Tag: नवीन्द्रराज जोशी

  • जोशीलाई सभामुखसँगै शीर्षस्थ नेताको श्रद्धाञ्जलि (भिडियो)

    जोशीलाई सभामुखसँगै शीर्षस्थ नेताको श्रद्धाञ्जलि (भिडियो)

    काठमाडौं । हिजो राति निधन भएका नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई सभामुख अग्निप्रसाद सापकोटासँगै शीर्षस्थ नेता, शुभेच्छुक एवम् आफन्तले अन्तिम श्रद्धान्जलि अर्पण गरेका छन् । स्वर्गीय जोशीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको जोशीलाई श्रद्धान्जली दिन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङलगायत सानेपा पुगेका थिए ।

    जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार मध्याह्न १२ बजेदेखि नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

    काँग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

    जोशीको निधनमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

     

     

  • जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

    काठमाडौं । हिजो राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको सम्मानमा नेपाली कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

    पार्टीद्वारा जारी विज्ञप्तिका अनुसार चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा रहेका झण्डा आधा झुकाइने छ । तीन दिनहरुमा शोक कार्यक्रमबाहेक अरु औपचारिक कार्यक्रम नगर्ने विज्ञप्तिमा उल्लेख छ । चैत १६ गते मंगलबार कांग्रेसको केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द रहनेछन् ।

    यसैगरी, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय भएको छ । १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

    जोशीको निधनबाट कांग्रेसले एक कुशल संगठन र सिंगो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • नवीन्द्रका परिवारद्वारा सरकारको सहयोग अस्वीकार

    नवीन्द्रका परिवारद्वारा सरकारको सहयोग अस्वीकार

    काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग उनको परिवारले अस्वीकार गरेको छ ।

    जोशीका सहयोगी पुष्कर पाण्डेले उपचारमा सहयोग गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै सो रकम विपन्न वर्गको उपचारमा खर्च गर्न परिवारले आग्रह गरेको जनाएका छन् ।

    मष्तिष्कघात भएर नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।

    जोशी आफैं विपन्न नागरिकको उपचारमा सहयोग पुर्‍याउने नेता रहेको भन्दै परिवारका सदस्यहरूले सो रकम नलिने घोषणा गरेको जनाइएको छ ।

  • कांग्रेस नेता जोशीको अवस्था गम्भीर– नर्भिक अस्पताल

    कांग्रेस नेता जोशीको अवस्था गम्भीर– नर्भिक अस्पताल

    काठमाडौं । मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ ।

    फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

    (कांग्रेस नेता नवीन्द्रराज जाेशीबारे यसअघि असावधानीवस प्रकाशित समाचार हटाइएकाे छ । यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गर्दछौं र आगामी दिनमा यस्ताे गल्ती नदाेहाेरिने प्रतिवद्धता जनाउँछौ-  प्रधानसम्पादक)

  • नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

    नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

    काठमाडौं । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित यस नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखिएको छ ।

    नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिबार बिहानदेखि एक्कासी समस्या आएको हो ।

    शनिबार बिहानदेखि उनको श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैंले ८–१० पटक सास फेरिरहेको छ ।

    ‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ ।’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीहरुमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाई छ ।

    आज दिउँसो ३ बजेसम्मको उनको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको छ ।यसअघि गत सोमबार बिहानबाट आफैंले सास फेर्न थालेपछि भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो ।

    बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो । ‘उहाँको स्वास्थ्य अवस्थामा तीव्र सुधार आउने हामीले अपेक्षा गरेका छौं ।’ डा. झाले भने।

  • नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा

    नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा

    काठमाडौं । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

    नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो(सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

    ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन ।’ डा. झाले भने,‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’

    बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) गरिने डा. झाले बताए ।

    ‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं ।’ उनले भने,‘त्यसपछि उहाँलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ ।’

    डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन । ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ ।’ झाले भने‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं ।’

  • नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

    नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

    काठमाडौं । नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।

    शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको नर्भिक अस्पतालको आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

    शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

    झाका अनुसार शनिवारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने खोलेका छैन ।

    यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।

    ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भने–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’

  • संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा: नेता जोशी

    संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा: नेता जोशी

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सडकबाटै कांग्रेसले संसद विघटनको कदमलाई चुनौती दिने बताएका छन् ।
    सोमबारको प्रदर्शनबाट संसद विघटनको असंवैधानिक कदम सच्याउन कांग्रेसले दवाव सिर्जना गर्ने जोशीको भनाई छ ।

    आइतबार पत्रकारहरुसंग कुराकानी गर्दै जोशीले सोमबारको प्रदर्शनपछि कांग्रेस केन्द्रीय समितिले आन्दोलनको थप खाका ल्याउने बताए । ‘पार्टीभित्र आन्तरिक छलफल जारी छ । हामी अहिले सांकेतिक रुपमा सरकारविरुद्ध सडकमा जाँदैछौं । जनताको चाहना अनुसार केन्द्रीय समितिले थप कार्यक्रम ल्याउने नै छ’, जोशीले भने ।

    जोशीले सडकमा उत्रिएको कांग्रेसलाई आम जनताले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

    उनका अनुसार अहिले कांग्रेसका चार महत्वपूर्ण राजनीतिक एजेण्डा रहेका छन् । असंवैधानिक कदमको विरोध र लोकतन्त्रको सुदृढीकरण , राष्ट्रियताको संरक्षण , पार्टीको संगठन सुदृढीकरण र जनजिविकाको पक्षमा पैरवी गर्नु आजको आवश्यकता रहेको जोशीको भनाई छ । ‘पहिलो कुरा संविधान र लोकतन्त्र जोगाउन कांग्रेस सडकमा उत्रनुपरेको छ ।

    लोकतन्त्रसंगै राष्ट्रियतालाई संकटमा पर्न नदिनु हाम्रो सरोकार हो । लोकतान्त्रिक पार्टी भएका कारण भोली पर्नसक्ने जुनसुकै चुनौती सामना गर्न हाम्रो संगठन चुस्त हुनुपर्छ । त्यसका लागि महाधिवेशन सम्पन्न गर्नुपर्छ । अर्को महत्वपूर्ण सवाल जनताको जीवन हो । जनजिविका सहज बनाउन कांग्रेसले खबरदारी गर्नैपर्छ’, जोशीले भने ।

    सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसमा कुनै अलमल नभएको जोशीको भनाई छ । तत्कालका लागि एक दिने प्रदर्शन घोषणा भएपनि आन्दोलन निरन्तर हुने जोशीको दावी छ । ‘कांग्रेस आन्दोलनमा उत्रिसकेको छ । अब आन्दोलनबाट पछि हट्ने कुरा छैन । सडकबाटै सरकारलाई चुनौती दिन्छौ’, उनले भने ।

    कांग्रेसले सोमबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध प्रदर्शन र सभा गर्दैछ ।