Tag: दसैँ अर्थतन्त्र

  • दसैँमा ओइरिन्छ अर्बौं रेमिट्यान्स, सकिन्छ उपभोगमै

    दसैँमा ओइरिन्छ अर्बौं रेमिट्यान्स, सकिन्छ उपभोगमै

    काठमाडौं । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण नेपालको अर्थतन्त्रको मुख्य विशेषता बन्दै आएको छ । नेपालका अधिकांश नेपालीको आम्दानी तथा जीवनस्तर उकास्ने मुख्य स्रोत नै विप्रेषण बन्दै आएको तथ्याङ्कमार्फत देख्न सकिन्छ ।

    सर्वसाधरणको मात्रै नभइ राष्ट्रियस्तरमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोतका रुपमा यसलाई लिने गरेको छ । नेपालको बढ्दो परनिर्भरता धान्नका लागि विप्रेषण एक महत्वपूर्ण स्रोत मानिएको छ । यसैगरी विप्रेषण मार्फत आउने रकमले बैंक तथा वित्तीय संस्थाको तरलता बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।

    सरकारले विप्रेषणमार्फत माग हुँदा आयात हुने वस्तुमार्फत राजस्व प्राप्त गर्ने गरेको छ । अर्थात विप्रेषण नेपाली र नेपाल राष्ट्रको आम्दानीको मुख्य धमनी हो भन्न सकिन्छ ।

    यसैगरी चाडपर्वको समयमा समेत नेपालीको गर्जो टार्ने मुख्य स्रोत रेमिट्यान्स नै हो । नेपालमा रोजगारी नपाएर विदेशिनुको पीडा छुट्टै भए पनि आफ्ना परिवारजनका लागि दसैँको समयमा अन्य समयमा भन्दा बढी रेमिट्यान्स  पठाउने गरेका छन् । कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, बराईन, साउदी अरवियालगायतका खाडी, मध्यपूर्वी एसियली मुलुक तथा जपान, अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकहरु नेपालमा रेमिट्यान्स प्राप्त गर्ने प्रमुख राष्ट्रहरु हुन् । यसैगरी भारत पनि नेपालमा रेमिट्यान्स पठाउने मुलुक सूचीहरुको अग्रस्थानमा नै रहने गरेको छ ।

    दसैँमा आउने गरेको रेमिट्यान्स सबै उपभोगमा नै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारीसधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्समार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ ।

    कामको खोजीमा गएकाहरू भारतबाट रेमिट्यान्स लिएर दसैँमा फर्किने गरेका छन् । तराईका जिल्ला तथा पश्चिम नेपालमा भारतबाट आम्दानी गर्ने नेपालीहरुको संख्या उच्च रहेको बताइन्छ । यसरी विभिन्न मुलुकमा रहेका नेपालीहरूले विप्रेषण पठाएपछिमात्रै अधिकांशलाई दसैँ आउने गरेको छ ।

    दसैँको समयमा भित्रिन्छ सबैभन्दा बढी विप्रेषण

    गत वर्षको दसैँमामात्रै नेपालमा ७८ अर्ब ५० करोड विप्रेषण भित्रिएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब २७ करोड रूपैयाँ भित्रिएको देखिन्छ । चालु आर्थिक वर्षमा ८० देखि ९० अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने अनुमान छ ।

    यसैगरी नेपालमा असोज-कार्तिक महिनाको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । यो बेला दसैँ, तिहार तथा छडलगायतका चाडपर्वहरू पर्ने भएकाले विप्रेषणमार्फत बढी रकम आउने गरेको छ ।

    राष्ट्र बैंक तथ्यांकअनुसार गत वर्ष असोज र कात्तिकमा १ खर्ब ५१ अर्ब विप्रेषण भित्रिएको थियो । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ३६ अर्ब ३१ करोड रेमिट्यान्स यही अवधिमा भित्रिएको छ ।

    अर्थ सरोकारवालाका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।

    चालु आर्थिक वर्षको पहिलो महिना साउन ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स आइसकेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड भित्रिएको देखिन्छ ।

    आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ८ खर्ब ७९ अर्ब भित्रिएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ रूपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ । यसैगरी कोभिड १९ महामारीका बाबजुद पनि गत आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।

    यसैगरी विदेशमा हुने नेपालीले बन्दाबन्दीका समयमा आफन्तहरूलाई बढी पैसा पठाएकाले विप्रेषण बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कोरोनाले गन्तव्य मुलुकहरुमा विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या घट्न थालेपछि विप्रेषण घट्ने हो कि भन्ने चिन्ता नीति निर्माताहरूलाई पर्न थालेको छ ।

