Tag: नेकपा एमाले

  • एमालेको विधानबाट वरिष्ठ नेता पद पनि हटाइयो, ५ उपाध्यक्ष रहने

    एमालेको विधानबाट वरिष्ठ नेता पद पनि हटाइयो, ५ उपाध्यक्ष रहने

    काठमाडौं । नेकपा एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको थियो ।

    अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ ।

    यसअघि आयोगमा अध्यक्ष र सचिवमात्र हुने व्यवस्था थियो । एमालेमा अहिले पूर्व पार्टी प्रमुखहरू कोही पनि नरहेकाले वरिष्ठ नेता पद नराखिएको हो ।

    यो पनि पढ्नुहोस् :

  • एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २२५ सदस्यीय केन्द्रीय कमिटी

    एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २२५ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं । नेकपा एमालेले उपमहासचिव पद खारेज गरी ५ उपाध्यक्ष रहने प्रस्ताव विधान महाधिवेशनमा लगेको छ ।

    विधान महाधिवेशनमा पेस भएको अन्तिम मस्यौदामा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ६जना सचिव र २२५ जना केन्द्रीय सदस्य रहने प्रस्ताव छ ।

    यसअघि तीन उपाध्यक्ष र २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।

  • कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतसँगै सुरू भयो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

    कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतसँगै सुरू भयो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । एमालेका पछिल्ला कार्यक्रममा यो गीत बज्न छाडेकामा महाधिवेशनबाट फेरि सो गीतबाट सुरूआत गरिएको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गर्दै महाधिवेशनको उद्घाटन गरे ।

    विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि भेला भएका छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आजै अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।

    शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरू पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    एमालेले पहिलोपटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

    विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

    ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ ।

    अध्यक्ष मण्डलमा रहेकाहरूको नामावली यसप्रकार छ:-

    केपी शर्मा ओली- संयोजक

    युवराज ज्ञवाली- सदस्य

    अष्टलक्ष्मी शाक्य- सदस्य

    रामबहादुर थापा- सदस्य

    सुवासचन्द्र नेम्वाङ – सदस्य

    सत्यनारायण मण्डल – सदस्य

    छविलाल विश्वकर्मा – सदस्य

  • नेकपा एमालेको प्रथम विधान महाधिवेशन

    नेकपा एमालेको प्रथम विधान महाधिवेशन

    ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ । महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । एमालेका पछिल्ला कार्यक्रममा यो गीत बज्न छाडेकामा महाधिवेशनबाट फेरि सो गीतबाट सुरूआत गरिएको हो ।

  • गोदावरीमा ८ हजार एमालेलाई ‘ए वान’ को दिवा भोज (तस्बिर/भिडिओ)

    गोदावरीमा ८ हजार एमालेलाई ‘ए वान’ को दिवा भोज (तस्बिर/भिडिओ)

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन पुगेका प्रतिनिधिहरुलाई होटल ए वान प्यालेसले खानाको व्यवस्था गरेको छ । प्रतिस्पर्धाको आधारमा ए वानले एमालेका प्रतिनिधिलाई खाना खुवाउने जिम्मेवारी पाएको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

    विहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय भएकाले २६ वटा काउन्टरबाट व्यवस्थित ढंगले खानाको व्यवस्थापन भएको ए वानका सञ्चालक राकेश श्रेष्ठले नेपाल प्रेसलाई बताए । त्यसका लागि ३ सय जना कर्मचारी खटिएको उनले जानकारी दिए ।

    दिउँसो एक छाक खाना खुवाउने जिम्मा पाएको ए वानले दालभात, तरकारी, खसी र कुखुराको मासुलगायतका व्यञ्जनको व्यवस्था गरेको छ ।

    स्वस्थ र सफा खाना खुवाउने चेन पार्टी प्यालेस तथा होटलका रुपमा स्थापित ए वानका काठमाडौं उपत्यकामा मात्र २० वटा शाखा रहेको उनले बताए ।

    ए वान होटल,ए वान पार्टी प्यालेस र ए वान रेष्टुरेन्ट सन्चालन गर्ने टिममा रामेछापका युवा व्यवसायी छन् । २ घण्टाभित्र खाना खुवाइ सक्ने गरी ८ हजार जनासम्मलाई पुग्ने परिकार तयार पारिएको श्रेष्ठले बताए ।

  • एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

    एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको विधान महािधवेशनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन् ।

    महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् ।

    ठूलो संख्यामा सहभागी भएकाले कुनै अवान्छित व्यक्तिहरूबाट अप्रिय घटना नहुन् भनेर सुरक्षा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

    तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

    गोदवारी । नेकपा एमालेको प्रथम विधान महाधिवेशनका प्रतिनिधिहरु गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।

    मध्यान्ह १२ बजेपछि उद्घाटन हुने विधान महाधिवेशनका प्रतिनिधिलाई बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय दिइएकाले बिहानै ७ बजेदेखि नै प्रतिनिधिहरु गोदावरी पुगेका हुन् ।

    ६ हजार प्रतिनिधिहरुका लागि गोदवारीमा व्यवस्था गरिएको छ । देशभरबाट आएका प्रतिनिधिहरू गोदावरीमा भेला हुँदैछन् ।

