काठमाडौं । अखिल नेपाल किसान महासंघले गुटगत कुनै पनि भेला नगर्न चेतावनी दिएको छ। बामदेव गौतम अध्यक्ष रहेको महासंघले छैठौं महासम्मेलनबाट निर्वाचित कमिटीविरुद्ध गुट बनाउने कार्य खेदजन्य रहेको बताएको हाे ।
कार्यालय सचिव डिबी कार्कीले सोमबार जारी गरेकाे विज्ञप्तिमा चैत ६ गते गौतमको नेतृत्वमा आधिकारिक बैठक बसेको र राष्ट्रिय समितिको बैठक बोलाउने तयारी गरिरहेको उल्लेख गरिएको छ । ‘उक्त बैठकले यथाशिघ्र राष्ट्रिय समितिको बैठक बोलाउने तय गरिरहेको अवस्थामा कुनै गुट विषेशबाट अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला गरेको भन्ने कुरा समाचार माध्यामबाट जानकारी भएकोले अनाधिकृत रुपमा एमालेको आधिकारिक किसान महासंघ र छैठौं महासम्मेलनबाट निर्वाचित कमिटीविरुद्ध गुट बनाउने, विभाजन गर्ने काम खेद जन्य रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गौतम नेतृत्वको महासंघ नै नेकपा एमालेकोको आधिकारिक महासंघ भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गलत कृयाकलापबाट सतर्क रहन र छैठौं महासम्मेलनबाट निर्वाचित अखिल नेपाल किसान महासंघको नेतृत्वमा बनेका सम्पूर्ण कमिटी र कमिटीमा आवद्ध सबै तहका नेता, कार्यकर्ता, सदस्य अध्यक्ष कमरेड बामदेव गौतमकै नेतृत्वमा रहेको महासंघनै एमालेको आधिकारिक महासंघ भएकाले, यसको विधानले व्यवस्था गरे अनुसार गर्न गराउन सबैमा जानकारी गराईन्छ ।’
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसद तथा उम्मेदवारहरूको सूची हेरफेर गर्ने र आवश्यक पत्राचारको अधिकारसमेत अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि समानुपातिक सांसदहरूबीच खैलाबैला हुन थालेको छ ।
नेकपा विभाजनमा प्रचण्ड-माधव पक्षमा लागेका र पुन.स्थापनापछि एमाले बनेका माधव नेपाल पक्षका सांसदहरू प्रतिनिधिसभामा ३८ जना थिए । यसबीचमा कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवाली संस्थापन पक्षमा खुलेका छन् ।
माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । समानान्तर कमिटीहरू गठन गर्न भेला बोलाएको र पार्टी फुटाउन खोजेको भन्दै केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित चारजना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरिसकेको छ ।
स्पष्टीकरण मागिने चारैजना नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाल प्रत्यक्ष निर्वाचित हुन् । रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्ने प्रसंगमा अध्यक्ष ओलीले स्पष्टीकरणका लागि ‘वजन’ नपुगेको र समानुपातिकलाई पार्टीले हटाउन सक्ने जवाफ दिएको बताइन्छ ।
यदि पार्टी विवाद बढ्दै गएर अलग हुने अवस्था वा संसदमा ह्वीप उल्लंघन हुने अवस्था आएमा ओलीले समानुपातिकतर्फका सांसदहरूलाई पार्टी निर्णय अनुसार हटाएर यसअघि निर्वाचन आयोगमा रहेको बन्दसूचीभित्रका अन्य उम्मेदवारलाई जिताउने अधिकार लिएका छन् ।
एमालेबाट निर्वाचित ४१ जना समानुपातिक सांसदमध्ये क्लस्टर अनुसार पुरुषतर्फ जनजातिबाट विजय सुब्बा र खस आर्यबाट मुकुन्द न्यौपाने हुन् । सुब्बा संस्थापन पक्षका हुन् भने न्यौपाने माधव नेपाल पक्षमा छन् ।
खसआर्यतर्फ बन्दसूचीमा मुकुन्द न्यौपानेपछि सोमनाथ प्यासीको नाम थियो । उनी प्रदेश प्रमुख भइसकेका छन् । तेस्रो नम्बरमा डा.पुष्प कडेलको नाम बन्दसूचीमा छ । उनी अहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुन् ।
आदिवासी जनजाति महिलाबाट निर्वाचित १० जना समानुपातिक सांसदमध्ये माधव नेपालको पक्षमा रामकुमारी झाँक्री र बिनादेवी बुढोथोकी मगर छन् ।
त्यस्तै खस आर्य महिलाबाट निर्वाचित ११ जनामध्ये माधव नेपालको पक्षमा कल्याणीकुमाारी खड्कामात्र छिन् । थारु क्लस्टरबाट जितेका तीनजनामध्ये दुई लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सतगौंवा माधव नेपाल पक्षमा छन् ।
त्यस्तै दलित महिलाबाट जितेका समानुपातिकतर्फका ६ जनामध्ये माधव नेपाल पक्षमा निरादेवी जैरु र पार्वतीकुमारी विसुंखे उभिएका छन् ।
मधेशी महिलाबाट निर्वाचित चार समानुपातिक सांसदमध्ये डा.पुष्पाकुमारी कर्ण र सरलाकुमारी यादव माधव नेपाल पक्षमा उभिएका छन् ।
एमालेबाट निर्वाचित दुवै मुस्लिम महिला कलिला खान र समिना हुसेन माधव नेपाल पक्षमा छन् ।
माधव नेपाल पक्षका समानुपातिक सांसद
१. रामकुमारी झाँक्री, गुल्मी
२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
३. मुकुन्द न्यौपाने, काठमाडौं
४. कल्याणीकुमारी खड्का, रौतहट
५. लक्ष्मीकुमारी चौधरी, कैलाली
६. गंगा चौधरी सत्गौवा, दाङ
७. निरादेवी जैरु, डडेलधुरा
८. पार्वतीकुमारी विसुङ्खे, दैलेख
९. पुष्पाकुमारी कर्ण यादव, पर्सा
१०. सरलाकुमारी यादव, रौतहट
११. कालिला खान, तनहुँ
१२. समिना हुसेन, रौतहट
२०७४ सालमा एमालेका निर्वाचित ८० जना प्रत्यक्ष निर्वाचित सांसदमध्ये माधव नेपालको पक्षमा प्रतिनिधिसभा विघटनपछिसम्म पनि २७ जना थिए । यसबीचमा शेरवहादुर तामाङ, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र गोपाल बम संस्थापन पक्षमा लागेका छन् ।
काठमाडौं। सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का लागि अहिले दुईटै हातमा लड्डू रहेको बताएका छन्।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘
‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’
सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको गुरुले बताए ।
उनले भने, ‘विपक्षमा रहेर पनि आगामी निर्वाचनका निम्ति तयारी गर्ने अवसर रहन्छ । चुनावमा गएर फेरि पनि बहुमत ल्याएर सिंहदरबार आउँछौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ।’
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं माधव पक्षका नेता राजेन्द्रकुमार राईले संस्थापन पक्षले गर्ने कारबाहीले कम्युनिष्ट आन्दोलन नरोकिने जवाफ फर्काएका छन् ।
पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै माधवनेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोधिएको भोलिपल्ट राईको यस्तो भनाइ आएको हो ।
सामाजिक सञ्जालमार्फत राईले कारबाहीबाट जनप्रतिनिधि पद गए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता नगर्ने उद्घोष गरेका छन् ।
‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नी जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता हुने छैन’, राईले लेखेका छन्, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिष्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिष्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन !’
पछिल्लो समय सर्वोच्च अदालतको फैसलापछि फेरि ओलीसँग मिसिने सन्दर्भमा राईले भेलामा वैचारिक राजनीतिक विषयमा खरो मत राख्दै आएका छन् ।
काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको केन्द्रीय समितिको १२ औं बैठकले विद्यमान दुई सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको हो ।
बैठकले वर्तमान अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आयोजक समितिको क्रमशः अध्यक्ष तथा महासचिव रहने निर्णयसमेत गरेको छ ।
वैठकले १० औं राष्ट्रिय महाधिवेशन मंसिर २ गते देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको छ । यसै गरी संगठन विभाग प्रमुख विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीलाई जनवर्र्गीय संगठनको व्यवस्थापनको जिम्मेवारी पनि दिएको छ ।
बैठकले महाधिवेशन आयोजक कमिटिका बैठकहरुको माइन्युट गर्ने जिम्मेवारी विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिएको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९(अप्रिल २२) का दिन नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको स्थल मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय समेत गरेको छ ।
बैठकले समानुपातिक सांसदको हेरफेर, निर्वाचन आयोग र अदालत लगायतका संवैधानिक निकायमा पत्राचार गर्नेजस्ता सबै अधिकार अध्यक्ष ओलीलाई दिएको छ । यो निर्णयसँगै नेकपा एमालेमा अध्यक्ष ओली थप शक्तिशाली बनेका छन् । उनले माधव नेपाल पक्षसँग गुटगत संवाद नगर्ने तर, व्यक्तिगतरुपमा सबैलाई समेट्ने बताएका छन् ।
यो निर्णयसँगै एमाले ब्युँतिएपछि रक्षात्मक बनेको माधव नेपाल पक्ष थप कमजोर बनेको छ । नेपाल निकट सांसद र केन्द्रीय सदस्यहरु धमाधम ओलीलाई भेटेर संस्थापन पक्षमा लाग्ने क्रम बढेको छ ।
चार नेतालाई स्पष्टीकरण सोधिने
बैठकले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई पार्टी विपरितका गतिविधि गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिआए संसदबाट विश्वासको मत सजिलै देखाउने दावी गरेका छन् । बालुवाटारमा जारी केन्द्रीय समिति वैठकमा बोल्दै उनले कथंकदाचित सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने बताए ।
प्रधानमन्त्री ओलीले वैठकमा भने, ‘राजीनामा दिनु पर्दैन ? भन्ने भन्नेहरुलाई म भन्छु- पर्दैन ! तपाईंहरु अविश्वासको प्रस्ताव ल्याउन सक्नु हुन्न ? बिस्वासको मत फिर्ता लिन सक्नुहुन्न ?’
उनले मुटुमाथि ढुंगा राखी विश्वासको आफूलाई दिने दावी गरे ।
‘नत्र चुनाबमा जानु पर्नेछ । चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ । तसर्थ हामी संमयमताका साथ सबै दलसँग गर्दैछौ । परिआए विश्वासको मत सजिलै देखाउछौं । तर सरकारको लागि मरिहत्ते गर्दैनौं । सरकार परिवर्तन भए चुनाबबाट स्पष्ट बहुमत ल्याउने छौं ,’ उनले भने ।
काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
यसअघि बसेको केन्द्रीय समिति वैठकले १० औं राष्ट्रिय महाधिवेसन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसिरहेको केन्द्रीय समिति बैठकले त्यसलाई महाधिवेसन आयाजक समितिमा परिणत गरेको हो ।
पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय समिति विस्तार नमान्ने बताउँदै आएको थियो ।
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो ।
साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।
पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।
अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।
अपडेट :
नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।
झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ । यससँगै आजको केन्द्रीय समिति वैठक सकिएको छ ।
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १२औं बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीको असन्तुष्ट पक्षले बहिष्कार गरेको वैठकले महत्त्वपूर्ण निर्णयहरु लिन सक्ने बुझिएको छ ।
स्रोतका अनुसार बैठकमा १० वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएका छन् । संसदीय दलको विधान अनुमोदन गर्ने, अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने, स्थायी कमिटी पुनर्गठन तथा महाधिवेसन आयोजक समिति बनाउने वैठकका प्रमुख एजेन्डा हुन् ।
यसैगरि, नेताहरुको कार्यविभाजन, जनसंगठनको जिम्मेवारी हेरेफेर, तथा पार्टीविरोधि गतिविधि गर्ने नेताहरुमाथिको कारवाही पनि छलफलका एजेन्डा छन् ।
असन्तुष्ट माधव नेपाल समूह भने बैठकमा सहभागी छैन । पार्टी एकताका पक्षधर उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा भाग लिए पनि केन्द्रीय समिति बैठकमा भने बसेनन् । उनी ‘अस्पताल जानु छ’ भन्दै हिँडेका थिए ।
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको गुटगत भेला गर्ने माधव नेपालसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै माधव पक्षमाथि कारबाहीको प्रक्रिया अघि बढेको हो । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।
‘संसदीय दलको विधान निर्णय गरेर केन्द्रीय कमिटीमा पठाइएको छ,’ महेश बस्नेतले भने, ‘त्यस्तै, संसदीय बोर्डमार्फत् कथित राष्ट्रिय भेला गर्नेलाई स्पष्टीकरण सोध्ने पनि आजको बैठकले निर्णय छ ।’
