Tag: दलित

  • दाङमा ३० जना दलितले थर फेरेर नागरिकता लिए

    दाङमा ३० जना दलितले थर फेरेर नागरिकता लिए

    दाङ । यहाँका ३० जना दलित समुदायका व्यक्तिहरूले आफ्नो थर परिवर्तन गरेर नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले वडाको सिफारिस लिएर आउने ३० जनालाई नागरिकता दिएको हो ।

    दलित आयोगले देशभरका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयबाट थर परिवर्तन गरेर दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार दाङको घोराही, तुलसीपुरसहित १० स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दाङबाट पछिल्लो एक महिनामा ३० जनाले नागरिकता लिएका हुन् ।

    दाङमा रामबहादुर कुरुम्बाङ प्रजिअको रूपमा आएपछि उनको कार्यकालमा धेरै थर संसोधन गरेर नागरिकता लिनेक्रम बढेको छ । जातीय विभेद हटाउनुका साथै भविष्यमा आरक्षण कोटा हटाउन सहयोग पुर्‍याउन थर परिवर्तन गरेर आउनेलाई नागरिकता दिइएको दाङ प्रशासनले जनाएको छ ।

    दलित समुदायका व्यक्तिहरूले थर परिवर्तन गरेर नागरिकतामा बस्याल, गौतम, अधिकारी लेखाएका छन् ।

  • दलित सेलेब्रिटीका डेरा अनुभव : कतै सत्कार, कतै तिरस्कार

    दलित सेलेब्रिटीका डेरा अनुभव : कतै सत्कार, कतै तिरस्कार

    काठमाडौं । जातीय छुवाछुतलाई कानूनले बर्जित गरेको धेरै भइसक्यो । तर, समाजका यसमा अवशेषहरु बाँकी छन् । देशकै राजधानीमा दलितहरुले कोठा पाउन सास्ति झेल्नुपर्ने अवस्थाको अन्त्य भएको छैन ।

    सञ्चारकर्मी रुपा सुनारले एक घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दिएपपछि यो विषय अहिले बहसमा छ । अझै पनि समाजले आफूहरुलाई मानिसको रूपमा अंगाल्न नसकेको गुनासो दलित समूदायका व्यक्तिहरुले गरेका छन् । सामाजिक सञ्जालमा जातीय छुवाछुतको विषयमा राम्रै बहस चलिहरेको छ ।

    यद्यपि, जातका कारण कोठा नपाएका घटनाहरू यसअघि पनि सार्वजनिक हुँदै आएका थिए । कतिपय कर्मचारी प्रशासन र राजनीतिमा नाम चलेका व्यक्तिहरुदेखि लोकप्रिय कलाकारहरुसम्मले यो समस्या भोगेका छन् । कोठा पाइसकेपश्चात पनि आफूहरुलाई फरक व्यवहार हुने गरेको उनीहरुको भोगाइ छ । त्यही भएर कतिपयले जात लुकाएर पनि बसिरहेको पाइन्छ ।

    यहाँ हामी केही दलित समुदायका कलाकारहरूको अनुभव प्रस्तुत गर्दैछौं । उनीहरुले काठमाडौंमा कोठा पाउन र बस्न कति समस्या भोग्नुपर्‍यो त ? उनीहरूकै शब्दमाः

    जात थाहा पाएपछि कोठा छोड्नुपर्‍यो

    पूर्णकला विसी गायिका

    म आफ्नो जातकै कारण कोठा नपाएपछि पूर्णकला विकबाट पूर्णकला विसी लेख्न थालेकी हुँ । पहिले अनामनगरमा एकजना नेवारको घरमा बस्थेँ । हामीलाई घरबेटीले पानी भर्दा पनि धारा नछुनु है भन्थे । हामीले धारा छोयो भने छोरी काम्छिन् पनि भने ।