    सबै उपभोगमा नै खर्च

    दसैँमा आउने गरेको रेमिट्यान्स सबै उपभोगमा नै खर्च हुने गरेको छ । मासु, लत्ता कपडा, मरमसला, दक्षिणा, ग्याजेट, सवारीसधान तथा गरगहनाको खरिदमा नै रेमिट्यान्स बढी खर्च हुन्छ । रेमिट्यान्समार्फत आउने रकम उपभोग धान्न समेत अपुग भइरहेको छ । गत वर्ष नेपालको १५ खर्ब ३९ अर्बको वस्तु आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब बराबरको आयात भएको थियो । निर्यात करिब १ खर्बको हाराहारीमामात्रै गरेकाले आयात धान्न विप्रेषणका अलावा सार्वजनिक ऋणको समेत उपयोग भइरहेको छ ।

    पछिल्ला दसैँमा औसतरूपमा विप्रेषण ७५ अर्ब भित्रिए पनि आयात भने १ खर्बभन्दा बढी हुने गरेको छ । यसबाट दसैँमा आउने रेमिट्यान्स वस्तु खरिदमार्फत बाहिरिने गरेको सोझै अनुमान गर्न सकिन्छ ।

    उपभोग कटौती गरेर लगानी गर्न आग्रह

    दसैंमा भड्किलो हिसाबले खर्च नगर्न विज्ञहरूको सुझाव छ । चाडबाडमा अनावश्यक खर्च कटौती गरेर उत्पादनशील क्षेत्रमा लगानी बढाए आम्दानी थपिने उनीहरू बताउँछन् ।

    अर्थ सरोकारवालाका अनुसार कम जोखिम भएका र बढी प्रतिफल दिन सक्ने सेयर, म्युचल फण्ड, बढी ब्याज प्राप्त हुने बैंकको मुद्दतीमा रकम जम्मा गर्ने गरी लाभ प्राप्त गर्न सकिन्छ । यति बेला नेपालको सेयर बजारमा लाभांश वितरणको समय भएकाले बुझेर लगानी गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले रेमिट्यान्समार्फत प्राप्त हुने बचतमा १ प्रतिशत बढी ब्याजदर दिइरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विप्रेषणबाट प्राप्त हुने निक्षेपलाई राष्ट्र निर्माणमा लगाउने उद्देश्यले उक्त नीति ल्याएको हो ।

    यसैगरी अनावश्यक खर्च गर्नुको सट्टा रकम जम्मा गरेर सुनचाँदीलगायतमा लगानी गर्न सकिने बताइन्छ । दीगो लगानीको भरपर्दो माध्यम मानिने सुनचाँदी बजारमा हुने मूल्यवृद्धि समायोजन गर्ने सर्वप्रिय द्रब्य हो ।

  • जुत्तादेखि मासुसम्म : यी हुन् दसैंमा सर्वाधिक खपत हुने १० वस्तु

    जुत्तादेखि मासुसम्म : यी हुन् दसैंमा सर्वाधिक खपत हुने १० वस्तु

    काठमाडौं । दसैंतिहार चाडपर्वसँगै यो बेला घरघरमा खाद्यान्न, लत्ताकपडा, घरायसी सामानलगायतको बढी खपत हुन्छ । मीठो खाने र राम्रो लगाउने पर्व पनि भनेर चिनिने दसैंमा रकमको अनेक जोहो गरेर भएपनि हामी धुमधाम र रमाइलोसँग दसैं मनाउँछौं । यो बेला वस्तु तथा सेवाको उपभोग बढ्ने भएकोले ती सामाग्रीको खपत पनि धेरै हुन्छ ।

    जागिरेले दसैंमा अतिरिक्त भत्ता पाउने, रेमिटान्सको फ्लो यो बेला बढ्ने भएकोले पनि उपभोक्ताले खुलेर खर्च गर्छन् । त्यसैले दसैँलगायतका चाडबाडमा अर्थतन्त्र चलायमान हुन्छ ।

    नेपाल कृषिप्रधान देशको रूपमा परिचित छ । तर, यहाँ उत्पादन हुने कृषि तथा पशुपालनले चाडबाडको बेला मात्र नभइ  अरु बेला पनि नधानेपछि सधैंजसो बाहिरी देशकै भर पर्नुपर्छ ।

    तर, मासु, खाद्यान्न तथा लत्ताकपडाको बढी माग हुने यो बेला मुलुकले भने परनिर्भरता भोग्नुपरेको छ । आवश्यक वस्तुहरू आन्तरिक उत्पादनले नपुगेर भारत, चीनलगायतका मुलुकबाट आयात हुने गरेको छ । दसैँमा विशेष गरी मासुका लागि खसी, बोका, च्याङ्ग्रा र राँगाको बढी खपत हुन्छ । यसको साथै धेरै माग हुने लत्ताकपडा, मोवाइल फोन तथा ग्याजेट्स, सवारीसाधन, अबिर र गरगहनाजस्ता वस्तुमा पनि बाहिरी मुलुककै भर पर्नुपर्ने बाध्यता छ ।

