Tag: धुम्बाराही

  • ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    ‘तपाईंहरूले बच्चालाई ढुंगामा बजारेजस्तै गर्नुभयो, अदालतले मेरो राजनीतिक जीवन जोगायो’

    काठमाडौं । आइतवार साँझ माधव नेपालसहित एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूको संयुक्त वक्तव्य आएपछि अब केपी ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक विभाजित हुँदैछन् भन्ने धेरैको आँकलन थियो ।

    जसरी असोज तेस्रो साता माधव नेपालहरूसहितको सहभागितामा प्रचण्डले ओलीविरुद्ध प्रस्तुत गरेको लिखित ‘अभियोगपत्र’ ले अन्ततः नेकपा फुटेको थियो, लगभग त्यही अवस्थातिर पुनःस्थापित एमाले पुग्न लागेको बेला अचानक दुवै पक्ष एकै ठाउँमा बस्ने वातावरण ओलीले नै तयार पारे ।

    शुरूमा दुवै पक्षबाट चार-चारजना नेता बसेर छलफल गर्ने भनिएपनि धुम्बाराही पुग्दा त्यो संख्या बढेको थियो । झलनाथ खनालको अनुपस्थितिलाई अर्थपूर्णरूपमा लिइए पनि झलनाथसँग नजिक मानिने नेताहरूको समेत सहभागिताले एमाले फुट्न नदिने पहलको शुरूआतका रूपमा लिन सकिन्छ ।

    वार्तामा सहभागी दुवै पक्षका नेताहरूले अनौपचारिक कुराकानीका क्रममा एउटै कुरा भने- हामी भौतिक रूपमा पुस ७ गते केपी ओलीलाई नेकपाका अध्यक्षबाट हटाएको घोषणा गरेकै दिनदेखि फुटिसकेका हौं । अदालतको फैसलाले कानुनी रुपमा एमाले बनाए पनि राजनीतिकरूपमा अहिलेपनि फुटकै अवस्थामा छौं भन्ने आजको वार्तामा पनि प्रकट भयो ।

    एक नेताका अनुसार माधव नेपाल पक्षका अन्य नेताहरू विभाजनको बाटोमा जानु हुँदैन, केही न केही उपाय निकालेर एमाले एकढीक्का राख्नुपर्छ भन्नेमा सकारात्मक देखिए । बरु नेपाल आफैं चाहिँ धुम्बाराहीको वार्तामा आक्रामक रूपमै प्रस्तुत भएको वार्तामा सहभागी नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘अरु साथीहरू मिल्ने ठाउँ खोजौं भन्नेमा सकारात्मक रूपमै आउनुभयो । तर माधव कमरेड चाहिँ एकदमै ‘इरिटेटिङ’ ढंगले प्रस्तुत हुनुभयो । उहाँमा कति पनि रियलाइजेशन देखिएन । बरु हार्डलाइनर भनिएका साथीहरूले सकारात्मक उपाय खोजौं भनेर चिन्तित रूपमा कुरा राख्नुभयो ।’

    वार्तामा महासचिव ईश्वर पोखरेल माधव नेपाल पक्षलाई ‘ह्युमिलियट’ गर्ने ढंगले प्रस्तुत भएको अर्को पक्षको नेताले बताए । पोखरेलले आफ्नो अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग लगाइएकोमा माफी माग्नुपर्ने भन्दै अब एमालेमा बहुकेन्द्र बनाउने र फेरि नेकपाकै बेलाको ‘ल्याङल्याङ’ स्वीकार्य नहुने बताएका थिए ।

    २ घण्टा १० मिटेको छलफलमा ओली र नेपालबीच पटक-पटक सवाल-जवाफ र घोचपेच चलेको थियो । ओलीले बोलिरहँदा नेपालले पटक-पटक आपत्ति जनाएका थिए ।

    प्रधानमन्त्रीको मार्मिक मन्तव्य

    वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए ।

    ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

    ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार-चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

    वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

    नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’

    वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । नेपाल प्रेससँग कुरा गर्दै रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ ।

    फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए ।

  • धुम्बाराही बैठक : नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

    धुम्बाराही बैठक : नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।

    ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भने । नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ गते आयोजना गरिएको विशेष वैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ ।

    पार्टी उपाध्यक्ष भीम रावलले भने, ‘यदि २८ गतेको निर्णय उहाँहरूले फिर्ता लिने हो भने हामी भेला स्थगित गर्न सक्छौं ।’

  • धुम्बाराही बैठक सौहार्दपूर्ण तर निस्कर्षहीन

    धुम्बाराही बैठक सौहार्दपूर्ण तर निस्कर्षहीन

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको वार्ता विनानिष्कर्ष सकिएको छ ।

    वार्ताबाट निस्केका माधव नेपालपक्षीय नेताहरूले वैठक सौहार्दपूर्ण भए पनि निष्कर्ष पुग्न नसकेको बताए ।

    एमाले उपाध्यक्ष भीम रावलले गत २८ गतेको बालुवाटार बैठकबाट लिइएका निर्णय फिर्ता लिनुपर्ने अडान आफूहरुले प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएको बताए ।

    ‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौं । यसका लागि २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्छ । तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार वैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन ’, रावलले भने ।

    आजको वार्तालाई आफूहरुले सकारात्मकरुपमै लिएको रावलले बताए ।

    ‘यति लामो मतभेद एकचोटि बस्दैमा मिल्दैन सक्दैन । तर, बैठकलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने । रावलका अनुसार अर्को छलफलको मिति तय भएको छैन ।

  • धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    धुम्बाराही बैठक : २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

    काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ ।

    वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।

    ‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

  • धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान

    धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई समुहबीच अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा वैठक जारी छ ।

    वैठकको बसाइ व्यवस्थापन हेर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेपाल पक्षलाई पुरानै मर्यादाक्रम अनुसार सम्मान दिएको देखिन्छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको हँसिया-हतौडा अंकित ब्यानरका अगाडि नेताहरुले आसन जमाएका छन् । अगाडिको पंतिमा अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । उनीहरुको वरिपरी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त   छन् ।


    बसाइको स्टाइल राउन्ड टेबल भए पनि सबै नेताहरूलाई छुट्टाछुट्टै टेबलको व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्रीलाई विशेष आसन छैन

    धुम्बाराही वैठकमा बसाइ व्यवस्थापनको अर्को विशेषता भनेको सबैको कुर्सी र टेबल उस्तै छन् । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि विशेष कुर्सी-टेबलको प्रबन्ध हुने गरेको थियो । त्यसलाई लिएर पनि नेपाल पक्षले बेलाबखत असन्तुष्टि जनाउने गरेको थियो । तर, आजको वैठकमा भने ओली र अन्य नेताहरुको कुर्सी-टेबल उही छ ।

    केही दिनअघि बालुवाटारमा ओलीले विशेष वैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत राखिएको संस्थापन पक्षले जनाएको छ । यद्यपि, मिडियामा भने ओलीले महासचिवबाहेक सबै पदाधिकारी हटाएको समाचारहरू आएका थिए । यसले माधव नेपाल समूह सशंकित बनेको थियो ।

    झलनाथ अनुपस्थित

    पार्टी संस्थापनसँग वार्ता गर्न माधव नेपालसहित उनको समूहका ६ जना छन् । संस्थापन पक्षबाट भने पाँच जना उपस्थिति छन् ।

    एमालेका दोस्रो वरियताका नेता झलनाथ खनाल भने धुम्बाराही गएका छैनन् । वार्तामा जानुअघि वानेश्वरमा भएको आपसी वार्तामा भने झलनाथ सहभागी थिए । उनी धुम्बाराही वैठकमा नजानुको कारण भने खुलेको छैन ।

  • विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता

    विवाद मिलाउन एमालेको दुई पक्षबीच धुम्बाराहीमा वार्ता

    काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएपछि दुवै पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।

    धुम्बाराहीस्थित पार्टी कार्यालयमा अहिले छलफल भइरहेको छ । छलफलमा ओलीलगायत नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन् । त्यस्तै माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि सहभागी छन् । नेता झलनाथ खनाल भने गएका छैनन् ।

    पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफल भएको हो ।

  • संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

    संसद विघटनपछि पहिलोपटक माधव समूह धुम्बाराही कार्यालयमा (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको माधव समूह धुम्बाराहीस्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरेको छ । तीन महिनायता पहिलोपटक माधव नेपाल लगायतका नेताहरुले धुम्बाराही कार्यालयमा पाइला टेकेका हुन् ।

    धुम्बाराहीमा नेताहरू आउने क्रम शुरू भएको छ ।अध्यक्ष ओली, माधव नेपाल, विष्णु पौडेल सुवास नेम्वाङ, भीम रावललगायतका नेता आइपुगेका छन् । पार्टी कार्यालय वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा संसद विघटन गरेकी थिइन् । त्यसले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा अनौपचारिक विभाजन ल्यायो र दुई समूह अलगअलग भए ।

    विभाजनसँगै आ-आफ्नो लिगेसीअनुसार नेकपाको धुम्बाराही कार्यालय ओली पक्षले र पेरिसडाँडा कार्यालय प्रचण्ड-माधव पक्षले प्रयोग गर्दै आएको थियो । त्यसयता ओली समूहका नेता पेरिसडाँडा पुगेका छैनन् भने माधव नेपाल समूह धुम्बराही धाएको थिएन ।

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्यूँताइदिएपछि फेरि ओली-नेपाल-खनाल एउटै पार्टीमा आइपुगेका छन् । एमाले अध्यक्ष ओली हुन् भने नेपाल-खनाल वरिष्ठ नेता छन् । फेरि फुटतर्फ अग्रसर भएको एमालेलाई आजको बैठकले एकतातर्फ मोड्ने अपेक्षा नेता-कार्यकर्ताले लिएका छन् ।

  • धुम्बाराहीमा एमालेको साइनबोर्ड, ओली पक्षको अगुवाइमा देशभर नेकपाका बोर्ड हटाइए

    धुम्बाराहीमा एमालेको साइनबोर्ड, ओली पक्षको अगुवाइमा देशभर नेकपाका बोर्ड हटाइए

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राखेको छ ।

    आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेको सानबोर्ड राखिएको छ ।

    अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलवारनै अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका थिए । देशभरका अधिकांश नेकपा कार्यालय भवनहरु एमालेकै भएकाले साइनबोर्डमात्र फेरे पुग्ने भएको हो ।

    नेकपा एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले केन्द्रदेखि सबै तहका कार्यालयहरू अब एमालेकै नाममा फर्किएको बताए ।

    अब सबै संरचनाहरू पनि एमालेकै क्रियाशील हुनेछन् भने यसबीचमा ओली पक्षमा लागेका माओवादी केन्द्रका नेता कार्यकर्ताको समायोजना गरिने उनले बताए ।

  • धुम्बाराहीमा आज एमाले मुख्यालयको बोर्ड र ब्यानर राखिने

    धुम्बाराहीमा आज एमाले मुख्यालयको बोर्ड र ब्यानर राखिने

    रासस । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् ।

    सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाकाे केन्द्रीय कार्यालय रहेको थियो ।

    धुम्बाराहीस्थित एमाले कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । ‘सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामी भोलिदेखि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारीमा रहेका छौं’ उनले भने, ‘मुख्यालयमा पर्सिसम्म एमाले नाम परिवर्तन गरिसक्छौँ । जिल्लास्तरमा पनि पूर्ववत् एमालेको कार्यालय भएको भवनमै कार्यालय रहन्छ ।’

