Tag: नेकपा एमाले

  • सुवास नेम्वाङको टिप्पणी- परमादेशको सरकार र संसदले सिन्को पनि भाँच्न सकेनन् (भिडिओ)

    सुवास नेम्वाङको टिप्पणी- परमादेशको सरकार र संसदले सिन्को पनि भाँच्न सकेनन् (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको सरकारलाई सर्वोच्चको आदेशबाट जन्मिएको सरकार भन्दै एउटा सिन्को पनि भाँच्न नसेको दावी गरे ।

    सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले दुई-दुई पटक पुन:स्थापित हुँदा पनि संसदले काम गर्न नसकेको बताए ।

    ‘हाम्रा अध्यक्षले यो संसदको कामै छैन भन्ने तर्कमा अधारित भएर संसद विघटन गर्नुभयो,’ नेम्वाङले भने, ‘तर, अदालतले पुन:स्थापना गरिदियो । पहिलो विघटन पुन:स्थापित हुँदा पनि संसदले केही काम गर्न सकेन ।’

    उनले थपे, ‘दोस्रोपटक विघटन प्रधानमन्त्रीको बाध्यता थियो । दोस्रोपटक पनि पुन:स्थापित गरिदियो । ३० दिनमा एउटा सिन्को भाँच्न सकेको थिएन । यो सरकारले विजनेश दिएन ।’

    नेम्वाङले अब पनि संसदले काम गर्न नसक्ने जिकिर गरे । सर्वोच्च अदालतको फैसलाप्रति व्यंग्य गर्दै उनले जुनसुकै दलका सांसदलाई मन्त्री बनाए पनि कारवाही नहुने र २५ भन्दा बढी मन्त्री बनाउन मिल्ने विषय फैसलामा छुटेको बताए ।

  • केपी ओलीलाई युवाले किन बा भन्छन् ? महेश बस्नेतले खुलाए कारण (भिडिओ)

    केपी ओलीलाई युवाले किन बा भन्छन् ? महेश बस्नेतले खुलाए कारण (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतले सभामुख अग्नि सापकोटा माओवादी अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता भएको भन्दै संसदमा भदौ २३ गते देखाइदिने चेतावनी दिएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र पूर्वसभामुख सुवास नेम्वाङसमेत उपस्थित रहेको बेला सभामुखले अब प्रमुख प्रतिपक्ष देख्ने बताए ।

    एमालेले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरी पार्टी विभाजनमा प्रचण्डको सहयोगी बनेको भन्दै बस्नेतले राजनीतिक पूर्वाग्रह नत्यागेमा सभामुखको विरोध संसदमै हुने बताए ।

    उनले भने, ‘सभामुखले राजनीतिक दलको सदस्यता त्याग्नुपर्छ । प्रचण्डको कार्यकर्ता बनेर सदनमा आउनुभयो भने २३ गते तपाईंसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ’, उनको चेतावनी थियो, ‘२३ गते प्रमुख प्रतिपक्षी देख्नुहुनेछ ।’

    बस्नेतले अर्को प्रसंगमा केपी ओलीलाई युवाहरूले बा भन्नुको कारण युवालाई उत्पादन र रोजगारीमा लगाउने भूमिका रहेको बताए ।

    उनले भने, ‘देउवाका श्रीमती र छोरा नै दलालीमा छन् । बाबुरामका र प्रचण्डका पनि परिवार नै दलालीमा छन् । तर, केपी ओलीले श्रीमतीलाई कहिल्यै यस्ता कार्यमा संलग्न गराउनु भएन । उहाँले हामी युवालाई उत्पादनमूलक काममा लाग्न सहुलीयत ऋण, प्रमाणपत्र धितो र श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिजस्ता निर्णय गर्नुभयो त्यसैले उहाँ सबैको बा हो । बा हुनका लागि राम्रो काम गर्नुपर्छ ।’

  • दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

    दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

    सुर्खेत । नेकपा एमालेको मुख्य प्रभावक्षेत्रमध्येको एक दैलेख जिल्लामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ५३ वडाअध्यक्षमध्ये जम्मा पाँच वडाअध्यक्ष मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न जिल्ला निवर्पाचन आयोग दैलेख पुगेका छन् ।

    निर्वाचन आयोगले नयाँ पार्टीमा जाने हो भने सनाखत गर्नका लागि भदौ २२ सम्मको समयसीमा दिएको छ । दुई दिन समय बाँकी रहेकाले थप केहि जनप्रतिनिधि नेकपा एसमा जाने सम्भावना छ ।

    ११ स्थानीय तह रहेको दैलेखमा ९० वडा छन् । तीमध्ये एमालेले ५२, कांग्रेसले ३३, नेमकिपाले तीन र राप्रपाले एक वडाअध्यक्ष जितेका थिए । एक वडाअध्यक्षले स्वतन्त्र जिते पनि एमालेमै प्रवेश गरेपछि एमालेको वडाअध्यक्षको संख्या ५३ पुगेको थियो ।

    ११ मध्ये सात स्थानीयत तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेले विजय प्राप्त गरेको पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर एकको महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, वडा नं. ४ का देव बहादुर शाही, पाँचका वडा अध्यक्ष जगत बहादुर हमाल र वडा नं. ६ का डम्बर बहादुर थापाले आयोगमा गई समाजवादी पार्टीमा सनाखत गरेका हुन । अन्य वडा अध्यक्षहरु भने सनाखत गर्न गएका छैनन् ।

    सोही क्षेत्रको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा समाजवादीमा लाग्ने भने पनि उनी सनाखत गर्न गएका छैनन् । उक्त पालिकाका उपाध्यक्ष एमालेमै रहेकी छिन् । भवगवतीमाइ वडा नं. दुइ का कर्ण बहादुर शाही मात्र नयाँ दलमा सनाखत गर्न गएका छन् ।

    गाउँपालिका अध्यक्ष दानबहादुर थापाका अनुसार उनीसँगै वडाअध्यक्षहरु कृष्णबहादुर थापा, कृष्णबहादुर शाही, वीरशंकर रोकायाले आज सामाजवादी दलमा सनाखत गर्ने तयारी गरेका छन् । त्यहाँ पालिका उपाध्यक्ष र एक वडाअध्यक्ष मात्रै एमालेमा लाग्ने पक्का भएको छ ।

    नारायण नगरपालिकामा एमालेले ८ वडा जितेको थियो । नगरप्रमुख रत्नबहादुर खड्कासहित अधिकांश वडाअध्यक्ष एमालेमै छन् । दुइ जना वडाअध्यक्ष ढुुलमुल रहेको भनिए पनि हालसम्म वडा नं. तीनका वडाअध्यक्ष चन्द्रप्रसाद शर्माले मात्रै सनाखत गरेका छन् ।

    नारायण नगरपालिकामा तीर्थनारायण श्रेष्ठ, चन्द्रप्रसाद शर्मा, रेशम थापा, वीरबहादुर कटुवाल, लालबहादुर थापा, ढालबहादुर थापा, लोगबहादुर थापा र टंकबहादुर विष्ट अध्यक्ष रहेका छन् । नगरउप्रमुख सावीत्रि मल्लले भने नयाँ दलमा सनाखत गरिसकेकी छन् ।

    गुराँस गाउँपालिकामा एमालेले चार वडा जितेको छ । ती सबै एमालेमै रहने निश्चित भएको छ । वडाअध्यक्षहरु खड्क शाही, हिम ओली, पूर्ण विसी, नरबहादुर रामजाली एमालेमै रहने भएका छन् ।

    डुंगेश्वर गाउँपालिकामा एमालेले दुइ वडामा विजय प्राप्त गरेको छ । जसमा लोकबहादुर डाँगी र राजु केसी छन् । ती दुवै एमालेमै रहने बताइएको छ ।

    नौमुले गाउँपालिकामा गजबहादुर डेंगा हालसम्म कतै खुलेका छैनन् । अन्य भवानी शर्मा र मोहन शर्मा एमालेमै रहने निश्चित भएको छ ।
    क्षेत्र नम्बर २ मा समाजावादीमा जानेको संख्या न्यून

    दुल्लु नगरपालिकाका उपप्रमुख एमालेमै छिन् । उक्त पालिकाबाट वडा नं. ९ का रनबहादुर बोहोरा मात्रै नयाँ पार्टीमा गएका छन् ।

    दुल्लुमा नेकपा एमालेकातर्फबाट वडा नं. २ मा लक्षीराम थापा, ३ मा कलम खनाल, १० मा हर्कबहादुर खड्का, ११ मा खगेन्द्र थापा, १२ मा झुपाराम लम्साल र १३ मा भिमबहादुर शाही एमालेमै छन् ।

    भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढासहित एमालेबाट निर्वाचित सबै वडाअध्यक्ष एमालेमै छन् । कासीराम शर्मा, वीरेन्द्रबहादुर शाही, छविराम आचार्य, हरि बहादुर थापा एमालेमै रहेका हुन ।

    चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरउपप्रमुख तारा शाहीमात्रै समाजवादीमा लागेकी छिन् । नगरप्रमुख सुर्यबहादुर शाही, वडाअध्यक्षहरु रंग तामाङ, जंग विष्ट, टिकाराम शाही, बखत बोहोरा, वीरबहादुर शाही र नन्दप्रसाद न्यौपाने एमालेमै रहेका छन् । यो समाचार तयार पार्दासम्म उनीहरु सनाखत गर्नकालागि आयोगमा गएका छैनन् ।

    ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मीता सिंह नयाँ पार्टीमा लागेकी छिन् । अध्यक्ष धीरबहादुर शाही, वडाअध्यक्षहरु नरतम बुढा, रुपलाल विश्वकर्मा, कर्णबहादुर शाही, रमेश सिजापती, मनबहादुर सिजापती एमालेमै रहेका छन् ।

    र आठबीस नगरप्रमुख खड्गराज उपाध्याय पनि एमालेमै छन् । चार वडा जितेको एमालेले त्यहाँबाट कोही पनि समाजवादी पार्टीमा गएका छैनन् । उक्त नगरपालिकाबाट पर्वसिंह विश्वकर्मा, प्रयाग शाही, रणबहादुर माझी र कर्णबहादुर आले एमालेबाट निर्वाचित भएका थिए ।

  • नेम्वाङको दावी- एमालेबाट छुट्टिएकाले विभाजनको औचित्य स्थापित गर्न सक्दैनन्(भिडियो)

    नेम्वाङको दावी- एमालेबाट छुट्टिएकाले विभाजनको औचित्य स्थापित गर्न सक्दैनन्(भिडियो)

    काठमाडौं । नेकपा एमालेका नेता एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले विभाजन रोजेकाहरूले त्यसको औचित्य स्थापित गर्न नसक्ने दावी गरेका छन् ।

    शुक्रबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पार्टी निकट कानून व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै नले भने, ‘विभाजनको औचित्य स्थापित गर्ने छैनन् साथीहरूले । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । अहिले नै प्रष्ट देखिएको छ विभाजन स्थापित हुने छैनन् ।’

    माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको बताए। ‘माले फुटाउँदा कमसेकम राष्ट्रियताको प्रश्न थियो । तर, त्यसले पनि तानेन,’ नेम्वाङले भने।

    नेम्वाङले माधव नेपाल पक्षमा लागेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरू पनि विभाजनको विपक्षमा रहेको भन्दै उनले विभाजनप्रति प्रश्न उठाए । उनको प्रश्न छ, ‘कमरेड माधवकुमार नेपालसँग रहेका स्थायी कमिटी र केन्द्रीय कमिटीका साथीहरूले विभाजनमा जानु हुँदैन भन्दा भन्दै सधैँ विधिको कुरा गर्ने कमरेड माधव नेपालले निर्वाचन आयोगमा दल विभाजन गर्न किन जानु भयो ?

  • रोल्पाका एमाले जनप्रतिनिधि सबै मूल पार्टीमै (सूचीसहित)

    रोल्पाका एमाले जनप्रतिनिधि सबै मूल पार्टीमै (सूचीसहित)

    रोल्पा । एमाले विभाजन भएसँगै केन्द्रदेखि गाउँसम्म पनि त्यसको असर देखिएको छ । नयाँ पार्टी रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन अयोगले दिएको भदौ २२ सम्मको सीमा नजिकिँदैछ ।

    रोल्पामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहने भएका छन् । १० स्थानीय तह रहेको रोल्पामा एमालेले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामात्रै जितेको थियो ।

    त्रिवेणीका अध्यक्ष शान्तकुमार वलीसहित र रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढासहित सबै जनप्रतिनिधि एमालेमै रहने भएका छन् ।

    यी दुई गाउँपालिकामा एमालेबाट जितेका अधिकांश जनप्रतिनिधि पनि एमालेमै रहने भएका छन् । त्रिवेणीका चार वडामा एमालेले वडाध्यक्ष जितेको थियो ।

    वडा नम्बर २ का कविराज बुढा, ३ का टीकाराम वली, ५ मा कृष्णबहादुर केसी र ७ भानबहादुर घर्तीले जितेका थिए ।

    त्यस्तै रुन्टीगढीकामा एमालेले दुई वडामा जितेको थियो वडा ५ मा यमबहादुर दशौदी राना र वडा ९ मा नेपबहादुर थापाले चुनाव जितेका थिए।

    प्रदेशसभा भने माओवादी केन्द्र र एमालेबीच गठबन्धन हुँदा सबै सिट माओवादीले पाएको थियो ।

    जनप्रतिनिधिले एमालेबाट विभाजित भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) नरोजे पनि २०७५ जेठ २ को कमिटीका केही नयाँ पार्टी रोजेका छन् ।

    जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती नेकपा एसमा खुलेका छन् । अन्य सबै पदाधिकारी भने एमालेमै रहने भएका छन् । पदाधिकारीमा एक्ला घर्तीलाई ८५ सदस्य जिल्ला कमिटीबाट केही सदस्यले साथ दिएका छन् ।

    जिल्ला कमिटी सदस्यहरूमा मनप्रसाद घर्ती, नेपबहादुर डाँगी, अमृत चन्द, मानसिंह डाँगी, मनकली डाँगी, शान्तराज बोहरा, हितबहादुर रोका लगायत एकीकृत समाजवादीमा खुलेका छन् ।

    साविकको जिल्ला कमिटीका १० प्रतिशत भन्दा बढी नेकपा एसमा नजाने एमाले जिल्ला कमिटी सदस्य ईश्वरी जीएम बताउँछिन् ।

    पार्टीको अधिकांश पालिका कमिटी अध्यक्षहरु पनि एमालेमै रहने भएका छन् । थवाङ गाउँपालिकाका अध्यक्ष हितबहादुर रोकाले एकीकृत समाजवादीमा रोज्ने भएका छन् ।

    त्यस्तै रुन्टीगढी गाउँपालिका कमिटीका अध्यक्ष आसाराम बुढा तटस्थ देखिएका छन् । उनी आफ्नो व्यवसायमा रहेकाले तथस्ट देखि पनि एकीकृत समाजवादीमा भने नलाग्ने जीएमको भनाइ छ ।

    रोल्पा नगर कमिटीका अध्यक्ष बालकृष्ण आचार्य पहिले माधव समूहतिर रहेका भए पनि अहिले एमाले नै रोज्ने भएका छन्।

    गंगादेव गाउँपालिका कमिटी अध्यक्ष रोशन वली एमालेमै रहने भएका छन् । त्यस्तै सुनिलस्मृतिका अध्यक्ष पनि एमालेमै रहने भएका छन् । सुनिल स्मृति पालिका कमिटीका सचिव हितबहादुर आले भने एकीकृत समाजवादीमा जाने भएका छन् ।

    त्रिवेणी, सुनछाहारी, परिवर्तन र लुङ्ग्री गाउँपालिका कमिटी अध्यक्षहरू पनि एमालै रहने भएका छन् ।

  • ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित)

    ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित)

    झापा । नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् ।

    एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको प्रभाव वडा सदस्यसम्म परेको छ ।

    अध्यक्ष ओलीको गृहजिल्ला झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेका ९ जना छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष र कुमारी मेचे तथा विमला विक समानुपातिक सांसद हुन् ।

    उनीहरू पाँचैजनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै छन् । प्रदेशसभाका ९ जनामध्ये सबै सांसद एमालेमै रहँदा माधव नेपाल नेतृत्वको पार्टीमा संघ र प्रदेशका सांसदको संख्या शून्य भएको छ ।

    त्यस्तै झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका थिए । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष, ४जना उपाध्यक्ष छन् । उनीहरूमध्ये नेकपा एसको पक्षमा सनाखत गर्न एकजना पनि गएका छैनन् ।

    त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहने भएका छन् भने वडा अध्यक्ष तथा सदस्यहरू कसैले पनि एमाले नछाडेको एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुखसमेत रहेका नेता अग्नि खरेलले बताए ।

    निर्वाचन आयोगले दिएको समय २२ गतेसम्म रहेकोमा शुक्रबारसम्म एकजना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका लागि नआएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘झापामा जसपाबाट स्थानीय तहमा जनप्रतितिनिधि छैनन् । एमालेबाट निर्वाचित भएका कोही पनि सनाखत गर्न आउनुभएको छैन । एकजना वडा सदस्य बुझ्न भनेर आउनुभएको थियो तर फर्किनुभयो ।’

    एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले झापामा सिंगो पार्टी कमिटी र जनप्रतिनिधिहरू पार्टी एकताको पक्षमा उभिएको बताए ।

