Tag: नेकपा ओली पक्ष

  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ओलीपक्षीय नेकपाको निर्णय

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ओलीपक्षीय नेकपाको निर्णय

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।

    ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने बताए ।

    ज्ञवालीले संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने पनि उनले बताए ।

    आजै प्रचण्ड-माधव पक्षले पनि संसदीय दलको बैठक बोलाएको छ । ज्ञवालीले पार्टी एकताका लागि आफूहरु लचिलो भएकैले अहिलेसम्म प्रचण्डलगायत कसैलाई पनि कारबाही नगरिएको बताए ।

    ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बिहीबार पनि जारी रहनेछ । बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ ।

    अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।

  • मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

    मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

    काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने र अविश्वास प्रस्ताव आएपनि यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले अविश्वास प्रस्ताव सामना गरेर अघि बढिने बताए ।

    ओलीपक्षीय नेकपाका नेता श्रेष्ठले भने, ‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन् । यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

    श्रेष्ठले प्रधानमन्त्री बनिदेऊ भन्दै केही नेताहरू घर-घर चहारे पनि फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनावी बाटोमै जाने बताए ।

  • यस्तो छ विराटनगरमा ओली पक्षको जनसभा तयारी (तस्वीरहरू)

    यस्तो छ विराटनगरमा ओली पक्षको जनसभा तयारी (तस्वीरहरू)

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज अपराह्न प्रदेश १ को राजधानी विराटनगरमा गर्न लागेको प्रादेशिक जनसभा तथा शक्ति प्रदर्शनको लागि छिमेकका जिल्लाहरूबाट समेत नेता कार्यकर्ता आउने क्रम शुरु भएको छ ।

    ओलीको गृहक्षेत्रसमेत भएकाले विराटनगरको आमसभालाई चासोको साथ हेरिएको छ । यसअघि प्रचण्ड-माधव पक्षले विराटनगरमा शक्ति प्रदर्शन गरिसकेकाले ओली पक्षले सो समूहको भन्दा बढी जनसमर्थन जुटाउने कसरत गरेको छ ।

    आजको सभालाई प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ का इन्चार्ज समेत रहेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्दैछन् ।

    विराटनगर महानगरपालिका-२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजित आमसभामा दुई लाख भन्दा बढीको कार्यकर्ताको सहभागिता रहने केन्दीय सदस्य विनोद ढकालले बताए ।

      
       
  • जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

    जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै

    काठमाडौं । नेकपा (ओली पक्ष) प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् ।

    प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले जनसभालाई सम्बोधन गर्नेछन् ।

    लुम्बिनी प्रदेश कमिटीले फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली बुटवल पुगेका थिए ।

  • उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ?

    उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ?

    काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

    शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । तर, उक्त शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित थिए । उनीहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूले व्यक्तिगत कुण्ठा र बकबास गरेको बताएका छन् ।

    ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवम् कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन’ थापाले भनेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्‍घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिंड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढङ्गले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

    ‘पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व उपकुलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता “पूर्वहरू” को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदैथियो’ थापाले लेखेका छन्, ‘बहालवाला उपराष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिष्कार र कर्तव्यच्युत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटका पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याईं गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, शपथग्रहण समारोह बहिष्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने/ टाँस्सिइरहने ? सरकारविरुद्ध विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आ-आफ्ना निवासमा आयोजना गरिरहने – यो के रवैया हो ?

    ‘राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?’ थापाले प्रश्न गरेका छन्, ‘पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !’

  • घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    घनश्याम भुसाललाई धक्का : तिलोत्तमाका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ओली पक्षमा लागे

    बुटवल । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रभावशाली नेता घनश्याम भुसालका मुख्य सहयोगी मानिने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे केपी ओली पक्षमा लागेका छन् ।

    अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलसँगको पटक-पटकको छलफलपछि उनले आइतवारबाट घनश्याम भुसालको साथ छाडेका हुन् । भुसालको गृहनगर तिलोत्तमाका मेयर घिमिरे र उपमेयर जागेश्वरी चौधरी दुवैजना पार्टी विभाजनपछि प्रचण्ड-माधव पक्षमा थिए ।

    शनिवारको बुटवलको जनसभामा भाग लिन पुगेका महासचिव पौडेलले आइतवार अपरान्ह मेयर घिमिरे र उपमेयर चौधरीको बीचमा बसेर ‘हामी सँगै थियौं र सँगै हुनेछौं’ भन्ने स्टाटससहितको फोटो फेसबुकमार्फत सार्वजनिक गरेपछि दुवै नेकपा पंक्तिमा खैलाबैला मच्चिएको थियो ।

