Tag: नारायणी नदी

  • एमाले महाधिवेशन, मोटरबोटको ब्यापार !

    एमाले महाधिवेशन, मोटरबोटको ब्यापार !

    चितवन । कोरोना महामारी फैलिएसँगै लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै डेढ वर्ष बन्द रहेका मोटरबोटहरु नारायणी नदीमा चल्न थालेको केहि महिनामात्र भयो । असोजदेखि फाट्टफुट्ट चलाइएका मोटरबोटमा पछिल्लो १५ दिन यता भने भीडभाड निकै छ ।

    आयुष्मा मोटरबोटका सञ्चालक विजयचन्द्र अधिकारीले एमालेको महाधिवेशनको चहलपहलले मोटरबोट चढ्नेहरु बढेको बताए । ‘२ चरणको लकडाउनले स्थिति खत्तमै बनेको थियो, अहिले महाधिवेशनले चहलपहल बढेको छ,’ उनका अनुसार अहिले दैनिक १ हजार जनाले जलयात्रा गर्ने गरेका छन् ।

    आयुष्माको २० सीटर एक र १० सीटर २ वटा, ८ सीटरको एउटा मोटरबोट छ । ‘हामी उत्साहित छौं, देशभरी नारायणीमा जलयात्राको सन्देश जानेछ,’ उनले भने, ‘कोभिडले सुस्ताएको जलयत्राले फेरी लय लिँदैछ ।’ एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

    ५ लाख जनता सहभागी गराउने गरी नारायणी नदी किनारा भव्य मञ्च बनाइएको छ । १ गतेदेखि मञ्च निर्माणको गतिविधि नियाल्न सयौं सर्वसाधरण दैनिक नदी किनार पुग्ने गरेका थिए । ‘आज महाधिवेशन उद्घानसत्र भएकाले चहलपहल अझै बढ्छ,’ उनले भने, ‘जलयात्रालाई प्रवर्द्धन गर्न यो कार्यक्रम सहयोगी बनेको छ ।’

    उनका अनुसार आज दिनभर मोटरबोट सन्चालन नगर्न भने कतैबाट दबाब आएको छैन । ‘चलाउनुस्, तर भीडभाड व्यवस्थापन गर्नुस् भन्नुभएको छ,’ सन्चालक अधिकारीले भने । २ सय ५० रुपैयाँमा पोखरा बसपार्कदेखि नारायणी पुलसम्म जाने–आउने गरेर करिब ३ किमि जलविहार गराइन्छ । यस्तै ५ सय रुपैयाँमा पोखराबसपार्कदेखि नारायणी पुल हुँदै नगरवनसम्म करिब ६ किमि जलयात्रा गराइन्छ ।

    एमटीएस मोटरबोटका सञ्चालक बुद्ध शर्माले दीर्घकालीन प्रचार भएको बताए । ‘देशविदेशमा नारायणीको जलयात्राको पनि प्रचार भएको छ,’ उनले भने, ‘भविष्यमा बोटिङ गर्न आउने अझै बढ्ने अपेक्षा छ ।’ एमटीएस, एचएसको एक एक वटा १० सीटर, रंगमहल रिभरल्याण्डको एउटा २२ सीटर, अल्टिमेट वाटर एडभेञ्चरको ६, १२ र २० सीटर एक एक वटा मोटरबोटहरु छन् ।

    इक्युटर मोटरबोटको २ वटा र नेपाल क्रुजको १ वटा १० सीटर मोटरबोटहरु सञ्चालनमा छन् । अल्टिमेटका क्याप्टेन कृष्णप्रसाद लामिछानेले बाहिरी जिल्लाकाले नयाँ स्वादका रुपमा बोटिङ गर्ने गरेको बताए । ‘करिब १० मिनेट नारायणी नदीमा बोटिङ गरेपछि सबै रमाउँछन्,’ उनले भने, ‘चहलपहल बढेपछि हामी पनि रमाएका छौं ।’

    महाधिवेशन स्थल अवलोकनमा आएका पाल्पा रामपुर–१० का लोकप्रसाद श्रेष्ठले नारायणीको जलयात्राले रोमाञ्चित बनाएको बताए ।

    पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा बनाइएको रिभर क्रुजसिप (मिनी पानीजहाज) पनि सञ्चालनकै तयारीमा छ । १५ करोड खर्चेर बनेको सुविधासम्पन्न क्रुजसिपमा २ सय जना बस्न मिल्नेछ ।

  • नारायणी नदी अहिले सम्मकै उच्च विन्दुमा

    नारायणी नदी अहिले सम्मकै उच्च विन्दुमा

    काठमाडौं । नारायणी नदीको सतह अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

    नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

    सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए । रायले भने, ‘सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।’ यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उनले जानकारी दिए । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो ।

    नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।