Tag: धरहरा

  • धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली

    धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता एवम् सांसद प्रदीप ज्ञवालीले केपी शर्मा ओलीको सरकारलाई धरहरा र चुच्चे नक्सामार्फत जनाले सम्झिरहने दावी गरेका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रयोजनका लागि प्रतिनिधिसभाको बैठकमा चलिरहेको छलफलमा एमालेको प्रतिनिधिका रूपमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कोरोना खोपका लागि पनि जनताले केपी ओलीलाई सम्झिने बताए।

    ‘प्रत्येक चोटी जब जनताले कोरोनाको खोप लगाउँछन्, यो सरकारलाई सम्झिने छन् किनभने एक करोड ६१ लाख खोप हामीले सुनिश्चित गरेका छौं,’ उनले भने, ‘ सुनधारामा धरहरा, दाहिनेपट्टी रानीपोखरी, चुच्चे नक्सा र बढेको सगरमाथाको उचाइका लागि सम्झिरहने छन्।’

    सरकारका उपलब्धीको चर्चा गर्दे उनले भूकम्पपछिको पुनर्निर्माणका लागि पनि जनाले सम्झिने बताए। उनले आफूहरू सत्ताबाट बाहिएकोमा कुनै पीडा नभएको बताए ।

  • जब मेरो छेवैमा धरहरा खस्यो

    जब मेरो छेवैमा धरहरा खस्यो

    ६ वर्षअघिको त्यो दिन सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । ०७२ सालको भूकम्पले धरहरा ढाल्दा घटनास्थमा रहेको म भाग्यले जोगिएको थिएँ ।

    शनिबारको बिदा भएकोले म कोठामै थिएँ । हल्का बदलीसहित केही चिसो मौसम थियो । बिहानको ११.३० बजेतिर मित्र चिन्तामणी ज्ञवालीजी आफ्नो मेडमसहित भेटघाटको लागि मेरो कोठा भोटेबहालमा आउनुभयो । एकछिनको भलाकुसारीपछि चिन्तामणि र म बीर अस्पतालतिर जान भनेर करिब ११.५० बजेतिर कोठाबाट निस्कियौं ।

    भोटेबहालको गल्ली हुँदै हामी ठीक ११.५६ बजे धरहरा कम्प्लेक्सतर्फ लम्किँदै थियौं । ठिक त्यति नै बेला एक प्रकारको डरलाग्दो हुरी चलेजस्तो आवाज आयो । हावा थिएन केवल आवाज । मित्रले लौन के भयो भनेर आत्तिदै पछाडिबाट मेरा दुवै हात समात्नुभयो । मैले भूकम्प गएको थाहा पाइसकेको थिएँ ।

    त्यति नै बेला मेरो आँखा धरहरातिर सोझियो । धरहरा लरलर हल्लिन थाल्यो । माथि रहेकाहरु कराउन-चिच्याउन थाले । हेर्दाहेर्दै आँखैअघि धरहरा चल्न लाग्यो । अब कतातिर ढल्छ भनेर हामी भाग्ने चेष्टा गर्न थाल्यौँ । दक्षिण-पश्चिमतिर ढल्लाजस्तो देखिएकाले म भोटेबहाल तिरकै गल्लितिर भाग्न खोजेँ, तर टेकेको जमिन नै बेस्सरी हल्लिएकाले भाग्न सक्ने गुञ्जायसै भएन । हामी जहाँको त्यहीँ अडियौं ।

    हेर्दाहेर्दै धरहरा त हामीमाथि नै खस्लाजस्तो भयो । ठूलो कोलाहलको वातावरण थियो । मानिसहरु भागदौड गरिरहेका थिए । धरहरा मच्चिँदा मच्चिँदै पटट …आवाजसहित बीचमा दुई ठाउँ टुक्रियो । अनि माथिका दुई टुक्रा मेरो सामुन्नेमै जमिनमा ड्याम्म पछारियो । मेरो त होसहवास नै उड्यो एकछिन ।

    त्यो पछारिएसँगै आएको बेगको हावाले म पनि जमिनमा पछारिएँ । धरहराको ढिक्को मभन्दा २ मीटर पर मात्रै बज्रिएको थियो । म भाग्यले बाँचे । इट्टाको धुलो उडेर आँखा हेर्न गाह्रो भयो । कोटभित्र मुख लुकाएर सास फेरिरहेको थिएँ । तर पनि थुप्रै धुलो मुखभित्र पसिसकेको थियो (त्यसले गर्दा छातिको संक्रमण भएर मैले दुई हप्ता औषधि खानुपर्यो ) ।

    एकछिनपछि मेरो नजिकमा एउटा भ्यान आएर रोकियो । म बल्लतल्ल लम्केर भ्यानलाई समातेँ । भ्यान पनि हल्लिदै थियो । त्यसैले मलाई उभिनै गाह्रो भयो ।

    एकछिनमा धुलो घटेर अलि आँखा हेर्न सकिने भयो । अनि, यसो अगाडि हेर्दा त धरहराको ठुटो मात्र बाँकी । त्यसमा कुनै फलामे डण्डी थिएन । केवल माटोले ईंटालाई जोडेर बनाएको धरहरासँग मनमनै रिस पनि उठ्यो । त्यतिबेलाका शासकहरु यति कमजोर संरचना किन बनाए होला ? भन्ने मनमा लाग्यो । तर, फेरि सोचेँ त्यसबेलाको प्रविधि नै त्यस्तै थियो त के गरुन् ।

    यता भुईंमा खसेको धरहरामा थुप्रै मानिसहरु लडेका र किचिएका थिए । उनीहरुमध्ये कति मरिसकेका त कति जिवितै थिए । म एउटा स्वास्थ्यकर्मी भएका कारण गएर उद्दारमा जुटिहालौं भन्ने पनि सोच आयो । तर, आफ्नै अवस्था सामान्य नभएकाले रोकिएँ । अघिको कोलाहल एकछिनमा सन्नाटामा परिणत भएको थियो । पछारिने र च्यापिने सबैको मृत्यु भएको जस्तो लाग्यो ।

