Tag: दुल्लु नगरपालिका

  • दुल्लु नगरले परिचयपपत्र लिन आउने पूर्णअशक्तलाई बाटो खर्च दिने

    दुल्लु नगरले परिचयपपत्र लिन आउने पूर्णअशक्तलाई बाटो खर्च दिने

    सुर्खेत । दैलेखको दुल्लु नगरपालिकाले शारीरिकरुपमा अशक्त तथा अपांगता भएका नागरिकलाई परिचयपत्र लिन आउँदा खाजा तथा यातायात खर्च प्रदान गर्ने भएको छ ।

    दुल्लु नगरपालिकाका उपप्रमुख विना कार्कीका अनुसार नगरपालिकामा रहेका पूर्ण अशक्त (क वर्गको परिचयपत्र पाउने) वडा नम्बर ११, १२ र १३ का नागरिकलाई एकपटकका लागि २,५०० रुपैयाँ नगद दिने निर्णय गरेको हो ।

    त्यस्तै, वडा नम्बर १, २, ३, ६, ९ र १० का लागि २,००० रुपैयाँ तथा वडा नम्बर ४, ५, ७ र ८ का लागि एक हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

    ‘शारीरिक अपांगता भएका ‘क’ वर्गका नागरिकले परिचयपत्र लिन आउँदा सास्ती भोग्नु परेको मैले देखेको छु’, उपप्रमुख कार्कीले भनिन्, ‘यस्तो गर्दा कम्तिमा पूर्णअशक्त भएका नागरिकलाई नजिकको सरकार भएको महसुस हुने र परिचयपत्र लिन आउने क्रम बढ्ने आश छ ।’

  • कोरोनाबाट वडामा एकै समुदायका ९ को मृत्यु

    कोरोनाबाट वडामा एकै समुदायका ९ को मृत्यु

    दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु भएको छ । वडामा कोरोना संख्या यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो ।

    मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।

    उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए ।

    यहाँ कामका लागि भारत गएका स्थानीयवासी घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

    एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ । दुल्लु–१२ को एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

    ‘रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ । अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ’, भण्डारी बताए । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ ।