Tag: नेकपा एमाले सांसद

  • ओलीको प्रशंसामा दुर्गा प्रसाईको भाषण: तपाईंको अनुहारमा लि क्वान यु र महाथिरलाई देख्छु

    ओलीको प्रशंसामा दुर्गा प्रसाईको भाषण: तपाईंको अनुहारमा लि क्वान यु र महाथिरलाई देख्छु

    काठमाडौं । माओवादी निकट व्यवसायीका रुपमा चिनिएका दुर्गा प्रसाईं आज औपचारिकरुपमा एमाले प्रवेश गरे । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘एमाले नेता’ का रूपमा पहिलो भाषण पनि गरे ।

    कार्यक्रममा लिखित भाषण पढेका प्रसाई माओवादीमाथि खनिएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको उच्च प्रशंसा गरे । प्रसाईंले भाषण गर्दा एमाले कार्यकर्ताले अनवरत ताली र हुटिङका साथ समर्थन गरेका थिए । भाषण उनले भाषण सकेपछि ‘दुर्गा प्रसाईं जिन्दावाद’ ‘बोली अलि पिरो हो, दुर्गा प्रसाई जिन्दावाद’ भन्दै नारावाजीसमेत भयो ।

    प्रसाईं मञ्चको अग्रपंतिमा एमाले नेताहरू सुभाष नेम्वाङ र लेखराज भट्टसँगै बसेका थिए । प्रसाईंले पार्टी अध्यक्ष ओली आफ्नो हजुरबा भनेर चिनाएका थिए । ओलीलाई उनले सिंगापुरका नेता लि क्वान यु र मलेलियाका नेता मोहम्मद महाथिरसँग तुलना गरे ।

    प्रसाईले भने, ‘ओली हजुरबालाई मैले नजिकबाट बुझ्ने मौका पाएँ । उहाँमा मैले सिंगापुरका नेता लि क्वान यु र मलेसियाका महाथिरको अनुहार देखिरहेको छु । मैले कुनै चाकडी गरेर भनिरहेको छैन ।’

    प्रसाईंले देशमा आफूजस्तै लाखौं जनता केपी ओलीका फ्यान रहेको बताए ।

    ‘एमालेको सदस्यता लिएका मात्र होइन कुनै राजनीतिक पार्टीमा आवद्ध नभएका लाखौं जनता तपाईंका फ्यान छन्, तपाईंले नाकाबन्दीका बेला लिएका चट्टानी अडान कसैले बिर्सेको छैन,’ उनले भने ।

    नेपाली जनता आगामी चुनावमा ओलीलाई जनादेश दिनका निम्ति व्यग्र प्रतिक्षामा बसिरहेको दावी प्रसाईंले गरे । देशलाई अगाडि बढाउनका लागि ओली नेतृत्वको विकल्प नै नरहेको उनको भनाइ थियो ।

    प्रसाईंले माओवादी नेतृत्वप्रति तिव्र आक्रमण गरे । माओवादीलाई माओको नाम बेच्ने अधिकार नभएको र कम्युनिष्ट भन्न पनि लाज लाग्नुपर्ने प्रसाईंको टिप्पणी थियो ।

    ‘के यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ? यहि दिन देख्नका लागि जनताले गोली खाएका हुन् ? देशलाई आखिर केका लागि २ सय वर्ष पछाडि धेकेलियो ?’ प्रसाईले प्रश्न गरे, ‘अब पनि उनीहरूसँग जवाफ मागेनौ भने हामी उनीहरूका दास मात्र हुनेछौं ।’

    प्रचण्ड र बाबुरामहरूले जनयुद्धको बलिदानीलाई देउवाको पैतालामा चढाएको आरोप पनि प्रसार्इंले लगाए ।

    ‘प्रचण्डले आफ्नै टाउकोको मोल तोक्ने शेरबहादुर देउवाको पैतालामुनि जनयुद्ध विसर्जन गरेका छन्,’ उनले भने । जण्डिस लाग्दा पनि उपचारका लागि परिवारसहित थाइल्यान्ड जाने माओवादी नेताहरूबाट देशको विकास र समृद्धि सम्भव नरहेको प्रसाईंको भनाइ थियो । आफू कुनै लोभ लालचमा परेर नभइ ओलीप्रतिको भरोसाका कारण एमालेमा प्रवेश गरेको उनले बताए ।

  • यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

    यी हुन् माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

    सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।

    प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

    प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

    कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको छ । कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार चारजनाले दिएका हुन् ।

    नेकपा एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।