    (पछि मिडियामा धरहराबाट खसेर बाँचेकाहरुको अन्तरवार्ता आएपछि आश्चर्यमा परेँ)

    एकछिनपछि मेरो मोबाइलको घन्टी बज्यो । साथी चिन्तामणिजीले त मलाई माया नै मार्नुभएको रहेछ । मलाई समातिरहेको बेला धरहरा खस्ने छनक पाएपछि उहाँ कतिबेला भागेर अर्कोपट्टि पुगन भ्याउनुभएछ । मैले थाहै पाइनँ । पछि हामी भएतिरै धरहरा खसेको देखेपछि पक्कै म पनि किचिएँ होला भन्ने उहाँलाई परेछ ।

    मैले ‘हेल्लो’ भन्नेवित्तिकै उताबाट आवाज आयो, ‘ए मरेको त रहेनछ ।’ त्यसपछि उहाँले ‘आउनुस्, टुँडिखेलतिर जाउँ’ भनेर बोलाउनुभयो । तर, मैले ‘घरमा मेडमहरुको के अवस्था छ, घरै जाउँ’ भनेँ । हामी डराई–डराई भोटेबहालको गल्लि हुँदै गयौं । बीचबीचमा पराकम्प आएर घरहरु सबै हल्लिन्थे । ज्यान बचाउनै गाह्रो हुन जस्तो अवस्था थियो । घर पुग्नै लाग्दा पछाडिबाट ‘हामी बाहिर छौ’ भन्दै श्रीमतीले बोलाइन् । अनि उनीहरु भएतिर गयौं ।

    त्यहाँबाट हामी एक–अर्काको हात समातेर भोटेबहालको पिपलबोटनेरको कम्पाउण्ड पूर्वपट्टि रहेको खाली ठाउँमा बस्यौं । पराकम्पहरु आइरहेकै थिए । त्यतिकैमा अगाडिको घरबाट एकजना २०/२१ वर्षको भाईले काखमा कुकुर च्यापेर त्यहाँ आउनुभयो । घरको झ्यालबाट हजुरआमा ‘ए बाबु, मलाई पनि बाहिर लैजाउन’ भन्दै रुँदै चिच्याउँदै हुनुहुन्थ्यो । त्यो भाइले ‘कुकुर बोकेको छु, तपाईंलाई कसरी ल्याउनु’ भन्दै जवाफ दियो ।

    उसको पारा देखेर मलाई झनक्क रिस उठ्यो । मैले उसलाई सम्झाएँ । ‘तिमी सानो छँदा हजुरआमाले तिमी मर्छौ कि भनेर कति काखमा च्याप्नु भयो होला । आज हजुरआमाले ज्यान बचाउन गुहार माग्दा तिमी कुकुर लिएर आउने ?’ मैले यसो भनेपछि बल्ल उ कुकुर त्यहाँ छोडेर हजुरआमालाई निकाल्न गयो ।

    त्यसै बेला दुइजना स्वीस नागरिक दम्पत्ति एउटा बच्चासमेत लिएर आए । बिचराहरु ताहाचल जानुपर्ने हतारमा त्यहाँ आइपुगेछन् । उनीहरुले बसन्तपुर दरवार स्क्वायरमा सबै ध्वस्त भएको बताए । हामी बसेको नजिकै पनि कम्पाउण्ड वालले च्यापेर ३ जनाको ज्यान गएको रहेछ । म पनि भाग्यले न बाँचेको थिएँ । नत्र थोरै मात्रै अगाडि भएको भए च्यापिन सक्थेँ । त्यो सम्झँदा अहिले नि मुटु काँप्छ ।

    समय बित्दै गयो, पहिले त बाँच्न पाएकोमा संसारै जितेजस्तो लाग्यो । तर मनमा धेरै कुरा खेल्न लागे । अब राती कहाँ जाने ? कोठामा जाने त हिम्मतै छैन । कुनै साथीको मा जाउँ भने सबैको उस्तै बेहाल छ । होटलमा जान झन् डर लाग्छ । बडो असमञ्जसमा परियो । बिस्तारै सबै जनालाई भोक लाग्न थाल्यो । केटाकेटीहरु पानी र खानेकुरा माग्दै थिए । त्यति नै बेला केही मारवाडी व्यापारीहरुले पानीको कार्टून, बिस्कुट, चाउचाउ बाँड्न लागे । अलिक पाको उमेरका मानिसहरुलाई भाग पुगेन ।

    रात पर्न लाग्यो । अब रात कसरी काट्ने । अन्ततः सबैजना कलंकीमा बस्ने एकजना साथीकोमा जानेर त्यहाँबाट उठ्यौं ।

    भोलिपल्ट बिहानै फोन आयो । चन्द्र श्रेष्ठजी (नेपाल स्वास्थ्य प्राबिधिक संघको महासचिब) घरभित्र च्यापिएर दिवंगत हुनुभएको सुनेँ । लास हेर्न जाने भनेर गाडी चढेर चावहिलस्थित मेडिकेयर अस्पतालमा गएँ । मित्र चन्द्रजी र मेडमको पार्थिब शरीरमा फूल चढाएर अन्तिम श्रद्धाञ्जली दिँदै गर्दा मन झसंग भयो । म यदि धरहराले किचिएको भए सायद… ।

    भूकम्पले ८,५०० भन्दा बढी नेपालीहरुको ज्यान गयो, त्यत्तिकै संख्यामा घाइते र अपाङ्ग भए । लाखौं बेघरबार भए । अझै पनि कति त खुला आकासमुनि वा अर्काको आश्रयमा बस्नु परेको छ । आजको दिनमा मित्र चन्द्रजी लगायत भूकम्पमा ज्यान गुमाउनु हुने सम्पूर्णमा श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

    यसबीचमा लाखौं घरहरु पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले बनाइसकेको छ । रानीपोखरी, दरबार हाईस्कूल लगायत थुप्रै संरचनाहरु बनेका छन् भने कति बन्ने क्रममा छन् ।

