Tag: धितोपत्र बोर्ड

  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ दलभित्रै रस्साकस्सी, देउवा र प्रचण्डको आ-आफ्नै लबिङ

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ दलभित्रै रस्साकस्सी, देउवा र प्रचण्डको आ-आफ्नै लबिङ

    काठमाडौं । सत्तागठबन्धनको भागबण्डाको चपेटामा विभिन्न राजनीतिक नियुक्ति हुने निकायहरू परेका छन् । यसको पछिल्लो मारमा सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड परेको छ ।

    तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सत्तारुढ घटक कांग्रेस र माओवादीको स्वार्थ बाझिएपछि नियुक्ति प्रक्रिया अनिश्चित भएको छ ।

    ढुंगानालाई निलम्बन गरेर दुई महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढेको थियो । ११ कात्तिकको विज्ञापनअनुसार अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिए पनि छनोट तथा सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्न सकेन ।

    र, आज पुन: अर्को सूचना निकालेर २९ पुसभित्र आवेदन मागिएको छ । यसअघि आवेदन दिएकाहरूलाई पनि फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन सूचनामा भनिएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले अर्थमन्त्रालय आफ्नो भागमा परेको र सोमन्त्रालय अन्तर्गतको विभाग र बोर्डहरूको नियुक्ति आफूले पाउनुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ । तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा माओवादीलाई दिने पक्षमा छैनन् ।

    केही समयअघि पार्टीको कार्यक्रममा प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पूँजीको लगानी पूँजीबजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए । नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको समयमा प्रचण्डको यो अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।

    देउवाले बोर्डको अध्यक्षमा रमेश हमाललाई ल्याउँन चाहेका छन् । हमालले यूएनमा समेत काम गरिसकेका छन् । हमाललाई अध्यक्ष बनाउनका लागि अर्थमन्त्री र प्रचण्डसँग लबिङका लागि प्रधानमन्त्रीपत्नी आरजु राणा र पूर्वअर्थमन्त्री रामशरण महतलगायतको दौडधुप छ ।

    यता प्रचण्डको नजर चिरञ्जीवी चापागाईंमा छ । चापागाईंले नेपाल राष्ट्र बैंकमा र बीमा समितिको अध्यक्ष भइ काम गरेका थिए । अर्थमन्त्री जनार्दन शर्मा र माओवादीका अध्यक्ष प्रचण्ड पनि चापागाईंलाई अध्यक्ष बनाउने पक्षमा रहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पनि अर्थतन्त्र बुझेको व्यक्ति भएको भन्दै चापागाईंको पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

    पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः आवेदन खोलेर खेल सुरू गरेको टिप्पणी गरेका छन् ।

    क्षेत्रीले भने, ‘धितोपत्र बोर्डमा अर्थतन्त्र बुझेको र काम गरेको व्यक्तिलाई नै अध्यक्ष बनाउदा राम्रो हुन्छ । चिरञ्जीवी चापागाईंले नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका छन् । त्यसपछि उनले बीमा समितमा पनि अध्यक्षको रुपमा काम गरेकाले उनी बार्डको अध्यक्ष हुन योग्य व्यक्ति हुन् । नेपालमा राम्रा भन्दा पनि हाम्रा मान्छेलाई नियुक्ति दिने प्रचलन छ । सरकारले नियुक्ति दिदा त्यो क्षेत्रमा बुझेको मान्छे ल्याउँदा देशका लागि राम्रो हुन्छ । तर दोस्रो पटक आवेदन निकाल्नु राम्रो कुरा हैन । त्यहाँ केही केही भइनै रहेको छ भनेर बुझ्नुपर्छ ।’

    पहिलेको सूचनाअनुसार यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जिवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

    पहिलेको अध्यक्ष छनौट समितिमाथि नै प्रश्न उठेपछि मन्त्रिपरिषद् बैठकबाट नयाँ समिति गठन भएको छ । सो समितिले ३ जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि केही निर्णय गर्न सकेन ।

    नयाँ छनौट समितिको नेतृत्वमा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल छन् । सो छनौट समितिमा पनि पौडेल नै अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जिवनाथ भुसाल रहेका छन् । पहिले पनि छनौट समितको नेतृत्व पौडेलले नै गरेका थिए ।

  • धितोपत्र बोर्डको अध्यक्षका लागि १२ जनाको पर्‍याे आवेदन, संभावना कसको बलियो ?

    धितोपत्र बोर्डको अध्यक्षका लागि १२ जनाको पर्‍याे आवेदन, संभावना कसको बलियो ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड ‘सेबाेन’ को अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन बिहीबारसम्म १२ जनाको आवेदन परेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

    १२ जना मध्ये धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी र उपकार्यकारी निर्देशक नवराज अधिकारीले समेत आवेदन दिएका छन । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ का पूर्व कार्यकारी अधिकृत सिताराम थपलिया र बीमा समितका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाइं लगायतको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ ।

    यसैगरी केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, हेमन्त बस्याल,जीवन अमगाई र अम्बिका शर्मा लामिछानेको पनि आवेदन परेको स्रोतले बताएको छ ।

    यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना सेयर विवादमा मुछिएपछि उनलाई सरकारले निलम्वित गरेको थियो । त्यसपछि रिक्त रहेको बोर्ड अध्यक्ष खुल्ला प्रतिस्पर्धामार्फत छनौट गर्ने भन्दै अर्थमन्त्रालयले सिलबन्दी आवेदन आव्हान गरेको थियो ।

    बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा तीन सदश्य सिफारिस समिति गठन भएको थियो । सिफारिस समितिले १५ दिनको समय दिएर कात्तिक ११ मा शिलबन्दी आवेदन आह्वान गरेको थियो । समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र प्राडा नारायण पौडेल रहेका छन् ।

    सिफारिस समितिले अब १२ जना मध्ये ३ जनाको नाम सिफारिस गर्नेछ । तीन नाम मध्ये मन्त्रिपरिषदले १ जनालाई बोर्डको अध्यक्षको रुपमा चयन गर्नेछ ।

    यसअघिका बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोतम सिमेन्टको सेयर विवाद प्रकरणमा मुछिएपछि बोर्डबाट ढुंगाना निलम्वित भएका थिए । नेपालको सेयर बजार इतिहासमै पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत सेयर निष्कासन गर्न लागेको सर्वोतम सिमेन्टको ६० लाख कित्ता सेयर निष्कासन पूर्व नै नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज(नेप्से) का प्रमुख कार्यकारी निर्देशक चन्द्रसिंह साउद र बोर्डका सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर खरिद गरेको तथ्य फेला परेपछि तिनै जना विवादमा तानिएका थिए ।

    ११ हजार ९१२ कित्ता ढुंगानाले आफ्नी छोरी रेविका ढुंगानाको नाम र चन्द्रप्रसाद ढकालले १ लाख १९ हजार ११७ कित्ता आफ्ना भाई हेमराज ढकालको नाममा सर्वोतमको सियर खरिद गरेका थिए । तत्कालिन नेप्सेका सीइओ चन्द्रसिंह साउदले आफ्नी श्रीमती सुसिलाकुमारी बोहोराको नाममा १० हजार कित्ता सेयर अगाडी नै खरिद गरेको देखिएको थियो ।

    नेप्सेका सीईओ चन्द्रसिंह साउद र बोर्ड सदस्य तथा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नैतिकका आधारमा राजीनामा दिएपनि बोर्डका अध्यक्ष ढंगानाले राजीनामा दिन नमानेपछि भदौ १६ गते अर्थमन्त्रायको प्रस्तावमा मन्त्रिपरिषदले उनलाई निलम्बित गर्ने निर्णय गरेको थियो ।

  • बैंक खातामा नगद लाभांश पठाउँदा प्रष्ट जानकारी खुलाउन धितोपत्र बोर्डको निर्देशन

    बैंक खातामा नगद लाभांश पठाउँदा प्रष्ट जानकारी खुलाउन धितोपत्र बोर्डको निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा खुलाएर खातामा पठाउन निर्देशन दिएको छ ।

    बोर्डले सेयरधनीको बैंक खातामा कुन कम्पनीको लाभांश भन्ने कुरा नै नखुलेको गुनासो आएपछि स्पष्ट खुलाएर पठाउन निर्देशन दिएको हो ।

    ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफैँ जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रारमार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेन्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल) को नाम मात्र आउने गरेकाले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांश हो स्पष्ट हुन नसकेको र हिसाब-किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको छ’, बोर्डले भनेको छ ।

    अब कम्पनीहरूको सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनुपर्नेछ ।

    साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रूपमा सूचित गर्नुपर्ने विषयहरू स्पष्टरूपमा खुलाइ पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरूलाई जानकारी गराएको छ ।

  • धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने

    धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने

    काठमाडौं । धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    ढुंगानामाथि कानूनविपरीत छोरीका नाममा सर्वोत्तम सिमेन्टको १२ हजार सेयर खरिद गरेको आरोप छ । यसअघि सो प्रकरणमा छानविनका लागि सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति बनाएको थियो ।

    सो समितिले ढुंगानालाई कारवाही गर्नुपर्ने ठहरसहितको प्रतिवेदन अर्थमन्त्रालयलाई बुझाइसकेको छ ।

  • सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)

    सेयर बजारमा स्थायी नीति माग्दै लगानीकर्ताको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तोकेको शेयर धितो कर्जाको सीमा हटाउन माग गर्दै लगानीकर्ता केही दिनयता आन्दोलनमा उत्रिरहेका छन् ।

    लगानीकर्ताले आज पनि नेपाल धितोपत्र बोर्डअघि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गैरजिम्मेवार पदाधिकारी चाहिँदैन, लगानीमाथि खेलबाड गर्न पाइँदैन, पुँजीबजारमा स्थायी नीति कायम गर, गभर्नरको पाराले दु:ख पाए साराले जस्ता नारा लगाएका छन् ।

    गभर्नर महाप्रसाद अधिकारीको राजीनामासहित ११ बुँदे माग राखेर पुँजी बजार सुधार समितिको आव्हानमा आन्दोलन जारी छ । उनीहरूले धितोपत्र बोर्डको प्रांगणमा धर्ना दिएका छन् ।

    शेयर धितोकर्जाको सीमासम्बन्धी नयाँ नीतिपश्चात ३२ सय अंकमा पुगेको नेप्से २७ सयमा झरेको छ । गत आइतबार ११४ अंकले घटेको बजार मंगलबार १४ अंकले बढेको थियो भने आज १०४ अंकले बढ्न पुगेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन बुझाइयो

    धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन बुझाइयो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि सेयर चलखेलसम्बन्धीको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले अर्थमन्त्री जनार्दन शर्मासमक्ष प्रतिवेदन बुझाएका हुन् । ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुनेगरी पदीय आचरणविपरीत काम गरेको आरोपपछि भदौ १६ गते मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदनका लागि १५ दिनको समय सीमा तोकिएको थियो ।

