Tag: देवी ज्ञवाली

  • भूमि आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

    भूमि आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि बोलाएको हो ।

    अदालतले अन्तरिम अदोश सम्बन्धमा छलफलका लागि भदौ १ गते पेशी तोकी सरकार पक्षलाई पनि झिकाउन आदेश दिएको छ । त्यतिन्जेलसम्म आयोगका काम कारवाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

  • भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

    भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

    काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ ।

    आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।

    यसैबीच खतिवडाकै इजलासमा लुम्बिनीका जसपाले पदमुक्त गराएका तीन प्रदेशसभा सदस्यहरुको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको छ ।

    एमाले नेतृत्वको सरकारमा सहभागी भएका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले कारवाही गरी पदमुक्त गराएको छ ।

    उनीहरू आफूहरूमाथिको कारवाही गैरकानूनी भएको भन्दै अन्तरिम आदेश माग्दै अदालत गएका थिए । यसअघि दुईपटक स्थगित भएको मुद्दामा आज सुनुवाइ तोकिएको छ ।

  • भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा, भोलि पेसी तोकियो

    भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा, भोलि पेसी तोकियो

    काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालत गएका छन् ।

    यो मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् ।

    शुक्रबार पनि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

  • भूमि आयोग विघटनअघि गृहमन्त्री खाणसँग देवी ज्ञवालीको सवाल-जवाफ

    भूमि आयोग विघटनअघि गृहमन्त्री खाणसँग देवी ज्ञवालीको सवाल-जवाफ

    काठमाडाैं । केपी ओली सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न बनाएको आयोग देउवा नेतृत्वको सरकारले विघटन गरिदियो । बुधबार बसेको मन्त्रीपरिषदले आयोग विघटनको निर्णय लिनुअघि सरकारले आयोग पदाधिकारीलाई ‘मार्गप्रशस्त’ गर्न निर्देशन दिएको खुलेको छ ।

    सरकार परिवर्तनसँगै आयोग विघटन हुने चर्चा सुरु भएको थियो । मन्त्रीपरिषदले यसबारे निर्णय गर्न सक्ने आँकलन गरेका आयोगका पदाधिकारीहरु चिन्तित बनेका थिए । यसलाई रोक्नका लागि अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चाहेको सन्देश पठाए । प्रधानमन्त्री देउवाले भने आफूले नभेटी गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न भने ।

    खाँणका विश्वासपात्र मानिन्छन् सचिव पाण्डे । उनलाई गृहमन्त्री खाँडले गृह सचिव बनाउने बचनसमेत दिइसकेका छन् । उनैमार्फत गृहमन्त्री खाँणले आयोगका पदाधिकारीलाई भेट्न सन्देश पठाएका थिए ।

    सचिव पाण्डेले आयोगका चार दिनअघि अध्यक्ष ज्ञवालीलाई खवर गरे । गृहमन्त्रीले भेट्न बोलाएको खवरले आयोग पदाधिकारीमा आशा पलायो । अध्यक्ष ज्ञवाली पाँचजना पदाधिकारी साथमा लिएर गृहमन्त्रालय पुगे । गृहमन्त्रीसँगै थिए उनका पीए, भूमि सचिव पाण्डे र आयोगका पदाधिकारी । उनिहरुबीच गृह मन्त्रालयमा करिव आधा घण्टा छलफल भयो ।

    भेटमा गृहमन्त्रीले केही सोध्न नपाउँदै ज्ञवालीले प्रश्नको वर्षा गरे, ‘अहिलेको सरकारको सोच के हो ? आयोगमा आएर हामीले के नराम्रो काम गरेका छौ ? आयोगलाई विघटन नगरी नहुने किन ? जुन सरकारले गठन गरे पनि भूमिहीनलाई जग्गा दिने त होइन र ? यहाँहरुको पालामा काम गर्न सक्यौ भने तपाईहरुकै लागि राम्रो हुने होइन ?’

    ज्ञावाली बोलिसकेपछि गृहमन्त्री खाँणले प्रश्न गरे, ‘त्यसो भए आयोगले अहिलेसम्म के–के काम गरेको छ देखाउनुस न त ?’

    आयोगका अध्यक्ष र पदाधिकारीसहित सबैजनाले आयोगले गरेका कामको बेलिबिस्तार लगाए ।

    त्यो सुनिसकेपछि खाँणले भने, ‘तपाईंहरुले काम त राम्रै गर्नुभएको रहेछ । तर के गर्नु तपाईहरुलाई थाहा नै छ । यत्रो ठुलो गठबन्धनको सरकार छ । गठबन्धनका मान्छेलाई पनि हामीले जिल्लास्तरसम्म व्यवस्थापन गर्नुछ । त्यसैले तपाईंहरुले मार्गप्रशस्त गरिदिनुपर्‍याे ।’

