Tag: नयाँ मन्त्री

  • नेकपा एसका नयाँ मन्त्रीको सपथ आज

    नेकपा एसका नयाँ मन्त्रीको सपथ आज

    काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् ।

    नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर उनीहरुको नाम सिफारिस गरेको थियो ।

    स्वास्थ्य राज्मन्त्री भवानी खापुङको भने स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएको छ । पार्टी सिफरिसअनुसार श्रेष्ठलाई पर्यटन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।

    नेकपा एसले नयाँ मन्त्रीको नाम हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।

  • सिंहदरबारभित्रको चहलपहल : नयाँ मन्त्रीलाई खादा लगाउन आउनेको ताँती

    सिंहदरबारभित्रको चहलपहल : नयाँ मन्त्रीलाई खादा लगाउन आउनेको ताँती

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पदभार ग्रहण गरेको आज चार दिन बितेको छ । यतिबेला प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई शुभकामना र बधाइ ग्रहण गर्दैमा फुर्सद छैन । प्रधानमन्त्री देउवाले सपथ लिएकै दिन गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्र कार्की र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा पम्फा भुसाललाई नियुक्त गरेका थिए । चारै मन्त्रीले भोलीपल्ट बुधबार पदभार ग्रहण गरे । त्यसयता उनीहरुलाई बधाइ खान र खादा लगाउन भ्याइनभ्याइ छ ।

    बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक सकिएलगत्तै चारै जना मन्त्री आ–आफ्नो मन्त्रालयको कार्यकक्षतिर लागे । मन्त्रीहरु आफ्नो मन्त्रालयमा पुग्दा पहिल्यै त्यहाँ बधाई दिन आएका नेता–कार्यकर्ताको भिड जम्मा भइसकेको थियो । चारैजना मन्त्रीको कक्ष तथा सचिवालय भरिभराउ थिए । प्रधानमन्त्री कार्यालयमा समेत पालैपालो एक हुल जाने एक हुल फर्किने भइरहेको थियो । मन्त्रिपरिषद् बैठक चलिरहेकै बेला पनि उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको महासंघको टोली प्रधानमन्त्रीलाई बधाई दिएर फर्किएको थियो ।

     

    दिउँसो तीन बजेतिर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको कार्यकक्षमा पुग्दा नेता तथा कार्यकर्ताको एउटा टोलीले बधाई तथा शुभकामना दिइरहेको थियो । अर्को कक्षमा अर्को टोली बधाई दिनका लागि पालो पर्खिरहेको थियो । भर्खरै नियुक्त भएका मन्त्रीको सचिवालय बिस्तार भइनसकेकाले सचिवालयमा रहेका दुई महिलालाई मन्त्रीसँग भेट्ने पालो मिलाउन हम्मेहम्मे परिरहेको थियो ।

    साढे तीन बजे अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षमा पुग्दा भने उनको सचिवालयमा सबैलाई प्रवेश गर्न कडाई गरिएको थियो । हामीलाई पनि भित्र जान दिइएन ।

    मन्त्रीको कक्षभित्र नै धेरैजना भएकोले बाहिर त्यतिधेरै भेट्ने मान्छे थिएनन् । मन्त्रीको सचिवालयमा भने तीनजना पालो पर्खेर बसिरहेका थिए । उनीहरुमध्ये एक जना युवा लामो समयदेखि कुर्दाकुर्दै थाकेर बसकै ठाउँमा निदाइरहेका भेटिए । हामी बाहिरिँदै गर्दा सांसददेखि सर्वसाधारण छिरिरहेका थिए ।

    यसअघिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले गृह मन्त्रालय सरेको छ । सिंहरदरबारको गेट प्रवेश गरेलगत्तै अधिकांश मन्त्रालयमा सजिलै नागरिकले छिर्न पाउने भए पनि गृह मन्त्रालयमा भने छिर्न त्यति सजिलो छैन । हामीलाई सूचना विभागको पास देखाउँदा पनि जान दिइएन । मन्त्रालयको गेटमा रहेका सुरक्षाकर्मीले एउटा फोन नम्बर दिँदै त्यहाँबाट आउन स्विकृति दिए मात्र भित्र छिर्न दिने बताए । उनकै सल्लाहअनुसार त्यस नम्बरमा फोन गरेर हामी मन्त्रीको कार्यकक्षमा पुग्यौं ।

