Tag: देव गुरुङ

  • वर्षमान र जनार्दनबीच कुरा नमिले प्रचण्डले महासचिवमा तेस्रो व्यक्ति रोज्नुहुन्छ : देव गुरुङ (भिडिओ)

    वर्षमान र जनार्दनबीच कुरा नमिले प्रचण्डले महासचिवमा तेस्रो व्यक्ति रोज्नुहुन्छ : देव गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी र देशकै अभिभावक भएकाले उहाँलाई पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन् ।

    न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए । पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुंगो लगाउने र त्यो सबैको राय, परामर्श, सुझावका आधारमा हुने उनको भनाइ छ ।

    नेता गुरुङले भने, ‘सडकदेखि सरकारसम्मका सबै प्रक्रियाबाट जानुपर्ने अवस्थामा सायद एकल पदभन्दा पनि बहुपद नै उपयुक्त हुन्छ कि भन्ने कुरा उठेर विधानमा बहुपदको व्यवस्था गरिएको हो । र लिडरशीपको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा जनयुद्धभन्दा पूर्वदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रिया, सबै प्रक्रियामा नेतृत्व गर्दै आइरहेको एउटा पुरानो निरन्तरताको लिडरशीप मुलुककै निम्ति एउटा अभिभावकजस्तो, संरक्षकजस्तो नेतृत्व रहेको हुनाले लिडरशीपको सन्दर्भमा उहाँकै नेतृत्व भएको कुरा स्वभाविक कुरा हो ।’

    नेता गुरुङले महासचिवका लागि वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) बीच सहमति नभए तेस्रो व्यक्तिलाई अघि सारेर सहमतिमा ल्याउन प्रचण्डको प्रयास रहने बताए ।

    ‘उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कम्रेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास त गरिरहनु भएको छ । उहाँहरू दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ’, गुरुङले भने’, ‘अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराइकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाईनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’

  • बारलाई देव गुरुङको बचन- न्यायालयको विवाद समाधान गर्न नेतृत्वलाई भन्छु

    बारलाई देव गुरुङको बचन- न्यायालयको विवाद समाधान गर्न नेतृत्वलाई भन्छु

    काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरूङले न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने आफ्नो पार्टीको मत रहेको बताएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै गुरुङले यसबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने बचन दिए ।

    ‘न्यायलयमा उठेका प्रश्न र न्यायालयको शुद्धीकरणका सम्बन्धमा ध्यानाकर्षण भयो’, बारका पदाधिकारीसँग गुरुङले भने, ‘छिटोभन्दा छिटो निकास दिनुपर्छ भन्ने दलहरू एकमत छन् । ध्यानाकर्षण भएको छ । पार्टी पनि छिटो समाधान होस् भन्ने धारणामा छ ।’

  • न्यायालयको समस्या त्यहीँभित्र हल भए हुन्थ्योः देव गुरुङ (भिडिओ)

    न्यायालयको समस्या त्यहीँभित्र हल भए हुन्थ्योः देव गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादीका नेता देव गुरुङले न्यायालयमा उत्पन्न भएको समस्या त्यहीँभित्र हल हुँदा राम्रो हुने बताएका छन् । यदि न्यायालयभित्र समाधान ननिस्केमा दलहरूले सोच्नुपर्ने उनको भनाइ छ ।

    सञ्चारकर्मीसँग आज कुरा गर्दै गुरुङले अन्तिम विकल्पको रुपमा मात्र न्यायालयको विवाद सदनमा जान सक्ने धारणा राखे ।

    उनले भने, ‘सबै कानून व्यवसायीहरूको कुरा सुन्दा समस्या गम्भीर देखिएको छ । सबैभन्दा राम्रो उपाय भनेको त्यहीँभित्र समझदारी गरेर सेफल्यान्डिङ वा मार्गप्रशस्त गर्नु हो । हरेक कुरालाई विधि-प्रक्रियामा लैजाँदा राज्यका अंगको मर्यादा र विश्वसनीयतामा आँच आउन सक्छ ।’