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । तर, एमालेको माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने तयारी गरेको छ । शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरिएको एक नेताले बताएका थिए ।
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए विचार सहभागिताको बारेमा विचार गर्न सकिने नेपाल पक्षको निष्कर्ष छ।
त्यस्तै, आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णयमा नेपाल पक्ष यथावत छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन् ।
तर, नेपाल पक्षले भनेको छ- केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने ।
संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिइसकेको छ ।
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले भोलि युवाहरूको राष्ट्रिय भेला बोलाएको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शनिबार राष्ट्रिय सभागृहमा भेला बोलाइएको आयोजक कमिटीका संयोजक नरेश शाहीले जानकारी दिए । भेलाले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्ने उनले बताए ।
शाहीले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
भेलालाई वरिष्ठ नेता तथा नेपालले उद्घाटन गर्ने तय गरिएको छ ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाले माउ पार्टी ब्युँतिएसँगै भ्रातृ संगठनहरूलाई पनि २०७५ जेठ २ को अवस्थामा पुर्याएको सो पक्षको जिकिर छ ।
भोलिको भेलामा केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुखलगायतको पदाधिकारीहरू सहभागी हुनेछन् ।
आन्तरिक असन्तुष्टि बढेसँगै नेकपा एमालेको माधव पक्षले कार्यकर्ता, महिला, किसानको छुट्टै भेला गरिसकेको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरु ताजा जनादेशमा खोजे पनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरु बाध्य भएको बताएका छन् ।
सरकारको तर्फबाट प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शुरूआती बैठकले सकारात्मक संकेत नगरेको बताएका छन् ।
‘फागुन ११ को सर्वोच्च अदालतको संवैधानिक इजालसको फैसालपछि संसद पुन:स्थापित भएको छ,’ उनले भने, ‘हाम्रो पार्टी संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्छ । सरकारको एउटा दृष्टिकोण थियो- ताजा जनादेश उपयुक्त हुन्छ भन्ने । तर, सर्वोच्च अदालतले त्यसो गर्न नहुने निष्कर्ष निकालेको छ ।’
ज्ञवालीले थपे, ‘अब हामी यही संसदबाट समाधान खोज्न हामीलाई बाध्यात्मक अवस्था सिर्जना भएको छ । शुरूका केही बैठक जसरी अगाडि बढे त्यसले राम्रो संकेत गरेनन् ।’
सदन शुरू हुनेवित्तिकै अध्यादेशहरू पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि एसिड आक्रमण सम्बन्धी अध्यादेशसमेत पेश गर्न अवरोध गरिएको आरोप ज्ञवालीले लगाए । उनले भने, ‘बैठक नचलेका बेला सरकारले पहिलो बैठकमा अध्यादेश पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एसिड आक्रमणजस्तो अध्यादेशलाई हामीले छलफल गर्न सकेनौं । टेबल पनि गर्न सकेनौं ।’
सर्वोच्च अदालतको दुईवटै फैसलामा सरकारका तर्फबाट आफूहरुले हारे पनि त्यसलाई सहजै स्वीकार गरेको ज्ञवालीको भनाइ छ।
‘हामी दुईटै फैसला कार्यान्वन गरेर जान्छौं,’ उलने भने, ‘राजनीति दलले निर्धारण गर्ने कुरा हो । त्यसको न्यायिक परीक्षण भने अदालतले गर्न सक्छ भन्ने हामीले स्वीकार गरेका छौं ।’
काठमाडौं । सर्वोच्च अदालतले २३ फागुनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्युँताइदिएपछि त्ससको भोलिपल्ट पेरिसडाँडामा नेकपाको अन्तिम बैठक बस्यो ।
‘केपी प्रवृत्ति’ विरुद्ध संघर्ष गर्ने र थप बलियो हुने भन्दै माधव नेपाल पक्ष मुल घर एमालेमै फर्कने निर्णय गरेर पेरिसडाँडाबाट बिदाइ भएको थियो । त्यसलगत्तै बसेको नेपाल पक्षको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले आफू पक्षीय कार्यकर्ताको ‘मुड’ बुझ्ने मनसायका साथ दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निधो गर्यो ।
४ र ५ चैतमा ललितपुरको सानेपास्थित हेरिटेज ब्यांन्केटमा चलेको दुई दिने कार्यकर्ता भेला पनि ११ दिनअघि पेरिसडाँडाबाट छुट्टिनुअघिकै निर्णयलाई निरन्तरता दिने निचोडमा पुगेको छ । पार्टी विभाजनतर्फ जान नहुने र हाललाई पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने भेलामा सहभागी अधिकांश कार्यकर्ताबाट सुझाव पाएपछि नेपाल पक्ष पेरिसडाँडाबाट छुट्टिँदा गरेको निर्णयकै अडानमा पुगेको हो ।
अबका सम्पूर्ण गतिविधिलाई अन्तरसंघर्षका रूपमा अर्थ्याउँदै नेपाल पक्षले पार्टी अध्यक्ष केपी ओलीविरुद्ध ‘भण्डाफोर अभियान’ चलाउने नीति तय गरेको छ । ‘हाम्रो मूल गतिविधिको चरित्र अन्तरसंघर्ष नै हुनेछ,’ भेलाको अन्तिमतिर आगामी कार्यदिशाबारे कार्यकर्तालाई प्रष्ट्याउँदै उपमहासचिव घनश्याम भुसालले भनेका थिए, ‘त्यो भनेको नवौं महाधिवेशनको सैद्धान्तिक कार्यदिशा, त्यसको विधि विधानलाई हामीले स्थापित गरेर जाने हो । त्यो भनेको २०७५ साल जेठ २ गतेको अवस्थामा जाने हो । कुरा प्रष्ट छ ।’
सहभागीको १० वटा समूह बनाई दुई दिनसम्म आएका सुझाव र प्रश्नको जवाफ दिने क्रममा नेता माधव नेपालले आफूहरुले एमाले-माओवादी एकीकरणअघि २०७५ जेठ २ लाई ‘बटमलाइन’ बनाउने बताएका थिए । आगामी कार्यदिशाबारे प्रष्ट्याउँदै नेपालले अध्यक्ष ओलीविरुद्ध भण्डाफोर अभियान चलाउन कार्यकताई निर्देशन दिए । आफूहरु पार्टी विभाजनको पक्षमा नभएको भन्दै अन्तिम समयसम्म पार्टीभित्रै लड्ने उनको भनाइ थियो ।
बालुवाटार विशेष बैठकले २८ फागुनमा गरेका निर्णय पार्टीभित्र कुनै पनि हालतमा लागू हुन नदिने रणनीति नेपाल पक्षले बनाएको छ । सँगै पार्टीभित्र आफूलाई बलियो गरी उपस्थित गराउन नवौं महाधिवेशनले पारित गरेका कार्यदिशालाई पकड्ने र त्यस बेलाका सबै पार्टी कमिटी ब्युँताउने अडानमा उभिएको छ । ‘हामीले गर्ने भनेको जनसंगठनहरू र पार्टी कमिटीहरू सबैलाई जेठ २ गतेमा ब्युँताउने हो,’ भुसाल भन्छन्, ‘त्यसलाई ब्युँताएर लैजाने हो । धेरै ठाउँमा हामीले जितेका छौं । हाम्रा आधिकारिक कमिटीहरू नै छन् ।’
पार्टीभित्र बलियो मात्रै होइन, आफूहरु नै आधिकारिक हो भनेर स्थापना गर्ने लक्ष्य पनि नेपाल पक्षको छ । भुसालले भने, ‘हाम्रो समानान्तर हुँदैन । हामी सामानान्तर गर्दैनौं । उहाँ (ओली) ले अस्ति २८ गते समानान्तर गर्नुभयो । हामी समानान्तर गर्दैनौं । हामी आधिकारिक हौं ।’
सर्वोच्च अदालतले पुन:स्थापित गरेको अवस्थामा पुगेको पार्टीलाई नचलाई अगाडि बढाउन सकिए आफूहरूको अवस्था मजबुत देखेकाले नेपाल पक्षले एकतापूर्वकै अवस्थालाई जोड दिएको हो । कार्यकर्ता भेलामा त्यो संगठनमा आफूहरु बलियो भएको गणित पस्किँदै ओलीलाई तीनै कमिटीको बैठकमा आफूहरुको समाना गर्न चेतावनी दिएका थिए।
तत्कालीन एमालेको स्थायी कमिटी र पोलिटब्यूरोमा आफू बलियो भएको र केन्द्रीय कमिटीमा पनि कमजोर नभएको फेहरिस्त कार्यकर्तामाझ सुनाउँदै नेता नेपालले भनेका थिए, ‘बैठक बोलाउन हामी चुनौती दिन चाहन्छौं, त्यहाँ सामना गरौंला ।’
नेपाल पक्षको भेलाले एमालेको २०७१ साउन सम्पन्न नवौं महाधिवेशनले पारित गरेको कार्यदिशालाई बढ्ता जोड दिएको छ । उक्त महाधिवेशनले आफूहरूको कार्यक्रम पास गरेको तर नेतृत्वमा ओली आएको नेपाल पक्षको विश्लेषण छ ।
‘यो भेलाले नवौं राष्ट्रिय महाधिवेशन (२०७१ साल साउनमा सम्पन्न) ले पारित गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद, त्यसको भावना र मर्मलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने कार्यदिशालाई फेरि एक पटक पुनःपुष्टि गरेको छ,’ पत्रकार सम्मेलनमार्फत भेलाका निष्कर्ष सुनाउँदै सचिव योगेश भट्टराईले भने, ‘पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यसलाई सहि हिसाबले पकड्न सक्नुभएको छैन ।’
नवौं महाविधेशनलाई जोड दिँदा १० औं महाधिवेशनमा आफ्नो कार्यक्रम, आफ्नै नेतृत्व भन्ने नारा अगाडि बढाएर पुनः गुमेको शक्ति पाउन सकिन्छ भन्ने बुझाइ नेपाल पक्षको रहेको देखिन्छ ।
भेलाबाट फर्किएको नेपाल पक्ष अब देशभरि पार्टीका बैठक, भेला र प्रशिक्षणमा केन्द्रित हुने देखिएको छ । भट्टराईले भनेका छन्, ‘अब हामी देशभर बैठक, भेला र प्रशिक्षण चलाउँछौँ। यो तीन/चार महिनाको हुन सक्छ । व्यापक रूपमा संगठनको परिचालन, प्रशिक्षण र कार्यकर्तालाई बुझाउने अभियान शुरू गर्छौं।’
पार्टीभित्र आफू सहज अवस्थामा पुगेपछि र पुग्नुअघि नै माओवादी केन्द्र र अन्य दलसँगको सहकार्य र एकताको ढोकालाई भने नेपाल पक्षले खुला राखेको छ । यसबारे भेलामा कार्यकर्ताबाट सुझावसमेत मागिएको थियो । ‘वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने ?,’ भेलामा छलफलका लागि वितरित बुँदाको चौथो नम्बर बुँदामा भनिएको छ, ‘अन्य राजनीतिक दलहरू, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरूसँग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ ?’
यसबारे कार्यकर्ताबाट सकारात्मक सुझाव आएको नेपाल पक्षको भनाइ छ । भेलाबाट पारित १७ बुँदे प्रस्तावको छैटों नम्बरमा कम्युनिष्ट एकताको आह्वान समेत गरिएको छ। नेकपा देशी विदेशी शक्तिले फुटाएको विश्लेषण गर्दै एमालेसमेत फुटाउने कोसिस भइरहेको दाबी उक्त बुँदामा गरिएको छ।
‘नेपालमा एकीकृत, सशक्त र सुदृढ कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई षडयन्त्रमूलक किसिमले छिन्नभिन्न गरिएको कार्यबाट शिक्षा लिँदै नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रको भर्त्सना गर्दै त्यस्तो षड्यन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढताका साथ अग्रसर हुन नेकपा (एमाले) पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आव्हान गर्दछ, ‘राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, समाजवाद उन्मुख शासनप्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन यो भेला सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहहरुलाई हार्दिक आव्हान गर्दछ ।’
अन्तिममा जित आफूहरुकै हुने निष्कर्षसहित भुसाल भन्छन्, ‘केपी ओलीले त्यति गरिसके अझै पनि के को अन्तर संघर्ष ? भन्ने पनि सुझाव आएको थियो । फेरि पनि म भन्छु, हामी आवेगले होइन, विवेकले जित्ने छौं ।’
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्दै तीन महिना अभियान थाल्ने निर्णय गरेको छ । ललितपुरमा विहीवार सम्पन्न भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले २०७५ जेठ २ अघिका सबै कमिटी र जनसंगठनको नेतृत्व व्युँताएर भेला, बैठक, प्रशिक्षण लगायतका अभिायन सञ्चालन गर्ने निर्णय गरेको हो ।
भेलाका निर्णय सार्वजनिक गर्दै एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतले नेकपा (एमाले) ब्यूताएकाे अवस्थामा त्यस बेलाका सम्पूर्ण कमिटीलाई सक्रिय बनाउने निर्णय भएको बताए । अध्यक्ष ओलीले षडयन्त्र गरेको भन्दै नेता भट्टराईले यसबीचमा आफूहरुको सहभागिता बिना बनाइएका कुनै पनि पार्टी कमिटीलाई स्वीकार नगर्ने बताए । ओलीले बनाएका कमिटी अवैधानिक भएकाले अवैधानिक कमिटीको बैठकमा नजाने उनले प्रष्ट पारे ।
भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गियको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तिन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए । उनले चैत ७ गते ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने समेत प्रष्ट पारे ।
ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तरसंघर्ष जारी राख्ने निर्णय भेलाले गरेको छ । भेलामा कतिपय सहभागीले एमालेमा फर्किने नेतृत्वको निर्णयको समेत आलोचना गरेका थिए । उनीहरुले केपी ओलीलाई नेता मान्न नसकिने बताएका थिए । आफूहरुमाथि कारवाही गर्न ओलीले ढिला गरेकोमा भट्टराईले आश्चर्य व्यक्त गरे ।