    स्थानीय तहबाट निर्वाचितमध्ये अर्जुनधाराका मेयर हरि राना,भद्रपुरकी उपमेयर चन्द्रा श्रेष्ठ र शिव सताक्षीकी उपमेयर भोजकुमारी नेपाल विभाजनपूर्व माधव नेपाल समूहमा थिए ।
    तर विहीवारको जिल्ला कमिटी सचिवालय बैठकमा सहभागी भएर उनीहरुले एमालेमै रहने बताएका छन् ।

    सूचीमा हर्नुस् :

  • परमादेशले हटाएको एमाले जनताको माया बोकेर सत्तामा फर्किन्छ : प्रदीप ज्ञवाली (भिडियो)

    परमादेशले हटाएको एमाले जनताको माया बोकेर सत्तामा फर्किन्छ : प्रदीप ज्ञवाली (भिडियो)

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आउँदो निर्वाचनबाट आफ्नो पार्टी फेरि सत्तामा फर्कने दावी गरेका छन् ।

    तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नु परेको उल्लेख गर्दै ज्ञवालीले जनादेशको माध्यमबाट एमाले सरकारमा फर्कने बताए । ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई आव्हान गरे ।

    प्रवक्ता ज्ञवालीले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अवको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठीक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि सरकारमा फर्कने छौं । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौं । र फेरि देशलाई ‘समृद्ध नेपाल सुःखी नेपाली’ को राष्ट्रिय अभियानमा साथ अघि बढाउँनेछौं ।’

    भूमिसम्बन्धी आयोग विघटन गरेको, दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै ज्ञवालीले सरकारको आलोचना गरे ।

  • विरोध र मुनुलाई मकवानपुरमा २५ जनप्रतिनिधिको साथ, एक प्रमुख र दुई उपप्रमुख नेकपा एसमा

    विरोध र मुनुलाई मकवानपुरमा २५ जनप्रतिनिधिको साथ, एक प्रमुख र दुई उपप्रमुख नेकपा एसमा

    हेटौंडा । निर्वाचन आयोगले दल रोज्न दिएको समय पाँच दिन बाँकी रहदा मकवानपुरमा एमालेबाट निर्वाचित २५ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

    निर्वाचन कार्यालयका अनुसार २५ जनामध्ये १ जना गाउँपालिका अध्यक्ष छन् । कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले एमाले छाडेर नेकपा एस रोजेका छन् ।

    त्यस्तै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पनि नेकपा एस रोजेका छन् । हेटौंडा उपमहानगरपालिका १३ का वडाध्यक्ष मनोजकुमार वाइबाले पनि नेकपा एस रोजेका छन् ।

    हेटौंडा उपमहानगरपालिकाका केही वडा सदस्यले पनि नेकपा एस रोजेका छन् । यी बाहेक थाहा नगरपालिका-११ का अध्यक्ष किरणमान बल, ५ का अध्यक्ष विष्णुवहादुर गुरुङले पनि नेकपा एस रोजेका छन् ।

    यीबाहेक कैलास गाउँपालिकाबाट अध्यक्ष मोक्तानसहित एकजना वडाध्यक्षले र एकजना सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

    नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा भने अहिलेसम्म नेकपा एसमा खुलिसकेका छैनन् ।

    एमालेले स्थानीय तहमा हेटौंडा उपमहानगरपालिकासहित भीमफेदी, ईन्द्रसरोवर, मकवानपुरगढी, कैलाश मनहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने बकैया तथा वागमतीमा उपाध्यक्षमात्र जितेको थियो ।

    निर्वाचित अधिकांश जनप्रतिनिधि एमालेमै रहने भएका छन् । दुईजना प्रतिनिधिसभा सदस्यमध्ये विरोध खतिवडा र प्रदेशसभा सदस्य मुनु सिग्देल दम्पती नेकपा एसको केन्द्रीय सदस्य भइसकेका छन् ।

  • एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

    एकल इजलास नबस्ने भएपछि एमाले अध्यक्ष ओलीको रिटमाथिको सुनुवाइ आज नहुने

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी तोकिएको थियो ।

    आजै खड्काको संयुक्त इजलास पनि रहेको र शुक्रबार परेकाले एकल इजलास नबस्ने जानकारी दिइएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए ।

  • एमाले अध्यक्ष ओलीको रिटमाथि मीरा खड्काको इजलासमा सुनुवाइ हुँदै

    एमाले अध्यक्ष ओलीको रिटमाथि मीरा खड्काको इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । गैरकानूनीरूपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधबार रिट दायर गरेका थिए ।

    ओलीको रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको छ । एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एसलाई दलको मान्यता दिएको भन्दै ओलीले सो निर्णय खारेजीको माग गरेका छन् ।

    त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको मागसमेत गरेका छन् ।

  • महाकाली तुइन प्रकरणमा एमालेले भन्यो- सरकारले संवेदनहीनता र लाचारी देखायो

    महाकाली तुइन प्रकरणमा एमालेले भन्यो- सरकारले संवेदनहीनता र लाचारी देखायो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउने कुरामा सरकारले लाचारी देखाएको भन्दै आपत्ति जनाएको छ।

    एमाले प्रवक्रा प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसेको आरोप लगाएका छन्।

    ‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।’

    धामी नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकार यो घटनालाई थापथुम पार्न लागेको आरोप एमालेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा छानविन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।’

  • सुदूरपश्चिममा नेकपा एसलाई सबैभन्दा ठूलो दल बन्न सकस

    सुदूरपश्चिममा नेकपा एसलाई सबैभन्दा ठूलो दल बन्न सकस

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीलाई बहुमत पुर्‍याउन सकस भएको छ । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा हाल ५२ जना प्रदेशसभा सदस्य छन् ।

    हाल प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेका २५ सांसद थिए । त्यस्तै माओवादी केन्द्रका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन् ।

    एमालेबाट १४ सांसद विभाजन गरेर सबै भन्दा ठूलो दल बन्ने तयारी गरेको नेकपा एकीकृत समाजवादी पार्टीलाई अहिले सबै भन्दा ठूलो दल बन्न सकस भइरहेको हो । मंगलबार प्रादेशिक निर्वाचन कार्यालयमा नेकपा एसका १० जना सांसदले सनाखत गरेका हुन् ।

    मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, अमरबहादुर साउद, बलबहादुर सोडारी कुलवीर चौधरी र सुशीला बुढाथोकीले सनाखत गरेका थिए ।

    मंगलबार नै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्य मन्त्री अर्चना गहतराजले सनाखत गर्ने भनिएपछि अन्तिम समयमा तीन जनाले सनाखत गरेनन् ।

    आवश्यक कागजात नभएको हुँदा तीन सांसद मंगलबार निर्वाचन कार्यालय नआएको नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी गराएकी थिइन् । उनले नेकपा एकीकृत समाजवादी १४ जना सांसद नघट्ने दाबी गरेकी थिइन् ।

    उनले भनेकी थिइन्, ‘निर्वाचन कार्यालयले डकुमेन्ट सबै अनिवार्य चाहिन्छ भनेपछि उहाँहरूले आज सनाखत गर्न पाउनु भएन। भोली त्यो संख्या धेरै हुन्छ । ’

    उनीहरु तीन जना सहित थप केहि सांसदले बुधबार सनाखत गर्ने भनिएको थियो । तर, बुधबार कुनै पनि सांसदले सनाखत गरेनन् ।

    बुधबारनै सनाखत गर्ने भनिएकी आर्थिक मामिला तथा योजना राज्य मन्त्री गहतराज एमालेमै बस्ने बताएपछि नेकपा एसमा १३ सांसद पुग्ने सम्भावना कम भएको हो ।
    ‘मैले अहिले सनाखत गरेको छैन नगर्न पनि सक्छु’ उनले नेपाल प्रेसलाई भनिन्, ‘म एमालेमै बस्न सक्छु ।’

    यस अघि पूर्व सामाजिक विकास मन्त्री कृष्ण सुबेदीले पनि नेकपा एसमा सनाखत गर्ने भनिएको थियो । तर, केहि दिन पहिले काठमाडौँ पुगेर नेताहरूलाई भेटेका सुबेदीले एमाले छोड्न नसक्ने बताएपछि अहिले नेकपा एसमा खुल्ने सांसदहरूको संख्या १३ पुगेको हो ।

    त्यस लगत्तै मंगलबार सनाखत गर्न नमानेकी अर्थ राज्य मन्त्री गहतराजले एमालेमै बस्ने बताएपछि एसमा खुल्ने सांसदहरूको संख्या १२ पुग्ने अनुमान गरिएको छ ।

    अहिले सनाखत नगरेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र एमालेका पूर्व प्रमुख सचेतक दुवैले सनाखत गर्ने बताइएको छ । एमाले जेठ २ को अवस्थामा फर्किदा सोडारी कैलालीका र तामाङ कञ्चनपुरका अध्यक्ष हुन् ।

    तामाङले अहिले एसको आकारबारे पूर्वानुमान गर्न नसकिने बताए ।

    ‘२२ गते सम्म सबै कुरा थाह हुन्छ’ उनले भने, ‘१० जना मात्रै पनि नेकपा एसमा हुन सक्छन् २४ जना पनि पुग्न सक्छन् ।’

    एमाले विभाजन पूर्व सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेकका २४ जना मध्ये ओलीको पक्षमा ७ जना र नेपालको पक्षमा १७ जना सांसद थिए । अहिले एमालेका उपाध्यक्ष भीम रावल पनि एमालेमै रहने भएपछि एमालेमा रहने सांसदहरूको संख्या बढेको हो ।

    बिगतमा ओली पक्षमा खुलेका सबै सांसदहरू एमालेमा रहने पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले बताए ।

    ‘हामी पहिलो एक ठाउँमा रहेका माननीय ज्यूहरू सबै अहिले पनि एकै ठाउँमा छौँ’ उनले भने, ‘त्यसमा थप केहि सांसदहरू अहिले एमालेमै रहनुहुने भएको छ ।’

    विभाजित भएको पार्टीका भविष्य नदेखेपछि सनाखत गर्नेहरु पनि फेरी मुलपार्टीमा आउने अवस्था सृजना हुने बोहराको दाबी छ ।

    कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा ओली पक्षमा थिए । बोहराबाहेक सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरु सबै अहिले पनि एमालेमै रहने बताउँछन् ।

    त्यसबाहेक नेपाल पक्षमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व राज्य मन्त्री प्रकाश रावल र अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर, पूर्व सामाजिक विकास मन्त्री कृष्ण सुबेदी र अर्थ राज्य मन्त्री अर्चना गहतराजे नयाँ पार्टीमा जान नसकिने बताइसकेका छन् ।

    नेपालका २ सांसदले अहिले सम्म सनाखत गरेका छन् । उनीहरु दुवैले एसमा सनाखत गरे सुदूरपश्चिममा एसको संख्या १४ पुग्ने छ । उनीहरु दुबै जना एमालेमा रहे एमालेको संख्या १५ पुग्ने छ । तर, दुबै जना एसमा जाने सम्भावना बढि रहेको स्रोतको दाबी छ ।

    दुबै जना नेकपा एसमा सनाखत गरे पनि सभामुख सहित एमालेको संख्या १४ पुग्ने छ । १४ सांसद सहित एमाले पहिलो दल बन्ने छ । १३ सांसद सहित माओवादी दोस्रो र १२/१२ सांसद सहित नेकपा एस तेस्रो दल बन्ने आकलन गरिएको छ ।

  • एमालेको आरोप- विभाजनमा लाग्नेहरूको पद जोगाइदिन सभामुख बदनियतपूर्वक लागे

    एमालेको आरोप- विभाजनमा लाग्नेहरूको पद जोगाइदिन सभामुख बदनियतपूर्वक लागे

    काठमाडौं । नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाले दल विभाजनमा लाग्नेहरूको पद जोगाइदिन बदनियतपूर्वक लागेको आरोप लगाएको छ । सभामुखविरुद्ध सर्वोच्चमा गएको एमालेले दलबाट निष्कासित भएकाको नाम सभामा सुनाउने वा सूचना टाँस गर्ने अधिकारमात्रै सभामुखको भन्दै उनले त्यसविपरीत काम गरेको जिकिर गरेको छ ।

    ‘निजको काम दलले निष्कासन गरिसकेका प्रतिनिधिसभा सदस्यहरूको हकमा दलबाट निष्कासित भएको भनी सभामा सुनाउने वा सूचना टाँस गर्ने मात्र, सो विपरीत विपक्षी सभामुखबाट यस्तो निर्णय गर्न मिल्दैन,’ रिटमा भनिएको छ, ‘ मिति २०७८।०५।०१ मै दर्ता भइसकेको दल त्याग गरेकोमा भएको निष्काशनको सूचनापछि आएको अध्यादेशबाट अन्यथा गर्न मिल्दैन । साथै, अध्यादेशले यस्तो गर्ने अधिकार दिएको छैन ।’

    रिटमा थप भनिएको छ, ‘सभामुखले बाध्यात्मक रूपमा ऐ. ऐनको दफा ३५ बमोजिम कार्य नगरी बदनियतपूर्वक विपक्षी सभामुखले पद जोगाइदिई नयाँ दलमा जान मार्गप्रशस्त गर्ने कलुसित भावना लिनुभएको देखिन्छ ।’

    प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको अवस्थामा संसद सचिवालयको सूचना पार्टीमा टाँस गर्नुपर्ने अनिवार्य व्यवस्थालाई सभामुखले अनदेखा गरी मौन बसेको आरोप पनि रिटमा लगाइएको छ । सभामुखले राजनीतिक पक्षधरता समेत देखाएको रिटमा आरोप लगाइएको छ। कसैले कारवाही गर्नेबित्तिकै जानकारी गराएको र कसैको रोकेर सभामुखले पक्षधरता देखाएको आरोप लगाइएको हो ।

    ‘जबकी यस्तै प्रकारको यसभन्दा पूर्व गरिएका कार्यहरूमा समाजवादी पार्टीले आफ्नो सांसद सरीता गिरीलाई निष्कासन गरिएको सूचना मिति २०७७।०३।२४ गते ४।४५ बजे संघीय संसद सचिवालयमा दर्ता गरेकोमा सोको भोलिपल्ट अर्थात मिति २०७७।०३।२५ च।नं। ६४ को पत्रबाट स्थान रिक्तताको जानकारी संघीय संसद सचिवालयले सम्बन्धित निकायहरुलाई दिएको छ,’ रिटमा भनिएको छ, ‘यसैगरी नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट टोपबहादुर रायमाझीसहितले दल त्याग गरेको सूचना मिति २०७७।१२।२४ द.न. ७४ समय २.४५ बजे संघीय संसद सचिवालयमा दर्ता भएकोमा मिति २०७७।१२।२७ गते कार्यान्वयन गरी सोही दिन सम्बन्धित निकायहरुमा विपक्षी संघीय संसद सचिवालयले पत्राचार समेत गरेको छ ।’

    एमालेले शुरू निवेदनमा दस्तखत नगर्ने १ जना तथा निष्कासनमा परेका १४ जनासमेत १५ जनालाई तत्काल प्रतिनिधिसभाको हैसियतमा कुनै काम गर्न/गराउन नपाउने र नयाँ दलमा समावेश हुन नपाउने गरी आदेश जारी गर्न माग गरिएको छ।

  • झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

    झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झलनाथ खनालसहित ६ जनाले पार्टी फुटाउन गरेको सनाखत अवैध भएको दावी गरेको छ ।

    एकीकृत समाजवादीलाई छुट्टै दलको मान्यता दिने आयोग निर्णयविरुद्ध सर्वोच्च गएको एमालेले दल दर्ता गर्दा झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानूनविपरीत भएको भनेको हो ।

    ‘विपक्षी झलनाथ खनालको सम्बन्धमा निर्वाचन आयोगको उक्त निर्णयको दोस्रो पानामा निज केही समयदेखि भारतस्थित एपोलो अस्पतालमा उपचाररत रहेको र भारतस्थित नेपाली राजदूतावासबाट सनाखत गर्न अनुरोध गरेको र मिति २०७८।०५।०४ को छुट्टै दल दर्ताको निवेदनमा सूचीमा निजको नाम समावेश भएको भनी लेखिएको छ,’ रिटमा भनिएको छ, ‘जबकी निजले शुरू छुट्टै दल दर्ताको निवेदन २०७८।५।२ मा दर्ता भएकोमा समेत निजको दस्तखत छैन । यसरी शुरु निवेदनमा दस्तखत नै नभएका व्यक्तिको हाल आएर सनाखत गराउन मिल्दैन ।’

    आयोगले नै शुरू निवेदनमा नाम नभएको कारणले सनाखन नगराएको भन्दै एमालेले शुरू निवेदनमा नाम नहुनु र शुरू निवेदनमा हस्ताक्षर नहुनुमा कुनै फरक नभएको तर्क गरेको छ ।

    यस आधारमा प्रदीप नेपाल, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत यादव , रविन्द्र वैठा धोवी र खगेन्द्र चुडालको समेत सनाखत कानूनसम्मत नभएको दावी रिटमा गरिएको छ।

  • नेकपा एसको दर्ता बदर र १५ सांसदलाई पदमुक्त गर्न मागसहित एमाले अध्यक्ष ओली सर्वोच्चमा

    नेकपा एसको दर्ता बदर र १५ सांसदलाई पदमुक्त गर्न मागसहित एमाले अध्यक्ष ओली सर्वोच्चमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एसको दर्ता प्रक्रिया नै गैरकानूनी भएको भन्दै सबै प्रक्रिया बदर गर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।

    अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डेले बुधबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यलाई सनाखत गराएर भएको नेकपा एकीकृत समाजवादी दर्ता बदर माग गरिएको छ ।

    रिटमा झलनाथ खनालसहित १४ जना सांसदले वैशाख २७ गते आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला ह्वीप उल्लंघन गरी अनुपस्थित भएको आधारमा निष्कासन गरिएकोले उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्नसमेत माग गरिएको छ ।

    निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा नेकपा एकीकृत समाजवादीका नाममा कुनै पनि गतिविधि गर्न नदिन आदेश माग गरिएको छ ।

    छुट्टै दल दर्ता गर्दा आफूहरुलाई जानकारी नै नदिई, कुनै पत्राचार नगरी र रोहबरमा नराखी प्राकृतिक न्याय र सिद्धान्तविपरीत दल विभाजन गरिदिएको एमालेको जिकिर छ ।

    त्यस्तै १४ सांसदलाई पार्टीबाट कारवाहीसहित पदमुक्त गर्न संघीय संसद सचिवालयमा दर्ता गरेको निवेदन विचाराधीन रहेको अवस्थामा जबरजस्ती छुट्टै दल दर्ता गरेको रिटमा आरोप लगाइएको छ ।

    एमालेले अघिल्लो दिन एउटा दलका नाममा दिएको निवेदनलाई फेरि नयाँ दल दर्ता हुँदा पनि मान्यता दिएको भन्दै प्रश्न उठाएको छ ।

  • गणितमा भीम आचार्य फेरि फेल- शेरधनले थपे, राजेन्द्रले टपे

    गणितमा भीम आचार्य फेरि फेल- शेरधनले थपे, राजेन्द्रले टपे

    काठमाडौं । भदौ ९ गते बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भीम आचार्यलाई भनेका थिए- ‘अहिले त यो पनि मेरो, त्यो पनि मेरो भन्नुहुन्छ । तर, हिसाबमा तपाईं कमजोर हुनुहुन्छ है कमरेड । तपाईंको हिसाब पहिले पनि फेल भइसकेको छ ।’

    एक साता नपुग्दै शेरधनले भनेजस्तै भयो । मुख्यमन्त्री बन्दै गर्दा भीम आचार्यले ज-जसलाई आफ्नो पक्षमा राख्न सक्ने हिसाब सुनाएका थिए, तीमध्ये अधिकांश प्रदेशसभा सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेपछि आचार्यको सरकार अल्पमतमा परेको छ ।

    एमालेको एकता बलियो हुने र सरकार पनि पार्टीकै निरन्तर रहने अपेक्षासहित राईले आचार्यका लागि मुख्यमन्त्री पद छाडिदिएका थिए । तर, साढे २ वर्षअघिजस्तै यसपटक पनि भीम आचार्य गणितमा फेल भए ।

    २०७४ सालमा संसदीय दलको निर्वाचन हुँदा आचार्यको हिसाब शेरधनभन्दा ९ सांसद बढी हुने थियो । माधव नेपाल पक्षका नेता आचार्य प्रदेश संयोजक पनि भएकाले समानुपातिकमा आफ्ना निकटस्थलाई सांसद बनाएका थिए।

    प्रत्यक्षतर्फ पनि ओली पक्षभन्दा नेपाल पक्षका सांसद धेरै थिए । आचार्यसँग संसदीय दलको नेतामा चुनाव लड्दा शेरधन अल्पमतमा थिए । तर, आचार्यको गणित फेल भयो र ५१ सांसदमध्ये २६ मत पाएर शेरधन मुख्यमन्त्री बने ।

    भीम आचार्यलाई मुख्यमन्त्रीको सफल कार्यकालको कामनासहित बधाई दिँदै शेरधन राई ।

    आचार्यले २४ मत पाउँदा अहिले नेकपा एसमा लागेका राजन राईको मत बदर भएको थियो । आचार्यलाई माधव नेपाल समूहकै नेता जीवन घिमिरेलगायतले मत दिएनन् । घिमिरे पछि शेरधनको सरकारमा मन्त्री पनि भए । तर, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घिमिरे प्रचण्ड-माधव पक्षमा लागेर राजीनामा दिए ।

    अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।

    तत्कालीन नेकपाको गुटबन्दीदेखि नै अलग धारमा रहेका र नेकपा एमाले ब्युँतिएपछि पनि ६ महिनादेखि सँगै नरहेका आचार्य र राई अहिले एकै ठाउँमा छन् । तर, आचार्य हिसाब बिग्रिदा बिग्रिदै निकै कमजोर बनेर एमालेको मूलधारमा फर्किएका छन् भने राई मुख्यमन्त्री गुमाएर पनि पार्टीभित्र बलियो बनेका छन् ।

    २६ सांसदको समर्थन पाएर मुख्यमन्त्री बनेका राई नेकपा विभाजनपछि तत्कालीन माधव नेपाल पक्षका ६ जना सांसदलाई आफूतिर तानेर थप बलियो बने । उनले माओवादीका प्रदेशसभा सदस्य टंक आङबोहाङलाई समेत आफूतिर ताने ।

    आजको शक्ति सन्तुलन फेरिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५१ सिटसहित एकल बहुमतमा रहेको एमाले अब ४१ सिटसहित अल्पमतमा झरेको छ । हिजो भीम आचार्य र राजेन्द्र राई माधव नेपाल समूहमा हुँदा १९ सांसद उनीहरूसँग थिए ।

    अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।
    १० बुँदे सहमति कार्यन्वयन हुने भएपछि स्थायी कमिटीका १० सदस्य एमालेमा बसेसँगै प्रदेश १ का तत्कालीन माधव नेपाल समूहका ९ सांसदमात्र एमालेमा रोकिएका छन् ।

    मध्यमार्गी धारका रुपमा एमालेमा रहेको समूहबाट भीम आचार्य, जीवन घिमिरे, बलबहादुर साम्सोहाङ, लक्ष्मण तिवारी, सावित्रा जोशी, यशोदा अधिकारी, होमकुमारी साँवा, लीलाबल्लभ अधिकारी एमालेमा रहेका छन् । सभाामुख प्रदीप भण्डारी पनि आचार्यनिकट मानिन्छन् ।

  • तीनवटा मुद्दा लिएर एमाले सर्वोच्च जाँदै, दुई सभामुख र निर्वाचन आयोग विपक्षी

    तीनवटा मुद्दा लिएर एमाले सर्वोच्च जाँदै, दुई सभामुख र निर्वाचन आयोग विपक्षी

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको भूमिका खेलेको भन्दै एमाले सर्वोच्च जान लागेको हो ।

    मुद्दाका लागि रिट लेखनलगायतको काम सकिएकाले भ्याएसम्म आजै अदालत जाने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कानूनबमोजिम पदमुक्त भएका सांसद र पार्टीले निष्कासन गरेका केन्द्रीय सदस्यको संख्या देखाएर २० प्रतिशतका आधारमा पार्टी विभाजन गरिएकाले अदालत जाने तयारी भएको बताए ।

    एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट माधव नेपालसहित १४ जना सांसदलाई निष्कासन गरेको थियो । सो निर्णयको जानकारी संसद सचिवालयलाई र निर्वाचन आयोगलाई भदौ १ गते दिइएको थियो ।

    भदौ २ गते माधव नेपाल पक्ष पार्टी विभाजनमा लागि निवेदन लिएर आयोगमा गएको थियो । कानूनबमोजिम पार्टीले निष्कासन गरेर सूचना दिइसकेपछि सभामुखले १४ सांसदका पद रिक्त भएको सूचना टाँस्नु पर्नेमा पार्टीमा विभाजनमा नियतवश लागेको भन्दै एमालेले सभामुखविरुद्ध लाग्ने प्रष्ट बताइसकेको छ ।

    एमालेले लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा लैजाने भएको छ । एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर एमाले रोजेकी विमला वलीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।

    सभामुखविरुद्ध अदालत, संसद र सडक तीनै ठाउँमा लडाइँ हुने र उनलाई सदन चलाउन नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । सभामुखले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नसकेकाले एमालेले यसलाई गम्भीर रूपमा लिएको उनले बताए ।

    कानून बमोजिम १५ दिनभित्र सभामुखले एमालेको कारवाहीलाई टुंगो लगाउनुपर्ने हो । भदौ १५ गते १५ दिन पुगेकाले अब एमालेले सभामुखविरुद्ध अदालतमा मुद्दा लैजाने भएको छ ।

    त्यस्तै निर्वाचन आयोगले पनि एमालेबाट निष्कासनमा परिसकेका ९ जना केन्द्रीय सदस्य र १४ जना सांसदलाई सनाखत गराएर दल विभाजन गरेको भन्दै एमाले आयोगविरुद्ध अदालत जान लागेको हो ।

    निर्वाचन आयोगलाई एमालेले भदौ १ मै उनीहरू निष्कासनमा परेको सूचना दिइसकेकाले उनीहरूको सनाखत मान्य नहुने पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए । आयोगले आफ्नो निर्णयमा एमालेले गरेका कारवाहीलाई नोटिसमा राखेको छ ।

    एमालेले लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा लैजाने भएको छ । एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर एमाले रोजेकी विमला वलीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।

    एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले सभामुखले कानूनबमोजिम काम नगरेको, निर्वाचन आयोगले कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएको र लुम्बिनीका सभामुखले पनि गैरकानूनी रूपमा एमालेका सांसदलाई स्वतन्त्र र माओवादी बनाइदिएको हुनाले सर्वोच्च अदालतमा जान लागिएको बताए ।

  • एमाले जेठ २ मा फर्किँदा २५ जिल्ला अध्यक्षले छाडे माधवको साथ (सूचीसहित)

    एमाले जेठ २ मा फर्किँदा २५ जिल्ला अध्यक्षले छाडे माधवको साथ (सूचीसहित)

    काठमाडौं । २०७५ जेठ २ अघिको एमालेभित्र माधव नेपाल पक्षका जिल्ला अध्यक्षहरू बहुमत रहेकोमा पार्टी विभाजन हुँदा भने निकै कम संख्याले मात्र नेपाललाई साथ दिने देखिएको छ ।

    १० बुँदे सहमति कार्यन्वयनसँगै एमाले जेठ २ मा फर्किँदा माधव नेपाल पक्षका अधिकांश जिल्ला अध्यक्ष भने एमालेमै बस्ने भएका छन् । जेठ २ अघिको एमालेमा ७७ मध्ये माधव पक्षका ३८ जिल्ला अध्यक्ष थिए ।

    नेपालले पार्टी विभाजन गरेर नेकपा (एस) गठन गर्दा जेठ २ अघिका १३ जिल्ला अध्यक्षले उनलाई साथ दिने देखिएको छ । नेपाल समूहमा रहेका तर १० बुँदे सहमति कार्यान्वयनपछि दुवै पक्षसँग संवादमा रहेका केही अध्यक्षले आफ्नो कित्ता प्रष्ट पार्न बाँकी छ ।

    एमाले जेठ २ मा फर्किँदै गर्दा प्रदेश १ का माधव नेपाल समूहका ६ जना जिल्ला अध्यक्षमध्ये संखुवासभाका हेमराज घिमिरेमात्र नेकपा एसमा समाहित भएका छन् ।

    नेपाल पक्षले तत्कालीन एमालेमा ताप्लेजुङ, इलाम, तेह्रथुम, सुनसरी, उदयपुर, संखुवासभा र खोटाङमा अध्यक्ष जितेको थियो ।

    प्रदेश २ मा नेपाल पक्षका चारजना अध्यक्ष रहेकोमा बाराका सुन्दर विश्वकर्मा दुवै पक्षसँग छलफल गरिरहेका छन् । अन्य तीनजना नेपाल पक्षमा खुलेका छन् ।

    माधव नेपाल समूहको राम्रो मानिएको वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र अरुण नेपाल एमालेमा बसेका कारण नेकपा एसमा जानेको संख्या न्यून भएको छ ।

    नेपाल पक्षले रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रसुवा र चितवनमा अध्यक्ष जितेको थियो । पार्टी विभाजन हुँदा काभ्रेका टोकबहादुर वाइबा र मकवानपुरमा मुनु सिग्देलमात्र नेकपा एसमा लागेका छन् ।

    गण्डकीमा जेठ २ अघि माधव नेपाल पक्षका एकमात्र जिल्ला अध्यक्ष थिए बागलुङका ईन्द्रलाल सापकोटा । उनले पनि पार्टी विभाजनमा नेपाललाई साथ नदिएपछि नेकपा एस निल भएको छ ।

    लुम्बिनीमा माधव पक्षबाट चारजना जिल्ला अध्यक्ष थिए । दाङका टिकाराम खड्का अझै पनि तटस्थ देखिएका छन् भने बाँके र रोल्पाका अध्यक्षले नेपाललाई साथ दिएका छन् ।

    माधव नेपालको सबैभन्दा राम्रो मानिएको कर्णालीमा जेठ २ अघि उनको पक्षका पाँचजना जिल्ला अध्यक्ष रहेकोमा विभाजनको बेला रुकुमपश्चिमका विमल पुनले मात्र साथ दिएका छन् ।

    सुदूरपश्चिममा माधव नेपालका जेठ २ अघिका अध्यक्ष ६ जना थिए । विभाजनको बेला चारजना अध्यक्ष नेपाल पक्षमा खुलेका छन् भने एकजना तटस्थ छ । जेठ २ अघिका जिल्ला अध्यक्षहरूमध्ये सुदूरपश्चिममा नेपाल पक्षमा धेरै देखिएका छन् ।

    यस्तो छ सूची :

  • कर्णालीका ३ सांसद नेकपा एसमा, ७ सांसद घट्दा पनि एमाले नै ठूलो दल

    कर्णालीका ३ सांसद नेकपा एसमा, ७ सांसद घट्दा पनि एमाले नै ठूलो दल

    सुर्खेत । कर्णाली प्रदेशसभाका ३ जना सांसदले नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गराउँदैछन् ।

    आफूहरू तीनजनाले नेकपा एसको पक्षमा सनाखत गर्न लागेको सांसद देवी ओलीले नेपाल प्रेसलाई बताइन् । कर्णाली प्रदेशसभामा एमालेका २० सांसद थिए ।

    प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले यसअघि नै फ्लोर क्रस गरेर माओवादी सरकारमा गएकाले उनीहरूको पद रिक्त भएको छ । सभामुखसहित १६ सांसदमध्ये ३ जनाले नेकपा एस रोजेपछि अब एमालेका सभामुखसहित १३ सांसद भएका छन् ।

    ४० सांसद रहेको कर्णाली प्रदेशसभा अब एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, नेकपा एसका ३ र राप्रपाका एक सांसद रहेका छन् ।

    माओवादीबाट एमाले रोजेका धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ ।

  • एकीकृत समाजवादीको यात्राः जबजलाई टेक्ने तर नबोक्ने

    एकीकृत समाजवादीको यात्राः जबजलाई टेक्ने तर नबोक्ने

    काठमाडौं । एमालेका पुराना नेता प्रदीप नेपालले जनताको बहुदलीय जनवाद (जबज)मा कुरा नमिलेको भन्दै नवगठित एकीकृत समाजवादी त्यागको घोषणा गरे।

    जबज नरहने भएपछि आफू पनि पार्टीमा नरहेको उनको भनाइ छ। ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपालले फेसवुकमा लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’

    माधव नेपाल नेतृत्वको पार्टीले बैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाएपछि एमालेभित्र बौद्धिक नेताका रुपमा चिनिने शंकर पोखरेलले यसप्रति टिप्पणी गरे । जबजले समाजवादको आधार तयार गर्ने मात्र नभइ सिद्धान्तका रुपमा समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्यसमेत राख्ने उनको भनाइ छ।

    यसलाई नअंगालेको एकीकृत समाजवादी पार्टी नै बन्न नसक्ने उनको ठोकुवा छ ।

    ‘जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामर्थ्य मात्रै राख्दैन, सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्यसमेत राख्दछ,’ पोखेरेलले फेसबुकमा लेखेका छन, ‘जबजको सान्दर्भिकता सकियो भनेर पार्टीबाट बाहिरिनेहरुले आफैंले स्वामित्व लिएको नवौं महाधिवेशनको दस्तावेजलाई पढ्न विर्सेजस्तो छ। वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फाफरको खेती गर्न खोज्नुजस्तै हो ।’

    एकीकृत समाजवादीले जबजलाई समाजवादसम्म पुग्ने अधारमात्रै बनाएपछि र त्यसको विरोधमा दुई नेता उत्रिएपछि मदन भण्डारीले प्रतिपादन सिद्दान्त पुनः चर्चामा आएको छ। यद्यपि यसबारे एमालेभित्रै पनि एकमत छैन । एमालेकै एउटा पक्ष यसलाई सर्लक्कै अगांलिरहनु पर्ने मत राख्छ भने अर्को पक्ष परिवर्तित सन्दर्भमा यसको सान्दर्भिकता सकिएको धारणमा छ।

    विशेष गरी घनश्याम भुसालहरु जबज अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको सिद्धान्त भएको र मुलुक त्यो चरणमा नरहेकाले यसको ‘च्याप्टर क्लोज’ भएको विश्लेषण गर्छन् ।

    जबजमा टेकेर समाजवादको यात्रा

    एकीकृत समाजवादीले पार्टीको रणनीतिक लक्ष्य ‘लोकतान्त्रिक मूल्य-मान्यतासहितको वैज्ञानिक समाजवाद’लाई बनाएको छ। पार्टीका लागि बनाएको घोषणापत्रमा ‘जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ उल्लेख छ ।

