Tag: नयाँवर्ष २०७८

  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपाली नयाँवर्षको शुभकामना

    अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपाली नयाँवर्षको शुभकामना

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।

    बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँवर्षको लागि शुभेच्छा व्यक्त गरेका हुन् ।

    राष्ट्रपतिले सबैको परिवारमा समृद्धि र उज्यालोको कामना पनि गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुले पनि बिक्रम सम्बत नयाँ बर्ष मनाइरहेका छन् भने भारतीय लगायत दक्षिण एसियाका अन्य हिन्दु समुदायले बैशाखी मनाएका छन् ।

    बाइडेनले नेपाली लगायत बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसु नयाँ बर्षको समेत शुभकामना दिएका छन् ।

  • ‘न्यू इयर इभ’ मा गुलजार काठमाडौं (तस्बिरहरु)

    ‘न्यू इयर इभ’ मा गुलजार काठमाडौं (तस्बिरहरु)

    काठमाडौं । नयाँ वर्ष २०७८ आजबाट प्रारम्भ भएको छ । कोरोनाका कारण यसपाली खुलेर नयाँ वर्ष मनाउन नसके पनि ‘न्यू इयर इभ’मा काठमाडौका केही स्थानमा रातिसम्म चहलपहल देखिएको थियो ।

    दरबारमार्ग, न्यूरोड, असन लगायत क्षेत्रहरुमा काठमाडौंवासी ‘न्यू इयर’ मनाउन निस्केका थिए । पसलहरु पनि अबेरसम्म खुलेका थिए । होटल–रेस्टुरेन्टहरुमा पनि रौनक थियो ।

    तथापि, पहिलेजस्तो उत्सवको माहोल भने यसपाली नभएको व्यवसायीले बताएका छन् ।

    हेर्नुस नयाँ वर्षको अघिल्लो दिन राति खिचिएका केही तस्बिर:

              
  • एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

    एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

    काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेस नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् ।

    नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखको नाम नलिइकन सापकाेटाले संविधान नमानेको आरोप लगाए ।

    ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि राेक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’

     

  • प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

    प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्वोधन गर्दै उनले कोभिड-१९ ले पूर्णरुपमा प्रभावित बनाए पनि २०७७ साललाई निरर्थक हुन नदिइएको दावी गरे ।

    प्रधानमन्त्री ओलीले भने, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’

    उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

    सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनले बताए ।

    ‘हामीले धेरै आशा जगाउने काम गरेका छौं । केही पनि भएन भनेर जनतामा असन्तुष्टि जगाउने प्रयास भए पनिसरकार विचलित भएन । सरकारका क्रियाकलापप्रति भरोसा जगाउने कामहरु लगातार गर्‍यौं,’ आलीले भने ।

    कोभिडको महामारी न्यूनीकरण हुँदै गए पनि चैतबाट फेरि यसको प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह गरे ।

    ‘७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस । तीव्र संक्रमण र जनधनको क्षति हुन नपाओस, अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस भनेर हामी सजग हुनुपर्छ । त्यसैले सरकारले जारी गरेका मापदण्डहरुका पालना गर्न म सबैमा आग्रह गर्छु,’ ओलीले भने ।

  • नयाँ वर्षमा राष्ट्रपतिको समीक्षा- नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता

    नयाँ वर्षमा राष्ट्रपतिको समीक्षा- नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् ।

    नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी हुन् ।

    उनले संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुशी प्रतिवेदन–२०२१ मा नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनुजस्ता कार्य सकारात्मक उपलब्धि भएको जनाइन् ।

    ‘तथापि कोरोनाको कहर हाम्रासामू अझै चुनौतीको रूपमा उभिएकै छ । कोभिड–१९ विरुद्धको खोप क्रमशः सबै नागरिकका लागि उपलब्ध हुँदै जानेछ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वसावधानीका उपाय अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्नका लागि म सबैलाई आह्वान गर्दछु’, राष्ट्रपति कार्यालयबाट जारी शुभकामना सन्देशमा भनिएको छ ।

    उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनःनिर्माण सम्पन्न हुनुका साथै चिर प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण शुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धिको रूपमा लिन सकिने पनि जनाइन् ।

    राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘समयरूपी नदी निरन्तर बगिरहेको छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । जुन राष्ट्रले अमूल्य समयको अधिक उपयोग गर्न सके, ती राष्ट्रले सामाजिक आर्थिक विकासका शिखर चुमेका छन् । हामीले पनि समयको महत्वलाई आत्मसात् गर्दै पूर्वाधार विकासको प्रक्रियामा तीव्रतम रूपमा अगाडि बढ्नु पर्दछ ।

  • नयाँ वर्षका दिन पशुपतिनाथमा दर्शनार्थीलाई विशेष व्यवस्था

    नयाँ वर्षका दिन पशुपतिनाथमा दर्शनार्थीलाई विशेष व्यवस्था

    काठमाडाैं । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिएका छन् ।

    पश्चिम मूल ढोकाबाट दर्शन गर्न चाहने भक्तजनका लागि प्रवेश गराउने तयारी छ । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको उनले बताए ।

    पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी मनाइँदै छ ।

    चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत ३१ गतेदेखि नै शुरु भइसकेको छ । चैत ३१ गतेदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

    वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको राक्षस ४९ औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।

  • आजदेखि नयाँ वर्ष २०७८ सुरु, शुभकामना आनादप्रदान गरी मनाइँदै

    आजदेखि नयाँ वर्ष २०७८ सुरु, शुभकामना आनादप्रदान गरी मनाइँदै

    काठमाडाैं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

    आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् ।

    ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।

    सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ ।
    सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

    हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

    आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।