काठमाडौं । काठमाडौंमा सम्पन्न नेकपा एमालेको माधव नेपालपक्षीय भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु प्रस्तावमा छन् । यसैगरि पार्टीका उपाध्यक्ष भिम रावलले ती प्रस्ताव भेलामा प्रस्तुत गरेका थिए ।
कार्यकर्ताले ताली बजाएर समर्थन गरेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।
भेलाले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ । अदालतले कानुनी नभई राजनीतिक फैसला गरेको ठहर भेलाले गरेको छ । सोही भेलाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको भने स्वागत गरेको छ ।
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले किसान महासंघको भेला बोलाएको छ ।
शुक्रबार अखिल नेपाल किसान महासंघको भेला तय गरिएको भन्दै केन्द्रीय सदस्य बलराम बास्कोटाले भेलामा महासंघका अध्यक्ष बामदेव गौतम पनि सहभागी हुने जानकारी दिए ।
सर्वोच्चको आदेशसँगै ब्युँतिएको नेकपा एमालेको असन्तुष्ट समूहले आफ्नो पक्षको एकपछि अर्को भेला गरिरहेको छ ।
काठमाडौं । एमालेको नाममा गुटको भेला गर्नेलाई कानूनअनुसार कारबाही गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति वरिष्ठ नेता माधवकुमार नेपालले चुनौती दिएका छन् ।
२ दिनदेखि जारी भेलाको अन्तिममा कार्यकर्ताले उठाएका सवालको जवाफ दिँदै नेता नेपालले आफूहरू कारबाही खेप्न तयार रहेको बताए ।
‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ केपी ओलीलाई चुनौती दिइरहन्छौं, नेपालले भने, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला । तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन । मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ ।’
एकताअघिकै अवस्थामा एमाले फर्किनुपर्ने आफूहरूको बटमलाइन भएको भन्दै नेपालले त्यसमा कुनै हालतमा नझुक्ने दाबी गरे ।
नेपालले पार्टी विवादलाई नेताहरूबीचको लडाइँको रूपमा मात्र नबुझ्न आग्रह गरे । उनले भने, ‘ यो नेता-नेताको ‘दन्त बजान’ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो । स्थायी कमिटी र पोलिटब्यूरोमा हामी बलियो छौं । केन्द्रीय कमिटीमा हाम्रो ८७, केपीका ८० छन् । उहाँहरूले केपी प्रवृत्तिविरुद्धको लडाइँमा तपाईंहरूको साथमा छौं भन्नुभएको छ । पुरानो कम्युनिष्ट आन्दोलनका योद्धाहरू पनि हामीसँगै हुनुहुन्छ । इमानदार नेताहरूको साथ हामीले पाएका छौं । ‘
आफूहरू नडराउने, नतर्सिने बेग्लै धातुको कम्युनिष्ट भएको भन्दै उनले ‘नेताहरू झुक्नुहुन्छु कि’ भनेर नसोच्न कार्यकर्तालाई आश्वस्त पारे ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि पार्टीभित्र मान-अपमानको कुरा निकालेका छन् ।
आफ्नो गुटका केही नेताहरू ‘सूचनाको ग्यापले’ पार्टीको वैठकमा पुगेको तर उनीहरूमाथि अपमान भएको नेपालको भनाइ छ ।
आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको समापनका अवसरमा विभिन्न प्रश्नका जवाफ दिने क्रममा नेपालले यस्तो बताएका हुन् । नेपाल समूहका केही नेता आज एमाले संसदीय दलको वैठकका लागि बालुवाटार हिँडेका थिए । उनीहरुमध्ये केहीलाई बाटैबाट फर्काइएको थियो ।
यस विषयमा जवाफ दिँदै नेपालले भने, ‘हाम्रा साथीहरूलाई शुरूमा जान भनिएको थियो, तर पछि नजानु भनेर म्यासेज गरियो । तर, उहाँहरूले म्यासेज हेर्नुभएन छ । उहाँहरूलाई चित्त पनि दुख्यो । मैले माफी मागिसकेँ । यसलाई नकारात्मकरूपमा नसोच्नुहोला ।’
यसअघि प्रधानमन्त्रीले आयोजना गरेको चियापानमा पनि कम्युनिकेसन ग्याप भएको भन्दै नेपालले त्यहाँ पुगेका नेताहरूलाई पनि अपमान भएको बताए ।
‘केही कमरेडहरू झुक्किएर पुग्नुभएछ । तर, त्यहाँ उहाँहरूलाई सम्मान भएन । उहाँहरूले अपमान महसुस गर्नुभयो । आइसकेकालाई त सम्मान गर्नुपर्थ्यो नि । यस्तो अपमानपूर्ण व्यवहारबाट लक्षण राम्रो देखिँदैन । केपी ओलीजीको मानसिकता अत्यन्तै पूर्वाग्रहपूर्ण छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली केही समययता चरम राजनीतिक दबाबमा छन् । तर, उनको बोली र हाउभाउमा त्यो दबाब झल्किँदैन । सरकारमाथि आइपरेको संकट र पार्टीभित्रको अन्तरद्वन्द्वले ओलीलाई भित्र जति हल्लाए पनि बाहिर उनी ‘विजेता’ मुद्रामै देखिन्छन् ।
सर्वोच्चको फैसलाले ब्युँतिएको एमालेलाई एकीकृत गर्नेदेखि माओवादीसँगको गठबन्धनलाई निरन्तरता दिएर सरकार टिकाउने चुनौती यतिबेला ओलीको काँधमा छ । तर, ओलीले न सरकार टिकाउने कुरालाई अति महत्व दिएका छन्, न त पार्टी एकता जोगाउनका लागि विरोधी खेमासँग अति लचक हुने मुडमा छन् ।
प्रधानमन्त्री ओलीले पार्टी विवाद र सरकारको संकटमाथि केन्द्रित रहेर नेपाल प्रेसलाई करिब दुई घन्टा लामो अन्तरवार्ता दिए । अन्तरवार्तामा उनको प्रस्तुतिले एमाले अब एक रहन निकै कठिन रहेको छनक मिल्छ । ओलीले प्रष्टसँग भने, ‘एमालेका नाममा एमालेविरोधी गतिविधि गर्नुभन्दा छोडेर जाँदा राम्रो हुन्छ ।’
सरकारका सन्दर्भमा पनि उनले त्यस्तै धारणा राखे । सरकार टिकाउनका लागि कुनै अवाञ्छित सम्झौता गर्न आफू तयार नभएको उनको भनाइ छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै भविष्यमा पनि नलिने आशा उनले व्यक्त गरे ।
‘सरकारले राम्रो काम गरिरहेको छ भने किन माओवादीले समर्थन फिर्ता लिन्छ ?’ ओलीले भने ।
प्रस्तुत छ, प्रधानमन्त्री ओलीसँग बालुवाटारमा गरिएका संवादको पूर्णपाठ :
प्रधानमन्त्रीज्यू यहाँलाई स्वागत छ ।
धन्यवाद
यतिबेला नेकपा एमालेको अध्यक्ष तपाईं यहाँ हुनुहुन्छ । अर्कोतर्फ तपाईंकै पार्टीका नाममा राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमै भइरहेको छ । यसअघि नेकपामा जस्तै समानान्तर गतिविधि एमालेमा शुरू भयो । अबको निकासका लागि तपाईंको भुमिका कस्तो रहला ?
पहिलो कुरा त तपाईंलाई सम्झाउँ, उहाँहरूको समूहको नाम नभएकाले उहाँहरूले नेकपा एमाले भनेर भ्रमपूर्ण ढंगले नाम राख्नु भएको हो ।
अहिले त उहाँहरू एमाले नै हुनुभयो नि ?
हुनुभएन । एमाले भएको भए एमालेको राष्ट्रिय भेला पार्टीभन्दा फरक, अलग त्यसरी कहाँ गर्छ ? त्यो त पार्टीमा फर्किन्छ । उहाँहरू त पार्टी छोडेर हिँडिसक्नुभएको हो । त्यसैले यो नेकपा एमालेको नेता-कार्यकर्ताले गरेको भेला होइन ।
उहाँहरू कुन पार्टी छोडेर हिँड्नु भएको हो त ? फागुन २३ गते ३ बजे हामी एउटै पार्टी भयौं भनेर आउनुभयो । अर्कोतर्फ तपाईंले नेकपा छोडेर हिँडेको जस्तो देखिन्छ । खासमा पार्टी छोडेर हिँडेको चाँही कसले हो ?
म यसमा खासै बहस गर्न चाहन्न ।
उहाँहरू मन ठण्डा गरेर नै हिँडिरहनुभएको छ । भेला गरिरहनुभएको छ । अर्याल बैठक, अर्याल भेला गर्दै उहाँहरू यस भेलासम्म आइपुग्नु भएको हो । ११ गतेको फैसलामा विमत्ति राख्नु पाइँदैन भनेर उहाँहरू कराउनु हुन्छ । २३ गतेको फैसला चाहिँ ठिक होइन भन्नुहुन्छ । जन्मिएको बच्चा फेरि पेटमा नै राख्नेजस्तो कुरा भयो भन्नुहुन्छ ।
त्यसो भए तपाईंलाई छोडेर उहाँहरू हिँड्नुभएको हो ?
हो । पार्टी छोडेर, मलाई छोडेर, अध्यक्षलाई छोडेर, संगठनलाई छोडेर, संसदीय दल छोडेर उहाँहरू हिँड्नुभएको हो नि । उहाँहरू संसदीय दलको नेता आफैं, आफैं अध्यक्ष छानिनुभएको हो । मलाई पार्टीको साधारण सदस्यताबाट निकाल्यौं भनेर घोषणा गर्नुभएको हो । मलाई त सिंगो कम्युनिष्ट पार्टीबाट हटाएको हो नि, उहाँहरूले हामी यहाँ छौ भनेको ठाउँबाट । त्यसकारण, कसले बोलाएको थियो भेला ? जुन भेला उहाँहरूले भनिरहनु भएको छ, त्यो भेला कसले बोलाएको हो ? के नेकपा एमाले भनेका माधव नेपाल हुन् ? कसले बोलाएको ? अनि विधि-पद्धतिका कुरा लेग्रो तानेर हुन्छ ? पार्टीको संगठनात्मक सिद्धान्त, नियमका परिधिमा बस्नुपर्दैन ? तपाईले ‘महाभारत’ सिरियल हेर्नुभएको छ ?
अलि-अलि हेरेको छु ।
हेर्नुभएको छ भने त्यहाँ धृतराष्ट्रको अभिनय गर्ने धृष्टराष्ट्र नै हो ? त्यहाँ कृष्णको अभिनय गर्ने मान्छे कृष्ण नै हो ? अर्जुनको अभिनय गर्ने अर्जुन नै हो त ? के उनीहरूले लागाएको श्रीपेच वास्तविक हो त ? माधव नेपालले अस्ति अध्यक्षको श्रीपेच लगाएको देख्नुभएन ? साँच्चै वा अभिनय हो त्यो ? त्यसकारणले ती पात्रहरू वास्तविक होइनन् । यो सबै अभिनय हो ।
हिजो माधव नेपालले पार्टी एकतापछि केपी ओलीबाट मुक्ति पाइयो, अहिले ठण्डा महसुस भएको छ भन्नुभएको थियो । अहिले फेरि एमाले ब्युँतिदा पनि उहाँहरूमाथि पुरानै प्रवृत्ति र कारबाहीको डण्डा चलाउने त ?
उहाँहरू मन ठण्डा गरेर नै हिँडिरहनुभएको छ । भेला गरिरहनुभएको छ । अर्याल बैठक, अर्याल भेला गर्दै उहाँहरू यस भेलासम्म आइपुग्नु भएको हो । ११ गतेको फैसलामा विमत्ति राख्नु पाइँदैन भनेर उहाँहरू कराउनु हुन्छ । २३ गतेको फैसला चाहिँ ठिक होइन भन्नुहुन्छ । जन्मिएको बच्चा फेरि पेटमा नै राख्नेजस्तो कुरा भयो भन्नुहुन्छ ।
दर्ता नै खारेज भएको स्थितिमा अदालतले त्योभन्दा बढी के गर्ने त ? अर्काको नाममा रहेको पार्टीलाई अदालतले सदर गरेपछि हामी त पुरानै अवस्थामा आइयो । अब अर्कै नाम राखेर जानु पर्यो नि त । निर्वाचन आयोगले पनि १५ दिनमा अर्को नाम राखेर आउन भनेको हो, अर्को भेला गर भनेको छ र ? प्रचण्डलाई अरु तमासा गर भनेको छ ? बुटवलमा गएर आफ्नो चक्रव्यूहको पर्दाफास गर भनेको छ ?
‘माधवजीहरू त्यहाँ संघर्ष गर्नुहुन्छ, एमाले पार्टी कब्जा गर्नुहुन्छ, सूर्य चिन्ह लिएरै हामीसँग आउनु हुन्छ भनेको होइन ? आउनका लागि त मान्छे जम्मा गर्दै हुनुहन्छ उहाँहरू । उहाँहरू त प्रचण्डजीलाई नेता मानेर पछि-पछि जानुभएको थियो । अनि फेरि विभिन्न जिल्लाहरूमा जानुभएछ झमेला गर्न । झमेला गरेर हुन्छ र ? जनताको अभिमतबाट, पार्टीको अभिमतबाट कार्यकर्ताको अभिमतबाट, प्रक्रियाबाट आउनुपर्यो नि ।
पार्टी बैठकमा चाहिँ उहाँहरूलाई तपाईंले किन सामेल नगर्नु भएको त ? २८ गतेको बैठकमा उहाँहरूलाई बोलाएको भए अहिलेको समस्या उब्जिदैनथ्यो होला नि ?
म तपाईंलाई सोध्न चाहन्छु उहाँहरू कहाँ हुनुहुन्थ्यो त्यसबेला ? उहाँहरू कता हराउनुभएको थियो ? कहिलेकाहीँ अदालतमा महिनौं दिनसम्म सूचना टाँस्ने, पत्र पठाउने व्यक्ति फेला पर्दैन क्या । (हाँस्दै) यहाँ गयो यहाँ छैन, त्यहाँ गयो त्यहाँ छैन, मान्छे फेला नै पर्दैन । ठेगाना बतायो, त्यहाँ हुँदैन । घर गयो, त्यहाँ पनि हुँदैन । अनि त्यहाँका जनप्रतिनिधि, गाविसको वडाध्यक्ष, सभापति, गाउँपालिकाको सदस्य, अनि केजाति-केजातिलाई भेला पारेर म्याद तामिल गरेको सूचना टाँसेर फर्किनुपर्ने हुन्छ । भनेको बेलामा नभेटेपछि, घर छोडेर हिँडेपछि त फेला पार्न गाह्रो हुँदैन ?
तपाईंले ४ गतेको भेलामा नजान भन्नुभयो र बेलुका महासचिवको विज्ञप्ति पनि आयो । तर, राष्ट्रिय भेला त भएरै छाड्यो । नेकपा एमालेकै नाममा भेला आयोजना गरिएको छ । अब के गर्नुहुन्छ ?
नियम-कानून छ, त्यसले के भन्छ त्यहीनुसार हुन्छ ।
एकैचोटि त्यत्रो ठूलो संख्यामा कारबाही गर्ने कुरा सोच्न सकिन्छ र ?
३ करोड मान्छेमा कति भेला भएका छन् ?
कम्तिमा पनि २ हजार भेला भएको कुरा छ ।
२ हजार भेला भएका छन् भने त्यसमध्ये १५ सय यता आउँछन् । दास होइनन् तिनीहरू । भ्रममा, अन्योलमा परेका होलान् । तर, यो भ्रमपूर्ण ढंगले भेला गराउने कुरालाई के गर्छस् भनेर सोध्नुहुन्छ भने मैले केही गर्ने होइन । नियम-कानूनले गर्ने हो ।
यसरी जाँदा त भोलिको दिनमा नेकपा माओवादीले तपाईंलाई दिएको समर्थन फिर्ता लिने र आफ्नो पार्टीभित्रका सांसद पनि जोगाउन नसक्दा केन्द्रदेखि प्रदेशसम्मका सरकारहरू अल्पमत पर्छन् नि ?
यी कुराहरू भनेको नाफा-नोक्सानका आधारमा गरिने कुरा होइनन् । कुनै पनि कुराको उद्देश्य हुन्छ । हामीले पार्टी बनाउने उद्देश्य हुन्छ । ती उद्देश्य प्राप्त गर्ने नीति हुन्छन्, विधि हुन्छन्, कार्यक्रम हुन्छन् । त्यसो भएपछि नाफा-नोक्सान, कसो के, केही पनि हेरिदैन । म विश्वास गर्छु, दुई-चारबाहेक अरु कार्यकर्ता केही मान्छेका स्वार्थका पछि लाग्दैनन् ।
पुस ५ गते तपाईंहरू छुट्नुभयो र अदालतको फैसलापछि फेरि जोडिनुभयो । अब उहाँहरूलाई सँगै लिएर हिँड्ने अवस्था छ कि बिदा गर्न लाग्नुभएको हो ?