    मासु

    दसैँको समयमा सबैभन्दा बढी मासुको खपत हुने गरेको छ । मासुका विभिन्न परिकार बनाएर खान प्रचलन रहेकाले खसी, बोका, भेडा, च्याङग्रा, रांगा, कुखुराको मासु सबैभन्दा बढी उपभोग हुने गरेको छ । दसैँमा काठमाडौं उपत्यकामा करिब ३५ लाख मानिस बसोबास गर्छन् । यो बेला २५ लाखभन्दा बढी उपत्यका छाड्ने गरेका छन् ।

    काठमाडौं उपत्यकाभन्दा बाहिर ३० लाख हराहारीमा खसीबोकाको खपत हुने गरेको छ । काठमाडौं उपत्यकामा करिब ३५ लाख हाराहारीमा खसी-बोका काटिने गरेको छ । खसीबोकाबाहेक उपत्यकामा कुखुरा नौ लाख, राँगा १५ लाख केजी आवश्यक पर्छ । उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिकटन मासु आवश्यक पर्ने सकारी तथ्यांक रहेको छ ।

    व्यापारीले उपत्यकामा तराईका जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउँने गर्छन् ।

    लत्ताकपडा तथा जुत्ता

    टीकाको दिन नयाँ लुगा लगाई मान्यजनबाट टीका जमरा तथा आशीर्वाद ग्रहण गर्ने लागि नयाँ लुगा लगाउने प्रचलन छ । बजारमा उपलब्ध नयाँ फेसन तथा व्यक्तिका रुचिअनुसारका नयाँ कपडाहरु खरिद गर्ने प्रचलन रहेको छ । नेपालमा करिब ५ खर्बको बराबरको कपडा आयात हुने गरेको भन्सारको तथ्यांकले देखाउँछ । त्यसमध्ये दसैँमामात्रै १ खर्बभन्दा बढी खपत हुन्छ । नेपालमा खपत हुने अधिकांश लत्ताकपडा चीन, भारत, बंगलादेशलगायतका तेस्रो मुलुकबाट आयात हुने गरेको छ । त्यस्तै जुत्ताचप्पलमा पनि विदेशी डिजाइनको आकर्षण बढ्दो छ ।

    मोबाइल तथा ग्याजेट

    दसैँमा नयाँ सामान जोड्ने लहरका बीच विभिन्न ब्राण्डका मोबाइलको माग पनि उत्तिकै हुने गरेको छ । गत आर्थिक वर्षमा करिब ३६ अर्ब ९० करोड रुपैयाँको मोबाइल आयात भएको थियो । दसैँमामात्र १५ अर्बको मोबाइल बिक्री भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सामसुङ, एप्पल, हुवावे, ओप्पो, साउमी, रेडमी, नोकिया ब्राण्डका फरक मोडलका स्मार्ट फोनहरू यो बेला बढी बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।

    सवारीसाधन

    दुई तथा चार पाङ्ग्रे सवारीसाधन जोड्नेलाई पनि दसैँ उपयुक्त अवसर हो । यो बेला छुटलगायतका केही स्किमहरूसमेत हुने भएकाले पछिल्लो समय सवारीसाधनप्रतिको आवश्यकता र आकर्षणसँगै यसको माग बढेको छ ।

    ३० लाखदेखि १ करोडसम्म मूल्य भएका विभिन्न कम्पनीका कारहरूको माग बढी हुने गरेको छ । पछिल्लो समयमा विद्युतीय सवारीसाधनको माग पनि बढ्दोछ । टाटा, हुण्डाइ, सुजुकी, टोयोटालगायतका कम्पनीको कारहरू दसैँमा बढी बिक्री हुन्छन् ।

    मोटरबाइक तथा स्कुटरहरू खरिद पनि यो बेला बढ्ने गरेको छ । हिरो, होण्डा, यमाहा, बजाजको पल्सर, आपची, भेष्पा, केटीएम डुकलगायतका बाइक ग्राहकको रोजाइमा छन् ।

    दसैँमा सवारीसाधानको माग ७० प्रतिशतले बढेको छ । वार्षिकरूपमा अटोपार्टसहित करिब ३ खर्बको सवारीसधान आयात हुने गरेको अटोमोवाइल एसोसियनका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । जसमध्ये करिब १ खर्बको कारोबार भने दसैँमा हुन्छ ।