    अर्थमन्त्री शर्माले प्रतिवेदनको अध्ययन गरेर सरकारले आवश्यक निर्णय लिने आश्वासन दिए । सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले सेयर बजार घटबढ हुने कुरा नभएको उनले बताए ।

  • धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त

    धितोपत्र बोर्डको अध्यक्षमा निरज गिरी नियुक्त

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् ।

    बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि अर्थमन्त्रालयले बोर्डको जिम्मेवारी गिरीलाई सुम्पेको हो । बोर्डकी डिपुटी कार्यकारी निर्देशक दीपा दाहालका अनुसार नवअध्यक्ष गिरीले बोर्डको दैनिक कमकाज र बोर्डको बैठक बोलाउन सक्नेछन् । त्यसबाहेकका कामको जिम्मेवारी भने अहिले मन्त्रालयले तोकिनसकेको उनले बताइन् ।

    बोर्डमा अध्यक्ष नहुँदा दैनिक कामकाज र बैठक बस्ने काम प्रभावित भएको थियो ।

    सर्वोत्तम सिमेन्टको सेयर चलखेल प्रकरणमा मुछिएपछि सरकारले समिति गठन छानविन थालेपछि ढुंगाना निलम्बनमा परेका छन् ।  बोर्डका अध्यक्षको पद खाली रहेको अवस्थामा वरिष्ठ कर्मचारीलाई नै नेतृत्वको जिम्वेवारी दिने व्यवस्थाअनुसार गिरीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

  • धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न सरकाद्वारा समिति गठन

    धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न सरकाद्वारा समिति गठन

    काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न सरकारले छानविन गर्न समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

    छानविन समितिको सदस्यमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानुनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।

  • धितोपत्रसम्बन्धी कारोबारका लागि विकास बैंकहरूले मागे अनुमति

    धितोपत्रसम्बन्धी कारोबारका लागि विकास बैंकहरूले मागे अनुमति

    काठमाडौं । विकास बैंकहरूले पनि आफ्नो सहायक कम्पनीमार्फत धितोपत्रसम्बन्धी कारोबार गर्न पाउनु पर्ने माग गरेका छन् ।

    विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालले कारोबारसम्बन्धी आशयसहितको पत्र नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

    धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’, भन्ने व्यवस्था छ ।

    सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा ‘प्रचलित कानूनबमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछन’, भन्ने प्रावधान राखिएको छ ।

    राष्ट्रिय स्तरका विकास बैंकहरूको औषत चुक्ता पुँजी ३ अर्व ४० करोड रूपैंयाँ रहेको छ । त्यस्तैगरी विकास बैंकहरूले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरूलाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गर्दै आएको छ ।

    यी बैंकहरूले २०७८ असार मसान्त सम्ममा ४ खर्ब ४५ अर्व निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

  • धितोपत्रका अध्यक्षमाथि अर्थसमितिको स्पष्टीकरण- नियामक निकायले जथाभावी गर्न पाउँछ ?

    धितोपत्रका अध्यक्षमाथि अर्थसमितिको स्पष्टीकरण- नियामक निकायले जथाभावी गर्न पाउँछ ?

    काठमाडौं । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई संघीय संसदको अर्थसमितिले स्पष्टीकरण सोधेको छ ।

    बुक विडिङमार्फत आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिद चलखेलमा संलग्नको आशंकामा ढुंगानालाई समितिले स्पष्टीकरण सोधेको हो । बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्वोत्तम सिमेन्टको करिब १६ हजार कित्ता नामसारी गरी बजारमा चलखेल गरेको भन्दै अर्थ समितिले स्पष्टीकरण माग गरेको हो ।

    समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले धितोपत्र बोर्डका माथिल्लो पदाधिकारी नै बजारमा चलखेल भएको भन्दै सञ्चार माध्यममा समाचार आउनु दु:ख रहेको बताए । ‘सेयर बजार बढिरहेको समयमा बजारलाई असर गर्ने गरी नियामक निकायका प्रमुखको चरित्रमाथि नै किन प्रश्न उठिरहेको छ’, दाहालले प्रश्न गरे ।

    प्रमुख जिम्मेवारी भएको व्यक्तिले आफ्नो परिवारको नाममा सेयर खरिद गर्न पाउने कि नपाउने ? भनी दाहालले प्रश्न गरेका थिए ।
    जवाफमा वोर्डका अध्यक्ष ढुंगानाले बुकविडिङमार्फत सेयर निष्कासन हुन लागेको कम्पनीको सेयर खरिदमा आफ्नो संलग्नता नरहेको बताएका छन् । विवाह भएर गइसकेको छोरीले सेयर खरिद गर्न पाउने जिकिर गर्दै ढुंगानाले केही सञ्चारमाध्यमहरूले आफ्नो चरित्र हत्या गर्न लागिरहेको समेत दावी गरे ।

    अर्थ समिति सदस्य रामकुमारी झाँक्रीले राम्रा कुरामात्रै विवरणमा देखाउने प्रयास भएको भन्दै बोर्डका अध्यक्षले सर्वोत्मको सेयर खरिद गर्नु नैतिकपूर्ण छ ? भनी प्रश्न गरिन् । अध्यक्षको चरित्रमाथि नै प्रश्न उठिसकेकाले कानूनी छिद्र खोजेर हिँड्न नमिल्ने उनको भनाइ थियो । धितोपत्र बोर्ड जस्तो नियामक निकायका सञ्चालक समितका पदाधिकारी नै खरिदबिक्री र इन्साइडर ट्रेडिङमा संलग्न हुनु लाजमर्दो भएको उनले बताइन् ।

