Tag: देवराज विश्वकर्मा

  • राष्ट्रिय दलित आयोगको जनप्रतिनिधिसँगको छलफल अभियान जारी

    राष्ट्रिय दलित आयोगको जनप्रतिनिधिसँगको छलफल अभियान जारी

    काठमाडौं । राष्ट्रिय दतिल आयोगले स्थानीय तहमा निर्वाचित दतिल समुदायका जनप्रतिनिसँग छलफल अभियान जारी राखेको छ । कोभिड–१९ को महामारीको सन्दर्भमा दलित समुदायमा परेको प्रभाव न्यूनीकरणमा दलित जनप्रतिनिधिको भूमिका विषयक छलफल ७ वटै प्रदेशमा गर्ने उद्देश्यसहित आयोगले छलफल अभियान जारी राखेको हो ।

    आयोगले सात वटै प्रदेशका एउटा-एउटा स्थानीय तहमा छलफल गर्ने अभियान अन्तर्गत अहिलेसम्म ३ वटा प्रदेशमा छलफल गरिसकेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइसकेको छ ।

    पहिलो चरणमा गण्डकी प्रदेश अन्तरगत तनहुँको सुक्लागण्डकी नगरपालिका, प्रदेश २ अन्तरगत महोत्तरीको वर्दिवास नगरपालिका र प्रदेश १ अन्तरगत झापाको दमक नगरपालिकामा निर्वाचित दलित समुदायका जनप्रतिनितिसँग छलफल गरिएको छ । छलफल कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष तथा उपाध्यक्षलाई पनि राख्ने गरिएको छ ।

    अब दोस्रो चरणमा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एउटा-एउटा स्थानीय तहका दलित समुदायका जनप्रतिनिसँग छलफल गर्ने योजना रहेको आयोगका अध्यक्ष विश्वकर्माले बताए । स्थानीय तहमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले पुरा गर्नुपर्ने जिम्मेवारी, जातीय छुवाछुत अन्त्यका लागि उनिहरुले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा पनि आयोगले छलफल गर्दै आएको छ ।

    यस्तै दलितमैत्री बेजट निर्माणमा टेवा पुर्याउन, आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पनि छलफल कार्यक्रमले टेवा पुग्ने आयोगले अपेक्षा गरेको छ ।

  • ६ वर्षमा जातीय छुवाछुत शून्यमा झार्ने गरी काम गर्दैछौं (भिडियाे)

    ६ वर्षमा जातीय छुवाछुत शून्यमा झार्ने गरी काम गर्दैछौं (भिडियाे)

    काठमाडौं । आज जेठ २१ गते । नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दिन । २०६३ साल जेठ २१ गते संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ । कानूनीरुपमा नेपाल छुवाछुतमुक्त राष्ट्र भएको १५ वर्ष भइसके पनि व्यवहारत पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।

    देशको कुल जनसंख्याको करिब १४ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायको संवैधानिक निकायका रुपमा स्थापित राष्ट्रिय दलित आयोगले नेपालको संविधान जारी भएको ५ वर्षपछि संवैधानिक आयोगको रुपमा पदाधिकारी पाएको छ ।

    संवैधानिक आयोगका रुपमा मान्यता प्राप्त गरिसकेपछि कोरोना महामारीको विचमा पहिलो नेतृत्व पाएको आयोगले कसरी काम गरिरहेको छ ? जातीय छुवाछुतमुक्त राष्ट्र मुलुकलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न कसरी लागि परको छ ? यसै विषयमा नेपाल प्रेसले आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग कुराकानी नेपाल टकमा:

    नेपाल कानूनीरुपमा जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १५ वर्षमा प्रवेश गरिरहेको अवस्थामा व्यवहारमा कति कार्यान्वयन भएको पाउनुहुन्छ ?

