Tag: धर्मेन्द्र बास्तोला

  • चुनाव बहिस्कार र बुटवल विस्फोटपछि धर्मेन्द्र बास्तोला पक्राउ

    चुनाव बहिस्कार र बुटवल विस्फोटपछि धर्मेन्द्र बास्तोला पक्राउ

    काठमाडौं । चुनाव बहिस्कार गर्ने निर्णय लिएको नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

    प्रहरीले उनीसहित तीन जनालाई बिहीबार बिहान दाङको भालुवाङबाट पक्राउ गरेको हो। उनीहरु काठमाडौंबाट गइरहेका थिए।
    यसअघि बुधबार साँझ मात्र बुटवलमा प्रेसर कुकर बम विस्फोट भएको थियो।

    धर्मेन्द्रसहितका नेताहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही समयअघी मात्र अलग भएका थिए। निर्वाचनमा भाग लिने नलिने भन्नेमा पार्टीभित्र मतभेद रहेको थियो।

    प्रहरीले विप्लव समूहको गतिविधीलाई पनि चुनावी सुरक्षा चुनौतीका रुपमा लिएको छ। स्रोतका अनुसार धर्मेन्द्रलाई कम्तिमा शुक्रबार साँझसम्म नियन्त्रणमा लिने तयारीमा रहेको छ। मतदान शुक्रबार हुँदै छ।

     

     

  • हाम्रो लागि कमल थापा र प्रचण्ड उस्तै हुन्ः धर्मेन्द्र वास्तोला

    हाम्रो लागि कमल थापा र प्रचण्ड उस्तै हुन्ः धर्मेन्द्र वास्तोला

    नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो केपी शर्मा ओलीको सरकारसँग हिसात्मक आन्दोलन त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने सम्झौता गर्‍यो । यद्यपि, मूलधारको राजनीतिमा यस पार्टीको उपस्थिति देखिएको छैन ।

    विप्लव समूहका नेताहरू अन्य दलका नेताहरूसँग भेटेर विभिन्न मुद्दाहरूमा लविङ गरिरहेका भेटिन्छन् । आफ्ना पार्टीका नेता-कार्यकर्ताहरूको रिहाइ उनीहरूको प्राथमिकतामा छ । पार्टीको मुख्य राजनीतिक एजेन्डा चाहिँ जनमतसंग्रह हो ।

    नेकपा विप्लव ले अब कस्तो तरिकाले आफ्नो राजनीतिलाई अघि बढाउँछ भन्ने अस्पष्टताका बीच सो पार्टीले एमसीसीको विरोधमा सडक आन्दोलन शुरू गरेको छ । एमसीसीका विरोध गरिरहेका विभिन्न समूहहरूसँगै विप्लव माओवादी पनि सडकमा ओर्लेको हो । राष्ट्रियतासँग जोडिएको मुद्दालाई हतियार बनाएर यस पार्टीले राजनीतिमा आफूलाई स्थापित गर्न खोजेको कतिपयले विश्लेषण गरेका छन् ।

    यीनै विषयको सेरोफेरोमा हामीले पार्टीका सचिवालय सदस्य समेत रहेका विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलासँग कुराकानी गरेका छौं । उनले एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै कुनै हालतमा पारित हुनु नहुने बताए । यदि पारित गरिएमा नेताहरूलाई कालोमोसो दलेर नांगेझार पार्ने चेतावनी पनि उनले दिएका छन् ।

    प्रस्तुत छ, बास्तोलासँग गरिएको कुराकानी नेपाल टकमाः

    – जताततै एमसीसीको विरोध भइरहेका बेला तपाईंहरूले पनि राजनीतिमा स्थापित हुनका लागि भल छोप्ने मौका खोज्नुभएको हो ?

    हामीले भल छोप्न खोजका होइनौ । एमसीसीको विरोध नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुरूदेखि नै गर्दै आएको हो । हामीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा पनि हाम्रो पार्टीको अन्तर्राष्ट्रिय विभागले सुरक्षा विज्ञ तथा अन्तराष्ट्रिय विज्ञलाई बोलाएर एउटा ठूलो अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यहाँ बौद्धिक मान्छे पनि आएका थिए । जस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका अवकास पाएका व्यक्तिलाई पनि बोलाएर छलफल गरेका थियौं ।

    – सेना-प्रहरीका उच्चपदस्थ व्यक्ति औपचारिकरूपमा आएर छलफल गरेका थिए कि अनौपचारिकरूपमा ?