    एकदिन घरबेटीको छोरी अफिसबाट फर्केदै थिइन् । मेरो दिदीले धारामा पानी चलाइराख्नुभएको थियो । उनी गेटमै बङ्लङ्गै लडिन् । के भयो भनेको त कामीले धारा छोएर यस्तो भएको रे । हामी दिदी, भिनाजु, दिदीको छोरा ४ जना कोठामा बस्थ्यौ । भिनाजु प्रहरी हुनुहुन्थ्यो । प्रहरीको ठूलो ओहोदामा भएपछि त जातपात केही हुँदैन नि त । ठूलो पहुँचमा भएपछि त जात हेर्दैनन् । त्यही भएर यिनीहरु पनि ठूलै जात होलान् भन्ने सोचेर उनीहरुले हामीलाई कोठा दिए ।

    पछि तपाईहरुको थर के हो भनेर सोधे । हामीले ‘कामी हौं’ भनेर भन्यौ । त्यसपछि हामीले कोठा छाड्नुपर्ने भयो । त्यसैको कारणले हो मैले मेरो थर नै परिवर्तन गर्नुपर्यो । म आफ्नो जातमा एकदमै गर्व गर्ने मान्छे हो । तर त्यही कारणले गर्दा थर फेरेको हुँ ।

    मैले एउटा एल्बम निकालेको थिएँ । गीत चल्न थालेपछि पुर्णकला विसीकै रुपमा चिनिएँ । थर फेरेपछि भने जातको कारणले कोठा नपाएको अवस्था छैन । अरु खाले विभेद पनि भोग्नु परेको छैन । त्यसपछि एकजना मुसलमानको घरमा बसेको हो । त्यहाँ जातभातको कुरा हुँदैनथ्यो । अहिले बाहुनकै घरमा बस्छु । तर घरबेटी यहाँ हुनुहुन्न ।

    कतै सहृदयी व्यवहार, कतै हेलाहोचो

    प्रकाश सपूत

    काठमाडौं आइसकेपछि मैले पनि जातकै कारणको कोठा नपाएको थुप्रै घटनाहरु भोगेँ । को कस्तो समाजमा हुर्केको छ भन्ने यसले देखाउँछ ।

    म बल्खुमा एक जना नेवारको घरमा बस्दा मेरी छोरी पनि त्यहीँ जन्मिइन् । उहाँहरुले एकदमै सर्पोट गर्नुभयो । तल–माथि आउने–जाने सँगै खाने-बस्ने भयो ।

    यता सामाखुसीमा एक जना नेवारकै घरमा बस्दा उहाँले हामीलाई पानी लगाउन दिनुहुन्थेन । छुट्टै धारा बनाइएको थियो । यस्तो खालको अप्ठयारो त धेरै ठाउँमा भोगेको छु ।

    अहिले त म आफ्नै घरमा बसेको छु । तर पनि अनौपचारिक रुपमा दलित समुदायका साथीहरुले कोठाभाडामा बस्दाको अप्ठेराहरु सुनाइरहेका हुन्छन् । कोठामै बसे पनि कतिपय ठाउँमा आत्मियता नहुने, माथिल्लो तलामा बस्न नपाउने, धारा छुट्टै बनाइदिने, त्यस्ता खालको गुनासो सुनिरहनुपरेको छ ।

    सुकुम्वासी बस्तीमा जातपातको समस्या भएन

    यसकुमार , गायक

    मैले जातकै कारणले कोठा नपाएको अनुभव भोग्न परेन । म त एउटा सुकुम्बासी न थिएँ । आएर पंशीघाटको सुकुम्बासी बस्तीमा बसेँ । त्यहाँ जातपातको कुरा आएन । किनभने त्यो त आफनो घरजस्तै भयो नि त । सरकारको जग्गामा छाप्रो बनाएर बसेपछि कसैले हेप्ने कुरा भएन ।

