काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री तथा व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।
दुगडले ३ सयभन्दा बढी उद्योगी/व्यवसायीलाई एमालेमा प्रवेश गराएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकारसमेत बने ।
सो विभागको उपप्रमुखमा दुर्गा प्रसाईंलाई जिम्मेवारी दिइएको छ । उनी मेडिकल कलेज संचालक हुन् ।
काठमाडौं । माओवादी निकट व्यवसायीका रुपमा चिनिएका दुर्गा प्रसाईं आज औपचारिकरुपमा एमाले प्रवेश गरे । झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘एमाले नेता’ का रूपमा पहिलो भाषण पनि गरे ।
कार्यक्रममा लिखित भाषण पढेका प्रसाई माओवादीमाथि खनिएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको उच्च प्रशंसा गरे । प्रसाईंले भाषण गर्दा एमाले कार्यकर्ताले अनवरत ताली र हुटिङका साथ समर्थन गरेका थिए । भाषण उनले भाषण सकेपछि ‘दुर्गा प्रसाईं जिन्दावाद’ ‘बोली अलि पिरो हो, दुर्गा प्रसाई जिन्दावाद’ भन्दै नारावाजीसमेत भयो ।
प्रसाईं मञ्चको अग्रपंतिमा एमाले नेताहरू सुभाष नेम्वाङ र लेखराज भट्टसँगै बसेका थिए । प्रसाईंले पार्टी अध्यक्ष ओली आफ्नो हजुरबा भनेर चिनाएका थिए । ओलीलाई उनले सिंगापुरका नेता लि क्वान यु र मलेलियाका नेता मोहम्मद महाथिरसँग तुलना गरे ।
प्रसाईले भने, ‘ओली हजुरबालाई मैले नजिकबाट बुझ्ने मौका पाएँ । उहाँमा मैले सिंगापुरका नेता लि क्वान यु र मलेसियाका महाथिरको अनुहार देखिरहेको छु । मैले कुनै चाकडी गरेर भनिरहेको छैन ।’
प्रसाईंले देशमा आफूजस्तै लाखौं जनता केपी ओलीका फ्यान रहेको बताए ।
‘एमालेको सदस्यता लिएका मात्र होइन कुनै राजनीतिक पार्टीमा आवद्ध नभएका लाखौं जनता तपाईंका फ्यान छन्, तपाईंले नाकाबन्दीका बेला लिएका चट्टानी अडान कसैले बिर्सेको छैन,’ उनले भने ।
नेपाली जनता आगामी चुनावमा ओलीलाई जनादेश दिनका निम्ति व्यग्र प्रतिक्षामा बसिरहेको दावी प्रसाईंले गरे । देशलाई अगाडि बढाउनका लागि ओली नेतृत्वको विकल्प नै नरहेको उनको भनाइ थियो ।
प्रसाईंले माओवादी नेतृत्वप्रति तिव्र आक्रमण गरे । माओवादीलाई माओको नाम बेच्ने अधिकार नभएको र कम्युनिष्ट भन्न पनि लाज लाग्नुपर्ने प्रसाईंको टिप्पणी थियो ।
‘के यही दिन देख्नका लागि १७ हजार मान्छेको बलिदानी गरिएको हो ? यहि दिन देख्नका लागि जनताले गोली खाएका हुन् ? देशलाई आखिर केका लागि २ सय वर्ष पछाडि धेकेलियो ?’ प्रसाईले प्रश्न गरे, ‘अब पनि उनीहरूसँग जवाफ मागेनौ भने हामी उनीहरूका दास मात्र हुनेछौं ।’
प्रचण्ड र बाबुरामहरूले जनयुद्धको बलिदानीलाई देउवाको पैतालामा चढाएको आरोप पनि प्रसार्इंले लगाए ।
‘प्रचण्डले आफ्नै टाउकोको मोल तोक्ने शेरबहादुर देउवाको पैतालामुनि जनयुद्ध विसर्जन गरेका छन्,’ उनले भने । जण्डिस लाग्दा पनि उपचारका लागि परिवारसहित थाइल्यान्ड जाने माओवादी नेताहरूबाट देशको विकास र समृद्धि सम्भव नरहेको प्रसाईंको भनाइ थियो । आफू कुनै लोभ लालचमा परेर नभइ ओलीप्रतिको भरोसाका कारण एमालेमा प्रवेश गरेको उनले बताए ।
काठमडौं । विएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका चर्चित व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेको विधान महाधिवेशनको प्रतिनिधि बनेका छन् ।
यसअघि माओवादी आन्दोलनसँग नजिक रहेका प्रसाई नेकपा एकीकरणपछि केपी ओली र प्रचण्डबीचको मध्यस्थकर्तासमेत बन्न खोजेका थिए । तर प्रचण्डले जसरी पनि आफ्नो पार्टीको सरकार ढाल्ने खेलमा लागेको भन्दै प्रसाई ओलीको पक्षमा उभिएका थिए ।
बेला बेला विवाद र चर्चामा आइरहने प्रसाईले माओवादी कोटाबाट चिकित्सा शिक्षा आयोगको अध्यक्ष बनेका डा. श्रीकृष्ण गिरीले बिएण्डसी कलेजलाई सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको बताएपछि माओवादीबाट टाढिएका थिए ।