    
    
     
  • एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

    एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

    काठमाडौं । विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

    आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन भएको जानकारी केन्द्रीय कार्यालयलाई गराइएको अध्यक्ष पोखरेलले बताए ।

    विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् । प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् ।

    यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो ।

    शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ ।

    हेर्नुहोस् वागमती प्रदेश कमिटीको सूची :-

  • एमाले विधान अधिवेशनको तयारी सकियो, यसरी हुनेछ व्यवस्थापन (कार्यसूचीसहित)

    एमाले विधान अधिवेशनको तयारी सकियो, यसरी हुनेछ व्यवस्थापन (कार्यसूचीसहित)

    काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन भोलिदेखि सुरू हुँदैछ । महाधिवेशनको ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

    महाधिवेशन तयारीबारे विहीबार मूल व्यवस्थापन समितिले गरेको पत्रकार सम्मेलनमा व्यवस्थापन र कार्यक्रमबारे जानकारी दिइएको छ । जस अनुसार उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

    महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

    अन्य व्यवस्थापन

    महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ।

    मंचमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन गरिएको छ । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरु रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

    हलको दायाँ वायाँका प्यासेजहरुको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १-१ हजार क्षमताका हल निर्माण गरिएको छ । समूह गत छलफलका लागि पनि व्यवस्थित स्थानहरु तय गरिएको बताइएको छ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको बताइएको छ ।

    महाधिवेशन अवधिभर हरेक दिन विहान ९ देखि ११ वजेसम्म खानाको समय छुट्याइएको छ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

    निजी साधन नभएका प्रतिनिधि कमरेडहरुको लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरुको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासंभव व्यवस्थापन गरिएको बताइएको छ।

    महाधिवेशन सम्पन्न गर्नको निम्ति अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको बताइएको छ।

    कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको बताइएको छ। मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध आवश्यक नपर्ने र मिडिया सेन्टरबाट टिभी क्यामेराले लाईभ गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ।

  • संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

    संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

    काठमाडौं । सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

    बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दुःखद रहेको बताए । ‘यसअघि सभामुखले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष आएन । आज प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा पनि एमाले अनुपस्थित रह्यो ।

    यसबाट एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । आजको बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने धारणा व्यक्त भएको छ’, कार्कीले पत्रकारहरूसँग भने ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएका थिए । ‘उहाँहरू आज आउनुभएन तर पनि म कुरा गर्छु । एमालेसँग निरन्तर छलफल गरेर निकास खोज्छौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै कार्कीले भने ।

    राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिका लागि अग्रसरता लिन प्रधानमन्त्रीले अग्रसरता लिनुपर्यो भनी आग्रह गरेकैले बैठक बोलाइएको पनि कार्कीले जानकारी दिए ।

    आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।

  • काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

    काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईँसहित काठमाडौं महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायतको समूह विहीबार एमालेमा प्रवेश गरेको छ ।

    एमाले काठमाडौंले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौंका ५५ जना माओवादी नेता कार्यकर्ता प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले बताए ।

    नवप्रवेशीलाई एमालेका वागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारी, अरुण नेपाल, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सचिव खेम लोहनी, काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलालगायतले स्वागत गरेका थिए ।

    अमगाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष उम्मेदवार थिए । उनीसहित अन्य चारजना वडा सदस्यका उम्मेदवार पनि एमाले प्रवेश गरेका छन् ।

    अमगाईँले केपी ओलीको नेतृत्वमा मात्र मुलुक समृद्ध हुने देखेर आफूसहितको टोली एमालेमा लागेको बताए । उनीसहित महानगर सदस्य विमला थापा मगर, गोमा बराल, देवेन्द्र परियार, निर्मला परियार, विन्दा रखाललगायत ५५ जना एमाले प्रवेश गरेका हुन् ।

  • एमालेले छान्यो काठमाडौंबाट विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)

    एमालेले छान्यो काठमाडौंबाट विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम टुंगो लगाएको छ । बुधबार बसेको जिल्ला कमिटी बैठकले पार्टीले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित २० जना र दलित प्रतिनिधित्व समेत तोकेर टुंगो गलाएको सचिव दिपक निरौलाले बताए ।

    काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठसमेत उपस्थित भएको बैठकले विधान महाधिवेशनका प्रतिनिधि छनौट गरेको निरौलाले बताए ।

    अध्यक्ष कृष्ण राई र सचिव दीपक निरौलासहितका पदाधिकारी स्वतः विधान महाधिवेशनका प्रतिनिधि हुन्छन् । असोज २० गते जिल्ला कमिटी बैठक बोलाउने र २२ गते सबै कमिटीका पदाधिकारीको प्रशिक्षण भेला हुने उनाले बताए ।

    बैठकले सचिव निरौलाको संयोजकत्वमा पार्टी सम्पर्कमा नरहेका र नेकपा एसमा सनाखत गरेपछि निष्क्रिय रहेका जनप्रतिनिधिहरूसँग छलफल गरेर उनीहरुको भूमिका प्रष्ट पार्न कार्यदल गठन गरेको छ ।