    ढलेको धरहरा नवनिर्माण भई हिजो मात्र सम्माननीय प्रधानमन्त्रीज्यूबाट उद्घाटनसमेत भएको छ । यो अत्याधुनिक प्रबिधिबाट बनेको छ । यसले नेपालको गौरबलाई समेत बढाउने छ । नेपालीहरु जस्तोसुकै कठिनाइको सामना गर्न सक्षम छन् भन्ने उदाहरण पनि हो यो । हुनत फेरी अर्को कोरोनाको महामारी आएको छ । यो विपत्तिबाट बाँच्न पनि हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ का मापदण्ड हरुको पूर्णरुपमा पालना गर्ने र सरकारले तोकेबमोजिमको लक्षित समुहले खोप लगाउनु हो ।

  • धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा

    धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा

    काठमाडौं । २०७२ सालको भूकम्पले देशका सम्पदा क्षेत्रहरूलाई क्षतिविक्षत बनाएको थियो । भूकम्पले भत्काएका सम्पदाहरूमध्ये आधाभन्दा बढीको पुननिर्माण सकिएको छ भने बाँकीको जारी छ ।

    नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोडिएका सम्पदाहरूको पुनर्निर्माण सबैका लागि चासो र चिन्ताको विषय बन्दै आएको थियो । शुरूमा सरकारले निजी आवासलाई प्राथमिकतामा राखेकाले सम्पदाको पुनर्निमाणमा शुरू हुन ढिलाइ भयो । तर, पछिल्लो समय यसले तीव्रता पाएको छ । भूकम्प गएको ६ वर्षको अवधिमा सम्पदा पुनर्निर्माणको काममा सन्तोषजनक प्रगति देखिन्छ ।

    २०७२ सालको भूकम्पले ९ सय २० वटा पुरातात्विक सम्पदाहरूमा क्षति पुगेको थियो । विश्व सम्पदा क्षेत्रका १ सय ७० वटा सम्पदा र उपत्यकाका ३ जिल्लाका सानाठूला गरेर ४ सय ६ वटा सम्पदामा पूर्ण क्षति भयो । यस्तै उपत्यका बाहिरका जिल्लामा रहेका ३ सय ४४ वटा सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    क्षति पुगेका ९ सय २० वटा सम्पदामध्ये ४ सय ९३ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत १ सय ७० मध्ये १ सय १० वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । उपत्यकाका ३ जिल्लाका ४ सय ६ वटा सम्पदामध्ये २ सय ७ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । उपत्यका बाहिरका ३ सय ४४ वटा सम्पदामध्ये १ सय ७६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् ।

    चालु आर्थिक वर्षमा २ सय ८८ वटा सम्पदाहरू पुनर्निर्मााण भइरहेका छन् । त्यस्तै १ सय ३९ वटा सम्पदाहरूको पुनर्निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । विश्व सम्पदा क्षेत्रका ४९ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । यस्तै विश्वसम्पदा सूचीमा रहेकामध्ये ११ वटा सम्पदाको पुनर्निर्माण हुन सकेको छैन ।

    उपत्यकाभित्र यो वर्ष सबैभन्दा बढी १ सय ११ वटा सम्पदाको पुनर्निर्माण भइरहेको र ४० सम्पदाको पुनर्निर्माण हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । उपत्यका बाहिर १ सय २८ वटा सम्पदाहरू पुनर्निर्माणका क्रममा रहेका छन् भने अझै पनि ४० वटा सम्पदा पुनर्निर्माण हुन बाँकी छन् ।

    प्राधिकरणका अुनसार यसै आर्थिक वर्षमा २ सय ८८ वटा सम्पदाको पुनर्निर्माण भइरहेका छन् । भूकम्पको ६ वर्ष बितिसक्दा पनि नबनेका १ सय ३९ सम्पदाहरूको पुननिर्माणलाई पनि प्राथमिकतामा राखेर छिट्टै काम थाल्ने प्राधिकरणको भनाइ छ ।

    गुम्बा पुनर्निर्माण सुस्त

    सम्पदा पुनर्निर्माणमा प्रगति भइरहेपनि भूकम्पबाट क्षतिग्रस्त बनेका गुम्बाहरूको पुनर्निर्माण भने छायाँमा परेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १ हजार ३ सय २० सम्पदाहरूमा क्षति पुगेको थियो । जसमध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरू ९५ वटा छन् । तर भूकम्पले पूर्ण क्षति पुगेका कुनैपनि गुम्बाहरूको पुनर्निर्माण शुरू भएको छैन ।

    ४ सय २ वटा गुम्बाहरू मर्मत सभार गर्नुपर्ने अवस्थामा थियो । हाल २ सय ९४ वटा गुम्बाको मर्मत सम्भार भइसकेको छन् । १ सय ८ वटा गुम्बा अझैपनि मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन् । तर यो वर्ष आशिंक क्षति पुगेका सम्पदाहरूको मर्मत सम्भार भएको छैन ।

    भूकम्पले एक सय वर्ष पुराना २ सय ५० वटा गुम्बामा क्षति पुगेको थियो । यस्ता ५ वटा गुम्बाको मात्रै पुनर्निर्माण शुरू गरिएको छ । यसैगरी दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका १४ वटा गुम्बामा क्षति पुगेको थियो । हाल ८ वटा गुम्बाका मात्रै पुनर्निर्माण सूरु भएको छ । स्थानीय तह र गुम्बा व्यवस्थापन समितिबाट पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरू ६ सय ३१ वटा रहेका छन् । तर, हालसम्म १ सय १ वटा गुम्बाको मात्रै पुनर्निर्माण शुरू भएको छ ।

    बजेट अभावका कारण गुम्बाहरूको पुनर्निर्माण लक्ष्य अनुसार हुन नसकेको प्राधिकरणले जनाएको छ ।

    अब सम्पदा पुनर्निर्माणले गति लिन्छ

    निजी आवास पुनर्निर्माण पहिलो प्राथमिकतामा परेकाले सम्पदा पुनर्निर्माणमा केही ढिला भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले नेपाल प्रेसलाई बताए । उनले भने,‘बजेट अभावले पनि कतिपय सम्पदाहरूले पुर्णता पाएको सकिएको छैन ।

