Tag: नेकपा एस

  • ‘माधव नेपालको नाममा लाभ लिएका तरमाराहरूले ओलीसँग आत्मसमर्पण गरे’

    ‘माधव नेपालको नाममा लाभ लिएका तरमाराहरूले ओलीसँग आत्मसमर्पण गरे’

    काठमाडौं । माधव नेपालले एमाले विभाजन गर्दा दुनियाँले चिनेका र पत्याएका दोस्रो पुस्ताका प्रभावशाली नेताहरूले साथ छाडे । माधव नेपालसँग कि त पुरानो पुस्ताका र धेरैले बिर्सिसकेका नेताहरू एकाएक अग्रभागमा देखिएका छन्, कि त युवा विद्यार्थीहरूको खरो पंक्ति छ ।

    दोस्रो पुस्ताले छाडेपछि निराश बनेका माधव नेपाललाई जुरुक्कै बोक्ने पुस्ताका एक लडाकु हुन् सुदेश पराजुली । फागुन २३ को फैसलापछि पहिलोपटक एमालेमा समानान्तर कमिटीको अभ्यास पनि पराजुलीले नै गरे ।

    नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष पराजुली यसअघि एमाले विभाजनअघि नै समानान्तर कमिटीको अध्यक्ष थिए । माधव नेपाललाई तलबाट बल प्रदान गर्ने यही पुस्ता हो ।

    पराजुलीमात्र होइन माधव नेपालनिकट युवाहरूको आक्रोशको निशाना अहिले अन्तिममा धोका दिएर एमालेमै बस्ने दोस्रो पुस्ताका नेताहरूप्रति छ । उनीहरूले दोस्रो पुस्ताका नेताहरूलाई तरमारा भन्न थालेका छन् ।

    माधव नेपालको नाममा सत्ता र शक्तिको लाभ लिएको तरमारा वर्गले एमाले विभाजनमा साथ नदिए पनि आफूहरू माधव नेपालको पिलर बनेर उभिएको पराजुलीले बताए ।

    प्रस्तुत छ, अनेरास्ववियूका अध्यक्ष तथा जुझारु युवा नेता पराजुलीसँगको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :

    –नयाँ पार्टी बनाउनु भएको छ। तपाईंहरूलाई खुसी पनि होला, चुनौती पनि त छ हैन ?

    मुलभूतरूपमा पार्टी विभाजित हुनुले नेपाली जनतालाई खुसी दिँदैन । यसलाई चुनौतीकै रूपमा बुझ्नुपर्छ । जुन ढंगले नेपाल कम्युनिष्ट पार्टी विभाजित भयो, त्यसपछि एमालेको थप विभाजन भयो । यसबाट हामी दुःखित नै छौं ।

    माओवादी केन्द्र र एमालेबीच जुन ढंगले एकता भएको थियो, त्यसलाई जोगाउने काम शीर्ष तहमा बसेको नेतृत्वबाट हुने स्थिति हामीले देखेनौं । एउटा हस्ताक्षरकर्ता थप विभाजनको साक्षी बन्नुभयो । नेपाल कम्युनिष्ट आन्दोलनलाई झन धराशायी बनाउने पात्रका रूपमा केपी शर्मा ओलीले भूमिका खेल्नुभयो ।

    माओवादी केन्द्र र एमालेबीच एकतापछि बनेको नेकपालाई जनताले अमुल्य मत दिए । झण्डै-झण्डै दुई तिहाई मतबाट जनताले अनुमोदन गरे ।

    तर, केपी ओलीले कम्युनिष्ट पार्टीको विधि, पद्धतिजस्ता कुनै पनि कुरालाई मान्न स्थिति बनेन । उहाँले एकल ढंगले अगाडि बढ्ने, कम्युनिष्ट विचारलाई लत्याउने र कुल्चने गर्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई विभाजन, विभक्त गर्नेतिर लाग्नुभयो । विदेशी प्रभुसँग सल्लाह गरेर बालुवाटारबाट कम्युनिष्ट पार्टीलाई विभाजित गर्न लाग्नुभयो ।

    त्यसरी हेर्दा हामीले चुनौती देखेका छौं । कम्युनिष्ट आन्दोलनलाई थप अगाडि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । कम्युनिष्ट पार्टीलाई फेरि गोलबन्द गर्नुपर्ने, वामपन्थी एकतालाई बलियो बनाउनुपर्ने परिस्थिति निर्माण भएको छ ।

    –केपी ओलीले त तपाईंहरूलाई पार्टी नै बन्न सक्नुहुन्न भन्नु भएको छ । कटाक्षपूर्ण भाषामा ‘माधव नेपालको पिउसो’ पनि भनिएको छ। तपाईंहरू कसरी कम्युनिष्ट आन्दोलनको संरक्षण गर्न सक्नुहोला ?

    केपी ओलीका यस्तै-यस्तै बोली व्यवहार र तौरतरिकाले नै आज कम्युनिष्ट आन्दोलन विघटन भयो । जतिखेर केपी पार्टी अध्यक्ष हुनुभयो, त्यसपछि कम्युनिष्ट आन्दोलन ओरालो लाग्यो । विभाजन र विसर्जनतिर लाग्यो । त्यसकारण केपी ओलीलाई एकचोटी म आफ्नो अनुहार राम्रोसँग हेर्न आग्रह गर्छु ।

    उहाँलाई म एकचोटी स्मरण गराउन चाहान्छु– जतिबेला डा. केशरजंग रायमाझीले कम्युनिष्ट पार्टीको झण्डा दरवारमा बुझाइरहेका थिए, त्यतिखेर पुष्पलालको त्यो झिल्कोले नै कम्युनिष्ट आन्दोलनलाई थेग्यो र बचायो । आज केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन विर्सजनको दिशामा पुग्यो । त्यसकारण हामी जस्तै व्यक्तिहरूले विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई उहाँको त्यो विर्सजन पथबाट बचाउनुपर्ने दायित्व आएको छ । उहाँले देखेका पिउसोहरू, उहाँले देखेका साना चिजहरूबाट नै वृहत्तर आन्दोलनलाई अगाडि बढाउने एउटा अठोट हामीले लिएका छौं ।

    – तर, नयाँ पार्टीलाई स्थापित गर्न, जनअनुमोदित गराउन कठिन त कठिन छ नि ?

    हामीले यसलाई नयाँ पार्टीका रूपमा बुझेका छैनौं । हामीले कम्युनिष्ट पार्टीभित्रको विद्रोह गरेका हौं । कम्युनिष्ट आन्दोलनलाई विर्सजन गर्ने प्रयासको हामीले अन्त्य गरेका हौं । त्यसकारण यो नयाँ पार्टी, नयाँ संरचना होइन । हाम्रो विद्रोह पुरानै जगमा, जनताबाट अनुमोदित भएको विद्रोह हो ।

    – तैपनि शक्तिको मापन त गर्नुपर्ला नि । अहिलेको विभाजन हेर्ने हो भने संघ र प्रदेशमा २० प्रतिशत भन्दा केही बढी मात्रै छ । तर, स्थानीय तहमा जाँदा त्यो घटेर १० प्रतिशतको हाराहारी देखिन्छ । यसरी हेर्दा विभाजन कमजोर त भयो नि ?

    केही तथ्यांकलाई देखाएर कसले के भनिरहेको छ, त्यतातिर मलाई त्यति प्रवाह छैन । जसले नेकपा एमालेभित्र ठूलो संघर्ष गरिरहेका थिए, ती व्यक्तिहरूले केपी ओलीका कारणले स्थानीय तहको निर्वाचनमा टिकट पाउने अवस्था बनेन ।

    महानगर, नगर, गाउँपालिकामा जुन मान्छे लोकप्रिय थियो, त्याग र समर्पण गरेको थियो, त्यस्ता मान्छेलाई पन्छाएर उहाँले गोजीका मान्छेलाई टिकट दिनुभयो, त्यो परिस्थितिमा केही फेरबदल भएको होला ।

    जहाँ-जहाँ हामीले विद्रोह गरिरहेका छौं, त्यहाँ अत्यन्तै लोकप्रिय भएका, जनताका प्यारा मान्छेहरू हाम्रो विचार, हाम्रो विद्रोहसँग नजिक हुनुहुन्छ । उहाँहरूले दृढताका साथ पार्टीलाई अगाडि बढाइरहनु भएको छ ।

    –माधव नेपालको शक्ति त यतिमात्रै होइन । एमालेमै रहँदा पनि उहाँलाई करिब-करिब ४५ प्रतिशतको शक्ति भनिन्थ्यो । अहिले नयाँ पार्टी गठन गर्दा किन घट्यो ?

    युद्धको मैदानमा जान आँट गर्नेहरू हेर्दा तपाईंले भनेको जस्तो पनि होला । तर, तपाईंले माधव नेपालको ‘रियल ग्राउन्ड’त हेर्नुभयो नि । माधव नेपालसँग भएको केही अवसरवादीहरू, माधव नेपालसँग भएका केही पदबाट लाभान्वित भएकाहरूको मूल्यांकनले हाम्रो मूल्यांकन हुन सक्दैन ।

    माधव नेपाल-झलनाथ खनालको रियल ग्राउन्ड हेर्नुहुन्छ भने गाउँ-गाउँबाट उठेको, जनसंगठनबाट उठेको शक्ति हो । त्यसलाई मापन गर्नका निम्ति म आग्रह गर्न चाहन्छु ।

    माधव नेपालको जग भनेको गाउँ हो, वडा हो, जनसंगठनको आकार हो । त्यस्तै जिल्ला र प्रदेश कमिटीहरू हुन् । माधव नेपालसँग लागेर अवसर लिएकाहरूको अनुहार देखेर मूल्यांकन गर्ने र आँकलन गर्ने गर्नु हुँदैन ।

    -संघर्षका बेला तपाईंले अवसरवादी भनेर संकेत गरेका दोस्रो पुस्ताका नेताहरूले बलियो साथ दिनुभएको थियो । तर, निर्णायक बेलामा साथ दिएनन् । माधव नेपालले उहाँहरूलाई एकताबद्ध गर्न नसकेको हो ?

    जतिखेर माधव नेपाल पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ, विधि पद्धतीले पार्टी चल्नुपर्छ भनेर भनिरहनु भएको थियो, त्यतिबेला अहिले भागेका नेताहरूले पनि उचालिरहनु भयो । तर, वास्तविकतामा उहाँहरू माधव नेपालको त्यो विचार, मान्यतामा र दृढतामा उभिनुभएन । तर, देख्दा चाहिँ उहाँहरू लागेको जस्तो देखिने, जनता र मिडियाको बीचमा भ्रम छरिरहनु भएको थियो । अहिले, उहाँहरूको वास्तविक अनुहार उदांगिएको छ ।

    –पहिले उहाँहरूले उचाल्नुभयो, अहिले तपाईंहरूले उचाल्नुभयो । माधव नेपाललाई बाध्य बनाएर विभाजन रोज्ने बनाउनु भयो है ?