    पछि आफ्नै घर बनाएर सरेँ । त्यही भएर मैले जातकै कारण कोठा नपाएको तितो अनुभव भोग्न परेन । फेरि मैले त पहिलेदेखि नै जातको विषयमा बोल्दै आइरहेको छु । एउटा स्कुलिङ र संस्कारमा हुर्किएको एउटा वर्गमा अझै पनि त्यो विचार छ । जातपातका कुराहरु छन् । मान्छेले पहिलादेखि नै गर्दै आइरहेको बानी हो ।

    ४ वर्षसम्म थर ढाँटेर कोठामा बसेँ

    बाबुकृष्ण परियार, गायक

    मैले जातको कारण काठमाडौंमा कोठा खोज्ने क्रममा एकदमै दुख पाएँ । सुरुमा एक महिना त मैले कोठा नै पाइनँ । त्यतिबेला म दोहोरी साँझमा काम गर्थेँ । एक महिना कोठा नपाएपछि दोहोरी साँझमै बसे । १२ बजेसम्मै दोहोरी हुन्थ्यो । अरु गइसकेपछि म चाहिँ त्यहीँ सुत्थेँ । त्यहाँ सुत्नु मेरो रहर होइन, बाध्यता थियो ।

    मैले सँधै त्यहाँ बसेर पनि हुँदैनथ्यो । जातकै कारणले काठमाडौंमा बस्न गाह्रो भयो । कति प्रयास गर्दा पनि कोठा नपाएपछि मैले आफ्नो जात लुकाएँ । लगभग ४ वर्ष मैले थर ढाँटेरै कोठामा बसेँ । ढाटेरै बस्नुपर्ने मेरो बाध्यता बन्यो । कोठा खोज्न जाँदा पहिल्यै जात सोध्नुहुन्थ्यो । मैले आप्mनो जात भनिदिन्थे । घरधनीले तुरुन्तै ‘दिन्न’ भन्नुहुन्थ्यो । तर म कहिले पनि मुखमुखै लागिनँ ।

    विस्तारै गीत–संगीतले पनि चिनाउँदै लग्यो । त्यसपछि चाहिँ मलाई ढाँट्नुपरेको छैन । मलाई जातको विषयमा के लाग्छ भने मान्छेको सोचविचार हो । मान्छेको सोच–विचार बदल्न कसैले पनि सक्दैन । जसको घर उसको खुसी हो । आप्mनो घरमा आप्mनो अधिकारले मान्छे राख्न पाउँछ भन्ने मलाई महसुस भयो ।

    मैले मात्रै रुम पाएँ भनेर खुसी हुनुपर्ने अवस्था पनि देख्दिनँ । मजस्ता हजारौं हुनुहुन्छ काठमाडौंमा कोठा नपाएको । उपत्यकामा छुवाछुतका कारण धेरै हेपिएका छौ ।

    म बसेको ठाउँमा कसैले जात सोधेका छैनन्

    दिपाशा विसी, मोडल

    मैले जातकै कारण कोठा नपाउने समस्या भोग्नु परेन । म बसेको ठाउँमा दिदीहरु बस्नुहुन्थ्यो । त्यतिबेला कोठा खोज्दा दिदीहरुले नै कुरा गर्नुहुन्थ्यो घरबेटीसँग ।

    म बसेको ठाउँमा तपाई के जातको भनेर कसैले सोधेको छैन । कोठामा बसिसकेपछि चाहिँ ए यो यस्तो रहेछ भन्ने खालको सोचाइ हुन्छ । तर त्यही कारण भेदभाव भने ममाथि भएको छैन ।

    विभेद सबै ठाउँमा छैन, सकारात्मक प्रचार पनि गरौं

    देवेन्द्र बब्लु (रंगकर्मी, गायक)

    काठमाडौं आएदेखि नै मेरो सगंत फरक–फरक जातका साथिहरुसँग भयो । कहिले पनि त्यस्तो विभेद फिल भएन । मनमा के हुन्थ्यो थाहा छैन, तर व्यवहारमा मलाई सँधै राम्रो नै भयो । म कोठा खोज्न जाँदा जात सोधे पनि त्यस्तो खास अफ्ठेरो परेको अनुभव छेन ।