    यसबाट एकीकृत समाजवादीले जबजमा टेकेको तर नबोकेको थाहा लाग्छ । ‘यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतासहितको वैज्ञानिक समाजवाद हो,’ घोषणपत्रमा भनिएको छ, ‘यस पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने मान्यता राख्दछ ।’

    जबजका विशेषता अंगाल्ने उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ, ‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ र जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ ।’

    घोषणापत्रले जबजलाई आधार बनाउने भनेको भए पनि एमालेमा भने माधवले त्यसलाई छाडेको रुपमा चर्चा भइरहेको छ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाले पनि जबजको युग सिद्धिएको र समाजवादको यात्रा गर्नुपने टिप्पणी गरेका थिए।

    ८ भदौमा चन्द्रागिरीमा आयोजित केन्द्रीय कमिटी बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै उनले भनेका थिए– ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’

    खनालको यो टिप्पणी र नेपाल र पोखरेलको असन्तुष्टि कतै एकीकृत समाजवादीले जबज छाडेको त होइन ? भन्ने परिरहको छ। जबजमै पीएचडी गरेका एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसाल भने जबज छाडेको नभइ त्यसमा टेकेरै थप अघि बढ्न चाहेको बताउँछन् ।

    ‘जनताको बहुदलीय जनवादको मुल्य र मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिसामा अगाडि बढ्ने भन्ने छ,’ उनले नेपाल प्रेससँग भने, ‘जबज भनेको पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम हो, समाजवादी क्रान्तिको कार्यक्रम होइन त्यो । तर, यसका केही राम्रा पक्षहरु छन्, जसलाई पछिसम्म अंगाल्नुपर्ने हुन्छ ।’

    यथास्थितिमा जबज पर्याप्त नरहेको भन्दै उनी यसलाई परिमार्जन गरेर समृद्ध बनाउनुपर्ने बताउँछन् ।

    ‘यतिले मात्रै पर्याप्त हुँदैन,’ भुसालको भनाइ छ, ‘जबज पन्चायतकालमा अगाडि सारेको सिद्दान्त हो । २०४९ सालमा यसलाई हामीले अन्तिम रुप दिएका थियौं । त्यसयताको ३० वर्षमा समाजमा धेरै परिवर्तन भएको छ। त्यसअनुसार जबजलाई परिमार्जन गर्नुपर्ने हुन्छ । हिजो जस्तो थियो, त्यस्तै मानेर बस्नु भनेको जडसूत्रवादी कुरा हो ।’

    एमालेमा जबज ‘इमोसनल इस्यू’

    मदन भण्डारी, सूर्य चिह्न र जबज एमालेजनका लागि निकै भावनात्मक विषय हुन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजावादीका नेता, कार्यकर्ताहरुको पनि यसमा भनावनात्मक साइनो छ।

    यो ‘सेन्टिमेन्ट’ले दलभित्र र चुनावमा समेत निकै काम गर्ने भएकाले एमालेमा हम्मेसी जबजको कसैले पनि विरोध गर्न आँट गर्दैनन् । माधव नेपाललाई पनि यसबाट बच्दै नयाँ यात्रा गर्ने जोखिमपूर्ण यात्रा हिँड्नु पर्ने बाध्यता छ ।

    २०४९ साल माघमा एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीले जबजको दस्तावेज पेस गरेका थिए । पार्टी भित्र लोकप्रिय छवि बनाएका भण्डारीको लगत्तै रहस्यमय दुर्घटनामा निधन भएपछि उनले प्रतिपादन गरेको जबज ‘इमोसनल इस्यू’समेत बन्न पुगेको छ ।

    माओवादी केन्द्र र एमालेबीच एकीकरण भइ नेकपा बन्दा भने जबजलाई थाती राखिएको थियो । त्यतिबेला नेकपाको रणनीतिक लक्ष्य ‘समाजवाद उन्मूख जनताको जनवाद’ बनाइएको थियो । एमाले अंगाल्दै आएको जबज र माओवादीले बोक्दै आएको २१ औं शताब्दीको जनवादलाई थाती राखेर ‘जनताको जनवाद’लाई रणनीतिक लक्ष्य बनाइएको थियो ।

    तर, केपी ओली पक्षले मदन भण्डारी फाउण्डेनशनमार्फत जबजलाई अगाडि बढाएपछि नेकपामा विवाद शुरु भएको थियो । यस विषयमा विवाद यतिसम्म बढेको थियो कि ओलीमाथि तत्कालीन नेकपा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले लगाएको ‘अभियोग पत्र’मा पनि त्यो विषय उल्लेख गरिएको थियो ।

    ‘क. केपी शर्मा ओलीले फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन दिनुभयो,’ उनको अरोप थियो, ‘स्थायी कमिटीको बैठकले प्रतिष्ठानमार्फत भइरहेका गुटबन्दीजन्य काम रोक्ने निर्णयका वाबजुत देशव्यापीरुपमा मदन भण्डारी फाउण्डेसनका नामबाट पार्टी विरोधी प्रचार र गुटबन्दी बढाइ नै राखिएको छ ।’

    हाल एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका अधिकांश नेताहरु अहिलेको अवस्थामा हुबहु जबज अंगाल्ने कुरामा विमति राख्छन् । यस विषयमा अझैं पनि एमालेमा विवाद भइरहने देखिन्छ ।

    ‘जबजमै टेकेर समाजादसम्मको यात्रा गर्छौं’
    बेदुराम भुसाल
    स्थायी कमिटी सदस्य, नेकपा (एकीकृत समाजवादी)

    फाइल तस्बिर।

    जनताको बहुदलीय जनवादको मुल्य र मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने भन्ने छ। जबज भनेको पुँजीवादी जनवादी क्रान्तिको चरणको कार्यक्रम हो, समाजवादी क्रान्तिको कार्यक्रम होइन त्यो ।

    तर, यसका केही राम्रा पक्षहरु छन्, जसलाई पछिसम्म अंगाल्नुपर्ने हुन्छ । खासगरी केही सैद्दान्तिक, दार्शनिक पक्षहरु छन् । यसमा तीन वटा विशेष मान्यता छन् । एउटा चाहिँ विचारको विविधतालाई स्वीकार गर्ने मान्यता छ । यसले एकल विचारको दृष्टिकोण राख्दैन, बहुविचारको दृष्टिकोण राख्छ । समाजमा बहुविचार छन् भन्ने मान्यता राख्छ । र, पार्टी भित्र पनि बहुविचार हुन सक्छन् भन्ने मान्यता राख्छ जुन कुरा अहिले केपीवालाहरुले निषेध गरेका छन् । पार्टी भित्रको बहुविचारलाई निषेध गरेका छन् -अनि गफ हाँक्छन् जबजका । यसको मुख्य मुल्यलाई हामी छोड्दैनौं ।

    जबजको दोस्रो विशेषता भनेको विधि र पद्धतिमा चल्ने भन्ने हो । पार्टीलाई पनि, समाजलाई पनि, राज्यलाई पनि विधि र पद्दतिमा चलाउनुपर्छ, हामी सबै विधि र पद्धतिमा चल्नुपर्छ भन्ने हो ।

    तेस्रो भनेको जनपक्षीय चरित्र र जनपक्षीय आचरणमा चल्नुपर्छ भन्ने हो । यी तिनवटै चिज अहिले केपीवालहरुसँग छैन् । हामीले यही विषयमा नै त्यहाँ लडाइँ लडेका हौं। हामी तिनवटै विषयलाई अंगालेर जान्छौं ।

    तर, यतिले मात्रै पर्याप्त हुँदैन । जबज पन्चायतकालमा अगाडि सारेको सिद्दान्त हो । २०४९ सालमा यसलाई हामीले अन्तिम रुप दिएका थियौं । करिब ३० वर्षमा त समाजमा धेरै परिवर्तन भएको छ । त्यसअनुसार जबजलाई परिमार्जन गर्नुपर्ने हुन्छ । यसको मुलभूत मान्यताको रक्षा गर्नुपर्छ तर यसको विकास गर्नुपर्छ । हिजो जस्तो थियो त्यस्तै मानेर बस्नु भनेको जडसूत्रवादी कुरा हो ।

    याे पनि पढ्नुस्

    यस्तो थियो मदन भण्डारीले २९ वर्षअघि प्रस्ताव गरेको जबज (पूर्णपाठ)

  • सी डिभिजन छनोटका खेलाडीसँग ओलीको भेट, सम्झिए आफ्नो खेल

    सी डिभिजन छनोटका खेलाडीसँग ओलीको भेट, सम्झिए आफ्नो खेल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट गरेका छन् ।

    नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा ओलीले दुवै टोलीलाई बधाई दिए । उनले केही साथीहरूले जित्नुस् भनेरै शुभकामना दिए पनि जिते मात्र आफूले बधाई दिने बताए ।

    जारी प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश: २ लाख, १ लाख र ५० हजार दिने उनले घोषणा गरे । झापाली दुवै क्लबलाई नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले समान ५१ हजार १ रूपमा प्रदानसमेत गरेको छ ।

    ४/५ वर्षअघि आफूले रंगशालामा खेलेको मैत्रीपूर्ण खेलको ओलीले सम्झना गरे । तत्कालीन प्रधानमन्त्री ११ को नेतृत्व गरेका थिए । जुन टोली मुख्यसचिव ११ सँग ३-२ ले हारेको थियो ।

  • ओली सरकारले बनाएको देशकै ठूलो सम्मेलन केन्द्रमा एमाले विधान महाधिवेशन हुने

    ओली सरकारले बनाएको देशकै ठूलो सम्मेलन केन्द्रमा एमाले विधान महाधिवेशन हुने

    काठमाडौं । नेकपा (एमाले) ले विधान महाधिवेशन देशकै ठूलो सम्मेलन केन्द्र गोदावरीमा गर्ने भएको छ । विधान माहाधिवेशनमा व्यवस्थापनको जिम्मेवारी पाएका रामबहादुर थापाले मंगलबार लतिपुरको गोदावरी पुगेर उक्त सम्मेलन केन्द्रको निरीक्षण गरेका छन्।

    तीन हजार दर्शक अट्ने क्षमता भएको यो देशकै ठूलो सभाहल समेत हो । केपी ओली सरकारले यसलाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा अघि बढाएको थियो । विशेष गरी यो हल परराष्ट्र मन्त्रालयले आयोजना गर्ने सगरमाथा संवादका बनाइएकाले चाँडो बनाउन ओलीले ताकेता समेत गरेका थिए । तर, कोभिड महामारीका कारण सगरमाथा संवाद हाललाई स्थगित छ ।

    ओली सरकारका पालमा शुरू भएको सम्मेलन केन्द्रको ओलीले नै उद्घाटन गरेका थिए । असोज ४, ५ र ६ गते एमाले विधान महाधिवेशन हुँदैछ । सम्मेलनमा करिब तीन हजार प्रतिनिधि उपस्थित हुने छन् । यसका लागि हल उपयुक्त हुने एमाले नेताहरूले बताएका छन् ।

  • निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

    निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

    काठमाडौं । नेकपा एमालेभन्दा ठूलो पार्टी बन्ने उद्घोषसहित नेकपा (एस) निर्माण गरेका माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएका छन् । नेपालले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा उनको पक्षमा लाग्ने जनप्रतिनिधि र कार्यकर्ताको संख्या अत्यन्तै न्यून रहेको छ ।

    नेकपा एमालेले मंगलबार आयोजना गरेको २ नम्बर क्षेत्रको भेलामा वडा सदस्यदेखि प्रदेशसभा सम्मका अधिकांस जनप्रतिनिधि सहभागी भएपछि नेपालको प्रभाव कमजोर देखिएको हो । नेपाल मतदाता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीसहित पाँचैजना निर्वाचित सदस्यहरू एमालेमै रहने भएका छन् ।

    नेपालको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन् भने कागेश्वरी मनहरा तथा शंखरापुर नगरपालिका पर्छन् । वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठसहित निर्वाचित सबै सदस्यले एमालेमै रहने घोषणा गरेका छन् ।

    नेपालको पक्षमा कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा र शंखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ खुलेका छन् । शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरीकी उपमेयर विन्दु पुडासैनीसहित अधिकांस वडाध्यक्ष एमालेमै रहने भएका छन् ।

    नेपालको क्षेत्रबाट एमालेले दुवै प्रदेशसभा सदस्य जितेको थियो । हाल वागमती प्रदेशको सभामुख रहेका सानुकुमार श्रेष्ठ र अर्का प्रदेशसभा सदस्य मणिराम फुयाल पनि एमालेमै रहने भएका छन् ।

    जिल्ला कमिटी र नगर तथा वडा कमिटीका अध्यक्षसहित पदाधिकारी र अधिकांस सदस्य पनि एमालेमै रहेको फुयालले बताए । उनले माधव नेपालको पक्षमा बढीमा १० प्रतिशत कार्यकर्ता जान सक्ने आँकलन गरेर उनीहरूलाई रोक्न आफूहरू लागेको बताए ।

    कागेश्वरीको मेयर थापाले भने अहिले अधिकांस मान्छे एमालेमै रहने भने पनि चुनावको बेलासम्म माधव नेपाल उम्मेदवार हुँदा ठूला नेताकै पक्षमा लाग्ने दावी गरे ।

  • युवराज ज्ञवाली भन्छन्-माधव नेपाल ओलीसँग बस्न चाहेनन्, एमालेको मत खोसेर जित्छु भन्ने नसोचे हुन्छ(भिडियो)

    युवराज ज्ञवाली भन्छन्-माधव नेपाल ओलीसँग बस्न चाहेनन्, एमालेको मत खोसेर जित्छु भन्ने नसोचे हुन्छ(भिडियो)

    सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नयाँ पार्टी खोलेर माधव नेपालले माधव नेपालले गल्ती गरेको बताएका छन् ।

    नेकपा एमाले कर्णाली प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘नयाँ दल दर्ता गरेर ठूलो गल्ती गर्नुभएको छ, उहाँले कुनै दिन विचार गर्नुहोला, यो कसरी जष्टिफाइ गर्नुहुन्छ, एउटै नीति, एउटै विचारधारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न ।’

    उनले भने,‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, तपाईहरूले जित्नुहुन्न, आफूले आफूलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस् ।’

    ‘माधव कमरेडले स्थायी कमिटीको बैठक पनि नराखी अचानक नयाँ पार्टी दर्ता गर्न पुग्नुभयो । तपाईं पार्टी दर्ता गर्न जाँदै हुनुहुन्छ रे भनेर त्यही दिन बिहान मैले फोन गरेर सोध्दा उहाँले हो भन्नु भयो, मैले स्थायी कमिटिको बैठक बसाल्नुस्, त्यहाँ छलफल गरेपछि मात्रै के गर्नुपर्ने हो, जानु पर्ने हो भने जाऔंला नजानु पर्ने हो भने नजाऔंला, छलफल नै नगरेर नयाँ दल दर्ता गर्न जानु भनेको इतिहासमै ठूलो गल्ती हुन्छ । संस्थागत निर्णय नगरिकन नजानुहोस् भनेको थिएँ ।’

    विभाजनमा नजाने केन्द्रीय कमिटीको निर्णयविपरीत नेता नेपाल लागेको ज्ञवालीले बताए । ‘बैठक नबसी उहाँ दल दर्ता गराउन जाँदा खेरि उहाँले छोडेको भयो कि हामीले छोडेको भयो ? तथ्यले के भन्छ ? मलाई छोडेर जानुभयो भनेर हामीलाई आरोप लगाउनु भएको छ, बैठकमा छलफल नै नगरिकन दल दर्ता गर्न जाने ?’, उनको प्रश्न थियो ।

    माधव नेपाल सहितको एमाले एकता गर्ने प्रयास गरे पनि नेपालले ओलीसँग मिलेर बस्न नचाहेको ज्ञवालीको टिप्पणी थियो । एमाले फुटाउनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले त्यसको सधैँ प्रतिरोध गर्ने बताए ।

    ‘सभामुख पदमा जो व्यक्ति बसे पनि उहाँले निष्पक्षतामा काम गर्नुपर्छ । पार्टीले हाम्रा कार्यकर्ताहरुलार्ए कारवाही गर्न संस्थागत निर्णय गरेर निवेदन दिइसकेपछि त्यसलाई लामो समयसम्म राख्नुले पुष्टी गर्छ कि सभामुख चाहिँ एमाले फूटाउनका लागि भूमिका खेल्नु भएको छ भन्ने कुरा तथ्यबाट देखिन्छ’, ज्ञवालीले भने ।

    पदमा पुगेको व्यक्तिले संविधान र कानूनबमोजिम काम गर्नुपर्ने उनले बताए ।

  • एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

    एमालेका प्रमुख सचेतक भन्छन्- २२ जनासम्म मन्त्री बनाउँछौं, अष्टलक्ष्मीको सरकारमा राजेन्द्र पाण्डे बरिष्ठ मन्त्री

    काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्न नदिन ठूलो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको छ । प्रदेशसभा सदस्यहरुले विभाजित दल रोज्न पाउने अन्तिम दिन २२ गतेपछि मन्त्रिपरिषदले पूर्णता पाउने एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

    उनले संविधानले दिएको सिमाभित्र रहेर २२ सदस्यीयसम्मको मन्त्रिपरिषद बनाउन सकिने बताए । अहिले नै कति मन्त्रलाय बनाउने भन्ने टुंगो नलागे पनि २२ जनासम्मलाई मन्त्री बनाउन सकिने र त्यसकै सेरोफेरोमा हुने निरौलाले बताए ।

