Tag: दीपक मनाङे

  • दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेनन्, कहाँ–कति छ भन्नेमै ‘कन्फ्यूज’

    दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेनन्, कहाँ–कति छ भन्नेमै ‘कन्फ्यूज’

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । उनले आफ्नो सम्पत्ति कहाँ–कति छ भन्नेमा ‘कन्फ्यूज’ भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको बताएका छन् ।

    आइतबार एक कार्यक्रममा मनाङेले भने– सापटी दिएको पैसा फिर्ता भएको छैन, फिर्ता गर्ने हो कि होइन, अलिअलि भएको जग्गा पनि मुद्दा मामिलामा छ । मलाई नै कम्फ्यूज छ कि मसँग के छ, के छैन भनेर ।’

    उनले विवरण बुझेर सार्वजनिक गर्न अझै केही समय लाग्ने बताए ।

    मुख्यमन्त्रीसहित अरु मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् । तर गुरुङले विभिन्न कारण देखाउँदै विवरण सार्वजनिक गरेका छैनन् ।

    भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र आफ्नो वा परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

    गण्डकी प्रदेशमा मनाङेसँगै भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

  • मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

    मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

    दीपक मनाङेले जोगाइदिएको गण्डकीको प्रदेशसभा र उनकै भरमा टिकेको विपक्षी गठबन्धनको सरकारको भविष्य अझै पनि ढुक्क हुने अवस्थामा छैन । जसपाले कांग्रेसबाट धोखा हुन लागेको बताइरहेका बेला दीपक मनाङे भने शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।

    पछिल्लो पटक प्रचण्डसँग वृहत् राजनीतिक छलफल भएको भन्दै फोटो सार्वजनिक गरेका मनाङेले आन्तरिक मामिला तथा कानून मन्त्रालय मागेको चर्चा चले पनि उनले अब भौतिक पूर्वाधार मन्त्रालयमा आँखा लगाएका छन् ।

    प्रदेशको राजनीतिमा कांग्रेस र माओवादीसँग सहकार्य गरेका उनी मनाङको राजनीतिमा भने एमालेको साथ छाड्न नसक्ने बताउँछन् । एमालेसँग मिलेर आफूले चुनाव जितेको भन्दै मनाङेले नेपाल प्रेससँग भने- यो कुरा चाहिँ अलि हाइलाइट गर्दिनुस् है, मनाङमा एमालेसँग मिलेर चुनाव लड्न पाइन भने म राजनीति नै गर्दिनँ ।

    आफू नैतिकताको राजनीति गर्ने व्यक्ति भएको भन्ने मनाङेसँग प्रचण्डसँगको भेटपछि टेलिफोनमा गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा:

    तपाईंले प्रचण्डसँग भेट गरेको फोटो सार्वजनिक भएपछि धेरै प्रतिक्रिया आएका छन्, प्रचण्डसँगको भेटघाट कुन विषयमा केन्द्रित हो ?

    हाम्रो गण्डकीमा राम्रोसँग मिलेर काम गर्ने भन्ने हो । त्यसैको छलफल गर्नका लािग उहाँसँग भेटेको हो । प्रचण्डको केहि कुरा मनपर्छ मलाई, त्यसैले पनि भेटेको हो । जनजाती, दलित, मधेसीका विषयमा माओवादीको ठूलो योगदान छ । त्यो कुरा कसैले अस्वीकार गर्न मिल्दैन । माओवादीको विचारबाट मिलेर अघि बढेको हो नि । त्यसैले मैले भेटेको हो ।

    गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा- सैसा पनि उठाउँदैन यहाँको पुलिसले ।

    जसपालाई अर्थ मन्त्रालय दिने कुरा आएको छ । तपाईंको मन्त्रालय कुन हो अब ?

    अहिले चाहिँ सरकार नढाली नहुने भएकाले मैले आफ्नो भूमिका निर्वाह गरेको हो । मैले मन्त्रीका लागि केही पनि कुरा गरेको छैन र म गर्ने मान्छे पनि होइन । पदका पछि लाग्ने पनि मेरो बानी छैन । जहाँ खाली छ त्यहाँ दिइ नै हाल्छन् । संसद बचाउन मैले यस्तो गरेको हो ।

    तपाईंले त गृह मन्त्रालय मागेको भन्ने पनि थियो नि ?