    अहिलेसम्म दलहरूबीचमा न्यायालयभित्रको समस्याबारेमा धेरै छलफल र बहस नभएको गुरुङले बताए । आफूले बुझेसम्म सबै दलहरू यो विषयलाई सम्वन्धित संरचनाभित्रैबाट समाधान भए हुन्थ्यो भन्ने पक्षमा रहेको उनले उल्लेख गरे ।

    ‘अहिलेको संक्रमणकालमा विधिमा मात्रै जाने कुरा गरेर हुँदैन । यो अवस्थामा सहमति, समझदारी र नैतिक दृष्टिले समस्या समाधान गर्न ध्यान दिनुपर्छ । तर, केही गरी समाधान निस्किन सकेन भने दलहरूले सोच्नुपर्ने स्थिति आउन सक्छ,’ गुरुङले भने ।

    गुरुङले सरकार सञ्चालनका लागि संयन्त्रको तयारी भइरहेको बताए । सरकारको दैनिक कामभन्दा पनि राष्ट्रिय मुद्दाहरूमाथि छलफल गरेर निर्णय लिने गरी यस्तो संयन्त्र बनाइने उनले जानकारी दिए ।

    ‘विगतमा पनि निश्चित लक्ष्य प्राप्तिका लागि मोर्चा वा संयन्त्र बनाउने अभ्यास देखिन्छ,’ उनले भने, ‘आगामी दिनमा मोर्चा बन्यो भने राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा संयन्त्रमा त्यहाँ ल्याएर छलफल गर्ने अभ्यास हुन सक्छ ।’

    गुरुङले अमेरिकी सहायता परियोजना (एमसीसी) यथास्थितिमा पारित हुन नसक्ने बताए ।

  • न्यायपालिकाको मान्यताप्रतिकूल हुने काम कसैले पनि गर्नुहुन्न : देव गुरुङ (भिडियो)

    न्यायपालिकाको मान्यताप्रतिकूल हुने काम कसैले पनि गर्नुहुन्न : देव गुरुङ (भिडियो)

    काठमाडौं। विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको कदम विरुद्ध दायर भएको रिटमाथिको बहसका बारेमा कानुनव्यवसायीहरुसंग छलफल गरेको छ।

    सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा सर्वोच्चमा दायर भएको रिटमा स्टे अर्डर (यथास्थितिमा राख्ने) प्राप्त गर्ने ढंगले बहस पैरवी गर्नुपर्ने बारे छलफल भएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

    ‘मुद्धा परेको अवस्थामा मुद्धालाई कसरी व्यवस्थित ढंगले छिटो छरितो ढंगले सफल तुल्याउने, मुद्धा सही र न्यायीक ढंगले निरुपण गर्ने कुरामा हाम्रो तर्फबाट खेल्नुपर्ने भूमिका र वकिलहरुको तर्फबाट खेल्नुपर्ने भूमिका बहसको सुरुमा नै हामीले ‘स्टे अर्डर’ पाउनुपर्ने हो यो मुद्धामा भन्ने लाग्छ,’ गुरुङले भने, ‘बहसको सुरुमा नै स्टे अर्डर ल्याउनका लागि प्रयास र पहल गर्नुपर्‍यो भन्ने कुराहरु भए।’

    अदालतमा परेको मुद्धाका बारेमा सेटिङका कुरा आईरहेका छन् नि भन्ने संञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘निश्चय पनि यस्तो खबरहरु आईरहेको छ। यी बिषयहरु दुखद पक्ष हुन् भन्ने लाग्छ। न्यायापालिकाको स्वतन्त्रता, कानुनी सर्वोच्चता, विधिको शासनको सर्वोच्चता, न्यायापालिकाको स्वतन्त्रताको मान्यता प्रतिकुल हुने ढंगले कसैले पनि केही गर्नुहुदैन भन्ने लाग्छ।’