    कार्यदलमा मणिराम फुयाल,तेज ढकाल, रामेश्वर बोहरा र केशरत्न बज्राचार्य रहेका छन् । सो कार्यदलले असोज २० गतेभत्रि प्रतिवेदन बुझाउनेछ ।

    एमालेको विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने १० वटा निर्वाचन क्षेत्रका प्रतिनिधि क्षेत्र नम्बर १ देखि १० सम्म क्रमशः यस प्रकार छन् ।

    १. धन ब. अछामी

    २. श्रृजन शर्मा

    ३. विश्वराज श्रेष्ठ

    ४. तेज ढकाल

    ५. मोहन विष्ट

    ६. विश्वनाथ लामिछाने

    ७. विश्वराम सापकोटा

    ८. नीमा ध्याम्चो लामा

    ९. अनन्त सिग्देल

    १०. जनक रिजाल

    महिला

    १. विष्णु भुसाल

    २. हिरादेवी पोखरेल

    ३. तारा पुडासैनी

    ४. अन्जु शर्मा

    ५. अनिता लामा

    ६. विन्दा बुढाथोकी

    ७. गिता थिङ

    ८. विजयलक्ष्मि शाही

    ९. रति जोशी

    १०.विन्दु महर्जन

     

    उत्पिडित समुदाय

     संगम गहतराज

  • एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, माओवादी छाडेकाहरू समेटिए (सूचीसहित)

    एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, माओवादी छाडेकाहरू समेटिए (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर १ को संगठन कमिटीलाई पूर्णता दिएको छ । पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाहरूलाई हटाएर, माधव नेपाल छाडेर एमालेमै बसेकाहरूलाई समेटेर ५८४ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।

    प्रदेश कमिटीको अध्यक्षमा देवराज घिमिरे छन् भने सचिवमा विनोद ढकाल छन् । १० बुँदे सहमतिबमोजिम तलका कमिटीहरूलाई जेठ २ अघिकै अवस्थामा फर्काएर प्रदेश कमिटीलाई पूर्णता दिइएको सचिव ढकालले बताए ।

    माओवादीबाट एकता प्रक्रियामा एमालेमा रहेका विभिन्न जिल्लाका नेताहरूलाई प्रदेश कमिटीमा समेटिएको छ । ओखलढुंगाका बालकृष्ण ढुंगेल, सुरेश थापा, केशव ढुंगेललगायत पूर्वमाओवादी नेताहरू एमालेको प्रदेश कमिटीमा समेटिएका छन् । नेकपा एकता बदर भएपछि माओवादीबाट एमालेमै बसेका ताप्लेजुङका पूर्व सभासद सञ्चपाल मादेन,पाँचथरका पूर्व सांसद श्रीप्रसाद जगेबुसहितका नेता पनि प्रदेश कमिटीमा समेटिएका छन् ।

    विधान महाधिवेशशनमा प्रदेश कमिटीका सबै सदस्यहरू सहभागी हुने भएकाले पूर्णता दिइएको हो ।

    एमालेको प्रदेश १ कमिटीको सूची यसप्रकार छ:-

  • एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी साहायता परियोजना एमसिसी सम्झौता गर्नेहरू सरकारमै रहेको भन्दै यसबारे नबोलेकोमा आफूले प्रश्न उठाएको बताएका छन् ।

    ‘गठबन्धनका नाइके सरकारमा छन्,’ मंगलबार सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘ एउटा प्रधानमन्त्री छन्, अर्को ‘किङमेकर’(प्रचण्ड) छन् । यस्तो व्यक्ति भएको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी उल्लेख भएन । नआएपछि त्यो कुरा सम्झाएको हुँ ।’

    ओलीले सरकारले यसमा दृष्टिकोण अघि नसारेकाले आफूहरू मात्रै बोल्नुको औचित्य नहुने बताए । ‘जब सरकारले नै यसमा रुची राखेको छैन भने यस सम्बन्धमा मैले के भनिराख्नुपर्‍यो र ,’ उनले भने, ‘सरकारको दृष्टिकोण नै थाहा नपाइकन ताप्केभन्दा बिँड ताप्ने भन्छन् नि, हामी उफ्रेर के हुन्छ ?’

  • सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा फेरि एकपटक आदरार्थी शब्दबारे बहस भएको छ । एक सम्पादकले यो प्रसंग निकालेपछि ओलीले कडा जवाफ फर्काए ।

    ती सम्पादकले सञ्चारमाध्यमहरूले राष्ट्रपतिदेखि सर्वसाधारण सबैलाई एउटै भाषा प्रयोग गर्ने गरेको तर ओलीले बारम्बार गुनासो गरको भन्दै असन्तुष्टी जनाएका थिए । अबका १५ महिना यस्तो गुनासो सुन्नु नपर्ने भन्दै उनले सन्तोष व्यक्त गरेका थिए ।

    उनलाई बीचमा रोक्दै ओलीले प्रश्न गरे, ‘तपाईं आफ्नो बाआमालाई पनि तिमी भन्नुहुन्छ ?’