    पहिले त्यसो सोचेको हो तर गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा-सैसा पनि उठाउँदैन यहाँको पुलिसले । त्यसो भएपछि गृह मन्त्रालयभन्दा पनि मनाङमा बाढी पहिरो गएको विषयले ध्यानाकर्षण पनि गराएको हो । मैले चाहिँ अब अलि विकास निर्माण गर्ने मन्त्रालय चलाउँ कि भन्ने सोचेको छु ।

    तपाईंले भौतिक पूर्वाधार मन्त्रालय दावी गर्ने त्यसो भए ?

    हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ ।

    प्रचण्डलाई भेटेपछि तपाईं आउने चुनाव माओवादीबाट लड्ने भन्ने कुरा पनि आयो नि ?

    होइन म आउने चुनाव पनि स्वतन्त्र नै लड्छु । यो प्रदेशमा चाहिँ जसपा, जनमोर्चा र म मिलेर जान्छौं । किनभने यस्तो बेलामा पनि हामी मिलेको छौ । यी दुवै पार्टी पनि मलाई मन परेको छ । जनमोर्चाको लेडिज र जसपाको पनि लेडिज भएकाले मलाई राम्रो लागेको हो । एकदम राम्रा छन् क्या तिनीहरू । राजनीतिमा यस्तो हुनुपर्छ ।

    जसपाको महिला सांसदलाई मन्त्री बनाउन पनि लबिङ गर्दै हुनुहुन्छ होइन ?

    हो यार, मैले उहाँको खटन पटन देखेँ । हामीलाई राम्रो मान्छे चाहिने हो नि त । यस्तो व्यक्तिलाई मैले सहयोग गर्नुपर्छ । महिलालाई नेतृत्वमा ल्याउनुपर्छ । लेडिज भनेर नहुने रहेछ हेर्नुस्, केटाहरूजस्तो रक्सी खाएर त बिकेका छैनन् । केटाहरु त रक्सीमा बिक्छन् । महिला त कहिल्यै यस्तोमा बिकेको छैन नि त । जनमोर्चाको कृष्ण थापालाई हेर्नु त । यस्तो फटाहा व्यक्ति पनि नेता हुन्छ । पद त बेचेर खाए-खाए, फेरि मुद्दा पनि हाल्न भ्याए ।

    मदिराकै कुरा गरिहाल्नुभयो, अनि खेलकुद परिषदका सदस्य सचिवको बारेमा तपाईले चरित्रहत्या गर्ने कुरा किन बोलेको ?

    मैले थाहा पाएको हिसाबले जे भने भने, पर्सनल इस्युमा हामी जानु पनि हुँदैन हेर्नुस् । एक-अर्कोलाई सम्मान गर्ने कुरा छँदैछ । अब हेर्नुस् व्यक्तिगत कुरा चाहिँ नगरौं भन्ने मैले पनि सोचेँ , तर उहाँहरु परिवर्तन हुनुपर्‍याे । भ्रष्टाचार पनि गर्नु भएन । म परिवर्तन हुने भनेको नबोल्ने हो ।

    यसअघिको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तपाईंलाई सुधार गर्न खोजेको तर सकिन भन्नु भयो, तपाई नसुध्रिने नै हो ?

    पृथ्वीसुब्बा दाइले भनेको नराम्रो चाहिँ होइन । त्यसमा के हो भने मैले एक भोट हालेपछि उहाँ मुख्यमन्त्री हुने र मैले नहाल्दा सडकमा जाने अवस्था हुने रहेछ नि त ।

    तपाई यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन । अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन ।

    मैले त मनाङको विकास हेर्ने हो । मलाई जिताउनमा पनि कसैको योगदान छैन । आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने । मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।

    मलाई जिताउन यिनीहरूको पनि केही योगदान छैन । त्यसैले मैले त मनाङको जनतालाई हेर्ने हो । मनाङलाई राम्रो बनाउनुपर्छ भन्ने हो ।

    भनेपछि अब मनाङमा पहिले जस्तो एमालेसँग मिलेर चुनाव नलड्ने हो ?