    उनले भने, ‘हामी अहिले छलफलमै छौं, हाम्रो पार्टी विभाजित भएकाले अब संयुक्त सरकार बनाउनुपर्ने हुन्छ । प्रदेशसभाका हाम्रा सांसदहरुलाई पार्टीमै राख्ने प्रयास भइरहेको छ । अरु साना दलसँग पनि सहमति गरेर चाँडै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ र २२ जनासम्म मन्त्री बनाएर भने पनि सरकार पूरै अवधि टिकाउँछौं ।’

    विगतमा माधव नेपाल समूहमा एमालेका प्रदेशसभा सदस्यहरु धेरैले दुवैति मन्त्रीको बार्गेनिङ गरिरहेका छन् । राजेन्द्र पाण्डे, मुनु सिग्देल, वसन्त मानन्धर, बसुन्धरा हुमागाईं लगायत केही सांसदलेमात्र अहिलेसम्म नेकपा एस रोजेका छन् । अरु दुवैतिर छलफलमा छन् ।

    निरौलाले भने केपी ओली र माधव नेपाल दुवैको समर्थनमा अष्टलक्ष्मी मुख्यमन्त्री बनेकाले नेकपा एसले उनलाई नै निरन्तरता दिने दावी गरे । शाक्यलाई मुख्मन्त्री बनाउने सहमति राजेन्द्र पाण्डे, अरुण नेपाल, केशव पाण्डे र आफूसहितको कार्यदलले गरेको हुनाले पाण्डे पनि सहमतिबाट पछि हट्न नमिल्ने उनले बताए ।

    निरौलाले नेपाल प्रेससँग भने, ‘राजेन्द्र कमरेडलाई मुख्यमन्त्रीपछिको बरिष्ठतम मन्त्री बनाउने समझदारी छ । उहाँसहितको कार्यदलले सहमति गरेर अहिलेको मुख्यमन्त्री र तत्कालीन मुख्यमन्त्रीले हुन्छ भनेपछि हामीले शीर्ष नेतालाई मनाएका हौं । त्यसैले यो सरकार उहाँहरुको पनि हो ।’

    राप्रपा, नेपाल मजदूर किसान पार्टी र विवेकशील साझा पार्टीसँग पनि सरकारलाई निरन्तरता दिनेबारेमा छलफल भइरहेको उनले बताए । वागमती प्रदेशसभामा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका एक सांसद छन् ।

    एमालेका कति सांसदले नेकपा एस रोज्छन् भन्ने कुरा भदौ २२ गतेपछि मात्र प्रष्ट हुनेछ । पाण्डेले नेकपा एसमा ११ जना सांसद रहने दावी गरेका छन् । तर दुवै पक्षसँग कतिपय सांसदले मन्त्री पदको माग गरिरहेका छन् । शाक्य पहिलो महिला मुख्यमन्त्री र विगतमा प्रचण्ड–माधवको पक्षमा उभिएका कारण पनि उनलाई निरन्तरता दिन नैतिक रुपमा पनि बाध्य हुने तर्क उनको छ ।

    एमालेले नेकपा एसमा ५ जना भन्दा बढी सांसद जान नदिने गरी एकातिर पहल गरिरहेको छ भने अर्कोतिर साना दलको समर्थन लिएर सरकार टिकाउन छलफल चलाइरहेको छ ।

    यसैबीच माओवादी अध्यक्ष प्रचण्डलाई केही उनी निकटहरुले भेटेर तत्काल अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट हटाउनेतर्फ नलाग्न सुझाव दिएका छन् । अमृत बोहोरासँग लामो समय नजिक रहेका एक माओवादी नेताले प्रचण्डलाई यस्तो सुझाव दिएको पुष्टि गरे ।

    अर्कोतर्फ वागमतीको सरकार ढालेर नेकपा एसले नेतृत्व गर्ने कि कांग्रेसले भन्ने विवाद पनि निस्किएको छ । कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाले महाधिवेशनसम्म भने पनि आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरे पनि त्यसमा सहमति नभएकाले उनी आफैं पनि शाक्यको सरकार ढाल्न इच्छुक देखिएका छैनन् ।

    बानिया एमाले नेताहरुसँग संवादमा छन् ।

  • ‘यो जेठ २ को एमाले होइन नेकपाको निरन्तरता हो, प्रचण्डको हैसियत आधा माओवादीमात्र’

    ‘यो जेठ २ को एमाले होइन नेकपाको निरन्तरता हो, प्रचण्डको हैसियत आधा माओवादीमात्र’

    आज हाम्रो अवस्था हेरेर, मलाई आफ्नो अवस्था हेरेर भूपी शेरचनको मैन बत्तीको शीखा भन्ने कविता सम्झना आइराखेको छ । एकातिर सुहागरात सम्झिएर ओठमा मधुर मुस्कान पनि छ । अर्कातिर वैधव्यको दिन सम्झिएर सँगसँगै आँखामा आँशु पनि आइरहेको छ । मलाई त्यस्तै भएको छ ।

    निकै लामो समयको अन्तराल र जिकज्याकपछि थुप्रै साथीहरु केन्द्रीय कमिटीको यस बैठकमा सहभागी हुनुभएको छ । र, हामी एकताबद्ध ढंगले पार्टीलाई अगाडि बढाउने नयाँ संकल्पका साथ, नयाँ प्रतिबद्धता र अठोटका साथ यहाँ उपस्थित भएका छौं । यो ज्यादै खुशीको कुरा हो ।

    एकातिर हामी ठूलो संख्यामा एकताबद्ध भएर हाम्रो काँधका अभिभाराहरु पूरा गर्न, आफूसामू उपस्थित चूनौतीहरुको सामना गर्न र आगामी विजययात्रालाई सुनिश्चित गर्नका लागि संकल्पित ढंगले यहाँ सरिक भएका छौं । यो सुखद् स्थिति एकातिर छ ।

    केन्द्रमा, प्रदेशमा र पालिकाहरुमा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरुमा, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुमा आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नु भएको छ । यो दुखद कुरा हो । त्यसकारण मैले भूपी शेरचनको मैन बत्तीको शीखा कविता सम्झिएको हुँ ।

    अर्कातिर हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरु बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धता बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर, भावावेशमा, अकारण नयाँ पार्टी दर्ता गर्ने तहमा पुग्नुभएको छ । सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन । सामान्य अवस्थाबाट पार्टी चलिरहेका बेला, अगाडि बढिरहेका बेला स्वार्थवश, केहीका स्वार्थका कारणले ।

    सबैका स्वार्थ म भन्दिनँ, केहीलाई त सेन्टिमेन्टमा ल्याइएको छ । केही मान्छेका स्वार्थवश । केहीका अंहकारवश, केहीका इर्स्यावश । एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म उहाँहरु पुग्नु भएको छ । आन्दोलनलाई नोक्सान पार्ने उद्देश्यका साथ, कति नोक्सान पार्न सकिन्छ, त्यतिसम्म नोक्सान पार्ने काममा लागिरहनुभएको छ । केन्द्रमा, प्रदेशमा र पालिकाहरुमा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरुमा, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुमा आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नु भएको छ । यो दुखद कुरा हो । त्यसकारण मैले भूपी शेरचनको मैन बत्तीको शीखा कविता सम्झिएको हुँ ।

    ०००

    आज हाम्रो भूमिका फेरिएको छ । हिजो हामी सरकारमा थियौं । हामी सही गन्तव्यतर्फ, सही बाटोबाट देशलाई नेतृत्व गरिरहेका थियौं । देशमा एउटा आशा र विश्वासको सन्देश प्रवाहित थियो । देशको विकास गर्न सकिन्छ, देशलाई अगाडि बढ्न/बढाउन सकिन्छ भन्ने विश्वास सञ्चार भइरहेको थियो । त्यस अवस्थामा हामीसँग झण्डै दुईतिहाइ थियो । हामीले कम्युनिस्ट आन्दोलनको लामो इतिहासका दुई धारहरुलाई एकीकृत गरेका थियौं । ७ मध्ये ६ वटा प्रदेशमा हाम्रा अत्यधिक बहुमतका सुदृढ सरकार थिए । पालिकाहरुमा हाम्रो एकछत्रजस्तै वर्चस्व थियो । सबैतिर लगभग दुईतिहाइको स्थितिका साथ हामी मुलुकलाई समाजवाद निर्माणको बाटोमा, समाजवाद उन्मुखताका साथ अगाडि बढाइरहेका थियौं ।

    तर दुर्भाग्य केही मानिसहरुको गैरजिम्मेवार प्रवृृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडुलो मच्चाउने काम भयो । जसले आन्दोलनमा गम्भीर संकट पैदा भयो, पार्टी विभाजन भयो । केन्द्रीय सरकार ढालियो । विभिन्न प्रदेशका प्रदेश सरकार ढले । त्यस स्थितिबाट गुज्रिँदै हामी एउटा अन्तिम कित्ताकाटको स्थितिमा पुग्यौं । यस्तो हुनु हुने थिएन । पार्टीका उद्देश्यहरु सही छन् । पार्टीका नीति सही छन् । पार्टीका विचार सही छन् । पार्टीका कार्यदिशा सही छन् । पार्टीले लिएको बाटो सही छ । हाम्रा महाधिवेशनहरुले र हामीले एकता एकीकरण गर्दा सबै परिस्थितिहरुमा हाम्रो उद्देश्य, हाम्रो गन्तव्य, हाम्रो कार्यदिशा, हाम्रो बाटो, यी सबै विषयमा हामीले गहन छलफल गरेका थियौं । र, हामी सही अडान राखेर अगाडि बढेका छौं । यसरी हाम्रो पार्टी संगठनात्मक आकारमा देशको सबैभन्दा ठूलो, प्रभावमा व्यापक, विचारमा अतुलनीय ढंगले सही, व्यवहारमा प्रभावकारी र सफल, जनतामा व्यापक भरोसा र विश्वास गरिएको पार्टीको रुपमा आज पनि स्थापित छ ।

    हामीलाई सिध्याउने दुष्प्रयासका बावजुद, यी सबै परिस्थितिमा आएका परिवर्तनका बावजुद आज पनि हामी देशको प्रमुख पार्टी हौं । कम्युनिष्ट आन्दोलनको मूलधार मात्रै होइन । कम्युनिष्ट आन्दोलनको त मूलधार छँदैछ । नेपालको लोकतान्त्रिक आन्दोलन, नेपालको राष्ट्रिय आन्दोलन, नेपालको राजनीतिक आन्दोलन, नेपालको विकासको अभियान यी सबैको नेतृत्वकर्ता, मूल प्रवाह, मूलधार यही पार्टी हो । यसैको विचारको सेरोफेरोमा, यसैको विरोध वा समर्थनमा, यसैका नीतिहरुको थपघट, काँटछाट गरेर अरु पार्टीहरु चल्न बाध्य छन् । तसर्थ, हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मूलधार हो । राष्ट्रिय राजनीतिको मार्गदर्शक पार्टी हो ।

    हामीले अन्तरविरोधलाई चर्काउँदै लाने होइन, अन्तरविरोधको समाधान गर्दै लाने हो । हामी आन्दोलनका पनि समस्या होइनौं, हामी पार्टीका पनि समस्या होइनौं । हामी समस्याको समाधान हौं । हामी कहीँ समस्या आइपर्‍यो भने त्यसको समाधान दिन्छौं । हाम्रो नीति त्यो हो । हामी समस्या बन्दैनौं, समाधान दिन्छौं ।

    यो जनताका हितहरुको, राष्ट्रिय हितहरुको एकलौटी एकाधिकार, उत्तराधिकारी र एकलौटी जिम्मेवार पार्टी हो । तसर्थ, हाम्रो काँधमा अत्यन्त गहन जिम्मेवारी रहेको छ । त्यो जिम्मेवारी हामी वैचारिक स्पस्टताका साथ, त्यो वैचारिक स्पष्टतामा आधारित, सुदृढ पार्टी एकताका साथ, अत्यन्तै अनुशासित पार्टीका साथ र गतिशील ढंगले अगाडि बढेर सही विचार, सही बाटो, सही कार्यदिशा, सशक्त, व्यापक, सुदृढ र अनुशासित, गतिशील संगठनको बाटोबाट मात्रै पूरा गर्न सक्छौं । विभिन्न पेशा, वर्ग, समुदाय, विभिन्न भूगोल, जहाँसुकै रहेका, भएका भए पनि जनतालाई संगठित गर्दै अगाडि बढेर मात्रै हामी हाम्रा अभिभाराहरु पूरा गर्न सक्छौं ।

    तसर्थ, हामीले अत्यन्तै अप्ठ्यारो, असहज अवस्थामा पनि सदैव एकतामा जोड दियौं । विभाजन होइन, एकता । अनेकता होइन, एकता । हामीले अन्तरविरोधलाई चर्काउँदै लाने होइन, अन्तरविरोधको समाधान गर्दै लाने हो । हामी आन्दोलनका पनि समस्या होइनौं, हामी पार्टीका पनि समस्या होइनौं । हामी समस्याको समाधान हौं । हामी कहीँ समस्या आइपर्‍यो भने त्यसको समाधान दिन्छौं । हाम्रो नीति त्यो हो । हामी समस्या बन्दैनौं, समाधान दिन्छौं । वैचारिक ढंगले समाधान दिन्छौं, बाटो दिन्छौं । सांगठनिक ढंगले समाधान दिन्छौं, आन्दोलनका ढंगले, संगठनका ढंगले समाधान दिन्छौं । विकासका ढंगले समाधान दिन्छौं । देशभक्तिका ढंगले हामीले समाधान दिन्छौं । हामी सामाजिक न्याय र समानताका प्रश्नहरुमा समाधान दिन्छौं । यसरी हामी हाम्रा काममा अगाडि बढ्छौं ।

    आज मलाई खुशी लागेको छ, हामी सबै यस ठाउँमा उपस्थित भएका छौं । हामीमा हिजो अन्तर्विरोध रहेका होलान् । हिजो मनमुटाव भए होलान्, हिजो खटपट भए होलान् । ती कुराहरुको समीक्षा कालान्तरमा गएर गरिन्छ । भोलि कुनै उपयुक्त समयमा त्यसको समीक्षा गरौंला । हिजोका कुरा सम्झिएर हामीले हाम्रा आजका अभिभारा बिर्सने काम गर्नु हुँदैन । हामी भित्रका समस्या सम्झिएर बाहिरका समस्या समाधान गर्ने प्रश्नलाई नजरअन्दाज गर्न हुँदैन । त्यसकारण यतिबेला हाम्रा निम्ति महत्वपूर्ण कुरा छ– एकता । त्यसकारण हामीले एकतालाई कसरी सबल, सुदृढ गर्न सक्छौं, त्यो कुरामा ध्यान दिनुपर्छ ।

    ०००

    अर्को कुरा, म एकपटक फेरि सम्झाउन चाहन्छु– केन्द्रीय कमिटीको बैठकमा, हामी विभिन्न पृष्ठभूमिबाट आएका छौं । नेकपा (एमाले)को पृष्ठभूमिभित्र थुप्रै पृष्ठभूमि छन् । केके पृष्ठभूमि छन् छन् । अनेक पार्टी छोडेर आएका छौं, अनेक पार्टी परित्याग गरेर आएका छौं । अनेक समूह नै लिएर आएका छौं । समूह नै मिलेका छौं । र, नेकपा एमाले बनेको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम थियो । पार्टी एकीकृत थियो । कहिले कहिले मान्छेलाई झुक्याउनका लागि पनि कसैले एकीकृत नाम राख्छन् । जस्तो हिजो नक्कली सनाखत भएको माधब नेपालद्वारा नेतृत्व गरिएको भनिएको अवैध पार्टीको नाम पनि एकीकृत राखेका छन् । सकेसम्म फुट्ने, नामचाहिँ एकीकृत राख्ने ।

    त्यसैगरी विभिन्न समूह मिलेर माओवादी केन्द्र बनेको, टुटफुट आदिका बीचबाट एकता हुँदै र अन्तिम किस्ता हामीले पार्टीलाई एकताबद्ध बनाएर लग्यौं । यो पार्टी एउटा सुदृढ पार्टी, नेपालीव्यापी पार्टी हो । म देशव्यापी मात्रै भन्दिनँ । जहाँ नेपाली छन्, यो पार्टी ती सबै ठाउँमा छ । यो पार्टी देशको भूगोल भित्र मात्रै सीमित छैन । जहाँ नेपाली पुगेका छन्, त्यहाँ यो पार्टी छ । लगभग १५ प्रतिशत नेपालीहरु देश बाहिर छन् । तीमध्ये अधिकांश नेपालीहरु खासगरी युवाहरु छन् ।