    उनले जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न निर्देशन नदिएको भन्दै तर सर्वोच्चको फैसलापछि जिल्लास्थित पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिन थालेको बताए ।

    २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्युँताएको हो ।

  • नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

    नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

    काठमाडौं । गत महिना पुस ९ गते बबरमहलस्थित कार्की पार्टी प्यालेसबाट केपी ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको घोषणा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाललगायतका नेता तत्कालीन एमाले मुख्यालय बल्खु पुगे ।

    मदन भण्डारीको सालिकअघि उभिएर मुठ्ठी कस्दै उनीहरूले कसम खाए- पार्टीलाई एकढिक्का बनाएर लैजानेछौं ।

    ओलीलाई कारबाही गरेलगत्तै नेतात्रय त्यहाँ पुग्नुको भित्री आशय चाहिँ मदन र तत्कालीन नेकपा एमालेको सम्पत्तिको स्वामित्वमाथि दाबी गर्नु थियो । अर्थात् विभाजनपछिको आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफूहरूकै भएको र पार्टीको सम्पत्तिमाथि पनि आफूहरूकै हक लाग्छ भन्ने सन्देश दिन खोजेका थिए उनीहरूले ।

    सग्लो नेकपाको पनि मुख्यालय बनाउने भनिएको बल्खुमै रहँदा नेताहरूले पार्टी कार्यालयको पुनर्निर्माणको काम चाँडै थाल्ने पनि बताएका थिए । त्यसपछिको विकासक्रम भने नेता त्रयले चाहे झैं भएन ।

    विभाजित नेकपाको ओली पक्षले हालको पार्टी मुख्यालय धुम्बाराहीमा कब्जा जमायो । उपत्यकाबाहिरका तत्कालीन एमाले पार्टी कार्यालय बनाइएका भवन पनि एकपछि अर्को गर्दै ओली पक्षले आफ्नो पकडमा लिन थाल्यो ।

    त्यसपछि आफू नै ‘ओरिजिनल एमाले’ भन्ने नेता नेपालले लगातार असन्तुष्टि जनाइरहेका छन् । आधिकारिक नेकपा नै आफूहरू भएकाले पूर्व माओवादीको मात्रै होइन पूर्व एमालेका सबै भवन र सम्पत्ति आफ्नै हुने दाबी उनले निरन्तर गरिरहेका छन् ।

    धुम्बाराही मुख्यालय र जिल्ला पार्टी कार्यालयहरूमा ओली पक्षले जमाएको पकडलाई उनले बलजफ्ती भनेका छन् । केही दिनअघि याक एण्ड यती होटलमा सम्पादकहरूसँगको छलफलमा पनि नेपालले धुम्बाराहीमा जान नपाएपछि पेरिसडाँडालाई केन्द्रीय कार्यालय बनाइएको बताएका थिए ।

    माथिका सबै सन्दर्भले पार्टीको आधिकारिकता मात्रै नभई, पार्टी सम्पत्तिलाई लिएर पनि विभाजित नेकपाका दुई पक्षबीच पेचिलो लडाइँ हुने संकेत गर्छन् ।

    पूर्व समूह अनुसार कार्यालय

    पार्टी कार्यालय र सम्पत्तिलाई लिएर दाबी भइरहे पनि अहिले विभाजित नेकपाका दुवै पक्षले दुई फरक ठाउँबाट गतिविधि संचालन गरिरहेका छन् ।

    ओली पक्षले पूर्व एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीबाट र प्रचण्ड-माधव पक्षले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट काम गरिरहेको छ । पार्टी विभाजनपछि एक पटक पनि प्रचण्ड-माधव पक्ष धुम्बाराही पुगेको छैन । ओली पक्ष पनि पेरिसडाँडा पुगेको छैन । ओली पक्षले पेरिसडाँडासहित पूर्व माओवादीको कुनै पनि चल–अचल सम्पत्तिमा दाबी नगर्ने बताइसकेको छ ।