    अब सम्पदाहरूले गति लिन्छ ।’

    गुम्बा पुनर्निर्माणको काम सुस्त भएको भन्न नमिल्ने अर्यालको भनाइ छ ।

    सम्पदा र गुम्बाहरू पनि पुनर्निर्माण कमै मात्रमा पुनर्निर्माण भइरहेको उनले बताए । सबै सम्पदा र गुम्बाहरू क्रमशः पुनर्निर्माण हुँदै गएको उनको दावी छ । सम्पदा पुनर्निर्माणका लागि प्राधिकरणको लगानी मात्र नभई विदेशी लगानी पनि परिचालन गरिएको छ । कतिपय स्थानमा स्थानीय आफै जुटेर पनि पुनर्निर्माण सम्पन्न गरेका छन् ।

    पुनर्निमाण सकिएका चर्चित सम्पदा

    भूकम्प गएका केही समयपछि निजी आवासको पुनर्निर्माण थालियो । तर, एक वर्षसम्म पनि सम्पदा पुनर्निर्माण गर्ने वा नगर्ने अन्योल कायमै रहेको थियो ।

    सरकारको प्राथमिकतामै सम्पदा पुनर्निर्माणभन्दा निजी आवास प्राथमिकतामा रहेको थियो । निजी आवास पुनर्निर्माण गर्न जस्तो सजिलो नभएकाले २ वर्षपछि मात्रै विश्व सम्पदामा सूचीकृत सम्पदादेखि पुरातात्विक महत्व बोकेको सम्पदाहरू पुनर्निर्माण थालियो ।

    पुरातात्विक सम्पदाहरूलाई पुरानै स्वरूप दिनुपर्ने र त्यसको महत्व मर्न दिननहुने भएकाले प्राधिकरणले पुरातत्व विभागको साथ लिएको थियो । हालसम्म पुनर्निर्माण सम्पन्न भएका चर्चित सम्पदाहरूको सूची यसप्रकार छ :

    रानीपोखरी

    भूकम्पको ५ वर्षपछि रानीपोखरीको पुनर्निर्माण पुरानै स्वरूपमा सम्पन्न भएको छ । यद्यपि पुनर्निर्माणका दौरान विभिन्न विवादहरू सिर्जना भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीले पूर्णता पाउन ५ वर्ष लाग्यो ।

     

    काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको रानीपोखरीमा कंक्रिट प्रयोग गरेको भन्दै विवाद भएपछि महानगर पछि हटेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएपछि रानीपोखरी मल्लकालीन शैली र सामाग्रीबाटै पुनर्निर्माण भयो । पुनर्निर्माण सम्पन्न भएपछि गत कात्तिक ५ गते राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घाटन गरिन् ।

    बौद्धनाथ स्तुपा

    भूकम्पपछि बिनाविवाद सम्पन्न भएको सम्पदामध्ये पहिलो नब्बरमा बौद्धनाथ स्तुपा पर्दछ । भूकम्प गएको वर्ष सर्वसाधरण निजी आवास पुनर्निर्माणमा जुटिरहँदा बौद्धनाथ स्तूपा विकास क्षेत्र समिति भने बौद्धनाथको पुनर्निर्माणमा जुटेको थियो ।

     

    बौद्धनाथ स्तुपा सबैभन्दा पहिले नै पुननिर्माण भयो ।

    धरहरा

    भूकम्पको छैटौं वर्षमा ढलेको धरहरा पनि उठेको छ । धरहराको पुनर्निर्माण सम्पन्न भइसकेकाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । अहिले नयाँ बनेको धरहरा आधुनिक र भूकम्पप्रतिरोधी रहेको छ ।

     

     

    बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

    बसन्तपुर

    पुनर्निर्माण सम्पन्न भएपछि बसन्तपुर क्षेत्रले नयाँ स्वरूप पाएको छ । काठले टेको लगाएर राखिएका बसन्तपुर क्षेत्रमा सम्पदाहरू पुनर्निर्माण भइसकेपछि सर्वसाधारण खुसी देखिन्छन् । बसन्तपुरका केही मन्दिरहरूको पुनर्निर्माण भने अझै जारी छ ।

    काष्ठमण्डप

    काष्ठमण्डपको पुनर्निर्माण यतिबेला अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रारम्भदेखि नै विवाद देखिएको थियो । ठेकेदारले धोका दिएपछि स्थानीय आफैं पुनर्निर्माणमा जुटका थिए । अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपले नयाँ स्वरूप पाउँदैछ ।

    त्रिपुरेश्वर महादेव मन्दिर

    काठमाडौंको त्रिपुरेश्वर मन्दिरको पनि पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौं विश्वविद्यालयको सहयोगमा पुनर्निर्माण हुदै गरेको त्रिपुरेश्वर महादेव मन्दिर पनि केही समयपछि दर्शन गर्नको लागि खुल्ला हुँदैछ ।

    पाटन दरबार

    ललितपुरको पाटन दरबारभित्र रहेको सम्पदाहरूपनि भूकम्पले पूर्ण क्षति पुर्‍याएको थियो । तर, स्थानीयको सक्रियतामा पाटन दरबारभित्र रहेका ऐतिहासिक मन्दिरहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

    भक्तपुर दरबार स्क्वायर

    भूकम्पले भक्तपुरका अधिकांश सम्पदाहरूमा क्षति पुयाएको थियो । तर, ढलेका सम्पदाहरू उठाउन भक्तपुरका स्थानीयले तदारुकता देखाउँदा निजी आवासभन्दा पनि पहिले सम्पदा पुनर्निर्माण भएको छ ।

    भक्तपुर दरबार स्क्वायरलगायतका सम्पदाहरू पुनर्निर्माण भइसकेका छन् ।

    तस्वीर : विजय गजमेर

     

  • ढलेको त्यो धरहरा बनाउने कुरा, केपी ओलीले गरे बचन पूरा (फोटो/भिडियो)