होइन । बिदा न पहिले गरेको थियो, न अहिले गर्ने हो । उहाँहरू बिदा गर्न लायकको पनि हुनुहुन्न । आए ठिक छ । गल्ती महसुस गरे ठिक छ । उहाँहरूले जुन अपराध गर्नुभएको छ, आन्दोलन क्षतविक्षत गर्नुभएको छ, अस्थिरता-अन्योल सिर्जना गर्नुभएको छ, जनताको मन दुखाउनुभएको छ, कार्यकर्ताको मन रुवाउनुभएको छ, त्यसबाट उहाँहरू सच्चिनु पर्छ । उहाँहरू आउनुहुन्छ, आउनुपर्छ, आउनुहोस् । त्यसरी र त्यो महसुस गरेर आउनुहोस् र काम गर्नुहोस् ।
तर, ‘आउने’ भन्ने कुरामा नै उहाँहरूले बढी अपमान महसुस गर्नुभएको छ नि ?
उहाँहरू गइसकेको हो नि त । आउने कुरा त गर्नैपर्यो नि । गइसकेको होइन भने उहाँहरूले जुन तमासा गर्नुभयो, नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यबाट मलाई निष्कासन गर्नुभयो । के उहाँहरूले फिर्ता गरिदिएको हो त मलाई साधारण सदस्यता ? उहाँहरू गएको हो कि होइन रहेछ ? अध्यक्षबाट मलाई हटाइएको थियो, के उहाँहरूले फिर्ता गरिदिएको हो ? म त अध्यक्ष, पार्टी सदस्य छँदैछु । उहाँहरूको त वितण्डा न हो । म त छँदै छु । उहाँहरूले पनि कृपा गरेर फिर्ता गरिदिएको हो र त्यो ? नेकपाको अध्यक्षबाट निकाल्नुभो, संसदीय दलको नेताबाट निकाल्नुभो, तर म त छँदै छु ।
त्यो त नेकपाको अध्याय हो । अब जेठ २, २०७५ को एमालेतिर फर्कियो । त्यो कुरा तपाईं मान्नुहुन्न भन्ने गुनासो छ उहाँहरूको ।
ए, मैले चोरेको त घरभित्र हुँदा हो नि हजुर, घरबाहिर आँगनमा निस्किदा त मैले चोरेको छैन भन्न पाइन्छ ?
तपाईंले अन्तिमपटक धुम्बाराहीमा गएर वार्ता गर्नुभयो । तर, मन माझिन सकेन । यसअघि पुस ४ खुमलटार पुगेर तपाईंले प्रचण्डलाई अभियोगपत्र फिर्ता लिइदिनुस् भन्नुभयो । तर प्रचण्डले नमानेपछी अर्को दिन संसद विघटन गरिदिनु भयो । पछिल्लो धुम्बाराही वार्ताले पनि अर्को अप्रिय मोड त ल्याउँदैन ?
त्यतिबेला त्यो अभियोगपत्र फिर्ता लिएको भए कोर्स अर्कोतर्फ जान्थ्यो नि । मैले त बोलाएँ । तपाईं माधव नेपालको भाषण सुन्नुहोस् न । युट्युवमा रेकर्ड खोलेर मज्जाले सुन्नुहोस् त । ‘केपी ओलीले बोलाउनु भयो, मैले कहाँ भनेर सोधेँ । उहाँले भन्नुभयो वालुवाटारमा । अनि मैले म आउन्न भनेँ । बाहिर आएर भेटौं भनेँ । बाहिर आउन त मिल्दैन भन्नुभयो । त्यसो भए पार्टी अफिसमा भेटौं भनेँ । हुन्छ भन्नुभयो । पार्टी अफिसमा म एक्लै आउँदिन भनेँ । फेरि उहाँले भन्नुभयो, म पार्टीको गुटसँग डिल गर्दिनँ ।’
नपत्याउनु भएको भए सुने हुन्छ । हो, गुटलाई मान्यता छैन । गुटसँग डिल गर्दिन । पार्टीका कार्यकर्ताले आफ्ना-आफ्ना जिम्मेवारी र आफ्नो-आफ्नो काम गर्नुपर्छ । मैले त्यो पहिलो पार्टीको बैठक भएकाले गुट तथा गुटका दलबल लिएर आउँछु भन्दा पनि ठिक छ भनेको । तर, मैले त्यहाँ गुटको रूपमा मान्यता दिएको होइन । व्यक्तिको रूपमा हो । उहाँहरूको चरम अनुशासनहीनता, अराजकता, पार्टीको नाममा जुन राष्ट्रिय भेला भनेर गरिएको छ, यो कारबाहीयोग्य विषय हो ।
यो वा त्यो गुटलाई कारबाही हुन्छ त ? होइन । व्यक्तिलाई कारबाही हुन्छ । जो मूलदोषी हो, त्यहाँबाट शुरू हुन्छ । अब नाङ्लो ठटाएर हात्ती तर्सिन्छ भन्ने खालको भ्रम उहाँहरूले नपाले हुन्छ ।
कहाँ मैले डण्डा चलाउनु । राष्ट्रिय भेला भनेर बकवास गर्न पाइन्छ ? राष्ट्रिय भेला भनेर पार्टीको अध्यक्ष, पार्टीद्वारा निर्वाचित प्रधानमन्त्रीको विरुद्ध बकवासको जमघट गर्न पाइन्छ ?
०००
भेला भइसकेपछि तपाईंको भूमिका फेरि एकपटक समेट्नेतिर हुन्छ कि तपाईंले भनेजस्तै विधिविधान कार्यान्वयनतिर जान्छ ?
देशको प्रमुख पार्टीको अध्यक्षको हिसाबले र प्रधानमन्त्रीको हिसावले मेरो अभिभावकीय भूमिका स्वभाविक रूपमा मैले बुझेको छु । देशको संविधानले कसैमाथि ज्यादती गरौं भन्छ ? कसैलाई दुःख दिऊँ भन्छ ? कसैलाई छेकथुन गरौं भन्छ ? तर, कारागार किन बन्छ ? मान्छे किन थुनिन्छ ?
लोकतान्त्रिक संविधान बनेको ठाउँमा पनि फेरि अपवाद तत्वहरूका लागि जेल त बनेको हुँदो रहेछ नि ! के जेल बनाएका देशमा अपराध कर्म कसैले गर्यो भने कानूनको कठघरामा उभ्याएर सजाय गरिँदा त्यसलाई तानाशाही भन्छ ? पीडितलाई न्याय दिँदा अभिभावकीय भूमिका भएन भन्ने हुन्छ ? पीडकलाई दण्ड दिँदा, पीडितलाई न्याय दिँदा त्यो कर्तव्यभित्र पर्छ कि अभिभावकीय भूमिकाको अभाव हो ? परिभाषा त ठिक ढंगले गर्नुपर्यो नि !
तपाईंले शुरूमा सोधेको अभिभावकीय भूमिकाको सन्दर्भ जहाँ छ । अभिभावकीय भूमिकै भएको हुनाले सिके राउतसँग कुरा गरेर पृथकतावादको अन्त्य गरियो । पूर्वाग्रह राखियो ? प्रतिशोध लिइयो ? केही गरिएन नि त ? समस्याको समाधान गर्ने बाटो समातियो । र, सिके राउत समूहलाई शान्तिपूर्ण संवैधानिक राजनीतिको मूलधारमा ल्याइयो ।
हालसालै नेपाल कम्युनिष्ट पार्टी, जसलाई विप्लव समूह भनेर चिनिन्छ, उहाँहरूसँग सम्झौता गरेर उहाँहरूको हिंसाको बाटो छोडाएर शान्तिपूर्ण बाटोमा त ल्याइयो नि ! उहाँहरूसँग प्रतिशोध साँधियो र ? उहाँहरूसँग के एउटा प्रधानमन्त्रीले गर्ने अभिभावकीय भूमिका त्यही होइन र ? विभिन्न गलत चिन्तन, बाटो र मार्गमा गएकाहरूलाई सम्झाएर, बुझाएर जिम्मेवारीबोधका साथ अभिभावकीय भूमिका दिने, त्यो कुरा हो । कोही कार्यकर्ता भ्रम र अलमलमा छन् भने अलमलबाट मुक्त गर्ने त्यो मेरो भूमिका हो । विदेशीका इसारामा, विदेशीका स्वार्थका लागि, विदेशीका आदेशमा कोही चलेर देशलाई बर्बाद गर्न खोज्छ भने देशको रक्षाका लागि उभिने मेरो कर्तब्य हो ।
विदेशीको कुरा कहाँबाट आयो फेरि ?
कम्फर्टेबल ठाउँबाट ! कम्फर्टेबल हुन्छ मैले भनेको त होइन नि ! कम्फर्टेबलमा त सँगै हुनुहुन्थ्यो । कुम जोडेरै कम्फर्टेबल बनाउन लागिरहनुभएको थियो । अहिले पनि कम्फर्टेबल बनाउन कुदिरहनुभएको छ ।
तर उहाँहरू त उता कम्फर्टेबल छोडेर यता नै कम्फर्टेबल हुन खोजिरहनुभएको होला नि ? नत्र पेरिसडाँडा छोडेर किन आउनुहुन्थ्यो ?
होइन भनिरहनुभएको छ त । कहाँ हो भन्नुभएको छ उहाँहरूले ?
बामपन्थीकै सरकार कन्टिन्यू गर्ने कुरामा….
मैले राजीनामा गरेर दिनुपर्ने उहाँहरूको हातमा । अहिलेकै सरकारलाई निरन्तरता दिऊँ भनेर खुलस्त नभनेर, वामपन्थीको सरकार भनेको के ? कुन सरकार छ त देशमा ? वामपन्थीकै सरकार छ त छ, निरन्तरता दिऊँ ।
अब पनि यही गठवन्धनलाई निरन्तरता दिन तपाईंले फेरि एकपटक त्याग गर्नुपर्यो भन्ने कुरा छ उहाँहरूको !
(हाँस्दै) मैले अध्यक्षमा त्याग गर्नुपर्ने उहाँहरूको कुरा थियो । मैले त्याग गरेर उहाँहरूलाई अध्यक्ष दिने । मैले प्रधानमन्त्री उहाँहरूलाई त्याग गरिदिने । जोसुकैलाई दिए पनि हुन्छ, मैले त्याग गरिदिने ! त्यति मैले त्याग गरिदिएपछि, उहाँहरूलाई देश बर्बाद गर्न छुट दिएपछि उहाँहरू सन्तुष्ट हुनुहुन्छ । मसँग मिलेर काम गर्न तयार हुनुहन्छ । झलनाथ खनालज्यूलाई राष्ट्रपति बनाइदिएपछि, माधव नेपालज्यूलाई अध्यक्ष, प्रधानमन्त्री के-के बनाइदिएपछि, प्रचण्डजीले भन्दै हुनुहुन्छ कि छोड्नु भो थाहा छैन मलाई, अध्यक्ष भइहाल्नुभयो । अझ त्यहाँबाट एउटा समूह फुट्ने हो भने फेरि अर्को अध्यक्ष हुन्छ । अध्यक्ष हुन त सजिलो छ नि । अनि प्रधानमन्त्री दिएपछि, देश बर्बाद गर्न… ।
सरकारको सन्दर्भमा म एकछिनमा आउँछु । पार्टीको सन्दर्भमा कुरा गर्दा माधवकुमार नेपाल, झलनाथ खनालको एउटा समूह थियो । हिजो प्रचण्ड-माधव भनियो । उहाँहरूको एउटा समूह अदालतको फैसलापछि नेकपा एमाले भएको छ…
भएको भन्ने ठानेको । तर भएको रहेनछ । त्यो त भेलाले देखाउँदैछ । म उहाँहरूलाई पार्टी अफिसमा बोलाएर कुराकानी गर्दैछु, उहाँहरू राष्ट्रिय भेला भनेर वितण्ड खडा गरिरहनुभएको छ । पार्टी कार्यकर्तालाई अल्मल्याउन खोजिरहरनुभएको छ ।
तपाईंले भनेजस्तो कारबाहीको प्रक्रियामा गयो भने त पार्टी फेरि फुट्ने होला । अस्तिनै नेकपा फुट्यो !
कहाँ सग्लो छ र फुट्ने कुरा भनेको ।
अहिले कम्तीमा नेकपा एमाले भनेर त बनेको छ नि ?
एमाले भनेर एमालेविरुद्ध गतिविधि गर्नुभन्दा त अलग्गै भएर गतिविधि गरेको राम्रो होला नि ! एमाले भएर अलग्गै गतिविधि गर्न पाइँदैन ।
कानूनले अलग हुन दिएन भनेर उहाँहरूले प्रष्ट भन्नुभएको छ ।
मसँग निवेदन हाले भयो नि । सजिलो बनाइदेऊ, हामी अलग हुन्छौं भन्दा भयो नि त ।
भनेपछि माधव नेपालहरूले चाहनुभयो भने फुट्न सजिलो हुने गरी अध्यादेश ल्याइदिने तपाईं ?
उहाँहरूले माग्नुभयो भने ल्याइदिन्छु म । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन । मान्छेको विचारको स्वतन्त्रता हुन्छ । राजनीति भनेको स्वेच्छाको कुरा हो । मान्छेले कुनै समूहमा जान चाहन्छ भने जान दिनुपर्छ । कुनै समूह बनाउन चाहन्छ भने बनाउन दिनुपर्छ । कुनै समूह छोड्न चाहन्छ, छोड्न दिनुपर्छ । कुनै पार्टी छोड्न चाहन्छ, छोड्न दिनुपर्छ । संघ-संगठन र संघ-संस्थासम्बन्धी अधिकार भनेको त्यही हो ।
हामी देश र जनताको हितमा केन्द्रित हुनुपर्छ । विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ । आफ्ना स्वार्थ, अहंकार, जिद्धी, यस्ता कुरामा केन्द्रित हुने अनि, गुट गर्न पाउनुपर्छ पार्टीमा भनेर दम्भ देखाउन मिल्छ ? पार्टीमा गुट बनाउन पाइँदैन क्या । साथीहरू आउनुहोस्, मिलेर बसौ, मिलेर काम गरौ । हिजो जे भयो सबै बिर्सेर काम गरौ ।
पुस ७ देखि फागुन २३ सम्म तपाईंले पूर्वएमालेका सहकर्मीबिना पार्टीमा वडादेखि नयाँ कमिटीहरू बनाउनुभयो । उहाँहरूबिनाकै पार्टी चलाएर जाने तीन महिनाको अभ्यास गर्नुभयो । यसैलाई निरन्तर गर्दा नै आफूलाई कम्फर्टेबल हुने ठान्नुभएको हो अब ?
