Tag: नारायण नगरपालिका

  • दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

    दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

    सुर्खेत । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरु विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्मा विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै तप्ता कुमारी थापा विजयी भएका हुन् ।

    एमालेका लोमन शर्माले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मला खड्का (थापा)ले ५ हजार ३ सय ५७ मत प्राप्त गरिन्।

    यस्तै उपप्रमुखमा नेकपा एमालेका तप्ताकुमारी थापा विजयी भइन् । थापाले ५ हजार ६ सय ७३ मत प्राप्त गरिन् । उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका सावित्री मल्लले ३ हजार ८ सय ३८ मत प्राप्त गरिन् ।

  • दैलेखको नारायण नगरपालिकामा कांग्रेसलाई गठबन्धनको भर, एमाले निर्धक्क !

    दैलेखको नारायण नगरपालिकामा कांग्रेसलाई गठबन्धनको भर, एमाले निर्धक्क !

    सुर्खेत । दैलेखको नारायण नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले करिब एकलौटी जीत हात पारेको थियो । नगरप्रमुख, उप्रप्रमुखसहित ८ वडा जितेको एमालेले फेरि पनि जित्ने गरी रणनीति बनाइरहेको छ ।

    ११ वडा रहेको नारायण नगरपालिकामा २०७४ काे निर्वाचनमा एमालेले ८ वटा वडा जितेको थियो । उक्त निर्वाचनमा कांग्रेसले तीन ओटा वडामा मात्रै विजय हात पारेको थियो ।

    आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट तीनजनाले नगरप्रमुख बन्न इच्छा देखाएका छन् । एमालेबाट हालका नगरप्रमुख रत्न खड्का, लोमन शर्मा र प्रेम थापाले नगरप्रमुख बन्ने चाहना राखेका छन् । प्रेम थापा हाल जिल्ला समन्वय समितिको प्रमुख समेत छन् । यद्यपि एमालेबाट वडा नं. एकमा निर्वाचित भएका वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ भने नेकपा एसमा गएका छन् । तर काँग्रेसमा भने नगरप्रमुख बन्न चाहनेहरुको संख्या १६ जना देखिएका छन् ।

    गत चुनावमा एमालेबाट रत्न खड्का र कांग्रेसबाट मणिराम रेग्मी उम्मेदवार बनेका थिए । चुनावमा खड्का विजयी बनेका थिए । रेग्मी हाल कांग्रेसको जिल्ला सभापति भएका कारण उनी नगरप्रमुखमा उम्मेदवार नहुने सम्भावना देखिएको कांग्रेस स्रोतको दाबी छ ।

    कांग्रेसबाट गणेश उपाध्याय, यामबहादुर मल्ल, वासना थापा, निर्मला खड्का, भूपेन्द्र शाही, मनोज थापा, बखत कटुवाल, टेकबहादुर कटुवाल, देवेन्द्र थापा, ओम केसि, गणेश श्रेष्ठ, पूर्णबहादुर मल्ल, मिना थापालगायत १६ जनाले आफू उम्मेदवार भन्दै प्रचारप्रसार गर्न थालिसकेका छन् ।

    नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मीले १६ जनाले उम्मेदवार बन्न चाहेको स्वीकार गरे । ‘उहाँहरुलाई संख्या घटाउन भनिरहेका छौं । सकेसम्म सहमतिमै उम्मेदवार तय गर्छौं’, उनले भने, ‘तर अहिले नै को उम्मेदवार बनाउने भन्ने बारेमा हामीले कुनै निष्कर्ष निकालेका छैनौँ ।’

    उनले केन्द्रमा गठबन्धन भएजस्तै नारायण नगरपालिकामा पनि गठबन्धन बनाउनुपर्ने माग आएको बताए । ‘२०७४ सालको निर्वाचनमा पनि गठबन्धन बनाएर जाऔं भन्ने कुरा थियो तर हामी एक्लै गयौँ । योपटक गठबन्धन हुने सम्भावना धेरै छ ।’ उनी भन्छन्, ‘गठबन्धन बनेको खण्डमा हामीले ११ मा ८ ओटा जित्ने पक्का छ ।’

    नेकपा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा भने एमाले गठबन्धनबाट नतर्सने बताउँछन् । ‘सबै दल एकातिर भए पनि हामी एघारमा नौ वडामा विजय हात पार्छौं । एमाले गठबन्धनबाट तर्सने पार्टी होइन’ उनी भन्छन् ।

    उनले एमालेबाट को उम्मेदवार बन्ने भन्ने बारेमा कुनै छलफल नभएको बताए । ‘हामीसँग नगरप्रमुख बन्नका लागि हाल तीन जना उम्मेदवार तयार भएर बस्नु भएको छ । तीनजना मध्ये कोही पनि उम्मेदवार बन्न सक्नुहुन्छ’, उनी भन्छन्, ‘हामी अनुहार हेर्नेभन्दा पनि कसले जित्न सक्छ भन्ने एंगलबाट उम्मेदवार छनौट गर्छौं ।’