Tag: निजी अस्पताल

  • रुपन्देहीका थप २ निजी अस्पतालद्वारा कोरोना संक्रमणको उपचार

    रुपन्देहीका थप २ निजी अस्पतालद्वारा कोरोना संक्रमणको उपचार

    रूपन्देही । रुपन्देहीमा थप २ निजी अस्पतालहरुले कोरोना संक्रमणको उपचार गर्ने भएका छन् । उपचार भइरहेको ३ वटा अस्पतालमा अत्यधिक चाप भएपछि २ वटा थप अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् ।

    रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेज र बुटवलस्थित आम्दा अस्पतालले पनि आजैबाट कोरोना संक्रमितको उपचार सुरु भएको जनाएको छ ।

    लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा रूपन्देहीका थप २ वटा अस्पतालले कोभिड १९ उपचार सुरु गरेका हुन् ।देवदह नगरपालिका रूपन्देहीमा अवस्थित देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरी १५ बेडको कोरोनाको उपचार आजैबाट सुरु गरेको जनाएको छ भने छिट्टै ५० बेड पुर्याइने कलेजका निर्देशक डा। बिक्रम ज्ञवालीले बताए।

    त्यस्तै महिला तथा बालबालिकालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिँदै आएको ९सिद्धार्थ बाल तथा महिला अस्पताल ० आम्दा अस्पतालले पनि कोभिड अस्पताल सुरू गरेको छ । बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयूस्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र प्रसाद बस्यालले बताए ।

    रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्शल मेडिकल कलेज र भिम अस्पताल भैरहवामा कोरोना संक्रमितको उपचार हुँदै आएको छ। सरकारले सबै निजी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड छुट्टाउन आग्रह गरेपनि क्मिसन अस्पताल बाहेक अरूले सेवा शुरू गरेका छैनन् । रूपन्देहीमा सकृय संक्रमित ७ हजार ५ सय पुगेका छन् ।

     

  • निजी अस्पतालले भन्यो- १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौं

    निजी अस्पतालले भन्यो- १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौं

    काठमाडौं । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भन्ने सरकारको निर्देशन कार्यान्वयन गर्न नसकिने जनाएको छ ।

    एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले बिहीबार एक विज्ञप्ति जारी गरी खरिद सम्झौता गरेको साढे तीन महिना भन्दाअघि अक्सिजन प्लान्ट जडान गर्नै नसक्ने पनि जनाएको हो ।

    अफिनका अध्यक्ष बसन्त कुमार चौधरीले जारी गरेको विज्ञप्तिमा देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाइसेवा पनि बन्द रहेका कारण द्रुत सामान ढुवानीको विकल्प नभएकोले सरकारी निर्णय लागू गर्न असम्भव रहेको उल्लेख छ ।

    ‘१०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘सोको जडान गर्न चाहिने  पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्।’

  • कैलालीमा निजी अस्पतालले उपचार गर्न थाले, खर्च प्रदेश सरकारले बेहोर्ने

    कैलालीमा निजी अस्पतालले उपचार गर्न थाले, खर्च प्रदेश सरकारले बेहोर्ने

    कैलाली । कैलालीमा सामुदायिक तथा निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्न थालेका छन् । सरकारी अस्पतालमा संक्रमितको उपचार गर्न समस्या भइरहेको बेला सामुदायिक तथा निजी अस्पतालले पनि संक्रमितको उपचार गर्न थालेपछि संक्रमितको उपचारमा सहज हुने भएको छ ।

    कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालसहितका अन्य १० निजी अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयबिच शुक्रवार कोरोना संक्रमितको उपचार गर्ने सहमति भएको हो । ती मध्ये एक सामुदायिक अस्पतालमा र तीन निजी अस्पतालसँग प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्झौता नै गरिसकेको जनाएको छ ।

    कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड वार्ड सञ्चालन हुने छ । निजी अस्पताल नवजीवन अस्पताल र पदमा अस्पतालमा १०–१० बेड र कैलाली अस्पतालमा पाँच बेडको कोभिड अस्पताल सञ्चालनका लागि सम्झौता भइसकेको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

    ‘अहिले सम्म ३ निजी अस्पतालसँग सम्झौता भइसकेको छ । अन्य पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरूसँग पनि सम्झौता हुन्छ उनले भने, ‘निजी अस्पतालले पनि संक्रमितको उपचारमा सहमति जनाएपछि केहि सहज हुने अपेक्षा गरेका छौँ ।’

    कैलाली अस्पतालले संक्रमितको उपचार गर्न थालिसकेको छ । ‘अहिले ३ संक्रमितको उपचार भइरहेको छ’ अस्पतालका प्रमुख जनकराज जोशीले भने ‘यहाँका सबै निजी अस्पताल संक्रमित उपचार गर्न सहमत भएका छन् ।’ उनले अत्तरियास्थित पद्मा अस्पतालले पनि संक्रमितको उपचार सुरु गरिसकेको बताए ।

    निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष समेत रहेको जोशीले धनगढीका १० अस्पतालले ५ देखि १० शय्यासम्मको कोभिड वार्ड स्थापना गरेर संक्रमितको उपचार गर्ने जानकारी दिए । शुक्रवार पद्मा अस्पताल र धनगढीस्थित नवजीवन अस्पतालले १०–१० तथा १५ देखि २५ शय्यासम्मका अस्पतालले ५–५ शय्याको कोभिड वार्ड सञ्चालन गर्ने सहमति भएको जोशीले बताए ।

    उनका अनुसार धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निसर्ग अस्पताल, सिपी हस्पिटल, केजी हस्पिटल, नोभा अस्पताल, सारथी अस्पताल र ओम आशा अस्पतालले ५–५ शय्याको कोभिड वार्ड सञ्चालन गरेर संक्रमितको उपचार गर्नेछन् ।
    १० वटा निजी अस्पतालले ६० शय्या बराबरको कोभिड वार्ड सञ्चालन गर्दा अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालले भने ४० बेडको वार्ड स्थापना गर्ने सहमति मन्त्रालयसँग भएको छ ।

    उपचार खर्च प्रदेश सरकारले बेहोर्ने
    सामाजिक विकास मन्त्रालयसँगको सम्झौताअनुसार कोभिड वार्ड स्थापना गर्न लागेका धनगढी र अत्तरियाका निजी अस्पतालमा उपचार गर्ने सङ्क्रमितको खर्च भने सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्नेछ ।

    अस्पतालसँग भएको सम्झौताअनुसार सामान्य संक्रमित दैनिक ३ हजार ५ सय रुपैयाँ, अक्सिजन सर्पोटमा राखिने संक्रमितको दैनिक ७ हजार रुपैयाँ, आइसियुमा भर्ना हुने संक्रमितको १० हजार रुपैयाँ र भेन्टिलेटरमा भर्ना हुनेको दैनिक १५ हजार रुपैयाँका प्रदेश सरकारले खर्च बेहोर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

    क्याबिन लगायतका अतिरिक्त सेवा लिने संक्रमितले भने तोकिएको बाहेकका शीर्षकको खर्च आफैँले सम्बन्धित अस्पताललाई तिर्नुपर्ने कार्कीले बताए । अहिलेसम्म सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा मात्र संक्रमितको उपचार हुदैँ आएको छ ।

    धनगढीमा गत वर्ष स्थापना गरिएको ५५ शय्याको कोभिड अस्थायी अस्पतालमा अहिले ६० जना उपचाररत छन् भने सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड पनि संक्रमित र सम्भावित संक्रमितले भरिएपछि ग्यालरीमा राखेर उपचार भइरहेको छ ।