    सम्पादकले एउटा गीतको पंति भन्दै ‘तिमी’ भन्दा फरक नपर्ने बताए ।

    त्यसपछि ओलीले भने, ‘त्यो त गीतमा न हो । गीतमा त भगवानलाई पनि तँ भनिन्छ ।’

    उनले मुनामदनको ‘ईश्वर तैले रचेर फेरि..’ गीत सम्झाएका थिए । गीत र साहित्यमा तिमी, तँ जे भने पनि सञ्चारमाध्यमको भाषा आदरार्थी हुनुपर्ने उनको भनाइ छ ।

    यस विषयमा आफ्नो व्यक्तिगत गुनासो नभएको तर भाषिक समृद्धिको चिन्ता भएको उनले बताए ।

    ओलीले भने, ‘तपाईंहरूले भेदभावपूर्ण भाषा प्रयोग गर्नुभयो भनेको होइन । तिमी, तपाईं भन्ने, आदरभाव व्यक्त गर्ने, यो हाम्रो भाषिक समृद्धि हो । हाम्रो भाषा तिमी, तपाईं, हजुरमा व्यक्त हुन्छ । कसैले बोलाउँदा हामी ‘हजुर’भन्ने जवाफ दिन्छौं । हामी अरुको मात्रै सिको नगरौं ।’

    उनले थपे, ‘मलाई तिमी भनेको भनेर गुनासो गरेको होइन । मलाई त तिमी होइन तँ भने पनि हुन्छ ।’

  • सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ

    सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ

    काठमाडौं । एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न गठित कार्यदलको जिम्मेवारी भीम रावललाई दिएपछि मंगलबार पहिलो बैठक बस्यो ।

    १० बुँदे कार्यान्वयन समान रूपले नभइरहेको भनेर असन्तुष्ट रहेका रावललाई नै हिजो बसेको स्थायी कमिटी बैठकले संयोजकको जिम्मेवारी दिएपछि कार्यदल सक्रिय भएको छ ।

    पार्टी कार्यालयमा बसेको कार्यदलको पहिलो बैठकमा १० बुँदे कार्यान्वयन र विधान महाधिवेशनमा प्रतिनिधि चयन गर्नेबारे उब्जिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको रावलले जानकारी दिए ।

    ‘कार्यदलको बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवशेनमा प्रतिनिधित्वको विषयमा जहाँ समस्या उत्पन्न भएका छन्, त्यसबारेमा हामीले छलफल गर्‍यौं,’ रावलले भने ‘त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूका बारेमा छलफल गरेका छौं ।’

    १० बुँदे कार्यान्वयन र सुदूरपश्चिम इन्चार्जबारे भने रावलले कूटनीतिक जवाफ दिए । ‘१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ,’ उनले भने, ‘जहाँ कार्यान्वयन हुन सकिरहेको छैन्, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने सहमति भएको छ।’

    आफैं १० बुँदे कार्यान्वयनको जिम्मेवारी पाएका रावलले सुदूरपश्चिम इन्चार्जबारे नरम हुँदै भने, ‘त्यो विषय १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउँछ ।’

    कार्यदलमै रहेका र रावलसँग विवाद गरिरहेका लेखराज भट्टले तीन पक्षलाई ख्याल गरेर जानेबारे कुरा भइरहेको बताए । उनले भने, ‘तीनटा पक्षलाई ध्यानमा राखेर जेठ २, जेठ ३ र क्रियाशील साथीहरू जो पछिल्लो चरणमा काम गरिरहेका छन्, सबैलाई समेटेर लिने नै भन्ने भएको छ ।’

    सुदूपश्चिम इन्चार्ज को हो भन्ने पत्रकारहरुको प्रश्नमा हाँस्दै भट्टले जवाफ फर्काए- ‘सुदूरपश्चिमको इन्चार्ज त मै हुँ नि ।’

    कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट छन्।

     

  • सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे ।

    ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिएका थिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

    ओलीले भने, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

    त्यसपछि उनले थपे, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकूलता ठानेको छ । जसले गर्दा सरकारले गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’

  • एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने

    एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने

    काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

    स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको थियो । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।

    यही कार्यदलले केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्ने बताइएको छ । कार्यदलले १० बुँदेको रचनात्मक कार्यान्वयन गर्दै नेकपा एकता प्रक्रियाबाट एमालेमै रहेका पूर्वमाओवादी पक्षको समायोजनसमेत गर्नेछ ।

    माधव नेपालले नेकपा एमाले विभाजन गर्दा नेकपा एसमा लागेका केन्द्रीय सदस्य तथा त्यसअघि रिक्त रहेका समेत ठाउँमा नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि सूची तय गर्न कार्यदलले म्याण्डेट पाएको छ ।

    विशेषगरी सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टी जनाएका थिए । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

  • भीम र लेखराजजीहरूको समझदारीमा सुदूरपश्चिम नेतृत्व मिल्छ : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

    भीम र लेखराजजीहरूको समझदारीमा सुदूरपश्चिम नेतृत्व मिल्छ : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले १० बुँदे सहमति ९० प्रतिशत कार्यान्वयन भइसकेको बताएका छन् । उनले बाँकी विधान महाधिवेशनअघि नै टुंगिने दावी गरे ।

