Tag: द्वन्द्वपीडित

  • शान्ति सम्झौता भएको १५ वर्षपछि द्वन्द्वपीडितलाई परिचयपत्र

    शान्ति सम्झौता भएको १५ वर्षपछि द्वन्द्वपीडितलाई परिचयपत्र

    बाजुरा । शान्ति सम्झौता भएको १५ वर्षपछि बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन । सत्य, निरुपण तथा मेलमिलाप आयोगले बुधबार द्वन्द्वपीडितहरुलाई परिचयपत्र वितरण गरेको हो ।

    बिस्तृत शान्ति सम्झौतामा भएको व्यवस्था बमोजिम गठन भएको सत्य निरुपण आयोग र वेपत्ता आयोगले पीडित परिवारलाई राहत, क्षतिपुर्तिको सरकारलाई सिफारिस र परिचय पत्र दिने व्यवस्था छ । सरकारले द्वन्द्वको क्रममा मृत्यु तथा वेपत्ता भएका प्रत्येक परिवारलाई दश लाख राहत उपलब्ध गराई सकेको छ ।

    द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले सत्य आयोगले पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरेको आयोगकी शाखा अधिकृत मुना भट्टराईले जानकारी दिइन् ।

    उनका अनुसार परिचयपत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको थियो । बडिमालिका नगरपालिकामा आयोजित कार्यक्रममा परिचयपत्र वितरण गरिएको थियो ।

    परिचयपत्र दिनसमेत आयोगले सात वर्ष लगाएको जनाउँदै पीडितले आक्रोश पोखेका थिए । परिचयपत्र दिएर मात्र पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महसुस नगर्ने द्वन्द्वपीडित पूर्णबहादुर बुढाले बताए ।

    यसमा देशभरिबाट ६३ हजार ७१८ निवेदन परेका थिए । तीमध्ये तीन हजार ७८७ लाई परिचयपत्र दिने गरी प्रक्रिया थालिएको आयोगले जनाएको छ ।

  • द्वन्द्वपीडितको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल बनाउँछ : प्रधानमन्त्री

    द्वन्द्वपीडितको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल बनाउँछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने बताएका छन् ।

    बालुवाटारमा पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले भने, ‘अब पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरूलाई क्रमशः पुर्दै लैजानुपर्छ ।’

    छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सरकारका उच्च अधिकारीसमेतको सहभागिता थियो ।

    छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरू रहेको उल्लेख गरे ।

    ‘जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, अभिभावक र सन्तानको पीडाहरू उस्तै-उस्तै छन्’, ओलीको भनाइ थियो ।

    पेन्सन नपाउने द्वन्द्वपीडितको परिवार अरूभन्दा बढी समस्यामा रहेको जनाउँदै प्रधानमन्त्रीले युद्धको बेला पक्ष-विपक्ष कहीँ नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण थुप्रै संख्यामा पीडित भएको बताए ।

    ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ’ प्रधानमन्त्रीले भने, ‘जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न हुँदैन क्षमा गर र बिर्सको भावबाट जानुपर्छ ।’

    यद्यपि मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउनेप्रति ओलीले आश्‍वस्त पारे ।

    बहिर्गमित लडाकुको समस्याबारे प्रधानमन्त्रीले भने, ‘तीन/चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले शुरूमा देखेको सपना भाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन ।’

    कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा २ हजार ८९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको भन्दै तिनका आश्रित परिवार र घाइतेको अवस्था दयनीय रहेको बताइन् ।

    ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुने उनको भनाइ थियो ।

    सरकारले मृतक सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको सेनले गुनासो गरिन् ।

  • ‘हाम्रो परिवारको लास टेकेर माथि पुगेकाले नमस्कार पनि फर्काउँदैनन्’

    ‘हाम्रो परिवारको लास टेकेर माथि पुगेकाले नमस्कार पनि फर्काउँदैनन्’

    सुर्खेत । मुगुकी विजयसरा शाहीले द्वन्द्वको समयमा कालिकोट बम विस्फोटमा परी एउटा हात नै गुमाइन् । सुर्खेतको भेरीमा भएको दोहोरो लडाइँमा परी उनका श्रीमान्को पनि खुट्टा गुम्यो ।

    अपाङ्गता भएर बाँच्नुपर्ने बाध्यतामा रहेकी विजयसराको एउटै गुनासो छ– सरकार र विभिन्न आयोगले पीडा मात्रै सुन्छन् तर न्याय दिंदैनन् । नेताहरू हामीलाई भर्याङ बनाउँदै महल बनाउन थालेका छन् ।

    सशस्त्र द्वन्द्वको बेला आफ्ना श्रीमानलाई राज्य पक्षबाट बेपत्ता पारिएकोले हालसम्म पनि अत्तोपत्तो नभएकोले मृत्यु दर्ता गर्न बाध्य भएको जाजरकोटकी विमला सुनारको गुनासो छ । न श्रीमानकाे लाश देख्न पाइएको छ न श्रीमान् फर्केर आउने आश नै छ ।

