Tag: द्वन्द्व

  • इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

    इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

    जेरुसेलेम । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व सोमबार आठौं दिनमा प्रवेश गरेको छ ।

    मृत्यु हुनेमा ५८ बालबालिका तथा ३४ महिला रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

    हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।

    १२ सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन् ।

    इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

    बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरायली र प्यालेस्टिनीबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।

    पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ ।

    आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ ।

  • इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

    इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

    काठमाडौं, बैशाख २९ गते । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो व्यक्त भएको छ ।

    इजरायलमा रहेका नेपालीहरुलाई समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । तेलअभिभ नियोगले बुधबार सूचना जारी गर्दै इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएकाले सुरक्षित रहन अपिल गरेको हो ।

    सोमबारदेखि प्यालेस्टाइन र इजरायलको गाजा क्षेत्रमा रकेट आक्रमण हुँदा दर्जनौं हताहत भएका छन् । हमास विद्रोही र इजरायली सेनाबीचको लडाइ मत्थर हुने संकेत मिलेको छैन ।

    जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको दूतावासले जानकारी दिएको छ । मंगलबार मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएका दूतावासको सूचनामा उल्लेख छ ।

    यसले सबैलाई त्रसित तुल्याएको भन्दै यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न ईजरायलमा रहेका नेपालीलाई दूतावासले सूचना जारी गर्दै अपिल गरेको छ ।

    साइरन बज्नासाथ हुनुहुन्छ भने बङ्कर, भर्‍याङ वा सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए नजिकैको बङ्करमा पुगिहाल्न र त्यो उपलब्ध नभएमा जहाँ रहेको हो त्यही सुरक्षित हुने उपाय अवलम्वन गर्न भनिएको छ ।

    कुनै समस्या परेमा दूतावास, साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गरिएको छ ।