    यो विषयमा हामी आफुलाई कसरी प्रचार गर्छौं भन्नेमा पनि भर पर्छ । सँधै विभेद भयो भनेर कराउनुभन्दा पनि कतिपय सकारात्मक कुराहरु पनि प्रचार गर्नुपर्छ जस्तो लाग्छ । म अहिले पनि भाडाकै कोठामा बसिराछु । यहाँको घरबेटी के जातका हुन् मलाई थाहा छैन । सायद म के हो भन्ने पनि उहाँलाई थाहा छैन । सबै कुरा ठिक छ, केही समस्या छैन ।

    विभेद सबै ठाउँमा छैन भन्ने कुरा पनि प्रचार गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हामी सँधै तल भयौं, सँधै विभेद भयो भन्ने मात्र होईन । केही हदसम्म मान्छेमा परिवर्तन आइरहेको छ भन्ने लाग्छ । विशेषगरी नयाँ पुस्तामा ।

    हामी आफु क्षमतावान र सक्षम भयौं भने केही कुराले अवसरलाई छैक्दैन जस्तो लाग्छ । अबका नयाँ पुस्तालाई कस्तो देखाउने र के बुझाउने हाम्रो जिमेवारी हो ।

  • घरबहाल प्रकरणमा तर्कवितर्कः तिमीले कोठा पाएनौं, हामीले कोटा पाएनौं !

    घरबहाल प्रकरणमा तर्कवितर्कः तिमीले कोठा पाएनौं, हामीले कोटा पाएनौं !

    काठमाडौं । दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा दिन अस्वीकार गर्ने घरबेटीलाई प्रहरीले पक्राउ गरेसँगै सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ । देशकै राजधानीमा जातका आधारमा विभेद हुनु लाजमर्दो भएको टिप्पणी धेरैले गरेका छन् ।

    यद्यपि, योभन्दा फरक मत राख्नेहरुको पनि कमी छैन । कानूनले वर्जित गरेको जातीय छुवाछुत गलत भए पनि कोठा भाडामा नदिएकै आधारमा घरबेटी पक्राउ पर्नु चाहिँ अर्को अतिवाद भएको एकथरिको बुझाइ छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो सम्पत्तिमाथिको अधिकार सुनिश्चित गरेकाले आफ्नो घर भाडामा दिने-नदिने घरबेटीको निजी विषय भएको उनीहरूले तर्क गरिरहेका छन् ।

    घरबहाल सम्बन्धी बहसमा सहभागी हुँदै वरिष्ठ पत्रकार नारायण वाग्ले लेख्छन्, ‘थर सोधेर भाडामा बस्न नदिने घरबेटीका विभेदजन्य व्यवहार भुक्तभोगी दलित युवाका अनुभव सुनेपछि आज लाग्दैछ, नेपाली समाज कति बलियो आन्दोलनको पर्खाइमा छ ।’

    वाग्लेको ट्वीटमा प्रतिक्रिया जनाउँदै दुर्गा थापाले लेखेका छन्, ‘छोइछिटो र विभेद गर्ने दानवताविरुद्ध हत्यारा अपराधीलाई जस्तै कडा कानूनी व्यवस्था नभएसम्म समाजमा विभेदको श्रृंखला रोकिँदैन ।’

    सुमन न्यौपानेले समस्या समाधानको यस्तो उपाय सुझाएका छन् – ‘बहालका घरहरू मार्केट सिस्टममा राख्ने, मार्केटले मात्र फेयर वितरण गर्छ । बिना कुनै विभेद, सेयर बजारमा जस्तै । पूँजीवादले पैसा तिर्ने र नतिर्नेलाई बाहेक अन्य केही विभेद गर्दैन । अर्थ आर्जनको बाटो बनाउँदा पनि समाधान छ । तर, पूँजीवादलाई नै गाली गर्छन् ।’

