Tag: दक्षिण कोरिया

  • दक्षिण कोरियामा नयाँ राष्ट्रपतिले लिए सपथ

    दक्षिण कोरियामा नयाँ राष्ट्रपतिले लिए सपथ

    सीउल । युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

    आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् ।

    ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उनले प्रतिबद्धता जनाएका छन् । एजेन्सी

  • दक्षिण कोरियामा नेपाली मजदूरको तलब न्यूनतम दुई लाख रुपैयाँ

    दक्षिण कोरियामा नेपाली मजदूरको तलब न्यूनतम दुई लाख रुपैयाँ

    सोल । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदूरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।

    सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ । यो रकम झण्डै नेपाली दुई लाख रुपैयाँ बराबर हो ।

    न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।

    न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदूरका तर्फबाट प्रतिनिधित्व गर्नेले अहिलेको आठ हजार ७२० वनबाट १० हजार वन माग राखेका थिए भने व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्नेले भने आठ हजार ७२० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने तर्क गरेका थिए ।

    मजदूरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४४० वन वृद्धि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो ।

    प्रतिघण्टा ४४० वनको वृद्धि भनेको पाँच दशमलव ०४६ प्रतिशतको वृद्धि हो तर न्यूनतम ज्याला निर्धारण समितिले औपचारिक प्रयोगका लागि ५.१ प्रतिशतको वृद्धि मानेको छ । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ ।

    मजदूरका लागि महिनाको १० हजार वन पुर्‍याउने चुनावी लक्ष्य राखेका राष्ट्रपति मुनजे इन कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तैपनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन् २०१९ मा १०.९ प्रतिशत, सन् २०१९ मा २।९ प्रतिशत तथा सन् २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब वृद्धि भएको थियो ।

  • दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

    दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

    सउल । कोरोना महामारी नियन्त्रणका लागि दक्षिण कोरियाले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।

    एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेका थिए ।

    अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएका थिए ।

    उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले जानकारी दिएका थिए ।

    गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य साम्रगीले नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

  • दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    सिओल ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए। सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

    शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

    उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।

    यदि उनी संसदीय सुनुवाईबाट अनुमोदन भयो भने वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुने पनि बताइएको छ ।

    वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु पनि ५ जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ ५ जना मन्त्री राखेको बताइएको छ ।

    यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राखेको बताइएको छ ।

  • दक्षिण कोरियाद्वारा नेपालको लागि ५ हजार कामदार कोटा निर्धारण

    दक्षिण कोरियाद्वारा नेपालको लागि ५ हजार कामदार कोटा निर्धारण

    सोल । दक्षिण कोरियाले यसवर्ष नेपालको लागि पाँच हजार ४०० जना कामदारको कोटा निर्धारण गरेको छ । त्यहाँको वैदेशिक रोजगार विभाग (एचआरडी)ले उक्त कोटा निर्धारण गरेको हो ।

    सन् २०२१ मा विश्वका विभिन्न देशको लागी ५२ हजार श्रमिक लैजाने कोटा निर्धारण गरेकोमा नेपालले उक्त संख्यामा कोटा प्राप्त गरेको हो । कोरियाले १६ वटा देशको लागी कोटा छुट्याएको छ ।

    यस वर्ष परिक्षा उतिर्ण गर्नुपर्ने कति जान पाउँछन् भन्ने स्पष्ट नभएको ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुन्थ्यो, यो पटक परीक्षा उतीर्ण गर्ने भनिएकाले हामी दुबिधामा छौं ।’

    एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

    कोरियाले नेपालबाट सन् २००८ देखि परिक्षा उतीर्ण गरेकोलाई ईपीएसमार्फत कोरिया लग्दै आएको छ । कोरोनाभाइरसको महामारीका कारण कोरिया सरकारले सन् २०२० का परिक्षा सञ्चालन गरेन ।

    नेपालमा कोरियाली सरकारले कार्तिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियाली भाषा परीक्षाका विषय अहिलेसम्म टुङ्गो नलागेको ईपीएस शाखाका निर्देशक गौतमले जानकारी दिए ।

    शाखाका अनुसार ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजारभन्दा बढी नेपाली युुवा दक्षिण कोरियाको रोजगारीमा गएका थिए त्यसमध्ये हालसम्म ४० हजार युवा त्यहाँ कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ ।

     

  • नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

    नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

    काठमाडौं । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

    दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

    एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

    तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

    घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए ।

    घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए ।

  • दक्षिण कोरियाले जरुरी भिसा मात्र उपलब्ध गराउने

    दक्षिण कोरियाले जरुरी भिसा मात्र उपलब्ध गराउने

    काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली दूतावासले अत्यावश्यक बाहेकका भिसा जारी नगर्ने जनाएको छ ।

    दूतावासले विहिबार विज्ञप्ती जारी गर्दैैै कोभिड-१९ संक्रमणको अवस्थालाई ख्याल गर्दै कुटनीतिक नियोग, सरकारी कार्यक्रम र अत्यावश्यक व्यवसायिक क्रियाकलापको भिसा मात्र जारी गर्ने जनाएको छ ।

