Tag: धानबाली

  • काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट

    काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट

    रौतहट । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।

    अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ ।

    कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीको कारण उत्पादन लिन नसकिने गरी क्षति भएको छ ।

    केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रुपमा नोक्सान भएको छ । जिल्लामा यसपाली ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा धान खेती गरिएकोमा कुल ८ दशमलव १८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक छ ।

    पीडित किसानहरुले आफुहरुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएकोमा दुखेसो गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । सरकारले किसानको समस्यालाई समाधान गरे जिविकोपार्जनमा सहज हुने उनीहरुको भनाई छ ।

    केहीदिन अघिदेखिको अविरल वर्षाका कारण नेपालको तराई तथा पहाडी भु–भागमा भित्राउन तयारी अवस्थामा रहेका धानबाली नष्ट भएका छन् । सरकारले किसानलाई राहत दिने घोषणा गरेको भएपनि हालसम्म किसानले कुनैपनि राहत नपाएको किसानहरुले बताएका छन् ।

  • टुसाएको धानबाली देखाएर राहत माग्न धनगढी आउँछन् किसानहरु

    टुसाएको धानबाली देखाएर राहत माग्न धनगढी आउँछन् किसानहरु

    सुदूरपश्चिम । ‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो’, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो ।

    आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्बीर देखाउँदै उनले दुःखेसो गरे,‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव भयो, धानबाली नष्ट हुँदा धेरै किसानमा यसपाली भोकमरी हुने देखियो ।’ दक्षिण पूर्वी उक्त गाउँपालिकामा रहेको छ बिघा खेतमा काटेर सुकाइएको धान भित्र्याउन नपाउँदै भएको वर्षाले बाली भिजेर टुसाएपछि उनी यतिबेला राहतको खोजीमा छन् ।

    कैलालीको गोदावरी गाउँपालिकाका किसान भोजराज बडूको डुबानमा परेको दश कठ्ठाखेतको पूरै धानबाली पनि टुसाएको छ । ‘कात्तिक महिनामा पनि यसअघि कहिल्यै नदेखिएको डुबान, बाढीपहिराको बितण्डा देख्नुपर्यो’, उनले दुःखेसो सुनाए, ‘घरमा केही परिमाणको पुरानो धान छ, तर त्यसले वर्षभरी खान पुग्ने देखिँदैन, राहतका लागि वडा कार्यालयमा निवेदन दिने तयारीमा छु ।’

    उनीहरुको जस्तै पीडा यतिबेला सुदूरपश्चिम प्रदेशका धेरै किसानको छ । पीडाबीच धेरै किसान भिजेर खेतमै टुसाएको धानबाली थन्क्याउनमा लागेका छन् । ‘खेतमा भएको डुबानले धानबाली लगाउँदा गरिएको लगानी खेर गयो’, अर्का किसान मनिराम चौधरीले भने, ‘मेहनत र परिश्रम खर्च भएकाले कुहिएको धान परालसहित सडे पनि बाली नसिमोट्दा चित्त बुझ्दैन ।’

    केही दिनअघिको अविरल वर्षासँगै भएको डुबानका कारण प्रदेशमा धानबालीमा पुगेको क्षतिपछि किसान चिन्तित हुँदै राहतको पर्खाइमा छन् । प्रदेशमा झण्डै २५ हजार हेक्टर जग्गाको धानबाली नष्ट भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुमान छ ।

    ‘डुबानका कारण प्रदेशमा भएको क्षतिको एकीन विवरण स्थानीय तहसँग समन्वय गरेर सङ्कलन गरिरहेका छौं’, मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले भने, ‘खेतमा पानी जम्दा धानबालीलाई मात्र असर गरेका छैन, आउने हिँउद याममा गरिने गहुँबालीको खेती पनि प्रभावित हुने देखिएको छ ।’ डुबानका कारण तोरीबाली र तरकारी बालीमा समेत असर पारेको छ ।

    क्षतिबाट प्रभावित हुनेका लागि राहत कार्यक्रम दुई प्याकेजमा ल्याएर वितरण गर्ने मन्त्रालयको योजना छ । ‘अहिलेको डुबानले धान, तोरी र तरकारी बालीमा पुगेको क्षतिबाट प्रभावितलाई राहत दिनुपर्ने देखिएको छ’, बोहराले भने, ‘हिँउदे यामको गहँुखेती गर्नेलाई पनि मल, बीउ, रसाायनिक मलको सहज आपूर्ति र सहुलियत पनि दिनुपर्ने देखिएको छ ।’

    बालीमा क्षति पुगेका किसानलाई प्रति बिघा रु आठ हजारका दरले राहतबापत् नगद दिन सकिने मापदण्ड मन्त्रालयको छ । अहिले पुगेको क्षतिको मात्राको अवस्थालाई मध्यनजर गरी यो मापदण्ड हेरफेर हुनसक्ने बताइएको छ । प्रभावित किसानलाई राहत के कति दिने, कसरी दिने भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको छ ।

    नदी आसपासका ठूलो क्षेत्रफलको खेतमा काटेर थुपारिएको धानबाली अचानक आएको बाढीले बगाएको थियो भने अन्य क्षेत्रको जग्गामा भएको डुबानले बाली पानीमै तैरिएको थियो । जमेको पानीमा तैरिएको धानबाली हेर्दै किसान अब भोकमरी हुने भन्दै चिन्तित देखिन्छन् । तराईका जिल्लाको तुलनामा प्रदेशका पहाडी जिल्लामा भने धानबालीमा ठूलो क्षति पुग्न पाएको छैन ।

    पहाडमा पहिरो तथा बाढी, नदीकटानको समस्या र तराईमा डुबान तथा नदी कटानको समस्या बढी देखिएको थियो । बालीमा पुगेको क्षतिबाट देशको आर्थिक अवस्थामा पनि प्रतिकूल असर पर्ने देखिएको छ । धान उत्पादनका पकेट क्षेत्रका रुपमा रहेका कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका सात पहाडी जिल्लाका अलावा देशका अन्य भागमा निर्यात हुने गर्छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा केही दिनअघि गर्नुभएको क्षतिको स्थलगत निरीक्षण अवलोकनपछि भने पीडामा बसेका जनतालाई केही आशा पलाएको छ । ‘प्रधानमन्त्रीको भ्रमणपछि पीडित किसानमा राहत पाउने आसा पलाएको छ’, धनगढी उपमहानगरपालिकाका किसान रमेश रानाले भन्नुभयो ।

    यही गत असोर ३१ गते रातिदेखि लगातार चार दिनसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानले प्रदेशमा आजसम्म मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने २२ जना बेपत्ता छन् । रासस

  • वर्षाले २ लाख हेक्टरको धान सोत्तर, जीडीपीमा धक्का पुग्न सक्ने

    वर्षाले २ लाख हेक्टरको धान सोत्तर, जीडीपीमा धक्का पुग्न सक्ने

    काठमाडौं । नेपालमा धेरै उत्पादन हुने कृषिजन्य बालीमध्ये धान एक हो । तर अहिले त्यही धानबाली वर्षाको कारणले सखाप भएको छ । धान भित्र्याउने समयमा नै देशभर परेको पानीले धान बगाएपछि कृषकहरू पीडामा परेका छन् ।

    कृषि मन्त्रालयका अनुसार यस वर्ष १३ लाख ४२ हजार ८ सय १९ हेक्टर जमिनमा धान रोपिएको थियो । हालसम्म देशैभर गरेर करिब २ लाख हेक्टरमा फलेको धान पानीले डुबाएको छ । धान उत्पादनमा भएका क्षतिले देशको आर्थिक वृद्धिदरमा समेत असार गर्ने अर्थविद्हरू बताउँछन् ।

    तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायतका स्थानको धान बाढील बगाएको हो । कृषकले दसैंको बेलमा काटेर सुकाएको र कुन्यु लगाएको धानलाई बाढीले सोत्तर बनाएको छ । सात प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाका कारण धान उत्पादनमा करिब ८ प्रतिशत क्षति भएको छ । केही प्रदेशले भने थप तथ्यांक संकलन गरिरहेका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले सबै प्रदेशका कृषि मन्त्रालयसँग क्षतिको विवारण मागिएको बताए ।

    ‘त्यो विवरण आएपछि कृषि क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने छ । त्यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग हामी छलफलमा छौं,’ उनले भने । कृषकको समस्यालाई सरकारले बुझेको मन्त्री यादवले बताए ।

    अर्थविद् रामेश्वर खनाल वर्षाको कारणले धानमा भएको क्षतिले देशको कुल ग्रास्थस्त उत्पादनमा नै असर गर्ने बताउँछन् । अघिल्लो वर्ष ५५ लाख मेट्रिक्कटन धान उत्पादन भएकोमा यस वर्ष उल्लेख्य कमी आउनसक्ने उनको भनाइ छ ।

    खनालले भने, ‘धान उत्पादन घट्दा हाम्रो जीडीपीमा ०.५ प्रतिशतले कमी ल्याउँछ । अहिले पहाडमा भन्दा पनि तराइमा धान भित्र्याउने बेला हो । त्यहाँ धेरै क्षति भएको छ ।’

    अब सरकारले कृषकलाई अनुदान दिनुपर्ने खनालको भनाइ छ । धान उत्पादन घटेको कारण खाद्यान्नको अभाव हुने अवस्था आयो भने सरकारले खाद्य संस्थान मार्फत अभाव भएका जिल्लामा खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाउनु पर्ने उनले बताए ।

    ‘धान उत्पादन घट्दा विदेशबाट चामाल आयात हुने भएकाले बैदेशिक व्यापार घाटा पनि केही वृद्धि हुन्छ,’ उनले भने ।

    किन गर्दैनन् कृषकले कृषि बीमा ?