    वाग्लेले केही नकारात्मक प्रतिक्रियाको पनि सामना गर्नुपरेको छ ।

    चित्रविचित्र ट्विटर ह्याण्डबाट लेखिएको छ, ‘तिमी पैसाको लागि आन्दोलन गर या समाजमा जातिय द्वन्द्व चलाएर समाज तहसनहस पार तर, मेरो घरमा कसलाई भाडामा बस्न दिने कसलाई नदिने म आफैंले निर्धारण गर्ने हो, तिमीलाई बाल मतलब ?’

    कुमार आचार्य लेख्छन्, ‘तिम्रा आन्दोलनले केही फार्दैन ! आफ्नो घर, आफ्नो हक ! केको आन्दोलन ? आफ्नो घरमा बाहुन-क्षेत्री-नेवारलाई कोठाभाडा दिउँन कि खाली राखुन् ?, किन टाउको दुखाई ?

    नारायण अधिकारीको प्रतिक्रिया रमाइलो छ ।

    ‘हामीले पढ्ने छेका (बिहे नभएको बाहुन केटो) बराम्चा- लाई कोठा भाडामा दिन्नथे – छोरी भगाइदिन्छ भनेर । तर हामीले उजुर गरेनौं- बरु अन्यत्र लागियो ।’

    ट्विटरमा मानवी पौडेलले ७ वटा थ्रेडमा आफ्नो विचार राखेकी छन् ।

    उनी लेख्छिन्, आमरूपमा हेर्दा बाहुन-क्षेत्रीले कुनै जात वा धर्मलाई ईंगित गरेर जातीयता र क्षेत्रीयताबारे कसैलाई प्रत्यक्ष गाली गरेको वा द्वेष राखेको देखिदैँन। तर, जातीय अवहेलनाका मुद्दा वा प्रसंग जोडिने बित्तिकै बाहुन क्षेत्रीलाई धारेहात किन लगाइन्छ ?’

    उनको ट्विटमा जैनेन्द्र जीवनले प्रतिक्रिया जनाएका छन् :

    ‘जातजातीका कुप्रथालाई पनि बाहुनबाद भनेर परिभाषित गर्ने,बाहुनको जातिबाचक यो शब्दलाइ गालीका रुपमा प्रयोग नगर भन्दा उल्टै हप्कीदप्की गर्ने कथित प्रगतिशीलको जातीय घृणा अभियान विरुद्ध बाहुनहरूले पनि यसैगरी बोल्नुपर्‍यो अब ।’

    यता फेसबुकमा पत्रकार राधिका अधिकारीले राखेको स्टाटस पनि रोचक छ । दलितले कोठा नपाउने समस्यालाई आरक्षणसँग तुलना गरेकी छन् ।

    उनी लेख्छिन्, ‘दलित भनिएकै कारण तिमीले कोठा पाएनौ । बाहुन भनिएकै कारण मैले कोटा पाइन । कस्तो विभेदकारी छ यो राज्य । आउ हात मिलाऔ अनि हटाऔ असमानता !’

    उनको स्टाटसमा मिश्रित प्रतिक्रिया छन् । खासगरी दलित समुदायका व्यक्तिहरूले उनको चर्को आलोचना गरेका छन् ।

    श्रीप्रसाद परियारको प्रतिक्रिया यस्तो छ, ‘३३ प्रतिशत महिला कोटा खाने महिलाले नै कोटाको विरोध । हेर त यति राम्री मान्छेको सोच कस्तो घिनलाग्दो’

    सीता सानुले लेखेकी छन्- ‘महिलाको ३३ प्रतिशत कोटा कस्ले पाउन्छ हजुर ? खसआर्य, पछाडि पारिएको क्षेत्रबाट कस्ले पाउन्छ ? कोटा सबैलाई छ, किन अर्काको भाग देख्नु भो ? कोटा राज्यले दिएको अधिकार हो । कोठा नपाउनु विभेद हो। कृपया मजाकमा उडाए थप पीडा नथप्नुहोला ।’

    जेबी अधिकारीले लेखेका छन्- ‘आफ्नो घरमा कोठा नदिँदा गिरफ्तार हुन्छन् तर हाम्रो गाउँमा त घरको कोठामात्रै होइन पिँढी पनि दिँदैन । खोइ त प्रहरीले गिरफ्तार गरेको ?’