    औपचारिक होइन, अनौपचारिक छलफलमा आएका हुन् । हामीले बोलाएको बैठकमा उनीहरू आएपछि किन आए भनेर बहस पनि भयो । उनीहरूलाई स्पष्टीकरण पनि सोधियो ।

    – तपाईंहरूका कारणले उनीहरूलाई अफ्ठयारो पनि सृजना भयो त्यसो भए ?

    त्यस्तै त्यस्तै भयो । जे भए पनि त्यसले एउटा देशव्यापी बहस सृजना गर्यो । त्यसपछि एमसीसीका विरुद्धमा सबैले आवाज उठान थाले । र अहिले यो अवस्था सिर्जना भयो । अघि तपाईंले भनेकोजस्तो हामीले स्थापित हुन र भल छोप्नका लागि गरेका होइनौ । हाम्रो पूर्वनिर्धारित कार्यक्रम नै हो ।

    – एमसीसी पारित गरियो भने ठेगान लगाउने भन्दै आउनुभएको छ । यो ठेगान लगाउने भनेको के हो ?

    तपाईंले सही भन्नुभएको हो । हामीले ठेगान लगाउने नै भनेका छौं । राष्ट्रघातीलाई त ठेगान लगाउन जरुरी नै छ नि । यो देशभित्र माफियाको जालो छ । जसले देशलाई कंगाल बनाउन खोजिरहेको छ । यस्ता माफियालाई घरबाट थुतेर कालोमोसो दलेर सडकमा घुमाएर संघीय संसद भवन अगाडि नै नांगेझार पार्ने हाम्रो पार्टीको योजना छ ।

    – तपाईं प्रचण्डसँग हुँदा पनि अन्तर्राष्ट्रिय विभागमा हुनुहुन्थ्यो । अहिले पनि त्यही विभाग सम्हालिरहनुभएको छ । वास्तवमा एमसीसीमा कुन पार्टीका कुन-कुन व्यक्तिको संलग्नता छ ?

    यसमा त हामीले भनिरहन जरुरी नै छैन । सबैलाई जानकारी भएकै कुरा हो नि । अहिले सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको तत्कालीन सरकार भएकै बेला अहिलेका कानूनमन्त्री ज्ञानेन्द्र कार्कीले गर्नुभएको सम्झौता हो । जानेर हो वा नजानेर के कारणले गरेको हो भन्ने अझै पनि बुझेका छैनौं । बुझ्दै पनि छौं । नजानेर गरेको भए खारेज गर्नुस् भनेर हामीले भन्दै आएका छौं र भनिरहेका पनि छौं । जे-जसरी गरेको भए पनि अब सच्चिनुपर्छ भन्ने हो । अहिले पनि कांग्रेसबाहेक एमसीसीलाई कसैले पनि समर्थन नगर्ने अवस्था छ । केही न केही रूपमा सबै पार्टी जोडिएका नै छन् । तर जो जोडिए पनि पास हुने सम्भावना एदमै कम छ ।

    – अमेरिकासँग नेपालको पुरानो सम्बन्ध छ । उनीहरू नेपालले नमान्ने हो भने फिर्ता लिन पनि तयार छन् । तर एमसीसी फिर्ता गर्दा अन्तराष्ट्रिय मञ्चमा नेपाललाई समस्या नपर्ला ?

    त्यस्तो केही पनि फरक पर्दैन । एमसीसी पास नभएर खारेज भयो भने नेपालाई अन्तर्राष्ट्रिय मञ्चमा समस्या होइन कि नेपाल सगरमाथाजस्तो अग्लो र अटल राष्ट्रका रुपमा स्थापित हुन्छ । हामीले सोचेजस्तो अमेरिकासँग सम्बन्ध बिग्रिन्छ भनिएको छ नि, त्यस्तो केही पनि हुँदैन । अमेरिकासँगको सम्बन्ध त अहिलेको भन्दा झन् हजारौं गुणा राम्रो हुन्छ ।

    – अमेरिकी अधिकारीहरू नेपाल आएर सबै नेतासँग भेटेर पास गर्न आग्रह गरिरहेका छन् । पास नगर्दा रिसाउँदैनन् ?

