ष बलियो

    साबिकको नेकपाको लुम्बिनी प्रदेश कमिटीमा गुल्मीबाट ११ जना प्रदेश कमिटी सदस्य रहेको बहुमत सदस्य प्रचण्ड-नेपाल पक्षमा खुलेका छन् । प्रदेश कमिटीका एक सदस्य बोमबहादुर खड्कको मत्यु भएको छ । प्रदेश कमिटीका ११ मध्ये आठ जना प्रचण्ड-नेपाल पक्षमा छन् भने दुई जना ओली पक्षमा छन् ।

    नेकपा गुल्मीमा पार्टी एकीकरणपछि बनेको १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा प्रचण्ड-नेपाल समूहतर्फ ९४ र ओलीतर्फ ४१ जना खुलेका छन् । बाँकी सदस्य तटस्थजस्तै छन् ।

    ४९ सदस्यीय जिल्ला सचिवालय कमिटीमा २८ जना प्रचण्ड-माधव पक्षमा छन् भने १८ जना ओली पक्षमा खुलेका छन् ।

    सचिवालयमा रहेका तीन जना तटस्थजस्तै छन् ।

     आफू बलियो भएको दुवै पक्षको दावी

    ओली पक्षका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले प्रचारमा केही स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिलाई लिएर प्रचण्ड-माधव पक्ष भनिए पनि जिल्लामा नेकपाको जनमत ओली पक्षमा रहेको बताउँछन् । पन्तले नेपाल प्रेससँग भने, ‘केही पालिका प्रमुख उताको समूहमा गए पनि सबै वडाअध्यक्ष हामीसँग हुनुहुन्छ । बाहिर केही मिडियामा आएजस्तो प्रचण्ड-नेपाल पक्ष बलियो नभइ वास्तविकता उल्टो छ ।’

    प्रचण्ड-माधव पक्षका जिल्ला अध्यक्ष सोमनाथ सापकोटाले आफ्नो पक्ष बलियो भएको तथ्यांकले प्रष्ट पारेको बताए । सापकोटाले ओली पक्षले ४ सय ९९ कमिटी गठन गरेपनि पूर्ववत् कमिटीमा आफूहरु बहुमत रहेको दावी गरे ।

    विभाजनको विपक्षमा जनमत बलियो

    गुल्मीमा पूर्वमाओवादी समूह करिब करिब एउटै समूहमा छ भने पूर्वएमालेका दुई प्रभावशाली नेताहरु दुवै खेमामा रहेकाले कार्यकर्तालाई अफ्ठेरो परेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको विश्लेषण छ ।

    धेरै कार्यकर्ता र केही नेताहरु समेत दुवै पक्षको भेला तथा कार्यक्रममा पुगेकाले दुवै पक्षले आफूलाई बलियो मानेका हुनसक्ने उनको बुझाइ छ । उनको विश्लेषणमा गुल्मीमा पार्टी विभाजनको विपक्षमा ठूलो मत छ ।

  • कास्कीमा नेता छान्न प्रचण्ड-माधवलाई सकस, अध्यक्षमा साबिक एमाले र माओवादीको दावी

    कास्कीमा नेता छान्न प्रचण्ड-माधवलाई सकस, अध्यक्षमा साबिक एमाले र माओवादीको दावी

    पोखरा । प्रचण्ड-माधव नेपाल पक्षीयन नेकपाले ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा कास्की जिल्लाको नेतृत्व भने चयन गर्न सकेन । पार्टी विभाजनपछि अध्यक्ष कृष्ण थापा केपी ओलीतिर छन् ।

    कास्कीका सबै जनप्रतिनिधि र अधिकांश नेता कार्यकर्ता केपी ओलीतिर लागेपनि प्रचण्ड माधव पक्षमा नेतृत्व कसले गर्ने भन्ने विवाद देखिएको छ ।

    सो पक्षले नयाँ ढंगबाट एकता गर्ने भन्दै ५०-५० प्रतिशतको पद बाँडफाँड गर्ने निर्णय गरिसकेका छन् । सोही निर्णय बमोजिम प्रचण्ड-माधव पक्षीय नेकपाले पहिलो चरणमामा फागुन ७ गते ६८ जिल्लाको चयन गरिसकेको छ । बाँकी ९ वटा जिल्लामा नेतृत्व छान्नै बाँकी छ ।

    साविक माओवादी र एमालेको आआफ्नै दाबी !

    कास्की जिल्ला तत्कालीन एमालेको राम्रो प्रभाव रहेको ठाउँ मानिन्छ । कास्कीका जिल्लादेखि स्थानीय तहसम्म तत्कालीन एमालेको प्रभाव छ । तर, यसबीचमा साविक माओवादी र एमालेबाट चुनेर जिल्लाको नेतृत्व चुन्नुपर्ने चुनौति छ ।

    तत्कालीन समयमा पूर्व एमाले र माओवादीले एकता गरी समायोजन गर्दा कास्कीमा नेकपा अध्यक्षमा तत्कालीन एमालेका कृष्ण थापा र सचिवमा नेकपा माओवादीबाट बखानसिंह गुरुङ चयन भएका थिए । अहिले गण्डकी प्रदेश सांसदसमेत रहेका पार्टी अध्यक्ष कृष्ण थापा ओली पक्षमा उभिएसँगै अध्यक्ष पद खाली छ ।

    अध्यक्ष ओली समूहमा लागेपछि अहिले जिल्लाको नयाँ अध्यक्ष को बन्ने भन्ने विषयमा माधव-प्रचण्ड पक्षीय नेकपाको चासोको विषय छ । सहमतिअनुसार कास्कीमा तत्कालीन एमालेबाट पद रिक्त हुन गएकाले एमालेबाटै नेतृत्व चयन हुनुपर्ने दावी माधव नेपाल पक्षको छ । तर, त्यसमा सहमति जुट्न नसकेकोले निर्णय हुन नसकेको स्रोतको दाबी छ ।

    प्रचण्ड माधव पक्षीय नेकपाको कास्की जिल्ला अध्यक्षमा अहिले जिल्ला सचिव नै रहेका बखानसिंह गुरुङ र तत्कालीन एमालेका नेता धनराज आचार्यको चर्चा छ ।

    पार्टी सहमति अनुसार कास्कीको जिल्ला नेतृत्व तत्कालीन एमालेले पाउनुपर्ने हुन्छ । तर, जिल्ला अध्यक्षमा तत्कालीन माओवादीले अध्यक्ष पद नछाड्ने संकेत गरेको छ । हाल जिल्ला सचिव रहेका साविक माओवादीका जिल्ला अध्यक्ष बखानसिंह गुरुङ आफू नै अध्यक्ष हुने ‘सुल्टो तरिका’ बताएका छन् ।

    ‘कास्कीबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेको छैन । त्यसको आधिकारिक निर्णय आइसक्या छैन । तर, यहाँको यहाँको सापेक्षतामा त अहिले भइराखेको सचिव नै अध्यक्ष हुने होला !’ गुरुङले नेपाल प्रेससँग भने ।

    जिल्ला अध्यक्ष प्रतिगमनको पक्षमा लागेपछि अर्कोले सम्हालिराखेको खण्डमा आफूले अध्यक्ष पाउने नै सुल्टो तरिका हुने उनले बताए । तर पार्टी अध्यक्ष ओली पक्षमा लागेपछि जिल्लाको नेतृत्व सहमति बमोजिम साविक एमालेले नै पाउनुपर्ने माधव नेपाल पक्षको दावी छ ।

    साविक एमाले नेता धनराज आचार्यले जुन ठाउँमा जुन पक्ष खाली रहेको हो त्यही पक्षले नै पद पाउनुपर्ने सहमति अनुसार तत्कालीन एमालेले पाउने दाबी गरे । उनले भने–कास्की पुरानो एमालेको हो । सम्भवतः एमालेले नै पाउँछ ।’

    अध्यक्षका दाबेदारका रुपमा उभिएका तत्कालीन एमालेका नेता धनराज आचार्य स्वर्गीय रवीन्द्र अधिकारीका सहपाठी र रवीन्द्र अधिकारी प्रतिष्ठानका महासचिवसमेत हुन् ।

    रवीन्द्र अधिकारीको हवाइ दुर्घटनामा मृत्यु भएपछि रिक्त बनेको कास्की २ को प्रतिनिधि सभा चुनावमा उनकै पत्नी विद्यालाई नेकपाले चुनावमा उठाएको थियो । उक्त चुनावको चुनावी कमान्डरको रुपमासमेत आचार्यले काम गरिसकेका छन् । विद्या भने ओली पक्षको केन्द्रीय सदस्य हुन् ।

    नयाँ सहमति अनुसार ५०÷५० प्रतिशत पद बाँडफाँड भनिएकाले सोअनुसार पदमा थपघट हुन सक्ने भने आचार्यको भनाइ छ । उनले पार्टी सचिवालयले कुनै पनि सिफारिस नगरेकाले कास्कीमा कोही पनि ‘दाबेदार नरहेको’ बताए ।

    ‘अधिवेशनको बेला भए केही भन्न सकिन्थ्यो । तर, अहिले अप्ठेरोबेला छ । यस्तोबेला दाबी गर्ने समय होइन,’ आचार्यले भने, ‘पार्टीले जे निर्णय र जिम्मेवारी दिन्छ त्यही स्वीकार्ने हो ।’

    प्रचण्ड-माधव पक्षीय नेकपाले कास्कीमा अध्यक्ष पदमात्रै नभई पोखरा महानगरसमेत नेतृत्व छान्न सकेको छैन । गण्डकीका ११ जिल्लामध्ये ६ वटा जिल्लामामात्रै नेकपाले नेतृत्व छानेको छ ।

  • ओलीपक्षीय स्थायी समिति बैठक स्थगित

    ओलीपक्षीय स्थायी समिति बैठक स्थगित

    काठमाडौं । विभाजित नेकपाको ओली पक्षको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्रीसहित नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको महासचिव बिष्णु पौडेलले जानकारी दिए । पार्टीको भावी रणनीतिबारे एकचरण छलफल भइसकेको र अन्य पक्षसँग पनि छलफल गर्नुपर्ने भएकाले स्थायी समिति बैठक सारिएको हो ।

    स्थायी समिति बैठक बुधबार बसेको थियो । बैठकमा प्रधानमन्त्रीले सर्वोच्चको फैसलाअनुसार प्रतिनिधिसभा अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिएका थिए ।

  • प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आजै संसदीय दलको बैठक बोलाएको छ । अपरान्ह ४ बजे दलको बैठक बोलाइएको पुनःस्थापित प्रतिनिधिसभाका सदस्य झपट रावलले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि अबको कदमबारे सांसदहरुलाई जानकारी गराउन बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव पक्षले दलको नेताबाट केपी ओलीलाई हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको थियो ।

    कानुनी रुपमा नेकपा विभाजन भइनसकेकाले दलको नेताबाट ओलीलाई हटाउने हो भने पनि प्रचण्ड माधव पक्षले वैधानिक प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसबारे पनि बैठकमा छलफल हुनसक्ने अर्का सांसद कृष्णभक्त पोखरेलले बताए ।

    पुनःस्थापित प्रतिनिधिसभामा प्रचण्ड-माधव पक्षका सांसद कति छन् भन्ने पनि आजको बैठकबाट थाहा हुनेछ ।

  • सर्वोच्चको फैसला स्वाभाविक, जितको उन्माद अस्वाभाविक

    सर्वोच्चको फैसला स्वाभाविक, जितको उन्माद अस्वाभाविक

    झण्डै तीन महिनादेखिको राजनीतिक उथलपुथललाई नयाँ मोड दिंदै सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको अहम् फैसला गर्‍यो । यससँगै मुलुक राजनीतिक उथलपुथलको अर्को श्रृंखलामा प्रवेश गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानसम्मत थिएन । उनले आफ्नो कदमको औचित्य सावित गर्न राजनीतिक तर्कहरु अघि सारेका थिए, जसलाई अदालतले जायज ठहर्‍याएन । सर्वोच्चले संविधानमा टेकेर फैसला दिएको छ र सरकारले यसलाई सहजरुपमा स्वीकारेर कार्यान्वयन गर्नुको विकल्प छैन ।

    संसद विघटनपछि सरकार विराेधीहरुले ‘प्रधानमन्त्रीले अदालतसँग सेटिङ’ मिलाएको भनेर जोडदार सन्देश प्रवाह गर्न खोजेका थिए । प्रधानन्यायाधीशले वकिलहरुसँग गरेको कतिपय सवालदेखि प्रधानसेनापतिले प्रधानन्यायाधीशसँग गरेका भेटसम्मलाई ‘सेटिङ’ कै हिस्साका रुपमा प्रचारित गर्न खोजियो । जुन अन्ततः मिथ्या सावित भएको छ । सर्वोच्च अदालतमा सरकारको छायाँ परेको छैन भन्ने व्यवहारबाट पुष्टि हुनु सुखद पक्ष हो ।

    आफूविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगको तयारी भएको बुझेपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने विवादास्पद कदम चालेका थिए । कुनै पनि तर्कले उनको कदमको औचित्य पुष्टि हुन सक्दैनथ्यो ।

    आफूविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगको तयारी भएको बुझेपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने विवादास्पद कदम चालेका थिए । कुनै पनि तर्कले उनको कदमको औचित्य पुष्टि हुन सक्दैनथ्यो । हो, प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट चरम असहयोग भइरहेको थियो । सरकार गिराउने मात्र नभएर ओलीलाई पार्टीको अध्यक्षबाट पनि गलहत्याउने असफल प्रयास बारम्बार दोहोरिएकै हो । पार्टीभित्रको विग्रहले मुलुकमा राजनीतिक स्थिरताको महसूस हुन नपाएकै हो । सरकारका कामकारबाही प्रभावित बनेकै हुन् । तर, यी यावत् कारणहरुका बाबजूद पनि संसद विघटन गर्ने संवैधानिक धरातल प्रधानमन्त्रीसँग थिएन ।

    प्रधानमन्त्रीको यही कदम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीलाई विभाजनतर्फ लैजाने कारकतत्व बन्यो, वा त्यस्तो देखियो । संसद विघटनले जसरी राजनीतिलाई गिजोल्यो, त्योभन्दा बढी गिजोल्यो नेकपाको विभाजनले । विभाजनले अहिलेसम्म कानूनी मान्यता पाएको छैन । तर, यसले प्रदेश सरकारहरुदेखि स्थानीय तहसम्मलाई हानेको छ । सबैतिर अस्थिरताको सञ्चार भएको छ ।

    सर्वोच्चको फैसला संवैधानिकरुपमा सही हुँदाहुँदै पनि यसले अबको राजनीतिक जटिलतालाई समाधान भने गर्न सक्दैन । संवैधानिक विवादको निरुपण भयो, तर राजनीति आगामी दिनमा अझै अस्तव्यस्त बन्ने खतरा छ । नेकपा विभाजनका कारण संसद त्रिशंकु बनेको अवस्थामा फेरि सत्ताको छिनाझप्टीमा दलहरु केन्द्रित हुने चिन्ता व्याप्त भएको छ ।

    अब प्रधानमन्त्री केपी ओलीले के गर्छन् भन्ने सर्वाधिक चासोको विषय हो । विपक्षीहरुले प्रधानमन्त्रीलाई तत्काल नैतिकताका आधारमा राजीनामा गर्न दबाब दिएका छन् । ओलीले दुई दिनअघि मात्रै एक सम्बाेधनमा ‘सर्वोच्चले विघटनलाई उल्टाए पनि आफूहरुको राजनीति नसकिने’ भन्दै भावी रणनीतिबारे एकप्रकारको संकेत गरेका थिए । यसले उनी राजीनामा दिएर हिंड्नेभन्दा भावी परिस्थितिको सामना गर्ने मूडमा छन् भन्ने आकलन गर्न सकिन्छ ।

    सर्वोच्चले संसद अधिवेशनका लागि दिन नै किटान गरिदिएको छ । तसर्थ त्यसमा तलमाथि हुन सक्दैन । त्योभन्दा अगाडि प्रधानमन्त्रीको राजीनामा आएन भने संसदमा उनले अविश्वास प्रस्तावको सामना गर्नुपर्ने हुन्छ । अनि, सरकार ढल्ने-नढल्ने विषय संसदको गणितमा निर्भर रहन्छ । त्यो बेला फेरि संसदहरु दुई पक्षको तानातानमा पर्नेछन् । उनीहरुको खरिदविक्रीका लागि भाउ लाग्न सक्छ । विगतमा त्रिशंकु संसद हुँदाखेरिका सबै विकृतिहरुको पुनरावृत्ति हुने खतरा टड्कारो छ ।

    नेकपाको दुवै पक्षले फेरि पनि मिलेर जान सकिने सम्भावनाको खोजी गर्नु देश हितमा हुन्छ । पार्टीको पुनः एकता सम्भव नभए तात्कालिक सहकार्यले पनि क्षति न्यूनीकरण हुन सक्छ ।

    यो विकृति रोक्नका लागि नेकपाका दुवै पक्षहरुले नयाँ शिराबाट सोचुन् । केपी ओलीको ठाउँमा प्रचण्ड वा माधव नेपाल आउँदैमा देश रामराज्य हुन्छ भन्ने विश्वास जनतामा छैन । अब नयाँ प्रधानमन्त्री जो बने पनि सरकार चलाउने भनेको मुस्किलले दुई वर्ष हो । प्रधानमन्त्री फेरिनासाथ राज्यका सम्पूर्ण अवयवहरु अस्थिर हुनेछन् । राष्ट्रपतिदेखि राजदूतसम्म र प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्म हटाउने र राख्ने खेल सुरु हुनेछ । यसमै आगामी सरकारको एक वर्ष व्यतीत हुन सक्छ । त्यसपछि अर्को चुनावको तयारीमा लाग्ने बेला भइहाल्छ । अनि विकास कहिले गर्ने ?

    फैसला आउनासाथै प्रधानमन्त्रीले आजै, अहिल्यै राजीनामा दिनुपर्छ भनेर दबाबको चक्रवात सिर्जना गर्नुको पनि अर्थ छैन । राजीनामा दिने वा संसद फेस गर्ने प्रधानमन्त्रीको निजी छनोटको विषय हो ।

    तसर्थ नेकपाको दुवै पक्षले फेरि पनि मिलेर जान सकिने सम्भावनाको खोजी गर्नु देश हितमा हुन्छ । पार्टीको पुनः एकता सम्भव नभए तात्कालिक सहकार्यले पनि क्षति न्यूनीकरण हुन सक्छ । यसका लागि दुवै पक्षले हठ छाडेर त्यागको भावना देखाउनुपर्छ । सर्वोच्चले संविधानमा टेकेर गरेको स्वाभाविक फैसलालाई लिएर अहिले एउटा पक्षले सडकदेखि सामाजिक सञ्जालसम्म जुन किसिमको उन्माद देखाइरहेको छ, त्यो जनताका निम्ति सुपाच्य छैन । एउटा सामान्य न्यायिक प्रक्रियालाई ‘दिग्विजय’ कै रुपमा लिएर लड्डु खुवाउँदै हिंड्नुले राजनीतिक सौहार्दता विकास हुँदैन ।

    फैसला आउनासाथै प्रधानमन्त्रीले आजै, अहिल्यै राजीनामा दिनुपर्छ भनेर दबाबको चक्रवात सिर्जना गर्नुको पनि अर्थ छैन । राजीनामा दिने वा संसद फेस गर्ने प्रधानमन्त्रीको निजी छनोटको विषय हो ।

    सर्वोच्चको फैसलालाई नेकपाका दुवै पक्षले हार-जितको रुपमा भन्दा पनि आपसी मेलमिलापमार्फत देशको राजनीतिलाई ट्रयाकमा ल्याउने प्रस्थानविन्दुका रुपमा ग्रहण गरुन् ।

  • नेकपा एकताको पक्षमा केन्द्रीय सदस्य विष्णु रिजालको अपील

    नेकपा एकताको पक्षमा केन्द्रीय सदस्य विष्णु रिजालको अपील

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले पछिल्ला राजनीतिक तिक्तता बिर्सेर पुरानै नेकपाको एकताका लागि नेता कार्यकर्तामा अपील गरेका छन् ।

    घटनाक्रमबाट पाठ सिक्दै सबै नेताले आ-आफ्ना सीमा र सबलता बुझ्न सकियो भने नेकपा पुनः एकीकृत भएर अघि बढ्न सक्ने नेता रिजालको विश्वास छ । आज बिहान सामाजिक सन्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलताले नेताहरुलाई पुनः एकपल्ट ठन्डा दिमागले सोच्ने मौका दिएको बताएका छन् ।

    नेकपाको औपचारिक विभाजन भइनसकेकाले पुनःएकता सम्भव रहेको इंगित गर्दै उनले लेखेका छन्, ‘धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बाँकी छ । एकताका लागि आ-आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने समय आएको छ । आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो ।’

    उनले एकता विथोलिएको देखे-भोगेका नेता कार्यकर्ताले नै भोलिका दिनमा सजगतापूर्वक एकता बचाउन सक्ने भन्दै हारेको सिपाहीले सजगतापूर्वक युद्ध लड्ने तर्क प्रस्तुत गरेका छन् ।

    
    
  • प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

    प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

    काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक संकटमा छन् ।

    पछिल्ला राजनीतिक घटनाक्रमले उनलाई कि राजीनामा दिने या संसदको सामना गर्ने दुई विकल्प अगाडि सारिदिएको छ । प्रधानमन्त्रीका सन्चार सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् ।

    मंगलबार साँझ सामाजिक सन्जालमार्फत सल्लाहकार थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको तर स्वीकार गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर फैसला कार्यान्वयन गर्ने बताएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुस्प्रभावहरु भविश्यमा देखिंदै जानेछन् । यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्नेछ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

  • कानूनी रुपमा नेकपा बहुमतमै-अबको प्रक्रिया सीधै संसदमा कि संसदीय दलमा ?

    कानूनी रुपमा नेकपा बहुमतमै-अबको प्रक्रिया सीधै संसदमा कि संसदीय दलमा ?

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनासँगै अबको प्रक्रिया के हुन्छ ? नेकपाको विभाजनले कानूनी मान्यता पाइनसकेको अवस्थामा प्रचण्ड-माधव पक्षले प्रधानमन्त्रीविरुद्ध पहिलेकै अविश्वास प्रस्तावलाई संसदमा लैजान्छ वा केपी ओलीलाई दलको नेताबाट हटाउने वैधानिक प्रक्रियामा जान्छ ?

    यी दुई प्रक्रियाबारे कुनमा जाने भन्नेमा अझै प्रचण्ड-माधव पक्ष प्रष्ट भइसकेको छैन । प्रचण्ड र माधव नेपाल बुधबार बिहानै चितवनबाट काठमाडौं फर्किंदैछन् । सोही दिन दलको बैठक बोलाउने सम्भावना रहेको निकट एक नेताले बताए ।

    कानूनी रुपमा नेकपा अहिले पनि प्रतिनिधिसभामा बहुमतमा छ । संसदीय दलको नेता वैधानिक रुपमा ओली नै छन्, यद्यपि विघटनपछि अर्को पक्षले प्रचण्डलाई दलको नेता चयन गरेको छ । संविधानविद् विपिन अधिकारी प्रतिनिधिसभा पुनःस्थापनापछि दलको नेता चयन हुनुपर्ने बताउँछन् ।

    संसदीय दलको नेता ओली नै फेरि पनि चुनिए र नेकपा विभाजनले कानूनी मान्यता पाएन भने उनी फेरि प्रधानमन्त्रीको दावेदार हुनसक्ने तर अहिलेकै सरकार भने निरन्तर नहुने उनले बताए । तर त्यो प्रक्रियामा जानेतर्फ प्रचण्ड-माधव पक्ष छैन ।

    निर्वाचन आयोगले नेकपा विभाजनलाई कानूनी मान्यता नदिएकाले केही जटिलताहरु फेरि सिर्जना हुने संवैधानिक कानूनका विज्ञहरु बताउँछन् । सीधै संसदमै अविश्वास प्रस्ताव लैजाने प्रक्रियामै जाने सम्भावना रहेको विघटनविरुद्ध बहस गरेका संविधानविद् टीकाराम भट्टराईले बताए ।

    उनले नेपाल प्रेससँग भने-अविश्वास प्रस्ताव पुस ५ गते नै संसदमा दर्ता भएको छ । त्यसैलाई सक्रिय बनाएर संसदबाटै टुंगो लगाउने एउटा प्रक्रिया छ । दलको नेताबाट केपी ओलीलाई हटाउने हो भने प्रमुख सचेतकमार्फत अविश्वास प्रस्ताव दलमा लैजानुपर्ने हुन्छ ।

    प्रचण्ड–माधव पक्षका सांसद तथा कानूनविद् कृष्णभक्त पोखरेलले अब प्रचण्डकै अध्यक्षतामा संसदीय दलको बैठक बस्ने बताए । उनले राजनीतिक रुपमा ओलीलाई आफूहरुले दलको नेताबाट हटाइसके पनि वैधानिकताको प्रश्न उठेमा त्यसबारेमा सोचिने नेपाल प्रेससँग बताए ।

    पोखरेलले भने– ओलीलाई संसदीय दलको नेताबाट पहिले नै हटाइसकेका छौं । त्यस विषयमा अझ वैधानिकताको प्रश्न छ भने त्यसमा सोच्ने कुरा हुन्छ । अविश्वास प्रस्ताव स्वतः सक्रिय हुन्छ र प्रचण्डले अरु पार्टीहरुसँग छलफल गरेर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

    पोखरेलले अब अर्को अविश्वास प्रस्ताव दर्ता गर्न नपर्ने बताए । प्रस्ताव दर्ता भएर दर्ता नम्बर समेत लिइसकेकाले अब प्रधानमन्त्रीले संसदमै अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने वा त्यसअघि नै राजीनामा दिनुपर्ने पोखरेलले बताए ।

    नेकपाको विभाजन कानूनी रुपमा नभइसकेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठन हुने कि ३ अनुसार भन्ने अन्याेल भने कायमै छ । उपधारा २ अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा ओली प्रधानमन्त्री भएका थिए ।

    आयोगले नेकपाको बारेमा निर्णय नगरेसम्म दल एकीकृत नै रहने र दुइटा गुटका रुपमा उनीहरु रहने अवस्था छ । यसबीचमा प्रधानमन्त्री पक्षको कदम प्रष्ट भइसकेको छैन । तर औपचारिक रुपमा दल विभाजन वा दलको नेता चयन प्रक्रियामा नजाँदासम्म अन्योल भने कायमै रहने देखिन्छ ।

    दल विभाजनले कानूनी मान्यता नपाउन्जेल वा एउटा पक्षले नयाँ दल दर्ता नगरेसम्म नेकपा बहमुत प्राप्त दलकै रुपमा रहने संविधानविद्हरु बताउँछन् । प्रचण्ड-माधव पक्षले संसदीय दलमा बहुमत सिद्ध गरेर ओलीलाई वैधानिक प्रक्रियाबाट हटाउने दिशामा जाने सम्भावनाबारे नेताहरु नै प्रष्ट भइसकेका छैनन् ।

    प्रतिनिधिसभामा १७३ र राष्ट्रियसभामा ५० गरी नेकपाका कुल २२३ सांसद छन् । विधान अनुसार नेकपा संघीय संसदीय दलको नेता चयनमा दुवै सदनका सांसदहरुको संख्या गनिन्छ ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९२ प्रतिनिधिसभा सदस्यमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरु अब फेरि प्रचण्ड-माधव पक्षमै लाग्छन् वा ओलीसँगै रहन्छन् ? पुनःस्थापनासँगै ओली पक्षका अरु केही सांसद समेत आफ्नो पक्षमा आउने प्रचण्ड-माधव पक्षको भनाइ छ ।

  • उपप्रधानमन्त्री पोखरेलले भने– अदालतको फैसला शिरोधार्य छ

    उपप्रधानमन्त्री पोखरेलले भने– अदालतको फैसला शिरोधार्य छ

    चितवन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई शिरोधार्य रहेको बताएका छन् ।

    प्रेस संगठन चितवनले आज बिहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु अघि बढ्ने बताए ।

    पोखरेलले भने, ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन । हामी शक्तिपृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

    पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको बताए । उनले केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको दाबी समेत गरे ।

    पोखरेलले प्रधानमन्त्रीले विराटनगरमा बोलेको कुरालाई नियतवश केही व्यक्तिले गलत ढंगले सम्प्रेषण गरेको बताए । ‘कम्युनिष्ट आन्दोलन निरन्तर अघि बढ्छ’ भनेको कुरालाई ‘प्रधानमन्त्रीले आन्दोलनमा जान्छौं भनेको’ भनेर हो-हल्ला गरिएको पोखरेलले बताए ।

  • ‘पूर्वलडाकुप्रति ओलीको मोह चुनावलक्षित प्रपञ्च मात्र हो’

    ‘पूर्वलडाकुप्रति ओलीको मोह चुनावलक्षित प्रपञ्च मात्र हो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादीका पूर्व लडाकुहरूप्रति पछिल्ला दिनमा अतिरिक्त सहानुभूति दर्शाइरहेका छन् । विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसलाई ‘नाटक’ को संज्ञा दिएको छ ।

    ओलीकै रणनीतिअनुसार मन्त्रिपरिषदले माओवादीका अयोग्य लडाकुहरूलाई परिचयपत्र वितरण गर्ने निर्णय लियो । यस विषयमा अयोग्य लडाकुको संगठनसँग सरकारले संवाद पनि थालिसकेको छ । परिचयपत्रमार्फत दिने सहुलियत र सुविधाबारे भने सरकारले निर्णय लिइसकेको छैन ।

    माओवादी जनयुद्धमा समावेश भएर पछि विभिन्न पार्टी चहार्दै हाल स्वतन्त्र विश्लेषकका रूपमा चिनिएका मुमाराम खनाल पूर्वलडाकुप्रति प्रधानमन्त्रीले देखाएको मोहलाई अस्वाभाविक मान्छन् । आगामी चुनावलाई लक्षित गर्दै ओलीले आफूलाई थप शक्तिशाली बनाउन यो रणनीति अख्तियार गरेको उनको विश्लेषण छ ।

    ‘उहाँ हरतरहले शक्तिशाली बन्न खोजिरहनुभएको छ’ खनाल भन्छन्, ‘पूर्वलडाकुलाई हातमा लिंदा चुनावमा काम लाग्न सक्छन् भन्ने उहाँको बुझाइ होला ।’

    खनालको थप भनाइ जस्ताको तस्तैः

    प्रधानमन्त्री ओलीले अहिले पूर्वलडाकुमाथि जुन किसिमको अतिरिक्त मोह देखाइरहनुभएको छ, त्यसका विभिन्न आयाम छन् । पहिलो त, उहाँ अहिले पूर्वलडाकु मात्र नभएर आपराधिक मनोवृत्तिका वा विभिन्न अपराधमा मुछिएका मान्छेलाई पार्टीमा भित्र्याउन लालायित देखिनुभएको छ ।

    तपाईं प्रभु शाहको उदाहरण लिन सक्नुहुन्छ । उनी अपराधमा मुछिएका व्यक्ति हुन् । बालकृष्ण ढुंगेल भन्नुस् । उनलाई सबैभन्दा बढी उहाँहरूले नै खेद्नुभएको थियो । फरार अभियुक्त कालीबहादुर खाम अहिले बालुवाटारमा घुमिरहेका छन् ।

    लडाकुसँग आत्मीयता बढाउन खोज्नुको मुख्य कारण चाहिं मेरो विचारमा अतिरिक्त राजनीतिक शक्ति आर्जन गर्ने अभिलासा हो । भोलि कुनै बेला चुनाव त हुन्छ नै । त्यसमा यस्ता लडाकुहरू काम आउँछन् भन्ने एउटा बुझाइ उहाँको हुनुपर्छ । यस्ता युवाहरू चुनावमा धेरैभन्दा धेरै खट्न सक्छन् । परिआउँदा लडभिड गर्न पनि सक्छन् । त्यो एउटा फाइदा भयो ।

    अर्को चाहिं प्रचण्डलाई ‘डिस्क्रेडिट’ गर्नका लागि यो रणनीति काम लाग्छ । लडाकुप्रति माओवादी नेताको भन्दा म धेरै संवेदनशील छु भन्ने देखाउन खोजिरहनुभएको छ । आफूले युद्धमा होमेर पछि अलपत्र परेका मानिसहरूलाई अहिले ओलीले संरक्षण गर्न खोजेको सन्देश जाँदा पक्कै पनि प्रचण्डलाई एकप्रकारको प्रेसर हुन्छ नै । उहाँले त्यो प्रेसर फिल पनि गर्नुभएको छ । प्रचण्डका भाषणमा पनि त्यो देखिन्छ ।

    अब, तेस्रो कारण भनेको ओलीले आफूतिर आएका केही पूर्वमाओवादी नेताहरूलाई खुशी पार्न खोज्नुभएको होला । ती नेतालाई लडाकुहरू भयंकर राजनीतिक पूँजी हुन् भन्ने लागेको छ । त्यो कुरा उनीहरूले ओलीलाई सुनाएका होलान् । त्यही बमोजिम ओलीले माओवादीका मान्छेहरू प्रचण्डतिर नलागुन् भन्नका लागि यो रणनीति अख्तियार गर्नुभयो होला ।

    ०००

    केपी ओली हिजो माओवादीको कट्टर आलोचक हुनुहुन्थ्यो । आज उहाँ त्योभन्दा विपरीत ठाउँमा आइपुग्नुभएको छ । प्रचण्डको विरोधी जमात धेरैभन्दा धेरै बनाउने अभीष्ट उहाँमा अहिले देखिन्छ । किनकि ओलीलाई सबैभन्दा बढी समस्या आखिर प्रचण्डबाटै छ ।

    ओली पूर्व एमालेको आधिकारिकता आफूसँग रहेको मान्नुहुन्छ । मदन भण्डारीको जबजको पेटेन्ट राइट दाबी गर्नुहुन्छ । गत निर्वाचनमा स्थानीय, प्रदेश र संघ सबैतिर आफ्नो राष्ट्रवादी छविका कारणले जितेको हो भन्ने उहाँलाई परेको छ । प्रचण्डको चाहिं लडाकु र जनयुद्धको नेतृत्वकर्ताको छवि हो । त्यो छविलाई पनि निस्तेज बनाउन पाए, र त्यसको पनि स्वामित्व लिएँ भने भोलि सबैभन्दा शक्तिशाली मै हुँ भन्ने ओलीलाई लागेको छ ।

    हिजो माओवादीले वाईसीएलको बलमा चुनाव जितेको आरोप लागेको थियो । त्यसैले वाईसीएललाई काउन्टर दिन एमालेले प्ररायुसंघ हुँदाहुँदै युथ फोर्स बनायो । त्यो ओलीजीको आइडिया हो । उहाँ राजनीतिमा दबंग मान्छे चाहिन्छ भन्ने मानिस हो । अलिअलि गुण्डागर्दीको पक्षपाती पनि हो । पूर्वलडाकु र युथफोर्सको बलमा चुनाव लड्ने योजना उहाँमा देखिन्छ ।

    ०००

    माओवादीले सशस्त्रयुद्धमा धेरैजसो ‘सोसल मिसफिट’ मान्छेलाई भर्ती गरेको थियो । ‘सोसल मिसफिट’ भन्नाले समाजमा विभिन्न ढंगले बदनाम भएका मान्छेहरू । कुखुरा चोरदेखि जुवाडेहरूसम्म माओवादीमा सामेल भएर बन्दूक बोके । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि त्यो जमात अझै समाजमा पुनस्र्थापित हुनसकेको छैन । शान्ति प्रक्रियापछि पनि माओवादीले संख्या बढाउनका लागि धेरै संख्यामा भर्ती गरेको हो । ती लडाकुहरू एकप्रकारले भन्ने हो भने प्रचण्डको निजी शक्ति आर्जन गर्न प्रयोग भए । प्रचण्ड यो खालको संसदीय व्यवस्थामा आउँदा ती लडाकुलाई व्यवस्थापन गर्ने उनको हैसियत पनि भएन, रुचि पनि देखिएन ।

    गिरिजाप्रसाद कोइरालाले पाँच हजार लडाकु एकैपटक समायोजन गरिदिन्छु, प्रमाणीकरण–श्रमाणीकरणतिर नलागौं भनेकै हुन् । तर, प्रचण्डले मानेनन् । वास्तविक लडाकुलाई बाहिर राखेर कथित विद्रोह गर्ने भन्दै नक्कली लडाकू खडा गरेर ३५ हजार पु¥याए । पछि अनमिनले २१ हजारमा झार्‍यो । अन्तिम प्रमाणीकरण गर्दा १२–१३ हजारको संख्यामा सीमित भए । हुँदा–हुँदा समायोजनमा जाँदा जम्मा ७०० जना नेपाली सेनामा समायोजन भए ।

    ३५ हजारबाट जम्मा ७०० जनाको समायोजन भयो । गिरिजाप्रसादको प्रस्ताव मानेको भए पाँच हजार समायोजन हुन्थे । वास्तविक लडाकु सबै पर्थे । तर, प्रचण्डले मानेनन् । त्यसैले प्रचण्डप्रति लडाकुमा त्यो आक्रोश छ । कस्तो नेता हो यो, २१ हजार मान्छे हाल्छु भनेर जम्मा ७०० हाल्ने भनेर उनीहरू असन्तुष्ट छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूर्व लडाकुहरुसँग भेटघाट गर्दै । फाइल तस्बिर

    लडाकुको पैसामा भ्रष्टाचार भएको विषय पनि व्यापक छ । अहिले पनि कृष्णबहादुर महराको १८ करोड कि कति बेरुजु छ । यो भ्रष्टाचारमा माओवादी कमाण्डरको हैसियतले प्रचण्ड पनि उन्मुक्ति हुने ठाउँ छैन ।

    ०००

    २०५७ सालमा माओवादीको लडाकु संगठन बनेको हो । म २०५८ पछि निस्किहालें । माओवादी जनयुद्धमा लडाकु भर्तीका लागि उमेरको क्राइटेरिया त थियो । तर, उमेर बढाएर धेरै जनसेना भर्ती गरिन्थ्यो ।

    पार्टीमा लामो समय राजनीति गरेका पुराना मान्छेहरू पनि थिए । माओवादी नहुँदै शान्तिपूर्ण कालमा एकताकेन्द्र भन्ने ठूलो संगठन थियो । त्यसबाट अरू ठूला नेता चुनावमा नउठ्दा पनि ९ सिट जितेको हो । त्यतिबेलाका धेरैले लिडरसिप छाड्दै गए । कोही मारिए । आज सेनाले मार्छ, भोलि अर्को कमाण्डर हुन्छ । यस सिलसिलामा सोसल मिसफिट मान्छेहरू पनि भटाभट कमाण्डर हुन थाले । उनीहरूले नै जनसेनालाई व्यापक मिसयुज गर्न थाले । समाजलाई दुःख दिने त्यही तप्का हो ।

    राज्यले समायोजनमा नजानेहरूलाई दुई चरणमा गरेर १०–१० लाख रुपैयाँ दिएकै थियो । २०६४÷६५ सालमा १० लाख भनेको ठूलै रकम हो । यो पैसाबाट कसैले के, कसैले के गरेर जीविकोपार्जन गरेका छन् । तिनीहरूको अवस्था ठीकै छ । गरिखाने भए भनेपछि समाजले पनि उनीहरूलाई स्वीकार ग¥यो ।

    अयोग्य भनिएकाहरू धेरैजसो खाडी मुलुकतिर छन् । कालीबहादुर खामजस्ता व्यक्तिहरू आपराधिक क्रियाकलापतिर लागे । यस्ता लडाकुका विभिन्न खाले समूह छन् । उनीहरूले विभिन्न माग राखेर बेलाबखत आन्दोलन पनि गर्दै आएका थिए । तर, सुनुवाइ भएको थिएन ।

    यो समूहलाई सम्बोधन गर्न आवश्यक त थियो । यत्तिकै डिरेल भएर गयो । अहिले सरकारले पहल गरेको छ । तर, यसलाई मैले सकारात्मक रूपमा लिन चाहिं सक्दिनँ । जतिबेला पार्टी फुटेको छ, संसद विघटन भएको छ । यो सही समय होइन । मूल कुरा गैरसंवैधानिक र गैरकानूनी काम प्रधानमन्त्रीले गर्नुभएको छ । संसदको घाँटी निमोठ्नुभएको छ । पार्टीको आन्तरिक शक्ति–संघर्षमा अतिरिक्त शक्ति आर्जन गर्ने प्रधानमन्त्रीको कुत्सित मनसाय यसमा देखिन्छ ।

    माओवादी लडाकुलाई राजनीतिक दाउपेचको विषय बनाइएको छ । हिजो यो विषयलाई सबैभन्दा बढी विरोध गर्ने मान्छे आज किन उठाइरहनुभएको छ ? यसमा गलत नियत देखिन्छ । बरु माधव नेपाल, झलनाथहरूले पूर्वलडाकुहरूप्रति सहानुभूति देखाउन सुहाउँछ, ओलीले सुहाउँदैन ।

    ओलीले शक्ति आर्जन गर्नका लागि जस्तोसुकै टुल्स पनि युज गर्नुहुन्छ । माधव नेपाललाई युज गर्नुभो, फाल्नुभो । प्रचण्डलाई युज गर्नुभो र फाल्नुभो । अहिले लडाकुलाई पनि त्यसै गर्न खोज्नुभएको छ ।

  • उपराष्ट्रपतिलाई लेखराजको चेतावनीः पदको मर्यादामा नबस्ने भए राजीनामा दिनुस्

    उपराष्ट्रपतिलाई लेखराजको चेतावनीः पदको मर्यादामा नबस्ने भए राजीनामा दिनुस्

    सुदूरपश्चिमेली नेता लेखराज भट्ट लामो समय प्रचण्डको सामीप्यमा थिए । सशस्त्र युद्धकालदेखि प्रचण्डलाई हरतरहको सहयोग गर्दै आएका उनले नेकपाको विभाजनपछि भने क्याम्प फेरे । अहिले उनी ओली समूहमा लागेका छन् ।

    उद्योग मन्त्रीसमेत रहेका भट्टलाई प्रचण्ड र उनको समूहमा रहेका पूर्वमाओवादी नेताहरूले तारो बनाइरहेका छन् । केही दिनअघि पार्टीको जनसभामा नै प्रचण्डले नाम नलिई उनको आलोचना गरेका थिए । भट्टले पनि आफ्ना भाषणमा प्रचण्डलाई प्रहार गर्न बाँकी राखेका छैनन् ।

    भट्टले समसामयिक राजनीतिका बारेमा खुलेर आफ्ना विचार राखे । औद्योगिक क्षेत्र शिलान्यासको सिलसिलामा सुदूरपश्चिम आएका भट्टसँग नेपाल प्रेसले गरेको कुराकानी

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई निकै महत्व दिएको देखिन्छ । अन्यत्रको तुलनामा यहाँ पार्टी कमजोर भएको ठानेर हो ?

