Tag: नारी दिवस

  • ८ मार्चको कर्मकाण्डबाट माथि उठौं

    ८ मार्चको कर्मकाण्डबाट माथि उठौं

    नारी दिवसको नारा के राख्ने ? हरेक वर्ष बहस हुने गर्छन् । बहस त नारामा होइन हाम्रो आफ्नै पारा कस्तो हुने भन्नेमा हुनुपर्ने हो । हामी सबै खाले हिंसा, विभेद र असमानता विरुद्ध कानून मात्र बनाउँछौं कि व्यावहारिक कार्यान्वयनमा जान्छौं ? अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बहसको विषय यो हुनुपर्छ ।

    समान कामको समान ज्याला, मतदानमा महिलाको अधिकार जस्ता कुराहरू इतिहासमा नारी संघर्षका उपज थिए । दक्षिणएशियामा नेपाल महिला सहभागिताको सन्दर्भमा उदाहरणीय नमूना बनेको छ तर अझै पनि हामी नारी अधिकारका कुरा गर्नुपर्दा मार्च ८ नै कुर्छौं किन ?

    संविधानले नै राज्यका सबै तहमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर स्थानीय सरकारमा महिलालाई संविधानको पालना गर्नुपर्ने बाध्यता पालना गर्दै ‘उप’मा चुप लगाइएको छ । हामीले महिलालाई ‘उप’ होइन प्रमुख पदमै अनिवार्य उम्मेदवारीको प्रतिशत नै छुट्याउने गरी कानून संशोधनको आवाज उठाउन कुनै एक दिन वा दिवस पर्खिनु पर्दैन ।

    इतिहास हेर्ने हो भने नारी दिवस एउटा आन्दोलनको निरन्तरता हो । १०० वर्षअघिको र आजको विश्वमा कति परिवर्तन आइसकेको छ । त्यसैले हामीले ढर्रा किन नफेर्ने ?

    १८औं शताब्दीमा राजनैतिक रूपमा मजदूर आन्दोलनको शुरुआत भयो । फ्रान्सको राज्य क्रान्ति, बेलायतको औद्योगिक क्रान्तिको प्रभाव सारा युरोपमा फैलिरहेको थियो । पूँजीपतिहरूले मजदूर माथि अनगिन्ती शोषण गर्न थालेपछि युरोपभरि मजदूर आन्दोलन भएका थिए ।

    यसैगरी न्यूयोर्क शहरमा हजारौं महिला–श्रमिक जम्मा भएर ८ मार्च, १८५७ मा आफ्नो काम गर्ने ठाउँको अमानवीय परिवेश विरुद्ध प्रतिवाद गरे । २८ फेब्रुअरी, १९०९ मा सम्पूर्ण अमेरिकामा पहिलो पटक ‘राष्ट्रिय नारी दिवस’ मनाइयो । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा १७ देशका १०० महिला प्रतिनिधिले ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को प्रस्तावलाई समर्थन गरे ।

    यसै दिन, २० लाख रूसी महिलाहरूले विभिन्न खाले अन्यायको विरुद्धमा सभाको आयोजना गर्दै बालश्रम बन्द गरियोस्, काम गर्ने अधिकार, काम गर्ने ठाउँमा पुरुष–महिला बीचमा विद्यमान विभेद हटाउने, खाद्यान्न, विश्वयुद्ध विरुद्ध आवाज उठाउँदै शान्तिको माग गर्दै आफ्नो असहनीय गरिबी विरुद्ध, मताधिकार दिइयोस्, राजनीति गर्ने अधिकार दिइयोस् जस्ता मागहरू अगाडि सारेका थिए । ८ मार्च, १९७५ मा राष्ट्र समूहले यस दिनलाई ‘अन्तर्राष्ट्रिय नारी दिवस’ घोषणा गरे ।

    समाज विकासको निमित्त विभिन्न उत्प्रेरक शक्तिहरूको आवश्यकता पर्दछ । महिलाहरूले अगाडि सारेको माग राजनीति गर्ने अधिकारले अहिलेको समयमा ठूलो बहस निर्माण गरेको पाइन्छ । समाजमा हुने विकास र परिवर्तनको मुख्य कारण समाजमा विद्यमान अन्तरविरोध हो, त्यो वर्गसंघर्षको रूपमा अभिव्यक्त हुन्छ । विकासको निमित्त महिलाहरूको राजनीतिमा उल्लेखनीय उपस्थिति हुन जरूरी छ ।