    घिमिरेनिकट स्रोतका अनुसार उनी र उपमेयरसहित नगरपालिकाका अधिकांश वडाध्यक्ष र सदस्यहरूले सल्लाह गरेर प्रचण्ड-माधव पक्ष परित्याग गर्ने निर्णय भएको हो । सो नगरपालिकामा तत्कालीन एमालेले जितेको थियो ।

    पार्टी विभाजनपछि रुपन्देहीमा प्रचण्ड-माधव पक्षको अधिकांश बैठक र छलफलहरू घिमिरे नेतृत्व र उनकै होटलमा हुने गरेका थिए । त्यस्तै उपमेयर चौधरीलाई अ‍ोली पक्षले केन्द्रीय सदस्य मनोनीत गरे पनि अश्वीकार गरेकी थिइन् ।

    आइतवार महासचिव बिष्णु पौडेललाई विदाइ गर्न मेयर उपमेयरसहित भैरहवा विमानस्थलमा पुगेका थिए ।

  • गृहमन्त्री बादलको विश्लेषण-समाजवाद लागू गर्न खोज्दा सशस्त्र द्वन्द्व हुनसक्छ

    गृहमन्त्री बादलको विश्लेषण-समाजवाद लागू गर्न खोज्दा सशस्त्र द्वन्द्व हुनसक्छ

    काठमाडौं । गृहमन्त्री रामवहावदुर थापा बादलले नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न खोज्दा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध गर्न सक्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताएका छन् ।

    माओवादी जनयुद्धको २६औं वर्षगाँठका अवसरमा पूर्व माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बादलले समाजवादी क्रान्तिविरुद्ध सशस्त्र प्रतिरोध भए सरकारले दमन गर्नुपर्ने बताए ।

    उनले भने- आज जनताले नेकपालाई देशको नेतृत्व सुम्पेका छन् र समाजवादी क्रान्ति गर्ने जिम्मा पनि दिएका छन् । यसो गर्दा हामीले सशस्त्र स्वरुपको अभ्यास गर्न आवश्यक छैन । तर प्रतिक्रियावादीले सशस्त्र प्रतिरोध गरे भने हामीसँग सेना छ, प्रहरी छ । त्यो अवस्थामा सशस्त्र दमन गर्नुपर्ने पनि हुन्छ ।

    नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति शान्तिपूर्ण रुपमा अघि बढ्ने भन्दै उनले प्रतिक्रियावादीहरुबाट हुन सक्ने सशस्त्र द्वन्द्वप्रति सचेत हुनुपर्ने  बताएका छन् ।

    गृहमन्त्रीले भने- एउटा चरणमा गएर सशस्त्र द्वन्द्व हुने स्थिति आउन सक्छ,हामीले आफूलाई तयार पार्नुपर्छ, सजग रूपमा राख्नुपर्छ ।

  • (नेकपा) ओली पक्षले गर्यो बुटवलमा मोटरसाइकल र्‍याली

    (नेकपा) ओली पक्षले गर्यो बुटवलमा मोटरसाइकल र्‍याली

    रुपन्देही । फागुन १ गते बुटवलमा गर्न लागिएको जनप्रदर्शनको प्रचारप्रचार गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज बुटवलमा मोटरसाइकल र्‍याली निकालेको छ ।

    युवा विद्यार्थीको संयोजनमा जनसभाको प्रचारका लागि मोटरसाइकल र्‍याली निकालिएको नेता गोपाल रानाले बताए । र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

    बुटवलको चौराहबाट सुरु भएको र्‍याली ट्राफिक चोक, गोलपार्क, हाटबजार, अमर पथ हुँदै पुष्पलाल पार्कमा पुगेर समापन भएको थियो ।फागुन १ गते बुटवलको सिद्देश्वर मैदानमा हुने सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • अराजकतावादीले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

    अराजकतावादीले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : उपप्रधानमन्त्री पोखरेल (भिडियो)

    काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमै धक्का दिएर हटाउन खोज्दा अस्थिरता पैदा भएको बताएका छन् । उनले सबै प्रतिकूलतासँग जुधेर मुलुकमा राजनीतिक स्थायित्व कायम गरिने उनको भनाइ छ ।