    अब यसलाई कसरी बुझ्ने भन्ने कुरा हुन्छ । हिजो राज्यले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोण फरक थियो । त्यसैले सधैं ओझेलमा प¥यो । यहाँ आर्थिक समृद्धि नहुँदा भारतका गल्ली–गल्लीमा काम खोज्न जानुपर्ने बाध्यता छ ।

    उपत्यकामा मात्रै वा कर्णालीपारि मात्रै समृद्ध भएर समग्र नेपाल समृद्ध भएको मान्न सकिन्न । त्यसको लागि सन्तुलित विकास हुनुपर्छ । जुन क्षेत्र बढी पिछडिएको छ, त्यहाँ बढी विकास लैजानुपर्छ । त्यही सोचले यो प्रदेशलाई प्रधानमन्त्रीले बढी जोड दिनुभएको हो । यो ‘समृद्ध नेपाल सुखी नेपाली’ कार्यान्वयनकै एउटा अंग हो भन्ने लागेको छ ।

    यसलाई अहिले राजनैतिक आग्रह–पूर्वाग्रहका आधारमा व्याख्या विश्लेषण गर्न आवश्यक छैन । हिजो यहाँ कसैलाई थारू, कसैलाई पहाडे, कसैलाई पूर्वेली, कसैलाई पश्चिमे भनेर लडाइरहेका थिए । तिनै तत्वबाट अहिले पनि भ्रमको खेती भइरहेको छ । हिजो आफूले केही नगर्नेहरूले अहिले प्रधानमन्त्रीबाट विकासको लागि भएको पहललाई गलत देख्नु स्वाभाविक नै हो ।

    हिजो प्रदेशमा विकास गर्न सकेनन् भन्नुहुन्छ, कसले सकेन ? तपाईं पनि नेतृत्वमा हुनुहुन्थ्यो !

    पहिला राज्यको मूल नेतृत्वमा त्यो प्रकारको भिजन थिएन । हामी मन्त्री भए पनि त्यसका ऐन–कानून, नियमावलीहरू कार्यान्वयन गर्न समस्या थियो । मुख्य नेतृत्वको सोच क्षेत्रीयतावादी, साम्प्रदायिक भयो भने हामी त्यहाँ भएर पनि केही गर्न सक्दैनथ्यौं ।

    यो ठाउँले मन्त्री मात्रै नभएर तीन जना त प्रधानमन्त्री पनि पाइसक्यो, र पनि किन पछि पर्‍यो ?

    हो; शेरबहादुरजी चार/चार पटक प्रधानमन्त्री पनि हुनुभयो । लोकेन्द्रबहादुर चन्द पनि तीन पटक प्रधानमन्त्री हुनुभयो । डा. के आई सिंह हुँदा केही गर्न सक्ने स्थिति पनि थिएन । तर, अन्य दुई जनाले त गर्नुपर्ने थियो नि ! किन गर्न सकेनन् भन्दा राज्यका नीतिहरूले नै यता खुट्टा ल्याउन दिंदैनथे । अहिले हामीले लामो लडार्इं लडेपछि यहाँ विकासको गति बढेको हो । अहिले सरकार र पार्टीको नीतिले पनि अघि बढ्न मद्दत गरेको छ ।

    नेकपाको विवाद र विभाजनतर्फ लागौं ! दुवै समूह अहिले पार्टी विभाजन भइसकेको भन्दै हिंडिरहेका छन् तर, निर्वाचन आयोगले अझै मान्यता दिएको छैन । कतै कानूनी अड्चनले मिल्नैपर्ने बाध्यता आउने त होइन ?

    लिडरहरूले कहाँ–कहाँ कमजोरी गरे आत्मसमीक्षा गरेर जाँदा त्यो सम्भावना नै नभएको पनि होइन । तर, जो सडकमा जानुभएको छ, उहाँहरूले आफ्नो मूल्य–मान्यता र हैसियतलाई भुल्नुभयो । सडकमा उहाँहरूले गरिरहेका गालीगलौजले नै उहाँहरू पतनको दिशामा हुनुहुन्छ भन्ने प्रष्ट हुन्छ । तर, पनि राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन ।

    मूल कुरा उहाँहरू पार्टी छोडेर सडकमा तथानाम बोल्दै हिंड्नु ठीक भएन । उहाँहरू क्रान्ति, प्रतिक्रान्ति र प्रतिगमनको कुरा गर्दै हुनुहुन्छ । जबकि अहिलेको नेतृत्वले संघीयता, गणतन्त्रलगायत सबै उपलब्धि जोगाउन यो कदम चालेको देख्छु ।

    केही दिनमा सर्वाेच्चले फैसला सुनाउला, तर प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भए आन्दोलन हुनसक्ने चेतावनी दिनुभयो । यो त ठाडै सर्वाेच्चलाई ‘थ्रेट’ दिएको भएन र ?

    सर्वाेच्चको विषयमा अहिले बोल्नुपर्छ भन्ने लाग्दैन । कुनै पनि संविधानको धारामा स्पष्टता भएन भने त्यो व्याख्या गर्ने अधिकार सर्वाेच्चलाई हुन्छ । उसले अहिले धारा ७६ को व्याख्या गर्ने हो । व्याख्या गर्दा न्यायपालिकाले जे निर्णय गर्छ हामी त्यसलाई स्वीकार गरेर जान्छौं ।

    संसद् पुनर्स्थापना भइहाल्यो भने तपाईंहरू के गर्नुहुन्छ ?

    त्यो कल्पना गर्ने कुरा होइन । भइहाले के हुन्छ भन्ने कुरामा नजाऊँ अहिले । मलाई लाग्छ सरकारले गरेको काम अदालतले सदर गर्छ । संविधानको सही व्याख्या गरेर पछिको लागि पनि अदालतले निकास दिन्छ जस्तो लाग्छ ।

    संसद् पुनर्स्थापना भए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विरुद्ध महाभियोग आउने डरले संकटकाल लाग्न सक्ने चर्चा पनि सुनिन्छ । त्यो सम्भावना कत्तिको छ ?

    मैले भनें नि, त्यो भइहाले के गर्ने भन्ने विषयमा कल्पना नगरौं । भइसकेपछि भोलि के गर्ने भन्ने कुरा त्यो बेला नै हुन्छ । अहिले संकटकाल लाग्छ भनेर सडकबाट जनतालाई आतंकित गर्ने कुरा पनि भइरहेको छ । त्यो हतास मानसिकता हो ।

    संविधानमा विशेष अवस्थामा संकटकाल लगाउन सकिने व्यवस्था छ । आवश्यकता पर्दा त लगाउन सकियो नि ! तर, अहिले आवश्यकता हो कि होइन भन्ने कुरामा तपाईं हामी स्पष्ट हुन जरूरी छ । त्यो प्रकारको परिस्थिति आइसकेपछि लगाउनै हुँदैन भन्ने पनि त छैन । नत्र भने त्यो धारा किन राखियो त ? संकटकाल लगाउन सकिने व्यवस्था नै नराखेको भए हुन्थ्यो !

    तर, अहिले त्यो कुराको चर्चा गरेर आतंकित बनाउनु ठीक होइन । उहाँहरू (नेपाल–दाहाल समूह) को बुझाइ पनि ठीक छैन । उहाँहरूको सकारात्मक सोच नै छैन । उहाँहरू अहिले आफ्नो हैसियत, निष्ठा भुलेर अघि बढिरहनुभएको छ । त्यस्तो अवस्थामा उहाँहरूले संकटकाल लागू हुन्छ भन्नु स्वाभाविक नै हो ।

    सातै प्रदेशमा ओली समूह कमजोर भएको अवस्थामा प्रदेश सभा पनि भङ्ग हुन सक्छ ?

    त्यो त प्रदेश सभाको वस्तुस्थिति के छ, परिस्थिति कसरी विकास भइरहेको छ, कता गइरहेको छ भन्ने कुराले निर्धारण गर्छ । यो त मुख्यमन्त्रीले नै माग गर्ने हो संघीय सरकारसँग । त्यहाँको रिपोर्ट आइसकेपछि सम्बन्धित प्रदेशको प्रदेश प्रमुखले पनि सिफारिश गर्ला, रिपोर्ट बुझाउला ।

    त्यसमा समीक्षा र विश्लेषण गर्दै आगामी कदम के हुनसक्छ भन्ने फेरि संघीय सरकारको कुरा हो ।

    प्रदेश–२ मा प्रदेश प्रमुख फेरिए । अब इतर समूहमा लागेका सबै प्रदेश प्रमुख फेरिने हो ?

    संघीय सरकारको प्रतिनिधि भएर त्यहाँ जाने तर, सरकारकै विरोध गरेर राजनीति गर्ने ठीक हो त ? उहाँहरूले त राजीनामा दिएर त्यस्ता कुरा बोल्नुपर्छ । संघीय सरकारको विरोध गरिसकेपछि उहाँलाई राख्नुपर्ने औचित्य नै छैन ।

    सरकारको सहयोगमा चल्ने, सरकारको नीतिनियममा चल्ने अरू प्रदेश प्रमुखलाई हटाइहाल्नुपर्छ भन्ने पनि छैन । तर, प्रदेश–२ का प्रमुखले त एकदमै त्यस्तो ढङ्गले बोल्नुभएको थियो नि !

    जस्तो उपराष्ट्रपतिले अस्ति यो असंवैधानिक हो भनेर बोल्नुभयो । राष्ट्रपतिले संवैधानिक प्रक्रियाबाट विघटन गरेको विषयमा उपराष्ट्रपतिले असंवैधानिक हो भन्न मिल्छ त ? त्यो अधिकार छ त ? राजनीति गर्ने हो भने त्यो पदबाट राजीनामा दिएर फिल्डमा आउनुपर्छ ।

    उपराष्ट्रपति मात्रै होइनन्, प्रतिनिधिसभाका सभामुख पनि त प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै हुनुहुन्छ नि ?

    त्यसो भन्नलाई पद त्यागेर आउनुपर्छ । राजनीति गर्नु छ भने त्यसका मूल्य र मान्यताहरू पालना गर्नुपर्‍यो नि ! उहाँहरू विधि–पद्धतिको कुरा गर्नुहुन्छ, तर त्यो आफैं मान्नुहुन्न ।

    नेपालको संविधानले कसैलाई पनि राजनीति गर्नबाट रोक लगाएको छैन । त्यस्तो बोल्न मन छ भने राजीनामा दिएर आउनुपर्‍यो । नत्र पदको मर्यादामा बस्नुपर्‍यो ।

    सरकारले विप्लव माओवादीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेर वार्ताका लागि बोलाएको छ । उता विप्लवबाट पनि सकारात्मक सन्देश आएको छ । यसले नेपाली राजनीतिलाई कता लैजाला ?

    अहिले पनि नेपाली जनताले शान्ति चाहेका छन्, राजनैतिक स्थायित्व चाहेका छन्, विकास चाहेका छन् । त्यसैले यो कुराले विकास र राजनैतिक स्थायित्वलाई मद्दत पुर्‍याउने काम गर्छ । उहाँहरू आउनुभयो भने विप्लवले के गर्छ ? अर्कोले के गर्छ ? भन्ने मनोविज्ञानको अन्त्य हुन्छ र मुलुक विकासतर्फ अघि बढ्छ ।

    निर्वाचन तोकिएको समयमा हुन्छ त ? विप्लव समूह पनि निर्वाचनमा सहभागी हुने सम्भावना छ ?

    तोकिएकै समयमा निर्वाचन हुन्छ । त्यो बेलासम्म उहाँहरू आउनुभयो भने निर्वाचनमा उहाँहरूलाई पनि ढोका खुल्ला हुन्छ । त्यसमा कसैले पनि रोक्न सक्दैन ।

    विप्लव समूहसँग वार्ता मात्रै हुन्छ कि एकताका प्रयास पनि अघि बढ्छन् ?

    त्यो (एकता) पनि हुन नसक्ने भन्ने छैन । उहाँहरू पनि कम्युनिष्ट आन्दोलनको एउटा समूह भएको हुँदा एकतामा आउनै नहुने भन्ने होइन । एकताको प्रक्रियामा आएपछि त्यो सम्भावना छैन भन्न पनि सकिंदैन ।

    विगतमा प्रचण्डसँग चिढिएकाहरूलाई एक-एक गरेर ल्याउने योजना हो तपाईंहरूको ?

    आफ्नो गन्तव्य कहाँ हो भन्ने कुरा स्पष्ट भएपछि मान्छे एकठाउँमा आउने हो । गन्तव्य नै थाहा छैन भनेपछि आउने कुरै भएन ।

    अहिलेको सरकार समाजवादउन्मुख हो । आर्थिक समृद्धि र सुखी नेपाली भनेको समाजवादतर्फ नै लैजाने एउटा दार्शनिक नारा हो । यो देशलाई आर्थिक समृद्धितर्फ लैजाने, औद्योगिकीकरणतर्फ लैजाने, व्यापार बढाउने, उत्पादन बढाउने अभियान हो । यसरी राष्ट्रिय पूँजीको विकास हुन्छ र समाजवादतर्फ मुलुक अघि बढ्छ ।

    जसको लक्ष्य हामीसँग मिल्छ त्यो एउटै ढोकाभित्र पस्छ । आफ्नै लक्ष्यमा स्पष्ट भएन भने त्यो हुँदैन । जस्तो अहिले हाम्रै अध्यक्ष प्रचण्डलगायतका समूहहरूको लक्ष्य के हो भन्ने नै छैन । त्यो पद र प्रतिष्ठाको लडाइँ हो, विचारको होइन । उहाँहरूको लक्ष्य र गन्तव्य एउटै भए त हामी एकै ढोकाभित्र पसिहाल्छौं ।

    जनमुक्ति सेनाको संख्या बढाएर तत्कालीन माओवादी नेतृत्वले ठूलै रकम हिनामिना गरेको आरोप फेरि उठ्न थालेको छ । के यो विषयमा पनि सरकारले छानबिन गर्दै हो ?