    अब तपाईं यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन ।

    अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन । कमिटमेन्टभन्दा बाहिर जानु हुँदैन,सबैभन्दा ठूलो आफूले दिएको जमान हो ।

    हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोलीजस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

    प्रदेशका कांग्रेससँग म मिले भन्दैमा मनाङका कांग्रेसहरू खुसी नभए हुन्छ । एमालेसँग मिलेर मैले लड्न सकिन भने मैले राजनीति गर्दिनँ ।

    मलाई कस्तो अप्ठेरो थियो भने मैले नगर्नेवित्तिकै संसद विघटन हुन्छ । संसद विघटनको लागि त म मान्दिन नि ! मेरो ८३ वर्षको फुपू गएर मलाई भोट हालेर जिताएको छ । कहिल्यै नजाने मान्छेहरू गएर भोट हालेकाे छ ।

    म मन्त्रीको लागि बिक्दिन । मन्त्री पद केही होइन क्या । तर, मनाङमा चाहिँ म एमालेसँगै मिल्छु । त्यसो भएपछि मनाङमा म पनि जित्छु एमालेको पाल्दोन छोपाङ पनि जित्छ ।

    म कांग्रेस बन्न सक्दिनँ । राजनीति भनेको यसलाई नै भन्दो रहेछ । हाम्रो जिल्लामा एमालेको सांसद पाल्देनले जति विकास कसैले गर्दैन । त्यो मान्छे दुःख गर्ने मान्छे चाहिँ हो । मलाई यस्तै मान्छे मन पर्छ । हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोली जस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

    भनेको प्रदेश जोगाउनका लागि मात्र हो तपाईंले भूमिका निर्वाह गरेको हो ?

    मैले नगर्ने वित्तिकै संसद विघटन हुन्छ । म संसद विघटन गर्ने पक्षमा थिएन । मलाई ८० वर्षको बुढा आमा-बुवाले मत दिएका छन् । म उहाँहरूको भोट खेर हालेर संसद विघटन गर्ने पक्षमा भोट हाल्दिनँ । एउटा मन्त्रीको दाउमा जनताको भोट बेच्न चाहान्नँ ।

    भनेपछि प्रदेशको सरकारका मात्र सहकार्य हो कांग्रेस माओवादीसँग ?

    कुरा त्यही हो । राजनीति भनेको के हो थाहा हुँदैछ । मेरो क्षेत्रमा अरुले जित्ने सपना नदेखे हुन्छ । म राजनीतिक सिद्धान्त छोड्दैन । नेताको काम झुट बोल्ने होइन । भगवानको जस्तै नेताको बोली हुनुपर्छ भन्ने हो । प्रदेशमा हामी ४ वटा दल मिलेको हो तर मनाङमा एमाले र मैले नै हो जित्ने ।

    गण्डकी प्रदेश सरकारले कहिले पूर्णता पाउँछ ?

    म नगएर पूर्णता पाउन रोकिएको हो । म जाने वित्तिकै पूर्णता पाइहाल्छ । मनाङमा खाद्यान्न तथा राहत पुर्‍याउनका लागि काठमाडौं आएको हो । अहिले सरकार तथा गैरसरकारी निकायसँग हामीले सहयोग मागिरहेका छौं ।

  • राखेप सदस्यसचिवबारे दिपक मनाङेको अनर्गल टिप्पणी, राखेपद्वारा कारबाहीको माग

    राखेप सदस्यसचिवबारे दिपक मनाङेको अनर्गल टिप्पणी, राखेपद्वारा कारबाहीको माग

    काठमाडौं । गण्डकीका नवनियुक्त विनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को बोली बेलगाम बन्दै गएको छ । उनले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवालको चरित्रहत्या गर्दै अनर्गल टिप्पणी गरेको भिडियो सार्वजनिक भएको छ ।

