Tag: दावा तामाङ

  • १० दिन बाँकी हुँदा पदमुक्त भए दुई मन्त्री, सांसद नभएका को-को दोहोरिएलान् ?

    १० दिन बाँकी हुँदा पदमुक्त भए दुई मन्त्री, सांसद नभएका को-को दोहोरिएलान् ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएको भए अथवा पहिलेकै सरकार निरन्तर रहेको थियो भने ओली सरकारका दुई मन्त्री जेठ १० गतेबाट स्वतः पदमुक्त हुने थिए ।

    खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा तामाङ संघीय संसदको सदस्य नभएका कारण ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संवैधानिक प्रावधानका कारण पदमुक्त हुँदै थिए ।

    तर, त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन गएको र अहिले पुनःनियुक्त भएको अवस्थामा सबै मन्त्री स्वतः पदमुक्त भइसकेका छन् ।

    त्यसो त माओवादीले सांसद पदबाट कारवाही गरेपछि रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि ६ महिनामात्र मन्त्री बन्न पाउने थिए । यद्यपी उनीहरु सांसद पदबाट मुक्त भएको अवधि अझै ५ महिना बाँकी थियो ।

    अब विहीवारसम्म ओली क्याबिनेटमा रहेका ६ जना माओवादी नेताहरुको हैसियत समान भएको छ । बादल राष्ट्रियसभा सदस्यको जेठ ६ गते हुने उप-चुनावमा एमालेको उम्मेदवार छन् । एमाले एकजुट हुँदा उनी सांसद बन्ने निश्चित छ ।

    संकटमा आफूलाई साथ दिएका पूर्व माओवादीलाई अलपत्र नपार्ने ओलीको नीति बमोजिम यसअघि क्याबिनेटमा रहेका सबैलाई पुनः ६ महिनाका लागि मन्त्री बनाउलान् ? यसका लागि ओली आन्तरिक छलफलमा छन् ।

    टोपवहादुर, लेखराज, प्रभु साह र गौरीशंकर चौधरी ६ महिनाभित्रै हुने उप-चुनावमा एमोबाट उम्मेदवार बन्ने निश्चित छ । तर मणि थापा र दावा तामाङको हकमा भने उप-चुनावबाट आउने क्षेत्र दुवै सदनमा खाली छैन ।

    दश दिनपछि मन्त्रीबाट पदमुक्त हुन लागेका मणि र दावा पुनः ६ महिनाका लागि मन्त्री बन्न संविधानले अब छेक्दैन । किनकि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको यो नयाँ सरकार हो ।

    संविधानविद् टीकाराम भट्टराई संविधानले मन्त्री बन्न नछेके पनि संवैधानिक नैतिकताको पश्न महत्वपूर्ण हुने बताउँछन् ।

    ‘संविधानले उहाँहरुलाई मन्त्री बन्न छेक्दैन तर त्यो भन्दा माथि संवैधानिक नैतिकता हुन्छ । सत्तारुढ दलसँग प्रतिनिधिसभाका पर्याप्त सदस्य भएको ठाउँमा अपवाद बाहेक बाहिरका मान्छेलाई मन्त्री बनाउनु संविधानको परिकल्पना होइन,’  भट्टराईले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्री अहिले आन्तरिक छलफलमै छन् तर उप-चुनावबाट आउने बाहेक अरुले निरन्तरता नपाउने सम्भावना नरहेको निकट स्रोतले जनाएको छ । त्यसमा सम्बन्धित व्यक्तिहरु समेत ‘कन्भिन्स’ भएको बताइन्छ ।

  • खेलकुद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

    खेलकुद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

    युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप-२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्ने बताए ।

    मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताए । स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए । स्थानीयस्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।

    देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

    एशोसियसनले हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा अग्रसरता देखाउँदै आएको बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ भने फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

    त्यस्तै, टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै उहाँले प्रतियोगितामा पाँच लाख रूपैयाँ खर्च हुने एशोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।

    रासस

  • महामारीको जटिलतालाई चिर्दै खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किनुपर्छ : खेलकुदमन्त्री

    महामारीको जटिलतालाई चिर्दै खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किनुपर्छ : खेलकुदमन्त्री

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री दावा तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा) को १३औं साधारण सभाले देश-विदेशमा पर्वको रौनक सिर्जना गरोस् भन्ने कामना गरेका छन् ।

    मंगलबार सानेपामा शुरू भएको एन्फाको १३औं साधारणसभालाई सम्बोधन गर्दै तामाङले फुटबलको क्षेत्रमा यो कार्यक्रमले हर्षको वातावरण पैदा गरेर खेलाडीमा खुशी ल्याउन सकोस् भनी कामना गरे ।

    “यो साधारण सभाले गाउँदेखि ठाउँसम्म, देशदेखि विदेशसम्म फुटबलको क्षेत्रमा एउटा पर्वको माहोल बनाएर सकारात्मक तरङ्ग पैदा गर्न सफल होस्, ” उनले भने, “जुन तरङ्गले खेलाडीसँगै यो क्षेत्रलाई नै हर्षित बनाओस् ।”

    कोरोना भाइरसको महामारीले सिर्जना भएको समस्या र जटिलतालाई खेलक्षेत्रले चिर्दै पूर्ववत् स्थानमा फर्किनुपर्ने बताए । “कोभिडले नेपाल मात्रै नभएर विश्वमा नै समस्या उत्पन्न भएको छ, अब त्यो समस्या र जटिलतालाई खेल क्षेत्रबाट चिर्दै पूर्ववत् स्थानमा पुगेर अझ अगाडि बढ्नुपर्छ ।”

    कोरोना भाइरस संक्रमको जोखिमकै कारण लामो समयदेखि रोकिएको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ता पनि छिट्टै उपलब्ध गराउनका लागि पहल भएको उनले बताए ।

  • चर्चित हस्तीलाई हराएको १३ वर्षपछि चर्चामा आएका दावा

    चर्चित हस्तीलाई हराएको १३ वर्षपछि चर्चामा आएका दावा

    काठमाडौं । दावा तामाङ युवा तथा खेलकुद मन्त्री बनेको समाचार आउँदा आम मान्छेले को हुन् दावा ? भन्ने प्रश्न गरे । राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा एकाएक मन्त्री बन्दा धेरैले सोधखोज गर्नु स्वाभाविक हो । तर दावाले १३ वर्षअघि नै राष्ट्रिय राजनीतिका एक चर्चित हस्तीलाई पराजित गरेर चर्चा कमाएका थिए ।

    ३०औँ वर्ष सिन्धुपाल्चोकमा एकछत्र राजनीति गर्दे आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन अध्यक्ष पशुपतिशमशेर जबरालाई सिन्धुपाल्चोकमा पहिलो पटक चुनावी मैदानमा पछार्दै गर्दा तत्कालीन माओवादी नेता दावा तामाङ देशव्यापी चर्चामा थिए ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तामाङले राणालाई हराएका थिए । राणा ३० वर्षपछि सिन्धुपाल्चोकमा पराजित मात्रै भएनन् उनी त्यतिबेलाको निर्वाचनमा तेस्रो पोजिसनमा खुम्चिनु पर्‍यो र त्यसयताका निर्वाचनमा राणाले सिन्धुपाल्चोकमा चुनाव जित्न सकेका छैनन् ।

    साविकको इर्खुका तामाङ विद्यार्थी राजनीतिबाट अघि बढेका थिए । परिवार नै सुरुदेखि नै राजनीतिक पृष्ठभूमिको भएकाले तामाङलाई राजनीतिक रुपमा अघि बढ्न कुनै समस्या भएन ।

    काका र ठुलोबुबा गाउँ फर्क अभियानका सदस्य रहेकाले पनि तामाङले राजनीति सानैदेखि नै बुझेका थिए । आर्थिक अवस्था न्यून भएपछि उनको बुबा रोजगारीका लागि भारत गएका थिए । पछि बुबा इण्डियन लाहुरे भएर आएपछि आफूहरुलाई आर्थिक रुपमा केही सजिलो भएको तामाङले बताए ।

    दुई पटक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएका तामाङ तत्कालीन माओवादीले सिन्धुपाल्चोकको कुभिण्डेमा एक जना प्रहरीको हत्या गरेपछि उनलाई पनि प्रहरीले मुद्दा लगाएको थियो । युद्धको सुरुमा नै भूमिगत भएका तामाङले पार्टी भित्र शालीन, भद्र र अनुशासित नेताको पहिचान बनाएका छन् ।

    माओवादी युद्धको क्रममा जिल्ला पार्टी सचिव समेत भएका तामाङ माओवादीले त्यतिबेला गठन गरेको जनसरकारको सिन्धुपाल्चोक– दोलखाको प्रमुख समेत भएका थिए ।

    २०५५ सालमा नै जिल्ला सचिव भएका तामाङ २०५८ मा माओवादीको सिन्धुपाल्चोक इञ्चार्ज भएका थिए । माओवादीले भूमिगतकालमा नै गठन गरेको ताम्सालिङ प्रदेश सरकारको सभामुख र कार्यवाहक सरकार प्रमुख समेत भएका तामाङ युद्धका क्रममा धेरै मोर्चामा ‘वालवाल’ बँचेका थिए ।

    ०००

    युद्धको क्रममा नै वर्तमान सभामुख अग्नि सापकोटा इतरका तामाङ तत्कालीन माओवादीका नेता मोहन वैद्यसँग निकट थिए । उनकै शब्दमा पटक पटक सापकोटाहरुको पेलानमा परेका तामाङलाई २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको थियो ।

    तामाङ क्षेत्र नम्बर २ मा नै उम्मेदवार हुन खोजे पनि क्षेत्र नम्बर २ मा अग्नि सापकोटा उम्मेदवार भएपछि उनकै शब्दमा ‘मन नलाग्दा नलाग्दै’ पनि क्षेत्र नम्बर ३ मा गएर चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।

    चुनाव अघि नै लडेर घाइते भएका तामाङ चुनावी प्रचारको क्रममा समेत घोडाको प्रयोग गरेर गाउँ बस्ती हिंड्दा उनलाई त्यतिबेला विपक्षीहरुले पशुपतिशमशेर जबराको अर्काे रुप भनेर धेरै उडाएका पनि थिए ।

    तत्कालीन एमालेबाट शेरबहादुर तामाङ उम्मेदवार थिए । दावासँग तामाङले एक सय मतअन्तरले मात्रै चुनाव जितेका थिए । दावाले जित्दै गर्दा पनि एमालेका उम्मेदवार तामाङले जसले जिते पनि यो पटक ‘सामन्तवाद’को अवशेषका रुपमा रहेका राणालाई हराउँदा आफू खुसी भएको प्रतिक्रिया दिएका थिए ।

    ०००

    माओवादी विभाजन भएपछि वैद्य समूहमा लागेका तामाङ पछि रामबहादुर थापा सहितका नेताहरु पुन प्रचण्ड नेतृत्वको माओवादीमा फर्केर एकीकरण भएपछि तामाङसहितको सिन्धुपाल्चोकका तत्कालीन माओवादीको एउटा समूह थापासँग निकट थिए ।

    २०६४ मा पशुपतिशम्शेर राणालाई हराएर पार्टीभित्र प्रशंसा कमाएका तामाङलाई २०७० को चुनावमा भने उम्मेदवार नबनाएपछि उनी नेतृत्वसँग त्यतिबेलादेखि नै चिढिएका थिए । विशेषत सिन्धुपाल्चोकमा सापकोटा परिवारसँग टसल गर्दे आएका तामाङलाई २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभा २ ‘ख’को उम्मेदवार भएका थिए ।