    कुनै पनि संगठनमा आवद्ध भइसकेपछि चुनौती तथा तिनका उपलब्धि पनि निश्चित रूपले बाँधिएर आउँछन् र त्यहाँ एउटा सशक्त र प्रभावशाली नेतृत्वको आवश्यकता पर्दछ । हामीलाई थाहा छ नेता जन्मिन्छन्, महिलाहरूलाई पनि सफल नेता बनाउन सकिन्छ । सबैजसो व्यक्तिहरू विकासपरक नै मान्न सकिन्छ र विभिन्न गतिविधिद्वारा असल नेता बनाउन सकिन्छ ।

    ८ मार्चका दिन विभिन्न देशको सभाहरूमा लामा–लामा भाषण दिइन्छन् । देश–देशमा विभिन्न तरिकाले रमझम गरिन्छ । नेपालमा पनि सोही किसिमको संस्कृतिको संख्या बढ्दो छ । तीजको नाममा, अरू विभिन्न धार्मिक चाडपर्वमा, नारी दिवसलगायतका दिनहरूमा केही सभाहरू गठन गरिन्छ, रमाइलो गर्ने सोचले महिलाहरू शृंगारपटार गर्छन्, खान्छन्–पिउँछन्, गीत गाउँछन्, दुःख–सुखको कुरा गरेर दिन बिताउँछन् र मार्च ८ जस्ता दिवस हरेक दिन मनाइएको घोषणा गर्दछन् ।

    त्यस दिन अरू पनि धेरै कुरा हुन्छन् । बालिका शिशुको हत्या हुन्छ, बलात्कार हुन्छ, निर्मम तरिकाले घरेलु हिंसामा परेका हुन्छन्, एसिड पीडित हुनसक्छन्, वेश्यालयमा बेचिन सक्छन्, छोरी नजन्मियोस् भनेर भ्रूणहत्या पनि हुन्छ । यी धेरै कुराको जानकारी धेरैलाई हुँदैन ।
    ३६५ दिनमा हामीले यही एक दिन कुरेर बस्नुपर्ने आवश्यकता नै छ जस्तो लाग्दैन । हिजोको दिनमा हाम्रो पुर्खाले लडेर पाइएको हकअधिकारलाई हामीले असल र सफल हुनको निमित्त आफूमा राम्रा गुणको विकास गर्नुपर्ने हुन्छ ।

    राजनीति गर्ने अधिकारको मागसँगै महिलामा एक सफल नेता बन्नको निमित्त अनेकौं गुणको सन्तुलित संयोग हुन आवश्यक छ । आफूमा रहेको भित्री गुण, संगठनात्मक परिवर्तनको नेतृत्व, चरित्र, व्यक्तिगत क्षमता, परिणाममाथि ध्यानकेन्द्रित गर्नु आवश्यक छ । आफ्नो अधिकारमाथि गर्व नगर्नुहोस्, घमण्डी नबन्नुहोस्, विनम्रताले नै तपाईंलाई सबै खालको सफलतामा पुर्‍याउने काम गर्छ ।

    आफ्नो आलोचना सहन सक्ने प्रवृत्तिको विकास नभइकन जुनसुकै कार्य समूहमाथि तपाईंले आफ्नो प्रभाव पार्न सक्नुहुन्न । आफ्नो क्षमतालाई बढाउँदै महिला दिदीबहिनीहरूले एकआपसमा एकता जुटाउँदै विभिन्न समस्या, विकृतिलाई निर्मल गर्दै ३६५ दिन नै नारी दिवस बनाउन जरूरी छ । त्यसैले ८ मार्चको कर्मकाण्डबाट माथि उठौं ।

    आफ्नो आलोचना सहन सक्ने प्रवृत्तिको विकास नभइकन जुनसुकै कार्य समूहमाथि तपाईंले आफ्नो प्रभाव पार्न सक्नुहुन्न । आफ्नो क्षमतालाई बढाउँदै महिला दिदीबहिनीहरूले एकआपसमा एकता जुटाउँदै विभिन्न समस्या, विकृतिलाई निर्मल गर्दै ३६५ दिन नै नारी दिवस बनाउन जरूरी छ । त्यसैले ८ मार्चको कर्मकाण्डबाट माथि उठौं ।

  • महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म

    महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म

    काठमाडौं- सोमबार १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाइँदैछ । ५० वर्ष लामो इतिहास बोकेको नेपाली फिल्मले पनि नारी केन्द्रित फिल्म निर्माणमा अग्रसरता बढाएको छ ।

    पछिल्ला वर्ष निर्देशक, निर्माता, छायांकार, अभिनय र प्राविधिक विधामा महिला सहभागिता बढिरहेको छ । महिला फिचर, डकुमेन्ट्री र इन्डेपेन्डेन्ट फिल्म निर्माणमा अघि बढिरहेका छन् । फिल्मको प्राज्ञिक अध्ययनमा पनि महिलाहरु सक्रिय छन् ।

    फिल्ममा महिला सहभागितालाई लिएर समीक्षकका दुई दृष्टिकोण छन् । उनीहरु भन्छन्, -महिलाको विषयवस्तु र चरित्रमाथि कथा भन्नु र महिलाले फिल्म निर्माण गर्नु अलग कुरा हुन् । पछिल्लो समय यी दुबै कोणबाट फिल्म बनिरहेका छन् ।

    नेपाली फिल्ममा महिलाको विषयवस्तुमाथि बनेको पहिलो फिल्मको रुपमा सन् १९६४ मा बनेको ‘आमा’लाई लिइन्छ । आमा शीर्षकमा तीन फिल्म निर्माण भएका छन् र तीनै फिल्मको केन्द्रीय पात्रको रुपमा महिलालाई राखिएको छ ।

    नारीदिवसको अवसरमा यहाँ १० नेपाली फिल्म प्रस्तुत गरिएको छ जसले नारीवादी दृष्टिकोण, मुद्दा र भावनालाई उठान गरेका छन् ।

    १) आमा (१९६४), (२०२०)

    सन् १९६४ मा निर्माण भएको हीरासिंह खत्री निर्देशित फिल्म आमा र सन् २०२० मा बनेको दीपेन्द्र खनाल निर्देशित ‘आमा’को केन्द्रमा महिला नै छन् । पहिलो फिल्म श्यामश्वेत हो भने दोस्रो रंगिन हो । यी दुई फिल्मले आ–आफ्नो कालखण्डका दुई आमा चरित्रको कथा भन्छन् । आमाको भूमिका ग्रहण गरेकी महिलाको समाज र परिवारप्रतिको उत्तरदायित्व र चरित्रलाई यी दुई फिल्मले चित्रण गर्छन् । यी दुबै फिल्मले व्यवसायिक र समिक्षात्मकरुपमा सफलता प्राप्त गरेका छन् ।

    २) कुमारी (१९७७)

    प्रेमबहादुर बस्नेतले निर्देशन गरेको फिल्म कुमारीमा चैत्यदेवी र विश्व बस्नेतको अभिनय छ ।

    ३) तीन घुम्ती (२०१६)

    विश्वेश्वरप्रसाद कोइरालाको चर्चित पुस्तक तीन घुम्तीमा आधारित यो फिल्मलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । नारीको जीवनमा आउने तीन मोडलाई चित्रण गरिएको यो फिल्मले नारीको सामाजिक आयाम र व्यक्तित्वलाई बुझ्न सजिलो हुन्छ । गरिमा पन्त, धु्रव दत्त र सुशान्त कार्की मुख्य भूमिकामा छन् ।

    ४) कन्यादान (१९९१)

    भुवन केसी र तृप्ती नाड्करको मुख्य भूमिका रहेको यो फिल्मलाई प्रकाश थापाले लेखन एवं निर्देशन गरेका हुन् । बालविवाहको मुद्दा उठान गरिएको यो फिल्मले सक्षम भएपछि मात्र महिलालाई विहे गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

    ५) बुलबुल (२०१९)

    विनोद पौडेल निर्देशित यो फिल्ममा स्वस्तिमा खड्काको मुख्य भूमिका छ । स्वस्तिमाले यो फिल्ममा पैसा कमाउन विदेशिएका पुरुषकी पत्नीको भूमिकामा अभिनय गरेकी छिन् । वैदेशिक रोजगारीमा पति जाँदा पत्नीमा आउने पारिवारिक दायित्व, जिम्मेवारी र मनोवैज्ञानिक चाहनालाई फिल्ममा चित्रण गरिएको छ । फिल्मले राम्रो समीक्षा प्राप्त गरेको थियो ।