    पक्कै पनि रिसाउदैँनन् । यसबाट सच्चा मित्र रहेछन् भन्ने बुझिन्छ । एमसीसी आयो भनेर भारत र चीनलाई टुक्रा पार्ने हो । अमेरिका आफैं पनि अहिले विभाजित नै छ । उनीहरू आफैं विभाजित भएको अवस्थामा नेपालबाट एमसीसी खारेज गर्ने हो भने अमेरिकालाई पनि ठूलो राहत महसुस हुन्छ ।

    – अमेरिकी सेना नेपालमा आउँछ भन्ने डर तपाईंहरूले फैलाइरहनुभएको छ । अहिले पनि तालिम लिन त अमेरिकी सेना आइरहेकै छ नि ? एमसीसी पास भएमात्र सेना आउँछ भन्ने हो र ?

    आउने त आउने, कसरी र कुन प्रयोजनका लागि आउने भन्ने मुख्य कुरा हो । एमसीसीको दस्तावेजले नै भन्छ कि अमेरिकी सेना आउँछ । भारतलाई नियन्त्रण गर्न आउँछ र चीनमाथि आक्रमण गर्न आउँछ भन्ने कुरा प्रमुख हो ।

    – एमसीसीका बारेमा अहिले जुन बहस भइरहेको छ नि । यो हेर्दा पास हुन्छ जस्तो लागिरहेको छ यहाँहरूलाई ?

    पक्कै पनि हुँदैन । फेरि हुनै सक्दैन भनेर पनि भन्न सकिन्न । अहिलेको संसदीय व्यवस्थाका नेता र पार्टीको भर हुँदैन । तर, हाम्रो पार्टीले पनि विरोध गरिरहेको हुनाले नहुने मुख्य एउटा कारण यो पनि हो । नेपाली काँग्रेसभित्रै पनि एमसीसीको विरोध भइरहेको छ । एमालेभित्र पनि गर्नुहुन्न भन्ने पक्ष छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पनि पास नगर्ने पक्षमा हुनुहन्छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पास गर्नुहुँदैन भन्ने लाइन रहेको बुझिएको छ । किनभने देउवालाई पनि पास गर्‍यो भने चुनाव हारिन्छ भन्ने डर छ । प्रचण्डले पनि पास नगर्ने भनिरहनुभएको छ ।

    तर, यो बीचमा सरकारले जुन एमसीसीलाई प्रश्न लेखेर जवाफ माग्यो, यो एकदमै राम्रो गरेको छ । यसप्रति हाम्रो पार्टीको तर्फबाट धन्यवाद पनि छ । तर, पास हुँदैन भनेर सधैँभरीका लागि टर्‍ भन्ने चाहीँ होइन । त्यसका लागि सबै एकताबद्ध भएर एमसीसीलाई खोरज गर्नुपर्छ । पास भयो भने पनि सबै एकजुट भएर वृहत आन्दालन गर्न तयार हुनुपर्छ ।

    – एमसीसीबारेमा यहाँहरूको गठबन्धनको एउटै स्वर देखिएको छ । यसै बेला उपेन्द्र यादवदेखि विप्लवसम्म एक हुने भन्ने पनि हल्ला छ । कति सत्य हो ?

    यसलाई हामीले स्वागत नै गरेका छौं । किनभने कम्युनिष्ट पार्टी एक हुनु राम्रो हो । पार्टी विघटन भएर एक हुन खोज्नु नराम्रो होइन । तर, संसदीय व्यवस्थाभित्र एकता भयो भने फेरि पनि उही पुरानै अवस्थामा गइन्छ । यो पार्टी र व्यक्तिको समस्याभन्दा पनि दलाल पुजीँवादी संसदीय व्यवस्था नै प्रमुख समस्या हो । यो संसदीय व्यवस्था समाप्त गरौं । अनि एकता गरौं भन्ने हाम्रो लाईन हो ।

    – तपाईंले भनेजस्तो भन्दा पनि केपी ओलीलाई समाप्त गर्नका लागि संसदीय व्यवस्थामा नै एक भएर चुनाव गरौ भन्ने कुरा बाहिर आइरहेको छ नि ?