    एक अन्तरवार्तामा मनाङेले भनेका छन्, ‘त्यो सिलवालको कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने के । सायद त्यसको घरमा प्रोब्लम होला ।’ उनले सिलवालकी पत्नीको विषयमा पनि टिप्पणी गरेका छन् ।

    पत्रकारहरु हाँसेपछि उनी भन्छन्, ‘तपाईंहरु हाँस्ने कुरा होइन, तपाईंहरुलाई जोक गर्याजस्तो भयो होला तर फ्याक्ट हो । कुराकानीका क्रममा उनले राखेप सदस्य राजेश गुरुङमाथि पनि अभद्र टिप्पणी गरेका छन् ।

    राखेपले सोमबार वक्तव्य जारी गरी मन्त्रीजस्तो जिम्मेबार पदमा पुगेको व्यक्तिबाट भ्रामक र चरित्रहत्या हुनु गम्भीर भएको भन्दै भर्त्सना गरिएको छ । राखेपका निमित्त सदस्यसचिव पुरेन्द्र विक्रम लाखेले जारी गरेको वक्तव्यमा जनप्रतिनिधिबाट यस्ता शव्दहरु प्रयोग हुनु दुःखद भएको भन्दै कानूनी कारबाहीको माग गरिएको छ ।

  • मनाङेबारे डा. बाबुराम- समाजको उत्पीडित तप्कालाई राज्यले ‘अपराधी’ बनाइदिन्छ

    मनाङेबारे डा. बाबुराम- समाजको उत्पीडित तप्कालाई राज्यले ‘अपराधी’ बनाइदिन्छ

    काठमाडौं । हालै गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका दिपक मनाङेबारे सामाजिक सञ्जालमा नानाथरी टिप्पणी भइरहेका छन् । आपराधिक पृष्ठभूमिका मन्त्रीलाई एकपछि अर्को सरकारले मन्त्री दिएको भन्दै आक्रोश व्यक्त भएको छ ।

    तर, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मनाङेको बचाउ गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै मनाङेको बचाउ गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चश्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत: अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

    मनाङे चर्चामा आएसँगै डा. भट्टराईलाई उनले भेटेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । यसबारे पनि भट्टराईले प्रष्टीकरण दिएका छन् । मनाङे गण्डकी प्रदेशको मन्त्री बन्ने क्रममा आफूसँग भेटेको उनले उल्लेख गरेका छन् ।

    डा. भट्टराईले मनाङेलाई रत्नाकरसँग तुलना पनि गरेका छन् । डाकु रत्नाकर बाल्मिकी बनेजस्तै मनाङे पनि परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

    उनी लेख्छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरुङहरूले नयँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?

  • मनाङेको छुद्र टिप्पणी- दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

    मनाङेको छुद्र टिप्पणी- दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

    काठमाडौं । गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरे ।

    नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका थिए । दुई दिनअघि मन्त्रीबाट राजीनामा दिएका मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरे ।

    जवाफमा मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’

    यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् ।

  • एक महिनाभित्रै मनाङेको दोस्रो सपथ

    एक महिनाभित्रै मनाङेको दोस्रो सपथ

    पोखरा । गण्डकी प्रदेशसभामा स्वतन्त्र हैसियतमा रहेका एकमात्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले आइतबार मन्त्रीको सपथ लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । महिना दिनको बीचमा उनको दोस्रो सपथ हो ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि वैशाख १६ मा सोही मन्त्रालयमा नियुक्त गरेका थिए । तर, गुरुङको राजीनामासँगै वैशाख २६ बाट उनी पनि पदमुक्त भए ।

    गत बुधबार पुनर्नियुक्त मन्त्रालय विस्तार गर्दै मनाङेलाई पनि मन्त्रीमा दोहोर्‍याएका थिए । सोही दिन भएको सपथ ग्रहणमा बाँकी ४ जना मन्त्रीले सपथ लिएपनि उनी कामले जिल्ला बाहिर रहेकाले आइतबार एक्लै सपथ गराइएको हो । मुख्यमन्त्रीले जेठ २९ भित्रै सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