    बैठकमा राधेश्याम अधिकारी, रमण श्रेष्ठ, खुम्बोबहादुर खाती, देव गुरुङ, मिनेन्द्र रिजाल, पुष्पा भुसाल लगायत सहभागी थिए। विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

  • ३८ महिनापछि माओवादीले भन्यो- केपी ओलीलाई अब हाम्रो समर्थन छैन (भिडियो)

    ३८ महिनापछि माओवादीले भन्यो- केपी ओलीलाई अब हाम्रो समर्थन छैन (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ।

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

    काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।

    सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।

  • माओवादी नेता गुरुङले सार्वजनिक गरे फिल्म ‘दुष्प्रयास’ पोस्टर, असार २५ गते फिल्म प्रदर्शन हुने

    माओवादी नेता गुरुङले सार्वजनिक गरे फिल्म ‘दुष्प्रयास’ पोस्टर, असार २५ गते फिल्म प्रदर्शन हुने

    काठमाडौं। महिला हिंसाबारे निर्माण भएको फिल्म ‘दुष्प्रयास’ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले पोस्टर लन्च गरे ।

    दिनेश लिङ्देन निर्देशित फिल्म असार २५ गते प्रदर्शन हुने भएको छ । कोरोनाभाइरस महामारी साम्य भए यो फिल्मलाई उक्त मितिमा प्रदर्शन गरिने जानकारी आयोजित प्रेसमिटमा दिइयो ।

    फिल्मका कथाकार तथा निर्देशक लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै रिलिज गर्न लागेको बताए ।

    फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मीता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

    जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ । सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।

  • देव गुरुङको दावी- चैत २३ सम्म विश्वासको मत नलिए सरकारको हैसियतमा प्रश्न उठ्छ (भिडियो)

    देव गुरुङको दावी- चैत २३ सम्म विश्वासको मत नलिए सरकारको हैसियतमा प्रश्न उठ्छ (भिडियो)

    काठमाडौं । सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारको ‘संवैधानिक हैसियत’ बारे प्रश्न उठाएको छ।

    बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि दल विभाजित भएको भन्दै सरकारको अवस्थाबारे प्रश्न उठेको दावी गरे ।

    ‘सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । संवैधानिक बेन्चले सरकारको अवस्थाबारे संविधानको धारा ७५ (१) को सरकार भएको भनेको थियो । पछिल्लो फैसलाले ७६ (२) आकर्षित गरेको छ । पछिल्लो फैसलाले दल विभाजन गरेको छ।’

    उनले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने भन्दै त्यो समय चैत २३ सम्ममात्रै रहेको बताए। ‘सरकारले दल विभाजन भएपछि विश्वासको मत लिनुपर्छ,’ गुरुङले भने, ‘२३ गते त्यसको ३० दिन पुग्छ । चैत २३ गते भित्र विश्वासको मत नलिए सरकारको हैसियत के हुन्छ भन्ने प्रश्न उठ्छ ।’

    संसद विघटन गरेपछि सरकार स्वतः काम चलाउ हुने तर्क गर्दै उनले अहिले पनि सरकार काम चलाउ नै रहेको दावी गरे। गुरुङले भने, ‘सर्वोच्चले संसदको पुन:स्थापना गरेको हो, काम चलाउ सरकारको पुन:स्थापना गरेको होइन । सरकार अहिले पनि काम चलाउ हो ।’

  • अदालतकाे फैसलाप्रति देव गुरुङको टिप्पणी- बेठिक टाइममा न्याय दिने काम भयो

    अदालतकाे फैसलाप्रति देव गुरुङको टिप्पणी- बेठिक टाइममा न्याय दिने काम भयो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाईम’ को न्यायको संज्ञा दिएका छन् ।

    संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङ्गले सो टिप्पणी गरेका हुन् ।

    उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेडलक’ लाई अझै मद्दत पुग्न सक्ने बताए । फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रलाई ब्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे ।

    उनले पार्टी एकीकरणपछि ३ वर्ष धेरै कामहरू भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अहयव मेटिन नसक्ने उल्लेख गरे ।