    ‘१० बुँदेको कुरा ९० प्रतिशत समाधान भइसक्यो,’ च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘जेठ २ मा फर्किनलाई एक/दुई जिल्लामात्रै बाँकी छ । त्यहाँ पनि हाम्रो कार्यदलले काम गरिरहेको छ । विधान महाधिवेशनअघि नै यो समाधान हुन्छ।’

    सुदूरपश्चिम प्रदेशमा पनि जिल्लाको कुरा टुंगिसकेको र इन्चार्जको कुरा कार्यदलको पहलमा पार्टी अध्यक्षले टुंग्याउने उनले बताए ।

    ‘सुदूरपश्चिममा पनि जिल्लाहरूमा सबैतिर समस्या समाधान भइसक्यो,’ गुरुङले भने,‘भीम रावल र लेखराज भट्टजीहरूबीच समझदारी कायम गरेर मिलाउने प्रयास भइरहेको छ । उच्चस्तीय कार्यदलको पहलमा अध्यक्षले टुंगाउनुहुन्छ ।’

  • अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो बनाउँदा कुन श्रमजिवी जनताको हित हुन्छ ? (भिडिओ)

    अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो बनाउँदा कुन श्रमजिवी जनताको हित हुन्छ ? (भिडिओ)

    काठमाडौं । जलविद्युतलगायत विभिन्न परियोजनामा लगानी गर्नेको सम्पत्तिको स्रोत २०८२ सालसम्म नखोजिने भन्ने बजेट विधेयकमा पेस भएको प्रावधानप्रति प्रमुख विपक्षी नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ ।

    राष्ट्रियसभाको सोमबारको बैठकको शुरूमै उठेर एमाले सांसद परशुराम मेघी गुरुङले सदनको कारवाही अघि नबढाउन अध्यक्षलाई आग्रह गर्दै एमालेको विरोधको अर्को कारण कालो धनलाई सेतो बनाउन मार्ग प्रशस्त गर्ने सरकारको प्रयासप्रति पनि रहेको बताए ।

    गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्दै भने- अर्थमन्त्रीजी बडो क्रानितकारी नेता हुनुहुन्छ । उहाँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउनलाई हो ? कुन श्रमजिवी जनतालाई सहुलियत दिन उहाँले यस्तो प्रवधान राख्नुभएको हो ? श्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिने व्यवस्थातले कुन राष्ट्रिय पुँजिपतिलाई सहुलियत हुन्छ ?

    संविधानले पनि गैरकानूनी आर्जनलाई सम्पत्तिको रूपमा नचिन्ने भन्दै एमाले सांसद गुरुङले केही व्यक्तिको गैरकानूनी आर्जनलाई वैधानिकता दिन यस्तो प्रावधान राखिएको आरोप लगाए ।

  • एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने

    एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा सातजना उपाध्यक्ष राख्नेबारे स्थायी कमिटीमा थप छलफल हुने भएको छ ।

    केन्द्रीय सदस्यहरूले दिएको सुझावबारे अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक सुझावलाई ग्रहण गरिने जवाफ दिएका छन् ।
    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले तीनको ठाउँमा सात उपाध्यक्ष राख्नेबारे आएका सुझावलाई आउने स्थायी कमिटी बैठकमा राखेर थप छलफल गरिने बताए ।

    एमालेको प्रस्तावित विधान मस्यौदामा ३ उपाध्यक्ष राखिएको छ । तर, बैठकमा नेताहरूको व्यवस्थापनलाई समेत ध्यान दिँदै ७ उपाध्यक्ष राख्न सुझाव आए पनि यसबारे निर्णय नभएको उनले जानकारी दिए ।

  • एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि, कहाँबाट कति ?(भिडिओ)

    एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि, कहाँबाट कति ?(भिडिओ)

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने जानकारी दिए । विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन् ।

    केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च पर्छन् । त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए ।

    जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्यले सहभागी हुने भट्टराईले बताए ।

    यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने भट्टराईले बताए ।

  • जबज र समाजवादमा जाने बाटोबारे एमाले बैठकमा अध्यक्ष ओलीलाई घनश्यामको प्रश्न-(भिडिओ)

    जबज र समाजवादमा जाने बाटोबारे एमाले बैठकमा अध्यक्ष ओलीलाई घनश्यामको प्रश्न-(भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले समाजवादमा जाने आधार र जनताको बहुदलीय जनवादको आधिकारिक परिभाषा हुनुपर्ने बताएका छन् ।

    केन्द्रीय कमिटी बैठकमा आफूले राखेका फरक विचारबारे जानकारी दिँदै भुसालले समाजवादमा जाने आधार के हुन् भन्ने बारेमा अध्यक्ष केपी शर्मा ओलीको दस्तावेजमा प्रष्ट नआएकाले यसबारेमा आफूले ध्यानाकर्षण गराएको बताए ।

    पत्रकारसँग कुरा गर्दै भुसालले भने, ‘दस्तावेजमा धेरै राम्रा र आवश्यक कुराहरू आएका छन् तर केही आधारभूत कुराहरू नपुगेका छन् भन्ने मेरो भनाइ हो । कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको छ,यसमा हाम्रा के कति कमजोरी रहे त्यसबारेमा दुनियाका सामु नलुकाइ भन्नुपर्छ । त्यस्तै समाजवादको बाटो के हो भन्ने पनि प्रष्ट हुनुपर्छ ।’