    अर्को न्यूनतम रुपमा गाउँठाउँबाट गएका भए पनि त्यहाँ पुगेपछि अलिकति भए पनि उनीहरु आइटी फ्रेण्डली भएका छन् । आधुनिक प्रविधिको प्रयोग गर्न जान्ने भएका छन् । कामको स्केल अलिक बुझेका छन् । त्यस्तो खालको जनशक्ति देशबाहिर छ । त्यो जनशक्तिमा पनि नेकपा एमाले एउटा मजबुत शक्तिका रुपमा छ । हामीले आजको नेकपा एमाले भन्दा माओवादी केन्द्रसहित मिलेको २०७५ जेठ ३ गते विभिन्न धारबाट मिल्दै आएका दुईवटा प्रमुख कम्युनिष्ट पार्टीहरु मिलेर बनेको पार्टीलाई बुझ्नु पर्छ । तिनका आफ्ना आफ्ना हैसियत हुँदा हुन् । ती दुईवटा पार्टी मिलेर एउटा एकीकृत पार्टी बनेको थियो । नाम हामीले एकीकृत राखेनौं । नाम राख्दा एकीकृत हुने होइन । हाम्रो पार्टी एकीकृत थियो, नाम एकीकृत थिएन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम थियो । पार्टी एकीकृत थियो । कहिले कहिले मान्छेलाई झुक्याउनका लागि पनि कसैले एकीकृत नाम राख्छन् । जस्तो हिजो नक्कली सनाखत भएको माधब नेपालद्वारा नेतृत्व गरिएको भनिएको अवैध पार्टीको नाम पनि एकीकृत राखेका छन् । सकेसम्म फुट्ने, नामचाहिँ एकीकृत राख्ने । सकेसम्म फाटोवादी नीति लिने, तर नाम उच्चारण चाहिँ एकताको गर्ने । एकताको सम्भावना सिध्धिएको छैन, भोलि पनि हामी एकता गर्न सक्छौं भन्ने । तिनका ती ढाँट कुराहरु हुन् ।

    एकीकरण असफलतामा टुंगिएर माओवादी केन्द्र राजनीतिक हिसाबले प्रचण्डसँग गएको होइन । एकीकरणमा भएका साथीहरु यही पार्टीमै रहनु भयो । एकीकृत पार्टीमै रहनु भयो । एकीकरणको सिलसिला जारी नै रह्यो र यस पार्टीको नाम दुईवटा मिलेर फेरि नयाँ नाममा दर्ता नभएको हुनाले यसको नाम साविककै नेकपा एमाले भयो ।

    वास्तवमा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र विभाजन आउनु दुखद कुरा थियो । यो विभाजन अहिले होइन, हामी यहाँ उपस्थित प्रायःसबैले राजनीति सुरु गर्नुभन्दा अगाडि यो विभाजन भइसकेको थियो । हामी राजनीतिमा लाग्नुभन्दा अगाडि यो विभाजन सुरु भइसकेको थियो र विभाजन भइराखेको थियो । त्यस विभाजित आन्दोलन भित्रबाट हामी उम्रियौं । हामीले राजनीति गर्न थाल्यौं । हामीले संगठन निर्माण, विस्तार र एकीकरण गर्न थाल्यौं र यस ठाउँमा ल्याइपुर्‍यायौं । हामीले पार्टी एकतालाई सुदृढ गर्दा र हामीभित्र हिजो देखापरेका समस्या समाधान गर्दा ०७५ जेठ ३ गते भएको पार्टी एकीकरणलाई कायमै राखेका हौं । केही मान्छेले पार्टीलाई विभाजित गरे । एकीकरण हामीले छोडेका होइनौं, हामीले तोडेका होइनौं । पार्टी कब्जा गर्ने केही मान्छेहरुको नियतले पार्टी विभाजन भयो । पछि २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले अर्कै पार्टीको नाममा नाम दर्ता भएकोले दर्ता खारेज हुने ठहर्छ, दर्ता बदर भयो भनेर भन्यो ।

    हामी सबैलाई थाहा छ– दर्ता बदर भएपछि सर्वोच्च अदालतले भन्यो दर्ता बदर भयो, यसकारण अब नयाँ नाम लिएर दर्ता गर्न समय दिनु भनेर निर्वाचन आयोगलाई आदेश दियो । निर्वाचन आयोगले हामीलाई समय दियो । यदि एकताबद्ध भएरै जाने हो भने किन प्रयास नगर्ने भनेर हामीले प्रयास ग¥र्यौं, आग्रह ग¥यौँ । तर, अदालतको फैसलाका कारण पार्टी तोडफोड भएको थिएन । पार्टी कब्जामा लिने केही मान्छेको बदनियतका कारण पार्टी फुटेको थियो । हामीहरु वस्तुतः विभाजित भइसकेका थियौं । त्यो विभाजित स्थितिमा एकताबद्ध हुने हो भने नयाँ नामका साथ फेरि दर्ता गर्नू भन्ने अदालतको आदेश अनुसार हामीले दर्ता गर्न कोसिस गर्‍यौं । तर दर्ता गर्न सकिएन । अर्को पक्षले नमानेपछि कसरी दर्ता हुन्छ ? एकीकृत पार्टी फेरि नयाँ नाममा दर्ता भएन । केही मान्छेहरु एकीकृत पार्टीबाट चोइटिएर गए । कानूनी हिसाबले प्रचण्डले नेकपा माओवादी केन्द्रको नाम पाउनु भयो । तर एकीकरण असफलतामा टुंगिएर माओवादी केन्द्र राजनीतिक हिसाबले प्रचण्डसँग गएको होइन । एकीकरणमा भएका साथीहरु यही पार्टीमै रहनु भयो । एकीकृत पार्टीमै रहनु भयो । एकीकरणको सिलसिला जारी नै रह्यो र यस पार्टीको नाम दुईवटा मिलेर फेरि नयाँ नाममा दर्ता नभएको हुनाले यसको नाम साविककै नेकपा एमाले भयो । हामीले जेठ २ मा फर्किने भनेको वस्तुतः त्यो हो ।

    हामी जेठ २ मा फर्कियौं । अथवा जेठ ३ मा भने पनि हुन्छ । एकीकरण पूर्वको स्थितिमा जेठ २ भन्नुस्, जेठ ३ भन्नुस् त्यस स्थितिमा फर्कियौं पार्टीगत हिसाबले । यो कानूनी प्रश्न हो । यस कानूनी प्रश्नलाई गलत ढंगले बुझेर हामी एकीकरणको त्यो सिलसिला भुल्न वा अस्वीकार गर्न सक्दैनौं । त्यस एकीकरणलाई कायमै राख्न प्रतिबद्ध कमरेडहरु, त्यसवापत माओवादी केन्द्रको नाम र वैधानिकता जसले प्राप्त ग¥यो, उसले गरेका दण्ड, सजाय, निष्काशन, कारबाही र त्यसबापत भोग्नु परेका सबै भोगेर आउनु भएको छ । सांसदबाट हट्नु भएको, निष्काशन हुनुभएको छ र कतिपय मन्त्रीबाट राजीनामा दिएर आउनु भएको छ । कतिपय साथीहरु प्रदेशसभा सदस्यबाट निष्काशित हुनु भएको छ । त्यसकारण यस परिस्थितिमा एउटा भोगाइका साथ, फेरि पनि बलिदानका साथ एकीकरणलाई निरन्तरता दिइएको छ । यो कानूनी प्रश्न होइन, राजनीतिक प्रश्न हो । एकीकरणलाई हामीले निरन्तरता दिएका छौं ।

    यतिबेला एकीकरणलाई निरन्तरता दिने प्रश्नमा अझ एकीकरणको भावनालाई सही ढंगले व्याख्या गरेर हामीले माओवादी केन्द्र भनेर भुलबश प्रचण्डका पछाडि जानु भएका साथीहरुलाई पनि फर्काउनु पर्छ । एकीकरणमै फर्काउनु पर्छ । उहाँहरुलाई ल्याउने होइन, फर्काउने हो । प्रचण्डले उहाँहरुलाई झुक्याएर धोका दिएर लैजानु भएको छ । त्यसकारण उहाँहरुलाई हामीले फर्काउनु छ ।

    हामीले अस्तिका दिन पनि स्थायी कमिटीबाट एउटा वक्तव्य दियौं । भ्रमवश विभाजन र नयाँ दल दर्ता र सनाखतमा जानु भएका साथीहरु हुनुहुन्छ । त्यो दर्ता सदर पनि हुँदैन । किनभने त्यो धोकापूर्ण रुपमा अध्यादेशमार्फत ल्याइएको कानूनसम्मत पनि छैन । यदि कानून हेर्ने हो भने, यदि न्याय हेर्ने हो भने, यदि लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने हो भने त्यो वैध छैन, तर लोकतान्त्रिक मूल्य मान्यता सरकारले छोडिसकेको छ । यदि त्यसलाई अलिकति पनि पछ्याउने हो भने यो दर्ता सदर हुन सक्दैन । त्यतातिर भ्रमवश लागेका साथीहरुलाई भन्न चाहन्छु– त्यहाँ के छ उद्देश्य ? माधब नेपालको अहंकार बाहेक, माधब नेपालको पदलोलुपताबाहेक अरु के छ त्यहाँ ? के विचार छ ? के उद्देश्य छ ? विरोधीसँग मिलेर आफ्नो पार्टीमाथि प्रहार गर्ने त्यो व्यवहार, गलत मनसाय, गलत नीति र गैरजिम्मेवार तरिका बाहेक के कुरा छ त्यहाँ ? केही पनि छैन । कुनै नीति, उद्देश्य केही छ ? केही पनि छैन ।

    त्यसकारण त्यहाँ भ्रमवश गएका साथीहरुलाई पनि हामीले फर्किनुस् भनेर आह्वान गरेका छौं । हामीले सुनिश्चित गरेका छौं कि कसैप्रति भेदभावपूर्ण व्यवहार गरिने छैन । हिजो भएका कमीकमजोरी, गल्ती, त्रुटीहरुका कारणले कसैप्रति भेदभाव वा पक्षपात गरिने छैन । हिजोका ती कुराहरुलाई विषय बनाएर कारबाही गरिने छैन । हाम्रो पार्टी महान् उद्देश्य बोकेको पार्टी हो । त्यसकारण यस पार्टीले त्यो महान् उद्देश्य, महान अभिभारा बहन गर्ने, त्यसका निम्ति आफ्ना अगाडिका वास्तविक चूनौतीको सामना गर्नु पर्नेछ । यस्तो बेलामा अभिभारातर्फ ध्यान नदिएर, चुनौतीको सामना छोडेर, आपसमै कसलाई के गर्ने, कसलाई के गर्ने आदि कुराहरुतर्फ हामी जान थाल्यौं भने त्यसले हामीलाई राम्रो गर्दैन । त्यसकारण हामी उहाँहरुलाई फर्किन आग्रह गरिरहेका छौं ।

    ०००

    अर्को कुरा, म कमरेडहरुलाई भन्न चाहन्छु– पार्टी विधिविधान, अनुशासन अन्तर्गत चल्दैन भने पार्टी रहँदैन । बजारमा जम्मा भएका मान्छेजस्तै एउटाको माछा किन्ने उद्देश्य छ, अर्काको माछा बेच्ने उद्देश्य छ । अर्को दही किन्न जान्छ, अर्को बेच्न जान्छ । अर्को मूला किन्न जान्छ, अर्को साडी किन्न जान्छ, अर्को टोपी किन्न जान्छ, अर्को जुत्ता चप्पल किन्न जान्छ । तिनका उद्देश्य फरक फरक छन् । बेग्लाबेग्लै पसलमा जान्छन्, बेग्लाबेग्लै सामान किन्छन् । बेग्लाबेग्लै मूल्य तिर्छन् । तिनीहरुको कुनै पनि एउटै सरोकार हुँदैन । खाली सामान बेच्नेलाई बेच्नु छ, किन्नेलाई किन्नु छ । बजारमा मान्छे धेरै हुन्छन् तर कुनै संगठन हुँदैन । यदि हामी विधानमा गएनौं, नीतिमा गएनौं, विधिमा गएनौं, अनुशासित ढंगले चलेनौं भने पार्टी पार्टी हुँदैन । त्यो हाटबजार हुन्छ । तसर्थ हामीले पार्टीलाई पार्टीको रुपमा चलाउनु पर्छ ।

    त्यसकारण हामीले केही दिन अगाडि १४ जनालाई कारबाही गर्‍यौं । हामीले थाहा पायौं– यो घट्दै गएर २० प्रतिशतमा पुग्छ । हामी हेरिराखेका छौं त्यतातिर । हामीले ‘म्याग्निफायर’ लगाएर हेरिराखेका छौं । त्यहाँ के भइराखेको छ भन्दा अन्तिममा हाम्रो पार्टी फुटाउनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भन्ने प्रावधान अध्यादेशमा ल्याइयो । त्यसैकारण हामीले त्यसमा पनि ध्यान दिएका हौं । पार्टी फुट्न नपाओस्, पार्टी फुटेन भने हामीले भोलि अरु हिसाबले व्यवस्थापन गर्न सक्छौं, जोगाउन सक्छौं । यसर्थ जोगाउने बाटोमा हामी लाग्यौं, पार्टी फुट्न नदिने बाटोमा हामी लाग्यौं । हामीले कारबाही गर्‍यौं । तर सभामुखले आफूले गरिरहेको अभ्यास र कानुनलाई लत्याएर हामीले गरेको कारवाहीको सूचना दिन मानेनन् । टोपबहादुरजी यहीँ हुनुहुन्छ, लेखराज भट्टजी यहीँ हुनुहुन्छ । उहाँहरुलाई र प्रभु साहजीहरुलाई कारबाही गर्दा हतार हतार सूचना जारी गर्नुपर्ने । तर, नेकपा एमालेजस्तो देशको प्रमुख पार्टीले कारवाहीको सूचना दिंदा सभामुखले संवैधानिक दायित्व वहन नगर्ने बाटो अपनाए ।

    नेकपा (एमाले) प्रमुख प्रतिपक्ष मात्रै होइन, संसद्को सबैभन्दा ठूलो पार्टी पनि हो । हिजो नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष थियो । हामी नेपाली काँग्रेसजस्तो कानुनी रुपमा प्रमुख प्रतिपक्षको हैसियतको मात्रै पार्टी होइनौं । देशकै प्रमुख राजनैतिक शक्ति, प्रमुख पार्टी हौं । त्यस हिसाबमा पनि हामी प्रमुख प्रतिपक्ष मात्र होइनौँ, सबैभन्दा ठूलो पार्टी पनि हौं । तर, यस्तो पार्टीले गरेको कारबाही ७ दिनसम्म उनले अल्झाएर राखे, त्यसपछि दाँत दुखेको छ भने । दाँत दुखेर निर्वाचन आयोगमा गोलमोटल भाषाको पत्र लेख्न सकिन्छ, तर कारवाहीको सूचना टाँस्न सकिन्न ? सचिवहरुले सूचना टाँसौं कि क्या हो हजुर भन्दा सभामुखले ‘अँ’ भन्दिए पुग्ने ठाउँमा दाँत दुखेर त्यति पनि भन्न सकेनन् ? त्यति गर्नुपर्ने ठाउँमा सभामुखले किन रोकिराखेका छन् ? सभामुखले आफ्नो सभामुखीय पदको मर्यादा कायम गरेका छैनन्, हैसियत कायम राखेका छैनन् । सभामुखको पदले पालना गर्नुपर्ने, कायम राख्नु पर्ने निष्पक्षता कायम राखेका छैनन् । अर्थात् उनी सभामुख हुन योग्य छैनन् भन्ने देखिन्छ । यसको प्रतिबिम्व, यसको असर आगामी दिनका संसदीय बैठकहरुमा देखिने छ । किनभने यो धेरै सिरियस कुरा हो । सभामुखले मनपरी गरेर चल्छ ? मनपरी गरेर पेलेर चलाउँछु भन्ने सभामुखको हैसियत होइन । एउटा पार्टीको बफादार कार्यकर्ता भएर, एउटा पार्टीको स्वार्थका निम्ति मरिमेटेर नाङ्गो नाच गर्ने र अर्को पार्टी प्रतिपक्षका विरुद्ध, त्यही संसदमा उपस्थित प्रमुख पार्टीका विरुद्ध वैरभाव राखेर, त्यसलाई विभाजन गर्ने षड्यन्त्रमा सामेल हुने काम सभामुखले गर्छ भने यो अत्यन्तै खेदजनक कुरा हो । नेपालको संसदीय व्यवस्थाप्रति, नेपालको लोकतान्त्रिक प्रणालीप्रति वैरभाव राख्ने र यसलाई कमजोर पार्ने खेल हो । यसरी संसद् चल्नै सक्दैन र संसदीय प्रणालीको भविष्य पनि खतरामा पर्छ । संसद् चल्न नसक्ने विन्दुमा पुर्‍याएर समाप्त पार्ने उहाँको यो षड्यन्त्रपूर्ण व्यवहार वास्तवमै निन्दनीय छ । उनको यो व्यवहार वास्तवमै भत्र्सनायोग्य छ । यो अहिले सिद्धिने विषय होइन । यो व्यवहार पछि पनि प्रकट भइरहन्छ र यसको प्रतिक्रिया पनि प्रकट भइरहन्छ । यो अलिक परैसम्म जान्छ ।

    कमरेडहरु, हामी अलोकतान्त्रिक बाटो हिँड्दैनौं, अशान्तिको बाटो हिँड्दैनौं, हामी असंवैधानिक, विधिहीन बाटो हिँड्दैनौं । विश्वले, दुनियाँले, संयुक्त राष्ट्रसंघले मानेका स्थापित विश्वव्यापी रुपमा स्वीकृत, उच्चतम सिद्धान्त र मूल्य मान्यताका आधारमा हामी अगाडि बढ्छौं ।