कम्फर्टेबलको कुरा होइन । अनिवार्य भयो नि । मैले त मिलौं भनेर सधैँ भनेँ । स्थिरता, स्थायित्व दिऊँ भनेँ । बखेडा ननिकालौं, निहुँ नखोजौं, देश र जनताको समस्यामा केन्द्रित होऔं भनेँ ।
देशमा यत्रो समस्या छन्, कोभिड-१९ छ । उहाँहरू कोभिड-१९ मा छलफल गर्नुपर्यो भनेर भन्नुहुन्छ । बैठक बस्नुअघि प्रेसलाई दिनुहुन्छ । त्यसपछि बसाएको बैठकमा कोभिड-१९ को बारेमा उहाँहरूले कुनै प्रस्ताव ल्याउनुभयो ? कुनै छलफल गर्नुभयो ? छलफल गर्न दिनुभयो ? कोरोनाको बारेमा छलफल गर्न बैठक चाहियो भन्नुभयो । बैठक बोलाएपछि आरोप पत्रहरूदेखि लिएर अनेक तमासा उहाँहरूले शुरू गर्नुभयो ।
मैले त रोक्न खोजेँ । तपाईंलाई सम्झना होला । असार १० गते शुरू भएको बैठक भदौ २६ गते टुंगियो । कोभिडको बारेमा उहाँहरूले एक शब्द कहिले बोल्नुभयो ? सरकार लडिरह्यो । पार्टी लडिरह्यो । तर दुईवटा गुट मिलेर उहाँहरूले एउटा गुट बनाउनुभयो ।
कसैलाई राष्ट्रपति बाँड्या छ ? कसैलाई प्रधानमन्त्री बाँड्या छ । बिचराहरू रातभरि ननिदाउने । अब मलाई प्रधानमन्त्री बन्न कति दिन लाग्छ होला भनेर गनेर बस्ने । मलाई अध्यक्ष बन्न कति दिन लाग्छ होला भनेर हिसाब गर्ने । रातभरि, रातभरि बिचरा !
हुन त अब यो विगत भइसक्यो । तर, पनि आम मान्छेले हेर्दा के देखिन्छ भने माधव नेपाल र प्रचण्डमध्ये एकजना तपाईंसँग मिल्ने वित्तिकै बहुमत हुन्थ्यो । प्रचण्ड आफूलाई ‘फुर्के मान्छे’ भन्नुहुन्छ । माधव नेपाल पनि सम्मान र अपमानको कुरा गर्नुहुन्छ । प्रचण्डलाई अलिकति फुर्क्याइदिएर वा नेपाललाई सम्मान दिएर ५ वर्ष सरकार र पार्टी ढुक्कले चलाएको भए हुन्नथ्यो ?
प्रचण्डजी फुर्के मान्छे हो । अध्यक्ष हुँदै हुनुहुन्थ्यो । प्रधानमन्त्री जिम्मा लगाएर ‘ल तपाईं नै चलाउनुस्’ भनेर फुर्क्याइदिएको भए उहाँ मान्नुहुन्थ्यो । अरु हिसाबले फुर्क्याएर हुनेवाला छैन । फुर्क्याउने त कति हो कति मैले । सुमधुर बाँसुरी बजाएर । सितार, गितारका धुन सुनाएर । के गरेर फुर्क्याइँन होला ! विष्णु सहस्रनाम भन्दा पनि प्रचण्ड महासहस्रनाम गाएर फुर्क्याइँन कि । उहाँ मलाई फकाउनुस् न भन्नुहुन्थ्यो, फकाइनँ कि ! उहाँको एउटै मात्रै कुरा थियो- अरु सबै ठिक छ कमरेड, एउटा प्रधानमन्त्री दिएर फकाउनुस् न भन्ने । आमाले पनि फुर्के भन्नुहुन्थ्यो मलाई, म त फुर्क्याइदियो भनेर फुर्किन्छु नि, प्रधानमन्त्री दिएर फुर्क्याउनुस् न भन्ने । म त तपार्इंका पछि लुरुलुरु हिँडिहाल्छु नि । त्यही प्रधानमन्त्री मलाई जिम्मा लगाइदिनुस् न भन्ने ।
लाटै हुनुहुँदोरहेछ क्यारे । लाटो-लाटोजस्तै लाग्यो के । प्रधानमन्त्री दिएर मलाई फुरुङ्ग पारिदिएपछि म फुरुङ्ग भइहाल्छु । त्यो प्रधानमन्त्री जिम्मा लगाइदिएर फकाउनुस्, तपाईंकै साथमा हुन्छु । यस्ता चिप्ला कुरा, धुर्त कुरा । ब्वाँसोले पहिले कन्याउँछ, कन्याउँछ अनि खान्छ । मैले त्यो कथा पढेको हुनाले कन्याइरहेको बेला म बुझ्छु । किन कन्याउँदैछ भनेर ।
नेकपा एमाले र एमालेभन्दा बाहिरको पनि चासो के छ भने फेरि पनि केपी ओेली, माधव नेपालसहितको २०७५ जेठ २ अगाडिको अवस्थामा एमाले जान सक्छ कि सक्दैन ?
उहाँहरूले यस्ता भेला बन्द गर्नुपर्छ । मैले हिजो पनि भनेँ, बन्द गर्नुस् भनेर । वक्तव्यबाट पनि भनेँ । पार्टीले दिएको आदेश अवज्ञा गरेर, पार्टी अध्यक्षको सुझाव नमानेर, पार्टीका नाममा गुटको भेला गरेर, अनुशासनहीन-अराजक काम गरेर पार्टी सिध्याउने खेल जो उहाँहरू गरिरहनुभएको छ, त्यो स्वीकार्य हुँदैन ।
उहाँहरू पार्टीमा आएर पार्टीको काम गर्न स्वतन्त्र हुनुहुन्छ । गुटबन्दी गर्न भएन । हामी सबैलाई गुटबन्दी नगर्दा हुन्छ । यत्रो कार्यकर्ता पंक्ति छ । यत्रो संगठन छ, गुटबन्दी नगर्दा हुन्छ । माधव नेपाल र दुई-चार जनालाई गुटबन्दी नगरी नहुने ? अनि उहाँको गुटलाई समानान्तर ! उहाँले भनेको मान्छे केन्द्रीय कमिटीमा राखिएन अरे ! केन्द्रीय कमिटीले उहाँको आदेश तामेल गरिदिनुपर्ने अरे ! राखेन त राखेन म के गरौं ? एउटा मान्छे राखेन । केन्द्रीय कमिटीको बैठकको बेला किन जानुहुन्छ घाना ? के काम थियो ? यति विदेश जानुभयो, केका लागि जानुभयो ? कहाँ जानुभयो ? कसको कामको लागि ? कसले अह्राएर ? कसको निर्णयबाट ? कहिले पनि उहाँ पार्टीको निर्णयबाट जानुभएको छैन ।
अफ्रिकाको प्रसंग ल्याउनुभयो । अफ्रिकाकै एकजना नेताले ‘फर्गिफ, डन्ट फर्गेट’ भनेका छन् । तपाईंले पनि एकपटक पुराना कुरा बिर्सेर…
त्योभन्दा एक स्टेप अगाडि छु म । फर्गिभ एन्ड फर्गेट । बिर्सिदिन तयार । तर, अब त्यही जारी हुनुभएन नि । पार्टीका नाममा राष्ट्रिय भेला ? अनि फर्गेट हुन्छ ? कसरी फर्गेट गर्नु ? विगत पो बिर्सन सकिन्छ त ? हिजो मलाई चुट्या थियो भने, हिजो लातै लगाएको थियो भने बिर्सिउँला । अहिले लगाएको त कसरी बिर्सने ? छेक्नु पर्यो कि परेन ? छेक्नु त पर्यो । हिजो घाउचोट लगाएको थियो भने बिर्सिउँला । आजै लगाउँदैछ भने ? हिजो उसले तरबारले हानेको थियो, घाइते बनाएको थियो, भैगो बिर्सिउँला । तरबारले अहिले हानिरहेको छ भने ? फर्गेट एण्ड फर्गिभ……
त्यहाँ भेला भइराखेको बेला भित्री च्यानलबाट फेरि मिलेर जाउँ भन्ने साथीहरू पनि होलान् नि ?
३६ प्रतिशत जति साथीहरू त्यहाँ छन् । मैले भेलामा पठाइदिएको छु ।
तपाईंलाई समर्थन गर्ने साथीहरू हो ?
मसँग राम्रो समझदारी भएका र मसँग सल्लाह गरेर नै गएका छन् । अलिपछि थाहा पाउनुहुन्छ माधव नेपालजीले के-के हुन्छ ।
हिजोजस्तो एमालेमा समझदारी गर्ने लाइनमा जानुभएको हो, तपाईं ?
मैले एक नजर उहाँहरूको गुटगत भेलामा राखेको छु । त्यो मैले भनेको पनि छु । उहाँहरूले बोलेको बेला कसरी आँखा झिम्क्याएको छ, कसरी मुख चलाएको छ र कसरी हात हल्लाएको छ सबै थाहा छ ।
राष्ट्रिय भेला गरिहाले, अब मिलेर हिडाउँ भन्ने लाइनमा तपाईं पटक्कै हुनुहुन्न ?
माफी माग्नु पर्छ । हामीले राष्ट्रिय भेला गरिहाल्यौं, यो गल्ती हो भनेर माफी मागे ठिकै हो । तर, डुक्रिने हो भने भने सिङ भाँचिन्छ ।
राष्ट्रिय भेलाप्रति माफी माग्नुभयो भने २८ गतेको निर्णयलाई करेक्सन गर्नुहुन्छ ?
पार्टीले गरेका काम र निर्णयहरू तलमाथि हुँदैनन् । कसैको धाक-धक्कुमा पार्टीले गरेका काम फेरिँदैनन् । अब ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्छ । मैले सबैले सुन्नेगरि भनेको छु । उहाँहरूलाई बोलाएको छु । थाहा पाउनु भएन भने म जान्दिनँ । भनेको भन्यै छु । आमसभा, अन्तर्वार्ता, टिभी र युट्युबबाट भनेको भन्यै छु । उहाँहरूलाई एसएमएस र फोन नै गएको छ ।
मैले चुप्प लागेर सरकार चलाइरहन्छु नि । किन चुनावतिर धकेल्नु ? चुनाव किन गराइरहनु पर्यो ? सरकार खुरुखुरु चलाउनुपर्यो नि । अब दुई वर्ष पनि बाँकी छैन खुरुखुरु सरकार चलाइन्छ नि । २२-२३ महिना बाँकी रहँदा किन परिवर्तन गर्नु परेको छ र ? राम्रो काम गरेको छ सरकारले । अनि कहाँ चुनावमा जाने भनेको छु र मैले ?
यसले त झन् समस्या ल्यायो । उहाँहरूले अध्यक्ष तपाईं र महासचिव विष्णु पौडेललगायत ८ जना जतिलाई मात्रै कारबाही गर्नुभएको थियो । तलको कमिटीहरू यथावत नै थिए । तर तपाईंहरूकोमा तलबाट नै कमिटीहरू बनेका छन् नि ?
हो । उहाँहरू हिँड्नुभयो भने यो पार्टी थाम्ने त कार्यकर्ता छन् नि । समस्या भएको होइन, समस्या समाधान भएको हो । सिध्याउन खोजेको पार्टी त सिद्धिंदो रहेनछ ।
पार्टी स्पष्ट दुई पक्षमा बाँडिएको छ, कसरी समस्या समाधान भयो ?
नेकपा एमालेमा नेपाल-खनाल पक्ष भनुहुन्छ । त्यस्तो पक्ष नेकपा एमालेमा छैन । म नेकपा एमालेको अध्यक्ष हो । म ओली पक्ष हो ? पार्टीमा ओली पक्ष पनि हुन्छ ? म एमालेको अध्यक्ष हो । म निष्पक्ष हो ।
पुस ७ गते पनि पार्टीमा यति धेरै कमिटी बनेका छन् ? ती यथावत नै रहन्छन् ?
उहाँहरूले छोडेपछि पार्टी बचाउने पङ्ति त रहेछ । त्यो कमिटी पार्टी बचाउन बसेको स्वयम्भु हो । जब-जब पार्टी संकटमा पर्छ तब हामी छौं भनेर उठेका कार्यकर्ता स्वयम्भु बनेर आएका छन् र ती रहन्छन् । पार्टीमा डँढेलो लागेका बेला उम्रेका बिरुवा मासेर फेरि सुकेका ठेउकाहरू लगेर गाड्छ कसले त्यहाँ ?
यसको मतलब अब तपाईं प्रतिशोधमा जान खोज्नु भएको हो ? माधवहरूलाई स्पेस दिनु पर्दैन ?
तपाईंले कतै प्रतिशोध लिएको देख्नुभएको छ ? स्पेस भनेको झगडा हो ? ताण्डव हो ? पार्टीमा गुटगत भेला हो ? मैले प्रतिशोध लिएको छैन । पार्टीमा फर्केर काम गर्नुपर्यो । गुटगत भेला गर्ने हैन । गुटसँग म कुरा पनि गर्दिन र गुटलाई मान्दा पनि मान्दिनँ ।
पार्टीको सदस्यसँग कुरा गरिन्छ । पार्टीका प्रत्येक सदस्यहरूसँग छलफल गरिन्छ । गुट लिएर वार्तामा आउँला भन्ने कसैले पनि नसम्झे हुन्छ । गुटलाई मान्यता दिइँदैन ।
तपाईं फेरि प्रतिवादी बन्ने किसिमको पत्र निर्वाचन आयोगमा गइसकेको छ । तपाईंले गरेका निर्णय अवैधानिक हुन् भनेर रोक्न माग भएको छ । एउटा निर्णय नै विचाराधीन अवस्थामा थियो । फेरि अर्को गयो । त्यसलाई कसरी लिनुहुन्छ ?