  • मन्त्री बनेपछि दंग दीपक मनाङेले भने- भिजन अलमोस्ट रेडी छ, आज खोल्दिँन (भिडियो)

    मन्त्री बनेपछि दंग दीपक मनाङेले भने- भिजन अलमोस्ट रेडी छ, आज खोल्दिँन (भिडियो)

    पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएपछि स्वतन्त्र सांसद दीपक मनाङे दंग देखिएका छन् । मन्त्रीको सपथग्रहणअघि पत्रकारसँग केहीबेर गफिँदा उनी प्रफुल्लित मुद्रामा थिए ।

    निलो कोट, दौरा सुरुवाल र कालो फ्रेमको चश्मामा ठाँटिएका मनाङेलाई झट्ट हेर्दा ‘पूर्व गुण्डानाइके’ हुन् भन्ने झल्को आँदैनथ्यो । उनले गफ पनि ठूलै गरे । आफूसँग मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको भन्दै त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने मनाङेले दावी गरे ।

    आफूसँग भएको भिजन चाहिँ उनले खोल्न मानेनन् । त्यो भोली सुनाउने उनले बताए ।

    पत्रकारसँग मनाङेको संक्षिप्त प्रश्नोत्तर यस्तो थियो

    ‘तपाईंले युवा तथा खेलकुद मन्त्रालय नै किन रोज्नुभएको हो ?’

    मनाङेले जवाफ दिए, ‘पहिलेदेखि गरिराख्या भयो नि त । सजिलो हुन्छ क्या । अहिले अर्थमा गएर के गर्ने ? चारजना पीएचडी डाक्टर खोज्नुपरो । युवा तथा खेलकुदमा पहिलेदेखि नै हामीले रोजगार दिइराख्या कुरा भो । विजनेस प्लानहरू पनि छँदैछ । स्पोर्टस लागि हामीसँग टिम पनि राम्रो छ ।’

    भनेपछि तपाईंसँग भिजन पनि छ ?

    अँ, भिजन अलमोस्ट रेडी नै । किनभने धेरै कुरा छैन गर्नुपर्ने ।

    के-के छन् तपाईंका भिजन भन्दिनुस् न ?

    अहँ, अहिले भन्दिनँ । भोलि सबैलाई एक-एक कपि दिन्छु । त्यसमा चैं ५-६ किसिमका कुरा छन् । हाम्रो सरकारले युथहरूलाई सपोर्ट गर्नुपर्छ । त्यो भयो भने मान्छे विदेश जानु खासै पर्दैन क्या ।

    त्यसो भए तपाईंको पहिलेदेखिकै तयारी थियो ?

    यो त मेरो पहिलेदेखिको विजनेस हो नि त ।

    मन्त्री तपाईंले माग्नुभएको कि मुख्यमन्त्रीले अफर गर्नुभएको ?

    काम गर्ने वातावरण मिल्यो भने गरौं भन्नुभयो । मैले हुन्छ दाइ भनेँ । मुख्यमन्त्रीज्यूले दौरा सुरुवाल किन्न जाउ भन्नुभाथ्यो, गएँ ।

    कस्तो अनुभव भइरहेको छ त मन्त्री बन्दा ?

    मलाई त निद्रा लागिरा’छ । सुत्न पाएको छैन क्या ।

  • दीपक मनाङेले खाए मन्त्रीको सपथ

    दीपक मनाङेले खाए मन्त्रीको सपथ

    काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङेले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

    सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथअघि उनले पत्रकारहरुसँग केहीबेर अनौपचारिक कुरा पनि गरे ।

    सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

  • गण्डकीमा मन्त्रिमण्डल विस्तार हुँदै, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

    गण्डकीमा मन्त्रिमण्डल विस्तार हुँदै, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । स्रोतका अनुसार स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बन्दैछन् । सामाजिक विकास मन्त्रालयबाट फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।

    मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आजै नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइँने छ ।  ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । आजै सपथ ग्रहण हुनेछ,’ स्रोतले भन्यो, ‘कुन मन्त्रालय कसलाई दिने भन्ने खुलेको छैन ।