    पार्टी कार्यालय मात्र होइन संसदीय दलको कार्यालय पनि ओली पक्षले तत्कालीन एमालेको प्रयोग गरिरहेको छ भने प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादी दलको कार्यालय प्रयोग गरेको छ ।

    ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ । दाबी मात्रै होइन, हाम्रै हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतैबाट संचालन गरिरहेको मात्रै हो ।’ –  श्रीराम ढकाल ( पेरिसडाँडा पार्टी कार्यालय सचिव)

    तत्कालीन एमाले दलको कार्यालयमा दलको नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको नेमप्लेट झुण्डिएको छ । उता तत्कालीन माओवादी केन्द्रको संसदीय कार्यालय रहेको भवन अहिले प्रचण्ड-माधव पक्षले उपयोग गरिरहेको छ । संसदीय दलका नेता प्रचण्ड, प्रमुख सचेतक देव गुरुङलगायतको कार्यालय त्यतै छ ।

    ओलीपक्षीय नेकपाका नेता महेश बस्नेत पूर्व माओवादीका पार्टी कार्यालयहरू प्रचण्ड–माधव पक्षको हुने र साविक एमालेका कार्यालय र सम्पत्ति आफूहरूको हुने लगभग सहमति जस्तै बनिरहेको बताउँछन् ।

    बस्नेतले नेपाल प्रेससँग भने- पहिलेको एमालेको लिगेसी स्वाभाविक रूपमा केपी ओलीसँग हुनेभयो । त्यसो हुनाले स्वाभाविक रूपमा साविक एमालेका कार्यालय र सम्पत्ति केपी ओलीको पक्षमा छ । उहाँहरूले सहज रूपमा छोड्नुभएको छ । उहाँहरूको बनिबनाउ बुझाइ के छ भने माओवादीको पेरिसडाँडादेखि हिजोको माओवादीको सम्पत्ति र कार्यालयहरू उहाँहरूको हुन्छ र हिजोको एमाले केपी ओलीको हुन्छ । यसमा एउटा सहमति जस्तै भएको छ ।

    के होला बल्खु ?

    प्रचण्ड-माधवपक्षीय नेकपाका नेता अमृतकुमार बोहोरा बल्खुस्थित कार्यालयसँग भावना जोडिएको बताउँछन् । ‘बल्खुसँग हाम्रो भावना जोडिएको छ’ उनी भन्छन्, ‘मैले पनि त्यहाँ लामो समय बिताएँ । माधव कमरेडले पनि लामो समय महासचिव रहँदा त्यहीं बिताउनुभयो । त्यसैले हाम्रो भावनासँग जोडिएको स्थानलाई छाड्ने भन्ने हुँदैन ।’

    हाल प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्ष रहेको नेपालले पनि पटक-पटक यस्तै प्रसंग उठाउने गरेका छन् ।

    ७ रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन एमालेको पार्टी कार्यालय १२ वैशाख २०७२ मा आएको भूकम्पले भत्किएपछि त्यसलाई भत्काएर नयाँ भवन बनाउने योजना एमालेको थियो । दुई पार्टी एकीकरण (३ जेठ २०७५) पछि बनेको नेकपाले पनि बल्खुमै मुख्यालय बनाउने निर्णय गरेको थियो ।

    माघ १५-१९ (२०७६) मा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले कार्यसम्पादन गर्न अनुकूल हुने गरी तीन महिनाभित्र पार्टी कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो । त्यस्तै २९ मंसिरदेखि ६ पुस (२०७६) सम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयको स्वागत गर्दै तीन महिनाभित्रै शिलान्यास गर्ने निर्णय गरेको थियो ।

    योजना अनुसारै काम भएको भए बल्खुमा नेकपाको नयाँ मुख्यालय भवन शिलान्यास भई केही संरचना बनिसकेको हुनेथियो । तर, नयाँ मुख्यालय भवन बनाउने कुरामा शून्य प्रगति छ । भवन भन्नुअघि नै पार्टीमा विभाजन आइसकेकाले त्यो अलपत्र पर्ने अवस्था छ ।