    दूतावासले अप्रिल १ तारिखभन्दा अगाडि अत्यन्त जरुरी प्रवेशाज्ञाको लागि आवेदन दिन भनेको छ । लामो समयका लागि वैवाहिक र अध्ययन भिसा भने जारी हुने भएको छ ।

    वैवाहिक बाहेक अन्य भिसा आवेदन अनलाइनबाट मात्र लिइने समेत दूतावासले जनाएको छ । भिसा आवेदनका लागि भने मार्च ३१ तारिखबाट बुकिङ सुरु हुने जनाइएको छ ।

  • नेपाल भ्रमणमा आउने नागरिकलाई दक्षिण कोरियाले जारी गर्‍यो ट्राभल एड्भाइजरी

    नेपाल भ्रमणमा आउने नागरिकलाई दक्षिण कोरियाले जारी गर्‍यो ट्राभल एड्भाइजरी

    काठमाडौं । नेपाल भ्रमण गर्न आउने आफ्ना नागरिकलाई सचेत हुन भन्दै दक्षिण कोरियाले सोमबार ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    काठमाडौंस्थित कोरियाली दुतावासले खासगरि हिमाली क्षेत्रमा पदयात्रामा आउन चाहने आफ्ना नागरिकलाई वातावरणीय, लैंगिक र कानुनीरुपमा सचेत हुनको लागि निर्देशन जारी गरेको हो ।

    हिमाली क्षेत्रमा मौसम परिवर्तन, ३ हजार मिटरमाथि पदयात्रा गर्दा हुनसक्ने बिरामी र पदयात्रा गर्दा हुनसक्ने लुटपाटबारे सचेत हुन भनिएको छ । भरिया वा गाइड लिँदा अनुमति प्राप्त ट्राभल एजेन्सीबाट लिन पनि दुतावासले भनेको छ ।

    सस्तो दरमा उपलब्ध हुने भरिया वा गाइड लिँदा लुटपाटको जोखिम हुने भएकाले त्यसतर्फ सचेत हुन भनिएको छ । महिला ट्रेकर वा भरिया भए यौनिक जोक्स र भौतिक स्पर्श नगर्न पनि सचेत गराइएको छ । नेपालमा यौन दुव्र्यहारलाई सामाजिक अपराधको रुपमा लिइने भएकाले दुतावासले त्यसो नगर्न भनेको हो ।

  • कोरियामा नेपाली मजदूरका लागि भिसा थप

    कोरियामा नेपाली मजदूरका लागि भिसा थप

    दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ ।

    विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो ।

    प्रवेशाज्ञा थप हुनेमा एफ–१ (भ्रमण तथा पारिवारिक भिसा), एफ–३ (डिपेन्डेन्ट भिसा), एच–२ (भ्रमण तथा काम गर्ने भिसा), ई–९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन् यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ । यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ ।

    अस्थायी प्रवेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्ने छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण कोरियामा करीब एक वर्षदेखि विदेशी कामदार भित्रिएका छैनन् । लामो समयदेखि विदेशी कामदार नभित्रिदा हुन गएका कामदारको अभावलाई पूर्ति गर्न पनि सो नियम ल्याइएको मन्त्रालयले बताएको छ । कोरियाले अस्थायी मौसमी कामदारको रुपमा गत वर्ष ७९ हजारको प्रवेशाज्ञा थप गर्ने तयारी गरेको छ ।

    त्यसैगरी मौसमी कामदारको रुपमा ९० दिनभन्दा धेरै प्रवेशाज्ञा प्राप्त गरेका कोरियाली मूलका विदेशी नागरिकले विभिन्न शुल्कमा छुट पाउने बताइएको छ । उनीहरूले प्रवेशाज्ञा परिवर्तन गर्न चाहेमा प्रवेशाज्ञा परिवर्तनको लागि पनि नियम खुकुलो पार्ने बताएको छ ।

    यसैगरी नेपालमा कोरियाको लागि श्रम सम्झौताको पर्खाइ गरी रोस्टरमा बसेकाको अवधि छ महिना थप हुने भएको छ । सो कुराको जानकारी कोरिया रोजगार तथा श्रम मन्त्रालयको प्रवासी श्रमिक विभागका सचिव ई ग्यांग सुनले दिएका हुन् ।

    रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी कोरिया काम गर्न जानको लागि रोजगारदाताको र छनोटमा पर्न योग्य १६ देशको प्रवासी श्रमिकलाई रोस्टरमा राखिन्छ र दुई वर्षसम्म पनि उनीहरू छनोटमा नपरे स्वतः रद्द हुन्छन् । कोरोना महामारीका कारण दुई वर्षको अवधिभित्र श्रम सम्झौता पत्र नआएर २०२० नोभेम्बेर १ देखि रोस्टर अवधि सकिएकालाई पुनः छ महिना अवधि थपिएको हो ।

  • दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

    दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

    दक्षिण कोरियाली सरकारले नयाँवर्ष २०२१ का लागि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत ५२ हजार कामदार लैजाने भएको छ । यसैसाता बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिले यस्तो निर्धारण गरेको हो ।