    त्यसो त हुनै सक्दैन । संसदीय व्यवस्थामा त धेरैपटक एकता भइसक्यो नि । यसअघि पनि एकता भएको त हो नि । कम्युनिष्टको एकतापछि अब समाजवाद आउँछ भनेको त हो नि । तर, तपाईंले देखिहाल्नुभयो नि अवस्था कहाँ पुग्यो । त्यसैले संसदीय व्यवस्थामा पार्टी एकता जतिपटक गरे पनि फर्किने फेरी उही पुरानै अवस्थामा हो । एकतामा त्यो विकल्प हुन सक्दैन । हामी यसमा प्रष्ट छौं ।

    – त्यस्तो भए एकता पनि नगर्ने, निर्वाचन आयोगमा दर्ता पनि नहुने र चुनाव पनि नलड्ने हो त ?

    एकता नगर्ने, निर्वाचन आयोगमा दर्ता नहुने र चुनाव नलड्ने भन्ने त होइन, तर अहिलेको दलालबादी संसदीय प्रणालीमा हामी यो ३ वटै प्रक्रियामा सहभागी हुदैँनौ । भन्न त सबै पार्टीले समाजवादउन्मुखको कुरा गरिरहेका छन् । देउवा, ओली, प्रचण्ड, नेपाल सबैले समाजवाद उन्मुख नै भनिरहेका छन् नि । तर, समाजवादउन्मुख व्यवस्थाको बारेमा सबैले व्याख्या गर्नुपर्‍यो ।

    – अन्य पार्टीले त केपी ओलीविरुद्धको एकता भनेको होइन र ?

    त्यो त हुनै सक्दैन । त्यसमा हामी सहभागी पनि हुन सक्दैनौ । यस बाटोमा गएर कोही पनि कहिँ पुग्न सक्दैन ।

    – पार्टी दर्ता पनि नगर्ने, एकता पनि नगर्ने र चुनावमा पनि नजाने भए किन नेताहरूसँग भेटघाट गरिहनुभएको छ ?

    यो सबै समाजवादी व्यवस्था ल्याउनका लागि नै हो । समाजवादी व्यवस्थाबारे पार्टीका नेताको धारणा र व्याख्या बुझ्नका लागि हो र उनीहरूलाई त्यो बाटो अपनाउने हो भने सहकार्य गर्नका लागि र एकताका लागि हो ।

    – त्यो भए निर्वाचन आयोगमा दर्ता नै नहुने हो ?

    गर्ने, तर मैले अघि भनेका सबै कुरा पूरा गरेरमात्र गर्ने ।

    राजनीतिक दल र नेता भनेको राज्यसत्ता चलाउन र शासन गर्नका लागि हो । तपाईंहरू दर्ता पनि नहुने, एकता पनि नगर्ने र चुनावमा पनि नजाने हो भने त तपाईंहरूको नेता कार्यकर्ता त जान्छन् नि चुनावमा विभिन्न पार्टीमा चुनाव लड्नका लागि ?

    होइन, हाम्रो पार्टीले चुनावमा नजाने कहाँ भनेको छ र । हामी पनि त चुनावमा जान तयार नै छौ नि । चुनावमा त जाने तर जनमत संग्रहका लागि जाने हो चुनावमा । यतिमात्र नभइ समाजवादी व्यवस्थाका लागि चुनावमा जाने हो । सयौं वर्षदेखि संसदीय व्यवस्थाको चुनाव त हामी लडेरै थाकी नै सक्यौ नि । पुरानो इतिहास हेर्नुस् न । यसले कुनै पनि परिवर्तन ल्याएन र ल्याउन सक्दैन पनि । हामीले १० वर्षे जनयुद्ध गर्यौं । त्यसले पनि केही गर्न सकेन । यसले संसदीय व्यवस्था गलत बाटो भयो भनेर प्रमाणित भइसकेको छ नि ।

    – संसदीय व्यवस्था कि समाजवादी व्यवस्था भनेर जनमत संग्रह गर्न खोज्दा भोली राजतन्त्र कि गणतन्त्र ? हिन्दूराष्ट्र कि धर्मनिरपेक्ष राष्ट्र भनेर पनि जनमत संग्रह गर्ने कुरा आउला नि ?