म त फिरादपत्र हाल्छु । फिरादपत्र हाल्ने मान्छे झगडिया हैन । झगडियाहरू त पार्टी पाउँ, चिन्ह पाउँ र गरेका निर्णयहरू बदर गरिपाउँ भनेर निर्वाचन आयोगमा गएका छन् । पार्टीको निर्णयविरुद्ध अदालत जान्छन् । सभामुख, सरकारका विरुद्ध लागेका छन् । यो झगडीयाहरूको काम हो ।
राष्ट्रपतिले हिजो चियापानमा बोलाउँदा हामी आउन भ्याउँदैनौं भनेर जवाफ दिए । राष्ट्रपतिले बोलाउँदा नभ्याउने उहाँहरू मैले बोलाउँदा कहाँ भ्याउँनुहुन्छ ?
उहाँहरूको भेलाको तयारी छ । लामो प्रतिवेदन तयार पारेर बस्नुभएको छ । पत्रकारहरूले प्रश्न गर्न खोज्दा बाहिर जाउ, यहाँ अब प्रतिवेदन पेश हुन्छ भनेर भनिरहनु भएको छ । दुई घन्टा भाषण गर्ने अनि प्रतिवेदन पनि आफैं प्रस्तुत गर्ने । त्यहाँ अरु मान्छे छैनन् ।
उहाँहरू आउँदाखेरि आउँदा हुन्छ । उहाँहरूलाई ठाउँ छ । अदालतले अलग बनाइदियो अलग कुरा हो । मैले प्रचण्डलाई अध्यक्षबाट निकालेको थिइनँ । माधव, झलनाथ लगायतलाई निकालेको थिइनँ । नारायणकाजीले प्रवक्ताको काम नगरेकोले प्रवक्ताबाट मात्रै हटाएको हो । सचिवालयबाट हटाएको थिइनँ ।
सन् २००० मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा समाजवादसम्बन्धी एउटा कार्यक्रम भएको थियो । त्यस कार्यक्रमको उद्घोषकले सभापतिको आसन ग्रहण गर्न माधव नेपालजीलाई आग्रह बोलाएपछि उहाँ जानुभयो । हात हल्लाउनुभयो । भाषण पनि गर्नुभयो । त्यसपछि प्रमुख अतिथिको आसन ग्रहण गर्न बोलाइयो । फेरि जुरुक्क उठ्नु भयो । हात जोडेर यताउता तमासा गर्नुभयो । अनि १/२ जनालाई मञ्चमा बोलाइयो । फेरि ‘कि नोट स्पीच’ दिन माधवजीलाई नै बोलाइयो । त्यसपछि उहाँले ‘कि नोट स्पीच’ दिनुभयो । अन्य १/२ जना पनि बोल्नु भयो । फेरि आफ्नो मन्तव्यसहित माधवजीले कार्यक्रमको अन्त्य गर्नुहुन्छ भनेपछि फेरि उहाँ भाषण गर्न जानुभयो ।
त्यो कार्यक्रममा उहाँभन्दा जेठा र केही जान्ने नेता पनि हुँदा हुन् । तर प्रमुख अतिथि उहाँ । सभापति, विशेष अतिथि पनि उहाँ ।
अदालतको फैसलापछि १ सय २१ सिटको एमालेसहित माओवादीको सानो हिस्सा तपाईंलाई बोनस आएको थियो । तपाईं झन् ठूलो पार्टीको अध्यक्ष हुनुभएको थियो । अब त्यो त गुम्ने भयो होइन ?
मलाई सुन्निएर मोटाउनु छैन । विधिबिनाको, थितिबिनाको पार्टी चलाएर यो पनि मेरै हो, त्यो पनि मेरै हो भन्ने खालको भ्रम मलाई पाल्नु छैन ।
उहाँहरू आउँदाखेरि आउँदा हुन्छ । उहाँहरूलाई ठाउँ छ । अदालतले अलग बनाइदियो अलग कुरा हो । मैले प्रचण्डलाई अध्यक्षबाट निकालेको थिइनँ । माधव, झलनाथ लगायतलाई निकालेको थिइनँ ।
नारायणकाजीले प्रवक्ताको काम नगरेकोले प्रवक्ताबाट मात्रै हटाएको हो । सचिवालयबाट हटाएको थिइनँ । उनले पार्टीको विरुद्धमा बोलेको बोल्यै थिए । मैले अस्तिसम्म देव गुरुङलाई प्रमुख सचेतक राखिछोडेको थिएँ । आजसम्म पनि मैले दिनानाथ शर्मालाई राष्ट्रिय सभामा मेरो प्रतिनिधिको रूपमा राखेको छु । अब उहाँलाई पत्र बुझाउँछु ।
म त फेरि भन्छु, यो सबै तमासा छोडेर आउनुस् । रजनिसले सुनाएको एउटा कथा छ । बच्चाले के गल्ती गर्यो अरे । लडेर रुन थालेपछि आमाले भनिछन्- छोरा, गल्ती गरेपछि रुनु हुँदैन ।
ती महिलाका ८ वटा छोराछोरी रहेछन् । ती ८ छोराछोरीले एकदम हायलकालय पारे उनलाई । यता च्याउँच्याउँ, उता च्याउँच्याउँ । आमा रुन थालिछन् । सानी बच्चीले भनिछन्- ममी, गल्ती कर्के नही रोते ।
गल्ती गरेपछि रुने काम गर्नुहुँदैन । एउटा गल्ती ढाकछोप गर्दा अरु गल्ती गर्नुहुँदैन । उहाँहरूले गुटगत क्रियाकलाप गरेर, पार्टी सिध्याउन खोजेर, सरकार ढाल्न खोजेर जुन गल्ती गर्नुभयो त्यसको पुष्टि गर्न अरु थप अपराधकर्म र गल्ती उहाँहरूले गर्नुहुँदैन ।
प्रचण्ड-माधवले फागुन ११ को फैसलापछि भन्नुभएको थियो- एउटा सेटिङ भत्कायौं । अब निर्वाचन आयोगवाला सेटिङ पनि भत्काइन्छ । तर निर्वाचन आयोगवाला सेटिङ भत्काउनुअघि नै तपाईंले झन् ठूलो सेटिङ हान्नुभएको रहेछ । प्रचण्ड-माधव पक्षलाई पराजित अवस्थामा पुर्याइदियो फैसलाले । मुद्दा त तपाईं र प्रचण्डले हारेको हो नि ? तर पनि तपाईंका कार्यकर्ताले दिपावली गरे ।
मैले उत्सव मनाइनँ । उहाँहरूले अविरजात्रा गर्न, लड्डु खान सिकाउनुभयो मान्छेलाई । त्यो सिकाएपछि कार्यकर्ता खुसी भएर नाचिदिए होला । छमछम गरे पनि होला । दीपावली गरे पनि होला । मिठाइ खाए पनि होला । उहाँहरूले सिकाउनु त भयो नि । अदालतको मुद्दाको फैसलाबाट जे हानी वा लाभ हुन्छ, त्यसबाट एकदम खुसी र दुःखी हुनुपर्ने होइन । राजनीतिक कामबाट उपलब्धि वा नोक्सानी हुन्छ । त्यसमा नोक्सानी भयो भने दुःखी हुनुपर्छ । अदालतमा राजनीति गर्ने मान्छे होइन, न्याय दिने मान्छे बसेको हुन्छ । न्याय त जस्तो उनीहरूले बुझ्छन् त्यस्तै दिन्छन् । न्यायाधीशले त न्याय दिने हो नि राजनीति गर्ने होइन ।
अब त्यो दिँदा राजनीतिक रूपमा कति ठिक हुन्छ, कति ठिक हुँदैन । त्यसमा हौसिने अथवा दुःखित हुने, लड्डु खाने, अविरजात्रा गर्ने यस्ता कुराहरू अथवा बसेर धुरुधुरु रुने यो काम छैन । अदालतका मुद्दाका हिसाब गरेर कुद्नु हुँदैन । त्यसकारण म अदालतका मुद्दासँग कहिल्यै उत्साहित पनि भइनँ । कहिल्यै दुःखी पनि भइनँ ।
प्रचण्ड भन्नुहुन्छ- प्रतिनिधिसभा पुनःस्थापना गरेर त्यत्रो मुद्दा हराउँदा पनि मै जितेजस्तो व्यवहार गरेको छ । यता ऋषि कट्टेलले जित्दा पनि आफैंले जितेजस्तो गरेको छ । तपाईंप्रति उहाँहरू बडा आश्चर्यचकित भइरहनुभएको छ । हारेपछि पनि जितकै दम्भ ?
मुद्दा हारिन्छ । राजनीतिमा मुद्दा भनेको बेग्लै कुरा हो । मुद्दाले राजनीति तय गर्दैन । राजनीति राजनीतिले तय गर्छ । उहाँहरूले पार्टी तोड्नुभयो । निकाल्नुपर्नेलाई निकाल्नुभयो । यस्ता कृत्रिम दम्भी क्रियाकलापहरू टिक्दा रहेनछन् । के उहाँहरूको ‘पोलाइट’ क्रियाकलाप हो त्यो ? के फेरि पार्टीमा फर्किने, पार्टी एकता खोजेको क्रियाकलाप हो ? धनियाको अचार पिसे झैं पिसेको होइन ?
तपाईंले माधवकुमार नेपालको भाषण सुन्नु पनि भयो होला । फेरि पनि दम्भ देखाएर हिजो बहुमतमा नहुदाँको प्रतिशोध लिनेगरी तपाईं अघि बढ्नुभयो भन्ने गुनासोको सम्बोधन कसरी गर्नुहुन्छ ?
एउटा कुरा, कामको हिसावले मसँग बहुमत छ । एकताका नाममा मैले माधव नेपाललाई अलिकति, झलनाथको मान्छे भनेर, प्रचण्डको मान्छे भनेर दिदाँ-दिँदा आफूलाई नै अल्पमतमा पारेँ एकताको भावनाले ।
सिंह भइसकेपछि त झ्वाम्मै अब तँलाई नै खान्छु भन्ने भए । भष्मासुरलाई बर के दिएको थिएँ, अब तेरो टाउकोमा हात राख्छु भन्ने हुँदो रहेछ नि त । शिवजी भाग्नु परेन ? भष्मासुरलाई बर दिइहाल्यो । बर पाइसक्दाखेरी भष्मासुरले हो कि होइन खै तेरो टाउकोमा हात राखौं भनेर आफैंलाई आएपछि त शिवजी त त्रिशुल समातेर टाप ।
भनेपछि तपाईं अब जसरी पनि बहुमत नछोड्ने लाइनमा हो ?
होइन, होइन, जसरी पनि भन्ने कुरै छैन ।
२८ गतेसम्म उहाँहरूको भनाइअनुसार बराबर संख्या हाम्रो भन्ने छ नि त ?
कहाँ थियो बराबर संख्या ?
साविक एमालेको स्थायी कमिटी, पदाधिकारी र पोलिटब्यूरोमा हामी बहुमत थियौ । केन्द्रीय कमिटिमा ४-५ जना तलमाथि हुन्थ्यौं भन्नुभएको छ ।
हा हा.. । यो ४-५ जना तलमाथि हुन्थ्यो कि के हुन्थ्यो भन्ने गुटका कुरा गरेको होला उहाँहरूले । गुटलाई मान्यता दिइदैन । कतिजना थिए भन्ने कुरा अब हेर्दै जानुपर्छ । पार्टीको विधान बनाएको नाक कानमा झुण्ड्याउन होइन ।
फागुन २३ गतेको फैसलाको सन्दर्भमा प्रचण्ड पुनरावलोकनमा जाने भन्दै हुनुहुन्छ । तीनवटा विपक्षी हो तपाईं, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोग । तपाईं त दुईजना बराबर एक अध्यक्ष होला सायद । तपाईं पुनरावलोकनमा जाने त्यस्तो कुनै सोचमा हुनुहुन्छ ?
म कहिले मुद्दामा गएको छु र ? म त कहिले पनि मुद्दा मामिलामा गएको छैन नि । म त प्रतिवादी कसैले बनायो भने जवाफ दिने मात्रै हो । फेरि पनि कसैले प्रतिवादी बनायो भने जवाफ दिउलाँ । म मुद्दा गर्न जान्न, राजनीति गर्छु ।
तपाईंको पछिल्ला भाषण सुन्दा भोलि के हुँदैछ भन्ने आफैंले संकेत गर्नुभएको पाइन्छ । अस्ति भृकुटीमण्डपबाट तपाईंले प्रतिपक्षमा बस्न तयार छौं र २० महिनापछि फेरि दुई तिहाई बहुमतसहित फर्किन्छौं भन्नुभयो । के अब सरकार ढल्दैछ भनेर मानसिक रूपमा तयार हुनुभएको हो ?
एउटा कुरा के हो भने, अब नेपालमा बहुमतधारी सरकार रहेन । संविधानको धारा ७६ को उपधारा १ बमोजिमको बहुमतको सरकार अर्थात एकल बहुमत भएको पार्टीको सरकार रहेन, किनभने एकल बहुमतवाला पार्टी छैन ।
एकल बहुमतवाला पार्टी नभएपछि दुई वर्षलाई अविश्वास प्रस्ताव राख्न नपाइने भन्ने प्रावधान पनि हो, तर संविधानमा अन्योल छ । के अन्योल छ भने, अविश्वासको प्रस्ताव त दुई वर्ष राख्न पाइदैन, तर सहभागी दलले अर्थात सत्ता साझेदारले समर्थन फिर्ता लिएमा वा सरकार छोडेमा के हुन्छ भन्दा एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । भनेपछि जुन स्थायित्वको लागि संविधान बनाएको, पाँच वर्षको सरकार बनाएको भन्नेहरू छन्, संविधान नपढेरै गफ गर्ने मान्छे छन् यहाँ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने अविश्वासको प्रस्ताव नआए पनि तपाईंले एक महिनाभित्र विश्वासको मत फिर्ता लिनुपर्छ होइन र ?