    भुसालले एमालेले अवलम्बन गरिरहेको जनताको बहुदलीय जनवाद दृष्टिविहीनले हात्ती छामेजस्तो भएको भन्दै यसको ठोस र आधिकारिक परिभाषा पार्टीले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।

  • एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना

    एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने भएको छ । यसअघि ३ हजार प्रतिनिधि रहने भनिएकामा अब त्यो संख्या घट्ने भएको हो ।

    केन्द्रीय कमिटीको जारी बैठकमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राखेकामा त्यसमाथि छलफल भइरहेको छ ।

    एक केन्द्रीय सदस्यका अनुसार प्रदेशबाट प्रतिनिधि घटाउनेबारे छलफल भए पनि यथावत नै हुने भएको छ ।

    त्यस्तै जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुनेगरी प्रस्ताव अघि बढेको छ ।

    अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व घटाइने भएको छ ।

  • माधव नेपाललाई ओलीको जवाफ- एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै

    माधव नेपाललाई ओलीको जवाफ- एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताएका छन् । क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उनले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।

    पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको बताए । ‘हामीले देश र जनतापक्षमा धेरै असाधारण कामहरू गरेका छौं, चुनावमा कसरी भोट माग्ने होला भन्ने अवस्था छैन,’ ओलीले भने, ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’ एमालेलाई सरकारबाट हटाइए पनि पार्टीलाई ठूलो नोक्सान नभएको उनले बताए ।

    ‘अहिले एकछिन कुनै कारणले धक्का खायौं, सेटब्याक भयो तर हामीलाई खासै नोक्सान भएन । सम्हालिएर अघि बढ्यौं । फेरि पनि सम्हालिएरै अघि बढ्नेछौं,’ ओलीले भने । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अभिव्यक्तिलाई पनि ओलीले जवाफ दिए ।

    ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ ओलीले भने ।

  • एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफलको सुझावमाथि नेतृत्वले जवाफ दिँदै

    एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफलको सुझावमाथि नेतृत्वले जवाफ दिँदै

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । केन्द्रीय कमिटीअघि स्थायी समिति बसेको थियो ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेतृत्वले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिन थालेका छन् ।

    बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि उठेको सवालबारे उपमहासचिव विष्णु पौडेलले जवाफ दिइरहेका छन् ।

    एमालेले प्रस्तावमाथि गर्न १० समूह बनाएको थियो । पौडेलपछि राजनीतिक प्रतिवेदनमाथिको सवालबारे अध्यक्ष केपी शर्मा ओली र सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यसूची छ ।

  • एमाले स्थायी समिति बैठक जारी, समूहगत सुझाव र १० बुँदेमा उठेका विषयमाथि छलफल

    एमाले स्थायी समिति बैठक जारी, समूहगत सुझाव र १० बुँदेमा उठेका विषयमाथि छलफल

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बसिरहेको छ । स्थायी कमिटीमा समूहगत छलफलबाट आएको सुझावले प्रवेश पाएको छ ।

    त्यस्तै भीम रावललगायतका नेताले उठाएको १० बुँदे कार्यान्वयनलगायतका विषय पनि स्थायी कमिटीको एजेण्डा छ ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ ।

    शुक्रबारदेखि जारी बैठकको ती प्रस्तावमा छलफल गर्न बनाएको १० समूहको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने छन् ।

    शनिबार समूहगत सुझाव पेस गर्ने काममात्रै भएकाले अध्यक्ष केपी शर्मा ओलीलगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो ।

  • एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ।

    दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

    १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो। सबै समूहको निष्कर्ष नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश र्इन्चार्जको भूमिका दिनुपर्ने रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

    हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ।

    अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ।

    हाइप्रोफाइल नेता भएकाले उनीहरु महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरुको सुझाव छ।

    विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

    त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

    विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो। यो बनाउँदा बनाउँदा अध्यक्षको तजबिज चल्ने र स्थायी कमिटी अर्थहीन हुने चिन्ता कतिपयको थियो।

    यसअघि नेकपामा पनि सचिवालयको अभ्यास गरिएको थियो।

  • एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    गौर। पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताएका छन् ।

    रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन साहले संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे ।

    ‘देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । देशलाई अग्रगमनको बाटोमा डोर्‍याउने उद्देश्य बोकेका क्रान्तिकारीहरूबीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण गर्नुपर्छ’, साहले भने ।

    यथास्थितिमा बसेर देशलाई सही निकास दिन नसकिने भन्दै उनले नयाँ ध्रुवीकरणमा जोडिन क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरे ।

    देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गइरहेको दावी गर्दै साहले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको जिकिर गरे । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरू निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण भन्दै साहले कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेको र यसको कुनै अर्थ नरहेको बताए ।

    ‘देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारीहरुको ध्रुवीकरण जरुरी छ । र छिटै क्रान्तिकारीहरुको एकीकृत शक्ति निर्माण हुँदैछ’, उनले भने ।

  • देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

    शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

    उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए ।

    तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए ।

    आफूले बैठकमा राखेको भनाइबारे झपट रावलले बाहिर संवाददाताहरुलाई जानकारी गराए । ‘भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठक एकताको पहिलो बैठक हो,’ आफूले बैठकमा राखेका भनाइबारे उनले भने, ‘त्यो १० बुँदे सहमति कार्यान्वनयको बैठक पनि थियो । त्यसपछि १३ गते अन्तर पार्टी निर्देशन समेत जारी गरेको थियो ।’

    रावलले थपे, ‘यसलाई व्यवहार नउतारिएको हुनाले यसको बारेमा के हो ? नेतृत्व तहका बीचमा यसबारेमा एक रुपता नभएको हुनाले यसबारे प्रष्ट पारियोस्, त्यसपछि अन्य विषयमा छलफल गरौं भनेर मैले पार्टी अध्यक्षसँग माग गरेँ ।’

    अध्यक्षले दिएको जवाफबारे जानकारी गराउँदै उनले भने, ‘पार्टी अध्यक्षले यसलगत्तै स्थायी कमिटी बैठक बस्नेछौं र त्यहाँ छलफल गर्नेछौं भनेर भन्नु भएको छ।’

     

  • एमालेमा ३ उपाध्यक्ष: कसरी होला ६ जना हाइप्रोफाइल नेताको व्यवस्थापन ?

    एमालेमा ३ उपाध्यक्ष: कसरी होला ६ जना हाइप्रोफाइल नेताको व्यवस्थापन ?

    काठमाडौं । नेकपा (एमाले) को आसन्न विधान महाधिवेशनमा पेस हुन लागेको विधान संशोधन मस्यौदामा उल्लेखित केही प्रावधान नेताहरूका लागि सकस बन्ने देखिएको छ।

    विशेषगरी दुई विषयले नेतृत्वको आकांक्षी नेताहरूलाई अप्ठ्यारो पार्ने देखिएको छ । ७० वर्षीय उमेर हद र ३ जनामात्रै उपाध्यक्ष रहने व्यवस्थाले नेताहरूका लागि चुनौती बन्नेछ ।

    विधानको प्रस्तावित मस्यौदामा अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी व्यवस्था गरिएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा अध्यक्ष दोहोरिने औपचारिक घोषणा गरिसकेका छैनन् । तर, उनीनिकट नेताहरूले ओली दोहोरिने बताइरहेका छन् । नेपाल प्रेससँगको हालैको अन्तर्वार्तामा शंकर पोखरेलले आउने एउटा चुनाव र महाधिवेशन एमाले केपी ओलीकै नेतृत्वमा जाने बताएका थिए।

    र, ७० वर्षे उमेर हदले पनि उनलाई अझै एकपटक अध्यक्ष हुन रोक्दैन । किनकी उमेरको हिसाबले पनि उनी फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मंसिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद पनि लाग्दैन ।

    विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ । एमालेमा हाल रहेका शीर्ष नेतामध्ये ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन् ।

    अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई असर पर्ने छ ।

    उनीहरू अब एक कार्यकालमात्र कार्यकारी कमिटीमा रहन पाउँछन् । अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य नै पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो । तर, अप्ठ्यारो के छ भने केपी ओली अघि सरेको अवस्थामा उनीहरू अध्यक्ष हुने सम्भावना छैन ।

    यस्तोमा उनीहरूको व्यवस्थापन हुने भनेको उपाध्यक्षमै हो । अध्यक्ष बन्न नपाएकोमा सन्तुष्ट रहे पनि उनीहरूलाई सकसमा पार्ने अर्को विषय पनि छ । त्यो हो तीनजना मात्रै उपाध्यक्ष रहने व्यवस्था ।

    अधिकांश हाईप्रोफाइल नेता भएकाले उनीहरू महासचिवभन्दा तल बस्ने देखिन्न । महासचिवमा १ र उपाध्यक्षमा ३ जना गरी ४ जनाको व्यवस्थापन भए पनि ६ नेतामध्ये अरुको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न हो ।

    ३ उपाध्यक्षमात्रै रहने व्यवस्था विधान अधिवेशनले पनि अनुमोदन गरे माथि उल्लेखितमध्ये तीन नेता बाहिरिनुपर्ने छ । उनीहरू उपमहासचिव र सचिवमा बस्ने अवस्था पनि रहँदैन ।

    विधान संशोधन गरी नेकपा (एकीकृत समाजवादी) मा जस्तै धेरै उपाध्यक्ष राखेको खण्डमा भने नेता व्यवस्थापनको सकस हट्ने छ । अन्यथा उनीहरू पदाधिकारी नपाउँदा पनि चित्त बुझाएर पार्टीमै बस्नुपर्ने छ र ११ औं महाधिवेशनमा अध्यक्ष ओलीसँगै पार्टीबाट बाहिरिनुपर्ने छ ।

    एमाले केन्द्रीय कमिटी बैठकमा ७ उपाध्यक्ष राखेर प्रादेशिक इन्चार्जको जिम्मा दिँदा नेताहरूको व्यवस्थापन पनि हुने र सिनियर नेता कसैले बाहिरिन नपर्ने विषय पनि प्रवेश भएको छ ।

  • विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेले बनायो १० समूह

    विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेले बनायो १० समूह

    काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल समूह बनाएको छ । शुक्रबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव छलफल गर्न समिति बनाइएको हो ।

    सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

    ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

    त्यस्तै महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। भोलि बिहान ११ बजे पुनः बैठक बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिनेछ।

    दशवटै समूहले आ आफ्ना टोली नेता छानेर छलफल गर्ने र शनिवारको बैठकमा सुझाव पेश गरिने अर्का केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए ।

    एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

  • बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    काठमाडौं । प्रभु साहको पार्टीगत हैसियत अहिले के हो ? उनी आइटी आर्मीको ब्यानरमा आफूलाई पूर्वमन्त्रीका रूपमा विभिन्न कार्यक्रमहरूमा उपस्थित गराइरहेका छन् ।

    तत्कालीन नेकपाका केन्द्रीय सदस्य साह पुस ५ को नेकपा विभाजनपछि केही दिन प्रचण्ड-माधव समूहमा थिए । त्यसपछि केपी ओली पक्षमा लागेर शहरी विकास मन्त्रीसमेत भएका साह सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए ।

    उनले विभिन्न मञ्चबाट प्रचण्डको चर्को विरोध पनि गरिरहेका थिए । तर, पछिल्लो समय भने उनी न त एमालेका बैठकमा उपस्थित छन्, न एमालेका कार्यक्रममै देखिन्छन् ।

    त्यसो भए प्रभु साह अहिले कुन पार्टीका नेता हुन् ? साहले आफू नेकपाको निरन्तरता भएको पार्टी खोजेको भन्दै एमाले नेतृत्वसमक्ष आफ्ना ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले बताएका छन् ।

    साह पछिल्लो समय रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुसहितको पूर्वमाओवादी समूहको बैठकमा थिए । पूर्वमाओवादी समूहको तर्फबाट विभिन्न कमिटी र जनवर्गीय संगठनमा समावेश गर्ने सदस्यहरूको नाम तय गर्ने बैठक थियो त्यो ।

    यसबीचमा साहका मागका सम्बन्धमा महासचिव ईश्वर पोखरेल रहेको कार्यदलले पनि काम गरिरहेको एमालेले जनाएको छ । साहको हैसियत अहिले एमालेको केन्द्रीय सदस्य छ ।

    तर, उनले एमालेका स्थायी कमिटी सदस्य माग गरेका छन् । उनको मुख्य अन्तरविरोध भने प्रदेश २ मै देखिएको छ । नेकपाकालमा प्रदेश २ को अध्यक्ष रहेका साहलाई एमाले भएपछि भने सो जिम्मेवारीबाट हटाएर माओवादीबाट प्रमु साहसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ । प्रभु र ज्वालाको अन्तरविरोधमा अध्यक्ष ओलीले ज्वालालाई साथ दिएकोमा उनको चित्त बुझेको छैन ।

    जिल्ला कमिटी अध्यक्षहरू चयन गर्दा पनि ज्वालाले एकलौटी गरेको भन्दै प्रभु साहले अश्वीकार गरेका थिए । रौतहटमा राम्रो प्रभाव रहेका साह माओवादीबाट एमाले बनेका प्रतिनिधिसभाका चार पूर्वसांसदमध्ये सबैभन्दा बलियो जनाधार भएका नेता हुन् ।

    प्रभु साह निकट स्रोतले भने ज्वाला साहसँगको अन्तरविरोध अ‍ोलीले नै सिर्जना गरेको भन्दै नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको दावी गरेको छ ।
    साह निकट एक नेताले भने–एमाले नाम राख्ने तर नेकपाकै विधान र विचारलाई निरन्तरता दिने कुरामा मिलेन । प्रदेश २ कै सन्दर्भमा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति पनि लागु भएन । वैचारिक विमतिका कुराहरु छन्,पदको विवाद होइन ।
    ओलीले साहलाई स्थायी कमिटी सदस्य उतिबेलै प्रस्ताव गरेपनि समग्रमा पार्टी एकताको भावना अनुसार चल्नुपर्ने माग रहेको उनी निकटहरुले बताएका छन् । आइटी आर्मीकै सन्दर्भमा ओली नकारात्मक रहेको साहको आरोप छ ।

    उनी आजको अवस्थामा पनि चुनाव जित्ने हैसियत राख्छन् । अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् ।

    माओवादीमा हुँदा उनको लिगेसी बाबुराम भट्टराई हुँदै टोपबहादुर रायमाझीसँग थियो । आइटी आर्मीको उद्घाटनमा रायमाझी प्रमुख अतिथि थिए । प्रभु साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् ।

    उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग समेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।

    प्रभु साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । उनका कतिपय माग पूरा गर्न नसकिने भए पनि अरु विषय सम्बोधन हुने एमाले स्रोतले जनाएको छ ।

    तर, साह भने एमालेमा रहन नसकिने ठाउँमा पुगेको उनीनिकट नेताहरू बताउँछन् ।

    साहले राखेका माग यसप्रकार छन् :

     

     

  • तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

    बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिसकेका छन् ।

    बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरू पारित गर्नेछ ।

    अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।