    यो प्रणालीमार्फत १६ देशले कोरियामा कामदार पठाउन पाउनेछन् । तर, कुन देशबाट कति कामदार लैजाने निधो भएको छैन । सन् २०२० मा ५६ हजारलाई लैजाने कोटा भएपनि अझै ३० हजार ९ सय ९ जना कोरिया जान पाएका छैनन् । लकडाउन र महामारीको कारण नेपालबाट पनि जान पाएका छैनन् ।

    प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कामदार कोटामा छानिएकालाई लगिएपछि मात्र नयाँ कोटाका कामदारले प्राथमिकता पाउनेछन् । सन् २०२१ मा तोकिएका ५२ हजार कोटामध्ये ३७ हजार ७ सय जना उत्पादनमा, ६ हजार ४ सय जना कृषि क्षेत्रमा, ३ हजार माछापालन क्षेत्रमा, १८ सय जना निर्माण क्षेत्रमा, १ सय जना सेवा क्षेत्रमा रहनेछन् ।

    २०२१ को अप्रिलसम्म २२ हजार कामदारलाई रोजगार अनुमति दिने र बाँकी कामदार भने रोजगारदाताको माग र कोरियाको अर्थतन्त्र हेरेर निर्धारण हुने जनाइएको छ ।

  • नयाँ वर्षसँगै बढ्ने भयो कोरियामा कार्यरत नेपालीको तलब

    नयाँ वर्षसँगै बढ्ने भयो कोरियामा कार्यरत नेपालीको तलब

    काठमाडौं । दक्षिण कोरियाले अंग्रेजी नयाँ वर्षसँगै कामदारको न्यूनतम तलबमा वृद्धि गरेको छ । यो निर्णयसँगै कामदारले अब तलबभन्दा १.५ प्रतिशतले बढी तलब पाउनेछन् ।

    प्रतिघन्टा ८ हजार ७२० वन पाउने दक्षिण कोरियाली सरकारले जनाएको छ । सन् १९८८ यता कोरियाले कामदारको तलबमा वृद्धि गरेको हो । कोरोनाभाइरस महामारीले अहिले दक्षिण कोरिया आर्थिक संकटसँग जुधिरहेको छ ।

    सातामा ४० घन्टा काम गर्ने कामदारको ज्याला अब मासिक १८ लाख २२ हजार ४८० वन पुग्नेछ । यसको नेपाली मूल्य १ लाख ८२ हजार नेरु हुन आउँछ । राति १० देखि बिहान ६ बजेसम्म काम गर्नेले भत्ता समेत पाउनेछन् ।

    कोरियाको तलब निर्धारण समितिले नवौं बैठकमार्फत यस्तो निर्णय गरेको हो । बढेको तलबसँगै दक्षिण कोरियामा रहेका ४० लाख कामदारसहित ३५ हजार नेपाली कामदारले लाभ उठाउनेछन् । तर, यसलाई उल्लेखनीय तलब वृद्धि चाहिं मान्न सकिंदैन ।

  • बीटीएसको सम्मानमा कोरियाले गर्‍यो कानुन संसोधन

    बीटीएसको सम्मानमा कोरियाले गर्‍यो कानुन संसोधन

    बीबीसी/दक्षिण कोरियाली संसदले आफ्नो देशको चर्चित पप ब्यान्ड बीटीएसलाई सहज हुने गरि अनिवार्य सैनिक सेवालाई संशोधन गर्न अनुमति दिएको छ । अब ३० वर्षको उमेरसम्म दक्षिण कोरियाली नागरिकले अनिवार्य सैनिक सेवा दिन पाउनेछन् ।

    आफ्नो देशको सफ्ट–पावरको सम्मानका लागि दक्षिण कोरियाली यो कदमलाई निकै प्रशंसा गरिएको छ । तर, विद्यमान कानुनअनुसार संस्कृतिमन्त्रीको सिफारिसमा केही सेलेव्रिटीलाई चाहिँ सेवा नगरेपनि हुने छुट दिइएको छ ।

     

    ब्यान्डका एकजना पुराना सदस्य जीनको २८ औं जन्मदिनको छेकोमा दक्षिण कोरियाले यस्तो निर्णय लिएको हो । यसअघि त्यहाँका खेलाडी र संगीतकर्मीलाई सैनिक सेवामा छुट दिइएको छ ।

    संसोधित कानुनमा भनिएको छ –पप संस्कृतिमार्फत सिंगो विश्वमा दक्षिण कोरियाली छवि ऊँचो तुल्याउन योगदान पुर्‍याएकाले संस्कृति, खेल तथा पर्यटन मन्त्रालयको सिफारिसमा सेवालाई ३० वर्षसम्म थप गर्ने निर्णय लिइएको छ ।’

    पछिल्लो समय कोरियाली पप ब्यान्डको ख्याति विश्वभर चुलिइरहेको छ । गतसाता ग्रामी अवार्डको मनोनयनमा पनि ब्यान्ड छानियो । साथै बिलबोर्डको सय सूचिमा समावेश हुने पहिलो दक्षिण कोरियाली ब्यान्डको रुपमा कीर्तिमान बन्यो ।