    हामीले उचालेको कसैलाई पनि छैन । हामी विचारका जगमा पार्टीहरू बन्नुपर्छ, विचारका जगमा पार्टीलाई अगाडि लैजानु पर्छ भनिरहेका छौं । तर, केही नेताहरू पदको लोभमा, अवसर हेरेर माधव नेपाललाई उचालिरहेका र माधव नेपालको वरिपरी घुमिरहेको हामीले देख्थ्यौं । ती मान्छेले नै हो माधव नेपालबाट बढी भन्दा बढी लाभ लिएको ।

    धन्न माधव नेपाल आफ्नो दृढतामा उभिनुभयो । आफ्नो विद्रोहको विचार बोकेर उभिनुभयो । हामी उहाँलाई सलाम पनि व्यक्त गर्न चाहान्छौं । माधव नेपाललाई सकुनीको चालमा पार्ने काम केही व्यक्तिहरूले गरिरहेका थिए, धन्न माधव नेपालले त्यो विद्रोहको जग, कम्युनिष्ट आन्दोलनको त्यो समर्पणलाई बोकेर अगाडि बढ्नुभयो । पहिले यी अवसरवाद र यस्ता किसिमका सकुनी प्रवृत्तिहरू माधव नेपालले बेलैमा चिन्नु भएन, अहिले चिन्नुभयो । र, हामी नयाँ गतिका साथ अघि बढेका छौं ।

    –दोस्रो पुस्ताले साथ नदिँदा तपाईं युवाहरूको अनुहार हेरेरै माधव नेपालले यो जोखिमको यात्रा गर्न तयार हुनुभएको भन्ने छ । उहाँलाई स्थापित गराउने गरी तपाईंहरूबाट साथ हुन्छ ?

    दोस्रो पुस्ता भनेर उहाँहरूले जुन किसमको लाभ, अवसर लिनु सिर्जना गरिरहनु भएको थियो, उहाँहरूको वास्तविक अनुहार अब देखिँदै गएको छ ।

    हाम्रो पार्टीभित्र पहिलो पुस्ता एउटा त्याग र समर्पणले बनेका पुस्ता हो । त्यो पुस्ताले त्याग, वलिदान पनि गरेको छ र निष्ठा पनि छ । तर, हामीले भनेको दोस्रो पुस्ता (जुन मिडियामा धेरै रमाउँछ) जस्तो अवसरवादी अर्को पुस्ता कम्युनिष्ट आन्दोलनमा छँदै छैन् । उहाँहरू यति चुर्लुम्म अवसरवादमा डुब्नु भएको छ कि व्यक्तिगत आकांक्षा अनुसार कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कोसिस गर्नु भएको छ । अझ अगाडि बढेर भन्नुपर्दा दोस्रो पुस्ता मुलतः भ्रष्टिकरणमा डुबेको पुस्ता हो भन्ने मलाई लाग्छ ।

    भोलि त्यो भ्रष्टीकरण तपाईंहरूमा नदेखिएला भन्ने आधार के ?

    हामीले बुझ्नुपर्ने, रूपान्तरण हुनुपर्ने, सिक्नुपर्ने र ती कुराबाट विद्रोही हुनुपर्ने देख्छु मैले । मान्छे विग्रने र आफू कस्तो बन्ने भन्ने कुरा ऊ स्वयंले नै निर्धारण गर्ने कुरा हो । तर, अहिले हामीले भन्ने दोस्रो पुस्ता जति विलासी, सुविधाभोगी, अवसरवादी अरु कुनै पनि पुस्ता हुँदैन जस्तो मलाई लाग्छ ।

    र, हाम्रो पुस्ताको जुन कुरा छ-हाम्रो पुस्ता अलि एड्भान्स छ । अहिलेका पुस्ता त्यति धेरै अवसरवादी छैन । यो कम्युनिष्ट आन्दोलनलाई बनाउने पुस्ताको त्याग, समर्पणनलाई बुझेर केही न केही नयाँ चिजले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँ भन्ने विचार छ हाम्रो पुस्तामा छ जस्तो लाग्छ ।

    पहिलो कुरा यो गठबन्धन, राष्ट्रियताको पक्षमा उभिनुपर्छ । यो गठबन्धन राष्ट्रती सम्झौताको विपक्षमा उभियो भने रहन्छ । राष्ट्रियताको पक्षमा नबोल्ने, जनहितको काम नगर्ने, राष्ट्रघाती सम्झौता गर्ने हो भने त यो गठबन्धन कसरी जुट्छ त ? यो गठबन्धन बनेकै संविधान मिचेका कारणले हो । केपी ओलीले संविधान मिच्नुभयो । धर्मनिरपेक्षता समाप्त पार्न, संघीयता समाप्त पार्न लाग्नु भयो ।

    हामी आज माधव नेपालतिर लाग्दै गर्दा न मन्त्री पाउने हो, न कुनै नियुक्ति पाउने हो । त्यसैले पनि हामी यसभित्र समर्पण देखिरहेका छौं । यसभित्र कम्युनिष्ट पार्टीलाई जोगाउने, कम्युनिष्ट पार्टीलाई फेरि पनि लोकप्रिय बनाउने, हामीले देखेको सपना ‘सुखी नेपाली समृद्ध नेपाली’ बनाउने, दुनियाँका अगाडि हाम्रो देशलाई आकर्षणको केन्द्र बनाउने विचार बोक्ने, त्यो हिम्मत देखाउने हाम्रो पुस्ता हो जस्तो लाग्छ । त्यो किन भने, मेलै दोस्रो पुस्तालाई यतिधेरै लक्षित गरेर भनिरहँदा उहाँहरूको व्यवहारले त्यो कुराको पुष्ट्याँइ गरेको जस्तो लाग्छ । उहाँहरूले जुन ढंगको व्यवहार गरिरहनु भएको छ, उहाँहरूको पाइला-पाइलामा अवसरवाद छ । पाइला-पाइलामा उहाँहरूको पद प्राप्तिको इच्छा छ ।

    –उहाँहरूले एमाले ब्रान्ड त्याग्न सक्नु भएन । एमाले ब्रान्ड त्याग्दा चुनावमा पराजित भइन्छ भन्ने भय उहाँहरूमा छ भनिन्छ । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्दा तपाईंहरूले पनि त्यो मोह नि त्यो मोह छोड्नु भएको थिएन । आयोगले त्यो मिल्दैन भनेपछि तपाईंहरूले नयाँ पार्टी दर्ता गर्नुभयो । त्यो ब्रान्ड छोडेपछि तपाईंहरूको शक्ति के हुन्छ ?

    हामीले यो कुरामा बुझ्नुपर्छ- हामीले कुन ढंगले कम्युनिष्ट पार्टीलाई अगाडि बढाउने ? ब्रान्डकै कुरा गर्नुहुन्छ भने लोकप्रिय ब्रान्डलाई नयाँले तहसनहस बनाएको, पराजित गरेको, विस्थापित गरेको पनि देख्नुहुन्छ । हाम्रै नेपालमा हिजो बद्री मण्डलको पार्टीको वाहवाही थियो । हामी जतिखेर राजाका विरुद्ध आन्दोलन गर्थ्यौं- कमल थापाको पार्टी वाहवाही थियो ।

    हाम्रा अग्रजहरूले पञ्चायतका विरुद्धमा आन्दोलन गर्दै हुनुहुन्थ्यो, त्यतिखेर कमल थापा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादु चन्द, राजेश्वर देवकोटा जस्ता मान्छेहरूको वाहवाही थियो । तर, ती ब्रान्डहरू आज कहाँ पुगे ? जनताको जसले काम गर्दैन, जनताको जसले हित गर्दैन, देश विकासको कुरा जसले गर्दैन, समुदायको हितको कुरा जसले गर्दैन ती ब्रान्डहरू त समाप्त भएै गएका छन् नि ।

    नेकपा एमाले केपी ओलीले नेतृत्व गरेको विर्सजनवादको चंगुलभित्र फसिसक्यो । त्यसले नेपालको क्रान्ति, नेपालको समाजको रूपमान्तरण गर्न सक्ने मैले देख्दिनँ । यसबाट कम्युनिष्ट आन्दोलन अब अगाडि बढ्छ भन्ने हामीले सोच्नुहुँदैन ।

    –राष्ट्रियताको सवालमा त तपाईंहरूतिर प्रश्न औंला उठेको छ । तपाईंहरू सहभागी सरकारले नै दार्चुलाको जयसिंह धामी प्रकरणमा सशक्त आवाज उठाउन सकेन भनेर आलोचना भइरहेको छ नि ?

    गठबन्धन सरकारमा हुँदा पनि नरेन्द्र मोदीको पुत्ला जलाउने र आवाज बुलन्द बनाउन पहिलो विद्यार्थी संगठन हामी नै हो । हामीलाई समात्नुपर्छ, बोल्न पाइदैन भनेर गृहमन्त्रालयले विज्ञप्ति समेत जारी गर्‍यो । हामी भन्न चाहान्छौं- हाम्रो राष्ट्रिया कहीँ दुख्यो भने हाम्रो जीवन, हाम्रो हृदय दुखेको ठान्छौं । अहिलेको गठबन्धनले राष्ट्रहितविपरीत, जनहितविपरीत काम गर्छ भने त्यसको विरुद्धमा हामी छौं ।

    एमसीसीबारे तपाईंको पार्टीको धारणा के हो ?

    राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा परित गर्नुहुँदैन । त्यो फिर्ता गर्नुपर्छ । हाम्रो भूभाग, हाम्रो जमीन, हाम्रो जंगल, हाम्रो बौद्धिक सम्पत्तिमाथि कुनै देशको गिद्धे नजर परेको छ भने त्यसविरुद्ध सबै राजनीतिक दलहरू, सबै विद्यार्थी संगठनहरू जाग्नुपर्छ । उठ्नुपर्छ । हामीले पार्टीका नेताहरूलाई पनि भनेका छौं- यही किसिमले एमसीसी पारित गर्ने कोसिस भयो भने त्यसका विरुद्धमा सडक ठूलो जनलहर आउँछ । त्यस्तो किसिमका राष्ट्रघाती परियोजना हामी जनतालाई स्वीकार्य छैन ।

    हाम्रो पुस्ताको जुन कुरा छ-हाम्रो पुस्ता अलि एड्भान्स छ । अहिलेका पुस्ता त्यति धेरै अवसरवादी छैन । यो कम्युनिष्ट आन्दोलनलाई बनाउने पुस्ताको त्याग, समर्पणनलाई बुझेर केही न केही नयाँ चिजले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँ भन्ने विचार छ हाम्रो पुस्तामा छ जस्तो लाग्छ ।

    –तपाईंले यसो भन्दै गर्दा सरकारको नेतृत्व गरेको पार्टी र प्रधानमन्त्रीले एमसीसी अगाडि बढाउनुपर्छ भनेर प्रक्रिया अगाडि बढाउनु भएको छ। गठबन्धनमा यही विषयले संकट आउने अवस्था देखियो त ?

    राष्ट्रहितविपरीत हाम्रो देशलाई अन्य देशको क्रिडास्थल बनाउने जुनसुकै गतिविधि अहिलेको नेपाली कांग्रेस र शेरबहादुर देउवाले गर्नुहुन्छ भने हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं । हाम्रो सरकारभन्दा हाम्रो देश प्यारो छ । अहिलेको सत्ताभन्दा देश प्यारो छ । अहिलेको सत्ताभन्दा जनताको भूमि प्यारो छ । हामी अपील गर्न चाहान्छौं र चेतावनी पनि दिन चाहन्छौं- अहिलेको सरकारले त्यस्तो नगरोस् । यस्तो किसिमको गतिविधिले गठबन्धन टिक्दैन ।

    –एमसीसीले यो गठबन्धन भत्काइदिन्छ भन्ने चर्चा बाहिर छ । यसको भविष्य चाहिँ के होला ?

    पहिलो कुरा यो गठबन्धन, राष्ट्रियताको पक्षमा उभिनुपर्छ । यो गठबन्धन राष्ट्रती सम्झौताको विपक्षमा उभियो भने रहन्छ । राष्ट्रियताको पक्षमा नबोल्ने, जनहितको काम नगर्ने, राष्ट्रघाती सम्झौता गर्ने हो भने त यो गठबन्धन कसरी जुट्छ त ? यो गठबन्धन बनेकै संविधान मिचेका कारणले हो । केपी ओलीले संविधान मिच्नुभयो । धर्मनिरपेक्षता समाप्त पार्न, संघीयता समाप्त पार्न लाग्नु भयो ।

    –यो गठबन्धन चुनावसम्म रहेन भने त तपाईंहरूलाई निकै गाह्रो होला नि त ?

    शेरबहादुर देउवाले सबै नराम्रो गर्नुभयो भने गठबन्धन रहिरहन्छ त ? केपी ओलीले संविधान विघटन गर्दा हामी विद्रोह गरेर अगाडि बढेका मान्छे हौं भने शेरबहादुर देउवाले गरेका गलत कामका पक्षमा हामी उभिन्छौं त ? हामी उभिदैनौं नि । अहिलेको पाँच दलको गठबन्धन भनेको विदेशी हस्तक्षेपविरुद्ध उभिन सक्ने हुनुपर्‍यो नि ।

    –चुनावमा चाहिँ तपाईंहरू कसरी जानुहुन्छ ? माओवादी र समाजवादीहरूसँग मोर्चाबन्दी हुन्छ कि एकीकरण ?

    एकीकृत समाजवादी एक्लै चुनावमा जान्छ । जनस्तरमा हाम्रा संगठन निर्माण गर्छौं । हामी जनतालाई भन्छौं- आज कम्युनिष्ट पार्टी किन विघटनको संघारमा पुग्यो ? हामी किन विद्रोहको ठाउँमा पुगेर कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्‍यौं भन्ने सन्दर्भलाई जनतामा बुझाउँछौं । केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन बच्ने अवस्था देखिएन । केपी ओलीकै कारणले कम्युनिष्ट आन्दोलन विसर्जनको दिशामा अगाडि बढ्यो ।

    –एक्लै जाँदा यत्रा ठूला पार्टीको कसरी समाना गर्नुहोला । एक्लै जाँदा तपाईंहरूको अस्तित्व रक्षा होला जस्तो लाग्छ ?

    हेर्दै जाउँ न । हाम्रो संगठनको अधार हेर्दै छौं । हाम्रा कमिटीहरूका आधार हेर्दै छौं । हाम्रो पार्टी पुर्नगठित भइसकेपछि जम्मा दुई-तीन ठाउँमा कार्यक्रम गरेका छौं । त्यसको सन्देश के हो भने देशभरी कम्युनिष्ट आन्दोलनलाई बचाउनुपर्छ । केपी ओलीमुक्त कम्युनिष्ट आन्दोलन बनाउनुपर्छ । यो आवाजलाई हामी संगठित गर्छौं ।

    –तपाईंको पार्टीमा देखाउने अनुहार पनि छैनन् । यसले त चुनावमा प्रभाव पार्ला नि ?

    यो देशमा सबैभन्दा देखिने, चिनिने अनुहार भनेको राजेश हमाल, करिश्मा मानान्धर, रेखा थापा हो । उनीहरूले चुनाव जितेको देख्नुभएको छ? कुनै पनि चुनाव जनताप्रतिको समर्पण र विचारले नै हो । पार्टीको देशप्रतिको नीति, विचार, सिद्धान्तले चुनाव जित्ने हो ।

    –त्यो मान्यतालाई बदल्न सक्नुहुन्छ ?

    त्यो सकिन्छ भन्ने संविधानसभाको २०६४ को चुनाव हेरे हुन्छ । कुन आधारमा मान्छेहरू भोट हाल्छन् । कुन आधारमा मान्छेहरू आफ्ना प्रतिनिधि छान्छन भन्ने कुरा त प्रष्टै छ नि ।

    –यस्तो लहर एक्लै ल्याउने कि गठबन्धन बनाएर ल्याउने ?

    हाम्रो अहिलेसम्मको सोच- हामी एकलरूपमा नै चुनावमा जान्छौं ।

    –गठबन्धन नबनाइ चुनावमा जाने ?

    सरकार बनाउन, केपी ओलीका निरंकुश गतिविधिमा ब्रेक लगाउन पो गठबन्धन भएको हो त ।

    –माओवादी र उपेन्द्र यादवको पार्टीसँग गठबन्धन पनि हुँदैन ?

    कहीँ कतै तालमेल होला तर हामी मुलतः एकलरूपमा नै चुनावमा जान्छौं । हाम्रो मुल मान्यता भनेको एकलरूपमा नै हाम्रो पार्टीलाई स्थापित गर्ने हुन्छ ।

    –तपाईंहरू एक्लै चुनावमा जानुभयो भने त आफ्नो पार्टी जिताउन त टाढाको कुरा एमाले केही मान्छेलाई पनि हराउन सक्नुहुन्न भन्ने टिप्पणी भइरहेका छन् नि ?

    केही चटकी मान्छेले गरेका यस्ता टिप्पणीको हामी पछि लाग्दैनौं । केही चटकी मान्छेहरूले त्यस्तो भनिरहेका छन्, तर उनीहरूले कतिपटक हारेका छन्, आफ्नो अनुहार एकपटक ऐनमा हेर्नु भएको छ ? गठबन्धन बन्दा पनि हार्नु भएको छ । त्यसकारण यी चटकेहरूको दावीको कुनै अर्थ छैन । हामीले बोकेको मूल मान्यतालाई कसरी लैजान्छौं भन्ने कुराले धेरै निर्धारण गर्छ ।

  • नेकपा एस भोलि नयाँ कार्यालयमा सर्दै, माधव नेपालले उद्घाटन गर्ने

    नेकपा एस भोलि नयाँ कार्यालयमा सर्दै, माधव नेपालले उद्घाटन गर्ने

    काठमाडौं । नव गठित नेकपा (एकीकृत समाजवादी) नयाँ कार्यालयमा सर्ने भएको छ ।

    यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको नेकपा एसको केन्द्रीय कार्यालय भोलि बिहान ११ बजे अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने भएका छन् ।

    भीएस निकेतन स्कूलको पुरानो भवनको छेउबाट वागमती करिडोरतर्फ रहेको घरलाई पार्टी कार्यालय बनाइएको नेकपा एसले जनाएको छ ।

  • वागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन, अष्टलक्ष्मी शाक्यलाई हटाउन गठबन्धन बनाउने

    वागमतीमा नेकपा एसका संसदीय पदाधिकारी चयन, अष्टलक्ष्मी शाक्यलाई हटाउन गठबन्धन बनाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल नियुक्त भएकी छन् । दलका नेता राजेन्द्र पाण्डेले उपनेतामा कृष्ण खनाल र सचेतक बसुन्धरा हुुमागाईलाई प्रस्ताव गरेका हुन् ।

    सोमबार बसेको दलको बैठकले वागमतीमा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय समेत गरेको छ ।
    गठबन्धनमा सामेल भएका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्नका लागि बैठकले पाण्डेलाई जिम्मा दिएको छ । पाण्डे मुख्यमन्त्रीका दाबेदार हुन् ।

    नेकपा एसले ३ दलीय गठबन्धन सरकारको तर्फबाट गर्ने साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल,बसन्त मानन्धर,मीना ज्ञवाली र बसुन्धरा हुमागाईलाई जिम्मा दिएको छ ।

    नेकपा एसले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसिकेकोले नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । सो पाार्टीले बहुमत गुमाइसकेको सरकारलाई विकास निर्माणका कार्यक्रम स्वीकृत गर्न,निश्चित सर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकास नगर्न समेत चेतावनी दिएको छ ।

  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

    एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले असोज ५ गते बैठक बोलाइको जानकारी दिए ।

    भदौ ९ गते नयाँ दलको मान्यता पाएपछिको नेकपा एसको यो पहिलो पटक केन्द्रीय कमिटी बैठक हो । भुसालका अनुसार सो बैठकमा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय संगठन बनाउने लगायतका मुख्य एजेण्डा छन् ।

  • प्रदेश २ : नेकपा एस संसदीय दलको नेतामा शत्रुधन महतो

    प्रदेश २ : नेकपा एस संसदीय दलको नेतामा शत्रुधन महतो

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ ।

    प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सनाखत गरेलगत्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए । उनकाअनुसार दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ ।

    नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो नेकपा एसमा पुगेपछि एमालेले संसदीय दलका नेता भने चयन गरेका छैन । एमालेले सांसद सत्यनारायण मण्डललाई संसदीय दलका नेता चयन गर्ने चर्चा छ ।

    केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको नेकपा एसले जनाएको छ । तर, कहिले र कतिवटा मन्त्रालयमा सहमति हुने भन्ने टुंगो लाग्न बाँकी रहेको सांसद यादवले जानकारी दिए ।

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

  • नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

    नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।

    प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ सभाका १० जना सांसदले एमाले त्यागेका थिए ।

    आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।

  • सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा

    सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एसको संसदीय दलको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे दलको बैठक आह्वान गरिएको नेकपा एसकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

    ‘बैठक बस्ने समय तय भएको छ तर, एजेन्डा तय भएका छैनन्’ उनले भनिन्, ‘दलले मान्यता पाएपछि पहिलोपटक हामी बस्दै छौँ, केही बिषयमा छलफल होला । ’

    सभामुखसहित २५ जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भन्दा पहिले प्रदेशको सबै भन्दा ठूलो दल थियो । अहिले एमाले सभामुखसहित ११ सदस्यमा सीमित भएर चौथो दल भएको छ भने १४ सांसदसहित नेकपा एस सबै भन्दा ठूलो दल भएको छ ।

    सबैभन्दा ठूलो दल रहेको नेकपा एसले आजको बैठकबाट दलको नेता छनोट गर्ने–नगर्ने भन्ने टुंगिएको छैन । आज सामान्य छलफल मात्रै भएको हुँदा सोमबार दलको नेता चयन नहुने सांसद तारालामा तामाङले बताए ।

    ‘हामीले छलफल गर्न बस्ने भनेका छौँ तर, आजै दलको नेता छनोट गर्ने बिषयमा छलफल भएको छैन ’ उनले भने ‘दलको नेता छनोटको बिषयमा फेरि छलफल होला । ’

    जेठ २ मा तामाङ एमाले कञ्चनपुरको अध्यक्ष थिए। अहिले नेकपा एसको दलको नेताका आकांक्षी हुन् ।

    त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी पनि दलको नेताका आकांक्षी हुन् । उनीहरु दुई मध्ये एक जना दलको नेता बन्न सक्ने बताइएको छ ।

    त्यसका अलवा प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट पनि दलको नेताको आकांक्षी रहेको बताइएको छ ।

    उनीहरु दुबै जना नेकपा एसका केन्द्रीय सदस्य हुन् ।

    ‘अहिलेसम्म दलको नेतामा चारजनाको नाम चर्चामा छ ’ नेकपा एसका एक सांसदले भने ‘प्रदेश सांसदमा सोडारी पक्षका धेरै छन् । केन्द्रमा सन्तुलन मिलाउन तामाङलाई बताउने सम्भावना छ । तामाङ र सोडारीमध्ये एकजना दलको नेता चुनिने सम्भावना छ ।’

  • नेकपा एस वागमती संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

    नेकपा एस वागमती संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

    काठमाडौं । नेकपा एसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । संसदीय दलका ज्येष्ठ सदस्य माधव पौडेलको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो ।

    बैठकले वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीको समर्थन नरहने स्पष्ट पार्दै सोको व्यहोरा प्रदेशसभा सचिवालयमा पठाउने निर्णय पनि गरेको छ ।

    बैठकले नेकपा एस वागमती प्रदेशसभा संसदीय दलको नेता पाण्डेलाई मुख्यमन्त्री बनाउन अन्य राजनीतिक दलसँग संवाद थालनी गर्ने निर्णय पनि गरेको छ ।

  • नेकपा एस रोज्न खोजेका दुई सांसदलाई भदौ २९ सम्म कुनै कारवाही नगर्न अदालतको आदेश

    नेकपा एस रोज्न खोजेका दुई सांसदलाई भदौ २९ सम्म कुनै कारवाही नगर्न अदालतको आदेश

    काठमाडौं । नेकपा एमालेबाट नेकपा एसको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी भएको छ ।

    न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश दिएको हो ।

    एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।

  • नेकपा एसमा जान पाउँ भन्ने सांसदको मुद्दामा आज आदेश आउने सम्भावना

    नेकपा एसमा जान पाउँ भन्ने सांसदको मुद्दामा आज आदेश आउने सम्भावना

    काठमाडौं । नेकपा एमालेको अभिलेखबाट आफ्नो नाम हटाएर नेकपा एसमा अद्यावधिक गर्न पाउँ भन्दै सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले दायर गरेको रिटमाथि आज आदेश आउने देखिएको छ ।

    दुईपटक सुनुवाइका लागि पेसीमा चढेर पनि हेर्न नभ्याइएको सो मुद्दा आज मीरा खड्काको इजलासमा एक नम्बरमा राखिएको छ । सामान्यतः यस्तो मुद्दाको सुनुवाइ लगातार पर्दा पहिलो नम्बरमा नहुने गरे पनि पाण्डेसहितको मुद्दालाई प्राथमिकता दिइएको छ ।

    पछिल्लो समय एमाले र केपी ओलीसँग सम्बन्धित मुद्दाहरू असार २८ को फैसलामा संलग्न न्यायाधीशहरूकै इजलासमा पार्ने गरिएको टिप्पणी भइरहेका बेला पाण्डेको मुद्दा पनि यसअघि आनन्दमोहन भट्टराई र आज मीरा खड्काको इजलासमा परेको हो ।

    उनीहरू दुवैजना असार २८ को फैसला गर्ने संवैधानिक इजलासमा थिए । सोमप्रसाद पाण्डे र माया भट्टले आफूहरुले नेकपा एसको पक्षमा सनाखत गर्न जाँदा निर्वाचन आयोगले नदिएको भन्दै रिट दायर गरेका थिए ।

  • नेकपा एसको पाल्पा अध्यक्षमा पाण्डे, गैरे सचिव

    नेकपा एसको पाल्पा अध्यक्षमा पाण्डे, गैरे सचिव

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पाल्पामा खिमानन्द पाण्डे (कमल)को अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।

    शनिबार पाल्पामा आयोजित भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको हो । पाल्पा कमिटीको उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन रहेका छन् ।

    नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरहरुले नेपालका धेरै ठाउँमा समानान्तर जिल्ला कमिटी गठन गरेको भएपनि पाल्पामा भने समानान्तर कमिटी गठन भएको थिएन ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोमप्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभइ जनताको मनले जित्न सकिने बताएका थिए ।

    भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । अहिले अध्यक्ष बनेका खिमानन्द पाण्डे (कमल) तत्कालीन एमालेका जिल्ला उपसचिव हुन् ।

  • सरकारमा नेकपा एसबाट कसले गर्ला नेतृत्व ?

    सरकारमा नेकपा एसबाट कसले गर्ला नेतृत्व ?

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित नै छ । सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सतारुढ गठबन्धनको छ ।

    यसबीच भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको चासाे छ ।

    करिब एक वर्षका लागि सरकार संचालन गर्ने समय भएकाले मन्त्रालय प्रभावकारी रुपमा चलाउन सक्ने व्यक्ति पठाउनुपर्ने दबाब नेताहरुलाई छ।

    पार्टी अध्यक्ष माधव नेपाल अझन् दबाबमा छन् । मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।

    माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने सम्भावना छ ।

    तर, नेकपा एसकै एक नेता न्यौपाने र भुसालको नेतृत्वमा नभइ तेस्रो व्यक्तिको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको बताउँछन् ।

    भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेकाले उनले पार्टी संचालनको जिम्मेवारी पाउने र न्यौपानेको यसअघिको पर्फमेन्स राम्रो नभएकाले दुवैजना सरकारमा नजाने उनको भनाइ छ।

    ‘बेदुरामले पार्टी चलाउने भनेपछि सरकारमा जाने कुरा भएन,’ ती नेताले नेपाल प्रेसँग भने, ‘मुकुन्द पनि हुनुहुन्छ । तर, उहाँहरु दुवैजना नजाने सम्भावना छ।’

    मुकुन्द न्यौपाने २०५६ तिर उद्योगमन्त्री बनेका थिए । त्यतिबेला उनको प्रस्तुति सन्तोषजनक थिएन । त्यहीं कारण न्यौपानेको सम्भावना कम रहेको बताइन्छ।

    ‘मुकुन्द्र कमरेडको राम्रो पर्फमेन्स नै भएन,’ ती नेताले भने, ‘उहाँको नेतृत्वमा जाँदा उपप्रधानमन्त्रीसहित जानुपर्यो । अहिले उपप्रधानमन्त्री नबाउने जस्तो पनि छ । अनि राम्रो मन्त्रालय पनि हुनुपर्यो । त्यसकारण उहाँको सम्भावना छैन।’

    उसो भए तेस्रो व्यक्ति को हो ? जसले सरकारमा जानेहरुको नेतृत्व गर्नेछ ? न्यौपाने र भुसाल नजाने भएपछि सांसदहरुमध्ये विरोध खतिवडा वरिष्ठ हुन् । यद्यपी मुकुन्द न्यौपानेबाहेक बेदुराम र विरोध पार्टीमा सिनियर भए पनि यसअघि मन्त्री नभएका कारण सरकारको वरियतामा उनीहरुभन्दा प्रेम आले अगाडि आउछन् । एकपटक मन्त्री भइसकेका कारण बरियताक्रममा उनको नाम पहिले आउँछ ।

    नेकपा एसबाट प्रेम आले,विरोध खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ,  रामकुमारी झाँक्री,भवानी खापुङ लगायत मन्त्री हुने सम्भावना छ।

  • चितवनमा तेजेन्द्रले छाडे माधवको साथ, नेकपा एसको अध्यक्षमा कृष्णराज

    चितवनमा तेजेन्द्रले छाडे माधवको साथ, नेकपा एसको अध्यक्षमा कृष्णराज

    चितवन । चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए ।

    शुक्रबार नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दासँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह गरेका थिए । उनी २०७३ मा एमाले चितवनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

    खड्का एमाले चितवनकै पुरानो जिम्मेवारी पाउने सुनिश्चित भएपछि उनी माधव पक्षीय दलबाट टाढिएको स्रोतको दावी छ । नेकपा एमाले चितवनको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बैठक यही २८ गते विहान ११ बजे मदननगरमा बस्दैछ ।