अँ पर्छ । त्यो त पहिले पनि पर्थ्यो नि । जेठ ३ गतेभन्दा अगाडि पनि सरकार नबन्न सक्थ्यो नि । दुई दलको बन्यो । २०७४ साल फागुन २७ गते मैले विश्वासको मत लिएँ । ७८ प्रतिशतको विश्वासको मत आयो ।
पार्टी एकिकरण भएपछि यो सरकार संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकारमा परिणत भयो । अस्ति फागुन २३ गते जुन फैसलाले पार्टी पुरानै ठाउँमा बिभाजनमा गएपछि जेठ ३ गते अगाडिकै स्थितिमा त्यो सरकार फेरि फर्कियो । यसर्थ बहुमतधारी पार्टी नै छैन । कुनै पार्टीसँग पनि बहुमत छैन । अब दुई वा दुईभन्दा बढी दलहरू मिलेर बनेको सरकार छ ।
मैले नेकपा माओवादी केन्द्रको समर्थन प्राप्त गरेको थिएँ । उहाँहरूले फिर्ता लिनुभएको छैन । किन उहाँहरूसँग फिर्ता लेऊ भनेर माग गरिरहने र ? मैले किन माग गर्ने फिर्ता लेऊ, फिर्ता लैजाउ भनेर ? उहाँहरूले समर्थन कायम गरे हुन्छ किनभने मैले राम्रो काम गरेको छु । ठिक काम गरेको छु । किन समर्थन फिर्ता लिने ?
तपाईंलाई हटाउन यत्रो प्रयास गर्नुभयो । फेरि तपाईंलाई नै किन कायम राख्नुहोला र ?
एक महिना त हुन लाग्यो नि । आजै अविश्वास, भोलि नै अविश्वास भनेका थिए त । अविश्वासको प्रस्ताव त आएकै छैन । संसद नहुँदा अविश्वासको प्रस्ताव राख्न पाइएन भन्ने तर संसद ब्युँतिएपछि किन अविश्वासको प्रस्ताव नराखेको होला ? राखेकै छैन । यसको मतलव अविश्वासको प्रस्ताव राख्नुपर्ने नै स्थिति होइन नि । सरकारले राम्रो काम गरिरहेको छ, केको अविश्वासको प्रस्ताव चाहियो र ? राख्नुपर्ने अवस्था नै होइन भन्ने कुरा त नराखेकैले पनि थाहा भइसक्यो नि ।
अविश्वासको प्रस्ताव राखेमा कि राजीनामा गर्नुपर्छ कि सामना गर्नुपर्छ । विश्वासको मत माग्दा होस् अथवा अविश्वासको प्रस्तावको सामना गर्दा होस्, बहुमत आएन भने राजीनामा दिनुपर्छ । अर्को सरकार बन्यो भने त्यसलाई सरकार सुम्पिनुपर्छ । बनेन भने फेरि अर्को विकल्पमा जानुपर्छ । सबै विकल्प सकिए भने चुनावमा जानुपर्छ । यही होइन र बाटो ? त्यसकारण संविधानका यी सबै प्राबधान देखेपछि म सरकारमा बसिरहन्छु भन्ने मात्र कहाँ हुन्छ र ? हट्न परे पनि ठिक छ ।
तपाईंको राजीनामा मागिएको थियो नि ?
होइन, कसले खोइ राजीनामा मागेको छ र ?
सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल पक्षले राजीनामा दिनुपर्छ भनेको होइन र ?
हा.. हा… । अब उहाँहरूले त्यतिबेला झोक चलेर भन्नुभयो होला । त्यतिबेलाको कुरा नगुर्न न । झोक चलेको बेला जसले पनि भन्छन् । उनीहरूले पनि भने होलान् । अहिले त भनेका छैनन् नि ।
अब तपाईंले के गर्ने तयारी गर्नुभएको छ ? अविश्वासको प्रस्ताव आयो भने सामना गर्नुहुन्छ कि सहजै राजीनामा दिनुहुन्छ ?
त्यो राजनीतिक परिस्थितिको कुरा हो । राजनीतिले निर्धारण गर्छ । राजनीति यस्तो चिज हो नि । अविश्वासको प्रस्ताव… अविश्वासको प्रस्ताव… भन्दै साथीहरूले गीत गाउँथे । अहिले त अविश्वासको प्रस्ताव आएको देख्दिन । त्यसैले भनेजस्तो कहाँ सजिलो छ र ? त्यसकारण परिकल्पना र यथार्थ फरक हुन्छ ।
कांग्रेस नेता रामचन्द्र पौडेले हिजो मात्रै भन्नुभएको छ कि, कतै हाम्रो सभापतिको मौनता प्रधानमन्त्रीसँग मिलेर फेरि प्रतिनिधिसभा विघटन गरी चुनावमै जाने त होइन भनेर । हिजो राष्ट्रपतिकोमा पनि त्यही विषयमा बहस भयो । यसको मतलव तपाईं फेरि पनि कहीँ न कहीँ देशलाई चुनावमै धकेल्ने दिशातिर हो ?
होइन, मैले चुप्प लागेर सरकार चलाइरहन्छु नि । किन चुनावतिर धकेल्नु ? चुनाव किन गराइरहनु पर्यो ? सरकार खुरुखुरु चलाउनुपर्यो नि । अब दुई वर्ष पनि बाँकी छैन खुरुखुरु सरकार चलाइन्छ नि । २२-२३ महिना बाँकी रहँदा किन परिवर्तन गर्नु परेको छ र ? राम्रो काम गरेको छ सरकारले । अनि कहाँ चुनावमा जाने भनेको छु र मैले ?
राष्ट्रपति कार्यालयमा पनि तपाईंले चुनावको कुरा उठाउनुभयो भन्ने छ नि ?
अरुले भूमिका निर्वाह गरेर त्यहीँ लगेर हाल्दिए भने त चुनाव पनि हुन्छ । संविधानले पनि त्यही भनेकाले चुनाव त संविधानले गराइहाल्छ नि ।
एकातिर बामदेव गौतमले एकता अभियान चलाइरहनुभएको छ । उहाँले वामपन्थी गठबन्धनको सरकार भन्नुभएको छ र माधव नेपाल पक्षले पनि त्यही भन्नुभएको छ । तपाईंको प्राथमिकता फेरि पनि यही वामपन्थी गठवन्धनकै सरकारलाई निरन्तरता दिने हुन्छ कि अर्को कोहीसँग मिलेर आफ्नो सरकार टिकाउने हुन्छ ?
होइन, मलाई यो वामपन्थी-सामपन्थी भन्दा पनि… त्यो त उहाँहरूले तोडि पनि सक्नुभयो, भत्काइसक्नुभयो, किस्ती लिएर अन्त पुगिसक्नुभयो । अरुलाई प्रधानमन्त्री बन्नुहोस् भनेर उहाँहरूले निवेदन हालिसक्नुभयो । भनेपछि अब वामपन्थी सरकार भन्ने के पो रह्यो र । म त सबैको समर्थन चाहन्छु नि ।
मैले विकास-निर्माणका काम गरेको छु । जनताको सेवामा राम्रो काम गरेको छु । सामाजिक उत्थान र सुधारका लागि राम्रो काम गरेको छु । विकास निर्माणको यत्रो लहर आएको छ । यति कुराहरू भएका छन् । त्यसो भएर मेरो नेतृत्वको सरकारलाई सबैले समर्थन गरेर यो डेढ वर्षजति बाँकी छ… अब वस्तुत: भन्ने हो भने यो डेढ वर्ष जति चलाउँ, अनि चुनाव गराउँ । चुनाव गराउँदाखेरि लोकतन्त्र समाप्त हुदैन है । यो चुनाव गराउँदा लोकतन्त्र समाप्त हुन्छ भन्ने जुन भ्रम छ नि, त्यो कुनै पनि हालतमा होइन ।
आफ्नै पार्टीले प्रधानमन्त्रीबाट राजीनामा मागिरहेको छ । फेरि तपाईं अहिले यस्तो कुरा गर्दै हुनुहुन्छ ?
होइन, एक-दुई जनाको कुरा हो । बहुदलीय व्यवस्थामा आफ्ना पार्टी भित्रका मान्छेले के असन्तुष्टिले, के पाइनँ भनेर, मेरो तृप्ती भएन, माग पूरा भएन भनेर कसैले राजीनामा माग्यो भन्दैमा, कसैको अराजकता देखियो भन्दैमा, कसैले अनुशासनहीन काम गर्यो भन्दैमा राजीनामा दिनु पर्दैन ।
एमालेसँग १ सय २१ सांसद रहेकोमा तपाईंले जनता समाजवादी पार्टीलाई फुटाएर सरकारलाई निरन्तरता दिन खोज्दै हुनुहुन्छ भन्ने पनि आरोप छ नि ?
किन जनता समाजवादी पार्टी फुटाउनु पर्यो र मैले ?
डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले तपाईंलाई जसरी पनि बहिर्गमन गर्नुपर्यो भन्नुभएको छ । उहाँहरू बाहेकलाई लिएर सरकारलाई निरन्तरता दिन खोज्नुभएको छ कि ?
यो राजनीतिलाई तपाईंले स्थिररूपमा नबुझिदिनुस् न । यो त गतिशील चिज हो नि । त्यसकारण आफ्नै पार्टीको हालत यस्तो छ । भनेपछि त्यस्तो हुँदोरहेछ नि । कांग्रेसभित्र पनि मतभेद छ, अन्य पार्टीभित्र पनि मतभेद छ । तपाईंले भन्नुभयो, जसपा फुटाएर ल्याउने । यसको मतलव अन्तरविरोध त्यहाँ पनि रहेछ भन्ने त देखियो । त्यस्ता अन्तरविरोध हुन्छन् । तर, हामी देश र जनताको हितमा केन्द्रित हुनुपर्छ । विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ । आफ्ना स्वार्थ, अहंकार, जिद्धी, यस्ता कुरामा केन्द्रित हुने अनि, गुट गर्न पाउनुपर्छ पार्टीमा भनेर दम्भ देखाउन मिल्छ ? पार्टीमा गुट बनाउन पाइँदैन क्या । साथीहरू आउनुहोस्, मिलेर बसौ, मिलेर काम गरौ । हिजो जे भयो सबै बिर्सेर काम गरौ ।
काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।
दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने व्यवस्था रहेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेको सांसद महेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।
बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।
माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।
काठमाडौं । नेकपा एमालेको संसदीय दलको विधान संशोधन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।
त्यस्तै बैठकले संसदीय बोर्ड समेत गठन गरेको छ । बोर्डमा २७ जना सांसद रहनेछन् । सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको हो ।
विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको सांसद महेश बस्नेतले जानकारी दिए ।
संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षका सांसदहरु गोपाल बम, नन्दा चपाई, समिना हुसेनलगायत सहभागी छन् । कलिला खातुन र गंगा चौधरी पनि सहभागी भएका थिए ।
काठमाडौं । संसदीय दलको बैठकमा मुख्य नेता नजाने तर अरु सांसद जाने निर्णयप्रति एमालेको माधव नेपाल पक्षका सांसदहरू असन्तुष्ट बनेका छन् । उनीहरूले कुन मुख लिएर बालुवाटार जाने ? भन्दै नेताहरूसँग असहमति प्रकट गरेका छन् ।
दलको बैठक बहिष्कार गर्ने भनेर एकाएक केही सांसदलाई जाऊ भन्नु पराजित मानसिकता भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । उनीहरूले दलको बैठकमा भाग लिने हो भने झलनाथ खनाल, माधव नेपालसहित सबै नेताहरू जानुपर्ने बताएका छन् ।
मुख्य नेताबाहेक अरु सांसद दलको बैठकमा जाने निर्णयप्रति आफू सहमत नरहेको सांसद तथा केन्द्रीय सदस्य झपट रावलले बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले हरेक सांसदको आफ्नो आत्मसम्मान हुने भन्दै पराजित मानसिकता बोकेर जानुको औचित्य नरहेको बताए ।
रावलले भने, ‘हामीले व्यक्ति केपी ओलीको विरोध गरेको होइन । पद्धति र प्रवृत्तिको सन्दर्भमा लडेको हो भने पराजित मानसिकता किन ? मुख्य नेताहरू जानुहुन्छ भने म पनि जान्छु नत्र जान्न भन्देको छु ।’
अन्य सांसदहरुले पनि नेताहरूलाई भेटेर र फोनमा समेत असन्तुष्टि जनाएका छन् ।
समानुपातिकतर्फका सांसदहरू भने बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । केही प्रत्यक्ष निर्वाचित सांसदहरू पनि गएका छन् ।
काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्ष पार्टीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ।
नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल बाहेकका सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गएका हुन् । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु बालुटारमा बोलाइएको संसदीय दलको बैठकमा जान तयार भएका हुन् । माधव पक्षका एक नेताले भने, ‘मूल नेताहरू दलको बैठकमा जानुहुन्न ।’
सर्वोच्च अदालतको आदेशसँगै पुन:स्थापित भएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो । माधव पक्षले यसअघि बैठकमा नजाने बताउँदै आएको थियो ।
काठमाडौं । माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको भनेर गलत प्रचार भएको नेताहरुले बताएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले परिस्थितिलाई थप उत्तेजक बनाउन यस्तो प्रचार गरिएको बताए ।
रिजालले नेपाल प्रेससँग भने, ‘कतिपयले भेलामा प्रस्तुत अवधारणापत्रमा पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागिएको र नयाँ नेतृत्व तोक्नुपर्ने कुरा उल्लेख भएको प्रचार गरेका छन्, जुन गलत र परिस्थितिलाई थप उत्तेजक बनाउने कुरा मात्रै हो ।’
रिजालले राष्टिय कार्यकर्ता भेलामा प्रस्तुत अवधारणापत्रमा आफूले भनेको कुरा अध्यक्ष केपी ओलीले मान्नुभएन भने के गर्ने भन्नेबारेमा उल्लेख नहुनुको कारण पार्टी एकता नै रहेको दाबी गरे ।
रिजालले भने, ‘पार्टीमा विवाद छ, मतभेद छ । तर, हामी सबैले आफ्नो भविष्य बलियो र सुदृढ नेकपा (एमाले) भित्र खोज्ने हो, बाहिर होइन र यो भेला त्यही एकतामा दवाव र जोड दिनका लागि भइरहेको छ । त्यसैले पार्टी एकताका लागि अध्यक्षबाट नै पहल र नेतृत्व हुनुपर्छ भन्ने अपेक्षा अन्यथा हुँदैन ।’
पार्टी विधान अनुसार चल्छ र चलाउन सकिन्छ भनेर नै थप कुरा उल्लेख नगरिएको अर्थमा बुझ्नु उपयुक्त हुने रिजालले बताए । ओलीबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास होस भन्ने आफूहरुले चाहेको उनको भनाइ छ ।
काठमाडौं । पुस ७ मा नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई संसदीय दलको बैठकमा आउन आग्रह गरिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आउन प्रमुख सचेतक विशाल भट्टराईले फोन गरेका हुन् ।
गौतमले आफू यसबीचमा कुनै समूहमा नलागेको भन्दै बैठकमा आउनेबारे बिचार गर्ने जवाफ दिएको बताइएको छ । गौतम राष्ट्रियसभा सदस्य हुन् । गौतम पत्नी तुलसा भने एमाले पुनःस्थापनापछि अध्यक्ष केपी ओलीले बोलाएका बैठकमा सहभागी हुने गरेकी छन् ।
सर्वोच्च अदालतको फैसलाले नेकपा भंग भएपछि राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता खाली रहेको छ । यसअघि नेकपाका नेता दिनानाथ शर्मा माओवादीको दलको नेता बनेका छन् ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले नेपालप्रेससँगको अन्तर्वार्तामा आफूले राष्ट्रियसभामा प्रतिनिधि (दलको नेता) चाँडै तोक्न लागेको बताएका छन् ।
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएकै समय पारेर माधव नेपाल पक्षले आफ्नो समूहका सांसदहरुको भेला डाकेको छ ।
राष्ट्रिय कार्यकर्ता भेला भइरहेको ललितपुरको हेरिटेज गार्डेन ब्याक्वेटमै सांसदहरुको भेला बोलाइएको हो । भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभाका माधव नेपाल पक्षका सांसदहरु सहभागी हुँदैछन् ।