    ओली पक्षद्वारा आज काठमाडौंमा आयोजित जनसभालाई सम्वोधन गर्दै पोखरेलले भने, ‘हिजोदेखि नै कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो । त्यसलाई सघाउन कुण्ठा र ईर्श्यामा बाँचेको माधव नेपाल प्रवृत्तिको गठवन्धन भयो । त्यसको परिणाम अराजकता सिर्जना गर्ने कोसिस गरियो । तर, यो प्रयासलाई हामी सफल हुन दिने छैनौं ।’

    हिजो प्रचण्ड-नेपाल पक्षले गरेको नेपाल बन्दमा एक मजदुरको ट्याक्सी जलाइएको घटनाकाे पोखरेलले निन्दा गरे । जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने उनले प्रतिवद्धता जनाए ।

    पोखरेलले भने, ‘नेपाल बन्दको नाममा जनतालाई दु:ख दिने कुराको निन्दा र भर्त्सना गर्दछु । हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेले ट्याक्सी चलाएर गुजारा गर्नेमाथि सांघातिक हमला गरे, म मन्त्रीको नाताले यही सभामार्फत भन्न चाहन्छ, केपी ओली नेतृत्वको सरकारले यसको क्षतिपूर्ति दिनेछ ।’

  • बादलको चेतावनी- मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ

    बादलको चेतावनी- मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् ।

    मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको उनले बताए ।

    प्रचण्डले केही दिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसैलाई बादलले जवाफ दिएका हुन् ।

    ओली पक्षको आज आयोजित आमसभामा बादलले भने, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’

    आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विस्थापित गर्न षडयन्त्र भएपछि चुनावमा जानुपरेको बताए । चुनाव पनि आन्दोलनको एउटा रूप भएको उनको भनाइ छ ।

  • ओली पक्षका  जुलुस : हेर्नुस् ड्रोनबाट लिइएका तस्बिर

    ओली पक्षका जुलुस : हेर्नुस् ड्रोनबाट लिइएका तस्बिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाको वृहत जनसभा शुरू हुनुअघि जुलुसहरु नारायणहिटी संग्रहालय अगाडि पुग्ने क्रम शुरु भएको छ ।

    हाइटेक मञ्चको तीनैतिरबाट आइरहेका जुलुसहरुको ड्रोनबाट खिचिएको दृष्य हेर्नुस् ।

  • ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

    ओली पक्षको शक्ति प्रदर्शन, काठमाडौंका विभिन्‍न ठाउँबाट जुलुस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा वृहत शक्ति प्रदर्शन गर्दैछ । वागमती प्रदेश कमिटीको आयोजना हुन लागेको जनसभा अगाडि काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्कने क्रम जारी छ ।

    सबैतिरका जुलुसहरु नारायणहिटी संग्रहालय अगाडि पुगेपछि सभामा परिणत हुनेछ । सभालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापा बादलले सम्बोधन गर्दैछन् ।

    
    सभा र प्रदर्शनलाई व्यवस्थित गर्न महेश बस्नेतको नेतृत्वमा स्वयंसवेक टोली सबैतिर खटिएको छ । 
    
              
    
  • ओलीको आमसभा  ‘हाइटेक’ मञ्च, दरबारमार्ग सफाई गरिँदै

    ओलीको आमसभा ‘हाइटेक’ मञ्च, दरबारमार्ग सफाई गरिँदै

    काठमाडौं । विभाजित नेकपाको ओली पक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुने आमसभा दरबारमार्गमा १२ बजेदेखि सुरु हुनेछ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जनाले सम्वोधन गर्ने आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा ‘हाइटेक’म मन्च तयार पारिएको छ ।

    नारायणहिटी संग्रहालयको गेटमा बनाइएको हाइटेक मन्चबाट दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्ने गरी ‘टी’ आकारको बनाइएको छ ।

    प्रधानमन्त्रीलगायत मन्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ ।

    महेन्द्र शालिक छेउमा, जयनेपाल हलनजिकै, ठमेलनजिकै र यति समूहको भवनमा डिजिटल स्क्रिन राखिनेछ ।

  • आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (तस्बिरहरू)

    आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास (तस्बिरहरू)

    काठमाडौं । केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

    शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् ।

    युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

     