    ‘पदाधकारीमाथि प्रश्न उठेपछि यसलाइ यहीँ छोड्न मिल्छ ? अध्यक्षज्यूले आफ्नोमात्र सुविधा बढाउनु भएको छ यसले धितोपत्रबोर्डको विकास गर्छ ?’, झाँक्रीको प्रश्न थियो । अर्थमन्त्रालयले यस्तो गम्भीर विषयलाई सामान्य ढंगले छोडेको भन्दै उनले अर्थमन्त्रालयमाथि नै प्रश्न उठेको उनको आशंका गरिन् ।

    अर्की सदस्य प्रमिला राईले ‘म सेयर बजारमा अनविज्ञ नै छु तर पनि यसरी नियामक निकायले जथाभवी गर्न पाउँछ र ? ‘ भनी प्रश्न गरिन् । धितोपत्र बोर्डले राम्रो काम गरेको देखिए पनि किन पछिल्लो समय विवादमा कारण के हो भनी उनले प्रश्न गरेकी थिइन् ।

    सदस्य जयकुमार राईले गम्भीर विषयमा नियामक निकायले पत्रकारले समाचारका लागि मात्रै समाचार बनाएको भन्नु जिम्मेवार निकाय अध्यक्षको प्रस्तुति आपत्तिजनक भएकाले ‘फिर्ता लिनुहोस्’ भने ।

    समितिका सचिव सुरेन्द्र अर्यालले अर्थ समितले धितोपत्र बोर्डलाई दिएको प्रतिवेदनमा राम्रै काम भएको देखिए पनि आचारसंहितामा पालना गर्ने विषयमा बोर्ड कमजोर देखिएको बताए ।

  • छोरीको नाममा सेयर किनेको विषयमा धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात

    छोरीको नाममा सेयर किनेको विषयमा धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात

    काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा चलखेल गरी लाभ लिएको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरू गरेको छ ।

    बुक बिल्डिङबाट निष्कासन हुन लागेको सेयर छोरीका नाममा खरिद गरेकोप्रति अनुसन्धान गरी कारवाही गर्न माग गर्दै ढुंगानाविरुद्ध उजुरी परेपछि अख्तियारले सो सम्बन्धी कागजात झिकाएको छ ।

    अध्यक्ष भीष्मराज ढुंगनाले बुक बिल्डिङको अनुमति दिएसँगै पाएको ‘गोल्डेन सेयर’ छोरीको नाममा लिएको केही दिनअघि खुलेको थियो । अध्यक्षकी छोरी रेविका ढुंगानाको नाममा १२ हजार कित्ता सेयर किनेको सार्वजनिक भएको थियो ।

    अख्तियारले बोर्डका अध्यक्ष ढुंगानासँग बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजात मागेको छ । धितोपत्र बार्डले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले सेयर किनेपछि अहिले यो विषय विवादित बनेको छ । सर्वोत्तमले बुक बिल्डिङङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने बताइएको छ ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्से सीईओ साउदले आचारसंहिता बाहिर गएर सेयर खरिद गरेको भनेर लगानीकर्ताले उजुरी आएको अख्तियार स्रोतले जनाएको छ । स्रोतले नेपाल प्रेससँग भन्यो, ‘कारोबार र प्रक्रियासम्बन्धी सबै कागजपत्र मगाएका छौं अख्तियारको नियमित प्रक्रियाअनुसार अब अनुसन्धान अघि बढ्छ ।’

  • अर्थको स्पष्टीकरणमा धितोपत्र बोर्डका कर्मचारीको असन्तुष्टी, दोषीलाई निलम्बनकाे माग

    काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र बोर्डको नाममा पठाएको पत्र प्रति बोर्डका कर्मचारी युनियनले असन्तुष्टि जनाएका छन् ।

    सञ्चालक तथा अध्यक्षबाट भएको गल्तीमा अर्थमन्त्रालयले सम्पुर्ण बोर्डको गरिमा तथा प्रतिष्ठामाथि प्रश्न उठाउनु गलत भएको कर्मचारी युनियनले ठहर गरेको छ ।

    धितोपत्र ऐन २०६३ अनुसार बोर्डको अध्यक्ष नियुक्ति गर्दा अध्यक्षका योग्यताहरु तोकिएकाले उनले पदमा रहँदा आफ्नो लव्ध प्रतिष्ठा र बोर्डको गरिमालाई समेत कायम राख्नुपर्ने युनियनको भनाई छ ।

    बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बुक विल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको सर्वोच्चम सिमेन्टमा सेयर अपचलन गरेको तथ्यहरु आएको थियो । उक्त तथ्यहरुका आधारमा अर्थमन्त्रालले बोर्डलाई तीन दिनभित्र स्पष्टीकरण लेखेर पठाउन भन्दै पत्र काटेको थियो ।

    साउन १३ अर्थले लेखेको पत्रले सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा यूनियनले खेद प्रकट गरेको छ ।संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट नहुने समेत युनियनको भनाई छ ।

    बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन होु, युनियनले भनेको छ ।

    उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी छानविन कार्य अगाडि बढाउन युनियनले भनेको छ । दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न समेत नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियनले माग गरेको छ ।