    नेपाल समूहको समानान्तर कमिटी गठनपछि एमालेकी तत्कालीन सचिव पार्वती रावलले एमाले चितवन अध्यक्षका रूपमा काम गर्दै आएकी थिइन् । १० बुँदे सहमतिका २०७५ जेठ २ अघिका संरचना व्युँताउने भएपछि चितवनमा तत्कालीन एमालेका संरचनाहरु पुरानै अवस्थामा चल्न संकेत देखिएका छन् । खड्का अलग्गिएपछि नेकपा (एकिकृत समाजवादी) चितवनको अध्यक्षको जिम्मेवारी डा. कृष्णराज पन्तलाई दिइएको छ । पन्त २०५८ सालमा एमालेको जिल्ला सचिवालय सदस्य, क्षेत्र नम्बर १ को इञ्चार्ज हुन् ।

    पन्तको नेतृत्वमा नेकपा एस चितवनको २ सय २३ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज लब्ली न्यौपाने, सचिवमा केपी लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्य चयन भएका छन् । यस्तै ५ सदस्यीय सचिवलाय सदस्यहरुमा खोमकान्त रेग्मी, नरेन्द्र कन्दङवा, प्रेमराज तिमिल्सिना, विष्णुराज महतो, विष्णुहरी तिवारी छन् ।

    भरतपुर महानगर-२२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा १ सय ६८ सदस्यीय भरतपुर महानगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा केशवराज पोखरेल, सहसचिवमा शोभा पण्डित रहेका छन् । सचिव पदमा पछि मनोनित हुने जनाइएको छ । जिल्ला र महानगर कमिटी दुवैलाई केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेले सपथग्रहण गराए ।

    सूर्य चिन्हले भोट जितिँदैनः राजेन्द्र पाण्डे

    नेकपा एसका नेता राजेन्द्र पाण्डेले जनताको मत जित्न चुनाव चिन्ह नै महत्वपूर्ण नहुने जिकिर गरेका छन् । नेता, कार्यकर्तालाई चितवनमा सम्बोधन गर्दै उनले भने, ‘तपाईं जनताको घरदैलोमा पुगेपछि आज भन्लान् सूर्य चिन्ह छोड्न सकिन्न । सूर्य चिन्ह छान्ने कि मलाई छान्ने भनेर सोध्नुस् न । हामीले नै चिनाएको हो सूर्य चिन्ह ।’

    कम्युनिष्ट पार्टी गलत बाटोमा लागेपछि जनताले नै सर्वनास गरिदिने उदाहरण सुनाए । माधव नेपाललाई धोका दिनेहरू आफैं धोका खाने दावी गरे । ‘वार्ता गर्ने साथीहरूले माधव नेपाललाई उनीहरू भयङकर विश्वास दिलाए, तपाईंको साथमा छौ भने, पार्टी नयाँ बनाउनुपर्छ भने’, उनले भने, ‘अन्तिममा उनीहरुले कुरा फेरे, माधव नेपाललाई धोका दिनेलाई उनीहरूलाई पनि कुनै दिन धोका हुन्छ होला नी । धोका दिनेले धोका खानैपर्छ, त्यो कुरा कहिल्यै विर्सनुहुँदैन ।’

  • स्थानीय तह : कुन जिल्लाका कति जनप्रतिनिधिले नेकपा एस रोजे (सूचीसहित)

    स्थानीय तह : कुन जिल्लाका कति जनप्रतिनिधिले नेकपा एस रोजे (सूचीसहित)

    काठमाडौं । संघीय संसदमा करिब प्रतिशत र प्रदेशसभामा करिब २३ प्रतिशत शक्तिसहित एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी स्थानीय तहमा पुग्दा भने १० प्रतिशतभन्दा तल खुम्चिएको छ । निर्वाचन आयोगले स्थानीय तहका नयाँ दल रोज्ने जनप्रतिनिधिको आधिकारिक विवरण दिइसकेको छैन ।

    जिल्लाबाट खामबन्दी पठाइएका विवरण अयोागमा पुग्ने क्रममा छन् । तर, विभिन्न जिल्लाका विवरणहरु यसअघि जिल्लागत र प्रदेशगतरूपमा आइरहेका छन् । नेपाल प्रेसले सातै प्रदेशका संवाददाताहरूमार्फत निकालेको विवरण र एमाले तथा नेकपा एसले आन्तरिक रिपोर्टिङ गरेका विवरण मिलेका छन् ।

    एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिालई नयाँ दल रोज्न निर्वाचन आयोगले गत भदौ २२ गतेसम्मको समय दिएको थियो ।

    एमालेबाट निर्वाचित देशभरका ७५३ स्थानीय तहका १४ हजार ७ सय १८ मध्ये १ हजार ४६३ जनाले नेकपा एस रोजेका छन् । यो भनेको समग्रमा करिब १० प्रतिशत हो ।

    स्थानीय तहमा एमाले विभाजनको ‘ट्रेन्ड’ हेर्दा पालिकाका प्रमुखभन्दा उप्रमुख धेरै र वडाध्यक्षभन्दा धेरै वडा सदस्यले नेकपा एस रोजेका छन् ।

    कार्यकारी तहमा रहेका धेरैले नेकपा एस नरोज्नुमा नजिकिँदो स्थानीय तहका निर्वाचअघि पार्टी छोडे चुनावमा जित्न सकिँदैन भन्ने मानसिकता रहेको देखिन्छ ।

    कुनै पनि पार्टीको संगठन निर्माण स्थानीय तहको पकडका आधारमा हुने भएकाले नेकपा एसका लागि स्थानीय तहको विभाजन उत्साहजनक नदेखिएको विश्लेषक विमल पोखरेल बताउँछन् ।

    प्रदेश २ को बलियो साथ, गण्डकीमा कन्तबिजोग

    नेकपा एसलाई प्रदेश २ बाट तुलनात्मकरूपमा बलियो साथ मिलेको छ । प्रदेशमा एमालेभन्दा ठूलो दल बन्न सफल नेकपा एसलाई स्थानीय तहमा पनि प्रदेश २ का ३३४ जना प्रतिनिधिको साथ छ, जुन करिब २८ प्रतिशत हो ।

    त्यसपछि कर्णाली प्रदेशबाट नेकपा एसलाई साथ छ । कर्णाली प्रदेशका ३ सय ४१ जनप्रतिनिधिले नेकपा एस रोजेका छन् जुन करिब २३ प्रतिशत हो ।

    नेकपा एसलाई बलियो साथ दिने प्रदेशमा सुदूरपश्चिम तेस्रो स्थानमा पर्छ । सुदूरपश्चिममा २०३ जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । यो करिब १३ प्रतिशत हो ।

    सु्दूरपश्चिम प्रदेशसभामा त नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । वागमती र लुम्बिनीमा नेकपा एसले अपेक्षित स्थानीय प्रतिनिधिको साथ पाउन सकेन ।

    गण्डकी प्रदेशमा भने नेकपा एस रोज्ने सबैभन्दा कम जनप्रतिनिधि छन् । त्यहाँका ४० जनाले मात्रै नेकपा एस रोजेका छन्, जुन तीन प्रतिशतभन्दा पनि तल हो ।

    जिल्लामा निल

    कतिपय जिल्लामा एकजनाले पनि नेकपा एमाले छाड्न नमान्दा नेकपा एस निल भएको छ । कुनै जिल्ला एकजना दुईजना वा पाँचजनाले मात्र रोजेका छन् । प्रदेश १ को सोलुखुम्बुमा एकजना सदस्यले समेत नेकपा एस नरोज्दा निल भएको छ भने ओखलढुंगामा जम्मा एकजनाले एमाले छाडेका छन् ।

    वागमतीबाट रसुवामा नेकपा एस निल भएको छ भने सिन्धुलीमा जम्मा एकजना वडा सदस्यले साथ दिएका छन् । सिन्धुपाल्चोकमा दुई जनामात्र एमाले छाड्नेमा छन् ।

    गण्डकीको लमजुङ, मनाङ र नवलपुरमा नेकपा एस निल भएको छ भने लुम्बिनीको गुल्मीमा पनि निल भएको छ । पाल्पा, पश्चिमनवलपरासी र कपिलवस्तुमा एक-एक जना सदस्यले एमाले छाडेका छन् । जनप्रतिनिधिहरूको विभाजन हेर्दा नेकपा एस जति तल पुग्यो त्यति कमजोर हुने देखिएको छ । यो भनेको मतदाताको तहसम्म पुग्दा नेकपा एसले ठूलो जनमत तलमाथि पार्न सक्दैन भन्ने हो तर एमालेलाई हराउन पुग्ने जनमत उसले निर्माण गर्न सक्छ कि सक्दैन ? यसका लागि पार्टीका कमिटीहरूमा पर्ने विभाजनको असरले मात्र निर्धारण हुनेछ ।

    आयोग भन्छ- एक साता लाग्न सक्छ

    नयाँ दल रोज्ने स्थानीय तहका जनप्रतिनिधिहरूको आधिकारिक विवरण सार्वजनिक हुन भने अझै एक साता लाग्न सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले नेपाल प्रेसलाई बताए ।

    अधिकारीले भने, ‘कतिपय दुर्गम जिल्लाबाट खामबन्दी विवरण आउन समय लाग्छ । बाटोहरू पनि बिग्रिएका छन् । सबै ठाउँबाट विवरण आइसकेपछि खोलेर हेरिन्छ र आयोगले निर्णय गरेर सम्बन्धित राजनीतिक दललाई जानकारी गराउँछ ।’

    प्रदेशसभाको हकमा प्रदेशसभा सचिवालयमा नयाँ दल रोजेका प्रदेशसभा सदस्यहरूको विवरण पठाइने र साविक दलको संख्या अद्यावधिक हुने आयोगले जनाएको छ । स्थानीय तहको हकमा भने सम्बन्धित राजनीतिक दललाई सूची उपलब्ध गराइनेछ ।

  • नेकपा एसमा समावेश हुन पाउँ भन्ने एमालेका दुई सांसदको रिटमाथि सुनुवाइ हुँदै

    नेकपा एसमा समावेश हुन पाउँ भन्ने एमालेका दुई सांसदको रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं । आफ्नो दलीय विवरण एमालेमा होइन नेकपा एसमा अद्यावधिक गराइ पाउँ भन्दै सर्वोच्च अदालत गएका प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पाण्डे र भट्टको रिटको सुनुवाइ हुन लागेको हो । यसअघि बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासमा परे पनि हेर्न नभ्याइएको थियो ।

    पाण्डे र भट्टको तर्फबाट मंगलबार सर्वोच्चमा रिट परेको थियो । एमाले विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका थिए । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।

    रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।

    पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी हुन् । उनी अन्तिम घडीसम्म एमाले एकताको पक्षमा लागेका थिए । उनी एमाले केन्द्रीय सदस्यसमेत हुन् ।