    मार्चपासअघि स्वयंसेवकलाई अभिमुखीकरण

    भोलि हुने जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण दिइएको छ । जनसभामा सहभागी हुने कार्यकर्ता र सर्वसाधारणको भीड व्यवस्थापन, रेखदेखलगायतका विषयमा नेता महेश बस्नेत, माधव ढुंगेललगायतका युवा तथा विद्यार्थी नेताले प्रशिक्षित गरेका थिए ।

          

     

     

  • संसद पुनःस्थापना हुन्छ भन्ने भ्रमले केही मान्छे छातीमा पोस्टर टाँसेर बसेका छन्–अर्थमन्त्री पौडेल (भिडियो)

    संसद पुनःस्थापना हुन्छ भन्ने भ्रमले केही मान्छे छातीमा पोस्टर टाँसेर बसेका छन्–अर्थमन्त्री पौडेल (भिडियो)

    काठमाडौं । अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

    मुस्लिम समुदायको हकहितको संरक्षण, सम्वर्धन, सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै महासचिव पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यास भएको बताए ।

    सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका काम गरिरहँदा ती कामलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टीभित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयास भएको बताए ।

    सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधिसभा विघटन गरी अनुशासित प्रतिनिधिसभा निर्माण गर्न चुनावमा जानुपरेको पौडेलको भनाइ थियो ।

    अझै पनि केही मानिस प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि भन्ने भ्रमले छातीमा पोस्टर टासेर सडकमा बसिरहेको अर्थमन्त्री पौडेलले बताए । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै सम्भावना नभएको पौडेलको भनाइ थियो ।

  • ओली पक्षको जनसभा नारायणहिटी अगाडि हुने

    ओली पक्षको जनसभा नारायणहिटी अगाडि हुने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गरिने टुंगो लागेको छ ।

    कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

    वागमती कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नारायणहिटीको गेटअघि मञ्‍च बनाएर कार्यक्रम गरिने बताए । उनले नेपालप्रेससँग भने, ‘अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले हामीले नारायणहिटी अगाडिको सडकलाई रोजेका हौं । नारायणहिटीदेखि घण्टाघरसम्मको सडकमा सभा हुनेछ ।’

    कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्ने जानकारी दिए ।

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभामा सांस्कृतिक झाँकी, भेषभूषासहित जनसांस्कृतिक महासघबाट सांगीतिक प्रस्तुति दिइनेछ ।

    प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनर्गठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

    यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकूद महासंघले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

    सो दिन माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा मोटरसाइकल र्या‍लीसमेत गरिने जनाइएको छ ।

  • दल दर्तालगायतका चुनावी प्रक्रिया अघि बढाउन ओली पक्षको आग्रह

    दल दर्तालगायतका चुनावी प्रक्रिया अघि बढाउन ओली पक्षको आग्रह

    काठमाडौं । केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाले निर्वाचन प्रयोजनको लागि दल दर्तालगायतका प्रक्रिया तत्काल अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    निर्वाचन आयोगसँग भएको छलफलमा सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्नु भनेर अन्तरिम आदेश नदिएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न ओली पक्षले आग्रह गरेको हो ।

    नेकपाको दुवै पक्षलाई आयोगले बोलाए पनि प्रचण्ड-माधव नेपाल पक्ष भने छलफलमा सहभागी भएन । निर्वाचन आयोगसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै संविधानसभा अध्यक्ष तथा नेकपा ओली पक्षका नेता निर्वाचनको प्रयोजनमा हुने दल दर्ता लगायतका प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए ।

    निर्वाचन आयोगको आग्रह बमोजिम आफूहरु उपस्थित भएको र अदालतबाट अन्यथा फैसला नआउँदासम्म निर्वाचनका तयारी अघि बढाउन आग्रह गरिएको नेम्वाङले जानकारी दिए ।

    नेम्वाङले नेकपाको आधिकारिकताको विवाद टुंगो लगाइसकेको र त्यहि निर्णयको जगमा उभिएर आयोगले छलफलकाक लागि आफूहरुलाई बोलाएको दावी गरे । आयोगलाई निर्वाचन गर्न ८४ दिन भए पुग्ने र अहिले ९० दिन बाँकी रहेकाले आयोग अब अरु विवादमा फस्ने जानकारी आफूहरुले पाएको उनले बताए ।

    दल दर्ता प्रक्रिया अघि बढेपछि आफूहरु सहभागी हुने नेम्वाङको छ । आफूहरु प्रचण्ड माधव पक्षसँग छलफल गर्न भनेर आए पनि अर्को पक्ष छलफलबाट भागेको उनले बताए ।