    यो प्रश्न निकै जटिल छ । म नेपाल प्रेसमार्फत आम जनसमुदायलाई अपील गर्न चाहान्छु कि हाम्रो देश नेपाल निकै लामो समयदेखि जातीय छुवाछुतमा जकडिएको छ । एकथरी मानिसले जातीय छुवाछुतको मार भोग्दै आएका छन् । यसका विरुद्धमा सरकार छ, तर पनि व्यवहारिकरुपमा धेरै जटिलता छन् ।

    मानिसमा रहेको चेतनाको कमीका कारणले यो समस्या शिक्षित व्यक्तिमा पनि देखिन्छ । त्यसैले व्यवहारिक रुपमा आज पनि जातीय छुवाछुत कायमै छ । दुरदराजमा मात्र होइन सहरमा पनि जातीय छुवाछुत कायमै छ । त्यसबाट करिव ७० लाख मानिस पीडित छन् । उनीहरुले मानसिक रुपमा समस्या भोगिरहनुपरेको छ । त्यसैले यसलाई व्यवहारिकरुपमा हल गर्नका लागि दलित आयोग प्रतिवद्ध छ ।

    संवैधानिक आयोगको मान्यता पाइसकेपछि यहाँले पहिलो नेतृत्व गर्ने जिम्मेवारी पाएको धेरै भएकाे छैन, आयोगलाई कसरी बुझ्नुभयो ?

    आयोगलाई बुझ्ने सन्दर्भमा जुन कानूनले प्रत्यायोजन गरेको अधिकार छ, त्यसैअनुसार दलित समुदायलाई जातीय छुवाछुतबाट मुक्त गर्न सकिन्छ भनेर आयोग प्रतिवद्ध छ । संविधान र कानूनले दिएको अधिकार प्रयोग गरेर अघि बढ्यो भने हामी त्यो गर्न सक्छौ भन्ने मलाई लागेको छ ।

    आयोगले पदाधिकारी त पायो, आवश्यक कर्मचारी पाएको छ कि छैन ?

    कर्मचारीको विषयमा केही अन्यौल कायमै छ । यसमा हामीले सरकारसँग समन्वय गरिरहेका छौं । मलाई लाग्छ कि यो समस्या चाँडै हल हुन्छ । यसमा प्रयासरत छौं ।

    आयोगमा ३० जनाको दरबन्दी तोकिएकोमा कति पूर्ति भएको छ ?

    कर्मचारी विभिन्न कारणले आयोगमा आउन नचाहने खालको अवस्था व्यवहारिक रुपमा बुझिएको छ । यसलाई हामी हल गर्न लागिपरेका छौं । आयोगमा एक जना समाजशास्त्री, र एक जना कानून पढेको विज्ञ हुनुपर्छ । ज्ञान अभावमा कारण अनुसन्धानका काम आयोगमा रोकिएका छन् ।

    कानूनको विषयमा जानकार भएको र समाजशास्त्रको बारेमा जानकार भएको व्यक्ति पनि आयोगमा हुनुपर्छ भनेर सरकारसँग भन्दै आएका छौ । अहिले नभएको अवस्थामा पनि हामीले काम गर्दै आएका छौ । सरकारको यसमा ध्यान जानेछ भन्ने अपेक्षा गरेका छौं ।

    भनेपछि आयोगलाई आवश्यक पर्ने कर्मचारी पनि नभएको अवस्था हो ?

    हो, पक्कै पनि ।

    तपाईंको नेतृत्वमा आयोगले पदाधिकारी पाइसकेपछि के-के कामको थालनी गर्‍याे ?

    दैनिकरुपमा कुनै न कुनै ढंगले आयोगमा आएका उजुरीमाथि हामीले काम गरिरहेका छौं । त्यस्ता गुनासालाई सम्बोधन गर्नुका साथै जातीय छुवाछुत कम गर्नका लागि नीतिगत सुझाव सल्लाह पनि दिनका लागि आयोग गठन भएकाले त्यो पनि सरकारलाई दिँदै आएका छौं ।

    अहिले मन्त्रिपरिषदको सिफारिसमा गृह मन्त्रालयले गरेको जुन निर्णय छ, थर परिवर्तन गर्न पाउनुपर्ने । त्यसको काम–कारवाही हामीले अघि बढाएका छौं । थर लेखेका कारणले नै दलित समुदायले जातीय छुवाछुत भोग्नुपर्ने अवस्था अझै पनि छ । आफुले चाहेको थर लेख्न पाउने अधिकार सुनिश्चित गर्नका लागि सरकारले पहलकदमी अघि बढाइसकेको छ ।

