Tag: दिलेन्द्र बडु

  • सुदूरपश्चिममा कांग्रेस महाधिवेशनको सरगर्मी- यी हुन् जिल्लादेखि केन्द्रसम्मका आकांक्षी

    कैलाली । नेपाली कांग्रेसको महाअधिवेशन मिति नजिकिँदै जाँदा वडादेखि प्रदेशसम्म चुनावी सरगर्मी बढिरहेको छ । उनीहरु अहिले टिकटका लागि दौडधुपमा छन् ।

    केन्द्रीय पदाधिकारीमा सभापति शेरबहादुर देउवासहित सुदूरपश्चिम प्रदेशका ६ जनाले दावी पेस गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः उम्मेदवारी दिने योजनामा देखिन्छन् ।

    नेताहरु रमेश लेखक, एनपी साउद, दिलेन्द्र बडू, बद्री पाण्डे र ईश्वरी न्यौपाने पदाधिकारीका लागि टिकटको दौडमा छन् ।

    रमेश लेखक, एनपी साउद र दिलेन्द्र बडू महामन्त्रीको लबिङमा छन् । उनीहरू निकटका नेताका अनुसार महामन्त्रीको दौडमा रहेको तीनै जना अन्तिममा सह-महामन्त्रीसम्म भएपनि दावी गर्ने बताउँछन् ।

    आरक्षण कोटा (पिछडिएको क्षेत्र)बाट पाण्डेले सह-महामन्त्री र महिला कोटाबाट न्यौपाने सह-महामन्त्रीमा दावी गरेका छन् ।

    प्रदेशका आकांक्षी

    सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जनले इच्छा व्यक्त गरेका छन् । वर्तमान कैलाली सभापति नरनारायण शाह (मनु) पनि प्रदेश सभापतिको दौडमा छन् । उनी कैलालीमा दुई पटक सभापति भइसकेका छन् । विधान अनुसार जिल्लामा २ पटक भन्दा बढी सभापति हुन नपाइने भएपछि उनी प्रदेश अध्यक्षको दौडमा छन् ।

    बझाङका अर्जुन बहादुर सिह, कञ्चनपुरका बहादुरसिंह थापा, अछामका बलबहादुर कँुवर र गोविन्द शाह पनि प्रदेश सभापतिको दौडमा छन्।

    यी हुन् जिल्लाका आकांक्षी

    नेपाली कांग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा जिल्ला सभापतिका आकांक्षीले आआफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए ।

    प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन् । प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ ।

    कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ । जिल्लामा वर्तमान सभापति हरि बोहरा, गत अधिवेशनमा बोहरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ लगायतको नाम चर्चामा छ ।

    सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिका लागि हरिप्रसाद भट्ट र परशुराम नगरपालिका मेयर भीमबहादुर साउदले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    बाजुरामा पूर्व सभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रो पटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन् ।

    बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लबिङमा छन् । यस्तै, पूर्व सभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन् । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसमेत हुन् ।

    अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ ।

    डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ ।

    बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्व सभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्व सभापति देवराज शर्मा, नेता जगत जोशी, खडग बहादुर बोहरा र रमेश भण्डारीको नाम चर्चामा छ ।

    पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृह जिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्व सभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क बिस्टलगायतका नेताहरूको नाम जिल्ला सभापतिका लागि चर्चामा छ ।

    कांग्रेस महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

    एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ ।

  • संसदमा दिलेन्द्र बडु- भारततिर बगर बनेको नेपाली जमिनमा सरकार किन मौन ?

    संसदमा दिलेन्द्र बडु- भारततिर बगर बनेको नेपाली जमिनमा सरकार किन मौन ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा आएको बाढीका कारण नेपाली भूमि खण्डित भएको र भारततर्फ परेको भन्दै त्यसलाई फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बडु दार्चुलाबाट प्रतिनिधित्व गरेका सांसद हुन् ।

    प्रतिनिसभाको मंगलबारको बैठकको शुरूमै समय लिएर बोल्दै उनले बाढीका कारण ३५ हेक्टर जमिन भारततिर बगर बनेको जानकारी गराए।

    ‘नेपाल सरकार बेखबर छ, सुतिरहेको छ,’ उनले भने, ‘१ हजार ४३ रोपनी बाढीले बगायो र धेरै हिस्सा भारतिर गयो ।
    ३५ हेक्टर जमिन भारततिर बगर बनेको छ ।’

    उक्त भूमि अहिले भारतले आफ्नो बनाउने गरी तटबन्द लगाउन थालेको भन्दै त्यसमा सरकारले पहल गर्नुपर्ने उनले माग गरे । सीमामा कुनै पनि संरचना बनाउँदा दोस्रो देशको सहमति लिनुपर्ने भए पनि भारतले त्यसो नगरेको भन्दै ‘यस विषयमा सरकार मौन किन रहेको हो ?’ भनी प्रश्न समेत गरे।

    ‘मिडियाले यो विषय व्यापक रूपमा लेखिरहेका छन् तर सरकारले किन अनभिज्ञता प्रकट गरिरहेको छ ?,’ उनको प्रश्न छ, ‘आफ्नो भूमि गुम्ने विषयमा पनि किन मौन ?’