    भाडाको साँघुरो घरमा बस्नु पर्दा काममा कठिनाइ उत्पन्न भइरहेको र मनोवैज्ञानिक सन्देश समेत राम्रो नगएको उतिबैले नेकपाले ठहर गरेको थियो ।

    ‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ’ स्थायी कमिटी बैठकपछि १० पुसमा जारी ७ बुँदे ‘अन्तरपार्टी निर्देशन-३’ मा भनिएको छ, ‘देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन।’

    तत्कालीन एमालेले बल्खुमा कार्यालय निर्माणका लागि २०४८ देखि पार्टीका सांसद र सर्वसाधारणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले सात रोपनी जग्गा किनेको थियो । त्यही जग्गामा २०५० मा करिब एक करोड ५० हजार रुपैयाँ खर्च गरेर भवन बनाइएको थियो ।

    मदन नगरमा आधुनिक र सुविधासम्पन्न पार्टी कार्यालय बनाउने योजना नेकपाको थियो । त्यसै अनुसार तत्कालीन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत बनाइएको थियो।

    नेकपाले आफ्नो भवन निर्माण गर्न ‘पार्टीका सम्पूर्ण सदस्यहरूलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न’ अपिल पनि गरेको थियो ।

    धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन भने भाडाको हो । नेकपाले मुख्यालयको रूपमा प्रयोग गरेको उक्त भवनको मासिक भाडा रु.१ लाख ८० हजार तिर्ने गरेको छ । त्यस्तै, पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको मुख्यालयलाई जनवर्गीय संगठनको कार्यालयको रूपमा प्रयोग गरिएको थियो ।

    ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ । महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’ – ईश्वरी रिजाल (धुम्बाराही कार्यालय सचिव)

    आफ्ना नेता मदन भण्डारीको नाममा मदननगर नामकरण गरेको तत्कालीन एमाले पक्ष उक्त ठाउँमा पार्टी कार्यालय बनाउने कुरालाई भावनात्मक रूपमा लिन्छ ।

    साविक एमाले दुई पक्षमा विभाजित भइसकेको अवस्थामा कसले त्यो पाउने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ । तर, ओली पक्षीय नेता बस्नेत माधव नेपाललगायतलाई भाइ अंश पनि नलाग्ने बताउँछन् ।

    उनको तर्क छ- भाइ अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो । त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । प्रचण्ड कमरेडसँग माधव कमरेड गएको भनेको चाहिं प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै ¥याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

    आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने दाबी

    ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू बहुमतमा रहेको दाबी पेश गर्दै आफ्नो पार्टीले आधिकारिकता पाउने र सबै सम्पत्ति पनि आफ्नै हुने जिकिर गरिरहेको छ । शीर्ष नेताहरू समेत यसबारे मुखै खोलेर बोलिरहेका छन् ।

    पेरिसडाँडा पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य श्रीराम ढकाल आफ्नो बहुमत भएकोले सम्पत्ति पनि आफूहरूकै हुने दाबी गर्छन् । ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ’ उनी भन्छन्, ‘दाबी मात्रै होइन, हामै्र हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतै (पेरिसडाँडा) बाट काम संचालन गरिरहेको मात्रै हो ।’

    उनी निर्वाचन आयोगले गर्ने फैसलाका आधारमा पनि यो विषय टुंगिने बताउँछन् । ढकाल भन्छन्- यो विस्तारै मिल्ला । निर्वाचन आयोगले के गर्छ अनि टुंगिन्छ सबै ।

    धुम्बाराही कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजाल भने एमालेजति सबै आफूतिर भएको दाबी गर्दै सम्पत्ति पनि आफूहरूकै तर्क गर्छन् । ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ’ उनको भनाइ छ, ‘महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’