    कतिपय थर गैरदलित समुदायसँग पनि मिल्ने भएकाले उनीहरुको पहिचान नखुल्दा पनि कतिपयले समस्या भोगिरहेका छन् । सरकारले गैरदलितसँग मिल्ने थर लेख्न पाउनुपर्ने व्यवस्था पनि गरिसकेको छ । यसका लागि हामीले ३ महिनाको समयावधि दिएर सूचना जारी गरिसकेको छौं । त्यो समयावधि असारको पहिलो सातामा सकिँदै छ । निवेदन आइसकेपछि हामी यसबारेको सूचना राजपत्रमा प्रकाशित गर्नेछौं, अनि यसले पूर्णता पाउनेछ ।

    पदाधिकारीले पदभार ग्रहण गरेको ५ महिनामा यो जाती सूचीकरणको प्रक्रिया मात्रै अघि बढेको हो ?

    अरु काम पनि हामीले अगाडी बढाएका छाैं । हामी आइसकेपछि आयोगको १० वर्षे रणनीतिक योजना अघि सारेका छौं । यसका लागि सरोकारवालासँग छलफल पनि सुरु गरेका छौं । यसमा सुझाव आइसकेपछि अन्तिम रुप दिनेछौं । यसमा खासगरी हामीले सन् २०२१ देखि २०३१ सम्मलाई दलित मुक्तीको दशक बनाउने योजना अघि सारेका छौं । यो दशक पूरा गरिसकेपछि जातीय छुवाछुत अन्त्य गर्न सकियोस भन्ने हाम्रो कामना छ । त्यसै अनुसार हामीले काम अघि बढाएका छौं ।

    कार्ययोजनामा अरु के-के समेटिएको छ ?

    यसमा दलित समुदायको आन्तरिक सशक्तिकरण गर्ने तथा यो दलितको मुद्दामात्र होइन, सबैको हो भन्ने बनाउने हो । जातीय छुवाछुत दलितको मात्र नभइ सबैको मुद्दा हो भन्ने स्थापित गर्ने लक्ष्य हो । आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रुपमा सक्षम बन्ने पनि यो कार्यक्रमको लक्ष्य हो । एउटा कुनै शब्दले दलितलाई अपमान गर्दा कस्तो बोध हुन्छ भन्ने कुरा हामी गैरदलितलाई बुझाउँछौं । र हामीले बनाएको योजना सरकारले कार्यान्वयन गर्यो भने पक्कै पनि हुनेछ भन्ने हाम्रो आशा छ ।

    आयोगलाई ऐनले दिएको जिम्मेवारी अनुसारको महत्वपूर्ण काम के गर्न भ्याउनुभयो ?

    मैले भनेको सबै काम पनि यसैभित्र पर्छन् । हामीले दलितका जुन समस्या आएका छन् ती गृह मन्त्रालयमार्फत महान्यायधिवक्ताको कार्यालयबाट नै अघि बढाएका छौ । त्यससँगै छुवाछुत अन्त्य गर्ने, जातीय छुवाछुत तथा कसूर र सजाय ऐन लगायत अन्य ऐन तथा कानून तर्जुमा गर्ने व्यवस्थाअनुसार पनि सल्लाह सुझाव दिने आन्तरिक तयारी गरिरहेका छौं ।

    हामीले भनेको जुन एक दशकको रणनीतिक योजना छ, ऐनमा भएका सबै व्यवस्था यस रणनीतिक योजनाले पनि कार्यान्वयन हुने अवस्था छ । त्यसमा आयोगले गम्भीर चासो देखाएर काम गरिरहेको छ । अन्तर्राष्ट्रिय सन्धी सम्झौताका विषयमा पनि राष्ट्रिय मानव अधिकार आयोगसँग र सरकारको सम्पर्क निकायसँग समन्वय गरेर काम गरिरहेका छौं। नेपालमा भएका जातीय विभेदका घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिने व्यवस्थाका लागि पनि हामी पहल गरिरहेको छौं ।

    कोरोना महामारीको बीचमा पनि रुकुमको नवराज विक हत्याकाण्डदेखि जातीय छुवाछुतका घटना भइरहेका छन् । यसमा आयोगले कसरी काम गरिरहेको छ ?

    हामीले रुकुम हत्याकाण्ड मात्र होइन अन्य घटनाका विषयमा पनि सरकारलाई ध्यानाकर्षण गर्न र पीडितलाई न्याय र क्षतीपूर्ति दिलाउनका लागि पहल गरिरहेका छौं । रुकुम घटनाको मुद्दा अदालतमा विचाराधीन छ । अदालतले पक्कै पनि यसमा न्याय दिनेछ भन्ने आयोगको विश्वास हो । यो मात्र नभइ सबै पीडतलाई न्याय दिलाउनका लागि काम गर्दै आएका छौं । निषेधाज्ञाका बीचमा पीडित पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।

    कोरोनाको महामारीमा क्वारेन्टाइन तथा आइसोलेनमा नै जातीय विभेदका घटना भइरहेको अवस्थामा आयोगले अनुगमन तथा निरीक्षण गरेको छ कि छैन ?

    यसमा आयोगले अनुगमन निरीक्षण गर्दै आएको छ । हामी यस विषयमा संवेदनशील छौं । हामीले सबैसँग समन्वयको काम गर्दै आएका छौं । पत्राचारको माध्यमबाट हामीले सहकार्य गर्दै आएका छौं। क्वारेन्टाइनमा र आइसोलेनमा भएका जातीय विभेदका घटना रोक्नका लागि हामीले खवरदारी गर्दै आएका छौं । यसमा सम्बद्ध सबै सरकारी अधिकारीलाई ध्यानाकर्षण गर्न चाहन्छु ।

    जातीय छुवाछुत अन्त्य गर्नु राष्ट्रिय दलित आयोगको मात्र जिम्मेवारी नभएर सबैको हो भनेर बुझ्न जरुरी छ । यसमा नागरिक समाजले पनि आफ्नो कर्तव्यका सम्झेर लाग्न जरुरी छ ।

    आयोगको कार्यालय राजधानीमा मात्र भएको अवस्थामा बाहिरका दलित समुदायलाई हाम्रो साथमा पनि दलित आयोग छ भनेर कसरी महसुस गराउनुहुन्छ ?

    तपाइले सही प्रश्न गर्नुभयो । पक्कै पनि त्यो महसुस गराउनका लागि संवैधानिक व्यवस्था अनुसार ७ वटै प्रदेशमा आयोग स्थापना गर्नका लागि हामी पहल गरिरहेका छौ । यति मात्र नभएर ७ सय ५३ वटै स्थानीय तहमा पनि कुनै न कुनै संरचना निर्माण गर्नुपर्छ र दलित समुदायको स्थानीय तहमा पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने गरी हामी लागिरहेका छौं । यस विषयमा हामीले सरकारसँग छलफल अघि बढाइसकेका छौं ।

    पहिलो चरणमा आगामी आर्थिक वर्षभित्र ७ वटै प्रदेशमा राष्ट्रिय दलित आयोगको प्रदेश कार्यालय स्थापना गरिसक्छौं। त्यसका लागि चाहिने साधन स्रोत जुटाउनका लागि सरकारसँग हामी पहल गर्नका लागि आग्रह गर्न चाहन्छौं ।

    लामो समयपछि पदाधिकारी पाएको आयोगमा उजुरी कत्तिको आइरहेका छन् ?

    आइरहेका नै छन् दैनिक रुपमा । अहिले कतिपय विभेद गरेको आइरहेको छ भने कतिपय वर्षौअघि अन्तरजातीय विवाह गरेको तर अहिले उनीहरुलाई परिवारले एक्ल्याएको भन्ने खालका उजुरी पनि आउन थालेका छन् ।

    यी उजुरीमाथी राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग र हामीले एकसाथमा कारवाही गर्ने संयन्त्र पनि बनाएका छौं । तपाईंलाई थाहा नै छ, कतिपय घटनामा प्रहरीले उजुरी लिन नमानेको भन्ने पनि छ । त्यस्ता घटना महान्याधिवक्ताको कार्यालय र सरकारी वकिलको कार्यालयबाट पनि उजुरी गर्न लगाइरहेका छौं ।

    कतिपय घटनालाई जातीय विभेदका मुद्धाबाट अन्तैतिर मोड्न पनि खोजिएको पाइन्छ । हामी त्यसलाई त्यस्तो हुन नदिनका लागि पनि लागिपरेका छौं । दलित समुदायको क्षेत्रमा काम गर्ने निकाय र अधिकारकर्मीसँग पनि सहकार्य गर्दै आएका छौं । सञ्चारजगतलाई पनि समवेदनशीलता बुझेर मुद्धा उठाइदिनका लागि आग्रह गर्दछौं ।

    प्रहरीले उजुरी नलिएको बिषय उठिरहँदा संसदीय समितिले प्रहरीमा दलित सेल गठन गर्न निर्देशन दिएको थियो । त्यो कार्यान्वयन नभएको विषयमा यहाँको धारण के छ ?

    हामीले प्रहरीलाई दलितको मुद्धा हेर्ने विषयमा तालिम दिनुपर्छ भनेर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग छलफल गरिरहेका छौं । प्रहरीमा महिला सेल भएजस्तै दलित सेल पनि हुनुपर्छ भन्ने संसदीय समितिको निर्देशन सही हो र त्यो गर्न जरुरी पनि छ । यो स्थापना भयो भने भने दलित समुदायले उजुरी भएन भनेर गुहार्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । नेपाल प्रहरीले जतिसक्दो चाँडो दलित सेल गठन गर्नुपर्छ र हामी पनि यही आग्रह गर्न चाहन्छौं ।

    आयोगले दलित समुदायसँग काम गर्ने अन्य निकायसँग सहकार्य खासै गरेको देखिँदैन किन ?

    हामी आएको पनि धेरै भएको छैन । औपचारिक रुपमा सबै निकायसँग छलफल गर्न नसकिएको सही हो । तर अनौपचारिक रुपमा भने हामीले सहकार्यको थालनी गरिसकेका छौ । लामो समयदेखि यसै क्षेत्रमा काम गर्ने निकाय र व्यत्तिलाई आयोगसँग सहकार्य गर्नका लागि नेपाल प्रेसमार्फत पनि आग्रह गर्न चाहान्छु ।

    हामी सबैसँग सहकार्य गर्न तयार छौ । आयोग यसमा खुला दिल बनाएर सहकार्य गर्न तयार भएकाले यहाँहरु सबैलाई पनि यसै अनुसार सहकार्य गर्नका लागि आउन अनुरोध गर्दछ । जसरी पनि जातीय छुवाछुत अन्त्य गर्ने नै हामी सबैको साझा मुद्दा हो । मैले विभिन्न निकाय तथा व्यक्तिसँग विभिन्न माध्यमबाट सम्पर्क तथा छलफल गर्न थालिसकेको छु । आयोगले विस्तारै सबै निकायसँग सहकार्य गर्दै जानेछ । यसमा सबैले विस्वस्त भए हुन्छ ।

    भर्खरै संघीय सरकारले आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट कति दलितमैत्री छ ?

    विगतमा भएका सबै कार्यक्रमलाई सरकारले बजेटमार्फत निरन्तरता दिएको छ । नयाँ कार्यक्रमा उच्च शिक्षाका लागि दलित महिलालाई निःशुल्क गर्ने भनेको छ । यो पनि स्वागतयोग्य हो । भगत सर्वजित प्रतिष्ठानमार्फत भगत सर्वजित कार्यक्रम गर्ने भनिएको छ, त्यो भनेको दलित समुदायका विभिन्न सिपलाई आधुनिकीकरण गर्ने र आर्थिक हिसावले बलियो बनाउने कार्यक्रम हो ।

    हामीले त्यो बाहेक बिना धितो दलितलाई ऋण दिने व्यवस्था गर्न सिप तथा क्षमता विस्तार गर्न अन्य पनि सुझाव दिएका छौ । सबै कुरा बजेटमा आउन पनि सम्भव हुँदैन । बजेटमा नआएका कुरा हुँदैन भन्ने पनि होइन । हामीले दिएका सुझाव विस्तारै कार्यान्वनय हुनेछन् भन्ने हाम्रो आशा छ ।

    राजनीतिक संरचनादेखि अन्य विभिन्न संरचनामा दलित समुदायको प्रतिनिधित्व बढाउन आयोगले के गर्दैछ ?

    यसमा संविधान तथा राज्यको नीति निर्माणमा आयोगले सहयोग पुर्‍याउने जिम्मेवारी छ, त्यसै अनुसार हामीले काम गर्छौं नै । राज्यका सबै निकायमा प्रतिनिधित्व बढाउनका लागि सरकारसँग पहल गर्दै आएका छौ र गर्छौं पनि । प्रतिस्पर्धा गरेर जाने कुरा एकातिर छ अर्कोतिर सबै निकायमा जनसंख्या अनुसारको प्रतिनिधित्व गराउनका लागि आयोग पहल कदम अघि बढाउन तयार छ । आयोगले यस विषयमा पनि सुझाव दिने छ ।

    कतिपय आयोग सरकारको प्रवक्ताजस्तो त कतिपय आयोगले दिएका सुझाव पनि सरकारले कार्यान्वयन नगरेको अवस्था दलित आयोग कसरी प्रस्तुत हुन्छ ?

    म व्यक्तिगत हिसावले काममा विश्वास गर्छु । हामी हाम्रो कामलाई उपलब्धिका रुपमा देखाउन चाहन्छौं । यसमा हामी पहल गरेर दलित समुदायको अधिकार स्थापित गर्न चाहन्छौं । हाम्रो कुरा सरकारले सुन्ने छ, लागू गर्ने छ भन्नेमा आयोग विश्वस्त छ । हामीले गृह मन्त्राललयलाई दिएका सुझाव कार्यान्वयन गर्दै आएको छ । पक्कै पनि आयोगले निराशाजनक अवस्था भोग्नुपर्ने छैन भन्ने लाग्छ ।

    कतिपयले स्थानीय तहमा नेतृत्व गरेको व्यक्ति एकैपटक आयोगको अध्यक्षमा आएको भनेर तपाईंको नेतृत्वमाथि पनि प्रश्न उठाएका छन् । के भन्नुहुन्छ ?

    कुनै पनि व्यक्ति व्यक्तिगत रुपमा केहि पनि होइन । उसले कसरी काम अगाडि बढाउँछ वा सामूहिक रुपमा आफ्नो जनशक्तिलाई कसरी परिचालन गर्छ भन्ने कुराले अर्थ राख्छ । मलाई जसले अविश्वास गर्नुभएको छ, म उहाँहरुलाई बोलीबाट भन्दा पनि मेरो कामबाट जवाफ दिनेछु ।

    विषयबस्तुका हिसावले मैले सिक्न धेरै बाँकी त होला नै तर मसँग दलित समुदायसँग गरेको अनुभव थोरै छैन । मेरो यो उमेरको करिव आधा भन्दा धेरै समय यसै क्षेत्रमा काम गरेर बितिसकेको छ । मेरो आग्रह यत्ति हो कि मलाई कसैले पनि अविश्वास नगर्नुस् । फेरि अविश्वास नगर्नुस् भनेर पनि भन्दिन, किनभने अविश्वास गर्ने अधिकार सबैलाई छ । तर नियतवस अविश्वास नगरियोस भन्ने मेरो कामना हो । बरु काममा सहकार्य गर्न आउनुहोस । राष्ट्रिय दलित आयोगको ढोका सबैका लागि र सधैंका लागि खुला छ । त्यसैले यसमा बढी भनिरहनु भन्दा पनि म कामले जवाफ दिने प्रतिवद्धता जनाउँछु ।

    स्वभाविक रुपमा राजधानीमा बस्नेभन्दा मोफसलमा बस्नेले केहि जान्दैन भन्ने भ्रम अहिले पनि कायमै छ । यसलाई त मोफसलमा काम गरेको व्यक्तिलाई सरकारले नियुक्त गरेर एउटा भ्रम चिरिसकेको छ र अर्को भ्रम अब म काम गरेर देखाउन चाहन्छु ।

    कतिपय आयोगका पदाधिकारीको फरक विचार र मनमुटावले पनि काम गर्न नसकेको उदाहरण प्रसस्त छन् । आयोगमा त्यस्तो अवस्था नआउला कसरी भन्न सकिन्छ ?

    स्वभाविक रुपमा यहाँले गरेको प्रश्न एकदमै जटिल र महत्वपूर्ण हो । कुनै पनि निकायको सफलतामा सबैको सहकार्य र एकरुपता नै प्रमुख हुन्छ । हामी पाँच जनामध्ये एक जना आउन बाँकी नै छ । ४ जना पदाधिकारीका बीचमा एकदमै घनिभूत छलफल गरेर निष्कर्षमा पुगेर हामीले काम गर्दै आएका छौं ।

    हामीले कुनै पनि निर्णय गर्दा अल्पमत र बहुमतका रुपमा गर्दैनौ र गर्ने गरेका पनि छैनौं । सधैभरी यहि अवस्था आइरहोस भनेर हामी सबै जना लागिपरेका छौं । सबै पदाधिकारीका विचार र सुझावलाई मनन गरेर माझेर हामी निर्णय गर्छौं । आयोगको हाम्रो ६ वर्षे कार्यकाल कुनै पनि खटपट नगरेर अघि बढ्ने समझदारी गरेर अघि बढ्न चाहिरहेका छौं हामीले त्यो संकल्प पनि गरेका छौं । मैले बुझेअनुसार अरु पदाधिकारीको भावना पनि त्यस्तै छ । अरुसँग पनि यहाँले बुझ्न सक्नुहुन्छ । हाम्रो नेतृत्वमा आयोगले नसोचेको सफलता प्राप्त गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

    पदाधिकारी त दलित समुदायकै भएकाले भावना मिल्ला, तर कर्मचारी अन्य समुदायका पनि हुने भएकाले समस्या आउँछ कि ?

    पक्कै पनि पदाधिकारी बीचमा राम्रो समन्वय भयो भने कर्मचारीसँग त्यस्तो कुनै पनि समस्या हुँदैन र हुनुहुन्न पनि । किनभने कर्मचारी संयन्त्र भनेको सरकारले र आयोगले दिएको निर्देशन अनुसार काम गर्ने हो । कर्मचारीसँग समन्वय गर्ने हामीसँग सामर्थ्य छ । उहाँहरुले जहाँ बसे पनि राज्यले दिएको जिम्मेवारी पूरा गर्ने हो ।

    आयोगमा बसेर पनि उहाँहरुले त्यसरी नै काम गर्नुहुन्छ भन्ने आशा छ । आयोगमा आउने र काम गर्ने कर्मचारीले पनि आयोगमा काम गरेका कारण अपमानित भएको महशुस गर्न जरुरी छैन । कर्मचारीले त्यो महसुस गर्दैनन् र गर्नुहुँदैन भन्ने नै हामीलाई लागेको छ ।

    मुलुक छुवाछुतमुक्त राष्ट्र घोषण भएको १५ वर्षमा पुग्दा अबको ६ वर्षपछि आयोगको उचाई कहाँ पुग्छ र दलित समुदाय त्यतिबेला कुन अवस्थामा पुग्लान् ?

    संसदले जातीय छुवाछुत उन्मुलन राष्ट्र त घोषणा गरिसकेको छ । त्यसैको सम्झनामा हामी यो दिवस मनाइरहेका छौं । तर व्यवहारिक रुपमा हुन कार्यान्वयन हुन नसकिरहेको साँचो हो । दलित र गैरदलित समुदायको सहकार्यमा नै यो उन्मुलन गर्ने हो । हाम्रो कार्यकाल सकिँदा पक्कै पनि हामी जातीय छुवाछुतलाई शुन्यमा झार्न चाहन्छौं ।

    गैरदलित समुदायले दलित समुदायमाथि जुन विभेद गर्दै आएका छन्, अबको ६ वर्षपछि बुझ्नुहुनेछ कि जातीय छुवाछुत गर्नु अपराध हो । यो कुप्रथाले हामीलाई पनि छेक्छ र रोक्छ भन्ने अवस्था हामी बनाउन चाहन्छौं । त्यहाँ पुर्‍याउने हामीसँग योजना पनि छ । यसलाई हामीले शून्यमा पुर्‍याउनका लागि काम अघि बढाइसकेका छौं । अबको ६ वर्षपछि सबै नेपाली नागरिकले जातीय विभेद गर्नुहुदैन भन्ने अवस्था सृजना हुनेछ भन्ने हामी सबैको आशा र अपेक्षा हो ।

    अन्तिममा जातीय छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा आयोगको तर्फबाट के भन्न चाहानुहुन्छ ?

    म अन्तिममा के भन्छु भने अहिले नेपालमा जातीय छुवाछुत कायम रहेको अवस्थामा विश्वका विकसित मुलुकले कसरी हेरिरहेका छन्, त्यो सबैले सोचौं र मनन गरौं । जातीय छुवाछुतले के समस्या निम्त्याइरहेको छ भन्ने कुरा बुझौं ।

    यो संविधान र नियम कानुनले पनि अंगीकार गरिसकेको कुरा हो । यसलाई सरकारका सबै पदाधिकारी तथा अधिकारीले गम्भीर रुपमा लिने हो भने यो समस्या चाँडै हल गर्न सकिन्छ । त्यो गर्न हामी सबै लागि परौं । जातीय छुवाछुत अन्त्य गर्नका लागि आयोग सबै निकायसँग सहकार्य गरेर अघि बढ्न चाहन्छ । आयोग सबैका लागि सधैं खुला छ ।

  • दलित आयोगको थर सूचीकरणको काम पाँच वर्षपछि सूचारु

    दलित आयोगको थर सूचीकरणको काम पाँच वर्षपछि सूचारु

    काठमाडौं । राष्ट्रिय दलित आयोगमा पदाधिकारी रिक्त रहेका कारण पाँच वर्षदेखि रोकिएको थर सूचीकरणको काम सुचारु भएको छ।नेपालको संविधानले आयोगलाई संवैधानिक आयोगको मान्यता दिएपछि पाँच वर्षदेखि आयोग पदाधिकारी बिहिन भएपछि थर सूचीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट हुदैँ आएको थियो । आयोगमा पदाधिकारी नियुक्त भएसँगै दलित समुदाय भित्रका सूचिकृत हुन छुटेका थरको सूचीकरणको काम सूचार भएको आयोगले जनाएको हो ।

    दलित समुदायिभत्रका सूचिकृत हुन छुटेका थरको सूचीकरण गर्ने प्रक्रिया अघि बढाइएकाले थर सूचीकृत गर्नका लागि सम्बन्धित व्यक्ति तथा संस्थालाई निवेदन दिन आग्रह गरिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए । अध्यक्ष विश्वकर्माले भने, ‘वडा कार्यालयको थर दलित भित्र पर्ने सिफारिस र उपलब्ध हुन सक्ने अन्य प्रमाण संलग्न गरी आयोगमा प्रत्यक्ष उपस्थित भइ वा हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा जेठ मसान्तभित्र आइपुग्ने गरी निवेदन पेश गर्न आयोगले आग्रह गरेको छ ।’

    लोक सेवा आयोगलगायत आरक्षणको व्यवस्था गरिएको क्षेत्रमा दलित समुदायले प्रतिस्पर्धा गर्दा सूचीकरण नभएको थर भएमा सूचीकरण गरेको प्रमाण पेश गर्नुपर्ने कानूनी प्रावधान रहेकाे छ । आयोग रिक्त रहेको अवस्थामा स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासनले थर सूचीकरणको काम गर्दै आएको थियो ।

    पाँच वर्षदेखि रिक्त रहेको आयोगमा संवैधानिक परिषद्को गत मंसिर ३० गते बसेको बैठकले राष्ट्रिय दलित आयोगको अध्यक्षमा विश्वकर्मासँगै सदस्यमा मीना देवी सोव, टुन्जे बराइली, मेहले पार्की र पर्शुराम रम्तेललाई नियुक्त गरेको थियो । अध्यक्ष र तीन सदस्यले पद तथा गोपनीयताको सफत लिए पनि एक सदस्य पर्शुराम रम्तेलले सदस्य पद अस्विकार गरेपछि एक सदस्यकाे पद रिक्त छ ।