    ६) राधा (२०१६)

    योगेश घिमिरेले निर्देशन गरेको यो फिल्ममा जीवन लुइँटेल र सञ्चिता लुइँटेलको मुख्य भूमिका छ । सम्बन्धमा महिलाको अपेक्षा र महिलाले गर्ने त्यागको विषयमा फिल्म चित्रित छ । फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

    ७) नुमाफुङ (२००४)

    यो लिम्बु फिल्मलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् । नुमा नामक एक मुख्य पात्रको कोणबाट निर्देशकले पति बितेकी महिलाको मनोविज्ञान, पुनर्विवाह, एकल महिलालाई हेरिने दृष्टिकोण र लिम्बु समुदायमा भएको वैवाहिक संस्कृतिलाई चित्रण गरिएको छ । यो फिल्मले देश तथा विदेशमा राम्रो समीक्षा प्राप्त गरेको छ ।

    ८) जाइरा (२०१९)

    एक्सन प्रधान यो फिल्ममा नम्रता श्रेष्ठको मुख्य भूमिका छ । नेपाली फिल्ममा महिलालाई मुख्य पात्रको रुपमा लिएर एक्सन दृश्य समेट्ने अवसर कमै हुन्छन् । फिल्ममा नम्रताले पति हत्याको बदला लिन पत्नीले गरेको संघर्ष गर्ने पात्रको भूमिका खेलेकी छिन् । उमा थरम्यान स्टारर हलिउड फिल्मबाट यो प्रभावित भएको मानिन्छ ।

    ९) झोला (२०१३)

    कृष्ण धरावासी लिखित उपन्यासमा फिल्म आधारित छ । मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने, नेपालमा प्रचलित सतिप्रथालाई चित्रण गरिएको छ । गरिमा पन्तको मुख्य भूमिका रहेको फिल्मले समीक्षात्मक र व्यवसायिक रुपमा सफलता प्राप्त गरेको थियो ।

    १०) उमा (२०१३)

    तत्कालिन सशष्त्र द्वन्द्वको समयमा दाजु प्रहरी र बहिनी माओवादीमा आबद्ध हुँदा त्यसले परिवार र समाजमा ल्याउने विभाजनको कथा यसले भन्छ । निकै मार्मिक र यथार्थपरक कथावस्तुमा आधारित यो फिल्मलाई छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन् । ऋचा शर्मा र सौगात मल्लको मुख्य भूमिका रहेको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको थियो ।

  • नारी दिवस औपचारिकतामा सीमित भयो: मुख्यमन्त्री भट्ट

    नारी दिवस औपचारिकतामा सीमित भयो: मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नारी दिवस औपचारिकतामा सीमित हुन थालेको बताएका छन् । ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले दिवसलाई औपचारिकतामा सीमित पार्न नहुने बताएका हुन् ।

    ‘दिवसहरू औपचारिकतामा सीमित हुन थोलेका छन्’ मुख्यमन्त्री भट्टले भने, ‘समग्र रूपमा महिलालाई अधिकार दिन आवश्यक छ ।’
    प्राप्त अधिकारको रक्षा गर्नु अहिलेको सबै भन्दा ठुलो चुनौती रहेको मुख्यमन्त्री भट्टले बताए ।

    सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले महिलाले पनि जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न सक्ने बताए ।
    सभामुख थापाले कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष फितलो रहेको आरोप लगाए । महिलालाई रोजगारीमा जोड्न आवश्यक रहेको सभामुख थापाको भनाइ थियो ।

    सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले सुदूरपश्चिम प्रदेशमा लामो समय देखि महिला नेतृत्वमा रहेको बताएका थिए ।
    नेपालकै पहिलो महिला मन्त्री समेत प्रदेशमै रहेको बताउँदै मन्त्री सुबेदीले अहिले पनि महिला अधिकारका लागि प्रदेश सरकार लागिपरेको बताए ।

    कार्यक्रममा प्रदेश सभा सदस्यहरूले महिलाको अधिकार स्थापित गर्न सबै निकायको सहयोग आवश्यक रहेको बताएका थिए ।
    सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकि समेत देखाइएको थियो ।