    प्रदेश सभा निर्वाचनमा दुई पार्टी मिल्दा समेत उनी कांग्रेसका निमा लामासँग पराजित भएका थिए । आफूलाई त्यतिबेला अन्तर्घात गराएर नेतृत्वले नै हराएको आरोप तामाङले लगाउँदै आएका थिए । तत्कालीन एमाओवादीका जिल्ला अध्यक्ष रहेका तामाङ दुई पार्टी एकीकरण भएपछि केन्द्रीय सदस्य भएका थिए भने नेकपा सिन्धुपाल्चोकका सचिव समेत रहँदै आएका छन् ।

    ०००

    तामाङले युद्धकालमा नै मकवानपुरकी माओवादी नेतृ कुमारी मोक्तानसँग जनवादी विवाह गरेका थिए । तामाङ पनि पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन् भने अहिले वागमती प्रदेशको सदस्य रहेकी छन् ।

    नेकपा औपचारिक रुपमा विभाजन भएपछि केन्द्रीय सदस्य भए पनि कतै नखुलेका तामाङले रामबहादुर थापा जता लाग्छन् त्यतै लाग्ने बताउँदै आएका थिए । थापा केही दिन अघि मात्रै केपी ओलीको नेकपामा लागेपछि तामाङ पनि थापाकै पक्षमा लागेका थिए । शुक्रबार बिहान मात्रै गृहमन्त्री समेत रहेका थापासँग सिन्धुपाल्चोकका नेकपाका नेताहरुसहित भेटघाट गरेका तामाङलाई त्यही दिन नै मन्त्री बनाइएको थियो ।

    २०७४ सालको निर्वाचनमा नेकपाले राजनीति परिवर्तन पछि जनताको आर्थिक परिवर्तन र राजनीतिक स्थायित्वको मुद्दा लिएर जनतामा जाँदा दुई तिहाइको बहुमत आएको हो । तर अहिले नेकपाका नेताहरुले जनअपेक्षा भन्दा पनि कुर्सी मोहमा लागेर नेकपा विभाजन गरेपछि आफूहरु पुनः जनताकै पक्षमा जान लागेको तामाङको भनाइ छ ।

    अहिलेको सरकार छिटोभन्दा छिटो निर्वाचन गराउने रहेको उनले बताए ।

    ०००

    राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीलाई छिटोभन्दा छिटो राजधानी ल्याउने विषयमा आफू पहिलादेखि नै लागेको र अहिले आफू विभागीय मन्त्री नभए पनि जिल्लावासी र आफ्नै क्षेत्रको आयोजना भएकाले विभागीय मन्त्रीसँग छलफल गरेर मेलम्चीको पानी छिटोभन्दा छिटो राजधानी ल्याउनका लागि आफू लाग्ने मन्त्री तामाङले बताए ।

    अन्य जिल्लाको तुलनामा सिन्धुपाल्चोकमा प्रचण्ड–माधव पक्ष नै बलियो रहेको छ । तत्कालीन एमालेमा ओली पक्ष कमजोर थियो भने अहिले पनि केपी ओलीले नेतृत्व गरेको नेकपामा तत्कालीन एमालेको ओली पक्षका नेता कार्यकर्ताहरु मात्रै लागेका छन् ।

    दावा तामाङसहित तत्कालीन माओवादीका नेताहरुको ओली समूहको नेकपामा ‘इन्ट्री’ले केही प्रभाव पारे पनि अधिकांश स्थानीय तहमा अहिले पनि प्रचण्ड–माधव समूहकै वर्चस्व रहेकाले भविष्यमा को कसरी अघि बढ्छ त्यो भने प्रतीक्षाको विषय नै छ ।