भेला विहान १० बजेबाट शुरु हुँदैछ । प्रधानमन्त्री ओलीले विहान ११ बजे बालुवाटारमा दलको बैठक बोलाएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।
काठमाडौं । नेकपा एमालेको असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको ललितपुरको हेरिटेज गार्डेनमा जारी छ ।
आज र भोलि २ दिन चल्ने भेलाले आगामी ३ महिनाको कार्यभार तय गरिने बताइएको छ । आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ ।
१० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।
पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदमविरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रूपमा कार्यभारमा समावेश गरिने उनको भनाइ छ ।
‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ विषयको ८ पृष्ठको प्रतिवेदन पेस गरिएको छ ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरू विगतदेखि नै पेलाइमा पर्दै आएको गुनासो गरेका छन् । एमालेमा पहिलेदेखि अहिलेसम्म पीडित बनेकाहरु आज एक ठाउँमा आएको उनले बताए ।
आज आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेता नेपालले ओलीमाथि प्रहार केन्द्रित गरेका थिए । उनले ओलीले निरन्तर तानाशाही प्रवृत्ति देखाएको र विधानविपरीत काम गर्दै आएको बताए ।
नेपालले भने, ‘उहाँले मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको शुरूआत गर्नुभएको हो । हामीसँग धेरै पुराना नेताहरू हुनुहुन्छ । त्यसबेलादेखि तपाईंहरु पनि पीडित, हामी पनि पीडित । पीडित-पीडित एक ठाउँमा भेला भएका छौं । हामी सबैको पीडा, व्यथा समान छ । मारमुंग्री खानेदेखि अपमान सहनेसम्म भुक्तभोगी तपाईंहरु हुनुहुन्छ ।’
पार्टीलाई विधिसम्मत चलाउने भन्दा जसरी पनि आफ्नो प्रभूत्व कायम गर्न ओली उद्यत रहेको नेपालले बताए ।
उनले भने, ‘नेकपा एमालेमा अहिले ८ जना सचिवालयमा छन् । त्यसमध्ये ४ जना हाम्रो विचार समूहका हुनुहुन्छ । त्यो उहाँलाई पच्दै पचेन । सुन्नुभयो नि, उहाँ भन्नुहुन्छ कि म अल्पमतमा पर्ने गल्ती गर्दै गर्दिनँ । उहाँ विधि प्रकृति होइन, अल्पमत बहुमतको मात्रै कुरा गर्नुहुन्छ ।’
नेपालले ओलीलाई कुस्ती खेल्ने पहलमानसँग तुलना गरे ।
‘दुई पहलमान कुस्तीमा उत्रिएछन् । एउटाले हारेछ । हारेर उत्तानो भएपछि पनि खुट्टा उचालेर भन्छ- मेरो एउटा खुट्टा माथि नै छ, जित मेरो भयो । हो, त्यस्तो खालको मान्छे हो केपी ओली ।’
नेपालले दुई दिनअघि धुम्बाराहीमा बसेको वैठकको प्रसंग पनि रमाइलोसँग सुनाए ।
‘मलाई फोन गरेर भन्नुभयो बालुवाटार आउनुस, भेटौं । मैले भने- म बालुवाटार आउँदिन । उहाँले भन्नुभयो- म पनि बाहिर जान मिल्दैन । मैले भनेँ- तपाईं बाहिर जान मिल्दैन, म बालुवाटार आउन मिल्दैन भने भेट हुँदैन हाम्रो । होइन भेट्न त भेटौं भन्नुभयो । त्यसपछि मैले भने- पार्टी अफिस धुम्बाराहीमा भेटौं । उहाँ तयार हुनुभयो । फेरि मैले भने – म एक्लै त भेट्दिन । एक्लै गएँ भने मलाई नानाथरि कुरा गरेर फस्लाङफुस्लुङ पार्नुहुन्छ भन्ने थाहा थियो । उहाँले भन्नुभयो- पाँचजना लिएर आउनुस् । त्यसपछि बल्ल बैठक भयो ।’
‘हामीलाई ४-५ गतेको भेला फिर्ता लिन भन्नुभयो । हामीले त्यसो भए २८ गतेको बैठकको निर्णय रद्द गर्नुस् भन्यौं । उहाँ त्यसमा तयार हुनुभएन । अझै पनि उहाँमा दम्भ देखियो ।’
आजको कार्यकर्ता भेला रोक्न ओलीका ‘साइबर स्याल’ सक्रिय बने पनि सफल नभएको नेपालले बताए ।
उनले भने, ‘एउटा विज्ञप्ति योगेश भट्टराईको नाममा निकालेछन् । मैले पनि हेरेँ । छक्क परेँ । हस्ताक्षर सक्कली छ, विज्ञप्ति नक्कली । त्यसै मान्छेले भनेका होइन रहेछन्, साइबर स्यालहरू अहिले पनि ज्यूँदै छन् भनेर । हिजो नेकपा हुँदा मात्रै थिए होला भनेको त नेकपा एमालेले पुनर्जिवन पाएपछि पनि सक्रिय रहेछन् । साइबर स्यालदेखि होसियार ।’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को असन्तुष्ट समूहले आज राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा केही पुराना कम्युनिष्ट अनुहारहरू देखिएका छन् ।
ललितपुरको हेरिटेज गार्डेनमा जारी रहेको भेलामा नेताहरुले बोल्ने क्रम अहिले जारी छ ।
पुराना कम्युनिष्ट नेताहरूलाई निम्त्याएर नेपाल समूहले आजको भेलालाई महत्वपूर्ण देखाउन खोजेको हो ।
नेपालका नेल्सन मण्डेला भनेर चिनिने झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारीदेखि मोदनाथ प्रश्रित, सिद्धिलाल सिंह, कमल कोइराला र राधाकृष्ण मैनाली नेपाल समूहको भेलामा आएका छन् । उनीहरुलाई मञ्चमा नै आसन ग्रहण गराइएको छ ।
काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । वरिष्ठ नेता झलनाथ खनालले भेलाको अध्यक्षता गरेका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो । भेलामा देशभरका २ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने नेताहरूले दाबी गरेका थिए ।
पार्टीमा आन्तरिक विवादका बीच अब कसरी अघि बढ्ने भन्ने भेलाले रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने बताइएको छ ।
माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।
संस्थापन पक्षले फागुन २८ गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल पक्षको छ । यसबीचमा दुवै पक्षबीच वार्ता भएपनि आ-आफ्ना अडानका कारण निष्कर्ष केही निस्किएको छैन ।
भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारबाही गरिने भन्दै संस्थापन पक्षले चेतावनीसमेत दिएको थियो ।
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला आज शुरु हुँदैछ । ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा आज र भोलि आयोजना हुने भेलामा देशभरका २ हजार भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने एमालेका सचिव योगेश भट्टराईले बताए ।
माधव नेपाल पक्षको भेलामा अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने नेताहरुले बताएका छन् ।
माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।
संस्थापन पक्षले फागुन २८गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल पक्षको छ । यसबीचमा दुवै पक्षबीच वार्ता भएपनि सोही विििषयमा कुरा मिलेको छैन ।
यसैबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आजको भेलामा सहभागी नहुन कार्यकर्तालाई आह्वान गरेका छन् । भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारवाही गरिने चेतावनी समेत महासचिव पोखरेलले विज्ञप्तिमार्फत दिएका छन् ।
काठमाडौं । प्रतिनिधिसभा विघटनका एक दिनअघि प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली अचानक प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले अन्तिमपटक प्रचण्डलाई आफूमाथिको अभियोगपत्र फिर्ता लिए पार्टी एकता जोगिने बताए ।
वामदेव गौतम साक्षी रहेको सो भेटमा ओलीले प्रचण्डले आफ्नो आग्रह नमाने अर्को स्टेप चाल्न बाध्य हुने संकेत पनि दिएका थिए । ओलीले आफूले प्रधानमन्त्री छाड्ने र वामदेवलाई बनाउने सार्वजनिक प्रतिबद्धता जनाउने भन्दापनि प्रचण्डले अहिल्यै राजीनामा चाहिन्छ र बहुमतले कारबाही गर्छ भनेपछि ओली खुमलटारबाट बाहिरिएका थिए ।
त्यसको भोलिपल्ट पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरे । प्रचण्ड हस्याङ्-फस्याङ् गर्दै बालुवाटार पुगेर यो रोक्नुस्, सहमति गरौं भन्दै थिए । तर, ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव तयार भइसकेको थाहा पाएकाले प्रचण्डले भनेको मानेनन् र नेकपा पनि फुट्यो ।
ओलीले पार्टी जोगाउन र प्रतिनिधिसभा विघटन नगर्न आफूले अन्तिमपटक प्रयास गरेको र खुमलटारमै पुगेर आग्रह गर्दा प्रचण्डले नमानेपछि अरु विकल्प नभएको कुरा बताउँदै आएका छन् । अब नेकपा नै नरहेपछि त्यो प्रसंग टुंगिएको छ ।
लगभग त्यस्तै प्रकृतिको दृष्य सोमवार धुम्बाराहीमा देखियो । बिहान अचानक एमालेका दुवै पक्षबीच धुम्बाराहीमा वार्ता हुने खबर आयो । ओली आफैं बालुवाटारबाट निस्केर पार्टी कार्यालय पुगे । माधव नेपाललाई आफूसँगै ससम्मान राखेर वार्ता पनि गरे तर असहमतिको वार्ता ।
दुई घण्टा १० मिनेटको वार्तापछि दुवै पक्षका अभिव्यक्तिहरू सुन्दा कतै एमाले मिलाउन ओलीले सोमवार अन्तिम प्रयास गरेका त होइनन् ? यो प्रश्नसमेत उठेको छ । ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा दिएका अभिव्यक्तिले माधव नेपाल पक्षले राष्ट्रिय भेलामार्फत समानान्तर गतिविधि चलाएमा हिजो ओलीमाथि चलाइएको बहुमतको डण्डा आज तीनै नेताहरूमाथि फर्किने संकेत देखिएको छ ।
ओलीले प्रष्टरूपमा भनेका छन्- ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मुल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अंहकार स्वेच्छाचारिता । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के-के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता , अनुसासनहिनता, उछृंखलता जस्ता कुराहरू , विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट हुनेछैन । ती कुराहरू मान्य हुन सक्तैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन सक्दैन । पार्टीलाई पार्टीको रूपमा चल्न नदिने । भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाँही हुन सक्तैन ।’
ओलीले चियापान बहिष्कार गर्नेहरूप्रति कटाक्ष गरे । उनले भोलिको राष्ट्रिय भेलामा को-को जान्छन् नजर लाइनेछ भनेर कारबाहीको चेतावनी दिएका छन् ।
ओलीले भनेका छन्, ‘एकथरि अनुहारका साथीहरू चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरू देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ । एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरूसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।’
प्रधानमन्त्री ओली सभामुखप्रति पनि असन्तुष्ट देखिएको छ । आफूले जुन कारणले प्रतिनिधिसभा विघटन गरेको हो, त्यसको औचित्य पुष्टि हुने चरण शुरू भएको ओलीले बताए । मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक झगडियाहरूले नै सञ्चालन गर्न नदिएबाट आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टी हुँदै गएको ओलीले बताए ।
ओलीले भने, ‘अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नुपर्छ । संविधान अनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन । अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर , फेरि एकछिन पछि अर्को दिनलाई सर्यो भनेर संविधानले संविधानले पहिलो दिन नै पेश गर्नुपर्ने संबैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवहान खडा गरेर बञ्चित गरियो । संविधानको कार्यान्वनयप्रति सभामुखको जुन प्रतिवद्धता हुन पथ्र्यो । संविधान कार्यान्वयन प्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वन हुन नदिनु, अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानून ल्याउनुपर्ने पीडीतहरूको माग , सम्पूर्ण महिला समुदायको माग अनुसार कडा कानून ल्याउनुपर्ने माग र संसदबाट कानून ल्याएर प्रक्रियाबाट जाँदाखेरी ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो । त्यो पेश गर्न दिइएन भनेपछि संसदलाई कति कामकाजी कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसदलाई निष्प्रभावी बनाउने चेष्टा भईरहेको छ ।
ओलीले माधव नेपाल पक्षप्रति नरम हुन नसकिने संकेत बुधबारबाट गरेका छन् । ठाउँ पाउँदा आफूलाई सिध्याउन कुनै कसर बाँकी नराखेको र अध्यक्ष तथा महासचिवलाई बाटोबाटै निष्कासन गरिएको प्रसंगसमेत उनले उठाएका छन् ।
ओलीले भने, ‘एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निष्कासन गरिएको थियो । महासचिव निष्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरू पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुर्याइदिनुहुन्छ । बाटैमा पद्धति पुर्याइदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाइदिनुभयो । बाटबाटैबाट दलको नेता हटाइदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाइदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरू ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईंहरू त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”
आज नेकपा एमालेको केन्द्रीय कमिटीमा ओलीको बहुमत छ । संसदीय दलमा दुई तिहाई बहुमत छ । हिजो नेकपामा ओली सबै कमिटीमा अल्पमतमा थिए । माधव नेपाल पक्षले राखेका कुनैपनि शर्त ओलीले नमान्ने संकेत गरिसकेका छन् । यसले गर्दा ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक फुट्ने संकेत देखिन थालेको छ ।