    त्यसमध्ये पनि करिब ८० प्रतिशत मोटरबाइक बिक्री हुने गरेको छ ।

    गरगहना

    लगानीमा तुलनात्मरूपमा सुरक्षित र भरपर्दो मानिएको सुनचाँदी पनि चाडपर्वको बेला खरिद गर्नेको संख्या बढेको छ । यतिखेर सहर तथा ग्रामीण बजारका गरगहना पसहरूमा भीडभाड हुने गर्छ ।

    सरकारले सुनलाई विलासीको वस्तुको रूपमा राखी आयातको लागि दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको छ । दसैँको समयमा भने २०-३० केजी सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार दसैँको समयमा २७/२८ करोडको सुनचाँदी कारोबार हुने गरेको छ ।

    पेयपदार्थ

    दसैँमा कोक, फेण्टा, स्प्राइटलागायतका चिसो पेय पदार्थको वार्षिक खपतमध्ये करिब ४० प्रतिशत दसैँमा बिक्री हुने गरेको छ । यसैगरी नेपालमा दसैँको समयमा विभिन्न ब्राण्डका रक्सी तथा वियरको खपत पनि बढी नै हुने गरेको छ । विभिन्न ब्राण्ड ह्विस्की, वाइन, भोट्का, बियरलगायतका मदिराजन्य पदार्थको बिक्री पनि यो बेला बढी हुन्छ ।

    मिठाई तथा फलफूल

    दसैँको समयमा मिठाई तथा फलफूलको माग पनि उच्च छ । विषेशगरी साकाहारीको रोजाइमा बढी पर्छन् यी चिज । विभिन्न प्रकारका लड्डु, मिठाई, रसबरी, दूधमलाईलगायतका मिठाईजन्य परिकारको बिक्री दसैँमा बढी हुने गरेको छ । मिठाई पसलमा ग्राहकको भीडभाड बढेको पाइन्छ । यसैगरी दसैँको समयमा स्याउ, सुन्तला, मौसम, किबि, स्टार फ्रुटलगायतका फलफूलहरू उपभोग बढी हुन्छ ।

    अबिर

    दसैँको टीकामा अबिरको प्रयोग हुने भएकोले यसको माग पनि ह्वात्तै बढ्छ । नेपालमा हिन्दू धर्मावलम्वीको बाहुल्यता भएकोले वर्षैभरी अबिरको माग भइ नै रहन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मै टीका/अक्षतामा रातो रंगको बढी प्रयोग हुने भएकाले अबिरको खपत बढी हुन्छ । नेपालमा प्रयोग हुने अबिरमध्ये भारतबाट आयात हुन्छ ।

    चामल, खानेतेल तथा चिनी

    दसैँको समयमा खानेतेलको खपत पनि बढ्दो हुन्छ । पछिल्लो समय खानेतेलको मूल्य करिब ७० प्रतिशतले बढेको छ । यसैगरी चिनीको खपत पनि दसैँको समयमा अन्य समय भन्दा बढी हुने गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यपार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रमार्फत ग्राहकका लागि सुपथ मूल्यमा यी सामग्री पुर्‍याउने व्यवस्थासमेत मिलाएको छ ।

    यसैगरी लङ्ग ग्रेन तथा वास्मती धानको चामलको खपत समेत बढ्ने गरेको छ । कच्चा पदार्थ आयात गरेर खानेतेल नेपालमा नै उत्पादन गरिन्छ । तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, वनस्पति घ्यूलगायत तेलजन्य पदार्थको उपयोग बढी हुने गरेको छ । नेपाल तेलजन्य पदार्थहरु कञ्चा पदार्थ आयात गरेर उत्पादन गर्ने गरिन्छ । साथै तेलमै पनि नेपाल परनिर्भर छ ।

    भारतबाट वार्षिक ५० अर्बको चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार दसैँमामात्र करिब ५ अर्बको चामल आयात हुन्छ । त्यस्तै वार्षिकरूपमा २५० मेट्रिकटन चिनी खपत हुने गरेकोमा दसैँतिहारलगायतका चाडमा ५० मेट्रिकटन चिनी खपत हुने गरेको छ ।

    मर-मसला

    मासु, पनिर लगायतका परिकारलाई मिठो र बास्नादार बनाउन मरमसलाको प्रयोग पनि उत्तिकै हुन्छ । अदुवा, लसुन, प्याज, जीरा, मरिच, खुर्सानी, बाह्र मसला, सुकुमेल, मिटमसलालगायतका मरमसला दसैँमा धेरै खपत हुने गरेको छ । अदुवा नेपालको आन्तरिक उत्पादनले नै धान्ने भए पनि अन्य वस्तु भारतलगायतका मुलुकबाट आयात हुँदै आएको छ ।