प्रसाई यसपटक एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बनेर गोदावरी पुगेका छन् । प्रसाईलाई झापाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ ।
प्रसाईले झापामै पुर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गरिरहेका छन् भने उनी मार्सी वियरको ब्राण्डिङमा पनि छन् । प्रसाईले आफू अब एमालेको राजनीतिमा क्रियाशील हुने नेपाल प्रेसलाई बताए ।
राजनीति आफ्नो लागि नयाँ नभएको भन्दै मुुलुकको समृद्धिको नेतृत्व एमालेबाट सम्भव देखेर विधान महाधिवेशनको थलोबाट आफू सक्रिय भएको बताए ।
काठमाडौं । विवाद र चर्चामा आइरहने बिएण्डसी मेडिकल कलेका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाई अब मोटिभेशनल स्पिकरका रुपमा चिनिएका छन् ।
बुधवार सुदूरपश्चिमको धनगढी पुगेका प्रसाईले सयौं युवाको भेलामा जीवनमा सफल हुने उपाय र आफ्नो सफतलाका कथाहरु युवालाई जीवनयोपगी हुने भन्दै सुनाए ।
प्रसाईले भने, ‘आशावादी बनौं किनभने हजारौं निराशावादीको भिडले भन्दा एउटा आशावादी मान्छेले धेर काम गर्न सक्छ । निराशाले अनावश्यक आँशु दिन्छ, रुँदा एक्लै रुनुपर्छ । जसको कुनै अर्थ छैन ।’
प्रसाईले आफ्नो गरिबीका दिनहरु सुनाउँदै अरुको विरोध गर्नुको साटो आफू मेहनत गर्दा सफल भइने टिप्स युवालाई सुनाए । आजका युवामा सामाजिक सन्जालबाट सिको गरेर आरिस, डाह र विरोध गर्ने प्रवृति विकास भएकोमा उनले चिन्ता व्यक्त गरे ।
प्रसाईले भने, ‘मलाई श्रम गर्न कहिल्यै लाज लागेन । गाउँमा गाई भैंसी पालेँ, गोबर सोहोरेँ, पसलमा दूध बेच्न हिँडे । श्रमका कुनै सीमा हुँदैनन् तर मेरो श्रमलाई सम्मान गर्नेभन्दा मेरो परिश्रमको बैभवमा रिस गर्नेहरु धेरै छन् । यसले मलाई कति पनि विचलित बनाउँदैन ।’
आफूले पढ्न नपाए पनि छोरा र छोरीलाई डाक्टर बनाएकोमा गर्व गर्दै उनले युवाहरुलाई जागिरे मानसिकता र इजी मनीतिर नलाग्न र श्रमको बलमा आफैं आत्मनिर्भर हुन सुझाए ।
आफूले बिएण्डसी मेडिकल कलेज काठमाडौं शहरमा खोल्नुको साटो विर्तामोडमा खोल्नुको उद्देश्य दुर्गमका मान्छेलाई सेवा दिनु रहेको भन्दै उनले अरुको डाह र विरोध नगरी कर्ममा लागिरहँदा सफल हुने टिप्सहरु सुनाएका थिए ।
प्रसाई अहिले मेडिकल कलेजबाहेक अन्य उद्यममा समेत लागेका छन् । शर्माले आफ्नो विरोध गर्नेहरुको कुभलो नचिताई उनीहरुको विरोध र कुण्ठाबाट अझ प्रगतितर्फ लाग्नुपर्ने सुझाव दिए ।
काठमाडौं । बि एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटल एवम् रिसर्च सेन्टरलाई सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुनसमेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई सम्बन्धन माग्दा २० करोड घुस मागेको बताएका हुन् ।
‘गिरी कानुनअनुसार आयोगका उपाध्यक्ष हुन पनि योग्य छैनन्’ प्रसाईले भने, ‘कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस माग्नु भएको थियो, नदिएर अख्तियारमा गएपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ ।’
प्रसाईले कलेजलाई सम्बन्धन दिने, सरकारले नै चलाउने वा बन्द गर्नेबारे छिटो निर्णय प्रधानमन्त्रीसँग आग्रह पनि गरेका हुन् ।
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेका छन् ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा भइरहेको छ । उनको औषधी उपचारलगायतमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने दुर्गा प्रसाईले घोषणा गरेका थिए ।
थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंले दिने भनेको सहयोग आवश्यक नपर्ने परिवारले बताएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका थिए । हाल उनको उपचारको लागि
उनको मेडिसिटी अस्पतालमा इसइएमओ प्रविधिबाट उपचार भइरहेको छ । पूर्वअध्यक्ष थापाको उपचारका खर्च बढी लाग्ने भएपछि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको छ ।
गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार जम्मा भएको छ ।
काठमाडौं । बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् ।
शनिबार विज्ञप्ति जारी गर्दै प्रसाईले विवेकशील साझा पार्टीले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक अभियन्ता थापाको उपचार खर्च प्रदान गर्ने बताएका हुन् ।
उनले उपचार खर्चमा लाग्ने रकमको लागि सम्पर्क व्यक्ति प्रमेश गिरीको मोबाइल नम्बरसमेत विज्ञप्तिमै उल्लेख गरेका छन् ।
काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेपालको व्यावसायिक क्षेत्रमा आफू सबैभन्दा धेरै आक्रमणको शिकार भएको गुनासो गरेका छन् । आफूलाई ‘माफिया’ देखि ‘डन’ सम्मको उपमा दिएर खेद्ने काम भएको उनले बताए ।
झापामा आफैंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईले यस्तो बताएका हुन् । नेपाली राजनीतिका दुई शीर्ष नेतालाई मार्सी चामलको भात खुवाएको प्रसंग निकाल्दै प्रसाईले यसलाई विवादको विषय बनाइएकोमा असन्तुष्टि पोखे ।
मार्सी भात खुवाउँदाको प्रसंग उनले यसरी निकालेः
२०७४ साल फागुन ३ गते मैले एउटा सानो प्रयत्न गरेको थिएँ । दुई तिहाइभन्दा बढी वामपन्थी जनमत भएको देशमा छरिएर रहेका वामपन्थीहरूको एकता भए त्यसले देशलाई स्थिरता र समृद्धिको दिशामा लैजान्छ भन्ने आम नेपाली जनमत थियो । भक्तपुरस्थित मेरै घरमा नेपाली राजनीतिका दुई हस्तीका बीचमा तीन बुँदे सम्झौता भयो ।
त्यो सम्झौतामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर पाउँदा म धेरै खुशी थिएँ । मेरो निवासमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सहभागिता थियो । मैले उहाँहरूलाई नेपालको दुर्गम हिमाली जिल्लामा उत्पादन हुने मार्सी चामलको भात खुवाएँ । भात खाँदै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो । ठीक त्यही बिन्दुबाट मलाई अनर्गलरूपमा खेद्ने काम शुरू भयो । मार्सी, माफिया, डनलगायतका उपमाहरू मेरा नामका पछाडि, अगाडि जोड्ने काम शुरु भयो । केही पत्रकार, राजनीतिज्ञ, आफूलाई प्रधान सम्झने लेखक र केही बुद्धिजीवी मलाई लखेट्न हात धोएर लाग्नुभयो । भात-पानी छाडेर लाग्नुभयो ।
सम्भवतः नेपालको व्यावसायिक इतिहासमा यति धेरै नकारात्मक टिप्पणी र अपमान खेप्नुपर्ने व्यवसायी सायद म नै होला । एउटा उदाउँदो नेपाली व्यवसायीले उद्योगधन्दा सञ्चालन गर्दा अख्तियार, सम्पत्ति शुद्धीकरण, अड्डा, अदालत सबै शक्ति झेल्नुपर्ने परिस्थिति आयो । मैले यसको सामना गर्दै गएँ । तर म अलिकति पनि विचलित छैन । किनकि मैले देश टुक्र्याएर बेचेको थिइनँ । बरु मैले देश जोड्ने प्रयत्न गरेको थिएँ ।
मार्सीको नामबाट त्यो दिनबाट पाएको दूरगामी उपहारलाई मैले आफ्नो सम्पत्तिको रूपमा लिएको छु । अबको केही हप्ताभित्रै मेरो उद्योगबाट मार्सी चामलको प्रयोग गरेर बनेको अन्तर्राष्ट्रिय स्तरको मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी ड्रिङ्क बजारमा ल्याउनेछु ।
प्रशंसा गर्दै ओलीले भनेः हिम्मतिलो मान्छे
प्रसाईले यति ‘दु:ख’ सुनाउँदा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पनि उपस्थिति थिए । आफ्नो भाषणमा ओलीले प्रसाईप्रति सहानुभूति मात्रै दर्शाएनन्, उनको प्रशंसा समेत गरे ।
‘भन्नेहरु भन्दै गर्छन्, आलोचना गर्नेले गर्दै गर्छन्’ प्रधानमन्त्रीले भने, ‘उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, तर उहाँले मार्सीलाई नै ब्रान्ड बनाइदिनुभयो ।’ ओली यतिमै रोकिएनन् । उनले थपे, ‘हिम्मत भएको मान्छे हो दुर्गा प्रसाई । आलोचना र टिप्पणीबाट हच्किएर दच्किएर पछाडि हट्ने मान्छे होइन । कुन्ती माेक्तानको गीतमा भनेजस्तै खुट्टा तान्नेले तान्दै गर्छन्, देश बनाउने काममा हामीले खुट्टा कमाउनुहुँदैन । लक्ष्यमा अगाडि बढ्नुपर्छ ।’