    कमरेडहरुलाई थाहा छ– हाम्रो पार्टी विभाजन गर्नका लागि चलिरहेको अधिवेशन राती १२ बजे अन्त्य हुन्छ । ७ दिनपछि सरकारले यो गर्छ, त्यो गर्छ भन्ने आदेश दिने । ७ दिन पछि म अधिवेशनमा यहाँ यो ल्याउँछु, त्यो ल्याउँछु भन्ने र एक महिनामा यो गरिन्छ, एक महिनामा विधेयकहरु पास गरिन्छ, यो विधेयक पास गर्न पर्नेछ भनेर न्यूनतम साझा कार्यक्रम, यसै संसदबाट यो यो गर्ने भनेर ल्याउने र अचानक एकछिन्पछि सदन बन्द गरिदिने । १२ बजे राती सदन बन्द हुन्छ, भोलि बिहानै अध्यादेश तयार भएर राष्ट्रपतिकहाँ पठाइन्छ । भनेपछि यो पुरानो षड्यन्त्र हो भन्ने स्पष्ट छ । संसद छलेको र संसद छलेर अध्यादेशले कुशासन चलाउन खोजेको हो भन्ने यसले देखिन्छ । शासन चलाउन खोजेको देखिँदैन । यो नेपालमाथि, नेपाली जनतामाथि, नेपाल राष्ट्रमाथि कुशासन लाद्न खोजेको हो । यो उद्देश्यहीन, दिशाहीन, गन्तव्यहीन, स्वार्थी तत्वहरुको गठजोडले नेपाली जनतामाथि अध्यादेशमार्फत कुशासन लाद्न खोजेको हो ।

    सदन नचलिरहेका बेला तत्काल देशका लागि, जनताका लागि केही परेमा, केही आकस्मिक रुपमा गर्न परेमा अध्यादेशको बाटोबाट कानून निर्माण गरिन्छ । त्यो संवैधानिक प्रश्न हो । सरकारलाई त्यो अधिकार छ, तर अधिवेशन नचलेका बेला तत्काल देशका लागि केही गर्न पर्ने भएमा । यो अपराधी गठनबन्धले नेकपा एमाले फुटाउनका लागि अध्यादेश ल्यायो । के यो देशका लागि अपरिहार्य आवश्यकता हो ? कि उनीहरुको आपराधिक उद्देश्यको लागि हो ? त्यसकारण यो अपराधिक कुकृत्य हो । देशको आवश्यकता होइन, जनताको आवश्यकता होइन । यो षड्यन्त्रपूर्ण कुरा हो । यसबाट हामी कस्तो घेराबन्दीमा छौं भनेर बुझ्न सकिन्छ । यो ‘नयाँ पार्टी’ यत्तिकै फुट भनेर दर्ता गर्न गएका छैनन् । त्यसका पछाडि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरुको ठूलो चलखेल छ, भूमिका छ । यो कुरा हामीले बुझ्नु पर्छ । यहाँ ठूलो चलखेल छ, ठूलो भूमिका छ ।

    ०००

    नेपालमा कम्युनिष्ट आन्दोलन आश्चर्य लाग्दोगरी चुनावको माध्यमबाट, एकता एकीकरणको बाटोबाट, जनताको पवित्र अभिमतद्वारा, जनादेशद्वारा दुईतिहाइका साथ सरकारमा पुग्छ । जनविश्वासद्वारा कम्युनिष्ट आन्दोलन देशैभर एकछत्र ढंगले छाउँछ । सरकारमा छाउँछ, केन्द्रीय सरकारमा छाउँछ, प्रादेशिक सरकारमा छाउँछ, स्थानीय तहहरुमा छाउँछ । जनव्यापी रुपमा, प्रिय पार्टीको रुपमा उदाउँछ । प्रतिक्रियावादीका मुटुमा कस्तो भएको होला ? मुटुमा किलो ठोकेको जस्तो भएको छ । त्यसैकारण देश विदेशका प्रतिक्रियावादीहरु त्यो मुटुको किलो निकाल्न खोज्छन् । अहिले एउटा पार्टी दर्ता हुन पुग्नु, पहिले हाम्रो पार्टी विभाजित हुन पुग्नु, हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा पुग्नु, प्रदेश प्रदेशका सरकार ढाल्नु/ढालिनु र अहिले पार्टी दर्ता हुनु यही सिलसिला हो । प्रतिक्रियावादीको मुटुको किलो उखेल्ने प्रयासको निरन्तरता हो, यो त्यसैको सिलसिला हो ।

    तर, म भन्न चाहन्छु– कमरेडहरु, हामी अलोकतान्त्रिक बाटो हिँड्दैनौं, अशान्तिको बाटो हिँड्दैनौं, हामी असंवैधानिक, विधिहीन बाटो हिँड्दैनौं । विश्वले, दुनियाँले, संयुक्त राष्ट्रसंघले मानेका स्थापित विश्वव्यापी रुपमा स्वीकृत, उच्चतम सिद्धान्त र मूल्य मान्यताका आधारमा हामी अगाडि बढ्छौं । हामी प्रतिक्रियावादी शक्तिहरुलाई तिनै मूल्य मान्यता, तिनै उच्चतम र स्थापित, विश्वव्यापी रुपमा स्थापित उच्चतम मूल्य मान्यताहरुमा अब्बल ठहरिएर अरुभन्दा दुई कदम अगाडि उभिएर, दुई कदम अगाडि बढेर, दुईचार फिट उचाइ राखेर अगाडि बढ्छौं । र, हामी हाम्रो देशमा आफ्नो हैसियत कायम गरेर छोड्छौं ।

    हिजो हामी एकीकरणबाट दुईतिहाइ लगभग पुगेका थियौं । अब एकीकरणबाट होइन, आगामी दिनमा थप एकीकरण गरिरहनु पर्दैन । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टी दुई तिहाइको हैसियत कायम राख्ने अठोटका साथ अगाडि बढ्दा यसले मजासँग सफलता प्राप्त गर्न सक्छ । किनभने जनताको विश्वास अरुमाथि छैन । अस्ति मैले एकजना वकीलसा’पको अन्तरवार्ता हेर्दैै थिएँ । कंग्रेसलाई जनताले के भनेर भोट दिन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समस्या भनेवापत भोट दिन्छ ? भूमिसम्बन्धी समस्या समाधान गर्न खोज्यो, सुकुम्वासी गरिबका समस्या समाधान गर्न खोज्यो भनेर अघिल्लो सरकारले बनाएको भूमि आयोग विघटन गरेर जनविरोधी काम गरेवापत भोट दिन्छ ? बजेट रोकेवापत ? पुनःनिर्माणका काम ठप्प गरेवापत ? अथवा के गरे वापत ? विध्वंश मच्चाएर अलोकतान्त्रिक ढंगबाट संसद छलेर रातारात संसद अन्त्य गर्ने र बिहानै अध्यादेश ल्याउने छली, अलोकतान्त्रिक क्रियाकलाप गरेको हुनाले भोट दिने ? कि नेकपा एमालेलाई गाली गरेको हुनाले भोट दिने ? के गरेको छ र काँग्रेसले भोट माग्छ जनतासँग ? मैले अरुअरु पार्टी फुटाएँ भनेर कि के भनेर भोट माग्छ ? नेकपा एमालेलाई भोट के भनेर नदेउ भन्ने ? देशभरी पक्की बाटो बनायो, तुइन विस्थापन गर्‍यो, झोलुङ्गे पुल बनायो, पक्की पुल बनायो, पुनःनिर्माणका काम छिट्टै ग¥यो, त्यसैले भोट नदेऊ भन्ने ? धरहरा पनि खडा गर्‍यो, रानीपोखरी पनि बनायो, दरवार हाइस्कुल तयार गर्‍यो । कार्यालय, स्कूल, कलेज, ३ सय ९६ अस्पताल एकैदिन शिलान्यास भएर काम सुरु गर्‍यो भनेर भोट नदेऊ भन्ने ? एउटा दशरथ रंगशाला भत्केको अवस्थामा थियो । बाँकी कहीँ थिएन । अहिले रंगशालाहरु तयार भइसकेका छन्, त्यसैले भोट नदेऊ भन्ने ? रंगशालाहरुमा हामीले १३औं साग खेलायौं । तयार भइसकेका जनकपुर, पोखराका रंगशालामा खेलायौं । अरु रंगशाला निर्माण भइरहेका छन् । हामीसँग ससाना सिटी र एकेडेमी हल बाहेक सभाहल थिएनन् । ससाना यस्तै हल बाहेक सभागृह भन्ने खालका केही पनि थिएनन् । अहिले जिल्ला जिल्लामा सभागृह, प्रदेश प्रदेशमा सभागृहहरु कति पुगिराखेका छन् ? तपाईं हामीले देखिराखेका छौं ।

    १ गते १४ जनालाई निष्काशन गरेको पत्र हामीले संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छौं । कारबाही गर्ने हामीले हो । सभामुखले सूचना मात्रै दिने हो । हामीले गरेको कारवाहीलाई ‘विचारधीन’ रहेको भनेर निर्वाचन आयोगमा पत्राचार गरे । सभामुखले विचाराधीन राख्ने होइन । सभामुखसँग त्यसमा छानबिन गर्ने कुनै अधिकार छैन ।

    सडकमा बालबालिका रहन दिएन, हटायो । सबै खत्तम गर्दियो, सडक मानव हुन दिएन एमालेले, सबै वन्दोवस्त गर्दियो भन्ने ? अलपत्र, वेसाहारा बुढाबुढी सडकमा छैनन् । सबैको वन्दोवस्त गर्दियो भन्ने ? अथवा ज्येष्ठ नागरिकहरुको जीवन बीमा गर्‍यो भन्ने ? त्यसकारण यसलाई हराउनु पर्छ भन्ने ? के भन्ने ? उनीहरुसँग भन्ने कुनै पनि कुरा छैन । प्रचण्डले के भन्ने ? प्रचण्डको हैसियत भनेको हिजोको माओवादी केन्द्रको आधा मात्र हो । उनले माओवादी केन्द्रको आधा हिस्सा लिएर गएका छन् । बाँकी आधा हिस्सा चुनावसम्म हामीले ल्याइसक्छौं । प्रचण्डसँग अव माओवादी केन्द्रको टुप्पी मात्र बाँकी रहन्छ । सबै सिद्धिसक्छ । माओवादी केन्द्रको टुप्पी मात्रै लिखिर लिखिर, पुष्पकमल दाहाल प्रचण्ड ! टुप्पीमा वरपरतिरका, पखेटा मुनिका, खान पाएका तरमारेहरु दुईचार जना मात्र बाँकी रहन्छन् । टुप्पी भनेको एक्लै हुँदैन नि, धेरै रौँ हुन्छन् । धेरै त्यान्द्रा हुन्छन् । त्यस्तै त्यान्द्रा बाँकी रहन्छन् । अनि अरु को छ ? अहिले नै प्रचण्डले भनेको तपाईंहरुले सुनिराख्नु भएको छ– एक्लै एमालेसँग लड्न सकिँदैन । म पनि भन्छु– एमालेसँग लड्न नचिताए हुन्छ । यो सबै स्वीकारीराखेका छन् । मोर्चा बनाएर लड्छु भन्छन् । अब एउटा कुरा भन्न बाँकी छ– मोर्चा बनाएर लडे पनि पार लाग्दैन एमालेसँग लड्न । यी मोर्चा बनाउने घटकहरु नै ससाना भइसके । त्यसकारण यिनका मोर्चा कत्रो हुन्छ ? हामी सुदृढ छौं, सुदृढ ढंगले अगाडि बढ्नु पर्छ ।

    ०००

    हाम्राविरुद्ध विभिन्न संवैधानिक निकायहरु समेत अचम्मलाग्दो प्रेसरमा परेको देखिन्छ । कानून विपरीत देखिइदेखिइकन बलमिच्याँइपूर्ण ढंगले काम गरेको देखिन्छ । जनादेशको सरकारलाई परमादेशबाट दुनियाँमै कहीँ नभएको प्रधानमन्त्री अदालतबाट तोक्ने जस्ता कुरा यहाँ भइराखेको छ । त्यो त हामीले देख्यौं नै । त्यो बाहेक १ गते १४ जनालाई निष्काशन गरेको पत्र हामीले संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छौं । कारबाही गर्ने हामीले हो । सभामुखले सूचना मात्रै दिने हो । हामीले गरेको कारवाहीलाई ‘विचारधीन’ रहेको भनेर निर्वाचन आयोगमा पत्राचार गरे । सभामुखले विचाराधीन राख्ने होइन । सभामुखसँग त्यसमा छानबिन गर्ने कुनै अधिकार छैन । उनको काम जम्माजम्मी सूचना टाँस गर्ने हो । सूचना टाँस नगरेर, यता छिटो गर्न लगाएर, निर्वाचन आयोगले ३५/४५ दिन पाउँछ । तर निर्वाचन आयोगले ३५/४५ दिनको समय पाए पनि ८/१० दिनमै किन गर्नुपर्‍यो ? एकहप्ता भित्र, २ गते दर्ता हुन्छ, ९ गते सनाखत गरेर प्रमाण पत्र दिन पर्ने किन भयो ? पहिले त यस्तै विषयमा महिनौं फैसला गरिँदैनथ्यो । कसैले नाम लेखिदियो, निवेदन दिँदा, पहिले हस्ताक्षर छैन । हस्ताक्षर गरेकाको पो सनाखत हुन्छ । हस्ताक्षर पहिले छैन, पहिले नभएकाको पनि हस्ताक्षर सनाखत । सनाखत भनेको भिडाउने हो । दस्तखत भिडाउने हो, निजको हस्ताक्षर हो कि होइन भनेर । पहिले हुँदै नभएका मान्छे भेला गरेर अनि हस्ताक्षर गरेपछि सनाखत भएर निर्वाचन आयोगले नयाँ हस्ताक्षर कसरी स्वीकार गर्‍यो ?

    यो सनाखत होइन, पार्टी फुटाउने काममा निर्वाचन आयोगको अनावश्यक संलग्नता देखियो । यस्तो नहुनु पर्दथ्यो । यो धेरै दुखद् कुरा हो । संवैधानिक निकायहरुले संवैधानिक बाटो दृढताका साथ अबलम्वन गर्नुपर्ने, कानून कार्यान्वयन गर्नुपर्ने, न्यायको पक्षमा उभिनु पर्ने, आफ्नो संवैधानिक हैसियत र मर्यादा कायम राख्नु पर्ने, त्यसमा उभिनु पर्ने ठाउँमा निर्वाचन आयोग त्यसबाट विचलित हुन्छ । अन्तै गरेर पठाइदिएको हस्ताक्षरको सनाखत हुन्छ । करकापले कसैले गराएको हो कि ? अस्पतालको बेडमा भएको मान्छेको पनि ल्याप्चे ल्याइयो । कुनैकुनै जिल्लातिर जिस्क्याउनु पर्‍यो भने मान्छे निदाउने बेलामा, सुत्ने बेलामा औँठा लुकाएर सुत्छन् भन्ने भन्थे । अब अस्पतालमा पनि त्यसै गरेर औँठा लुकाएर बस्नु पर्ने ? कसले गर्‍यो सहीछाप ? मान्छे होसमा छ कि बेहोसमा छ कि ? आइसीयुमा छ कि भेन्टिलेटरमा छ कि के छ ? अब त्यस्तो ठाउँमा सनाखत भनेर एउटा कागज ल्याएको छ । त्यो पनि होसमा रहुञ्जेल यसो (मुठ्ठीमा औँला लुकाउने) गर्ने होला । त्यो फुत्किएपछि फेरि मुठ्ठी पनि हुँदैन । त्यस स्थितिमा पुगेर पार्टी फुटाउन राज्यका अंगहरुको दुरुपयोग भएको छ ।

    हामीले निष्काशन गरिसकेका दश जना केन्द्रीय सदस्य त्यहाँ छन् । पहिले हस्ताक्षर नगरेका झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुडाल लगायतको त्यहाँ हिजो सनाखत भयो भनियो । यो नेकपा एमाले विरुद्धको, एमाले तोड्ने अभियानको एउटा अंगको रुपमा काम भएन र ? नेकपा एमालेले निष्काशन गरिसकेको, त्यो सूचना टाँस्न पर्दैन सभामुखले ? उनले १५ दिन टाँस्ने समय पाउँछ भने त्यो १५ दिन निर्वाचन आयोगले पर्खिनु पर्छ । के हतार भयो निर्वाचन आयोगलाई ? टाँस भन्न पनि सक्दैन । एमालेले निष्काशन गरेको सूचना यहाँ पठाएको छ भनेर संसदले लेखेर दिएपछि सूचना त भयो निर्वाचन आयोगलाई । अन्त टास्नु पर्‍यो र ? निर्वाचन आयोगको पेटीमा टाँस्नु पर्‍यो र ? संघीय संसदको सूचना पाटीमा टाँस्नु पर्‍यो र ? निर्वाचन आयोगलाई संसद् सचिवालयले के पत्र दिएको छ भने साउन २५ गते कारबाही गरिएको सूचना नेकपा (एमाले)ले भदौ १ गते संसद सचिवालयलाई पठाएको छ । भनेपछि निर्वाचन आयोगले जानकारी त पायो नि । निर्वाचन आयोगले त्यो जानकारी पाइसकेपछि संसद सचिवालयले निष्काशन गरिसकेको छ है २५ गते नै भन्ने सूचना १ गते हामीकहाँ प्राप्त भएको छ भनेर उसले सूचित गरिसकेपछि अर्को सूचना के हुन्छ ? कानूनमा सूचना पाटीमै टाँसिएको हुनुपर्छ, निर्वाचन आयोगलाई दिइएको सूचना चाहिँ सूचना हुँदैन भन्ने छ र ? यो त एकदम जाझेलपूर्ण कुरा हो । कानूनी कुरा होइन । १४ जना सांसद, १० जना केन्द्रीय सदस्य र अरु अनेक केन्द्रीय सदस्यको झुटो सनाखत भएको छ ।

    म भन्न चाहन्छु– हामी यस सम्बन्धमा कानूनी उपचारका लागि सर्वोच्च अदालतमा जान्छौं । विल्कूलै गैरकानूनी ढंगले, आग्रहपूर्ण ढंगले, पक्षपातपूर्ण ढंगले निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्ने, तथाकथित सनाखत गर्ने, गैरकानूनी, अन्यापूर्ण, अनुचित क्रियाकलाप गरेको छ । यसका विरुद्ध हामी सम्मानित सर्वोच्च अदालत जान्छौं । म के विश्वस्त छु भने यति खुलेआम अन्याय गरेको कुरामा हामीले न्याय पाउनेछौं । म के ठान्छु भने हिजो दर्ता भयो भनिएको पार्टीको दर्ता बदर हुन्छ । त्यसकारण हामीले साथीहरुलाई यथोचित ढंगले फर्किने अवसर उपलब्ध गराउनु पर्दछ ।

    ०००

    जे होस्, हामीले अब नयाँ उत्साहका साथ, नयाँ शिराबाट काम गर्नु पर्छ । त्यस नयाँ शिरामध्ये एउटालाई हामीले १० बुँदे पनि भनेका छौं । यसले हिजोको नेकपा एमाले भित्रको समस्या समाधान भयो । जेठ ३ गतेदेखि वा फागुन २३ देखि यताको एकता एकीकरणको जेठ ३ को निरन्तरतामा धक्का नपुर्‍याइकन अघि बढ्नु पर्छ । त्यसमा हामी धक्का पुर्‍याउन सक्दैनौं । त्यसलाई अस्वीकार गर्न सक्दैनौं । त्यो एकीकरणलाई हामीले राजनीतिक रुपमा अस्वीकार गरेको होइन । कानूनी रुपमा आ–आफ्ना पार्टीका पूर्व नामहरुलाई लिएर माओवादी केन्द्रको नेतृत्व प्रचण्डले र नेकपा एमालेको नेतृत्व मैले अध्यक्षको हिसाबमा गर्ने मौका पायौं । त्यसपछि दर्ता गर्न नगएको हुनाले त्यस्तो भयो । तर हामीले गरेको राजनीतिक एकीकरण हो, यो कानूनी लडाइँ थिएन । राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिएको राजनीतिक कदम थियो । यो मुद्दा लडाइँ होइन । यो राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिएको राजनीतिक कदम हो । यस कुरालाई पनि प्रतिकूल असर नपर्नेगरी कार्यदलको जुन १० बुँदे सुझाव छ, त्यसमा मैले सुरुदेखि भनेको छु– कमरेडहरु यसलाई सकारात्मक ढंगले लिन्छौं, रचनात्मक ढंगले कार्यान्वयन गर्छाैं । कुनै पनि कुरा डग्म्याटिक ढंगले हुँदैन । बीचका घटनाक्रम, बीचका सन्दर्भ आदि इत्यादि सबै मिलाएर हेर्नु पर्छ । किनभने हामीले पार्टी चलाउनु छ । हिजो कुनै कारणले पद अहोदामा भएको साथी कुनै कारणले विस्थापित गरिएको छ भने अब फर्किएर काममा लाग्छु भन्दा पहिलेकै जिम्मेवारी दिने हाम्रो प्रयास रहन्छ । एकीकरणको सन्दर्भमा भएका व्यवस्थालाई खल्बल्याएर फेरि जेठ २ भन्दा अगाडि यो थियो भनेर एकीकरणको विषयलाई खल्बल्याएर हुँदैन । एकीकरणको विषय हामी खल्बल्याउन सक्दैनौं । एकीकरण त गरेको हो । त्यतिबेला एकीकरण चाहियो हामीले गर्‍यौं । अहिले एकीकरण चाहिँदैन जहाँसुकै जाउ भन्न सक्छौं हामी ? यो एकतर्फीको पार्टी हो र ? यो त एकीकृत पार्टी हो । यो हिजोको नेकपाको निरन्तरता हो । जेठ ३ गते गरिएको एकीकरणको निरन्तरता यसभित्र छ ।

    फागुन २३ गतेको फैसलाले गर्दा अब हामी एमाले मात्रै भयौं भन्ने कुरा होइन । एमाले मात्रै होइन, हामी एकीकृत पार्टी नै हौँ । एकीकृत माक्र्सवादी लेनिनवादीको रुपमा थियौं, एकीकृत नेकपाको रुपमा छौँ । पार्टी हाम्रो हिजोको नाममा छ, हिजोको सबै कुरा छ । हामी त्यो एकीकरणका भावनाका साथ, एकीकरणको निरन्तरताका साथ अगाडि बढ्छौं । हिजो एकीकरण हुँदाखेरी कतिपय वैचारिक प्रश्नमा र नामको हकमा हामीले जनताको बहुदलीय जनवाद भन्दाखेरी विलन हुन आएकोजस्तो देखिने भएको हुनाले महाधिवेशनबाट फेरि गरौंला, अहिलेलाई जनताको जनवाद भन्ने राखौं भन्ने प्रचण्डको प्रस्तावलाई मानिएको थियो । त्यो सन्दर्भ समाप्त भएर अब हामी स्पष्टतः जवजको बाटोबाट अघि बढ्छौँ । त्यो सन्दर्भ समाप्त भयो । महाधिवेशनले के नाम राख्छ, के गर्छ महाधिवेशनको सर्वोच्ता हो । महाधिवेशनले नेकपा एमाले राख्छ, यो स्थापित नाम हो । अहिले पनि हामीले त्यही कोसिस गरेका छौं । संयुक्त चुनाव लड्दा सूर्य चिन्हमा लडौं भनेका थियौं । पछि एकीकरण भइसकेर हामी लड्दा सूर्य चिन्हबाटै लड्यौं । त्यसकारण जनतामा हामी कसरी लोकप्रिय हुन सक्छौं, कसरी सवल ढंगले प्रस्तुत हुन सक्छौं, सही ढंगले प्रस्तुत हुन सक्छौं, प्रश्न यो हो ।

    तसर्थ हामी नयाँ उचाइको एकता, खँदिलो एकता, वैचारिक एकता र सुदृढ एकताका साथ अगाडि बढ्छौं । जनताका बीचमा जान्छौं । कानूनी लडाइँ पनि लड्छौं र प्रतिक्रियावादीको सामना पनि गर्छौं । विभिन्न मोर्चामै हाम्रो लडाइँ हुनेछ । हाम्रा पार्टी कमिटीहरु, जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरु, हाम्रा सबै तहका सबै हैसियतका कमिटीहरु र हाम्रा सम्पूर्ण पार्टी सदस्यहरु, हाम्रा समर्थकहरु, शुभेच्छुकहरुको अत्यधिक, व्यवस्थित परिचालन हामी गर्छौं । त्यसका निम्ति यो केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीले अस्तिका दिन गरेकोे निर्णयलाई अनुमोदन नगर्नु पर्ने कुनै कारण छैन । १० बुँदेलाई केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो । स्थायी कमिटीले अनुमोदन गर्‍यो र सकारात्मक ढंगले ग्रहण गर्ने, रचनात्मक, सिर्जनात्मक ढंगले कार्यान्वयन गर्ने भनेर अस्तिदेखि नै हामीले भनेका छौं । यसलाई माधब नेपालले अस्वीकार गर्नुभयो । माधब नेपालले यसलाई मान्नु भएन । माधब नेपालले समेत मान्नेगरी यो तयार भएको थियो । हिजोको प्रेस कन्फरेन्समा कमरेड योगेश भट्टराईले एकदम समुचित ढंगले त्यसको व्याख्या गरिसक्नु भएको छ । माधव नेपाल र उहाँको डफ्फाले समेत मान्ने भनेर यो तयार भएको थियो । तयार भइसकेपछि उहाँले यो हुँदैन भन्नु भयो । उहाँले मान्नु भएन । पार्टीले मान्यो । अब यो हाम्रो पार्टीको एकलौटी पुुँजी भयो । यसलाई लिएर हामीले माधब नेपालसँग कुनै रस्साकस्सी गर्नु परेन । उहाँले अस्वीकार गर्नुभयो र उहाँ आफ्नो बाटो लाग्नु भयो । तर, यो हाम्रो पार्टीको कर्तव्य हो । यसलाई व्यापक अर्थमा लागू गर्ने र पार्टी भित्रका समस्याहरु समाधान गर्ने काम हामी गर्छाैँ । समस्या समाधान नगरेर हामी अगाडि बढ्न सक्दैनौं । समस्याका बीचमा अगाडि बढ्न सकिँदैन । अगाडि बढ्ने हो भने आन्तरिक समस्याको समुचित समाधान गर्नुपर्छ । कसैको भावनामा, कसैको सम्मानमा चोट नपुर्‍याइकन सबैले सम्मानजनक ढंगले काम गर्न पाउने स्थिति बन्न सकोस् भन्ने यसको अभिप्राय हो । त्यस ढंगले अगाडि बढौं भन्ने म कमरेडहरुसँग आग्रह गर्न चाहन्छु ।

    (२०७८ भदौ १० मा नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनको सम्पादित अंश)

  • कर्णाली एमालेको पुरानो संरचना क्रियाशील, एक ढिक्कासाथ जनतामाझ जाने

    कर्णाली एमालेको पुरानो संरचना क्रियाशील, एक ढिक्कासाथ जनतामाझ जाने

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । आज पार्टी कार्यालयमा अनौपचारिक छलफल गर्दै पार्टीलाई एकढिक्काका साथ लैजाने निर्णय गरेको हो ।

    आजको छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक युवराज ज्ञवाली, सहसंयोजक यामलाल कंडेल, केन्द्रीय कमिटी सदस्य एवम प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य राजबहादुर बुढा, एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटी, गुलाबजंग शाह, गोविन्दविक्रम शाह लगायत सहभागी थिए ।

    बैठकमा पार्टीका एजेण्डा लिएर जनतामाझ जाने, जिल्ला भेलाहरू गर्ने, पार्टीको महाधिवेशनका बारेमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा जानेलगायतका विषयमा छलफल भएको थियो । सबै १० जिल्लामा विभिन्न मितिमा भेलाहरूको आयोजना गरिएकोले सबैलाई उपस्थित हुन र खट्न आव्हान गरिएको नेता रिजालले बताए ।

  • माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल

    माओवादी र माधव नेपालसँग सहकार्य गर्न सकिन्न, ओलीविरुद्धको प्रतिगामी गठबन्धन परास्त गर्छौं:महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी र माधव नेपालको पार्टीसँग कुनै किसिमको सहकार्य नहुने बताएका छन् ।

    सोमबार पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीहरूसँग सहकार्य वा गठबन्धन नहुने प्रष्ट पारे ।

    ‘मुलुक केपी ओली र ओलीविरोधी सबै शक्तिको दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एमालेविरुद्धको गठबन्धनलाई परास्त गर्नेछौं’, पोखरेलले भने । माधव नेपालले जीवनमा एकपटक मात्र आन्तरिक प्रतिस्पर्धा गरेको र अध्यक्ष हारेपछि अर्को महाधिवेशन पर्खिन नसकी अध्यक्ष पद मागेर चोइटिएको उनको दावी थियो ।

    एमालेको महाधिवेशनमा कार्यकर्ताले चाहे आफू नेतृत्व लिन सक्षम रहेको भन्दै अहिले केपी ओलीविरुद्धको ध्रुवीकरणलाई परास्त गर्न एमाले एकजुट हुने नेता पोखरेलले बताए ।

     

  • एमालेमा ब्युँतिए जेठ २ का प्रदेश इन्चार्ज, १० बुँदे कार्यान्वयन गर्न ३२ नेता तोकिए (सूचीसहित)

    एमालेमा ब्युँतिए जेठ २ का प्रदेश इन्चार्ज, १० बुँदे कार्यान्वयन गर्न ३२ नेता तोकिए (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ।

    हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन-१२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।

    उक्त जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचना अनुसार तोकिएको छ। उति बेला प्रदेश इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न टोली बनाइएको छ ।

    जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ ।

    त्यस्तै जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली बनाइएको छ ।

    यस्तो छ, जिम्मेवारी बाँडफाँट :

  • दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन (सर्कुलरसहित)

    दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको हो ।

    ‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ,’ एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको अपानीमा भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

    जनप्रतिनिधिलाई अपानीमा भनिएको छ, ‘यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’

    सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले हिजो एक विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ । अध्यादेश अनुसार एमालेमा माधवकुमार नेपालले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् भने महन्थ ठाकुरले समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) गठन गरेका छन् ।

    भदौ २२ सम्म एमाले र जसपा त्याग्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई कुनै कारवाही हुँदैन ।

  • माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने

    माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने

    रुपन्देही । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एमालेमै रहने घोषणा गरेका छन् ।

    नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई शनिबार सम्बोधन गर्दै पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने बताएका हुन् ।

    कपिलवस्तुमा युवासंघको भेलालाई सम्बोधन गर्दै पन्थीले माधव नेपालले पार्टी फुटाएर ठूलो भूल गरेको बताए । ‘पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा साथ दिएका हौं, फुटेर एमालेको भलो हुँदैन,’ उनले भने ।

    पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको बताएका थिए । लुम्बिनी प्रदेशसभामा माधव नेपाल समूहमा गनिदै आएका पन्थीले एमालेबाट छुटिएर नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभावसमेत नपर्ने ठोकुवा गरे ।

    पन्थीले अहिले जनतामा गठबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन दिएका थिए । नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीको अध्यक्ष नै एमालेमै रहेपछि कपिलवस्तुमा माधव नेपाल समूह थप कमजोर भएको छ ।

  • माधव नेपाललाई योगेशको जवाफ- आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाए हुन्छ

    माधव नेपाललाई योगेशको जवाफ- आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाए हुन्छ

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।

    नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका थिए ।

    नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा भनेका छन्, ‘राम्रो कुरा हो,स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’

    नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताएका थिए । नेपालले दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको समेत बताएका छन् ।

    उनले भनेका छन्, ‘आउनुस् केपी ओलीलाई छाडेर । म अध्यक्ष त अहिल्यै छाड्न तयार छु, पाँच वर्षपछि राजनीति पनि छाड्छु ।’

  • माधव पक्षले बनाएको एमाले काठमाडौंको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

    माधव पक्षले बनाएको एमाले काठमाडौंको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

    काठमाडौं । नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहले काठमाडौंमा गठन गरेको समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको छ ।

    माधव नेपाल पक्षले वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौंमा समानान्तर कमिटी गठन गरेको थियो । प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरले बुधबार बसेको बैठकले सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने निर्णय गरेको बताए ।

    उनले भने, ‘हिजो एमाले हुँदा हामीले बनाएको कमिटी अब एकीकृत समाजवादी भएको छ । अरुको कुरा थाहा भएन प्रदेशसभा सदस्यमध्ये म चाहिँ एमालेमा रहिन । अरु साथीहरू पनि विस्तारै खुल्नु होला ।’

    मानन्धर तत्कालीन नेकपा हुँदै एमालेको केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका नेता हुन् ।

    अनेरास्ववियूका पूर्वमहासचिव रहिसकेका मानन्धर तत्कालीन माले हुँदै आएका घनश्याम भुसाल र योगेश भट्टराई समूहसँग नजिक थिए । तर, यसपटकको नेकपा एमाले विभाजनमा भने उनी माधव नेपालको पक्षमा उभिएका छन् ।

    काठमाडौंबाट एमालेले प्रदेशसभामा प्रत्यक्षतर्फ २० मध्ये १६ सिट जितेको थियो । तीमध्ये रमा आले मगर र वसन्त मानन्धर माधव नेपालको पार्टीमा केन्द्रीय सदस्य बनेका छन् ।

  • एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन

    एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने भएको छ । केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।

    बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको जानकारी दिए ।

    महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहेका छन् ।

    यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदले सहजीकरण गर्ने बताए ।

    हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको हो ।

    बैठकमा केन्द्रीय सदस्य तथा युवासंघ इन्चार्ज महेश बस्नेत लगायत केही नेताले १० बुँदे सहमति माधव नेपाल समूह छाडेर फर्किनेहरुको हकमा प्रभावकारी ढंगले लागु गर्नुपर्ने बताएका थिए ।
    तर यसअघि केपी ओली पक्षमै रहेका अध्यक्ष वा पदाधिकारीहरुको ठाउँमा समस्या नहुने उनीहरुको भनाइ थियो ।

    उदाहरण दिदै उनले युवा संघमा रमेश पौडेल विदा भएर किरण पौडेल आइसकेको र अनेरास्ववियुमा नविना लामा विदा भएर ऐन महर आइसक्दा एकै टिमका व्यक्ति भएकाले त्यहाँ समस्या नहुने बताएका थिए ।

    तर विगतमा जनसंगठनको अध्यक्ष रहेका तर माधव प्रचण्ड माधव पक्षमा लागेपछि अर्को व्यक्ति बनेको ठाउँमा भने माधव पक्ष छाडेर आउनेहरुलाई यथावत जिम्मेवारी दिने विषय उठेको छ । माओवादीबाट एमालेमा समाहित भएकाहरुको हकमा भने जिम्मेवार यथावत हुने भएको छ ।

  • निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

    निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

    १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

    बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।