    हामीलाई जस्तै अरुलाई पनि गृहमन्त्री बालकृष्ण खाँडलाई भेट्न सजिलो नहोला भन्ने हाम्रो सोच भने गलत सावित भयो । मन्त्रालयमा मन्त्रीको कक्षदेखि बाहिरसम्म मन्त्रीलाई भेट्नका लागि लाईन नै लागेको थियो ।

    हामी पुग्दै गर्दा युथ कांग्रेस नेपालको एक टोली गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाउदैँ थियो । ज्ञापनपत्रको विषय थियो, माइतीघर मण्डला लगायत काठमाडौंका धेरैजसो स्थानमा काठमाडौं जिल्ला प्रशासनले लगाएको अनावश्यक निषेधित क्षेत्र हटाउनुपर्ने । मन्त्रीले ज्ञापनपत्र बुझ्दै राष्ट्रिय संयोजक सचिन तिमल्सेनालाई प्रश्न गरे, ‘तपाई अहिले मेरो ठाउँमा भएको भए र म तपाईको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो ?’

    मन्त्रीले यस्तो भनेपछि सुरुमा त सचिन अक्मकिए । फेरी पनि मन्त्रीले बुझाउँदै भने, ‘तपाई अहिले गृहमन्त्री भएको भए र म तपाईको जसरी माग गरेर आएको भए तपाई मलाई के जवाफ दिनुहुन्थ्यो वा के भन्नुहुन्थ्यो ?’

    सचिनले जवाफ दिए, ‘सर्वोच्च अदालतले दिएको आदेशअनुसार म निर्णय गर्थे ।’ अनि मन्त्री खाँडले फेरी प्रश्न गर्दै भने, ‘त्यसो भए म अहिले के गरौ ?’

    सचिनले जवाफ दिदैँ भने, ‘सर्वोच्च अदालतको आदेश अनुसार निर्णय गर्नुपर्यो ।’

    मन्त्रीले ज्ञापन पत्रमा तोक लगाएर लेखे, ‘सचिव ज्यू, आवश्यकताअनुसार कारवाही प्रक्रिया अघि बढाउनु ।’ लेखेको कुरा मन्त्री खाँडले उनीहरुलाई सुनाए पनि । यति भनेपछि उनीहरुले सँगै फोटो खिचाए र बिदा भए ।

    यो टोली बिदा हुनेबित्तिकै मन्त्रीको कार्यकक्षमा आइपुगे राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी । उनले पनि बोकेको खादा ओढाउँदै मन्त्री खाँडलाई बधाई दिएर आफ्नो कुरा राखे । उनले बोलेको हामीले राम्ररी सुनेनौं ।

    मन्त्री खाँडले उनलाई भने, ‘बिहानसम्म आएको भए आजकै मन्त्रिपरिषद् बैठकमा लिएर निर्णय गथ्र्यौ, ढिलो गरेर भन्नुभयो । लेखेर पठाउनुहोला । अर्को मन्त्रिपरिषद् बैठकमा निर्णय गरौला ।’ यति आश्वासन पाएपछि मुस्लिम आयोगको अध्यक्ष अन्सारी पनि बिदा भए ।

    अन्सारीले खादा लगाउदैँ गर्दा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा पनि मन्त्रीको कार्यकक्षमा आइपुगे । उनी त्यो भिडभाडलाई छिचोल्दै मन्त्रीको गोप्य कक्षमा गएर बसे । उनले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडसँग करिब आधा घन्टा भेटघाट गरे । डीआईजीपी सहकुलबहादुर बहादुर थापालाई एआईजीपीमा बढुवा गरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीपीको सरुवा गरेको थियो । उक्त सरुवा वर्तमान सरकारले रद्द गर्न लागेको केही सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । तर खाँडले भने त्यो समाचार असत्य भएको बताएका छन् ।

    करिव साढे चार बज्दै गर्दा हामी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुग्यौ । मन्त्रालयको ढोकामा भेटिइन्, नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल । कहाँ आउनुभएको थियो भन्ने प्रश्नमा उनले भनिन्, संसदीय दलको कार्यालयमा थिए । फर्किदैँ गर्दा मन्त्री ज्यूलाई भेटेर बधाई दिउँ भनेर आएको ।’

    मन्त्रीको कार्यक्षमा पुग्दा आगन्तुकहरु बाक्लै संख्यामा थिए । मन्त्रीको कक्षदेखि बाहिरसम्म भरिभराउ नै थियो । एक हुलसँगै हामी पनि मन्त्रीको कक्षमा छिरेपछि मन्त्रीले एक छिन फर्किन आग्रह गरे । उनले भने, ‘भारतीय राजदूतावासबाट भेटघाटका लागि आउनुभएको छ । म उहाँसँग छोटो भेटघाट गर्छु त्यसपछि तपाई बसौंला ।’