    उनले भने,‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन आयोगमा परिरहेको बहसको सम्बन्धमा केही-केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाँही उपयुक्त समय हो भन्ने देखिँदैन । न्याय इनटाईममा दिनुपर्‍थ्यो । बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो । यसले के कस्तो साइडइफेक्टहरु  पार्छ हामीले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको ‘डेडलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो ।’

    उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा साइडइफेक्ट पार्ने बताए ।

     

  • प्रचण्ड-माधव पक्षले भन्यो- देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय मान्दैनौं (भिडियो)

    प्रचण्ड-माधव पक्षले भन्यो- देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय मान्दैनौं (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय स्वेच्छाचारी भएको भन्दै त्यो मान्य नहुने बताएको छ ।

    सोमबार बिहान बसेको सचिवालय बैठकले सचेतक गुरुङलाई हटाउने निर्णयप्रति आपत्ति जनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी ओलीले खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरेका थिए ।

    पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धमा हामीले दाबी गरेको आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौं ।’

  • देव गुरुङको तर्क-राजनीतिक सहमतिमा संसद सक्रिय बनाउन सकिन्छ

    देव गुरुङको तर्क-राजनीतिक सहमतिमा संसद सक्रिय बनाउन सकिन्छ

    रुपन्देही । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका नेता देव गुरुङले राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने तर्क गरेका छन् ।

    शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङ्गले न्यायालयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दाबी गर्दै २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण पेस गरे ।

    प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै नेता गुरुङ्गले सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडियालाई एक ठाउँमा उभिन आव्हान गरेका छन् ।

    ‘प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनविद्रोह पनि हुन सक्छ’, गुरुङको दाबी छ । प्रतिनिधिसभा विघटनसँगै नेपाललाई क्रिडास्थल बनाउ विदेशी शक्तिकेन्द्रहरू चलमलाएको बताउँदै गुरुले वैशाखमा चुनाव हुन नसक्ने ठोकुवा गरे ।

  • देव गुरुङको टिप्पणी- अहिले संविधान कोमामा पुर्‍याइएको छ

    देव गुरुङको टिप्पणी- अहिले संविधान कोमामा पुर्‍याइएको छ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का नेता देव गुरुङले अहिले संधिवान ‘कोमामा’रहेको बताएका छन् ।

    ‘संविधानमा संसद विघटनको कुनै परिकल्पना गरिएको छैन्’,बुधबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै गुरुङले भने, ‘संसद संविधानको महत्वपूर्ण खम्बा हो । संसद विघटन गर्दा संविधान कोमामा जान्छ । अहिले संविधान कोमामा पुर्‍याइएको छ।’

    उनले काम चलाउमा परिणत भएको सरकारले राजनीतिक नियुक्ति गर्न नसक्ने भन्दै अहिले लोकतन्त्रको अपहरण गरेर ओलीले मनपरीतन्त्र चलाएको आरोप लगाए।

    ‘नेपालको संविधानले चिन्ने भनेको पाँच वर्षको आवधिक निर्वाचन हो,’ उनको भनाइ छ, ‘मुलुकमा जङ्गे शासनको पुनरावृत्ति भएको छ । संविधान, गणतन्त्र, संघीयताको रक्षाका लागि उत्रिनु परेको छ ।’

  • प्रमुख सचेतक गुरुङसँग प्रधानमन्त्रीले मागे राजीनामा

    प्रमुख सचेतक गुरुङसँग प्रधानमन्त्रीले मागे राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।

    प्रधानमन्त्री ओलीले गुरुङलाई बोलाएरै सत्तापक्षको प्रमुख सचेतको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै राजीनामा मागेको स्रोतले जनाएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई केही दिनअघि नै राजीनामा दिन भनिएको हो ।

    संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने प्राबधान रहे पनि पार्टी एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए । गुरुङले प्रधानमन्त्रीले राजीनामा मागेको स्वीकार गरेका छन् ।