    विमला भन्छिन्, ‘कोही ठूलाबडा नेताहरुको यस्तो अवस्था भएको भए मिडियादेखि सबै खोजतलास गर्न लाग्थे होला तर हामी भुईंमान्छेका कुरा सुन्ने राज्य नेपालमा कहाँ छ र ? भुईंमान्छेले न्याय पाउनु आकाशको फल टिप्नु सरी भएको छ ।’

    दैलेखको नारायण नगरपालिका–३ की रत्ना रेग्मीका श्रीमान् उदयराम रेग्मी पेशाले शिक्षक थिए । २०५७ सालमा सशस्त्र द्वन्द्वको समयमा रेग्मी पढाउने विद्यालय लिच्चेकाँडाबाटै राज्य पक्षले उनलाई पक्राउ गर्यो ।

    २०६१ मङ्सिर ५ गते साँझ रत्नालाई भवानी बक्स गणबाट गएको टोलीले गिरफ्तार गरी मरणासन्न हुने गरी यातना दियो । उनलाई कुटेर फालिएपछि इन्सेकका सुशील गौतमले कानाचौरबाट उपचारका लागि नेपालगञ्ज पुर्याए । तीन महिनासम्म बेहोश अवस्थामै थिइन् रत्ना ।

    तीन वर्षसम्म इन्सेकको सहयोगमा उनलाई यातना पीडित कार्यालय काठमाडौंमा मानसिक उपचार भयो । छोराछोरीलाई उनका सासू–ससुराले हेरचाह गरे । बुहारीको खोजी गर्न गएका रत्नाका ससुरालाई समेत सेनाले ६३ दिन हिरासतमा राख्यो ।

    २०६२ मा उनका श्रीमान् उदयरामको हत्या भएको रहेछ । त्यो कुरा उनलाई कसैले जानकारी पनि दिएन । मृत्युलाई जितेकी रत्नाले २०६३ सालमा शान्ति प्रक्रिया आइसकेपछि २०६५ सालमा मात्र आफ्नो श्रीमान्को हत्या भएको थाहा पाइन् ।

    १५ वर्षसम्म न्याय नपाउँदा रत्ना जति दुःखित छिन् त्योभन्दा ठूलो आक्रोश चाहिं आफ्नो परिवारको रगतमा होली खेलेर यहाँसम्म पुगेका तत्कालीन माओवादीका नेताहरुले नमस्कार समेत नफर्काएकोमा छ ।

    रत्ना, विजयसरा र विमला मात्रै होइनन्, माओवादीकोे दशवर्षे सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाका आफन्त बेपत्ता नागरिक खोजबिन गर्ने आयोगसँग रुष्ट भएका छन् ।

    मुलुक शान्ति प्रक्रियामा गएको १५ वर्षसम्म पनि राज्यले बेपत्ताहरूको छानबिन र पीडितलाई न्याय दिलाउन ढिलाइ गरेको, राज्यबाट पाउने सेवा सुविधामा विभेद गरिएको आरोप एकल महिला समूह सुर्खेतकी अध्यक्ष ममता नरालले लगाइन् ।

    कानून बनाउँछौंः मन्त्री भण्डारी

    प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले द्वन्द्वपीडितका पक्षमा द्वन्द्वपीडितमैत्री कानून प्रदेशसभाबाट बनाउन थालिएको बताए । विभिन्न कानूनी अड्चनका कारण पीडितको घाउमा मल्हम लगाउन नसकेको उनको भनाइ थियो ।

    उनी भन्छन्, ‘हामीले द्वन्द्वपीडित समुदायलाई आत्मनिर्भर बनाउन केही कार्यक्रम पनि ल्याएका थियौं । तर ती कार्यक्रम कार्यान्वयनमा प्रश्न उठाइयो । कार्यविधिमार्फत हामीले काम गर्न खोजे पनि विभिन्न खालका अवरोध आए । अब कानून नै बनाएर यी सबै गुनासालाई समाधान गर्नतिर हामी लाग्छौं ।’

    द्वन्द्वको बेला कर्णालीका १३६ वटा उजुरीमा प्रारम्भिक अध्ययन गरेर आयोगको चार वटा टोली फर्किसकेको छ । टोलीले रुकुम पश्चिमका ३६, कालिकोटका ४५, जुम्लाका २०, मुगुका २५, डोल्पाका ६ र हुम्लाका ४ वटा उजुरीको विस्तृत अनुसन्धान थालेको छ ।

    कर्णालीबाट सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका आफन्तमध्ये आयोगमा ४०४ वटा उजुरी परेका थिए । उजुरीमध्ये ८२ वटाको लगत कट्टा भएको छ ।