    सरकारविरुद्ध अविश्वास संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तारको तयारी गरेका हुन् । सरकार जोगाउने मुख्यमन्त्रीको रणनीतिका रुपमा यसलाई हेरिएको छ । हिजो संसदमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम भए पनि दुई सांसदको अनुपस्थितिले स्थगित भएको थियो ।

    माओवादी केन्द्रले मन्त्री फिर्ता गरेपछि २ वटा मन्त्रालय खाली छन् । जसमा मुख्यमन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय रामशरण बस्नेतले राखेका थिए ।

  • दीपक मनाङेले भने :  एमाले मनाङले भने अनुसार निर्णय लिएको छु

    दीपक मनाङेले भने : एमाले मनाङले भने अनुसार निर्णय लिएको छु

    काठमाडौं । स्वतन्त्र सांसद दिपक मनाङे (राजिव गुरुङ)ले अन्ततः एमालेकै पक्षमा खुल्ने निर्णय गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि स्वतन्त्रको सिट माग्दै सरकारको विपक्षमा उभिएका मनाङे बुधवार प्रदेश सभा बैठकमा अनुपस्थित भएका थिए ।

    उनको दिनभर मोबाइल समेत अफ थियो । प्रदेश सभाको दोस्रो सत्रको बैठक बस्ने बेला पुगेका मनाङेले आफ्नो जिल्लाका मतदाताले पृथ्वीसुब्बा गुरुङको विपक्षमा नलाग्ने दबाब दिएको बताएको थिए । त्यसको केहीबेरपछि उनले फेसबुकमा छोटो स्टाटस लेख्दै भनेका छन्- मनाङ्ग जिल्लाको नेकपा एमाले संगठनले भने अनुसारको निर्णय लिएको छु ।

    उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेको समर्थनमा बालक चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।

  • मतदानका दिन मनाङे संसदमा अनुपस्थित, फोन पनि स्वीचअफ

    मतदानका दिन मनाङे संसदमा अनुपस्थित, फोन पनि स्वीचअफ

    पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ ‘दीपक मनाङे’ संसदमा उपस्थित भएका छैनन् ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कबाहिर रहेका हुन् ।

    उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । आजै मतदान हुने कार्यसूची छ । पहिले फोन गर्दा नउठाएको र पछि अफ गरेर बसेको बताइएको छ ।

    पहिले मुख्यमन्त्रीलाई साथ दिने भनेका उनले पछिल्लो समय जनमोर्चाले जता भोट हाल्छ उतै आफू उभिने अभिव्यक्ति दिएका थिए ।

  • दीपक मनाङे पनि फिल्म ‘२ नम्बरी’का निर्माता, चैत १५ गतेदेखि बाँकी छायांकन सुरु हुने

    दीपक मनाङे पनि फिल्म ‘२ नम्बरी’का निर्माता, चैत १५ गतेदेखि बाँकी छायांकन सुरु हुने

    काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले फिल्म ‘२ नम्बरी’ निर्माण गर्ने भएका छन् । फिल्मका प्रस्तुतकर्ता एवं अर्का निर्माता किरण नेपालीले गुरुङ निर्माताको रुपमा यस फिल्ममा संलग्न हुने जानकारी दिए ।

    लकडाउनका कारण यो फिल्मको छायांकन बीचमै रोकिएको थियो । बाँकी छायांकनलाई चाँडै सुचारु गर्ने जानकारी निर्माता विकले दिए । दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, उगेन छोदेन, पल शाह र वर्षा राउतको अभिनय छ ।

    चैत १५ गते घान्द्रुकबाट बाँकी फिल्म छायांकन निरन्तर हुने जनाइएको छ । कोरोना महामारीले गर्दा यसवर्षको जनैपूर्णिमामा हुने भनिएको पूर्वनिर्धारित रिलिज डेट स्थगित भएको छ । भुटानी नायिका छोदेन फिल्मको लागि काठमाडौं आउँदैछिन् ।