    त्यस्तो होइन । नयाँतिर जाने कि पछाडि फर्किने भन्ने कुरा हो नि त । यो त विषयान्तर गर्ने कुरामात्र हो ।

    – यसअघि जस्तो मोर्चा बनाएर निर्वाचन नलड्ने नै हो त ?

    त्यसका लागि त अरु पार्टी र नेता छँदै छन् नि । हामी किन चाहियो र ? हाम्रो कुरा त यति मात्र हो कि अहिलेको दलालबादी संसदीय व्यवस्था खारेज गरेर समाजवादी व्यवस्थाको बाटो नै उपयुक्त हो र त्यतातिर लागौ भन्ने हाम्रो मुख्य कुरा हो ।

    – त्यसो भए अबको निर्वाचनमा तपाईंको पार्टीको भूमिका के हुन्छ ? बहिष्कार वा सहभागिता ?

    निर्वाचन हुनुअघि के हुन्छ भन्ने कुराले अर्थ राख्छ । हामीले भनेको व्यवस्थाको कुरा भयो र जनमत संग्रहको तयारी भयो भने हामी पनि चुनावमा जान्छौ । तर, चुनावमा यसअघिकै जसरी जादैँन । यो व्यवस्थाप्रति त नागरिक मात्र होइन, सबै राजनीतिक दल र नेता नै हैरान भइसकेका छन् नि ।

    – कतिपय राजनीतिक दल र नेताहरू त यसमै रमाइलो पनि महसुस गरिरहेका होलान् नि ?

    हो, तपाईंले भनेजस्तो कतिपय नेताहरू रमाइलो पनि महसुस गरिरहेका छन् । जो सधैँ सत्ता र कुर्सीमा छन् उनीहरूले त रमाइलो महसुस गर्ने नै भए नि । जस्तो देउवा, ओली प्रचण्डले रमाइलो महसुस पनि गरिरहेका होलान् । तर, ती पार्टीभित्रका अधिकांस नेता तथा कार्यकर्ता र जनता भने संसदीय व्यवस्थाप्रति हैरान नै भइसकेका छन् । हामीसँगको छलफल तथा भेटघाटमा हामीले त्यो पाएका छौं । उनीहरूले भनिरहेका पनि छन् हामीसँग । धेरै नेता तथा कार्यकर्ता र जनता हैरान भएपछि समाजवादतर्फको दिशातर्फ जान तयार नै छन् ।

    – तपाईंहरू अहिलेकै संविधानमा टेकेर समाजवादतर्फको दिशामा जान र जनमत संग्रह गर्न तयार हो त्यसो भए ?

    त्यो फेरि होइन । हामी त्यतातिर जान खोजेका छैनौ । समाजवादतर्फ र जनमतसंग्रहतर्फ जान भनेको अहिलेको संविधानमा टेकेर जाने भनेको होइन । यसमा सबैले स्पष्ट भए हुन्छ । तर जनयुद्धको उपलब्धीको जगमा टेकेर भने जान सकिन्छ ।

    – खास पार्टी एकताको कुरा के हो ? तपाईंको नजिक कुन पार्टी र नेता छन् अहिले ?

    सबै नेता हाम्रा लागि नजिक र बराबर छन् । कमल थापादेखि शेरबहादुर देउवासम्म सबै हाम्रो नजिक छन् र बराबर पनि छन् । सबै एउटै तहमा छन् ।

    – सबैलाई एक तहमा राख्दा प्रचण्डमाथि अन्याय हुँदैन र ?

    त्यो उहाँलाई लाग्न सक्छ । तर, हामीलाई अहिले सबै बराबर लाग्छन् । उहाँले त्यो महशुस गर्नुहोला । उहाँको त्यो आफ्नै कारणले पनि त्यस्तो अवस्था आएको हुनसक्छ । हाम्रो दृष्टिकोण सबैप्रति एउटै नै छ । हाम्रा लागि अहिले कोही पार्टी र नेता फरक छैनन् ।

    तपाईंहरूले सरकार ढल्नै लागेको बेला केपी ओलीसँग किन सम्झौता गर्न पुग्नुभयो भन्ने प्रश्न पनि छन् । केपी ओलीलाई नै जस दिलाउनका लागि हो त ?