    ढलेको त्यो धरहरा बनाउने कुरा, केपी ओलीले गरे बचन पूरा (फोटो/भिडियो)

    काठमाडौं । २०७४ सालको तीनै तहको निर्वाचनमा एमालेको घोषणापत्र जस्तै ब्राण्ड गीत बनेको थियो- बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सैं पनि एमाले, मै पनि एमाले ।

    गीतको एउटा बोल थियो- भत्किएको धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ त्यो नि पूरा । एमालेको घोषणापत्रमा समेत समेटिएको र एमाले पंक्तिको मुखमा झुण्डिएको त्यो गीतको एउटा बोल अब पूरा भएको छ । संयोग कस्तो भने नेकपा खारेज भएर एमालेकै सरकार बनेका बेला धरहरा निर्माण पूरा भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘म बनाउँछु मेरो धरहरा’ अभियान शनिवारबाट पूरा भएको छ । २२ तले धरहराको उद्घाटन गर्दै ओलीले आफूले जनता समक्ष गरेका बाचा पूरा गर्दै आएको बताए ।

    भत्किएको धरहरा बनाउने अभियानको शुरु गरेका ओली २०७३ सालमा सत्ताच्यूत भएपछि धरहरा निर्माण पनि अलपत्र परेको थियो । सरकारमा ओली र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै रफ्तार लिएको धरहरा पुनःनिर्माण लगभग सम्पन्न भएको छ ।

    शनिवार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए ।

    २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।

    २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो ।
    धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

    बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ ।

    त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुर्ननिर्माणमा मैलिकताको संवद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

    हेरौं धरहरा उद्घाटनपछिका केही तस्बिर :

       

     

           
     
     
    
    तस्विर सौजन्य: राजन काफ्ले (प्रधानमन्त्रीकाे सचिवालय)
  • धरहरा २.० : भीमसेन थापाको स्तम्भ, केपी ओलीको नवनिर्माण

    धरहरा २.० : भीमसेन थापाको स्तम्भ, केपी ओलीको नवनिर्माण

    काठमाडौं । १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले काठमाडौंको केन्द्र भागमा एउटा अग्लो स्तम्भ निर्माण गर्न लगाए । नामाकरण गरियो धरहरा ।

    त्यसयताका १९६ वर्षमा धरहराले दुईवटा ठूला चोट व्योहोर्‍यो । ९० सालको भूकम्पले ११ तल्ले धरहराको माथिल्ला दुई तल्लालाई चोइट्याइदिएको थियो । त्यसबेलाका प्रधानमन्त्री जुद्धशम्शेर राणाले बाँकी ९ तल्लालाई नै कायम राखेर जिर्णोद्वार गरे ।

    भीमसेन थापाले आफ्नी महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरुप धरहराको निर्माण गर्न लगाएका थिए । यसलाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्थ्यो । पछि यो देशकै महत्वपूर्ण सम्पदाका रुपमा स्थापित भयो ।

    भीमसेन थापाले ठ्याक्कै के प्रयोजनका लागि धरहरा बनाएका थिए भन्ने स्पष्ट छैन । कतिपय इतिहासविदले अंग्रेजहरुका अगाडि आफ्नो शासकीय तुजुक देखाउन यो संरचना ठड्याएको विश्वास गर्छन् । सञ्चार प्रविधिहरुको विकास नभइसकेको तत्कालीन समयमा धरहराको टुप्पोबाट विगुल फुकेर सरकारका विभिन्न सूचना र आदेशहरुको जानकारी गराइन्थ्यो । विगुल बजेको सुनेपछि जङ्गी निजामति कर्मचारी कोतमा वा टुँडिखेलमा जम्मा हुनुपथ्र्यो ।

    स्मरणीय के छ भने त्यसबेला एक वर्षको अन्तरालमा दुईवटा धरहरा निर्माण भएका थिए । १८८१ सालमा निर्मित धरहरामा भीमसेन थापाको नाम छ भने त्यसको एक वर्षपछि १८८२ मा निर्मित धरहरामा भने ललितत्रिपुरासुन्दरीको नाम रहेको छ ।

    विसं १८८१ मा बनाइएको धरहरा भुकम्पले ध्वस्त भएको थियो । पछिसम्म रहेको धरहरा चाहिँ १८८२ सालको हो, जसलाई जुद्धशम्शेरले जिर्णोद्वार गरेका थिए ।

    ओलीको नवनिर्माण

    २०७२ सालमा आएको अर्को ठूलो भुकम्पले भने धरहरालाई ध्वस्तप्रायः बनाइदियो । धरहरा ढलेर यसको ठुटो मात्रै बाँकी रहेको थियो । भूकम्पले भत्काएको ठीक ६ वर्षपछि धरहरा फेरि उठेको छ ।

    नयाँ धरहरा निर्माणको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । उनले सुरुदेखि नै धरहरा निर्माणलाई प्राथमिकतामा राखेका थिए भने पार्टीको घोषणापत्रमा पनि यसलाई समावेश गरिएको थियो ।

    धरहराको पुननिर्माण भएको भन्ने गरिए पनि वास्तवमा यो नवनिर्माण हो । भीमसेन थापाले बनाएको धरहरा भूकम्पले भत्काएपछि जुनरुपमा थियो, त्यही रुपमा यथावत राखिएको छ । भूकम्पको स्मृतिका लागि भत्केको धरहरालाई यथावत सुरक्षित राखेर त्यसको छेवैमा नयाँ धरहरा निर्माण गरिएको हो ।

    भूकम्प आएलगत्तै धरहराको निर्माण सरकारको प्राथमिकतामा थिएन । त्यसबेला जनताका आवास तथा अन्य सरकारी भवनहरुको पुननिर्माणको आवश्यकता टड्कारो थियो ।

    भूकम्प आएको तीन वर्षपछि ओली सरकारकै पालामा नयाँ धरहराको निर्माण सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रमन कन्स्ट्रक्सनलाई ठेक्का दिएपछि २०७५ सालको कात्तिक महिनाबाट काम सुरु भएको हो । २०७७ सालको असोज २० गते सक्नुपर्ने गरी सम्झौता गरिएकोमा कोरोनाका कारण निर्माण अवधि लम्बिएको छ ।

    पुरानो र नयाँमा कति फरक ?

