Tag: दशैँ

  • दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

    दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

    दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

    वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गएर नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

    काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

    नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

  • २०७८ मा तीन दशैँ, वडादशैँ असोजमा

    २०७८ मा तीन दशैँ, वडादशैँ असोजमा

    काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

    यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ ।

    असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

    चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उनले जानकारी दिए । रासस