    होइन, यो हामीले कसैलाई जस लिन र लिनका लागि गरेका होइनौ । यसमा कसैलाई नाफा र कसलाई घाटा भन्ने पनि छैन । केपी ओली छलफलद्वारा राजनीतिक समस्या समाधान गर्न तयार हुनुभयो । उहाँले शुरूदेखि नै गर्न खोजेको हो ।

    वार्ता टोली नै गठन गरेर अघि बढ्नुभएको हो । त्यतिबेला देखि नै हामीले एक खालको छलफल गरिरहेका थियौं । जुन बेला हामीले सम्झौता गर्‍यौं त्यो बेलासम्म आइपुग्दा ठिक समय आइपुग्यो र गर्‍यौं । त्यो एउटा संयोगमात्र हो ।

    – भनेपछि भोलि के हुन्छ के हुन्छ, अहिले ओली सरकार ढल्न लागेको बेला मौका यही हो भनेर हो त ?

    फेरि त्यस्तो भने होइन । यसमा कसैलाई भ्रममा नपर्न सबैलाई अनुरोध पनि छ । हामीले शान्तिपूर्ण आन्दोलन र विरोध गरिहेका बेला सरकारले द्वन्द्व गर्न खोजिरहेको हामीलाई महसुस भयो । हामी राजनीतिक मुद्दामा मात्र गएका थियौ । देशलाई मुठभेडमा पुर्‍याउनु हुँदैन भनेर हामी सम्झौता गर्न आइपुगेका हौं ।

    -त्यस्तो भए तपाईंहरूको अबको नीति के हो त ?

    हाम्रो मुद्दा भनेको समाजवादी व्यवस्था नै हो । अहिलेको संविधानले पनि समाजवादउन्मुख भनेको छ । माधव नेपालले पनि समाजवाद भनिरहनुभएको छ र पार्टीको नाम नै त्यही राख्नुभएको छ । यो पनि एउटा संकेत हो कि सबै समादवादको पक्षमा छन् भन्ने कुरा ।

    – त्यसो भए तपाईंहरू माओवादी कि समाजवादी ?

    माओवादी भनेकै समाजवादी हो । त्यो एउटै विस्तृत दर्शन हो । त्यसैले समाजवादी नै माओवादी हो र माओवादी नै समाजवादी हो यसमा सबैले प्रष्ट हुनुपर्छ ।

  • हामीसँग हतियार छैन, कोही आत्तिनुपर्दैन :धर्मेन्द्र बाँस्तोला

    हामीसँग हतियार छैन, कोही आत्तिनुपर्दैन :धर्मेन्द्र बाँस्तोला

    चितवन । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको बताएका  छन् ।

    सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको जनाउँदै उनले राजनीतिक दललाई त्यस विषयमा नआत्तिन आग्रह गरे। उनले भने, ‘हामीसँग हतियार छैन । यस विषयमा कोही आत्तिनुपर्दैन ।’

    अहिले नै सरकारमा जाने /नजाने विषय महत्वपूर्ण नभएको बताउँदै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे ।

    सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, ‘सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ ।’ उनले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिए ।

    उनले भने,‘हामी सरकारमा नजाने भन्ने होइन । संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो ।’ सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उनको भनाइ थियो ।

    सरकारसँग गरिएको सहमति प्रारम्भिक कुरा भएको उनले भने । पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पार्टीका कार्यकर्ता रिहा र नेकपाले देशको राजनीतिक समस्यालाई शान्तिपूर्णरुपमा छलफलका माध्यमबाट समाधान गर्ने विषयमा मात्रै सहमति गरेको नेता बाँस्तोलाको भनाइ थियो ।

    उनले भने, ‘नेता कार्यकर्ता रिहाइको प्रक्रिया शुरु भएको छ । अब हाम्रो छलफल देशको राजनीतिक समस्या, आर्थिक समस्यालाई समाधान गर्ने विषयमा चल्छ ।’ आफूसँग देशको समस्या समाधानका लागि बृहत् खाका रहेको उनले दाबी गरे ।

     

  • रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

    रिहाइपछि धर्मेन्द्रले भने- देशको समस्या समाधान गर्न अघि बढ्छौं, सफल पनि हुनेछौं (भिडियो)

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले राजनीतिक निकासको लागि पहल गर्ने सबैप्रति आभार जनाएका छन् ।