    भीमसेन थापाले बनाएको धरहरा भन्दा ओलीले बनाएको धरहरा बृहद र आधुनिक छ । पुरानो धरहरामा ९ तल्ला थियो भने अहिले २२ तल्लामा अग्लिएको छ ।

    पुरानो धरहराको उचाईं करिब २०३ फिट थियो । यसभित्र २१३ सिँढी थिए भने बाहिर २५ सिँढी थिए । १८८ सिँढी उक्लेपछि बार्दली थियो जहाँबाट काठमाडौंको दृष्यावलोकन गर्न सकिन्थ्यो ।

    नयाँ धरहरा एउटा स्तम्भ मात्र नभएर एउटा ‘सम्पदा प्याकेज’ हो, जसअन्तरगत अन्य संरचनाहरु पनि रहेका छन् । आज धरहरा टावरको उद्घाटन भएको छ भने अन्य संरचनाहरु निर्माण क्रममा नै छन् । धरहरा क्षेत्रमै दुई तल्लाको अन्डरग्राउन्ड पार्किङ, मनोरम पार्क, ढुंगेधारा, म्युजिकल फाउन्टेन र चमेनागृह पनि रहनेछन् ।

    पुरानो धरहरा उक्लिनलाई सिँडी चढ्नुको विकल्प थिएन । उक्त नयाँ धरहराभित्रै दुईवटा लिफ्ट जडान गरिएको छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरुले पनि धरहराको टुप्पोमा पुग्न सक्नेछन् । प्रतिसेकेन्ड एक मिटरको गतिमा यी लिफ्टहरु चल्नेछन् ।

    ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ धरहराको निर्माण लागत ३ अर्ब ४५ करोड अनुमान गरिएको छ । अहिले धरहरामा तामाको गजुरलाई सुनले लेपन गरिएको छ । धरहराको२२ औं तल्लामा सिसाको बाल्कोनी बनाइएको छ, जहाँबाट काठमाडौं नियाल्न सकिन्छ ।

  • धुलो टक्टक्याउँदै उठ्यो धरहरा ! प्रधानमन्त्रीद्वारा उद्घाटन (लाइभ)

    धुलो टक्टक्याउँदै उठ्यो धरहरा ! प्रधानमन्त्रीद्वारा उद्घाटन (लाइभ)

    काठमाडौं । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ । भूकम्प आएकोभन्दा एक दिन अगाडिको तिथिमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् ।

    भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । २०७५ सालमा कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।

    नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।

    नयाँ धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।

  • धरहराबाट खसेकी रमिला : मैले जस्तै यसले पुनःजीवन पायो, यहीँ रोजगारी पाऊँ (भिडियो)

    धरहराबाट खसेकी रमिला : मैले जस्तै यसले पुनःजीवन पायो, यहीँ रोजगारी पाऊँ (भिडियो)

    ‘आम्मै’, मलाई त डर लागो !

    रमिला श्रेष्ठले दुवै हातले मुख छोप्दै भनिन् । उनका आँखाहरु नवनिर्मित धरहराको टुप्पोतिर सोझिएका थिए ।

    सुन्धारा क्षेत्रमा आज अरु दिनभन्दा बाक्लो थियो मानिसहरूको चहलपहल । मोटरसाइकलमा हुइकिँदै आउनेहरू टक्क अडिन्थे र खल्तीबाट मोबाइल निकाल्थे । अनि, मुस्कुराउँदै धरहरालाई पृष्ठभूमिमा राखेर तस्वीर/सेल्फी खिच्न थाल्थे । पैदल यात्री पनि एक-दुई स्न्याप हानेर मात्रै अघि बढ्थे ।

    केही दिनदेखि धरहराका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । भूकम्पले भत्केको ऐतिहासिक संरचनाको सफलतापूर्वक पुनर्निमाण गरेकोमा सरकारले जनताबाट धन्यवाद खाइरहेको छ । कसैले चाहिँ धरहरा बनाउने पैसाले ‘यतिवटा अस्पताल बन्थे’ भनेर हिसाब पनि निकालिरहेका छन् ।

    यता, रमिलाको मनमा चाहिँ अर्कै हलचल छ । उनको मानसपटलमा अहिले घुमिरहेका छन् आजभन्दा ६ वर्षअगाडिका परिदृष्यहरू । २०७२ सालको वैशाख १२ गते पनि उनी यहाँ आएकी थइन् । धरहरा चढेकी थिइन् । माथि पुगेर उल्लासित बन्दै चिच्याएकी थिइन् । त्यसपछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाहन्छिन् ।

    हो, भूकम्पले देश हल्लाएको क्षण रमिला धरहराको टुप्पोमा थिइन् । धरहरा ढलेसँगै उनी भूइमा बजारिएकी थिइन् । तर, बाँचेकी थिइन् ।

    भूकम्पले भत्केको धरहराको ठूटो अहिले पनि त्यही अवस्थामा छ । त्यो ठूटोलाई चिनोका रुपमा यत्तिकै छोपछाप पारेर अर्को धरहराको नवनिर्माण भएको छ । नवनिर्मित धरहराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् ।

    नयाँ धरहरा देख्दा कस्तो लाग्यो उनलाई ?

    ‘खुशी लाग्या छ,’ आँखाको कालो चश्मालाई टाउकोमा धकेल्दै भनिन्, ‘तर, कस्तो डर पनि लागिराख्या छ ।’

    ‘तपाईंले त धरहराबाट खसेर पुनःजीवन पाउनुभएको है !’