  • आफूहरू लक्षित एमालेको नारावाजीप्रति नेकपा एसले भन्यो- अनैतिक र निकृष्ट काम

    आफूहरू लक्षित एमालेको नारावाजीप्रति नेकपा एसले भन्यो- अनैतिक र निकृष्ट काम

    काठमाडौं। नेकपा (एमाले) ले संसद बैठकमा आफूहरू लक्षित गरेर गरेको नारावाजीलाई नेकपा एसले अलोकतान्त्रिक, असंवैधानिक, अनैतिक र निकृष्ट काम भनेको छ।

    एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘यो आफैं नांगिने हर्कत हो । यो अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक हो ।’

    एमालेका सांसदहरुले आफूबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका सांसदहरुलाई गैरसांसद भन्दै संसदबाट निकाल्न माग गरेर नारावाजी गरेका थिए। यसविरुद्ध एमाले अदालतमा पनि गएको छ।

    श्रेष्ठले भने, ‘आफैं अदालतमा जानु भएको छ र आफैले संसदमा उठाएर निकृष्ट काम गर्नु भएको छ ।’

    यस्ता कामको प्रतिवाद गर्नु नपर्ने र आफैं नांगिने उनको जिकिर छ ।

  • नेकपा एसमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

    नेकपा एसमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

    काठमाडौं । नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट आएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    दल विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका थिए । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।

    रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।

    पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी हुन् । उनी अन्तिम घडीसम्म एमाले एकताको पक्षमा लागेका थिए ।

  • विराटनगर, धरान र इटहरीका डेढ सय जनप्रतिनिधिमध्ये चारजना मात्रै नेकपा एसमा

    विराटनगर, धरान र इटहरीका डेढ सय जनप्रतिनिधिमध्ये चारजना मात्रै नेकपा एसमा

    इटहरी । प्रदेश १ को एकमात्र महानगर विराटनगर र दुई उपमहानगर धरान र इटहरीमा एमालेबाट चुनाव जितेका १४९ जनप्रतिनिधिमध्ये चार जना अर्थात् २.७ प्रतिशतले मात्रै नेकपा एस रोजेका छन् ।

    धरानमा १४ वडा अध्यक्ष, एकउपप्रमुखसहित ७४ जनप्रतिनिधि नेकपा एमालेका थिए । जसमा मनोनित नगर कार्यपालिका सदस्य कैलाश अग्रवालले नेकपा एस रोजेका छन् ।

    इटहरीका प्रमुख, उपप्रमुख र ८ जना वडा अध्यक्ष गरेर ६१ जनप्रतिनिधिमध्ये २ जनाले नेकपा एस रोजेका छन् । नेकपा एस रोज्नेमा मनोनित नगर कार्यपालिका सदस्य गौरिमान परियार र वडा नम्बर २ का सदस्य सन्तोष राई छन् ।

    ४ वडा अध्यक्षसहित १४ जनप्रतिनिधि भएको विराटनगरमा एकले मात्रै नेकपा एस रोजेकी छन् । वडा नम्बर ४ की सदस्य सुशीला पोखरेलले नेकपा एस रोजेकी हुन् ।

    वडा नम्बर १० मा बागी उम्मेदवारी दिएर वडाध्यक्ष जितेका माधवराज वाग्ले कतै खुलेका छैनन् ।

  • भोजपुरका एक उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे नेकपा एस

    भोजपुरका एक उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे नेकपा एस

    काठमाडौं । भोजपुरमा एक उपमेयरसहित एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत (समाजवादी) रोजेका छन् ।

    भोजपुर नेकपा एसका प्रभावशाली नेता राजेन्द्र राईको गृहजिल्ला हो ।

    विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमा सकिने आज अन्तिम दिन भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसमा सनाखत गरेका हुन् ।

    एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई छन् ।

    त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विकले पनि एमाले छाडेका छन् ।

  • सुरेन्द्र पाण्डेको आँकलन- माधव नेपाल फुट्दा एमालेलाई ५ देखि १० प्रतिशत क्षति

    सुरेन्द्र पाण्डेको आँकलन- माधव नेपाल फुट्दा एमालेलाई ५ देखि १० प्रतिशत क्षति

    पोखरा । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधव नेपाल समूहको फुटका कारण एमालेलाई ५ देखि १० प्रतिशतसम्म क्षति पुग्ने आँकलन गरेका छन् । पोखरामा मंगलबार आयोजित एमालेको भेलालाई सम्बोधन गर्दै पाण्डेले औसत ५ प्रतिशत नोक्सान हुने बताए ।

    पाण्डेले भने, ‘देशैभरिका स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सान हुन सक्छ । तर पनि हामी यसलाई कभर गर्छौं । जति तल गयो त्यति मतदाता लेभलसम्म पुग्दा माधव नेपालजीहरूको पार्टी छैन ।’

    पाण्डेले एमालेलाई छिन्नभिन्न पार्ने खेल माओवादी भित्रिएपछि शुरू भएको भन्दै आफूहरू एमाले एकताका पक्षमा उभिएका कारण माधव नेपालसँग न्यून संख्यामा मान्छे गएको बताए ।

    माधव नेपालले अझै पनि एमालेमा फर्किएमा क्षमादान हुन सक्ने भन्दै पार्टी फुटाएर गम्भीर गल्ती गरेको आरोप पाण्डेले लगाए । आफैंले गठन गरेको कार्यदलप्रति पनि विश्वास नगरी माधव नेपाल अन्यत्रैबाट चलेको उनको आशंका छ ।

    अध्यक्ष केपी ओलीसहित पाण्डे पोखरामा गएका हुन् । उनी तत्कालीन माधव नेपाल समूहको समानान्तर अभ्यासका बेला गण्डकी प्रदेशको इन्चार्जको भूमिकामा थिए ।

  • नेकपा एस रोजेका तारकेश्वरकी उपमेयरसहित ४ जना एमालेमा फर्किए

    नेकपा एस रोजेका तारकेश्वरकी उपमेयरसहित ४ जना एमालेमा फर्किए

    काठमाडौं । तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेलले नेकपा (एस) का पक्षमा गरेको सनाखत फिर्ता लिएकी छिन् । सनाखत गर्ने अन्तिम समय सकिनै लाग्दा मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर उनले सनाखत फिर्ता लिएकी हुन् ।

    डोटेलसहित शंखरापुर नगरपालिकाका दुई वडासदस्य र तारकेश्वरका एक वडा सदस्यले सनाखत फिर्ता लिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयमा पुगेर भाद्र २१ र २२ गते सनाखत फिर्ता लिनेमा तारकेश्वर नगरालिककी उप्रमुख भवानी डोटेल,तारकेश्वर नगरपालिका वडा नं ५ की सदस्य रमा कुमारी दाहाल , शंखरापुर नगरपालिकाका कार्यपालिका सदस्य अनिल परियार र वडा नं १ की सदस्य तिल कुमारी दमाई रहेका छन।

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई,जिल्ला कमिटीका सचिव तथा प्रदेस सभा सदस्य दीपक निरौला , प्रदेस सभा सदस्य गणेश दुलाल सहितको उपस्थितिमा जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल सहितका जनप्रतिनिधिले सनाखत फिर्ता गर्नका लागि निवेदन दिएका छन।

  • गाउँपालिका अध्यक्ष र उपमेयरसहित डोटीका तीन जनाले रोजे नेकपा एस, अरु थपिने आलेको दावी

    गाउँपालिका अध्यक्ष र उपमेयरसहित डोटीका तीन जनाले रोजे नेकपा एस, अरु थपिने आलेको दावी

    डोटी । डोटी जिल्लाका तीन जना एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । संघीय सांसद तथा तत्काली नेकपा एमालेका जिल्ला इन्चार्ज प्रेम आलेको गृहजिल्लामा विगतमा अ‍ोली पक्षमा रहेकाहरुले नेकपा एस रोजेका हुन् ।

    दल रोज्न पाउने समय सकिनु एक दिनअघि पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी,दिपायल सिलगढी नगरपालिकाका उपमेयर शिवराज खड्का र सायल गाउँपायिलका-३ का अध्यक्ष गोरखवहादुर सार्कीले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

    आलेका अनुसार मंगलबारसम्म अरु स्थानीय तहका जनप्रतिनिधिले पनि नेकपा एसको पक्षमा सनाखत गर्नेछन् । डोटीका ५ स्थानीय तहमा एमालेले जितेको थियो ।

    आलेले एमाले छाडेसँगै नेकपा एसको पक्षमा जिल्लाका नेता कार्यकर्ता र जनप्रतिनिधि खुल्ने क्रम बढेको छ ।आलेले प्रदेशसभामा समेत नेकपा एसको पक्षमा चार जना सांसद जुटाएका छन् ।

  • मीनभवनमा असोजदेखि नेकपा एसको कार्यालय संचालनमा आउने

    मीनभवनमा असोजदेखि नेकपा एसको कार्यालय संचालनमा आउने

    काठमाडौं। नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि आफ्नो मुख्यालय राजधानीको मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ।

    हाल एकीकृत समाजवादीले बानेश्वरबाट अस्थायी रुपमा दैनिक प्रशासनिक कार्यव्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा. बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ।

    बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए।

    हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ। निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधी प्रदान गरेको छ ।

  • नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

    नेकपा एसनिकट अनेरास्ववियूले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग्दै नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । सोक्रममा प्रदर्शनकारीले उनको पुत्लासमेत जलाएका छन् । मीनभवनस्थित नेपाल कमर्श क्याम्पसअगाडिको प्रदर्शनमा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

    भारतीय प्रधानमन्त्री र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध नबोल्न विज्ञप्ति जारी गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन् । विद्यार्थी नेता/कार्यकर्ताले एमसीसी खारेज गर्नुपर्ने, जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायतका नाराहरू लगाएका छन् ।

     
     
     
     
     
     
     
     
     
     
     
    तस्बिरहरू : उमेश कार्की ।
  • नेकपा एसनिकट अनेरास्ववियूको चेतावनी- देउवा सरकारका यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ

    नेकपा एसनिकट अनेरास्ववियूको चेतावनी- देउवा सरकारका यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ

    काठमाडौं । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गरेको भन्दै गृहमन्त्रालयले आइतबार यस्ता काम गर्नेलाई कारवाही गर्ने चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो ।

    दुई दिनअघि अमेरिकी साहायता परियोजना एमसीसीविरुद्ध अभिव्यक्ति दिनेलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति निकालेको गृहले फेरि उस्तै खाले वक्तव्य निकालेपछि सरकारको सार्वजनिक आलोचना भएको छ । कतिपयले शेरबहादुर देउवा सरकार नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै आलोचना पनि गरेका छन् ।