  • ३ दिनको अल्टिमेटमसहित धितोपत्र बोर्डलाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण

    ३ दिनको अल्टिमेटमसहित धितोपत्र बोर्डलाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण

    काठमाडौं । सेयर बजारमा चलखेल भएको विषयलाई लिएर अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

    धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले केही कम्पनीको सेयर कारोबारमा चलखेल गरी व्यक्तिगत लाभ लिएको समाचार बाहिरिएपछि मन्त्रालयले ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको हो ।

    मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले धितोपत्र बोर्डलाई ३ दिनभित्र स्पष्टीकरण पठाउन भनेको छ । विभिन्न सञ्चारमाध्यममा बोर्डसँग जोडिएर आएको समाचारको सत्य तथ्य र यथार्थ विवरण पेस गर्न बोर्डलाई भनिएको छ ।

    नेपालमा पहिलोपटक बुक विडिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाकी छोरीको नाममा १२ हजार कित्ता सेयर नामसारी भएको पाइएपछि अर्थले स्पष्टीकरण मागेको हो ।

  • साना तथा मझौला र ठुला कम्पनीको छुट्टाछुटै प्लाटफर्म मार्फत कारोबार गराउने बोर्डको तयारी

    साना तथा मझौला र ठुला कम्पनीको छुट्टाछुटै प्लाटफर्म मार्फत कारोबार गराउने बोर्डको तयारी

    काठमाडौं । नेपालको धितोपत्र बजारमा साना तथा ठूला पूँजीकरण भएका कम्पनीहरुले एकै किसिमको व्यवस्था अन्तर्गत पूँजीको संकलन तथा परिचालन गर्ने गरिरहेका छन् ।

    सो व्यवस्थाका कारण साना तथा ठूला कम्पनीको आवश्यकता अनुरुप वित्तीय औजार विकासमा कठिनाइ भएको धितोपत्र बोर्डकाे निष्कर्ष रहेको छ । साना ठुला कम्पनीको पूँजी बजार मार्फत् प्राथमिकता प्राप्त क्षेत्रमा पूँजी परिचालन कार्यक्रम निर्धारण तथा कार्यान्वयन गर्न समस्या देखिएको धितोपत्र बोर्डको बुझाइ छ ।

    बजारलाई व्यवस्थित गर्न ‍ बोर्डले आवश्यक एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार गर्दा एकै प्रकारको धितोपत्र सूचकांकले बजारको यथार्थ चित्रण हुन नसक्ने बोर्डले जनाएको छ ।

    यसका लागि बोर्डको आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको बुँदा नं। १३ मा साना तथा मझौला कम्पनीको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लाटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सहजीकरण गर्ने कार्यक्रम समावेश गरिएको छ ।

    उक्त कार्यक्रम कार्यान्वयन गर्न नेप्सेमा सूचीकरण भएका तथा आगामी दिनमा सूचीकरण हुने साना तथा मझौला आकारका कम्पनीहरुको लागि उक्त कम्पनीको चुक्ता पूँजी र बजार पूँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने व्यवस्था मिलाउने निर्णय बोर्डले गरेको छ ।

    यसका लागि आवश्यक पूर्वाधार र कानूनी व्यवस्थाका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई समेत अवलम्बन गरिएका नेपालको साना तथा मझौला उद्योग व्यवसायलाई दोस्रो बजारमा कारोबारका सम्वन्धमा अध्ययन प्रतिवेदन तयार गरिएको थियो ।

    उक्त अध्ययन प्रतिवेदन आधारमा एसएमई सम्वन्धी नेप्सेबाट गर्नुपर्ने तयारी , पूर्वाधारका सम्बन्धमा नेप्सेसँग राय सुझाव माग गरिएको बोर्डले जनाएको छ । नेप्सेले पनि अगाडि बढ्न उपयुक्त हुने वताएकाले सोही बमोजिम नेप्सेसँग बोर्डले राय सुझाव माग गरेको हो ।

  • धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर अर्थमन्त्रीले भने- बजारमा नकारात्मक हस्तक्षेप नहोस्

    धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर अर्थमन्त्रीले भने- बजारमा नकारात्मक हस्तक्षेप नहोस्

    काठमाडौं । हालै धितोपत्र बोर्डले बजारमा चलखेर गरेको भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गरेको विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चासो राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भेटेर उनले बजारमा सकारात्मक हस्तक्षेप गर्न निर्देशन दिए ।

    अर्थमन्त्रीले लगानीकर्तालाई सचेत गर्दै बजारलाई ‘पेनिक’ हुनबाट बचाउन निर्देशन दिएको स्रोतले जानकारी दियो । सेयर बजारमा लगानीकर्ताहरु छिटो आत्तिने भएकाले त्यसमा ध्यान दिन उनले बोर्डका अध्यक्षलाई आग्रह गरेका थिए ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले ५१ कम्पनीको सूची प्रकाशन गर्नुपर्ने कारणबारे अर्थमन्त्री पौडेललाई ब्रिफ गरेका थिए । उनले दोस्रो बजारमा कारोबार भइरहेका सम्पूर्ण कम्पनीको सुचकसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न तयारी गरिरहेको समेत जानकारी गराए ।

    अध्यक्ष ढुंगानाले आफुले लगानीकर्ताको हितका लागि ५१ कम्पनीको सूची प्रकाशन गरेको भन्दै आफूलाई बदमान गर्ने गरी वदनियत ढङ्गले प्रचार प्रसार गरिएको अर्थमन्त्री समक्ष गुनासो गरेका थिए ।

    ढुंगानाले नेपाल प्रेससँग कुराकानी गर्दै ५१ कम्पनीको सूची प्रकाशन गर्नुको कारणबारे अर्थमन्त्रीलाई ब्रिफ गरेको बताएका छन् ।

    ‘लगानीकर्ताको हितका लागि कम्पनीहरुको सूची प्रकाशन गरेको भएपनि त्यसलाई नकारात्मक ढङ्गबाट प्रचारप्रसार गर्न खोजिएको भन्ने कुरा अर्थमन्त्रीसमक्ष राखेको हो,’ उनले भने ।

    अर्थमन्त्री पौडेल सेयर बजारमा हस्तक्षेप गर्न नहुने पक्षमा छन् । लगानीकर्ता अर्थमन्त्री पौडेलप्रति सकारात्मक रहेकाले उनीहरुलाई असर गर्ने खालका कुनै पनि गतिविधिहरू गर्ने पक्षमा छैनन् ।

  • धितोपत्र बोर्डको सूचनाविरुद्ध परेको रिटमा अन्तरिम आदेश आएन

    धितोपत्र बोर्डको सूचनाविरुद्ध परेको रिटमा अन्तरिम आदेश आएन

    काठमाडौं । शेयर मूल्य अस्वभाविक बढेका ५१ वटा कम्पनीको नाम सार्वजनिक गरिएको भन्दै नेपाल धितोपत्र बोर्ड विरुद्ध परेको रिटमा सर्वोच्चले कारणदेखाउ आदेश जारी गरेको छ । रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ ।

    आज रिटको सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । धितोपत्र बोर्डले ५१ वटा कम्पनीको शेयर मूल्य वृद्धि गर्न चलखेल भएको भन्दै सूची सार्वजनिक गरेको थियो । यसका विरुद्ध अधिवक्ता रविन बोहजुले सर्वोच्च अदालत रिट दर्ता गरेका थिए ।

    निवेदकले अन्तरिक आदेश जारी गर्न माग गरे पनि धितोपत्र बोर्डको कार्यले निवेदकको निर्विवाद हकमा असर पारेको नदिएकाले आदेश जारी गरिरहनु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

  • धितोपत्र बोर्डको विज्ञप्तिपछि बजारमा कस्तो पर्‍यो प्रभाव ?

    धितोपत्र बोर्डको विज्ञप्तिपछि बजारमा कस्तो पर्‍यो प्रभाव ?

    काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घट्यो । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भनी धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमको सूचीमा राखेपछि लगानीकर्ता त्रसित बनेका थिए ।

    यसैले साना लगानीकर्तालाई सेयरसम्बन्धी जानकारी दिने सोसल ग्रुपहरूमा ‘पेनिक सेल’ (आत्तिएर गर्ने बिक्री) नगर्न धेरै नै सुझाएका पनि थिए । तर, पनि बुधबारको बजारमा ५२ अंकको गिरावट आयो । र, फाइनान्स र हाइड्रोपावर कम्पनीका अधिकांश कम्पनीमा नकारात्मक सर्किट नै लाग्यो । धेरै लगानीकर्ताको अनुमान थियो कि बिहीबार पनि बजारमा ठूलो अंकको गिरावट आउने छ । तर, धितोपत्र बोर्डले विशेषगरी हाइड्रोपावर, फाइनान्स र बीमा कम्पनीका सेयर किन्न लगाएको लगामलाई लगानीकर्ताको उच्च मनोबलका कारण धेरैको अपेक्षाविपरीत बिहीबार सेयर बजार सम्हाल्यिो ।

    बोर्डले जोखिम भनेकमध्ये धेरै कम्पनीको सेयरमा उत्साहजनक नै बढ्न पुग्यो । बोर्डले हाइड्रोपावरका २१ बीमाका १० र फाइनान्सलगायतका कम्पनीलाई सूचीमा राखेको छ । तर, बिहीबारको बजारमा खानीखोला, रसुवागढी, नेपाल फाइनान्स, सोल्टी होटल, आईएमई जनरल इन्स्योरेन्स, बरुण हाइड्रोपावर, एचपीसी, नागरिक लगानी कोष, हुर्जा हाइड्रोपावर, लिबर्टी इनर्जी, राधी हाइड्रोपावर, रिलाइन्स लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य दुईदेखि करिब ७ प्रतिशतसम्म बढेका छन् ।

    नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल धितोपत्रको विज्ञप्तिका बाबजुद पनि सेयर बढ्नुमा लगानीकर्ताको उच्च मनोबल नै भएको बताउँछिन् । ‘धितोपत्र बोर्डले त नियमन गर्नुपर्छ तर यसरी बजार बढेर ३ हजार पुगेपछि गर्ने होइन । यदि कम्पनी जोखिममा छ भने त एक वर्षअघि नै सचेत गराउनुपर्थ्यो । अहिले निकालेर हुन्छ,’उनको प्रश्न छ ।

    बिहीबार बजार सामान्य हुनुले लगानीकर्ताहरू सुझबुझपूर्ण निर्णय लिन सक्षम छन् भन्नेसमेत देखाएको छ । लगानीकर्ता आफू सचेत हुन आवश्यक छ तर, आत्तिनु पर्ने अवस्था अहिले नभएको पोखरेलले नेपाल प्रेससँग बताइन् ।

    लगानीकर्ताको स्वतन्त्रतालाई लगाम लाउन खोजिएको भन्दै धितोपत्र बोर्डको विज्ञप्तिमा स्वतन्त्र ऊर्जा उत्पादक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ तथा लगानीकर्ता संगठनलगायतले विरोध जनाएका छन् ।

  • धितोपत्र बोर्डको सूचीले लगानीकर्तामा आतंक, नेप्से पनि असन्तुष्ट

    धितोपत्र बोर्डको सूचीले लगानीकर्तामा आतंक, नेप्से पनि असन्तुष्ट

    काठमाडौं । अस्वाभाविक रूपमा मूल्य बढाएर सेयर बजारमा चलखेल गरेको भन्दै नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको सूची प्रकाशित गर्‍यो । ती कम्पनीको कारोबार रोक्का गर्ने उद्देश्यले नभई जोखिमको मूल्यांकन गरी लगानी गर्न लगानीकर्तामा सूचित गरेको बोर्डको दावी छ ।

    पछिल्लो १ वर्षमा ३ सय प्रतिशत वा सो भन्दा बढीले सेयर मूल्य बढेका, मूल्य आम्दानी ‘पीई’ अनुपात सय प्रतिशत वा सो भन्दा बढी भएका, प्रतिसेयर आम्दानी अनुपात ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ ऋणात्मक भएका र कम्पनीको वित्तीय क्षमताजस्ता मापदण्डको आधारमा बोर्डले सूचना निकालेको हो ।

    जोखिमयुक्त सूचीमा राखेका ५१ कम्पनीहरूले कुनै न कुनैरूपमा इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार , कर्नरिङ गरेको आशंका बोर्डको छ ।

    धितोपत्र बोर्डले कारवाही गरेका अधिकांश कम्पनीहरूमा लघुवित्त वित्तीय संस्था, जलविद्युत कम्पनी र बीमा कम्पनीहरू छन् ।

    ठूला लगानीकर्ताको प्रभावमा धितोपत्र बोर्डले सूची तयार पारेको भन्दै टिप्पणी बढेको छ ।

    धितोपत्र बोर्डले नै कारोबार बन्द गरिदिएको विशाल बजार र राष्ट्रिय बीमा समिति समेत सूचीमा परेको भन्दै धितोपत्र बोर्ड तथा यसका अध्यक्ष भिष्मराज ढुंगानाको तीव्र विरोध भयो । केही सञ्चारमाध्यमले त बोर्डका अध्यक्षको राजीनामा समेत माग गरे ।

    बोर्डका अध्यक्ष ढुंगाना भने आफूले सही निर्णय गरेको दावी गर्छन् । राम्रो काम गर्दा विरोध हुनु स्वभाविक भएको उनले बताए ।

    चलखेल भएको देखेर लगानीकर्तालाई सूचित मात्रै गराइएको तर कारोबार रोक्न नभनिएको भन्दै ढुंगानाले भने, ‘साना र नयाँ लगानीकर्ताका लागि धितोपत्र बोर्डले सचेत गराएको हो । यो बोर्डको नियामकीय अधिकारभित्रको कुरा हो ।’

    यो पनि पढ्नुहोस् : अस्वाभाविक सेयर मूल्य बढाएका ५१ कम्पनीमाथि छानविन गर्दै धितोपत्र बोर्ड (सूचीसहित)

    ‘छोटो समयमा अत्यधिक प्रतिफल कमाउने आसामा कुखुरा बेचेर, बाख्रा बेचेर , श्रीमतीका गरगहना बेचेर वा ऋण नै काडेर बजारमा प्रवेश गरेका छन् । ठूला लगानीकर्ताहरू त्यहाँबाट निकाल्ने तयारी गरिरहेको समयमा साना लगानीकर्ताको संरक्षणका लागि बोर्डले सचेतमात्रै गराएको हो’, अध्यक्ष ढुंगानाले बताए ।

    धितोपत्र बोर्डको निर्णयप्रति नेपाल स्टक एक्सचेन्जले असन्तुष्टि जनाएको छ । बोर्डले लिएका आधारहरू कमजोर रहेको भन्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद कम्पनीको नाम नै प्रकाशन गर्नु गलत भएको बताउँछन् ।

    ‘कम्पनीहरूले आफ्नो वित्तिय विवरण वेबसाइडमा राखेकै छन् । लगानीकर्ताले त्यहाँ गएर आफ्नो धारणा बनाउन सक्ने भएकाले धितोपत्र बोर्डले खराब र असल भन्न आवश्यक थिएन’ उनले नेपाल प्रेससँग भने ‘खराब र असल भन्ने कुराको निर्धारण बजार आफैंले स्व:नियमन गर्ने कुरा हो बोर्डले सूची प्रकाशन गर्न आवश्यक छैन ।’

    बजारको माग र आपूर्तीको कारण मूल्यको निर्धारण हुने भएकाले ३ सय प्रतिशतले सेयर मूल्य बढ्यो भनेर वक्तव्यबाजी गर्नुको औचित्य नरहेको साउदको भनाइ छ ।

    लगानीकर्तालाई सचते गराउने अधिकार बोर्डलाई रहेको नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका अध्यक्ष अम्विकाप्रसाद पौडेल बताउँछन् । ‘लगानीकर्तालाई सचेत गराउने तथा खराब कम्पनीहरूको सूची प्रकाशित गर्ने र कारवाही गर्ने अधिकार बोर्डलाई छ ’, उनले भने ।

    बोर्डले प्रकाशित गरेका ५१ वटा कम्पनीको सूचीप्रति भने पौडेल असन्तुष्ट देखिए । भविष्यमा सम्भावना बोकेका कम्पनीमाथि बोर्डले विषय विज्ञसँगको परामर्श तथा आफ्नो विज्ञता प्रस्तुत गर्न नसकेको उनको टिप्पणी छ ।

  • अस्वाभाविक सेयर मूल्य बढाएका ५१ कम्पनीमाथि छानविन गर्दै धितोपत्र बोर्ड (सूचीसहित)

    अस्वाभाविक सेयर मूल्य बढाएका ५१ कम्पनीमाथि छानविन गर्दै धितोपत्र बोर्ड (सूचीसहित)

    काठमाडौं । धितोपत्र बोर्डले इन्साइडर कारोबार तथा सेयर कर्नरिङ गरी मूल्य बढाएको आशंकामा ५१ कम्पनीमाथि छानविन गर्ने भएको छ ।

    विगत १ वर्षको अवधिमा सूचिकृत संस्थाको सेयर मूल्य ३ सय प्रतिशतले वृद्धि भएका , प्रति सेयर आम्दानी ऋणात्मक भएका , अंकित मूल्यभन्दा नेटवर्थ कम भएका आधारमा ५१ सूचिकृत संगठित संस्थाहरूमा भित्री कारोबार र सेयर कर्नरिङ भएको आशंका धितोपत्र बोर्डले गरेको छ ।

  • निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज खोल्ने तयारी

    निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज खोल्ने तयारी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी गरेको छ ।

    स्टक एक्सचेन्ज स्थापनाका लागि धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्ययनका लागि अर्थमन्त्रालयलाई पेस गरिएको छ ।

    बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनार कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थमन्त्रालयसमेत निजी क्षेत्रको लगानीमा स्टक सक्सचेन्ज खोल्न सकारात्मक रहेको जानकारी दिए ।

  • थप ५ संस्थागत लगानीकर्तालाई धितोपत्र बोर्डको स्वीकृति

    थप ५ संस्थागत लगानीकर्तालाई धितोपत्र बोर्डको स्वीकृति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीका लागि नयाँ ५ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति दिएको छ ।

    बुक विल्डिङ विधिबाट निष्कासन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने संस्थागत लगानीकर्ताको संख्या वृद्धि गर्दै लैजाने नीति अनुसार थप गरिएको हो ।

    सीबीआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभभलपमेन्ट र कुमारी इक्विटी फण्डसहित थप भएका ५ संस्थागत लगानीकर्तासहितको संख्या ८८ पुगेको छ ।

  • लगानीकर्ताको रकम तत्काल दिन ब्रोकरलाई धितोपत्र बोर्डको आग्रह

    लगानीकर्ताको रकम तत्काल दिन ब्रोकरलाई धितोपत्र बोर्डको आग्रह

    काठमाडौं । धितोपत्र बोर्डले साना लगानीकर्ताको रकम तुरुन्त उपलब्ध गराउन ब्रोकर कम्पनीलाई अनुरोध गरेको छ ।

    धितोपत्र बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो विषम परिस्थितिमा लगानीकर्ताको गुनासा तथा समस्यालाई तुरुन्त सम्बोधन गर्न ब्रोकरलगायत सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

    लगानीकर्ताको कललाई कल डाइभर्ट गरी घरैबाट सुविधा दिन ब्रोकर, मर्चेण्ट तथा सम्बद्ध सबै पक्षलाई बोर्डले अनुरोध गरेको छ ।

    साथै सिष्टम सर्पोट र सूचना प्रविधि सम्बन्धी कार्य घरबाट नै गर्न पनि धितोपत्र बोर्डले सुझाएको छ । यसैगरी सिष्टम संचालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन पनि विज्ञप्तिमा भनिएको छ । साथै कर्मचारीमा कोरोनाको लक्षण देखिनसाथ तत्काल आइसोलेट हुने व्यवस्था गरी परीक्षण गर्न पनि बोर्डले भनेको छ ।

  • स्वास्थ्य सावधानी अपनाएर कारोबार गर्न धितोपत्र बोर्डको आग्रह

    स्वास्थ्य सावधानी अपनाएर कारोबार गर्न धितोपत्र बोर्डको आग्रह

    काठमाडौं । कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै धितोपत्र बोर्डले विद्युतीय कारोबारमा जोड दिएको छ ।

    बोर्डले संक्रमण फैलिन सक्ने भन्दै बोर्डले सबै लगानीकर्तालाई सावधानी अपनाउन लिखित आग्रह गरेको हो । सकेसम्म सेवाग्राहीलाई सेवा प्रवाह गर्दा विद्युतीय माध्यमबाट गर्न बोर्डको अनुरोध छ ।

    कार्यालयस्थलमा सेनिटाइजर प्रयोग गर्ने, संक्रमणबाट बच्न सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने, कार्यालय हाताभित्र २५ जनाभन्दा बढी हुनु नहुने, सेवाग्राही बीच दुई मिटरको भौतिक दूरी कायम गर्न, सभा, सम्मेलन, गोष्ठीलगायतका क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट गर्न बोर्डको आग्रह छ ।

  • धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटारमा सर्दै

    धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटारमा सर्दै

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालय माग १ गतेदेखि खुमलटार सर्ने भएको छ ।

    हाल ललितपुरको जाउलाखेलमा रहेकोे कार्यालय खुमलटारमा स्थानान्तरण हुने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार माग १ गतेदेखि सबै काम सोही ठाउँबाट हुनेछन् ।