    उनी थोरै मुस्कुराइन् र सहमतिमा मुन्टो हल्लाइन् । अनि धराहरातर्फ औंल्याउँदै भनिन्, ‘मैले मात्र हैन, ऊ… त्यसले पनि पुनःजीवन पायो ।’

    धरहराबाट खसेपछि चोटग्रस्त भएको रमिलाको खुट्टा पनि भर्खरै ठीक भएको छ । एक वर्षअगाडि उनले खुट्टामा राखिएको स्टिल झिकेकी थिइन् ।

    ‘म पनि उभिएँ, धरहरा पनि उभियो,’ उनले गर्वको भावमा भनिन् ।

    ‘अब कहिले चढ्ने नयाँ धराहरा ?’

    मानौं प्रश्नले नै रमिलालाई अत्यायो ।

    ‘नाइँ-नाइँ नचढ्ने ! डर लाग्छ मलाई…,’ उनी साँच्चिकै नर्भस् देखिइन् ।

    ०००

    त्यसदिन साथी सञ्जीव श्रेष्ठसँग रमिला सुन्धारा घुम्न निस्किएकी थिइन् । एकोहोरो हिँडिरहेका उनीहरूले अगाडि धराहरा देखे ।

    सञ्जिबले भने- चढ्ने हो ? रमिलाले सहमति जनाइन् ।

    दुवै उत्साहसाथ धराहरातर्फ लागे । टिकट काटे । अनि, रमिला साथीको अघिअघि सिँढी उक्लिइन् । माथि रेलिङमा पुगेर काठमाडौं नियाल्दै रमाए उनीहरू । तर केहीबेरमै अचानक धरहरा हल्लिन थाल्यो । उनीहरुले केही मेसो पाउन नसक्दै धरहरा गल्र्याम्गुर्लुम् भयो ।

    ९ तले धरहराबाट उछिट्टिएर उनीहरु तल भूइँमा बजारिएका थिए । रमिला बेहोश थिइन् ।

    ‘होस आउँदा त म हस्पिटलमा थिएँ । अरुको फोन मागेर घरमा खबर गरेकी थिएँ । होस जाने आउने भइरहेको थियो,’ रमिला सुनाउँछिन् ।

    उनको गोडा भाँचिएको थियो भने उनका साथीको हात । त्यही गोडा ठीक हुन निकै समय लाग्यो रमिलाको । टाउको र अनुहारका भागमा पनि चोट लागेका थिए ।

    एक महिना अस्पताल बसिन् रमिला । अस्पताल बस्दा पनि पराकम्पनहरू आइरहन्थे । उनको सातो जान्थ्यो । ज्यान बाँच्दाको खुसी त थियो नै । पटक-पटक पराकम्प आउँदा अब बाँचिन्न कि भनेझैं भइरहन्थ्यो ।

    अस्पतालमा पहिलोपटक गोडाको शल्यक्रिया बिग्रियो । जसले गर्दा उनले थप दुःख झेलिन् । पछि गोडामा स्टिल राखिएको थियो । झण्डै डेढ वर्ष त वैशाखी टेकेर हिँडिन् ।

    ‘स्टिल निकालेको एक वर्ष भयो । तर, पूरा निको भएको छैन । बेला-बेला दुखिरहन्छ,’ उनी सुनाउँछिन् ।

    घरको आर्थिक अवस्था बलियो थिएन । सुरुमा सरकारले उपचार गरे पनि सबै खर्च आफैंले व्यहोर्नुपर्यो । बुवाले ऋण-धन गरेर उनको उपचार गराए ।

    धराहराबाटै खसेका एक जनासँग उनको पछि भेट भयो । त्यो भेटले उनको मन नराम्ररी हतासियो ।

    ‘उहाँको त खुट्टा नै काटेको रहेछ । त्यो देख्दा आफूलाई भाग्यमानी सम्झिएँ,’ उनले भनिन् ।

    भूकम्प जाँदा रमिला कक्षा ९ मा पढ्थिन् । घाइते शरीरका कारण एक वर्ष पढाइ छुट्यो । अहिले उनले प्लस टुको परीक्षा सिध्याएकी छन् । ब्याचलर पढ्ने तयारीमा छिन् ।

    ०००

    हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यतिबेला मिडियामा रमिलाको खोजी हुन्छ । बाँकी अरु दिन कसैले सम्झिँदैन । यसमा रमिलाको ठूलो गुनासो छ ।

    ‘मलाई अब अन्तर्वार्ता दिन पनि मन लाग्दैन । जति अन्तरवार्ता दिए पनि कसैले केही गरेको होइन । न उपचार खर्च पाएँ, न रोजगारी । मिडियाले पनि हाम्रो दु:ख देखाएर भ्यूज कमाउँछन्, तर सहयोग गर्दैनन्,’ रमिलाले हामीलाई नै झटारो हानिन् ।

    उनलाई यतिबेला रोजगारी चाहिएको छ । बुवाको सामान्य खेतिकिसानीले परिवारको भरणपोषण गाह्रो हुँदै गएको उनले बुझेकी छन् । भाइ सानै छ । त्यसैले आफैंले कमाएर परिवारलाई सहारा दिन चाहिन्छन् । सँगसँगै पढाइलाई पनि निरन्तरता दिनु छ ।

    ‘घरमा बा आमा हुनुहुन्छ । उहाँहरू उकालो-ओरालो गर्न सक्नुहुन्न । शरीर कमजोर भएको छ । अब त मैले पनि केही गर्न पाए हुने,’ उनी मलिन सुनिइन् ।

    रमिलाले हामीसँग आफ्नो एउटा इच्छा सुनाइन् ।

    ‘धरहरामा यत्रो काम भइरहेको छ, मलाई पनि सरकारले यहीँ रोजगारी मिलाइदिए हुन्थ्यो’ उनले भनिन्, ‘लौन, तपाईंहरुले पनि भनिदिनु ।’

    जुन धरहराबाट खसेर पनि उनको ज्यान बाँच्यो, त्यही धरहरामा रोजगारी गर्ने रमिलाको इच्छा अर्थपूर्ण थियो । के उनलाई यहाँ काम लाग्दैन ।

    ‘एक-दुई दिन पो डर लाग्ला । सँधै डराएरै बस्न पनि त भएन,’ उनले भनिन्, ‘म यहाँबाट खसेर बाँचेकी छु, अब मैले यहीँ काम पाउनुपर्छ ।’

