Tag: धरहरा पुनर्निर्माण

  • महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

    महाविनाशकारी भूकम्पको ६ वर्ष पूरा

    काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.६ म्याग्निच्युडको महाविनाशकारी भूकम्पको आज छैटौं स्मृति दिवस मनाइँदैछ ।

    राजधानी काठमाडौं उपत्यकासहित मध्य नेपालका १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको भूकम्पले करिव ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । अन्य १८ जिल्ला कम प्रभावित बनेका थिए ।

    भूकम्पले गोखरा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाहरुमा बढी क्षति गराएको थियो । भूकम्पमा ८ लाखभन्दा बढी निजी आवास भत्किएका थिए भने करिव १० जना सार्वजनिक बिद्यालयको संरचनामा क्षति पुगेको थियो ।

    भूकम्पले नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको धरहरा ढलेको थियो भने थुप्रै सांस्कृति सम्पदामा असर गरेको थियो । पुनर्निर्माणपछि हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको उद्घाटन गरेका थिए ।

    भूकम्प गएको ६ वर्षको अवधिमा निजी तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्रधीकरण स्थापना गरी पुनर्निर्माणको काम सुरु गरेको थियो ।

  • असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो

    असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो

    काठमाडौं । २०७२ सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माण भइरहेको छ । अहिलेसम्म धरहराको २०औं तलासम्मको काम सकिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले २०औं तलाको बार्दली निर्माणको काम भइरहेको जानकारी दिएका छन् । यही बार्दलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।

    धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले बताए । ४२.२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा २३ तलाको बन्नेछ ।

    त्यसबाहेक टक्सार संग्रहालय, भूकम्प संग्रहालयलगायतको संग्रहालय रहने भवनको निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । जमीनमुनिको दुईतलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ ।

    भूकम्पले ढालेको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको हो । धरहरा पुनर्निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

    मुख्तियार भीमसेन थापाले १८८२ सालमा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पुर्याएपछि नौतले बनाइएको थियो ।

    आगामी असार मसान्तसम्ममा हस्तान्तरण

    ३ अर्ब ४५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण हुँदै गरेको धरहरा आगामी असार मसान्तभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका सिईओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए ।

    प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने समेत बताए ।

  • तोकिएको समयमै धरहरा पुनर्निर्माण नसकिने, ५० प्रतिशत मात्र काम सम्पन्न

    तोकिएको समयमै धरहरा पुनर्निर्माण नसकिने, ५० प्रतिशत मात्र काम सम्पन्न

    काठमाडौं । धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले ढलान गर्ने तयारी भइरहेको छ । अहिलेसम्म पुनर्निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

    गोरखा भूकम्पको तीन वर्षपछि मात्रै सो सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको भीमसेनस्तम्भ पुनर्निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेको हो ।

    मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पारेपछि नौतले बनाइएको थियो ।

    दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि हिजोआज निर्माणका काममा सुस्तता देखिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धर शुरुआती चरणमा तीव्र रुपमा निर्माणको काम भए पनि पछिल्लो समय सोहीअनुरुप काम अघि बढ्न नसक्दा थप गरिएका समयमा पनि काम सकिन्छ भन्नेमा शङ्का उब्जिएको बताउँछन् ।

    कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनर्निर्माण प्राधिकरणले आठ महिना समय थप गरिदिएको छ ।

    नेपाली र केही भारतीयसहित दैनिक १५० कामदार नियमित रुपमा निर्माणमा जुटिरहेका छन् । धरहरा पुनर्निर्माणका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठ आफूहरुले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महिना मात्रै थपिएको बताए । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किलै छ ।

    “धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्य अभिवृद्धि र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ”, म्यानेजर श्रेष्ठले भने ।

    उनका अनुसार ऐतिहासिक ढुङ्गेधारा क्षेत्रलाई संरक्षण गर्ने गरी काम भइरहेको छ । ढुङ्गेधाराबाट निरन्तर पानी खस्ने व्यवस्था गर्न लागिएको छ । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा ३ अर्ब ४८ करोड खर्च लाग्ने बताइएको छ ।

    पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहरा थप चौडा हुनेछ । यहाँ दुई लिफ्ट रहने छन् । साथै एउटा परम्परागत भ¥याङ पनि हुनेछ । आगन्तुकले दुईमध्ये एक रोजेर प्रयोग गर्न सक्छन् ।

    ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् । बाहिरबाट ११ तलाको देखिने भए पनि स्तम्भ २२ तलाको हुनेछ ।

    यसको उचाइ ७२ मिटर तथा १४।६३ मिटरको आधार रहने छ । पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान बन्ने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृह हुनेछ ।

    यहाँ पढ्न, ध्यान गर्न या आरामसँग बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ्ग गर्न मिल्ने बताइएको छ । धरहराको १८ औँ तलामा अवलोकन कक्षसहित सङ्ग्रहालय, फोहरा, बगैंँचा र खाजाघर पनि रहने छन् ।

    पचास वर्षअघिदेखि हुलाक सेवा दिँदैआएको यहाँको गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागकै प्राङ्गणमा सारिएको छ । गोश्वारा हुलाकको भवन भएका ठाउँमा तीनतले भूमिगत पार्किङ स्थल बन्ने छ ।

    यहाँस्थित टक्सार विभाग पनि बबलमहलमा स्थानान्तरण भएको छ । टक्सार विभाग रहँदा सुरक्षाका कारण बन्द गरिएको पुरानो बाटोलार्ई स्थानीय जनताको मागअनुसार केही समयअघिदेखि खोलिएको छ ।