    सरकारले कृषकको लागि भनेर कृषि बीमा कार्यक्रम पनि अघि सारेको छ । तर यसमा आकर्षण देखिएको छैन । कृषकले अहिले कृषि बीमा गरेको भए वर्षाको कारण क्षति भएको धानको बीमा भुक्तानी पाउने थिए ।

    सरकारले सहुलियतसहित कार्यक्रम सञ्चालन गर्दा पनि कृषक त्यसमा आकर्षित छैनन् । बीमा कम्पनीहरूले पनि कृषि बीमाबाट धेरै मुनाफा नआउने भएकाले कम चासो दिएका छन् । बीमा समितिले बीमा कम्पनीहरूलाई जिल्ला तोकेर नै कृषि बीमा गर्न भनेको हुन्छ । तर कृषि बीमा गर्न न कम्पनीले चासो दिन्छ, न त कृषकले नै ।

    देशैभर कृषकले धान मात्रै होइन, अन्य कृषि बालीको बीमामा चासो दिएका छैनन् । अहिले कृषि बीमाका लागि सरकारले ५० प्रतिशत अनुदान दिएको छ । प्रदेश सरकारले समेत केन्द्र सरकारले दिएको कृषि बीमा अनुदामा केही थप्ने गरेको छ ।

    बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा गरेका कृषकले बीमा भुक्तान पाउने बताए ।

    सिलवालले भने, ‘सरकारले कृषि बीमामा ५० प्रतिशत अनुदान दिने गरेको छ । तर, पनि कृषकलाई कृषि बीमाको बारेमा राम्रोसँग ज्ञान छैन् । बीमाको जिम्मा पाएका बीमा कम्पनीहरूले पनि कृषि बीमामा त्यति धेरै ध्यान दिएका छैनन् ।’

  • वर्षाले लुट्यो किसानको हर्ष: भित्राउन तयार धानबाली खेतमै डुब्यो

    वर्षाले लुट्यो किसानको हर्ष: भित्राउन तयार धानबाली खेतमै डुब्यो

    रुपन्देही । दुई दिनदेखि परेको वर्षाले यस क्षेत्रका किसानले तयार पारेको धानबालीमा ठूलो नोक्सानी बनाएको छ । वर्षाले आफूहरुको हर्ष लुटेको भन्दै उनीहरुले बेमौसमी पानीले तयारी खेतीमा ठूलो नोक्सानी पुराएको बताएका छन् ।

    दसैं नसकिदै खेतहरुमा धान पाकेपछि काटेको र पाकेको धान वर्षाले क्षति पुराएको हो । दसैँसँगै यस क्षेत्रका किसानहरुलाई धान भित्राउने चटारो सुरु भएको थियो ।

    पश्चिम तराईका अधिकांश खेतहरुमा असोजको अन्तिम साता पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ । धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरुका खेतमा धान पाकेको थियो ।

    रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोदन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याएका छन् ।

    रुपन्देहीको देवदहका किसान लक्ष्मण न्यौपानेले तयारी अवस्थामा रहेको धान भित्राउने समयमा आएको वर्षाले ठूलो क्षति पु्र्‍याएको बताए । उनले भने, सबै धान उठाउन काटेको थियौं, सबै खेतमै डुबेर स्वाहा भयो, किसानको मुख्य बालीमा यो वर्षले ठूलो क्षति पुर्‍यायो ।

    अहिले अधिकांशका खेतमा गोरखनाथ, राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको र काटिसकेको ओमसतिया ५ का किसानसमेत रहेका कृृषि ज्ञान केन्द्रका कर्मचारी समेत रहेका गजेन्द्र चौधरीले बताए ।

    रुपन्देही किसान संघका तिलोचन दाहालले अविरल वर्षाले काटेको र पाकेको धानबालीमा ठूलो नोक्सानी गरेको बताए । उनले भने, अधिकांश किसानले धान बाली भित्राउन काटिसकेका थिए, केहीले मात्र उठाउनसके पनि धेरैको खखेतमै डुबेको अवस्था छ, धेरै किसानहरुले आफ्नो मुख्य बालीमा ठूलो नोक्सानी परेको बताएका छन्, प्रकृतिले पनि किसानलाई नि ठग्यो, उनले भने ।

    दसैँ अगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न शुरु गरेका थिए । मौसम बिभागले केही दिनमा खराव मौसमको संकेत गरेपनि धेरै किसानले त्यो संकेतको मेसो पाएनन् ।

    समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गगरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो ।

    रुपन्देहीमा हातले काटेर धान स्यार्न धेरै समय लाग्ने भएकाले कम्पाईलको प्रयोग गरेर धान काट्न थालिएको थियो । जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानको रोजाइमा परेका छन्। त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ ।

    त्यस्तै पछौटे जातमा सावा मनसुली, सोणसव १, सावा सव १, गोल्डेन मन्सुली, कालानमक को खेती गरिएको छ । राधा ४, सावित्री, रामधाम र सावा मनसुली हाइब्रिडमा गोरखनाथ, लोकनाथ, मयुर र मनीषा किसानहरूको रोजाइमा परेकाले यसको खेती बढी गरिएको कृषि ज्ञान केन्द्रका कर्मचारी गजेन्द्र चौधरीले बताए ।

    रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये रुपन्देहीमा यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ । वर्षाले काटेको धान मात्र होइन काट्न बाँकी रहेको धानमा समेत नोक्सानी पुराउने आंकलन कृषि ज्ञान केन्द्रका कर्मचारीको अनुमान छ ।