    भोली हुने धरहराको उद्घाटनमा ‘आउनुपर्छ है’ भनेर पुनर्निमाण प्राधिकरणबाट उनलाई फोन आएको छ । निम्तो कार्ड पनि आउने बताइएको भए पनि उनले पाएकी छैनन् ।

    ‘खोइ जाऊँ कि नजाऊँ,’ उनले अन्योल मुद्रामा भनिन् ।

    भिडियो हेर्नुस् :

    फोटो/भिडियो : विजय गजमेर

  • उठ्नै आँट्यो धरहरा ! वैशाख ११ गते प्रधानमन्त्रीबाट उद्घाटन

    उठ्नै आँट्यो धरहरा ! वैशाख ११ गते प्रधानमन्त्रीबाट उद्घाटन

    २०७२ सालको भुकम्पले ध्वस्त पारेको धरहराको पुनर्निर्माण सकिन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको आगामी ११ वैशाखका दिन उद्घाटन गर्ने भएका छन् । ६ वर्षअघि भूकम्प आएर धरहरा ढलेकाे ठिक ६ वर्षमा यसको नयाँ स्वरुप ठडिने भएको हो ।

    पुनर्निमाण प्राधिकरणका सीइओ सुशील ज्ञवालीका अनुसार अहिलेको संरचनालाई भूकम्पले सजिलै ढाल्न सक्दैन । ‘भूकम्पले ढाल्न नसक्ने गरी निर्माणमा सबै प्रविधिहरु अपनाइएको छ । अब टुप्पोमा बस्दा डराउनुपर्ने हुँदैन,’ उनले नेपाल प्रेससँग भने । अहिले धरहराको कुल क्षेत्रफल ४२ रोपनीमा फैलिएको ज्ञवालीले जानकारी दिए । पहिले ७ रोपनी मात्रै थियो । अहिले धरहरा क्षेत्रमा मुख्य टावरसँगै अन्य संरचनाहरु पनि बन्दै छन् ।

    ११ गते मुख्य टावरको उद्घाटन हुन लागेको हो । अन्य संरचनाहरु भने सकिन केही समय लाग्ने उनले बताए । नवनिर्मित धरहराभित्र लिफ्ट पनि राखिएको छ । लिफ्ट प्रयोग गर्न नचाहनेहरुले भर्‍याङ उक्लेर पनि जान सक्छन् । धरहराको माथिल्लो भागमा बसेर आराम गर्ने व्यवस्था हुनेछ । भुकम्पले भत्काएको धरहराको ठूटो नचलाइकन नयाँ संरचना बनाइएको हो । पछिसम्म स्मृतिको लागि त्यो ठूलोलाई यथावत् राखिएको ज्ञवालीले बताएका छन् ।

     

            
  • धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

    धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

    काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

    खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्वहरुले विभिन्न वहानामा धरहरा निर्माण काममा अवरोध पुर्याउने गरेको भन्दै त्यस्तो काम कहीँ कतैबाट पनि हुन नहुने बताएका हुन् ।

    धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाईदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताए । धरहरा बनाउने क्रममा सबै भन्दा बढी गाली आफुले खाएको भन्दै उनले महानगर एकाध समुहको विरोध र नाराबाजी नअल्झेर योजनावद्ध ढंगले अघि बढ्ने स्पष्ट पारे ।

    उनले भने,‘धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा कहिले सम्पदाको नाममा, कहिले अभियन्ताको नाममा यहँका बासिन्दाहरु हेइन, कहाँ कहाँबाट आउँछन् । अवरोध गर्छन् । ४ ५ जना आउँछन् । ब्यानर राख्छन् । जुलुश गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । तर हामीले त्यो कामलाई समयमा सम्पन्न गर्नपर्छ र हामीले पनि सोचेका थियौ त्यो काम सम्पन्न भयो भने यो क्षेत्रलाई व्यवसायीकहरुपले उकास्छ । घरधनी र व्यवसायी दुवैलाई फाईदा हुन्छ । दुवैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । त्यो बनाउँदा सबै भन्दा बढी गाली खाने मै हुँ । अहिले पनि टुँडिखेल बेचेर खायो भन्छन् । तर महानगर योजनावद्ध ढंगले अघि बढेको छ । अघि बढ्छ ।’

    मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभई सबैले आ आफ्नै स्थानबाट जिम्मेबार रहेर दायित्वबोध गर्न पनि आग्रह गरे ।

    कोभिड १९ को समयमा महानगरले उपत्यकामा रहेका कोही पनि उपत्यका बाहिर नजान आग्रह गरेको र सबैको व्यवस्थापन गर्छु भन्दा भन्दै बाहिरीने र भित्रिने काम भएको स्मरण गर्दे उनले जिम्मेवारी लिन खोज्दा खोज्दै पनि विभिन्न किसिमका टिप्पणी भएको गुनासो गरे ।

    उनले भने,‘उपत्यकाका सबैको व्यवस्थापन गर्छौ भन्दा भन्दै धन भएको मन नभएको काठमाडौं भनेर न्युजमा आयो ।’
    उनले कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु भईसकेकाले एकीकृत रुपमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

    व्यवसायीक वातावरण निर्माण तथा व्यवसायको सुरक्षाका लागि महानगर कटिबद्ध रहेको भन्दै उनले सुझाव तथा समस्या भए स्पष्ट राख्न पनि आग्रह गरे। उनले संघको नेतृत्व चयन गर्ने क्रममा हुने निर्वाचन पछिको परिणामलाई लिएर मनमुटाव गर्ने, असहयोग गर्ने जस्ता मुल राजनीतिमा देखिए जस्तो दृष्य संघमा नदेखियोस् भन्ने तर्फ पदाधिकारीको ध्यानाकर्षण गराए।

    मेयर शाक्यले व्यवसायीको हकहित तथा व्यवसायीक वातावरण निर्माणका लागि महानगरपालिका सधै लागिपरिरहने प्रतिवद्धता पनि जनाए ।