    त्यसपछि आयोगका अध्यक्ष ज्ञवालीले प्रतिपश्न गर्दै भने, ‘तपाई एकातिर राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ । अर्कोतिर मार्गप्रशस्त गरिदिनुस् पनि भन्नुहुन्छ । यो त संवैधानिक व्यवस्थाअनुसार बनेको आयोग हो । हामीले सरकारकै काममा सहयोग गर्ने हो । बरु हामीलाई पेलेरै काम लगाउनुस न, जति पेलिन पनि तयार छौं । तर, विघटन गर्नु राम्रो होइन । यसले भूमिहीनको हित गर्दैन । अर्को गठन गर्न ६ महिना लागिहाल्छ । त्यतिबेलासम्म स्थानीय तहको निर्वाचन आइसक्छ । स्थानीय तहमा नयाँ नेतृत्व आएपछि आयाोगले राम्रोसँग काम गर्न सक्दैन । तपाईहरुले चोहेको नतिजा आउँदैन ।’

    तर, पनि खाँण कन्भिन्स्ड भएनन् । उनले मार्गप्रशस्त गर्नैपर्ने अडान लिए ।

    त्यसपछि ज्ञवालीले थपे, ‘हामीलाई अघिल्लो सरकारले ल्याएको हो । तपाईंहरुले भन्ने वित्तिकै पनि छोडिहाल्ने कुरा पनि आउँदैन । हामीलाई ल्याउने नेतृत्वले के भन्नुहुन्छ, सल्लाह गर्नैपर्छ ।’

    आयोगका पदाधिकारीको जवाफ सुनिसकेपछि गृहमन्त्री खाँणले भने, ‘तपाईंहरुको कुरा म प्रधानमन्त्री समक्ष पुर्‍याउँछु । यो सबै मेरो बसमा पनि छैन । तपाईंहरुले छलफल गर्न चाहनुभएको छ भन्ने खवर पाएपछि उहाँले मलाई तपाईंहरुको कुरा सुन्न भन्नुभएको हो । उहाँले तपाईंहरुलाई मार्गप्रशस्त गरिदिनुस भन्ने सन्देश पठाएकोले त्यही सन्देश मैले सुनाएको हो ।’

    सो भेटघाटबारे गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्रिफिङ गरेका थिए । त्यो सुनेपछि देउवा आयोग पदाधिकारीले राजीनामा नदिने निस्कर्षमा पुगे । जबरजस्ति गर्दा फेरि अदालतले फर्काइदिनसक्ने बारे मन्त्रीपरिषदमा छलफल भएको स्रोत बताउँछ ।

    अन्ततः पदाधिकारीसँग छलफल गरको तेस्रो दिन अर्थात मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गर्यो । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा विभिन्न निर्णय सुनाउँदै गर्दा भने, ‘भूमि सम्बन्धी समस्या समाधान आयोग विघठन गर्ने निर्णय गरिएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्षको वैशाख १ गते राजपत्रमा सूचना प्रकाशित गरी आयोग गठन गरेको थियो । सूचना प्रकाशित भएको तीन दिनपछि बैशाख ४ मन्त्रिपरिषद्को निर्णयबाट आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवाली, एक विज्ञ सदस्य जगत देउजा र अन्य तीन सदस्यमा भीमबहादुर कार्की, मञ्जली शाक्य, र दिनेशचन्द्र यादव नियुक्त गरिएका थिए । आयोगका सदस्य यादवको कोरोनाका कारण ६ महिनाअघि मृत्यु भएपछि सरकारले उनका छोरा बिक्रम यादवलाई सदस्यमा नियुक्त गरेको थियो ।

    भूमिसम्बन्धी आठौ संशोधन ऐन २०७६ को दफा ५२ को ख को ६ मा भूमिहीनलाई जग्गा उपलब्ध गराउनका लागि आयोग गठन गर्न सक्ने व्यवस्था गरेको छ । त्यसै व्यवस्थामा टेकेर तत्कालिन सरकारले निर्णय गरेको थियो । त्यसपछि आयोगले सातवटै प्रदेश सरकारको सिफारिसमा सातजना सदस्य थप्यो । प्रदेश १ बाट गोपाल गुरागाई, प्रदेश २ बाट जगदेव यादव, बागमती प्रदेशबाट केशव देवकोटा, गण्डकी प्रदेशबाट एक बहादुर रानामगर, लुम्बिनी प्रदेशबाट शोभाराम बस्नेत, कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशबाट अगस्तराज अधिकारी नियुक्त भएका थिए । उनीहरुलाई तत्कालिन भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा आर्यालले बैशाख ४ गने नै सपत गराएकी थिइन् ।

    संघीय संरचनामा आयोग गठन भएको १० महिनापछि जिल्ला संरचना निर्माण भएको थियो । २०७७ माघ १५ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिष्रिषदले बैठकले ७७ जिल्लामा एक अध्यक्ष, एक विज्ञ सदस्य र एक अर्को सदस्य गरी एकैपटक दुई सय २१ जनालाई जिल्ला पदाधिकारीमा नियुक्त गरेको थियो ।