Tag: धनराज गुरुङ

  • प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

    प्रचण्ड-माधवप्रति धनराजको व्यंग्य- चमेराहरु चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दैछन् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् ।

    नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए ।

    कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र कांग्रेसरुपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरु भुके पनि एमसीसी पास गरेरै छाडेको बताए ।

    सभापति तथा प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले भने,’ दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो । २०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । कांग्रेस चुनावको मैदानमा लम्किदै गर्दा हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले जनताबीच कांग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’

    गुरुङ प्रचण्ड–माधवले गरेको चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका नेता हुन् । गुरुङ लगत्तै बोलेका सभापति देउवाले भने यसबारेमा कुनै जवाफ दिएनन् ।

  • गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छ : उपसभापति गुरुङ (भिडिओ)

    गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छ : उपसभापति गुरुङ (भिडिओ)

    स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसलाई चुनाव जित्न कसैको ‘बैशाखी’ आवश्यक नरहेको बताएका छन् ।

    स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसको दुवै खुट्टा दर्‍हो भएकोले बैशाखी टेक्न जरुरी नरहेको बताए । उनले कम्युनिष्टको बैशाखी टेके कांग्रेस तेस्रो हुने टिप्पणी गरे ।

    ‘कांग्रेसको आफ्नो खुट्टा दर्‍हो छ । एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनसक्छ । यदि कम्युनिष्टसँग गठबन्धन गरेर बैशाखी टेक्ने हो भने पहिलो होइन तेस्रो हुनपनि गार्‍हो पर्छ’, गुरुङले भने । उनले गठबन्धन सरकार आन्दोलनको ‘बाइप्रडक्ट’ मात्रै रहेको भन्दै चुनावमा गठबन्धन जरुरी नरहेको बताए ।

    ‘चुनाव भनेको देउसी खेलेजस्तो होइन । केराको खम्बा चार भाई जम्मा भनेजस्तो होइन । हिजोपनि कांग्रेसले उपेन्द्र,बाबुरा,महन्थ र प्रचण्डपुत्रीहरुलाई जिताएको हो । तर, उनीहरूले खोला तरेपछि लौरो बिर्सिए । फेरि त्यो गल्ती गर्नुहुन्न’, गुरुङले भने । उनले कांग्रेसको काँध चढेर वैतरणी तर्ने सपना कसैले देख्न नहुनेमा जोड दिए ।

    कांग्रेसको विधानले रुखभन्दा अन्य चिन्हमा मत दिनेलाई ‘अन द स्पट’ कारबाही गर्ने व्यवस्था गरेको भन्दै गुरुङले रुखमा भोट नदिने छुट कांग्रेसलाई नभएको बताए ।

    गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख भएको स्मरण गराउँदै भ्रष्टाचारका फाइल खोज्न सरकार डराउन नहुने बताए । उनले नेताको नाम जोडिएका सबै भ्रष्टाचार मुद्दाको निष्पक्ष छानिबन गर्ने हिम्मत देखाउन देउवालाई आग्रह गरे ।

    ‘प्रधानमन्त्रीजी ठूला भ्रष्टाचारको फाइल खोलौं । भ्रष्टाचारीलाई जेलमा हालेर चुनावमा जाने हो भने कसैको साहरा चाहिँदैन, एक्लै चुनाव जितिन्छ’, गुरुङले भने ।

  • धनराज गुरुङ : देउवाले संसदमा पत्याएनन्, कार्यकर्ताले उपसभापतिमा पत्याए

    धनराज गुरुङ : देउवाले संसदमा पत्याएनन्, कार्यकर्ताले उपसभापतिमा पत्याए

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा २ मतको अन्तरले धनराज गुरुङ विजयी भए । पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको अभियान अगाडि बढाएका गुरुङले पाएको सफलता कांग्रेसको आन्तरिक राजनीतिमा चानचुने होइन ।

    उपसभापतिमै विजयी पूर्णबहादुर खड्का कांग्रेसको निवर्तमान महामन्त्री, पूर्वसहमहामन्त्री र पूर्वगृहमन्त्रीसमेत हुन् । तर, गुरुङ निवर्तमान केन्द्रीय सदस्य मात्रै हुन् । संविधानसभामा सदस्य रहेका गुरुङ नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

    विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ सरल नेता मान्छिन् । सार्वजनिक कार्यक्रमहरूमा जाँदा माला खादा लगाउँदैनन् । जिल्लाका कार्यक्रममा जाँदा महंगा होटलमा बस्दैनन् । कार्यकर्ताकै भान्छाको खान्छन्, तिनकै घर सुत्छन् । संविधानसभाको दुवै कार्यकालमा उनले सक्रियता देखाए । लेखा समितिमा रहँदा भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न लगाए । संसदीय समितिमार्फत गुरुङले राज्यस्रोतको दोहनविरुद्ध निरन्तर खबरदारी गरे ।

    डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका गुरुङले १३ औं महाधिवेशनमा आरक्षणमा प्रतिस्पर्धा गरेनन् । एकपटक आरक्षणबाट लडिसकेकोले अघिल्लो महाधिवेशनमा उनी खुलातर्फको केन्द्रीय सदस्यको प्रत्यासी बने । अधिकांशले धनराजको निर्णय प्रत्युत्पादक हुने चेतावनी दिएका थिए तर उनी २५ मध्ये सातौं नम्बरमा रहँदै केन्द्रीय सदस्यमा विजयी भए ।

    २०७४ सालको संसदीय निर्वाचन उनका लागि सुखद भएन । संस्थापनइतर समूहमा सक्रिय गुरुङलाई सभापति देउवाले सांसदको टिकट समेत पत्याएनन् । गृहजिल्ला स्याङ्जामा गोपालमान श्रेष्ठ र राजु थापाले टिकट पाउँदा गुरुङ रोकिए । केन्द्रीय सदस्य भइसकेका उनलाई कांग्रेसले समानुपातिकमा समेत राखेन । युवापुस्तामा लोकप्रिय रहेका गुरुङलाई सभापति देउवाले सांसदको टिकटसमेत नपत्याउँदा धेरैले आश्चर्य मानेका थिए । गुरुङझै टिकट रोकिएका बद्री पाण्डे, सुरेन्द्रराज पाण्डेलगायतका नेताले राष्ट्रियसभामा अवसर पाए तर उनले पाएनन् ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भयो । स्याङ्जासँगै पोखरामा समेत बसोबास भएका गुरुङलाई उपनिर्वाचन लड्न दबाब आयो । उपनिर्वाचनमा कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने चर्चा तीब्र थियो तर त्यसमा पनि उनी रोकिए । सभापति देउवा असहमत देखिएपछि बुढानिलकण्ठबाटै गुरुङले ‘आफू रेसमा नरहेको’ बताएका थिए । बारम्बार रोकिएका गुरुङ अब उपसभापतिका रुपमा कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्नेछन् ।

    कांग्रेसमा दोस्रो वरीयतामा रहने पदमा धनराजको ईन्ट्री सभापति देउवाका लागि ‘स्वभाविक’ हुनेछैन । यद्यपि महाधिवेशन प्रतिनिधिहरुको मन जितेर धनराजले कांग्रेस राजनीतिको केन्द्रमा आफूलाई स्थापित गरिसकेका छन् ।

    डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    महाधिवेशनअघि शेखर समूहले जिते ‘भ्रष्टाचारका सबै फाइल खुल्ने’ अभिव्यक्ति दिएका गुरुङले उपसभापतिका रूपमा निर्वाह गर्ने भूमिका बहुप्रतिक्षित छ ।