    क्यान्टोनमेन्टमा के–के भयो ? त्योभित्रका पूर्व जनमुक्ति सेनाका कमाण्डरहरू र त्यसका सदस्यहरू कति उत्पीडित थिए भन्नेबारे मैले भन्दा उहाँहरूले नै भन्ने र उठाउने कुरा हो जस्तो लाग्छ मलाई ।

    जस्तो ३४ हजार प्रमाणीकरण भए । क्यान्टोनमेन्टमा त्यो बेला १९ हजार थिए । थप १५ हजारको पनि पैसा बुझिएको छ । त्यो कहाँ गयो त ? यो कुरा आम जनताले खोज्ने विषय हो । विशेषगरी त्यो क्यान्टोनमेन्टभित्र रहेका सदस्यहरूले अझै विशेष चासो दिनुपर्ने हो ।

    त्यो विषय अब अख्तियारको प्राथमिकतामा पर्छ ?

    त्यो विषय त हिजोदेखि नै उठ्दै आएको हो । पहिला त्यसलाई दबाइएको थियो । जस्तो भृकुटीमण्डपमा जबर्जस्त रूपमा उठेको थियो । त्यहाँ कुर्सी हानाहान पनि भयो । त्यसलाई दबाइयो । अनि छानबिनको नाटक गरियो । त्यो छानबिनको नाटकबाट कुनै निष्कर्ष आएन ।

    २६ माघमा तपाईंले धनगढीमा ‘रेशम चौधरी टिकापुर हत्याकाण्डकाे योजनाकार हुन् भन्नेमा शंका लाग्छ’ भन्नुभयो । के सरकारले चौधरीलाई निर्दाेष ठहर गरेर छोड्ने तयारी गरेको हो ?

    रेशम चौधरी भनेको संघर्षको संयोजक हो । फौजी तरिकाले त्यहाँ हत्या भएको छ । रेशम चौधरी फौजी योजनाकार होइन । त्यही भएर मैले त्यो घटनामा संलग्न नेताहरू बाहिर हुनसक्छन् भनेको हुँ ।

    नेपाल सरकारले त्यसको छानबिन गर्नुपर्छ । हिजोको अनुसन्धानको प्रतिवेदन पनि अध्ययन गर्नुपर्‍यो, सार्वजनिक गर्नुपर्‍यो र खोजीनिती गर्नुपर्‍यो भन्ने आशय हो, मेरो । कोही पनि निर्दाेष नपरोस्, दोषी नबचोस् भन्ने मेरो धारणा हो ।

    त्यही कार्यक्रममा मदन भण्डारी हत्याको विषयमा पनि बोल्नुभएको थियो । त्यो बेला माधव नेपालको नेतृत्व थियो भनेर अमर लामाको हत्याको विषय पनि उठाउनुभयो । ती दुई घटनाबीच के तालमेल खोज्नुभएको हो ?

    हिजोको दिनमा नेतृत्वमा उहाँ (माधव नेपाल) हुनुहुन्थ्यो । नेतृत्वमा भएको हैसियतले मदन भण्डारीको हत्याराको छानबिन गर्न उहाँ कति सक्रिय हुनुभयो भन्ने आशय थियो, मेरो ।

    अमर लामाको कसरी हत्या भयो, त्यसको खोजबिन हुनुपर्छ । किन हत्या भयो, कसरी हत्या भयो, कुन उद्देश्य थियो भन्ने कुरा त अहिलेसम्म आएको छैन नि ! त्यही आशयले मैले बोलेको हुँ ।

  • नेकपामा खुल्न बाँकी लालबाबु पण्डितमात्रै, भन्छन्- जबज मान्नेहरु एकै ठाउँमा हुनुपर्छ

    नेकपामा खुल्न बाँकी लालबाबु पण्डितमात्रै, भन्छन्- जबज मान्नेहरु एकै ठाउँमा हुनुपर्छ

    विराटनगर। पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लालबाबु पण्डित नेकपा विभाजनपछि दुवै पक्षमा नलागी तटस्थ बसेका छन् । उनी वामदेव गौतमको एकता अभियानमा पनि छैनन् ।

    नेकपाका केन्द्रीय सदस्यमध्ये दुवै पक्षमा नलागी तटस्थ बस्ने पण्डित अब एक्लो नेता बनेका छन् । केपी ओली पक्षले शनिवार विराटनगरमा गरेको सभामा उनी आउने अपेक्षा गरे पनि सभामा सहभागी भएनन् ।

    पण्डितले नेपाल प्रेससँग भने, ‘शनिवारको सभामा आउन भनेर धेरै साथीहरु घरमै आउनु भएको थियो । तर मैले अहिले दुबै समूहको सभा सम्मेलनमा नजाने निर्णय सुनाएपछि उहाँहरु कन्भिस भएर फर्किनुभयो ।’

    नेता पण्डितले प्रतिनिधिसभा विघटनापछि धेरै नेता कार्याकर्ताले आफनो निवासमा आएर पार्टीको लाइन स्प्रष्ट गर्न भनेको समेत बताए ।तर आफू अहिले तटस्थ् बस्ने भनेर उनीहरुलाई फर्काएको नेता पण्डितले बताए । उनले नेकपाको दुबै समुहको सभा सम्मेलन अहिले गाली गलाैज गर्ने मन्चको रुपमा परिणत भएको टिप्पणीसमेत गरे ।

    ‘अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन । मलाई दुवै समूहले बोलाए तर म कतै पनि गएको छैन, किनभने म फुटेको नेकपाको नेता हुन चाहन्न,’ पण्डितले भने

    आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र तटस्थ रहेर त्यो भूमिका निर्वाह गर्न खोजेको बताए । उनले अदालत र निर्वाचन आयोगले गर्ने निर्णयपछि तुलानात्मक रुपमा जुन समूह आफूलाई उपयुक्त लाग्छ त्यही समुहमा गएर उभिने पनि बताए।

    पण्डितलाई माधव नेपालले औपचारिक कार्यक्रममा सहभागी हुनका लागि पटक-पटक आग्रह गरेका छन् । तर पण्डितले भने जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरूलाई एकै ठाउँमा जोड्नका लागि आफू लागिपरेको बताए ।

    प्रतिनिधिसभा विघटनपछि संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा पण्डितको पनि हस्ताक्षर छ । तर उनले भने आफ्नो अर्कै प्रयोजनको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

    पण्डितले भने, ‘मैले आफनो पार्टीको सरकारका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेको छैन । अन्य राजनीतिक प्रयोजनका लागि हस्ताक्षर गरेको कुरा फोटोकपी गरेर अविश्वासको प्रस्तावको प्रयोजनमा समावेश गर्ने काम भएको छ । अविश्वास प्रस्तावमा मेरो समर्थन थिएन र हुन सक्दैन ।’

    तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिँदै आएका थिए । एमालेको नवौँ महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर आफू अहिले माधव नेपालको पक्षमा पनि नरहेको उनले प्रष्ट पारे ।

  • नागरिकता र परिचयपत्रसहित प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग जाने

    नागरिकता र परिचयपत्रसहित प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग जाने

    काठमाडौं । निर्वाचन आयोगले पुस ५ गतेपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पार्टीको आधिकारिकता नपाउने आशंका गरेको प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्रसहित आयोगमा जाने भएको छ ।

    पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले बिहीबारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।

    आयोगलाई दबाब दिने उद्देश्यले प्रचण्ड-माधव पक्षले केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा भेला हुन सूचना गरेको छ । सबै भेला भएपछि प्रचण्ड र माधव नेपालसहित निर्वाचन आयोगमा जाने तयारी छ ।

    नेकपा केन्द्रीय सदस्यको परिचयपत्रमा अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । प्रचण्ड-माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरिसकेको छ । तर आयोगले सो निर्णयलाई पनि मान्यता दिएको छैन ।

    नेकपा केन्द्रीय सदस्यको परिचयपत्र यस्तो छ

     

  • प्रचण्ड-माधव पक्षीय नेकपाले तेस्रो चरणको आन्दोलन गर्ने

    प्रचण्ड-माधव पक्षीय नेकपाले तेस्रो चरणको आन्दोलन गर्ने

    काठमाडौं । विभाजित नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

    अपरान्ह पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघर्ष समितिका सचिव डा. विजय पौडेलले नेपालप्रेसलाई बताए ।

    पत्रकार सम्मेलनअघि आजै केन्द्रीय कार्यालय पेरिसडाँडामा संघर्ष समितिको सचिवालय बैठक बस्दैछ ।

    दुई चरणका आन्दोलन कार्यक्रम सफल भएको र प्रतिगमनलाई धक्का दिएकोले अबको कार्यक्रमले प्रतिनिधिसभा पुनःस्थापना हुने दावी प्रचण्ड माधव पक्षको छ ।

  • निर्वाचन आयोगमा ओलीले दाबी गरेको एकल हस्ताक्षर कुन हो ? (पत्रसहित)

    निर्वाचन आयोगमा ओलीले दाबी गरेको एकल हस्ताक्षर कुन हो ? (पत्रसहित)

    काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार निर्वाचन आयोगमा पुगेर भने, ‘नेकपाको आधिकारिक हस्ताक्षर चल्ने अध्यक्ष मै हुँ, आयोगमा यसबीचमा पठाइएका आधिकारिक पत्रहरुको ढड्डा पल्टाएर हेरे पनि हुन्छ ।’

    २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछिका सबै पत्रहरुमा आफ्नो एकल र कहिलेकाहीं अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि हस्ताक्षर रहेको ओलीले बताएका थिए ।

    पार्टी एकीकरणपछि आयोगमा गरिएका पत्राचारमा नेकपाको मुख्य पदाधिकारीको रुपमा अध्यक्ष केपी शर्मा ओलीको एकल हस्ताक्षर रहेका केही पत्र भेटिएका छन् । नेकपाको तत्कालीन सचिवालय बैठकले ओलीको हस्ताक्षर आधिकारिक मानिने गरी पठाएका केही पत्रहरु आयोगमा भेटिएका छन् ।

    प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका साथै राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुलाई टिकट दिने नेकपाको पत्रमा ओलीको एकल हस्ताक्षर पाइएको छ, जसलाई निर्वाचन आयोगले माघ ११ गतेको आफ्नो निर्णयमा पनि उल्लेख गरेको छ ।

    ओलीले मंगलवार आयोगमा पुगेर गरेको जिकिर पनि त्यही हो कि, नेकपामा एकल आधिकारिक हस्ताक्षरकर्ता अध्यक्ष उनी मात्र हुन् । तर प्रचण्ड–माधव पक्षधर नेकपाका नेता राजेन्द्र पाण्डेले निर्वाचन प्रयोजनका लागि पार्टीले दुईमध्ये एक अध्यक्षलाई अधिकार दिए पनि त्यो सधैं कायम नरहने दाबी गरे ।

    नेकपाको विधान अनुसार पनि अध्यक्षको परामर्शमा महासचिवले बोलाएको बैठक मात्र आधिकारिक हुने र पहिलो अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको बाहेक अरु निर्णय मान्य नहुने ओली पक्षका नेता सुवास नेम्वाङले बताए ।

    निर्वाचन आयोगले भनेको के हो ?

    निर्वाचन आयोगले माघ १२ गते नेकपाका दुवै अध्यक्षलाई पठाएको पत्रमा भनिएको छ, ‘दुई पार्टी एकीकरण पश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो बैठक केपी शर्मा ओलीको अध्यक्षतामा बसेको देखिएको र त्यसपछिका सबै बैठकमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको पहिलो नम्बरमा र पुष्पकमल दाहाल प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्ने गरेको समेत पेश भएका कागजातबाट देखिन्छ । २०७६ सालमा भएको प्रतिनिधिसभा,प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन र २०७६ साल माघ ९ गते भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीको प्रमुख पदाधिकारीको हैसियतमा केपी शर्मा अ‍ोलीले उम्मेदवारको औपचारिक मनोनयनपत्रमा हस्ताक्षर गरेको पत्र आयोगमा पेश गरेको देखिएको र मिति २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भई सोको जानकारी आयोगमा कुनै पक्षले गराएको समेत देखिंदैन ।’

    आयोगका अनुसार २०७६ भदौ २९ गतेको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनको प्रयोजनार्थ दल दर्ता गरिदिने भन्ने विषयमा पत्रमा दुवै अध्यक्षको हस्ताक्षर भएको र ती दुवै पत्रसाथ संलग्न कागजातमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको देखिएको छ ।

    तर त्यसपछि उम्मेदवार मनोनयन गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठकले दिएको आयोगको पत्रमा उल्लेख छ । अहिले ओली पक्षले दाबी गरेको एकल हस्ताक्षरको पत्र सोही उपनिर्वाचनको बेला पठाइएको थियो । यसबीचमा नेकपाले आयोगमा गरेका अन्य पत्राचारमा कुनै बेला दुई अध्यक्ष र महासचिव विष्णु पौडेलको हस्ताक्षरमा थिए भने कुनै बेला अध्यक्ष ओलीको एकल हस्ताक्षरमा पठाइएका थिए ।

  • प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, पाँच ठाउँबाट जुलुस निस्कँदै

    प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, पाँच ठाउँबाट जुलुस निस्कँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले आज शक्ति प्रदर्शन गर्दैछ ।

    उपत्यकाका पाँच ठाउँबाट निस्कने जुलुसको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता सडकमा ओर्लिदैछन्।

    केन्द्रीय संघर्ष समितिका अनुसार सबै सहायक जुलुस ११ बजे शुरू हुने छन् भने मूल जुलुस १२ बजे शुरू हुनेछ । मूल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्नेछ।

    विरोधसभाको तयारीबारे समीक्षा गर्न मंगलबार दिउँसो बसेको सचिवालय बैठकमा उपत्यका बाहिर र भित्रबाट लाखौं मानिस ओर्लिने निष्कर्ष निकालिएको थियो।

    वरिष्ठ नेता झलनाथ खनाले लाखौं मान्छे सभामा आउने ‘रिपाेर्टिङ’ बैठकमा भएको जानकारी दिए ।

    नेकपाले विरोधसभा कुनै एक दलको कार्यक्रमका रूपमा मात्रै नबुझी सबैलाई सहभागी हुन आह्वान गरेको छ । विरोधसभाबारे फेसबुक लाइभमार्फत ‘ब्रिफिङ’गर्दै नेकपा स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले यस्तो आह्वान गरेका हुन्।

    ‘भोलिको विरोध प्रदर्शन कुनै राजनीतिक दलको मात्रै विरोध प्रदर्शन होइन’ भट्टराईको भनाइ छ, ‘अवश्य पनि यो नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने विरोध प्रदर्शन हो । यो विरोध प्रदर्शन प्रतिगमनको विरुद्धमा हो, असंवैधानिक कदमको विरुद्धमा हो, लोकतन्त्रको पक्षमा हो । अहिले भइरहेका बलात्कार, हत्या, हिंसाको विरुद्धमा हो । मुलुकमा समाजिक, आर्थिक क्षेत्रमा बढिरहेको बेथितिविरुद्ध पनि भएको हुनाले यो कुनै दलको रूपमा मात्रै नबुझिकन आम जनसमुदायलाई भोलिको विरोध प्रदर्शनमा उल्लासमय ढंगले सहभागी बनिदिनुहुनका निम्ति म नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट हार्दिक आह्वान गर्न चाहन्छु ।’

    यसअघि ९ माघमा राजधानीमा ठूलो विरोधसभा गरिसकेको प्रचण्ड-माधव पक्षले यो विरोध अहिलेसम्मकै ठूलो हुने दावी गरेको छ।

    जुलुसकाे रुट

  • ओली पक्षीय युवा संघको अध्यक्षमा सिंह र सह-अध्यक्षमा पौडेल चयन (पदाधिकारीकाे सूचीसहित)

    ओली पक्षीय युवा संघको अध्यक्षमा सिंह र सह-अध्यक्षमा पौडेल चयन (पदाधिकारीकाे सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघको अध्यक्षमा वचनबहादुर सिंह चयन भएका छन् । युवा संघ र वाईसीएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलले विदा लिएका छन् ।

    युवा संघ इन्चार्ज महेश बस्नेत सहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य जय गुरुङले नेपाल प्रेसलाई जानकारी गराए ।

    बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ ।

    त्यस्तै राष्ट्रिय युवा संघको महासचिवमा  रमेश आचार्य चयन भएका छन् ।

    राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव नेपाल पक्षमा लागेपछि उनलाई हटाएर अ‍ोली पक्षले नयाँ नेतृत्व चयन गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले अध्यक्षका दाबेदारहरु रमेश पौडेल, किरण पौडेल र वचनबहादुर सिंहबीच सहमति जुटाउन केही दिनदेखि निरन्तर प्रयास गरेका थिए ।

    युवा संघका पदाधिकारी

    अध्यक्ष– वचनबहादुर सिंह
    सह-अध्यक्ष– किरण पौडेल
    उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी
    महासचिव– रमेश आचार्य
    उपमहासचिव– रामजी सापकोटा र रमेश तिवारी
    सचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई
    कोषाध्यक्ष– मुकेश बुढाथोकी
    सह-कोषाध्यक्ष– राकेश लामा र हिमेश केसी
    निर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डे
    लेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान

     

     

  • प्रचण्डले भने- सुरक्षाकै मान्छेले गन्दा पनि ओलीको सभामा ३० हजारभन्दा देखिएनन्

    प्रचण्डले भने- सुरक्षाकै मान्छेले गन्दा पनि ओलीको सभामा ३० हजारभन्दा देखिएनन्

    काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष प्रचण्डले ओली अहिले रक्षात्मक अवस्थामा पुगिसकेको दाबी गरेका छन् ।

    सोमबार एकिकृत अखिल नेपाल शिक्ष संगठनको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली अब रक्षात्मक हुने गतिमा गइसके । अस्तिसम्म त धाकधक्कु लगाउँथे । अस्तिको कार्यक्रममा सुरक्षा संगठनका मान्छेले गन्दा पनि तीस हजारभन्दा बढी देखिएनन् । अहिले उनीहरूनै धेरै मान्छे किन ल्याउन सकिएन भनेर एकअर्कामा गाली गर्दै हिँडेका छन्।’

    प्रचण्डले प्रधानमन्त्री ओली शिक्षक र बुद्धिजिविसँग तर्सिने गरेको आरोपसमेत लगाए । ओली शिक्षक राजनीतिमा लाग्नुहुन्न भन्ने कुराको प्रवक्ता भए पनि त्यो ढाँट कुरा भएको उनको टिप्पणी थियो ।

    ‘बौद्धिक र क्रान्तिकारी मान्छे आफ्नो पक्षमा लाग्दैनन् भनेर उहाँ शिक्षक र बुद्धिजिविसँग तर्सिनुहुन्छ,’ प्रचण्डको भनाइ छ, ‘उहाँलाई हनुमान, दास, अन्धभक्त चाहिने, शिक्षकहरू त्यस्तो हुँदैनन् । उनीहरू विवेकशील हुन्छन्, क्रान्तिकारी हुन्छन् । यही कुरा बुझेर केपी ओलीले शिक्षकहरूलाई राजनीति बाहिर राख्न खोज्दा रहेछन् ।’

    प्रचण्डले थपे, ‘शिक्षकलाई राजनीतिमा लगाउनु हुँदैन । पार्टीका कुनै पनि पदमा राख्नु हुँदैन भन्ने कुराको प्रवक्ता केपी ओली नै हो । त्यो ढाँट कुरा हो ।’

  • नेकपाका दुवै पक्षको अडानका कारण १ नम्बर प्रदेशसभा बैठक अन्योल

    नेकपाका दुवै पक्षको अडानका कारण १ नम्बर प्रदेशसभा बैठक अन्योल

    विराटनगर । विभाजिन नेकपाको आन्तरिक कलहका कारण नेकपा भित्रकोे आन्तरीक कलहका कारण माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको १ नम्बर प्रदेशसभा हिउँदे अधिवेशनको दोश्रो बैठक आज २ बजे बस्दैछ ।

    सरकारले आज बस्ने प्रदेशसभाको बैठकका लागि आवश्यक काम नदिएको अवस्थामा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावले प्रक्रियामा प्रवेश पाउने सम्भावना छ । तर मुख्यमन्त्री राई आफूविरुद्धको प्रस्तावमा प्रक्रिया पूरा नभएकाले खारेजीको अडानमा छन् ।

    उनले सभामुख प्रदीपकुमार भण्डारीलार्ई दवावसमेत दिँदै आएका छन् । प्रचण्ड-माधव पक्षले भने सभामुखलाई भेटर बैठक नियमित सञ्चालनको आग्रहसहित मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव प्रकृयामा लैजान दवाव दिइरहेको छ ।

    नेकपाका दुवै पक्षको आआफ्नो अडानका कारण आजको बैठक पनि प्रभावित हुने सम्भावना छ । मुख्यमन्त्रीबिरुद्धको अविश्वास प्रस्ताव प्रक्रियामा गइहाल्यो भने पनि शेरधन राई पक्षले संसद अबरुद्ध पार्नेछन् ।

    नेकपा संसदीय दलका (ओली)पक्षका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले कारबाही गरिएका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी भए बैठक अबरुद्ध हुने बताए । ‘दल विभाजनको निर्क्याेल नभएसम्म दलका नेताले सदस्यहरुलाई कारबाही गर्नुभएको अबस्था छ’ प्रमुख सचेतक राजभण्डारीले भने, ‘यस्तो अबस्थामा बैठकमा उनीहरु सहभागी हुन मिल्दैन । यदि जबर्जस्ती हुन्छ भने हामी विरोध गर्छौ, बैठक चल्न दिँदैनौं ।’

    उनले प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता लिएको अबस्थामा मात्र आफनो समूहलेपनि सदस्यमाथिको कारबाही फिर्ता लिने प्रष्ट पारे ।

    प्रचण्ड-माधव खेमा भने प्रदेशसभा सदस्यहरुको प्रवेशमा कुनै अवरोध गर्ने पक्षमा देखिएको छैन । यसले कुनैपनि हालतमा बैठक सुचारु हुनुपर्ने अडानमा छ ।

    प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्म्बोले प्रदेशसभा बैठक सन्चालन हुनुपर्ने पक्षमा आफुहरु रहेको बताएका छन् । उनले सरकारले कुनै विजनेश समेत नदिएको अबस्थामा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावलाई आजको बैठकको कार्यरुचीमा समावेश गरी प्रकृयामा लैजानुपर्ने दोहोर्‍याए ।

    ओली पक्षले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना सांसदलाई कारबाही गरेको जनाएको छ । प्रचण्ड-माधव समूहले पनि मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउँदै मन्त्री मण्डलका अन्यसहित ८ जनालाई कारबाही गरेको छ ।

  • ओली पक्षीय युवा संघको बैठक आजबाट, अध्यक्षमा तीन नेताको दावी

    ओली पक्षीय युवा संघको बैठक आजबाट, अध्यक्षमा तीन नेताको दावी

    काठमाडौं । नेकपा निकट राष्ट्रिय युवा संघको केपी ओली पक्षले आजबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसीएल नेपालको एउटा समूह समेत आजैबाट ओली पक्षीय युवासंघमा समाहित हुने भएको छ ।

    बैठकअघि साबिक वाईसीएलका नेताहरुलाई समेत समेटेर केन्द्रीय कमिटी पुनर्गठनको छलफल भइरहेको युवा संघका नेताहरुले बताएका छन् । युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव पक्षमा रहेकाले उनलाई हटाएर नयाँ नेतृत्व चयन गर्न लागिएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताए ।

    ओली पक्षले युवा संघलाई बहुपदीय संरचनामा फर्काउने भएको छ । ६ वर्षदेखि महाधिवेशन नहुँदा धेरै नेताको उमेर ४० कट्न लागेकाले नेतृत्व विकासमै अवरोध भएको भन्दै अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित पदाधिकारी चयन गरेर केन्द्रीय कमिटी विस्तार गर्न लागिएको हो ।

    युवा संघको अध्यक्षका लागि हालका सहसंयोजक रमेश पौडेल, साबिक युवा संघका महासचिव किरण पौडेल र वचनबहादुर सिंहको दावी छ । रमेश नेकपा एकीकरणअघि तत्कालीन एमालेको युवा संघका अध्यक्ष थिए भने एकीकरणपछि सहसंयोजक छन् ।

    रमेश अध्यक्ष भइसकेकाले उनलाई पार्टीमा जिम्मेवारी दिएर किरणलाई अध्यक्ष बनाउने प्रस्ताव महेश बस्नेतले गरेका छन् । तर रमेश र वचनले पनि आफूहरु ४० वर्ष पुग्न केही महिनामात्र बाँकी रहेकाले युवा संघको नेतृत्व गरेर बिदा हुन पाउनुपर्ने माग गरेका छन् ।

    त्यस्तै महासचिवका लागि क्षितिज थेबेको दाबी छ भने पदाधिकारीमा अन्जना अधिकारी, अमित लामा, उर्मिला सुनुवार, प्रभातविक्रम कटवाल, रोशन बस्नेत लगायतको दावी छ ।

    बादल पक्षका पूर्व वाईसीएल नेता बीबी तामाङको नेतृत्वको समूह पनि आन्तरिक छलफलमा छ । केन्द्रीय समितिमा रहेका करीव ४० जना पूर्व वाईसीएलसहितको टोलीलाई पदाधिकारीमा समेटेर नयाँ नेतृत्व चयन गर्न लागिएको स्रोतले जनाएको छ ।

  • प्रचण्ड-माधवको ‘कन्भिन्सिङ’ लाइन : ओलीले देश कब्जा गर्न लागे, एकजुट बनौं (भिडियो)

    प्रचण्ड-माधवको ‘कन्भिन्सिङ’ लाइन : ओलीले देश कब्जा गर्न लागे, एकजुट बनौं (भिडियो)

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनसँगै नेताहरूबीच एकअर्काबीच दिनहुँ जुहारी चलिरहेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रचण्ड-माधव पक्ष आन्दोलनरत छन् ।

    संघर्षकै क्रममा विहीबार सो पक्षले देशव्यापी आम हड्ताल गर्‍यो । स्थायित्व र विकासका लागि झण्डै दुई तिहाईको मत दिएर सत्तामा पुर्‍याएका दलका नेताहरूबीच जुँगाको लडाइँले नागरिकले फेरि दु:ख पाउन थालेको कतिपयले टिप्पणी गरेका छन् । तर, विधि र प्रक्रिया मिच्दै केपी ओली तानाशाह बनेको भन्दै प्रचण्ड-माधव पक्षले सबैलाई आन्दोलनमा होमिन आव्हान गरिरहेको छ ।

    अध्यक्षद्वय दाहाल र नेपाल दुवैजनाले अहिलेको आन्दोलन ओलीसँगको जुहारीको रूपमा मात्र नबुझेर लोकतन्त्रको रक्षाको लागि गरिएको संघर्ष भनेर बुझ्‍न आग्रह गरेका छन् ।

    शुक्रबार विहान ललितपुरमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। र, सिंगै देशको प्रजातन्त्रको घाँटी निमोठ्दै-निमोठ्दै-निमोठ्दै गइरहेका छन् । यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला-जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

    आर्मीका गाडी गुडाएर कोही नतर्सिने उनले बताए । ‘केपी ओलीसँग इतिहासले एक-एक हिसाबको बदला लिन्छ’, उनले दाबी गरे ।

    अर्का अध्यक्ष प्रचण्डले केपी ओलीले राज्यसत्तालाई जंगली रूपमा कब्जा गरेर गुण्डाराज चलाउन थालेको आरोप समेत लगाए । अति भएर मात्रै आम हड्ताल गर्न सडकमै उत्रिनुपरेको उनले बताए । ‘केपीले राज्यसत्तालाई जंगली रूपमा ‘क्याप्चर’ गरे । संवैधानिक अंगका नियुक्ति र भूमि आयोगको कुराले तुरून्तै प्रतिवाद गर्नुपर्ने भयो जनताले साथ दिए ’, उनले भने ।

    आन्दोलनमा युवा पंक्तिले साथ दिएकोमा आफूहरू उत्साही भएको प्रचण्डको भनाइ थियो । ‘यो देशका सबैभन्दा राम्रो ब्रेन यो प्रतिगमननै हो भनेर आन्दोलनमा छन् । लोकतन्त्रको पक्षमा को छ ? कति छन् ? भनेर पो हेर्ने हो मान्छेको टाउको गन्ने होइन’, दाहालले भने, ‘केही पछि जनता हप्तौंसम्म सडकमा हड्तालका लागि आउँने स्थिति बन्छ । त्यो बेला हाम्रो समर्थन रहन्छ । संसद विघटनलगत्तै संघर्ष शुरू गर्न सवै राजनीतिक दलसँग छलफलको हामीलेनै नेतृत्व गर्‍यौं । राजपाले हाम्रै भाषामा विरोध गरेको छ । कांग्रेसका प्रवक्ताले स्पष्ट विरोध गरिरहेका छन् । शेरबहादुरजीको केही यताउति हुनसक्छ ।’

    ‘संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संवैधानिक संकटमा धकेलिएको छ । केपीजीले फेरि देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो ? शान्ति र आन्दोलनको पर्यायको रूपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो’, दाहालले थपे ।

    ओलीसँग आफैंले वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव गरेको भन्दै उनले अब त देशमा विकास गरौंला, जनताका काम गरौंला भन्ने लाग्दालाग्दै गर्न नसकिएकोमा आत्समीक्षा गर्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनको घटनासम्म आइपुग्दा के-के भयो भनेर जनतालाई स्पष्ट पार्ने भन्दै दाहालले, ‘हामी स्वेतपत्रनै जारी गर्दैछौ । हामी असक्षम र पलायन भएका होइनौं राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा छौं । पदको लडाईंको लागि आन्दोलन हैन भन्ने बुझाउँछौं ।’

  • एमसीसीबारे प्रचण्डको प्रष्टीकरण- पार्टीले निर्णय गरेको छैन, दशथरी नारा नलगाउँ भनेको हो

    एमसीसीबारे प्रचण्डको प्रष्टीकरण- पार्टीले निर्णय गरेको छैन, दशथरी नारा नलगाउँ भनेको हो

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीले एमसीसीको बारेमा निर्णय गरि नसकेको हुनाले आफूले विहीबारको आम हड्तालका क्रममा सो नारा लगाउनबाट रोकेको प्रष्टिकरण दिएका छन् ।

    शुक्रवार आयोजित पत्रकार भेटमा प्रचण्डले संवैधानिक अंगका पदाधिकारी नियुक्तिको विरोधमा गरिएको आन्दालनमा अरु नारा घुसेपछि त्यसलाई रोक्नमात्र खोजेको बताए । उनले संवैधानिक परिषदको निर्णयलाई गुण्डागर्दीको संज्ञा दिए ।

    उनले भने, ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौं भनेको हो । एमसीसीबारे पार्टील औपचारिक निर्णय गरिसकेको छैन । तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जतापायो त्यतै नारा नलाउनुस भनेको हो ।

    आफू एमसीसीको समर्थनमा पनि नगरेको र नीति पनि नबदलेको भन्दै हालै अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिने बारे छलफल गरेको बताए । आफूले एमसीसी अश्वीकार पनि नगरेको र समर्थन पनि नगरेको प्रचण्डले प्रष्ट पारे ।

    याे पनि पढ्नुस्

    एमसीसीविरुद्ध नारा नलाउन प्रचण्डको निर्देशन,कार्यकर्ताले नटेरेपछि यसरी बाहिरिए (भिडियो)

  • ओलीले जंगली रुपमा राज्यसत्ता कब्जा गरे, हामी स्वेतपत्र जारी गर्छौं: प्रचण्ड

    ओलीले जंगली रुपमा राज्यसत्ता कब्जा गरे, हामी स्वेतपत्र जारी गर्छौं: प्रचण्ड

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्मका घटनासम्म आइपुग्दा के-के भयो र आफूहरुको भूमिका के थियो भन्ने बारेमा स्वेतपत्र जारी गर्ने बताएका छन् ।

    आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यसबीचमा किन दुर्घटना भयो भनर स्वेतपत्रको तयारी भइरहेको बताए ।

    प्रचण्डले भने, ‘यसबीचमा किन दुर्घटना भयो, यसको श्वेतपत्र जारी गर्दैछौ जनतालाई प्रष्ट पार्न । हामी आत्मसमीक्षा पनि गर्छौं । हामी असक्षम र पलायन भएका होइनौं राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा छौं। शान्ति प्रक्रियालाई संविधानमा रूपान्तरण गरेका हौं त्यसलाई अवमूल्यन गर्न हुन्न र या पदको लडाईको लागि आन्दोलन हैन भने बुझाउछौं ।’

    प्रचण्डले केपी ओलीले राज्यसत्तालाई जंगली रुपमा कब्जा गरेर गुण्डाराज चलाउन थालेको आरोप समेत लगाए । अति भएर मात्रै आम हड्तालमा उत्रिनुपरेको उनले बताए । प्रचण्डले अब आम हड्ताल संयुक्त हुँदै गयो भने जनताले नै गर्ने दावी गरे ।

    उनले भने, ‘केपीले राज्यसत्तालाई जंगली रूपमा ‘क्याप्चर’ गरे। संवैधानिक अंगका नियुक्ति र भूमि आयोगको कुराले गुण्डाराज देखियो तुरून्तै प्रतिवाद गर्नुपर्ने भयो र तत्काल आमहड्तालमा गयौ। जनताले साथ दिए ।’

    ‘यदि नेकपाभित्र पद पाउने लडाइँ हुन्थ्यो भने यो देशका सबैभन्दा राम्रो ब्रेन यो प्रतिगमन नै हो भनेर आन्दोलनमा छन् । लोकतन्त्रको पक्षमा को छ कति छन् भनेर पो हेर्ने हो मान्छेको टाउको गन्ने होइन,’ प्रचण्डले थपे ।

  • ओली पक्षको शक्ति प्रदर्शनका १३ नारा- केपी ओली राम्रो हो, सूर्य चिह्न हाम्रो हो

    ओली पक्षको शक्ति प्रदर्शनका १३ नारा- केपी ओली राम्रो हो, सूर्य चिह्न हाम्रो हो

    काठमाडौं । पार्टी विभाजनपछि अहिलेसम्मकै ठूलो जनसभा गरेर देशलाई सन्देश दिन खोजेको केपी अ‍ोली नेतृत्वको नेकपाले आजको सभाअघि गर्ने जुलुसमा लगाइने नारा तय गरेको छ ।

    आयोजकले अराजकताको अन्त्य,राजनीतिक स्थिरता, संविधानका रक्षा,राष्ट्रिय स्वाधिनता,ताजा जनादेश,विकासको निरन्तरता भन्ने मूल नारा तय गरेका छन् ।

    ओली पक्षले तय गरेका १३ वटा नारामध्ये तीनवटा केपी ओली केन्द्रित छन् । विदेशी सेना फिर्ता गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई पनि ओली पक्षले नारामा समेटेका छन् ।

  • माधव नेपालको दावी- केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागे

    माधव नेपालको दावी- केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागे

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले पार्टीमात्र होइन देश नै कब्जा गर्न लागेकाले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गरेका छन् ।

    आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले केपी ओलीले आर्मीका गाडी गुडाएर कोही नतर्सिने बताए ।

    पत्रकार सम्मेलनमा नेपालले भने, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

    नेपालले चोइटिएर जानेको केही शक्ति छैन भन्दै जिल्लादेखि केन्द्रसम्म आफूहरुसँग बहुमत रहेको बताए । उनले ओलीलई गणेश प्रवृतिका मान्छेले बा भनेर पूजाआजा गरिरहेको बताए । नेपालले केपी ओलीसँग इतिहासले एक-एक हिसाबको बदला लिने बताए ।

  • ‘ओलीले पूर्वलडाकुलाई जग्गा र पैसा दिने लोभ देखाएका छन्, तर दिँदैनन्’

    ‘ओलीले पूर्वलडाकुलाई जग्गा र पैसा दिने लोभ देखाएका छन्, तर दिँदैनन्’

    नेकपा विभाजनको असर कर्णाली प्रदेश सरकारमा पनि परेको छ । पार्टी विभाजन हुनअघि नै संसदीय दलमा अविश्वास प्रस्तावको सामना गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अहिले सरकार टिकाइराख्न उति कठिन छैन । तर आफ्नो पक्षका सांसद जोगाउन उनलाई चुनौति छ ।

    गएको असोज २५ गते दलकै १८ जना नेताले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुुर शाही विरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गरे । अविश्वासको प्रस्ताव त्यतिबेला दर्ता भयो जतिवेला केन्द्रमा ओली–प्रचण्डको सम्बन्ध एकदमै तातिएको थियो ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू विरुद्धको अविश्वास प्रस्तावलाई नेपाल पक्षका भनिने सांसदलाई मन्त्री बनाउने सहमतिमा आफूतिर ल्याएर सुल्झाए । नेपाल पक्षका सांसद उनीतिर आएसँगै उनीसँग पनि १८ जना सांसद भए र कर्णाली सरकार ढल्नबाट जोगियो । पार्टी टुट्ने र फुट्ने अवस्थामा पुगेको त्यो समयमा कर्णालीको घ्यू–थपाइले अझ उत्कर्षमा पुर्‍यायो । जसको फलस्वरुप पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे ।

    प्रधानमन्त्री ओलीको त्यो कदमपछि अहिले प्रचण्ड–नेपाल निकटका मुख्यमन्त्रीका रूपमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कायम छन् । उनीसँग अहिले ४० सदस्यीय प्रदेश सभामा २२ जनाको साथ छ । सत्तारुढ नेकपामा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना छन् भने मुख्यमन्त्री शाहीको पक्षमा २२ जना सांसद छन् । प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना र राप्रपाको एक जना सांसद रहेका छन् ।

    कर्णालीमा अहिले राजनीति तातिएको छ । मुख्यमन्त्री शाहीदेखि अन्य सबै नेताहरू गाउँगाउँमा पुगिरहेका छन् । नेकपा विभाजनपश्चात् कार्यकर्ता आफ्नो पक्षमा देखाउन नेकपाका दुवै पक्ष लागिरहेको सन्दर्भ छ । गएको असोजमा पत्रद्वारा अन्त्य गरिएको बर्खे अधिवेशनपश्चात् प्रदेशसभाको हिउँदे अधिवेशन अहिलेसम्म सुचारु भएको छैन ।

    मुख्यगरी नेकपाभित्र विभाजन आएको बेलामा मुख्यमन्त्री शाहीसँग हामीले अहिलेको वर्तमान कर्णालीको अवस्था, सरकार पुनर्गठन, प्रदेशसभा आह्वान, कर्णालीको विकास निर्माण जस्ता विषयमा झण्डै एक घण्टा कुराकानी गरेका छौं । नेकपामा आएको विभाजन, यसले प्रदेश सरकारमा पारेको प्रभाव र भावी रणनीतिबारे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग नेपाल प्रेसका शेरबहादुर थापाले गरेको कुराकानी, नेपाल टकमा :

    अहिले नेकपामा आएको विभाजनको चुरो कारण के हो ?

    अहिले पार्टीमा जे–जसरी विभाजन आयो राजनीतिक रूपमा त्यो सबैले बुझ्न जरूरी छ । वर्तमान सरकार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संचालित छ । पहिलो कुरा, पार्टी चुनावमा जाँदाको घोषणापत्र अनुसार सरकारले काम गर्न सकेन भन्यौं ।

    दोस्रो कुरा, काम गर्दा पार्टीसँग समन्वय नगरी, स्वेच्छाचारी ढंगमा, पार्टी नै नभएको तरिकामा ओलीले काम गर्नुभयो । कम्तीमा सरकार पुनर्गठन गर्दा, राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह लिनुपर्थ्याे ।

    तेस्रो कुरा, उहाँमा पार्टी अनुशासन देखिएन । मनपरी अभिव्यक्ति दिने बानी देखियो । पार्टी विपरीत काम गर्ने बानीमा कुनै परिवर्तन आएन । उहाँमा ‘म नै राज्य हुँ’ भन्ने अभिमान देखियो ।

    पार्टीको सचिवालय बैठक पटक–पटक बस्यो । त्यो बैठकमा पनि उहाँ उपस्थित हुनुभएन । बालुवाटार भित्रै बैठक राख्दा पनि नआउने स्थिति सिर्जना भयो । उठेका विषयमा जवाफ दिनुको साटो टाढा–टाढा भाग्नुभयो ।

    पार्टीबाट भागेर, छलेर, बहानावाजी गरेर कहाँ जान सकिन्थ्यो र ? त्यसपछि पार्टीको स्थायी समिति बैठक बसिरहेको समयमा बैठकबाट निस्केर हत्त न पत्त संसद स्थगित गर्नुभयो । उहाँले त्यसपछि अध्यादेश ल्याउन थाल्नुभयो । त्यो गर्नुको मुख्य कारण के हो भनेर पार्टीमा बुझाउनुपथ्र्यो । त्यही विषयमा व्यापक आलोचना हुँदा उहाँले प्रतिनिधिसभा नै विघटन गर्नुभयो । नगर्नुस्, रोक्नुस् छलफल गरौंला भन्दाभन्दै पनि उहाँ रोक्न तयार हुनुभएन ।

    हामीले सोच्यौं उहाँमा इमानदारिता छ । रूपान्तरण हुनुभयो । अहिलेको परिवर्तनलाई स्वीकार गर्नुभयो । त्यो स्वीकार गरेर नै पार्टीको एकता भयो । पार्टीको नेतृत्व गर्नुभयो भन्ने पार्टीको सिंगो बुझाइ भयो ।

    मिलेको बेलामा सबै ठीक, नमिल्दा सबै बेठीक भन्ने त हुँदैन होला नि !

    हामीमा पहिले नै आशंका थियो । उहाँको बानी परिवर्तन हुनसक्छ । उहाँ कतै यो गणतन्त्रको विपरीत निर्णय त गर्नु हुन्न भन्नेमा शंका नै थियो । उहाँ आफैंले जनआन्दोलनको समयमा नेपालमा राजतन्त्रको विकल्पमा गणतन्त्र आउनै सक्दैन भन्नुभएको थियो । उहाँ कम्युनिष्ट हो, एमाले हुनुहुन्थ्यो । राजतन्त्रको विरोधमा उहाँ कहिल्यै आन्दोलनमा जानुभएन । उहाँले उल्टै ‘नेपालमा राजतन्त्र जानु र गणतन्त्र आउनु भनेको वयलगाडामा चढेर अमेरिका जानु हो’ भनेर भन्नुभयो ।

    संघीयताको पक्षधर उहाँ होइन । त्यसमा जानै हुन्न भनेर उहाँले भन्नुभयो । समावेशिताका कुरामा पनि उहाँ असहमत हुनुहुन्थ्यो । उहाँ अगाडि भएकालाई अवसर दिऊँ भन्ने तर हामीले पछाडिबाट बाँडेर ल्याऔं भन्यौं । अगाडिकालाई त पुगेकै छ नि भन्यौं ।

    पछिपरेका जाति, लिंग र भूगोललाई अगाडि ल्याउन समावेशी सिद्धान्तका आधारमा व्यवस्था गरेर लैजाऔं भने तापनि बारम्बार अस्वीकार गर्नुभएको थियो । त्यसको मतलब बोल्नै नजान्ने, दलित, महिला जस्ता मान्छेको सहभागिताको साटो अमेरिका पढेकाहरूलाई ल्याउनुपर्छ भन्ने धारणा उहाँमा थियो । त्यो अहिले पनि छ । त्यसैले उहाँसँग हाम्रो अहिले पनि वैचारिक भिन्नता छ ।

    प्रचण्ड र माधव नेपाललाई छिटो पदमा पुग्न परेकाले पार्टीमा विभाजन आएको आरोपलाई के भन्नु हुन्छ ?

    प्रधानमन्त्री हुनका लागि, अध्यक्ष हुनका लागि पार्टीमा विभाजन आयो भनेर भन्ने कुरा गलत हो । मुख्य कुरा राजनीतिक विचारधारा नै हो । अहिले पनि विचार मिलेको छैन नि !

    अब एकता सम्भावना कत्तिको देख्नुहुन्छ ?

    प्रधानमन्त्रीले आत्मैदेखि अहिलेको व्यवस्थालाई स्वीकार गर्नुपर्छ । संविधानलाई स्वीकार गर्ने, पार्टीको राजनीतिक कार्यदिशालाई स्वीकार गर्ने काम गर्नुप¥यो उहाँले । त्यसपछि मात्रै एकठाउँमा आउन सकिन्छ । त्यही भएर मात्रै पार्टीमा विभाजन आएको हो ।

    सिंगो केन्द्रीय समितिले प्रधानमन्त्री र पार्टी अध्यक्ष गलत बाटो हिंड्नुभयो भनेर निष्कर्ष निकाल्यो । त्यही भएकै कारण ४४१ सदस्यमध्ये ३२५ जना प्रचण्ड–नेपाल पक्षमा आए । अर्को अध्यक्ष रहेको समयमा १०० थपघट गए । ती कस्ता मान्छे गए भने उहाँका स्पेशल मान्छे हुन् । विचार भन्दा पनि उहाँसँगै सती जानसक्ने मान्छे मात्रै ओलीतिर गए । केपी ओलीको जीवन अन्त्यसँगै उनीहरूको पनि राजनीति अन्त्य हुन्छ ।

    उहाँ कमजोर हुनुभयो । नाटकीय शैलीमा आफूलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा लागेर उहाँले विधान विपरीत २५०० जनाको कमिटी बनाउनुभयो । ठाउँठाउँमा शपथ गराउँदै हिंडनुभयो, खुलामञ्चमै शपथ गराउनुभयो ।

    त्यसपछि यताका केही माओवादी र जनमुक्ति सेनालाई पनि त्यही पद देखाएर यताका पदलिप्त, पदलोलुपहरूलाई आफूसँग लिनुभयो । पदले छटपटाएका व्यक्तिहरू त्यहाँ गए । बादललगायत ओलीमा गएकाहरू सबै पदका लोभी नै हुन् ।

    पूर्वलडाकु त सबै ओली टिममै लागे नि ?

    म कर्णालीको छैटौं र सुदूरपश्चिमको सातौं डिभिजनको कमाण्डर पनि भएको थिएँ । दुइटै डिभिजनका कुनै पनि कमाण्डर ओली पक्षमा गएका छैनन् । लिनका लागि ओली पक्षले धेरै कसरत गरेको छ ।

    ओली पक्षले एक–एक कट्टा जमीन दिन्छौं, जमीन नलिए पैसा दिन्छौं भन्ने प्रलोभन कमाण्डरहरूलाई दिइरहेको साथीहरूले मलाई सुनाएका छन् । पद जे चाहिन्छ दिने भन्दै प्रलोभन दिइँदै आइएको छ ।

    बहिर्गमित जनमुक्ति सेनालाई सर्वोच्चले रोकेको राहत रकम दिलाउँछौं भन्दै आउनुभएको छ । सेवासुविधा, पैसा जति पनि दिन्छौं भन्दै आउनुभएको छ तर कोही पनि ओली पक्षमा गएका छैनन् ।

    प्रधानमन्त्री प्रचण्ड हुँदा सेनाका परिवारलाई दश लाख दिने भन्ने निर्णय भयो । त्यतिखेर ओलीले नै रोके । हिजो बहिर्गमनमा परेका साथीहरूलाई पैसा दिने भन्यौं, उनीहरू फेरि अदालत जानुभयो र रोक्न लगाउनुभयो । जनमुक्ति सेनाका साथीहरूलाई पैसा दिने कुरामा जति सकिन्छ रोक्न लाग्नुभयो ।

    यही भावना उहाँमा थियो भने त त्योभन्दा बढी दिन सिफारिश गर्नुपथ्र्यो । त्यतिखेर नराख्ने, अहिले आफ्नो पक्षमा उभ्याएर विपक्षीका विरुद्धमा उभ्याउन सकिन्छ कि भनेर भाडाका मान्छे बनाएर प्रयोग गर्ने ओलीको रणनीति सबै लडाकुले बुझेका छन् । ओलीको जालमा पर्न कोही जाँदैनन् । जनमुक्ति सेनालाई, घाइतेलाई, शहीद परिवारलाई ओलीको ब्रह्मले कहिल्यै माया गर्दैन, घृणा गर्छ ।

    तपाईंले पनि कर्णालीमा पूर्वलडाकुका लागि केही गर्न सक्नुभएन, अरूलाई मात्रै दोष ?

    घाइते, अपांगलाई उपचारका लागि बीचमा सपोर्ट गरेका छौं । नियमित औषधि सेवन गर्ने बिरामीलाई लाग्ने उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेका छौं । अझ हामीले एक जना कुरुवासहितको खर्च व्यहोर्ने निर्णय गरेका छौं ।

    कर्णालीमा १०० जति प्यारालाइसिस भएका लडाकु र करीब ५०० जति घाइते हुनुहुन्छ । उहाँहरू सरकारको सम्पर्कमा आई उपचार गर्न जानुभयो भने खर्च सरकारले व्यहोर्छ ।

    स्थायी रूपमा कानून बनाई यहाँका घाइते, अपांगहरूलाई स्थायी रूपमा नै व्यवस्थापन गर्ने भन्दै हामीले प्रदेशसभामा पेश गरिसकेका छौं । घाइते अपांग पुनस्र्थापना केन्द्र स्थापना गर्छौं र प्रत्येक वर्ष त्यसका लागि बजेट अलग्गै व्यवस्थापन हुन्छ । अर्काको सहारामा बाँच्ने घाइते अपांगलाई केन्द्रमा नै ल्याएर राख्ने र अन्य काम गर्न सक्नेलाई उनीहरूको चाहना बमोजिम काम गर्न सहयोग गर्ने नीति ल्याउँछौं । त्यसका लागि तालिमको व्यवस्थापन गर्छौं र आवश्यक रुपैयाँ पनि दिन्छौं ।

    दलित, युवा र महिला लक्षित कार्यक्रम ल्याएका छौं । सहुलियत ऋण दिने भनेका छौं । यसमा व्यवसायलाई नै धरौटीमा राखेर पैसा सहयोग गर्ने नीति ल्याएका छौं । अहिले १७ करोडको स्याउ र ओखरको बेर्ना ल्याउन लागेका छौं । भेडाबाख्रा दिने, अन्य वस्तु पनि दिएर व्यवसाय गर्न हामी उत्प्रेरित गर्छौं । पाँच लाख रुपैयाँ दिएको खण्डमा एक वर्षमा नै सकिन सक्छ । हामी उहाँहरूलाई आत्मनिर्भर बनाउन चाहन्छौं ।

    तपाईं प्रधानमन्त्रीले बोलाएको विकास परिषद्को बैठकमा पनि सहभागी हुनुभएन । किन ?

    त्यो बैठकको जानकारी मलाई एकदम ढिलो समयमा आएको थियो । दोस्रो कुरा, आमन्त्रित सदस्यको रूपमा मुख्यमन्त्रीलाई राखिएको छ । मुख्यमन्त्रीको पदीय स्टाटसलाई त्यहाँ ख्याल गरिएको छैन । तेस्रो, अस्तिको कुरामा जान सकिएन । त्यो कुनै रिजेक्ट गरेर नगएको होइन, काम परेका कारण नगएको हो ।

    असोजमा स्थगित भएको संसद अधिवेशन कहिले शुरू गर्नुहुन्छ ?

    आगामी फागुनमा अधिवेशन शुरू हुन्छ । हामीसँग त्यहाँसम्म सदन बोलाउनका लागि समय बाँकी छ ।

    सरकार पुनर्गठन कहिले गर्नुहुन्छ ?

    वैशाखसम्म गर्ने कि भन्ने बारेमा छलफल भइरहेको छ ।

    आगामी वर्षको बजेटपछि अन्य मन्त्रीलाई विदा दिएर नयाँ मन्त्री ल्याउने तयारीमा हुनुहुन्छ भन्ने हल्ला छ नि ?

    यसबारेमा हामीले अहिले नै टुंगो लगाएका छैनौं । बजेटपछि गर्ने कि अहिले तुरुन्तै गर्ने, अथवा खाली भएको मन्त्रालय र एक दुई अरू मन्त्रीको ठाउँमा नयाँ मन्त्री ल्याउने वा सबै खाली गर्ने कि भन्ने बारेमा छलफल भइरहेको छ । यसबारेमा पार्टी र हामीबीचमा छलफल चलिरहेको छ । बजेट कार्यान्वयन गर्ने समयमा यिनै मन्त्रीले गर्ने र आगामी बजेट ल्याउन नयाँ मन्त्री ल्याउने भन्ने कुरा चलेको छ । त्यो भनेको वैशाखसम्म हो ।

    भनेपछि ओली पक्षका मन्त्रीलाई निरन्तरता दिनुहुन्छ ?

    उहाँहरू, हामी र पार्टी बस्छौं । को मन्त्री हुने, कसरी सरकार चलाउने भन्ने बारेमा छलफल हुन्छ । हामी कसरी नयाँ साथीलाई समेट्ने भन्ने गृहकार्यमा छौं । अहिले नै यो गर्ने वा त्यो गर्ने भन्ने निर्णयमा हामी पुगेका छैनौं ।

     

     

  • ओली समूहको शक्ति प्रदर्शन आज, १३ स्थानबाट जुलुस निस्कने

    ओली समूहको शक्ति प्रदर्शन आज, १३ स्थानबाट जुलुस निस्कने

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओलीपक्षले शुक्रबार राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ।

    दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको छ।

    आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जना नेताले सम्वाेधन गर्ने छन् । सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्वाेधन गर्नेछन् ।

    १३ ठाउँबाट जुलुस

    त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस सुरु हुनेछ, जुन दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

    बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।

    त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।

    पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।

    टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।

    ‘हाइटेक’ मञ्च

    ‘टी’ आकारकाे हुने मञ्चको व्यवस्थापन हाइटेक तरिकाले बनाइने छ। मञ्चको देब्रेपट्टि नागपोखरी खण्ड, दाहिनेपट्टी ठमेलतर्फको खण्ड र नारायणहिटीको दक्षिणतर्फ त्रिचन्द्र कलेजपट्टि ‘टी’ आकारमा सभामा उपस्थित हुनेलाई राख्ने व्यवस्था मिलाइएको छ।

    प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ।

    महेन्द्र सालिक छेउमा जयनेपाल हलतर्फ, ठमेलतर्फ र यती समूहको भवनमा डिजिटल स्क्रिन राखिने छ।

  • माधव नेपाललाई ओलीको आरोपः भूमि आयोग बनेपछि छाती पिटीपिटी रुदै हुनुहुन्छ (भिडियो)

    माधव नेपाललाई ओलीको आरोपः भूमि आयोग बनेपछि छाती पिटीपिटी रुदै हुनुहुन्छ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको इतर समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा भूमिहीनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् ।

    कृषि क्षेत्रका समस्या समाधान गर्न बनेको आयोगमाथि नेपालले मुद्दा हाल्न लगाएर काम गर्न नदिएको उनको दावी छ । किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘विगतमा उहाँले कृषि क्षेत्रका समस्या समाधान गर्न बनको आयोगलाई कामै गर्न दिनुभएन । यसपटक पनि आयोग बनेपछि छाती पिटीपिटी रोइरहनुभएको छ ।’ नेपाललाई कृषि क्षेत्रको ज्ञान र अनुभव केही नभएको ओलीले टिप्पणी गरे ।

    ‘उहाँले कहिल्यै हलो समातेको छैन । नजोति खान पाएपछि किन जोत्नुपरो । धान कसरी रोप्छन् थाहा छैन । उहाँले रोपेको छैन । उहाँ किसानका समस्या, कृषि क्षेत्रका समस्या बुझ्नै चाहनुहुन्न । अनि आफ्ना मान्छे परेनन् भनर एकजना वकीललाई मुद्दा हाल्न लगाउनुभो’ ओलीले भने ।

    उनले थपे, ‘मैले हिजो साथीहरूलाई एउटा प्रश्न सोधेको थिएँ । नेपालमा कृषि समस्या समाधानमा वाधा हाल्ने एउटा नेताको नाम बताउनुस् त । उहाँहरूले सही जवाफ दिनुभएको थियो । तपाईंहरुलाई पनि सोध्छु । कोहो वाधक ?’ (सहभागीले एक स्वरमा माधव नेपाल भनेपछि… ) ‘हो, सही आयो । सप्पै एकैचोटि पास हुनुभयो । कति छर्लंग छ कुरो । दुईमतै छैन । कसैको फरक मत छैन । माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न आफ्नै मन्त्री दलबहादुर राना, शारदा सुवेदी मेरो होइन भन्नुभयो । मेरो मान्छे होइन, त्यसकारण यो हुँदैन भन्नुभयो ।’

    ‘यसपटक पनि खुब रोक्न खोज्नुभएको थियो, पर्नुभो फेला पद्मा अर्यालको । मुद्दा हाल्न खोज्नुभएको थियो । तमासा गर्नुभएको थियो । पद्मा अर्याललाई बोलाएर हप्काउन खोज्नुभयो । मेरा मान्छे र तेरा मान्छे भन्ने हो भने को हुन् तपाईंका मान्छे ? देवी ज्ञवाली कसका मान्छे ? मेरो त होइन, जात थर ठाउँ गोत्र केही मिल्दैन ’, ओलीले भने ।