    नयाँ मन्त्रिमण्डल गठन भएको महिनौ दिनसम्म मन्त्रीले बधाई खाने चलन नयाँ होइन । नयाँ मन्त्री नियुक्त भएसँगै नेता कार्यकर्ताको भिडले मन्त्रालयको काम समेत प्रभावित हुने गरेको छ । महिनौ दिनसम्म मन्त्रीले मन्त्रालयको काम भन्दा पनि नेता तथा कार्यकर्ताको भेटघाटलाई नै समय दिनुपर्दा मन्त्रालयका उच्च अधिकारीदेखि कर्मचारी समस्यामा पर्ने गरेका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा अन्तिम चरणमा नियुक्त भएका १९ दिने र १३ दिने मन्त्री बधाई तथा शुभकामना लिइसक्न नभ्याउँदै घर फर्केका थिए ।

  • को को बन्ने भए नयाँ मन्त्री (सूचीसहित)

    को को बन्ने भए नयाँ मन्त्री (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    १. नारदमुनी राना, वनमन्त्री

    २. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    ३. खगराज अधिकारी, गृहमन्त्री

    ४. नैनकला थापा, संचारमन्त्री

    ५. ज्वालाकुमारी साह, कृषिमन्त्री

    ६. . राजकिशोर यादव, उद्योगमन्त्री

    ७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

    ८. आशा विक, वनराज्यमन्त्री

  • कर्णालीमा तीन मन्त्री थपिए, नरेश र विमलाको राजीनामा

    कर्णालीमा तीन मन्त्री थपिए, नरेश र विमलाको राजीनामा

    सुर्खेत । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री थपेका छन् ।

    नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली  रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

    शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको छ ।

    ‘आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिनु भएको छ ’, स्रोतले भन्यो ।

    मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाहपश्चात सपथग्रहणको कार्यक्रम तय हुने बताइएको छ ।

  • भिडियो र तस्बिरमा हेर्नुस् नयाँ मन्त्रीको पदभार ग्रहण

    भिडियो र तस्बिरमा हेर्नुस् नयाँ मन्त्रीको पदभार ग्रहण

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि केही मन्त्री बहिर्गमन भए । उनीहरुले छाडेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले तत्कालै नयाँ मन्त्री नियुक्त मात्र गरेनन्, कतिपय मन्त्रीको मन्त्रालय परिवर्तन समेत गरे ।

    शुक्रबार नियुक्त भएका मन्त्रीहरुले आइतबार आ-आफ्नो पदभार ग्रहण गर्दै सरकारको मुख्य काम प्रतिनिधिसभाको निर्वाचन गर्ने रहेको बताए ।

    टोपबहादुर रायमाझी

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनको निम्ति आफू सरकारमा आउनुपरेको बताए । उनले देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु अनिवार्य आवश्यकता रहेको प्रष्ट पारे ।

    प्रभु साह

    शहरी विकास मन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको भन्दै मन्त्रालयले निर्वाचन केन्द्रित काम गर्ने बताए ।

    मणिचन्द्र थापा

    खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको धारणा राखे ।

    भानुभक्त ढकाल

    स्वास्थ्यबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताए ।

    दावा लामा

    युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    हृदयेश त्रिपाठी

    संघीय मामिलाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने प्रतिबद्धता पनि जनाए ।

    पद्मा अर्याल

    भूमि व्यवस्था मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी पद्मा कुमारी अर्यालले कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउने दायित्व मन्त्रालयको भएको बताइन् । मन्त्री अर्यालले सात वटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत बताइन् ।

    प्रेम आले

    नवनियुक्त वनमन्त्री प्रेम आलेले आफू निर्वाचन गराउने प्रधानमन्त्रीको संकल्प पूरा गर्न आएको भन्दै मन्त्रालयका दैनिक काममा हस्तक्षेप नगर्ने बताए । तर वन तथा वातावरणको क्षेत्रमा दीर्घकालीन रुपमा मुलुकले फाइदा लिने खालका नीतिगत काम अघि बढाउने प्रष्ट पारे ।

    जुलीकुमारी महतो

    नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले प्रतिनिधिसभा विघटन बाध्यात्मक परिस्थितिमा भएकाले अब त्यसको पुनर्स्थापना नहुने बताइन् । उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको हितमा आफूले नीतिगत काम गर्ने बताइन् ।