    देउवा सरकारकै सहयात्री दल हो हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) । गृहको आजको विज्ञप्ति नेकपा एसकै भ्रातृ संगठन अनेरास्ववियूको प्रदर्शनपछि आएको हो । १८ भदौमा अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको सडकमा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको प्रदर्शनमा नेपाली सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देऊ, भारतीय हस्तक्षेप मुर्दावाद लेखिएका प्लेकार्डसहित चर्का नाराबाजी गरेका थिए ।

    तर, नेकपा एसनिकट अनेरास्वियूका अध्यक्ष सुदेश पराजुली गृहमन्त्रायलको यस्तो विज्ञप्ति सडकबाटै च्यातिने बताउँछन् । ‘गृह मन्त्रालयले जुन विज्ञप्ति निकालेको छ, त्यो अत्यन्तै भर्त्सनायोग्य छ,’ नेपाल प्रेससँगको कुराकानीमा पराजुलीले भने, ‘यो विज्ञप्तिको कुनै अर्थ छैन । यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ ।’

    १८ भदौमा अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको सडकमा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको थियो ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफ्नो पार्टीको सर्मथन भएपछि गलत काम गरे जोसुकैविरुद्ध आन्दोलनमा उत्रिने पराजुलीको चेतावनी छ। ‘हामी अनेरास्ववियू दबाब, जागरण र प्रतिपक्ष आन्दोलनको नेता संगठन हो,’ उनी भन्छन्, ‘शेरबहादुर देउवाले गलत काम गर्नुभयो भने यसका विरुद्धमा हामी देशभरी आन्दोलनमा उत्रिन्छौं ।’

    यसले सत्ता गठबन्धनमा असर पार्ला नि भन्ने प्रश्नमा पराजुली राष्ट्रघाती काम जुनसुकै सरकारले गरे पनि विरोध गर्ने बताउँछन् । ‘हामी स्पष्ट छौं-यो सरकारले राम्रो काम गर्छ, जनपक्षीय काम गर्छ भने हामी त्यसको समर्थनमा हुन्छौं,’ उनको भनाइ छ, ‘सरकारले राष्ट्रघाती काम गर्छ, जनविरोधी काम गर्छ भने त्यसका विरुद्धमा हामी छौं । हामी हिजोदेखिकै यो भूमिकालाई निखारता दिँदै आएको संगठन हो । सत्तामा शेरबहादुर देउवा हुनुहोस् या केपी ओली गलत कामका विरुद्धमा हाम्रो संगठन उपयुक्त ढंगले लड्छ ।’

    अमेरिकी साहायता परियोजना (एमसीसी) मा आवश्यक परिमार्जन भएमात्रै आफूहरूले त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ । ‘एमसीसी कुनै हालतमा पारित गर्नुहुँदैन,’ पराजुलीले भने, ‘हाम्रा पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको जुन प्रतिवेदन छ, त्यसका आधारमा परिमार्जन भयो भने त्यसलाई स्वीकार गर्न सकिन्छ ।’

  • नेकपा एसको दस्तावेज मस्यौदाको जिम्मा झलनाथ खनाललाई

    नेकपा एसको दस्तावेज मस्यौदाको जिम्मा झलनाथ खनाललाई

    काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीका दस्तावेजको मस्यौदा गर्ने जिम्मेवारी दिएको छ ।

    खनाल नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरी १४ भदौमा स्वदेश फर्किएका थिए । निवासमा आराम गरिरहेका उनले राजनीति सक्रियता बढाइसकेका छैनन् ।

    नेकपा एसले खनाल नेतृत्वमा १३ सदस्य रहेको मस्यौदा कमिटी गठन गरेको हो । नेकपा एसले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा चाँडै गरिने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक लगायतका प्रतिवेदनको मस्यौदा तयार पार्न कमिटी बनाइएको उल्लेख गरिएको छ।

    पार्टी दर्ता गर्दा निर्वाचन आयोगमा पेस गरिएका दस्तावेज परिमार्जन पनि यही कमिटीले गर्ने बताइएको छ । कमिटीमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक छन् ।

  • महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षद्वारा नेकपा एसको पक्षमा सनाखत

    महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षद्वारा नेकपा एसको पक्षमा सनाखत

    काठमाडौं । काठमाडौं महानगरका केही वडाध्यक्षले एमाले छाडेका छन् । नवगठित नेकपा (एकीकृत समाजवादी) महानगरका दुईसहित ५ वडाध्यक्षले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

    एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा कामनपा- ७ का सुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल छन् ।

    त्यस्तै बूढानीलकण्ठ नगरपालिका- ३ का बालकृष्ण श्रेष्ठ, टोखा-९ का जोगप्रसाद नेपाल, तारकेश्वर-२ का रवीन्द्र केसी, तारकेश्वर-६ की मधु कार्की, शंखरापुर-९ का घनश्याम थापाले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

  • रोल्पाका एमाले जनप्रतिनिधि सबै मूल पार्टीमै (सूचीसहित)

    रोल्पाका एमाले जनप्रतिनिधि सबै मूल पार्टीमै (सूचीसहित)

    रोल्पा । एमाले विभाजन भएसँगै केन्द्रदेखि गाउँसम्म पनि त्यसको असर देखिएको छ । नयाँ पार्टी रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन अयोगले दिएको भदौ २२ सम्मको सीमा नजिकिँदैछ ।

    रोल्पामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहने भएका छन् । १० स्थानीय तह रहेको रोल्पामा एमालेले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामात्रै जितेको थियो ।

    त्रिवेणीका अध्यक्ष शान्तकुमार वलीसहित र रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढासहित सबै जनप्रतिनिधि एमालेमै रहने भएका छन् ।

    यी दुई गाउँपालिकामा एमालेबाट जितेका अधिकांश जनप्रतिनिधि पनि एमालेमै रहने भएका छन् । त्रिवेणीका चार वडामा एमालेले वडाध्यक्ष जितेको थियो ।

    वडा नम्बर २ का कविराज बुढा, ३ का टीकाराम वली, ५ मा कृष्णबहादुर केसी र ७ भानबहादुर घर्तीले जितेका थिए ।

    त्यस्तै रुन्टीगढीकामा एमालेले दुई वडामा जितेको थियो वडा ५ मा यमबहादुर दशौदी राना र वडा ९ मा नेपबहादुर थापाले चुनाव जितेका थिए।

    प्रदेशसभा भने माओवादी केन्द्र र एमालेबीच गठबन्धन हुँदा सबै सिट माओवादीले पाएको थियो ।

    जनप्रतिनिधिले एमालेबाट विभाजित भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) नरोजे पनि २०७५ जेठ २ को कमिटीका केही नयाँ पार्टी रोजेका छन् ।

    जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती नेकपा एसमा खुलेका छन् । अन्य सबै पदाधिकारी भने एमालेमै रहने भएका छन् । पदाधिकारीमा एक्ला घर्तीलाई ८५ सदस्य जिल्ला कमिटीबाट केही सदस्यले साथ दिएका छन् ।

    जिल्ला कमिटी सदस्यहरूमा मनप्रसाद घर्ती, नेपबहादुर डाँगी, अमृत चन्द, मानसिंह डाँगी, मनकली डाँगी, शान्तराज बोहरा, हितबहादुर रोका लगायत एकीकृत समाजवादीमा खुलेका छन् ।

    साविकको जिल्ला कमिटीका १० प्रतिशत भन्दा बढी नेकपा एसमा नजाने एमाले जिल्ला कमिटी सदस्य ईश्वरी जीएम बताउँछिन् ।

    पार्टीको अधिकांश पालिका कमिटी अध्यक्षहरु पनि एमालेमै रहने भएका छन् । थवाङ गाउँपालिकाका अध्यक्ष हितबहादुर रोकाले एकीकृत समाजवादीमा रोज्ने भएका छन् ।

    त्यस्तै रुन्टीगढी गाउँपालिका कमिटीका अध्यक्ष आसाराम बुढा तटस्थ देखिएका छन् । उनी आफ्नो व्यवसायमा रहेकाले तथस्ट देखि पनि एकीकृत समाजवादीमा भने नलाग्ने जीएमको भनाइ छ ।

    रोल्पा नगर कमिटीका अध्यक्ष बालकृष्ण आचार्य पहिले माधव समूहतिर रहेका भए पनि अहिले एमाले नै रोज्ने भएका छन्।

    गंगादेव गाउँपालिका कमिटी अध्यक्ष रोशन वली एमालेमै रहने भएका छन् । त्यस्तै सुनिलस्मृतिका अध्यक्ष पनि एमालेमै रहने भएका छन् । सुनिल स्मृति पालिका कमिटीका सचिव हितबहादुर आले भने एकीकृत समाजवादीमा जाने भएका छन् ।

    त्रिवेणी, सुनछाहारी, परिवर्तन र लुङ्ग्री गाउँपालिका कमिटी अध्यक्षहरू पनि एमालै रहने भएका छन् ।

  • ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित)

    ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित)

    झापा । नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् ।

    एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको प्रभाव वडा सदस्यसम्म परेको छ ।

    अध्यक्ष ओलीको गृहजिल्ला झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेका ९ जना छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष र कुमारी मेचे तथा विमला विक समानुपातिक सांसद हुन् ।

    उनीहरू पाँचैजनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै छन् । प्रदेशसभाका ९ जनामध्ये सबै सांसद एमालेमै रहँदा माधव नेपाल नेतृत्वको पार्टीमा संघ र प्रदेशका सांसदको संख्या शून्य भएको छ ।

    त्यस्तै झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका थिए । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष, ४जना उपाध्यक्ष छन् । उनीहरूमध्ये नेकपा एसको पक्षमा सनाखत गर्न एकजना पनि गएका छैनन् ।

    त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहने भएका छन् भने वडा अध्यक्ष तथा सदस्यहरू कसैले पनि एमाले नछाडेको एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुखसमेत रहेका नेता अग्नि खरेलले बताए ।

    निर्वाचन आयोगले दिएको समय २२ गतेसम्म रहेकोमा शुक्रबारसम्म एकजना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका लागि नआएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘झापामा जसपाबाट स्थानीय तहमा जनप्रतितिनिधि छैनन् । एमालेबाट निर्वाचित भएका कोही पनि सनाखत गर्न आउनुभएको छैन । एकजना वडा सदस्य बुझ्न भनेर आउनुभएको थियो तर फर्किनुभयो ।’

    एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले झापामा सिंगो पार्टी कमिटी र जनप्रतिनिधिहरू पार्टी एकताको पक्षमा उभिएको बताए ।

    स्थानीय तहबाट निर्वाचितमध्ये अर्जुनधाराका मेयर हरि राना,भद्रपुरकी उपमेयर चन्द्रा श्रेष्ठ र शिव सताक्षीकी उपमेयर भोजकुमारी नेपाल विभाजनपूर्व माधव नेपाल समूहमा थिए ।
    तर विहीवारको जिल्ला कमिटी सचिवालय बैठकमा सहभागी भएर उनीहरुले एमालेमै रहने बताएका छन् ।

    सूचीमा हर्नुस् :

  • वागमती प्रदेशसभामा नेकपा एसको संख्या बढ्यो, एमाले छाडेर मीनाले गरिन् सनाखत

    वागमती प्रदेशसभामा नेकपा एसको संख्या बढ्यो, एमाले छाडेर मीनाले गरिन् सनाखत

    हेटौंडा । नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एस रोजेकी छन् ।

    समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । उनको प्रवेशसँगै वागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद पुगेका छन् ।

    यसअघि राजेन्द्र पाण्डेसहित ११ सांसदले नेकपा एसको पक्षमा सनाखत गरिसकेका छन् । वागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब ४३ जना बाँकी रहेका छन् ।

    एमालेले बहुमतसमेत प्रदेशसभाबाट गुमाइसकेको छ । नेकपा एस रोज्ने ज्ञवालीका पति रुद्र नेपाल एमालेनिकट कानून व्यवसायीहरूको संगठन पीपीएलएका अध्यक्ष हुन् । उनी भने पार्टी विभाजनको विपक्षमा छन् ।

  • भारतीय हस्तक्षेपको विरोध गर्दै मोदीको पुत्ला दहन (तस्बिरहरू)

    भारतीय हस्तक्षेपको विरोध गर्दै मोदीको पुत्ला दहन (तस्बिरहरू)

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठनले भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

    अनेरास्ववियूको आव्हानमा काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअघि प्रदर्शन गरिएको हो । विरोधमा उत्रिएकाहरूले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे, भारतीय हस्तक्षेप मुर्दाबादलगायतका नारा लगाएका थिए ।

    
     
      
    
     
     
      
    
  • झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

    झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झलनाथ खनालसहित ६ जनाले पार्टी फुटाउन गरेको सनाखत अवैध भएको दावी गरेको छ ।

    एकीकृत समाजवादीलाई छुट्टै दलको मान्यता दिने आयोग निर्णयविरुद्ध सर्वोच्च गएको एमालेले दल दर्ता गर्दा झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानूनविपरीत भएको भनेको हो ।

    ‘विपक्षी झलनाथ खनालको सम्बन्धमा निर्वाचन आयोगको उक्त निर्णयको दोस्रो पानामा निज केही समयदेखि भारतस्थित एपोलो अस्पतालमा उपचाररत रहेको र भारतस्थित नेपाली राजदूतावासबाट सनाखत गर्न अनुरोध गरेको र मिति २०७८।०५।०४ को छुट्टै दल दर्ताको निवेदनमा सूचीमा निजको नाम समावेश भएको भनी लेखिएको छ,’ रिटमा भनिएको छ, ‘जबकी निजले शुरू छुट्टै दल दर्ताको निवेदन २०७८।५।२ मा दर्ता भएकोमा समेत निजको दस्तखत छैन । यसरी शुरु निवेदनमा दस्तखत नै नभएका व्यक्तिको हाल आएर सनाखत गराउन मिल्दैन ।’

    आयोगले नै शुरू निवेदनमा नाम नभएको कारणले सनाखन नगराएको भन्दै एमालेले शुरू निवेदनमा नाम नहुनु र शुरू निवेदनमा हस्ताक्षर नहुनुमा कुनै फरक नभएको तर्क गरेको छ ।

    यस आधारमा प्रदीप नेपाल, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत यादव , रविन्द्र वैठा धोवी र खगेन्द्र चुडालको समेत सनाखत कानूनसम्मत नभएको दावी रिटमा गरिएको छ।

  • एमाले जेठ २ मा फर्किँदा २५ जिल्ला अध्यक्षले छाडे माधवको साथ (सूचीसहित)

    एमाले जेठ २ मा फर्किँदा २५ जिल्ला अध्यक्षले छाडे माधवको साथ (सूचीसहित)

    काठमाडौं । २०७५ जेठ २ अघिको एमालेभित्र माधव नेपाल पक्षका जिल्ला अध्यक्षहरू बहुमत रहेकोमा पार्टी विभाजन हुँदा भने निकै कम संख्याले मात्र नेपाललाई साथ दिने देखिएको छ ।

    १० बुँदे सहमति कार्यन्वयनसँगै एमाले जेठ २ मा फर्किँदा माधव नेपाल पक्षका अधिकांश जिल्ला अध्यक्ष भने एमालेमै बस्ने भएका छन् । जेठ २ अघिको एमालेमा ७७ मध्ये माधव पक्षका ३८ जिल्ला अध्यक्ष थिए ।

    नेपालले पार्टी विभाजन गरेर नेकपा (एस) गठन गर्दा जेठ २ अघिका १३ जिल्ला अध्यक्षले उनलाई साथ दिने देखिएको छ । नेपाल समूहमा रहेका तर १० बुँदे सहमति कार्यान्वयनपछि दुवै पक्षसँग संवादमा रहेका केही अध्यक्षले आफ्नो कित्ता प्रष्ट पार्न बाँकी छ ।

    एमाले जेठ २ मा फर्किँदै गर्दा प्रदेश १ का माधव नेपाल समूहका ६ जना जिल्ला अध्यक्षमध्ये संखुवासभाका हेमराज घिमिरेमात्र नेकपा एसमा समाहित भएका छन् ।

    नेपाल पक्षले तत्कालीन एमालेमा ताप्लेजुङ, इलाम, तेह्रथुम, सुनसरी, उदयपुर, संखुवासभा र खोटाङमा अध्यक्ष जितेको थियो ।

    प्रदेश २ मा नेपाल पक्षका चारजना अध्यक्ष रहेकोमा बाराका सुन्दर विश्वकर्मा दुवै पक्षसँग छलफल गरिरहेका छन् । अन्य तीनजना नेपाल पक्षमा खुलेका छन् ।

    माधव नेपाल समूहको राम्रो मानिएको वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र अरुण नेपाल एमालेमा बसेका कारण नेकपा एसमा जानेको संख्या न्यून भएको छ ।

    नेपाल पक्षले रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रसुवा र चितवनमा अध्यक्ष जितेको थियो । पार्टी विभाजन हुँदा काभ्रेका टोकबहादुर वाइबा र मकवानपुरमा मुनु सिग्देलमात्र नेकपा एसमा लागेका छन् ।

    गण्डकीमा जेठ २ अघि माधव नेपाल पक्षका एकमात्र जिल्ला अध्यक्ष थिए बागलुङका ईन्द्रलाल सापकोटा । उनले पनि पार्टी विभाजनमा नेपाललाई साथ नदिएपछि नेकपा एस निल भएको छ ।

    लुम्बिनीमा माधव पक्षबाट चारजना जिल्ला अध्यक्ष थिए । दाङका टिकाराम खड्का अझै पनि तटस्थ देखिएका छन् भने बाँके र रोल्पाका अध्यक्षले नेपाललाई साथ दिएका छन् ।

    माधव नेपालको सबैभन्दा राम्रो मानिएको कर्णालीमा जेठ २ अघि उनको पक्षका पाँचजना जिल्ला अध्यक्ष रहेकोमा विभाजनको बेला रुकुमपश्चिमका विमल पुनले मात्र साथ दिएका छन् ।

    सुदूरपश्चिममा माधव नेपालका जेठ २ अघिका अध्यक्ष ६ जना थिए । विभाजनको बेला चारजना अध्यक्ष नेपाल पक्षमा खुलेका छन् भने एकजना तटस्थ छ । जेठ २ अघिका जिल्ला अध्यक्षहरूमध्ये सुदूरपश्चिममा नेपाल पक्षमा धेरै देखिएका छन् ।

    यस्तो छ सूची :

  • प्रदेश सांसद शान्तिले अन्तिममा छाडे माधवको साथ, एमाले रामेछापको अध्यक्षमा पुनर्वहाली हुँदै

    प्रदेश सांसद शान्तिले अन्तिममा छाडे माधवको साथ, एमाले रामेछापको अध्यक्षमा पुनर्वहाली हुँदै

    रामेछाप । नेकपा एमाले रामेछापका जेठ २ अघिका अध्यक्ष शान्तिप्रसाद पौडेलले अन्तिम घडीमा माधव नेपालको साथ छाडेका छन् । प्रदेशसभा सदस्यहरूले नेकपा एसको पक्षमा सनाखत गर्ने बेलामा उनी हेटौंडा नगइ रामेछापतर्फ लागेका छन् ।

    पौडेलले आजसम्म पनि एमालेमै रहने कि नेकपा एसमा जाने भन्ने निर्णय गर्न सकेका थिएनन् । उनले दुवैतिर मन्त्रीको बार्गेनिङ गरिरहेको बताइएको थियो । तर, १० बुँदे सहमति कार्यन्वयन भएर आफू एमालेको अध्यक्षको भूमिकामा फर्किन पाइने भएपछि पौडेलले माधव समूह छाडेका हुन् ।

    उनी जिल्लामा हाल एमालेको अध्यक्ष रहेका आनन्द श्रेष्ठलाई सम्पर्क गरेर आफू पार्टी बैठक बोलाउन मन्थली आउन लागेको जानकारी गराएका थिए । आजै एमाले रामेछापले आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले एकताको पक्षमा उभिने सबैले पूर्ववत जिम्मेवारी पाउने भन्दै आफू पार्टी बलियो बनाउनका लागि सचिवको भूमिकामा फर्किन तयार रहेको बताएका छन् ।

    पौडेल एमाले रामेछापको अध्यक्ष थिए । नेकपा एकतापछि माओवादीले अध्यक्ष पाउँदा उनी सचिव थिए । एमाले ब्युँतिएपछि उनी माधव नेपाल समूहमा थिए भने एमालेले पुस ५ पछि नै तत्कालीन नेकपा ओली पक्षको अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियालाई बनाएको थियो ।

  • वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा

    वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा

    काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

    अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, उनले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

    योसँगै एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।