    शुक्रवार काभ्रेबाट रिहा भएका बास्तोलाले राजनीतिक समस्यालाई राजनीतिक ढंगबाटै हल गर्ने कुरा आफ्‍नो पार्टीले पहिलेदेखि नै गर्दै आएको प्रतिक्रिया दिए ।

    सरकारले पनि राजनीतिक तरिकाले नै समस्या समाधान गरौं भनेर अघि बढे भन्दै बास्तोलाले रिहाइ तथा वार्ता सफल पार्न सहयोगी भूमिका निभाउने सबैलाई धन्यवाद दिएका छन् ।

    ‘यो देशको समस्या समाधान गर्न हामी अघि बढ्छौं र सफल पनि हुनेछौं’, उनले भने ।

  • रिहा हुने भएपछि चिटिक्क बने विप्लव समूहका नेता धर्मेन्द्र !

    रिहा हुने भएपछि चिटिक्क बने विप्लव समूहका नेता धर्मेन्द्र !

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता सफल भएसँगै जेल र हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्ने तयारी भैरहेको छ ।

    सरकारले विप्लव कार्यकर्तालाई पक्राउ नगर्न पनि प्रहरीलाई निर्देशन दिइसकेको छ । सम्झौताअनुसार विप्लव कार्यकर्तालाई रिहा गर्नका लागि प्रक्रिया सुरुआत गर्ने तयारीमा सरकार छ ।

    सर्वोच्च अदालतले रिहाइ गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ परेका विप्लव समूहको दोस्रो तहका नेता धर्मेन्द्र बाँस्तोला जिल्ला प्रहरी कार्यालय काभ्रेमा देखिए । काठमाडौंमा पक्राउ गरेर बाँस्तोलालाई काभ्रे लगिएको थियो ।

    उनकै आग्रहमा प्रहरीले उनको कपाल तथा दाह्री काट्ने प्रबन्ध मिलाएको थियो । बास्तोला विप्लव समूहका प्रभावशाली नेता हुन् । उनकी छोरी र ज्वाइ केही दिनअघिमात्र केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

    अहिले उनलाई काभ्रे प्रहरीको हिरासतमा राखिएको छ ।

  • विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

    विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

    बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

    यसअघि अदालतले छाड्न आदेश दिएपनि उनलाई पुन: पक्राउ गरिएको थियो । सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

     

     

  • विप्लव नेता धर्मेन्द्र बास्तोलाको रिटमाथि सुनुवाइ हुँदै

    विप्लव नेता धर्मेन्द्र बास्तोलाको रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ । बास्ताोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

    यसअघि अदालतले छाड्न आदेश दिएपनि पुन: पक्राउ गरिएका धर्मेन्द्र रिहा हुने वा नहुनेले वार्ताका लागि भूमिका निर्धारण गर्ने विप्लवनिकट स्रोतले जनाएको छ । प्रतिबन्ध फुकुवा साथै जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइलाई विप्लव समूहले मुख्य शर्त बनाएको छ ।

    विप्लव पक्षसँग सावधानीपूर्वक संवाद चलिरहेको र हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा समाहित हुने सहमति भएमा प्रतिबन्ध फुकुवा गरेर वार्ता हुने ती मन्त्रीले बताए । त्यसका लागि सरकारले पनि वार्ता टोली गठन गर्नेछ ।

    शनिबार विज्ञप्ति निकाल्दै विप्लवले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका थिए ।

    स्रोतका अनुसार विप्लवको वार्ता टोलीका सदस्य र सरकारका प्रतिनिधिबीच केही दिनयता भइरहेको अनौपचारिक छलफलपछि वार्ताप्रति विप्लवले धारणा सार्वजनिक गरेका हुन् ।

  • बास्तोलालाई हिरासतमा राख्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

    बास्तोलालाई हिरासतमा राख्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र वास्तोलालाई हिरासतमा राखिराख्नुको कारणको जवाफ पेस गर्न आदेश दिएको छ ।

    प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा ‘बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नुनपर्ने हो ?’ भनी जवाफ पेस गर्न भनिएको छ ।

    नेता बास्तोलाकी पत्नी हिमा बस्तोलाले प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको आदेश दिन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

    २९ पुसमा ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो ।