पाल्पा । पाल्पाको रामपुर नगरपालिका –३ ओईरीघाटस्थित भित्री कच्ची सडक खण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रामपुरको लाम्टाङ भन्ने ठाउँबाट ओरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरका चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ठाडा घाइते हुनु भएको थियो । घाइते ठाडालाई स्थानीयले उद्धार गरी उपचारको लागि रामपुर अस्पताल पठाए पनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
आज नयाँ वर्षको नाममा मादक पदार्थ सेवन र लागूपदार्थ सेवनको कारण दुर्घटना हुन सक्ने भएकोले ठाउँ ठाउँमा सवारी चेक जाँच र प्रहरी गस्ती बढाएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।



