  • दाहालको दाबी- म जात त्यागेको मान्छे, प्रचण्डभित्र सबै जात र लिंग छन्

    दाहालको दाबी- म जात त्यागेको मान्छे, प्रचण्डभित्र सबै जात र लिंग छन्

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कुनै जात नरहेको बताएका छन् ।

    छुवाछुतविरुद्धको दिवसका अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले प्रचण्डभित्र सबै जात मिसिएको बताए ।

    उनले भने, ‘म त जात त्यागेको मान्छे । प्रचण्ड जात होइन । प्रचण्डभित्र दलित छ, आदिवासी छ, महिला छ, मुस्लिम छ । पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र । म कम्युनिष्‍ट बनेकै दलितबाट हो ।’

    आफू बच्चैदेखि दलितको सँधियार भएर बसेको र डण्डिबियो खेल्ने साथीहरू नै दलित थिए भन्दै प्रचण्ड भन्नु नै दलित हो भने । आफूले कम्युनिष्‍ट पार्टीको सदस्यता पनि रूपलाल विश्वकर्मा र रणेन्द्र बराइलीबाट प्राप्त गरेको स्मरण समेत उनले गरे ।

    दाहालले दलितका अधिकार केपी ओलीबाट खोसिन थालेको भन्दै एकपटक फेरि लड्नुपर्ने अवस्था आएको र आफू बाँचुन्जेल लड्ने बताए ।

  • भूमि आयोगका ७७ जिल्ला अध्यक्ष, दलित ३ जना मात्रै, महिला ६ जना

    भूमि आयोगका ७७ जिल्ला अध्यक्ष, दलित ३ जना मात्रै, महिला ६ जना

    काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गर्दा ३ जिल्लाका  अध्यक्षमा मात्र दलित नियुक्त गरेको छ ।

    ५ दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको जिल्ला समितिमा धनकुटा जिल्ला समितिको अध्यक्षमा नैनकुमार विश्वकर्मा, हुम्लाको अध्यक्षमा प्रकाश बहादुर सुनार र बैतडीको अध्यक्षमा नरेश कुमार विश्वकर्मा नियुक्त गरेको हो ।

    आयोगका जिल्ला समितिमा महिला अध्यक्ष भने ६ जना नियुक्त भएका छन् । जसमा पाँचथरको अध्यक्षमा करुणा राई, पर्सामा विनादेवी शर्मा, नुवाकोटमा विन्द्रा ढुंगाना, बाँकेमा शान्तीदेवी ढकाल, नवलपरासी पश्चिममा बिमला अर्याल र कञ्चनपुरमा कमला बोहोरा अध्यक्ष नियुक्त भएका हुन् ।

    ७७ जिल्लामा अध्यक्ष बाहेक १ सय ५४ सदस्य नियुक्त गर्दा ९ जना मात्र दलित सदस्य र ३६ जना महिला सदस्य नियुक्त भएका छन् ।

    दलित तथा भूमिहिनका समस्या समाधान गर्न तत्कालिन भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालयको सिफारिसमा सरकारले गठन गरेको ५ सदस्यीय आयोगमा १ जना पनि दलित प्रतिनिधि नपरेको भन्दै बिरोध भएको थियो ।

    यसै बेला भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डां. शिवमाया तुम्वाहाफको सिफारिसमा सकारले जिल्ला समिति गठन गरेको हो ।